प्रेमबहादुरको कृति !

प्रेमबहादुर कंसाकारले आफ्नो संकलनमा रहेका अत्यन्त दुर्लभ, प्राचीन, अमूल्य ग्रन्थ, हस्तलिखित पुस्तक तीन हजार थानभन्दा बढीको संख्यामा सार्वजनिक रूपमा हस्तान्तरण गरेका थिए ।
मल्ल के. सुन्दर

इन्कलाब – जिन्दावाद ! क्रान्तिको पक्षमा यो नारा घन्काएर पहिलोपटक नेपालको इतिहासमा सार्वजनिक जनप्रदर्शन भएको दिन थियो २००४ वैशाख १७ गते ! सत्याग्रहको आह्वान थियो । एक दिन बिराएर १९ गते र २१ गते पनि लगातार उपत्यकाको तीनै सहरमा जनविद्रोहको स्वर गुन्जिएको थियो ।

यिनै जनआक्रोशलाई सम्बोधन गर्न म्युनिस्पल्टीको चुनावको घोषणा गर्न तत्कालीन राणा शासक बाध्य भए । त्यति वेला श्री ३ पद्मशमशेर भर्खर सत्ताको वागडोर सम्भाल्दै थिए । क्रान्तिकारी कदमका नेतृत्वको अग्रपंक्तिमा थिए प्रेमबहादुर कंसाकार । 
अध्ययनका लागि भारतको पटना बसाइमा रहँदा उनी त्यसताकाको एक जल्दोवल्दो क्रान्तिकारी संगठन र्‍याडिकल डेमोक्राय्टिक पार्टीसँग आबद्ध भए । नेता एम.एन. राय, एक बेग्लै धारको राजनीतिक सोचका कारण भारतीय उप–महाद्वीपमा मात्र होइन अन्तर्राष्ट्रिय समाजवादी क्याम्पमा समेत अत्यन्त चर्चित व्यक्तित्वका रूपमा परिचित थिए । उनकै नेतृत्वमा क्रियाशील थियो— र्‍याडिकल डेमोक्राय्टिक पार्टी । उक्त पार्टीको अधिवेशनमा समेत सहभागी बनेका प्रेमबहादुर स्वदेशमा क्रान्ति र परिवर्तनका लागि दृढ निश्चित भइसकेका थिए ।
सोही पार्टीको विधान र अन्य पर्चाहरूको आधारमा नेपाल प्रजातन्त्र संघ– एक भूमिगत राजनीतिक समूह गठन गर्न उनी सफल भए । पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ तथा सूर्यबहादुर भारद्वाजसहित चार जना सम्मिलित थिए, त्यसमा । पछि नरबहादुर कर्माचार्य, नूतन थपलिया, कामाक्षदेबी आदि पनि त्यसमा सम्मिलित भए । भूमिगत शैलीमा संगठन विस्तार गर्दै २००४ बैशाख १७ सम्म पुग्दा यो संघ नेपालमा प्रथम सत्याग्रह आन्दोलनको नेतृत्व गर्न सफल भयो । गणेशमान सिंहलाई भद्रगोल जेलबाट भगाउनका लागि वाहिरबाट सम्पूर्ण चाँजोपाँजो मिलाउने जिम्मा यसै समूहले लिएको थियो । गणेशमानलाई सकुल भारतसम्म पुर्‍याउने जिम्मा प्रेमबहादुरको नेतृत्वमा विशेषत: सूर्यबहादुर भारद्वाज र शम्भुरामको थियो । 
पछि गणेशमान सिंहकै सल्लाहमा प्रेमबहादुर बनारस पुगे । त्यहाँ नेपाली राष्ट्रिय कांग्रेसको अधिवेशनमा सहभागी बनेका प्रेमबहादुर पार्टी महामन्त्री निर्वाचित पनि भए । अध्यक्ष पदमा चुनिएका थिए डिल्लीरमण रेग्मी । तर, नेपालमा थुनिएका विश्वेश्वरप्रसाद कोइराला बनारस फर्केपछि मातृकाप्रसाद, डिल्लीरमण र विश्वेश्वरप्रसादका बीच अध्यक्ष पदका लागि खिचलो भयो । पछि पार्टी नै विभाजित अवस्थामा पुग्यो । प्रेमबहादुर भने निर्वाचित अध्यक्ष डिल्लीरमणको पक्षमा उभिए ।
पार्टी विभाजनबाट अविचलित उनी नेपाली जनवादी प्रजातन्त्र संघको नाउँमा नयाँ राजनीतिक दलसहित निरन्तर सक्रिय रहे । नेपाली महिलाहरूमा राजनीतिक जागरणका लागि गम्भीर चासो राख्ने उनले २००४ सालको वरपर साहना, साधना, मंगलादेवी, स्नेहलता, प्रेमलता आदि अगुवा महिला कार्यकर्ताहरू आदिलाई काठमाडौंको म्हैपी मन्दिरमा भेला गराई नेपाल महिला संघ संस्थापनको जमर्को गरेका थिए । 
तिनै क्रान्तिकारी अगुवा – प्रेमबहादुर कंसाकारको शतवार्षिकी वर्ष हो, यो । काठमाडौंको मासंगल्लीमा बैशाख शुल्क दशमीका दिन जन्मिएका उनी मूलत: राजनीतिज्ञ थिए । पहिलो त, राणाविरुद्धको चेतले उनलाई मुलुकमा सामन्ती शासन अन्त्यका लागि विभिन्न मोर्चामा सक्रिय बनाए । नागरिकहरूमा चेतना र जागरण ल्याउन क्रूर राणा शासनकालमा नेपालको पहिलो सार्वजनिक प्रदीप्त पुस्तकालय खोले । शिक्षाको जागरणका लागि पद्मोदय हाइस्कुलका संस्थापकहरूमध्ये एक भएर अगाडि आए । त्यति बेला क्रान्तिको पूर्वाधार तयारी केन्द्रको रूपमा चिनिएको शान्ति निकुञ्ज विद्यालय संस्थापनमा पनि उनको प्रमुख योगदान थियो । 
तर, विडम्बना, राजनीतिक वृत्तमा हुने जालझेल, षड्यन्त्रमा उनी टिक्न सकेनन् । नेपालमा प्रजातन्त्र घोषणा भएको केही वर्षपश्चात् नै प्रेमबहादुर राजनीतिबाट निवृत्त हुन विवश भए । राजा त्रिभुवनदेखि वीरेन्द्रसम्मले राजदरबार बोलाएर पटक–पटक मन्त्री पदको जिम्मा सुम्पिन खोजेको पनि हो, तर सिद्धान्त र आदर्शमा खरो उनी क्षणिक व्यक्तिगत प्राप्तिका लागि कहिल्यै विचलित भएनन् । बरु जीवनको उत्तराद्र्धसम्म पनि पेसागत रूपले आफूलाई शिक्षण संस्थामा सीमित राखे । राजनीतिमा गुमनाम बने । 
प्रेमबहादुरको पछिल्लो कालखण्ड फरक थियो । उनीभित्र गुम्सिएको कला, संस्कृति र साहित्यप्रतिको लगावले उनलाई अर्को चरित्र पात्रको रूपमा डोर्‍यायो । साहित्यकारका रूपमा उनमा सिर्जनाका अपार स्रोतहरू थिए नै । कवि नाटककार, कथाकारका अतिरिक्त नेपालभाषा साहित्य क्षेत्र आधुनिक निबन्ध लेखनीका अगुवा बने । ‘न्हुपुखु’ निबन्धसंग्रह त्यसको ज्वलन्त साक्षी हो । मातृभाषामा थुप्रै साहित्यिक कृति लेखे । सम्पादन गरे । विशेषत: लोक साहित्यको ज्ञाता र संग्रहकर्ताको रूपमा उनको पछिल्लो भूमिका स्मरणीय रह्यो । हुनत उनको शोख हुलाक टिकट र मुद्रा संकलनमा पनि थिए । तर, हाम्रा प्राचीन ग्रन्थहरू, अभिलेख, शास्त्र, हस्तलिखित पुस्तक आदिको संकलन तथा संरक्षणमा उनको भूमिका अतुलनीय बने । 
च्वसापासाजस्तो नेपालको पहिलो साहित्यिक संस्थाका संस्थापक उनको चाहना आफ्नो मातृभाषा नेपालभाषामा प्रकाशित पुस्तक, पत्रपत्रिका तथा अन्य सामग्रीहरूको संकलन केन्द्रको रूपमा एउटा साहित्य मन्दिर स्थापना गर्नमा थियो । लामो समयसम्म तिनै उद्देश्यबाट पुस्तक, पत्रपत्रिका तथा अन्य उपयोगी सामग्रीहरूको संकलनमा लागे । तर, उनको संकलनमा हस्तलिखित ग्रन्थ, तन्त्रमन्त्र, शास्त्र, पुराणका अतिरिक्त सामाजिक जीवनका अभिलेख रहेका ताडपत्रहरू पनि थिए । 
पञ्चायती कालखण्डमा, २०३० सालतिर, उनको यिनै विशिष्ट क्रियाशीलतालाई शासकहरूले गलत अथ्र्याउने दुस्साहस गरे । अनि उनको संकलनमा रहेका यस्ता बहुमूल्य प्राचीन ग्रन्थहरूका आधारमा प्रेमबहादुरलाई ‘मूर्ति चोर’ सम्मको अभियोग लगाइयो । संकलित सबै जफत गरियो । उनलाई पनि अनाधिकारपूर्ण वन्दी बनाइयो । 
निर्दलीय शासकहरूको बुझाइअनुसार यदि ती संकलित ग्रन्थ, हस्तलिखित ग्रन्थहरूको बजार खोजिएको भए एउटा, एउटा हस्तलिखितको पनि लाखौं मूल्य किटान हुन सक्थ्यो । सयौं बर्ष पुराना, सुनको धूलो, चाँदीको धूलोले लेखिएका धार्मिक ग्रन्थ, दुर्लभ ताडपत्रहरूको कारोबारमा लागेको भए ब्यक्तिगत रूपमा उनी अवश्य पनि धनाढय बन्न सक्थे । तर, उनी एउटा अटल सपना बोकेर लागेका थिए । असहजता र संकटका घडीले उनलाई कति पनि लतार्न सकेन ।
आखिर, त्यो दिन आइपुग्यो, प्रेमबहादुरको जीवनको उकाली–ओरालीलाई पार गर्दै नेसं ११०५ अनालागा: ३० अर्थात् २०४२ असोज ३२ शुक्रबार । उनको संकलनमा रहेका त्यस्ता अत्यन्त दुर्लभ, प्राचीन, अमूल्य ग्रन्थ, हस्तलिखित पुस्तक तीन हजार थानभन्दा बढीको संख्यामा सार्वजनिक रूपमा हस्तान्तरण गरे । रञ्जना, भुंजिमोल, कुंमोल, नेपाल लिपि आदिमा लेखिएका ती ग्रन्थहरू नेपालभाषा, नेपाली, संस्कृत, मैथिली, भोजपुरी, अवधी भाषामा थिए । 
उनको पिता आसामान सिंहको स्मृतिमा स्थापित आसा सफू कुथि – आसा संग्रहालयमा संरक्षित छन् ती सबै । काठमाडौं महानगरपालिका, टेंगल टोल, रक्तकालीमा सडकछेउ पुस्तक पसलसहितको एउटा आधुनिक घर– वास्तवमा त्यो प्रेमबहादुरले स्थापना गरेको च्वसापासा संस्थाको कार्यालय भवन हो । तर, त्यसको भित्री चोकमा एउटा कलात्मक दुईतले भवन बनेको छ— आसा सफूकुथि यिनै भवनमा सञ्चालित छन् ।
प्रेमबहादुरले आरम्भ गरेको अभियानमा अन्य दाताहरूले होस्टेमा हैसे गरेका छन् । संग्रहालयमा अहिले झन्डै नौ हजारभन्दा बढी संख्यामा हस्तलिखित ग्रन्थ, ऐतिहासिक दस्तावेज, अभिलेखहरू संग्रहित छन् । तिनमा प्राचीन काव्य, नाटक, अवदानजस्ता साहित्यिक कृति अनि वंशावली, पुराण, जातक, स्तोत्र, तन्त्रमन्त्र, जोतिषी, आयुर्वेदलगायत हस्तकला, मूर्तिकला, स्थापत्यकला, वास्तुकलाजस्ता प्राविधिक विषय पनि छन् । ताडपत्रमा लेखिएका अभिलेखहरू मात्र तेह्र सयभन्दा वढी छन् । आजको मितिसम्ममा सात हजार प्राचीन गन्थ्र आधुनिक वैज्ञानिक प्रविधिअनुसार डिजिटलाइज भइसकेका छन् । त्यस्तै एघार सय ताडपत्रहरू पनि त्यसरी नै सुरक्षित गर्ने काम भइसकेको छ । डाटाबेस फम्र्याटमा व्यवस्थित गरिएका सूचना कृति, विषयगत विधा, तिथिमिति, भाषा आदिका माध्यमबाट सहज रूपमा कम्प्युटरमा भेटाउन सकिन्छ । विज्ञहरू भन्छन्— नेपालमा सार्वजनिक स्तरमा खोलिएको आधुनिक अभिलेखालय यो सबभन्दा ठूलो हो । नेसं ३२६ अर्थात् आठ सय वर्षभन्दा पुरानो अभय मल्ल समकालीन ताडपत्रमा लेखिएको अत्यन्त महत्त्वपूर्ण अभिलेख तथा ताडपत्रमै लेखिएका महाभारतका विभिन्न काण्डहरू यहाँ अध्ययन गर्न सकिन्छ । रमाइलो कुरा यहाँ अन्य हस्तलिखित ग्रन्थमध्ये एक सुन बनाउने विधिसम्वन्धी थ्यासफू पनि सुरक्षित छ । राणा प्रधानमन्त्री वीरशमशेर र देवशमशेरबीच भएको अंशबन्डाको तमसुक पनि यहाँ हेर्न सकिन्छ । विशेषगरेर जापानी, चिनियाँ, कोरियनहरू यहाँ संरक्षित सुनका अक्षरले लेखिएका प्रजापारमिता र ताडपत्रमा लेखिएका सधम्र्मपुण्डरिका हेर्नका लागि वढी लालायित हुन्छन् । विदेशी अध्येताहरूका लागि यो आफ्नो अध्ययन अनुसन्धानका राम्रो स्रोतकेन्द्र भएको छ । स्मरणीय होस, स्वयम्भू चैत्यसँगै रहेको प्रतापपुर आगलागी भई ध्वस्त भइसकेपछि पुनर्निर्माणका लागि त्यसको वास्तुकलाको आधारभूत जानकारी प्राप्त गर्न यही आसा सफू कुथिमा संग्रहित ग्रन्थले भरथेग गरेको थियो । 
गएको साता च्वसापासाले प्रेमबहादुर कंसाकार शतवार्षिकीको अवसर पारेर स्मृति सभा आयोजना गरेर वर्षभरि नै उनको सम्मानम, उनका कृति र योगदानका सम्बन्धमा विभिन्न कार्यक्रमहरूको आयोजना हुने घोषणा गरेको छ । 
उनको देहावसानको छब्बीस वर्षपश्चात् एउटा कट्टर राष्ट्रवादी, क्रान्तिकारी प्रेमबहादुरको स्थान राजनीतिक वृत्तमा कुन रूपमा आरक्षित होला, कसरी मूल्यांकन गरिएला अध्ययनकै विषय होला, तर आसा सफू कुथि– आसा संग्रहालय उनको एक अजम्बरी कृतिका रूपमा यो दुनियाँसामु जुग–जुगसम्म रहनेछ ।

Yamaha

प्रकाशित : वैशाख ३०, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चैत ३ देखि चैत ३ सम्म

मल्ल के. सुन्दर

निरंकुश सत्ताको प्रतिरोधमा भक्तपुरमा सर्वसाधारण सडकमा उत्रिसकेका थिए । फागुन ७ प्रजातन्त्र दिवसको सन्दर्भमा प्रशासक, पञ्च र प्रहरीहरू पञ्चर्‍यालीको शैलीमा तामझामसाथ पंक्तिबद्ध भएर अगाडि बढ्दै गरेका बेला भक्तपुरका जनताले सुकुलढोका, टौमढी र नासमनामा अवरोध गरेका थिए ।

 

प्रहरीले तत्कालै प्रदर्शनकारीमाथि ‘थ्री नट थ्री’ सोझ्याए । लोकतान्त्रिक आन्दोलनका क्रममा पहिलो हताहतको घटना भयो, केहीले सहादत प्राप्त गरे, धेरैको अङ्गभङ्ग भयो । त्यो केवल सुरुवात थियो, सत्ताको निर्मम दमन र जनताको अदम्य साहसको । 

फागुनभरि नै तत्कालीन सत्ता जनतामाथि आइलाग्यो । तर उक्त आन्दोलन झिल्कोबाट फिलिङ्गो बन्ने क्रममा थियो । एकातिर स्वतन्त्रता, आधारभूत नागरिक अधिकार, लोकतन्त्रको पुन:बहालीको दृढ अभिलाषा अर्कोतिर निरंकुश सत्ताको निर्मम दमनबाट हुनसक्ने थप जनधनको क्षतिलाई रोक्ने जिम्मेवारीबोध । यिनै छटपटीबीच एक जमात बौद्धिक सर्जक उन्मुक्तिको उपायको खोजीमा थिए । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अशेष मल्लसहित थुप्रैले अगुवाइ गरिरहेका थिए–भित्री सरसल्लाहका लागि । त्यतिबेला त्यसमा अग्रज कवि केदारमान ‘व्यथित’ हौस्याउनेमध्ये एक थिए । 
चैत ३ गते शुक्रबार, २०४६ सालको अपरान्ह । भेला हुने थलो रोजिएको थियो– तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादीको आँगन । प्राज्ञिक जमातका लागि उचित थलो थियो, प्रज्ञा प्रतिष्ठान । तर प्रहरी प्रशासनले त्यसो गर्न अनुमति दिएन । विकल्पमा त्रिचन्द्र कलेजस्थित सरस्वती सदनको चउरमा बसाइँ सर्नुपर्‍यो ।

अग्रज स्रष्टाहरू सत्यमोहन जोशी, कमलमणि दीक्षित (धर्मपत्नी सहित), युद्धप्रसाद मिश्र, कृष्णचन्द्र प्रधान, मोहन कोइराला, धु्रवचन्द्र गौतम, माधवलाल कर्माचार्य, प्रेमबहादुर कंसाकार, डायमन्ड शमशेर राणा, भूवनलाल प्रधान, दुर्गालाल श्रेष्ठ, रमेश विकल, पारिजातदेखि युवा पुस्ताका ठूलो जमात थिए । मंजुल, रामेश, रामकृष्ण दुवाल, अरिम कलाकार, रंगकर्मी, उत्तम नेपाली र अन्य थुप्रै वरिष्ठ रंगकर्मी । चउर छोपिएको थियो । त्यहाँ न राजनीतिको संवाद थियो, न कुनै दल विशेषको सन्देश नै । नि:शब्द, मौन ! केही थियो भने सांकेतिक रूपमा सबैको मुखमा थियो, कालोपट्टी । सर्वसत्तावादी सत्ताको निर्ममताप्रति विरोध थियो । तर त्यो मौन, नि:शब्दताको पलक्षण पनि तत्कालीन सत्ताका लागि यति कोलाहलपूर्ण भइगयो, सहने क्षमता रहेन । प्रहरीको जत्थाले बलपूर्वक उठाएर पुतलीसडक, बग्गीखानाको चिसो छिँडीमा कोचारे सबैलाई । 

ज्ञात भएको कुरा हो, त्यसैको निरन्तरतास्वरुप चार दिनपश्चात अर्थात चैत ७ को अपरान्हको भेला– पहलकर्ता फरक थिए, आयोजना स्थल नयाँ थियो, कीर्तिपुर, कलेज अफ एजुकेसनको सभाकक्ष । सयौं दर्शकदीर्घामा उपस्थित थिए, तत्कालीन राजनीतिक परिरिस्थितिप्रति नेपाली बौद्धिक जमातको चासोको रूपमा । डा. मथुराप्रसाद श्रेष्ठ अग्रिम नेतृत्वमा हुनुहुन्थ्यो । अनि सहयोद्धा नरहरि आचार्य । त्यस्तै शिक्षा, स्वास्थ्य, कानुन क्षेत्रका बौद्धिक अग्रजहरूको ऐतिहासिक जमघट, जहाँ समवेत स्वरले निरंकुशता, दमनविरुद्ध लोकतन्त्र र नागरिक स्वतन्त्रताका आवाज बुलन्द गरिएको थियो । पछि, सोही सभाकक्षबाट झन्डै सात सयको बौद्धिक जमातको सामुहिक गिरफ्तारी भयो । 

तर बन्दुकको नाल र नेलको आडमा निरंकुशता टिक्न सकेन । स्रष्टाहरूको मौनता र नि:शब्दका अगाडि ती सब निरीह ठहरिए । बौद्धिक जमातको सचेतनालाई कानुनको साङ्लोले बेर्न भ्याएन । आखिर तिनै सामूहिक सत्प्रयासले आजको परिवर्तनलाई सम्भव तुल्याएको हो । यो सबैमा चेत भएकै कुरा हो । 

त्यसयता सशस्त्र विद्रोहदेखि शान्तिपूर्ण आन्दोलनको विभिन्न चरण हुँंदै नौलो संविधान, नौलो राजनीतिक प्रणाली अनि नौलो राजनीतिक परिस्थितिको परिवेशमा हामी पुगिसकेका छौं । यी परिवर्तनले हामीलाई परिपक्व बनाउनेछ होला भन्ने हाम्रो विश्वास थियो । तर स्थिति त्यस्तो छैन । नयाँ संविधान हाम्रो साझा अनुबन्धनको आधार बन्न अझै सकिरहेको छैन । सबैको अपनत्व छैन, यसमा । यथार्थ हो, सबैलाई समेट्ने क्षमता यसमा छैन । त्यसैले संविधान संशोधनको प्रस्ताव संसदमा तेर्सिएको छ । यस्तोमा बढ्दै गइरहेको संविधानप्रतिकै विमतिसँंगै मुलुकको ठूलो समुदाय मूलप्रवाह भन्दा पृथक रहने खतरा देखिन थालेको छ । यति मात्र होइन, व्यक्त/अव्यक्त तरिकाले समुदाय—समुदाय बीचको विभाजनको खाडल गहिरिन थालेको छ । विडम्बना ! एकथरीको राष्ट्रियता तथा सार्वभौमसत्ता रक्षा र राष्ट्रिय एकताको चर्को स्वर अर्कोथरीले यसलाई केवल निषेधको राजनीतिको मोहडाजस्तै अनुभूत गरिरहेको छ । अनि यही बेला विखण्डनका सोचले औचित्य पुष्टि गर्ने नपत्याउनेगरी अवसर पाइरहेका छन् । सारमा, मुलुक अहिले जुन चौबाटोमा उभिएको छ र जुन प्रकारको दुर्घटना हुनसक्ने सन्त्रासको बोध हुनथालेको छ, त्यसलाई रोक्न समयमा उचित पहल नगरिए त्यसपछिको परिणति अकल्पनीय छ । 

तर प्रश्न, अबको पहलकर्ता को ? प्रश्न अनौठो होइन, अप्ठयारो बनेको छ, अहिले । हो, दलगत राजनीतिक अधिकार हाम्रो आधारभूत चाहना थियो, त्यो अधिकार अहिले संवैधानिक रूपमा प्रत्याभूत छ । आस्था अनुसार कोही कतै, कोही कतै आबद्ध छन् । यो अबको दिनमा नौलो रहेन । यति मात्र होइन, दलसँंगको सामिप्यता र सापेक्षता अहिले व्यक्तिका लागि शक्ति र सुविधा प्राप्त गर्न अनिवार्य बनेको छ । कुनै मुलुकको राजदूत, संस्थानको प्रमुख, आयोगको सदस्य वा अन्य लाभका पदमा नियुक्तिका लागि दलीय निकटता वाञ्छनीय छ । स्रष्टा, सर्जक, रंगकर्मीहरूको अहिलेको दल प्रवेशको भेल त्यसैको प्रतिविम्ब होला । राज्यको चौथो अङ्ग अझ भनौं एउटा प्रभावकारी अंग पत्रकारिता पेसाबाटै तिलाञ्जली दिंँदै दलीय राजनीतिको बाटो लाग्ने हालको अभिलाषा पनि यसको प्रतिरूप हुनसक्छ । स्रष्टाहरू छन्, सर्जकहरू छन्, बौद्धिक जमातको पनि खडेरी लागेको छैन । तर पनि मुलुकले भोगिरहेको यस संकटको अवस्थामा पनि व्यक्तिको दलीय लिप्तताले बोली फुट्दैन, स्वर सुनिँदैन । सत्ता परिवर्तन, आमूल क्रान्ति, बलिदान र त्यागका कुरा त विरानो बन्दै गएको छ । कुनै नेता विशेषको आचारण र भूमिकाप्रति सार्वजनिक रूपमा औंला उठाउन पनि दलीय इतर वा भित्रको अंकगणितीय कुरा निर्णायक हुन्छ । बौद्धिक जगतलाई यिनै रोगले गाँजेको छ । 

त्यो चैत ३ को दिन बौद्धिक जमात नि:शब्द थियो । तर तिनका स्वर यति बुलन्द थिए कि सत्ताशक्ति टिक्न सकेन । मुख कालोपट्टीले बाँधिएका थिए । तर सबैजना आफ्नो आस्था व्यक्त गर्न निर्बन्ध रहे । आजको चैत ३, बौद्धिक जमात सशब्द छन्, तर तिनका आवाजमा उत्पीडित जनताको बोली छैन, राष्ट्रको स्वर सुनिँदैन । कानुनत: बाँधिएका छैनन् विचार, तर दलीय परिबन्दमा खाँदिएका छन् । चिन्ता छ, सायद यो कहीं कतै दलीय दासताबाट अभिशप्त क्षण त होइन ? अवश्य पनि मुलुकको वर्तमान समस्याबाट विमुक्तिका लागि शुभसंकेत होइन । अर्को चैत ३ को सामुहिक बौद्धिक प्रयास आज राष्ट्रको अहम् माग हो । ‘बौद्धिक समाजको परिचायक भन्नु नै परिवर्तन ल्याउने क्षमता हो ।’ आशा छ, अल्वर्ट आइन्स्टाइनको यस भनाइले नेपाली बौद्धिक जमातलाई फेरि अर्को चैत ३ का लागि झक्झक्याओस् । 

प्रकाशित : चैत्र ३, २०७३ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT