कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रह्मानन्दको भजन

ब्रह्मानन्द भजन–माला मेरो जीवनमा निषेध थियो । हजुरदिदी पकेटबुक साइजको त्यो रातो ‘सजिल्द’ पुस्तक मलाई छुन पनि दिनुहुन्नथ्यो ।
किशोर नेपाल

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनले हर्न बजाउन पाउँदैनन् । यो भर्खरको चलन हो । जसले हर्न बजाउँछ उसले सरकारलाई जरिवाना बुझाउनुपर्छ ।

ब्रह्मानन्दको भजन

भनसुन चल्दैन । लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पुलिसले ‘आफ्ना’ मानिस चिन्न छाडेको छ । उपत्यकामा हर्न चाहिंदा पनि चाहिंदैन । सवारी साधनको संख्या हलक्क बढेको छ । उपत्यकामा चल्ने सबै सवारी साधनका इन्जिनहरूले ओकल्ने कर्कश ध्वनि पर्याप्त छ ध्वनि प्रदूषणका लागि । त्यसबाट हर्नको आवाज घटेर ध्वनि प्रदूषण कम भएको महसुस शहरवासीले गरेका छन् भने त्यो राम्रो कुरा हो । सरकारले के गरोस् ? हर्न त उसले सजिलै बन्द गराउन सक्छ । इन्जिनको आवाज बन्द गराउने हो भने काठमाडौं शहरमा सवारी साधन नै बन्द हुन्छन् । त्यसपछि के हुन्छ ? विद्रोह हुन्छ । नारा, जुलुस, धर्ना, आमरण अनशनका बीचमा सम्झौता हुन्छ । गाडी चलाउन पाइने, हर्न बजाउन नपाइने । यस्तै हुँदै आएको छ ।
यो उति बेलाको कुरा हो जति बेला काठमाडौं शहरमा मोटरको हर्न सुनियो भने अनौठो लाग्थ्यो । काठमाडौंदेखि ठिमी हुँदै भक्तपुर र बनेपासम्म यात्रुहरूले खचाखच भरिएको जीएमसी ट्रक चल्थ्यो । ट्रक पुरानो बानेश्वरको बाटो हुइँकिन्थ्यो । अर्को बाटो थिएन । बानेश्वरमा वागमती तर्ने पुलमाथि पुगेपछि यात्रुहरू ‘श्री पशुपतिनाथकी जय’ उद्घोष गर्थे । माइतीघर मण्डलादेखि तीनकुनेसम्म सडक निर्माणपछि पुरानो बानेश्वरको बाटो यात्रुबाहक सवारी साधनहरू हिंड्न छाडे । 
त्यही समय हो जब गाउँका र देशका सबै बालबालिकालाई पढ्न लगाइन्थ्यो । घरमा पनि र स्कुलमा पनि । काठमाडौंमा स्कुल थिए । सबैतिर स्कुल थिएनन् । पढाउनु नपढाउनु बेग्लै कुरा हो । त्यो बेलाको तुलनामा अहिले स्कुलहरूको कमी छैन । त्यति बेला पनि कमी थिएन पढ्नेहरूको । नपढ्नेले खान, लाउन, बस्न पाउँदैन भन्ने भयको सञ्चार गरिन्थ्यो बालबालिकाको मनमा । त्यही चलन थियो त्यतिखेर ।
हजुर दिदीको संरक्षणमा मलाई त्यतिखेर अनिवार्य पढ्न र नपढ्न लगाइएका विषयहरू रमाइला थिए –
ब्रह्मानन्द भजन–माला ।
किस्किन्धा काण्ड, रामायण ।
अथ: कीलक स्तोत्र, दुर्गा सप्तशती ।
यसबाहेक मलाई दुईवटा स्थानका बारेमा पटक–पटक बताइएको थियो—
ट्याङ्ला फाँट, कीर्तिपुर र जालपादेवी, देवीघाट ।
ब्रह्मानन्द भजन–माला मेरो जीवनमा निषेध थियो । हजुरदिदी पकेटबुक साइजको त्यो रातो ‘सजिल्द’ पुस्तक मलाई छुन पनि दिनुहुन्नथ्यो । ब्रह्मानन्दका वैराग्यपूर्ण भजनहरूको सुख उठाउने भाग्य सांसारिक सुखका सबै अधिकार खोसिएका विधवाहरू, जीवनदेखि विरक्त भएका वृद्ध–वृद्धाहरू र सन्न्यासीहरूको भागमा मात्रै थियो । युवा–युवतीहरू ब्रह्मानन्दका भजनमा रमाउन थाले भने अनर्थ हुन्छ भन्ने मान्यता प्रचलित थियो । हजुरदिदीको बुझाइमा ब्रह्मानन्दका यी भजनहरूमा यति धेरै रस छ कि कसैले पढ्यो र बुझ्यो भने त्यो मानिस जोगी पनि हुन सक्छ । उहाँको मनमा यस्तै डर थियो कि के थियो कुन्नि । रामायणको किस्किन्धा काण्ड पढ्ने आदेश र अनुमति दुवै थियो । बाली, सुग्रीव, हनुमान र अंगदको कथा । ताराको कथा । ताराको कथा रोचक लाग्थ्यो मलाई । उनको जीवनमा आएका घुम्तीहरू सहज थिएनन् । मलाई रामायणका काण्डहरूमध्ये त्यो काण्डको शीर्षक नै डरलाग्दो लाग्थ्यो : किस्किन्धा काण्ड । 
दुर्गा सप्तशतीको कीलक स्तोत्र । चाहेर पनि त्यो कहिल्यै कण्ठस्थ भएन । कण्ठ बनाउने मनै भएन, कहिल्यै । पछि, नास्तिक हुनु रहेछ । स्वभावले पहिलेदेखि नै पछ्यायो ।
यो उतिबेलाको कुरा हो, जतिबेला देशमा तीन सरकार महाराजको शासनकाल भर्खर सकिएको थियो । प्रजातन्त्र आएको थियो देशमा । कांग्रेसहरूले लडेर ल्याएका थिए प्रजातन्त्र । नास्तिक कांग्रेसहरू सुट–बुट लगाएर, टेवुल–मेचमा वसेर, भात खान्थे । जाँड–रक्सी पनि दन्काउँथे । जात–भातको कुरै थिएन । महाकवि देवकोटाले त धेरै अघि नै लेखिसकेका थिए— मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।
तीन सरकार महाराजको शासनकाल सकिनेबित्तिकै दरवारबाट बाहिरिनुभएको थियो हजुरदिदी । उहाँले बनाएको चराको सुप विशेष मानिन्थ्यो अरे । अरे किनभने एकपटक मैले त्यो सुप खाने मौका पाएको थिएँ । मलाई त्यो मीठो लागेन । अरू धेरै अंग्रेजी खानेकुरा पकाउने तरिका थाहा थियो उहाँलाई । दरबारका भान्सेहरूलाई उहाँ खानेकुरा बनाउने तरिका सिकाइदिनुहुन्थ्यो । राणाहरूको दरबारमा बाहुन जातिका मानिस नै भान्से हुन्थे । अरू जाति र जनजातिका स्वास्नी मानिसहरू महारानी, रानी र शाहज्यादीहरूको कोठा र खोपीमा खटिएका हुन्थे । सुन्दर रूपका भएपछि जुन जातिका स्वास्नी मानिसहरू भए पनि ‘नानी’ बन्थे । यी अभिशापहरूको बीचमा हजुरदिदी सामाजिक सन्तुलन मिलाएर टिक्नुभएको थियो । उहाँको इज्जत गर्थे सबैले । राम्रो प्रतिष्ठा थियो समाजमा । 
दरबारिया स्वाद र संस्कार बाध्यता थियो उहाँको । त्यसलाई थेग्न सक्ने क्षमता चुक्दै गए पनि धान्नैपर्ने । दरबारबाट अवकाश पाएपछि उहाँका लागि जीवन जटिल भएको थियो । पचास वर्ष जुन स्वादमा मानिस बाँचेको हुन्छ, जुन संस्कार उसले पछ्याएको हुन्छ, त्यो स्वाद पचासै दिनमा फेरिन त सद्दाम हुसेन नै हुनु पर्दछ । हो, सद्दाम हुसेन । आँखाहरूको आधारमा भन्दा उनी तानाशाह थिए । अत्याचारी । ती आग्रहलाई पन्छाएर हेर्दा उनी साह्रै कमजोर मानिस थिए । मृत्युसँग भाग्दै, लुक्दै, भाग्दै, लुक्दै । उनले मृत्यु छल्न सकेनन् । मृत्यु हो नै त्यस्तै तत्त्व । जोसँग भाग्न सकिन्न र छल्न पनि सकिन्न । एक जना नेपालीसँग मेरो भेट भएको थियो लमहीमा । उनी नामी कुक थिए । उनी इराकमा केही समय बसेका थिए । कुनै एउटा भारतीय कम्पनीमा कामदार । उनले मीठो खाना बनाउँछन् भन्नेबारे कसो–कसो सद्दामले सुनेछन् । उनलाई दरबारमा बोलाइयो । उनले केही दिन सद्दामलाई उनको स्वाद सुहाउँदो मीठासपूर्ण खाना खुवाए । सद्दामको मृत्युमा उनको पनि आँसु बह्यो । त्यो आँसुमा मानिसका रूपमा सद्दामप्रतिको स्नेह मात्र थियो ।
ट्याङ्ला फाँट । अचेल यो ठाउँ निकै चल्तीको छ । कलंकी चोकको विस्तारित क्षेत्र । उतिबेला त्यस्तो केही थिएन । सानदिदीको घर कीर्तिपुरको कुनै गाउँमा थियो । ऊ माइती आउँदा र जाँदा ट्याङ्ला फाँटको बाटो हिंड्ने गर्थी । सायद उकालो पनि उक्लिन्थी । मैले त्यो फाँट देखेको थिइनँ । सानदिदीको घर जान मन लाग्थ्यो । तर, त्यति लामो बाटो हिंड्ने आँट थिएन मेरो । बाटोमा ‘कच्याक–कुचुक’ मसान पर्ने भएकाले त्यता जाने अनुमति मिल्दैनथ्यो । ‘लाग्यो ओर्‍यो’ भने । सानदिदीको घरबाट नजिकै थियो मातातीर्थ । आमाको मुख हेर्ने औंसीका दिन त्यहाँ ठूलो मेला लाग्थ्यो । सानदिदी भन्थी, ‘आमा भएका मानिसले त्यो तीर्थमा जानु हुँदैन । आमा नहुने मात्रै त्यहाँ जान्छन् र त्यहाँको कुण्डको कञ्चन पानीमा आफ्नी दिवंगत आमाको अनुहार नियाल्छन् । धर्मात्मा र आमाप्रति निष्ठावान मानिसले मात्रै त्यो कञ्चन पानीमा आफ्नो स्वर्गवासी आमाको अनुहार स्पष्टै देख्छन् भन्छन् । खोइ मैले धेरै प्रयास गरें । तर कहिल्यै देखिनँ । हुन त मैले केही पाप गरेको छु जस्तो मलाई लाग्दैन ।’
तन्नेरी भएदेखि नै मनमा मातातीर्थ घुम्ने रहर थियो । रहर भए पनि आमा जीवित हुनुहुन्थ्यो । 
एकपटक हामी पाँच जना साथीहरू स्कुलबाट भागेर घुम्न निस्किएका थियौं । थानकोट जाने एउटा लहरीमा चढेर हामी नैकापसम्म पुग्यौं । त्यहाँबाट हामी कीर्तिपुरलाई लक्ष्य बनाएर हिंड्दै जाँदा कसरी कसरी पुगिएछ मातातीर्थ । हामी सबै आत्तियौं । यो सुन्दै नसुनेको र सोच्दै नसोचेको ठाउँमा कसरी आयौं हामी ? त्यहाँ मेला लागेको थिएन । तर, दर्शनार्थी भने निकै थिए । दुई जना साथीहरू, जसका आमा थिएनन्, मन्दिर गए । तीन जना हामी मन्दिरको छेउमा पनि पुगेनौं । हाम्रो आँखाले मन्दिर देख्न पनि पाएन । फर्किंदा मेरो मनमा अनेक तर्कनाहरू उर्लिएका थिए । आमालाई केही हुने पो हो कि ? मन बुझाउन उत्तिकै सजिलो थियो । गाउँमा गएको, मन्दिरमा गएको हो र ?
जालपादेवी, देवीघाट । मेरो अर्को सपना थियो । त्यहाँ म लामो समयसम्म जान सकिनँ । सधैं गाउँ र मामाघर जाँदा आमा भीमढुंगाको बाटो हिंड्नुहुन्थ्यो । ठाडो उकालो उक्लिएर निकै बेर उत्तर दिशामा तप्र्याङतप्र्याङ हिंडेपछि वैद्यको धारा आउँथ्यो । नागार्जुन पहाडको पश्चिमी भागमा रहेको त्यो धाराको पानी खाएपछि कतिपय रोगको निदान हुन्छ भन्ने मान्यता थियो । त्यहाँ पुगेपछि आमा भन्नुहुन्थ्यो, पानी खा । त्यसपछि देउराली हुँदै कोल्पुटार निस्किन्थ्यौं हामी । त्यहाँबाट खन्यायखर्कको उकालो । 
धेरैपछि मात्र मैले जालपादेवीको स्थान देखें । अहिलेको जस्तो मन्दिर बनेको थिएन । त्रिशूली र तादीको दोभानमा थियो जालपादेवीको मूर्ति । त्रिशूली नदीपारि चौतरियाको पुरानो दरवार देखियो । जगतप्रकाश जंग शाह, जो सहिद भए २०१८ सालमा, प्रजातन्त्रका लागि लडेको युद्धमा । अहिले कति जनाले सम्झिन्छन्, होला ती घटनाक्रम ? कतिले बुझेका होलान्, लोकतन्त्र स्थापनामा इतिहासका घटनाक्रमको महत्त्व ।
अहिले भीमढुंगाको बाटो पूरै परिवर्तन भैसकेको छ । त्यति बेलाको पैदल बाटोमा पर्ने सीतापाइला र फस्कु भौगोलिक रूपमा नै बदलिइसकेका छन् । जमिनको व्यापक प्लटीकरण भएको छ । हिजोका यी रमाइला गाउँ र बस्तीहरू सहरका अभिन्न अंग बनिसकेका छन् । स्वयम्भूभन्दा तल सैनिकले तारो हान्ने अभ्यास गर्ने मैदानको पनि सम्झना आइरहेको छ । बिहानको समयमा डेढ दुई घण्टा सैनिकहरूको अभ्यास चलुन्जेल त्यो बाटो पूरै बन्द हुन्थ्यो । केही वर्षअघिसम्म त्यो चलन कायम थियो । अहिले के छ थाहा छैन । त्यहाँ सैनिक ब्यारेक र अस्पताल छ । छाउनी अर्थात् क्यान्टोनमेन्ट । 
अचेल यस्तो भइसकेको छ— कतैबाट कतै जान पनि एक पाइला हिंड्नु पर्दैन । हामीकहाँ विकासको प्रवाह भनेको यही हो कि धुस्रेफुस्रे सडक जताततै बनेका छन् । अग्ला–अग्ला घर बनेका छन् । अग्लाइ देख्दै रिंगटा चल्ने । कसका लागि बनेका हुन् यी घर ? जसलाई घर चाहिएको छ त्यो किन्न आइहाल्छ । घर किनेर बस्ने इच्छा जागृत भएपछि पैसा कमाउने माध्यम वैदेशिक रोजगारी छँदैछ । हेर्दाहेर्दै काठमाडौं खुंखार बिल्डरहरूको सहर भएको छ । ‘हामी बनाउँछौं नेपाललाई’ भन्छन् सिमेन्ट मालिकहरू । देश बनाउने जिम्मेवारी सिमेन्ट कम्पनीहरूले लिएका छन् । बिल्डरहरूको आडमा बस्न नपाए बैंकहरू बिलबिलाउन थाल्छन् । राजनीतिक दलले चुनाव लड्ने खर्च जुटाउन सक्दैनन् । कुरा त उही र उस्तै हो । तीन दशकअघि जे हुने गरेको थियो, अहिले पनि त्यही हुन्छ । पात्रहरू पनि उही छन् । खाली बढेको छ त सुनको भाउ । 
इतिहास फनफनी घुमिरहेको छ । मानौं कि यो इतिहास नभएर एउटा रेलगाडी हो जो स्मृतिमा गाउँ–गाउँ बनेका स्टेसनहरूमा रोकिने गर्छ । मानिसहरू चढ्ने र ओर्लिने भइरहन्छ । किन्ने र बेच्ने क्रम चलिरहन्छ । मौसमकै हिसाबले पनि कहिले तातो तावाजस्तो ठाउँमा पुगिन्छ, कहिले स्वेटर र मफलर नभई टिक्नै नसकिने जाडो ठाउँमा पुगिन्छ । इतिहासको घुमाई अर्थपूर्ण छैन । अर्थहीन भन्न नसकिए पनि यसको स्टाटस विवादले भरिएको छ । विभेदका घटना जति पनि देखिएका छन् । भात र जातको फरक मानिदैन । तर, जात–जातमा भात चल्दैन । पानी बाराबार हुन्छ । गहुँमा मिसिएका घुन पिसिएजस्तै यहाँका मानिस अनवरत पिसिइरहेका हुन्छन् ।
योपटक फेरि चुनाव भएको छ । विगत केही समयदेखि देशमा चुनाव त भइरहेकै छ । संविधानसभाको चुनाव भयो दुई–दुईपटक । गाउँ–गाउँमा पनि चुनाव भइरहेको छ— कहिले सहकारीको, कहिले वनको, कहिले आमा समूहको, कहिले स्कुल सञ्चालक समितिको, कहिले उपभोक्ता समितिको र कहिले ढुकुटीको । चुनाव कहिल्यै रोकिन्न । चुनाव रोकियो भने पूरै राज्य व्यवस्था सजिलैसँग दोषी सावित हुन्छ । चुनावबाट चुनिएर आएपछि त ‘लालमोहोरिया’ भइहाल्यो । दुनियाँमा जे छ त्यो लालमोहोरमा नै छ । चुनाव कसले जित्छ र को हार्छ ? त्यसको खासै अर्थ हुँदैन । आज जो हार्छ भोलि उसले जितिहाल्छ ।
जमानाको बारेमा बोलेर मात्रै त के हुन्छ र ? हजुर दिदीको जमाना अझै सकिएको छैन । ठूलठूला दरबारहरू भुइँचालोले क्षत–विक्षत भएका छन् । त्यसले के भो त ? साना र चिटिक्क परेका दरबारहरूमा भान्साको लंग अलग्गै बनेको छ । एयरकन्डिसनर, पावर क्लिनर, ओभन र फ्रिजर । सबै कुरा मिलेको छ । सिस्टमेटिक । किचन र डाइनिङको कनेक्सन पो त छ खतरनाक । खाना कसरी सर्भ भै रहेको छ कसैले थाहै पाउँदैन । हिजो कुक हुन्थे, आज सेफ छन् ।
जमाना त सानदिदीको पनि सकिएको छैन । आमा खुवाउने औंसीको दिन मानिसहरूको ताँती लाग्छ मातातीर्थतिर । त्यो एक दिन मानिसहरू आमालाई सम्झिन्छन् । मातातीर्थ कुण्डको पानीमा आमाको आकृतिको दर्शन गर्ने व्यर्थको प्रयास गर्छन् । कतिले त आफूलाई धर्मात्मा प्रमाणित गर्न साथीभाइसँग कुण्डको पानीमा आमाको मुहार देखेको गफ पनि चुट्छन् । यतिले नै मानिसको आत्माले सन्तोष मान्छ भने मानिसले त्यति गर्व त लिन पाउनु पनि पर्छ । बिल्डरहरूले कुन दिन यो तीर्थको पनि सुधार गरि दिनेछन् । मातातीर्थको नाममा खडा हुने कुनै संस्थाले मातातीर्थ कुण्डमा आमाहरूको दिव्य दर्शनको प्रबन्ध मिलाउन पनि सक्छ । विज्ञानको यो जमानामा हुन नसक्ने त के नै छ र ?
ब्रह्मानन्दको भजन जारी छ ।

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?