कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नलेखिएका पुस्तक पाठ्यक्रममा

लीला लुइटेल

विश्वविद्यालय भनेको विद्या आर्जन गर्ने सर्वाेच्च निकाय हो भन्ने अर्थ, परिभाषा एवं धारणामा परिवर्तन गरेर अहिले हाम्रो सन्दर्भमा चाहिँ अर्थोकै बुझ्ने बेला भएको तथ्य कसैबाट छिपेको छैन । विश्वमै अत्यन्त आदर एवं सम्मानका साथ हेरिने विश्वविद्यालय नेपालका सन्दर्भमा चाहिँ विभिन्न दलको परेड खेल्ने मैदान बनेको कुरामा कसैको विमति नहोला ।

नलेखिएका पुस्तक पाठ्यक्रममा

अझ त्यसमा पनि देशकै पुरानो एवं सम्मानित अनि कुनै समय गरिमामय संस्थाको रूपमा रहेको त्रिभुवन विश्वविद्यालयमा यस धर्तीमै कहिल्यै नभएको र हुन पनि नसक्ने महाजात्रा देख्न पाइन्छ । यसको उदाहरणका लागि त्रिभुवन विश्वविद्यालयद्वारा तयार पारिएका नेपाली बीए र एमएका पाठ्यक्रम हेर्दा नै पर्याप्त हुन्छ । 

विश्वविद्यालयले तयार पारेको नेपाली बीए र एमएको पाठ्यक्रममा समाविष्ट कैयौँ पुस्तक बजारमा कतै पनि पाइँदैनन् । पाठ्यक्रममा भएकै कारण प्रत्येक वर्ष विद्यार्थीले त्यस्ता पुस्तक किन्छन्, अनि स्टक सकिएर प्रकाशकले छाप्न ढिला गरेकाले बजारमा नपाइएका हुन् भन्ने अनुमान कसैले गर्छ भने त्यो सोरै आना गलत हुनजान्छ । पाठ्यक्रममा थुपारिएका त्यस्ता पुस्तक अहिलेसम्म प्रकाशनै नभएका, लेखिँदै नलेखिएका अनि लेख्न सुरुसमेत नगरिएकाले बजारमा नपाइएका हुन् । नेपाली विषयको पाठ्यक्रम निर्माणमा संलग्न केही महामहिमहरूले विश्वविद्यालयलाई आफ्नै निजी सम्पत्तिझैँ ठानी लेख्दै नलेखिएका पुस्तकहरूको चाङ पाठ्यक्रममा लगाउने प्रचलन उहिलेदेखि नै रहेको यथार्थ कसैबाट छिपेको छैन ।
सन् १९९६ देखि लागू भएको बीए नेपालीको पाठ्यक्रमका विभिन्न पत्रमा ‘प्राथमिक र माध्यमिक नेपाली साहित्यको रूपरेखा’, ‘हास्यव्यङ्ग्य निबन्ध’, ‘नव गद्य’, ‘नेपाली कविता भाग ३’, ‘नेपाली गीतिसंग्रह’, ‘नेपाली बालसाहित्यको सर्वेक्षण’ शीर्षकलगायतका अनेक कृति समाविष्ट थिए तर दुर्भाग्य ती कृति कहिल्यै लेखिने प्रयाससमेत गरिएन । वर्षौंसम्म चलेको त्यो पुरानो पाठ्यक्रम परिवर्तन भएर नयाँ पाठ्यक्रम निर्माण गर्दा पनि प्रकाशनै नभएका, लेख्दै नलेखिएका पुस्तकको चाङ लगाउने रोगबाट नेपाली पाठ्यक्रम मुक्त हुन सकेन । हाल चालु रहेको बीएको पाठ्यक्रममा समाविष्ट ‘नेपाली कविता भाग ३’, ‘नेपाली गीत गजल भाग २’, ‘आधुनिक नेपाली निबन्ध र अन्य विधा भाग २’, ‘नेपालका विविध भाषाको साहित्यिक रूपरेखा’, ‘भारतीय नेपाली साहित्य’ लगायतका कैयौँ कृति अहिलेसम्म लेखिएकै छैनन् ।
यसैगरी अहिले सञ्चालनमा रहेको वार्षिक परीक्षा प्रणालीको नेपाली एमएको पाठ्यक्रममा समाविष्ट ‘पूर्वीय साहित्यशास्त्र’, ‘सिनेमाका पक्षहरू’, ‘आधुनिक नेपाली नाटक भाग २’, ‘पूर्वआधुनिक नेपाली पद्य’, ‘पूर्वआधुनिक नेपाली गद्य’ लगायतका कैयौँ कृतिहरू प्रकाशन नभएका मात्र होइनन्, अहिलेसम्म लेख्नै सुरु गरिएका छैनन् रे । यी त भए कमसेकम न्वारानसम्म भइसकेका पुस्तक, पाठ्यक्रमको शोभा बढाउने सौभाग्य पाएको ताराकान्त पाण्डेद्वारा लिखित भनिएको पुस्तकको त न्वारानसमेत गर्न भ्याइएको रहेनछ, कठैबरी ∕ त्यसैले उनको नाम जोडिएको पाठ्यपुस्तकलाई त ‘.....’ भनी उल्लेख गरिएको छ । यी त केही उदाहरण मात्र हुन्, नेपालीको पाठ्यक्रम पल्टाएर हेर्ने हो भने लेख्दै नलेखिएका यस्ता पुस्तक कति भेटिन्छन् कति ! 
अर्काे हास्यास्पद कुरा ‘नेपाली कविता भाग ३’ लाई त १९९६ देखि लागू भएको पाठ्यक्रम निष्क्रिय भएर अर्काे पाठ्यक्रम लागू हुँदासमेत पाठ्यक्रमको शोभा बढाउने सौभाग्य मिलेको छ । यसरी लेख्दै नलेखिएको पुस्तक अनेकपटक विश्वविद्यालयको पाठ्यक्रममा बिराजमान भएकाले ‘नेपाली कविता भाग ३’ तयार पार्ने भनिएका व्यक्तिको पहुँच त बलियै भएको अनुमान गर्न सकिन्छ । यसो गर्नुमा कसको केकस्तो बाध्यता होला अनि कसको के स्वार्थले काम गरेको होला त्यो त गर्नेभन्नेलाई नै थाहा होला तर यसरी लेख्दै नलेखिएका पुस्तकको चाङ लगाएर पाठ्यक्रम बनाउनेले भौतिक रूपमा के प्राप्त गरे होलान् अनि मानसिक रूपमा कस्तो प्रकारको तुष्टि मिल्यो होला, आजसम्म कसैले पनि बुझ्न सकेका छैनन् । यसरी प्रकाशनै नभएको पुस्तक पढेर कति विद्यार्थी उच्चशिक्षित भए होलान् ! 
सबभन्दा हास्यास्पद कुरा त यी पाठ्यक्रममा प्रकाशन मिति र प्रकाशनको सन्दर्भ स्रोत नै थाहा नभएका पुस्तकहरूको ओइरो लगाइएको छ । जुन पुस्तकको प्रकाशन मिति अनि त्यसको सन्दर्भ स्रोत थाहा छैन, त्यो विद्यार्थीका लागि उपयुक्त हुन्छ भनेर पत्ता लगाउन सक्नु यी पाठ्यक्रम निर्माणसँग सम्बन्धित विद्वान्हरूको शक्ति अनुपम एवं दूरदर्शी नै रहेको प्रमाणित हुन्छ । अनि अर्काेतर्फ नलेखिएका तथा प्रकाशन नभएकाको त प्रकाशक, प्रकाशन मिति हुने कुरै भएन नि । 
यसरी नलेखिएका पुस्तकहरूको थुप्रो लगाएर पाठ्यक्रम निर्माण गर्नुबाट नेपाली विद्वान्हरूको प्रतिभा अनि क्षमताको पहिचान हुन्छ । अनि यसरी बनाएको पाठ्यक्रम कति प्रभावकारी हुन्छ ? लेख्दै नलेखिएका पुस्तक उल्लेख गरेर लेखक हुने विद्वान्हरूको पनि विश्वविद्यालयमा कमी छैन, अनि छापिँदै नछापिएका पुस्तकहरू पाठ्यक्रममा राखिदिएर आफ्ना आसेपासेलाई गुन लगाउने मौकाको सदुपयोग गर्न विश्वविद्यालयका विद्वान्हरूले कुनै कसर बाँकी राखेका छैनन् । कुनै दु:खै नगरी लेखक हुन पाएकामा एकथरी विद्वान् आत्मरतिमै रमाइरहेछन् अनि लेख्दै नलेखिएका पुस्तक पाठ्यक्रममा समावेश गरिदिएर आसेपासेलाई गुन लगाउन पाएकामा गुन गर्नेहरू पनि मक्खै छन् । अर्काेतर्फ यसरी लेख्दै नलेखिएका पुस्तकको लेखक कहलाएर पाठ्क्रमको शोभा बढाउने सौभाग्य पाठ्यक्रम निर्माणमा संलग्न महामहिमहरूका सम्बन्धित क्षेत्रको ज्ञानै नभएका सुपुत्रहरूलाई पनि मिलेकै छ । यसले लेखक भनाउँदा र शक्तिको ‘सदुपयोग’ गर्नेहरूलाई त ठूलै तुष्टि मिलेको होला तर यसले विश्वविद्यालयको अस्तित्वलाई कहाँ पुर्‍याउँछ भन्ने कुरामा कसलाई के मतलब ? अझ कतिपय ‘लेखक’ हरूलाई ‘यो पुस्तक कहाँ पाइन्छ’ भनी अलि सोझासाझा विद्यार्थीले सोधे भने कसैले ‘साझातिर खोज्नुस् न’ भन्छन् रे अनि कसैले चाहिँ ‘अहिले बजारमा सकिएको होला’ भन्छन् रे । सम्बन्धित प्रकाशनमा बुझ्न जाँदा त्यहाँका कर्मचारी भने यस खाले कुनै पनि पुस्तक प्रकाशनका लागि नआएको कुरा सुनाउँछन् रे । बिचरा सोझा विद्यार्थी कसको कुरा पत्याऊन् ? अझ कतिपय ‘इमानदार विद्वान् लेखकहरू’ त ‘लेखिएकै पो छैन’ भनेर दाँत ङिच्च पार्छन् रे, कठैबरी ! 
नछापिएका पुस्तक पाठ्यक्रममा समावेश गर्नु मात्र यस पाठ्यक्रमको वैशिष्ट्य होइन । विश्वविद्यालयको पाठ्यक्रममा प्रयोग गरिएको विधि आधिकारिक मानेर थुप्रै विद्यार्थी एवं शिक्षकले यसलाई सन्दर्भ सामग्री बनाउने गर्छन् । यी पाठ्यक्रममा सन्दर्भ सामग्रीको दियाइ हेर्दा त्यत्रात्यत्रा प्रा.डा. विशेषणधारीहरूले तयार पारेको हो कि प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीले तयार पारेको हो भन्ने पहिचान गर्न जोकोहीलाई पनि कठिन हुन्छ । यी पाठ्यक्रममा सामग्रीको दियाइ हेर्दा कुनै पनि शिक्षित व्यक्तिले शिर निहुराउनुपर्ने अवस्था छ । कुनै पनि कुराको उल्लेख विधिसम्मत ढंगले गर्नुपर्ने त निरीह विद्यार्थीले न हो, सत्तासीनहरूले त जेजसो गरे पनि भइहाल्छ भन्ने कुरा यी पाठ्यक्रम हेर्दा स्पष्ट हुन्छ । यिनमा समाविष्ट सामग्रीको दियाइमा पनि एकरूपता नभई जथाभावी देखिन्छ । कतै नामका आधारमा अनि कतै थरका आधारमा वर्णानुक्रम दिइएको छ । अर्काे हास्यास्पद कुरा के छ भने नेपालीका गुरुहरू वर्णानुक्रम पनि मिलाउन नजान्ने रहेछन् भन्ने कटु यथार्थ उल्लिखित पाठ्यक्रममा समाविष्ट सामग्रीले दिएका छन् । ‘बडाले जे गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत’ भनेजस्तै पो हो कि ? यिनै पाठ्यक्रममा अंग्रेजी र हिन्दीलगायतका कतिपय अनेपाली भाषाका पुस्तकलाई पनि समावेश गरिएको छ । आफ्नो भाषाको वर्णानुक्रमसमेत मिलाउन नसक्ने ‘विद्वान्’ हरूले हिन्दी र अङ्ग्रेजी भाषाका पुस्तक कसरी पढेर विद्यार्थीका लागि उपयोगी छन् भनी पत्ता लगाए होलान्, अचम्म !
यस खाले कतिपय उत्कृष्ट सन्दर्भहरूबारे धेरै शिक्षक अनि विद्यार्थीलाई जानकारी नै छैन, किनकि विद्यार्थी त गेसपेपरमै रमाएको कुरा सर्वविदितै छ । शिक्षकलाई त कीराले खाएको बीसौं वर्ष पुरानो झुत्रो नोटबुक बोकेर जाँदा पनि भएकै छ, यता हाजिर बजाएर उता भर्‍याङ खोज्दै ढोकाढोका चहार्न हिँडे पनि भो । अझ डा. साप हुने प्रक्रियामा पसेपछि त व्यापार गरे पनि भो, छोरीबुहारी स्याहार्न ठूलो जहाजमा उडे पनि भो, ल्याप्चेलालहरूको फेर समातेर हिँडे पनि भो, कोही छ छुन सक्ने ? पार्टीले दिएको जागिर सधैँ सुरक्षित । अनि जो जसलाई जानकारी छ उनीहरू बडाहाकिमहरूका यसखाले सत्कर्मका विरुद्ध मुख खोल्ने आँट गर्न सक्तैनन् किनकि विद्यार्थीको परीक्षाको कापी तिनै महामहिमहरूका कब्जामा हुन्छ भन्ने कुरा विद्यार्थीले बुझेका छन् । अनि कतिपय प्राध्यापकहरू बढुवाको नम्बर पनि उनै बडाहाकिमहरूका हातमा हुन्छन् भनेर यस विषयमा बोल्न सक्दैनन् । त्यसैले यसखाले जानकारी भएका विद्यार्थी एवं शिक्षकहरू तैं चुप मै चुप गर्न बाध्य छन् ।
अलि बाठाटाठा विद्यार्थीचाहिँ कहिलेकाहीँ अदालत पो जाने हो कि भनेर आपसमा छलफल गर्छन्, तर अदालत पनि हाम्रै त हो, समयमै काम गर्नुपर्छ भनेर त्यहाँ दबाब दिन सक्ने हिम्मत कसको ? विश्वविद्यालयका थुप्रै प्राध्यापकहरूले उहिले हालेको मुद्दा त अहिलेसम्म अलपत्र रहेको देखेर ती निरीह विद्यार्थीहरू चुप लागेर बस्न बाध्य छन् । भागबन्डाबाटै विश्वविद्यालयका पदाधिकारीको कुर्सीमा बिराजमान हुनेहरूले चाहिँ यस्ता कुरा पत्तो नपाएका हुन् कि मतलब नगरेका हुन् कुन्नि ? विश्वविद्यालयमा देखापरेका यस्ता भाँडभैलाहरूलाई सम्बोधन गरेर विश्वविद्यालय प्रशासनले आफ्नो जिम्मेवारीबोध गरेर कम्तीमा पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नु पर्दैन ? हुन त तिनीहरू पेसागत धर्म एवं योग्यताका कारण नभई अन्यत्रैको निगाहबाट आएको कुरा कसैले व्याख्या गरिरहनु पर्दैन, सबैले बुझेकै छन् । 
माथि उठाइएका प्रश्नको जवाफ यी पाठ्यक्रम निर्माणमा संलग्न विद्वान्हरूले दिनु जरुरी छ कि छैन ? अन्यथा नेपाली भूगोल, भाषा, जातीयता, संस्कृति आदि विभिन्न पक्षमा प्रहार भइरहेका सन्दर्भमा यस्ता अनेक विकृतिहरूको ओइरो लगाएर नेपाली भाषा–साहित्यको पठनपाठनमाथि नै वितृष्णा उत्पन्न गराई सिङ्गो नेपाली जातिलाई नै विनाशको खाडलमा धकेल्ने अनेक परिपञ्चमध्येकै शृंखलाको निरन्तरता यसलाई मान्न सकिन्न र ? 
अन्त्यमा, यसरी पाठ्यक्रममा बिराजमान हुने सौभाग्य प्राप्त गरेर पनि जन्मिनै नपाएका अनेक पुस्तकहरूप्रति हार्दिक सहानुभूति प्रकट गर्दै लेखिने तर्खर पनि नभई विश्वविद्यालयको पाठ्यक्रममा बिराजमान तिनै पुस्तकका स्वघोषित लेखकहरूलाई हार्दिक बधाईज्ञापन गर्नुबाहेक अर्काे कुनै विकल्प छ र ? अनि यी स्वनामधन्य लेखकहरूले नेपाली भाषा–साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत कुनै दिन कतैबाट पुरस्कृत र सम्मानित भए भने पनि कसैले अचम्म मान्नु पर्दैन ।

प्रकाशित : वैशाख २३, २०७४ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?