कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुझिनसक्नु बजार

नेपालमा दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ ले दुई सातामै १८ करोडको व्यापार गर्न सफल भयो । यही बजारमा नेपाली फिल्मले चाहिँ कत्तिको कमाइरहेका छन् ?
सुशील पौडेल

नेपाली फिल्मको बजार कस्तो छ ? कतिसम्मका लगानीलाई सुरक्षित मान्न सकिन्छ ? यी प्रश्नको जवाफ स्वयं नेपाली फिल्मकर्मीसँग पनि छैन । जनसंख्याको मुस्किलले दुई प्रतिशतले नेपाली फिल्म हेर्ने अनुमान गरिन्छ । बजार फैलाउनमा भन्दा फिल्मले बजेट घटाइरहेका छन् ।

बुझिनसक्नु बजार


फिल्म ‘युगदेखि युगसम्म’ मार्फत् २७ वर्षअघि निर्माणमा होमिएका छविराज ओझा हालसम्म लगातार हिट फिल्म दिने दुर्लभ निर्मातामध्ये एक हुन् । त्यसैले पनि उनलाई कतिपय ‘बाघ निर्माता’ भनी बोलाउँछन् । राजेश हमाललाई ब्रेक दिइएको ‘युगदेखि युगसम्म’ लाई छविले २० लाख रुपैयाँमा बनाएका थिए । फिल्मले झन्डै एक करोड रुपैयाँ कमायो । तीन वर्षपछि श्रीकृष्ण श्रेष्ठलाई डेब्यु गराई बनाएको ‘नाता’ ले पनि छविको हातमा हाराहारी करोड रुपैयाँ नै थमायो ।
‘त्यो बेला त बबाल फिल्म चल्थ्यो नि’ यतिबेला दसैंको सम्मुखमा ‘मंगलम’ रिलिज गर्ने तर्खरमा रहेको छविले भने, ‘नेपाली फिल्मलाई माया गर्थे । फिल्म हेर्ने दर्शक झन्डै ५० प्रतिशत थिए ।’ त्यसो त त्यसताक मनोरञ्जनका लागि फिल्मको विकल्प नहुनु मुख्य कारण रहेको उनी ठान्छन् । छवि थप्छन्, ‘अहिले जस्तो यो धार, त्यो धारको फिल्म भन्ने थिएन । अहिले त कुन फिल्म कसले हेर्ने, कुन कसले हेर्ने भन्ने अन्योल हुन्छ ।’
सर्वाधिक धेरै हिट फिल्म दिने अभिनेता हुन् भुवन केसी । उनले छानेर फिल्म खेले र प्राय: फिल्मले राम्रै कमाए पनि । ३५ वर्षदेखि अनवरत नेपाली फिल्ममा सक्रिय भुवन १८ वर्षअघि नै फिल्म ‘सपना’ बाट निर्माणमा होमिए र गत वर्ष ‘ड्रिम्स’ सम्म आइपुग्दा उनका होम प्रोडक्सन फिल्म अधिकांशले कमाए, बाँकीले पनि लगानी उठाए ।
पहिलोपटक सिल्भर जुब्ली मनाएको ‘कुसुमे रुमाल’ जयनेपाल हलमा पहिलोपटक सात महिना निरन्तर चलेको थियो । पछि अरू फिल्मको रिलिज चाङ बढेपछि हाउसफुलकै अवस्थामा उतारेर रञ्जना हलमा लगाइएको थियो । रञ्जनामा पनि एक सय दिन पार गरेको फिल्मलाई पुन: जयनेपालमा लगाइयो । यसपटक ५० दिनभन्दा बढी चल्यो । ‘जयनेपालमा मात्रै तीनपटक चलाइएको थियो,’ फिल्मका निर्माता उद्धव पौडेलले भने, ‘उतार्दा पनि हल हाउसफुल नै थियो ।’ २०४२ सालमा रिलिज फिल्मले निर्माताको खल्तीमा मात्रै एक करोड २२ लाख रुपैयाँ भरिदियो । यसका नायक थिए भुवन नै । पछि उनी अभिनीत ‘चिनो’ ले पनि सिल्भर जुब्ली नै मनायो भने ‘करोडपति’, ‘नेपालीबाबु’ र ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ ले पनि हलमा निरन्तर प्रदर्शनको एक सय दिन पार गरेका थिए ।
‘मैले जहिले पनि छनोट गरेर, विचार गरेर खेल्थें । जुन पायो त्यही फिल्म खेल्दैनथें । विषयवस्तुमा ध्यान दिएर खेलेकाले पनि होला धेरै सुपरहिट फिल्म मेरो भागमा परे,’ भुवन आफैंप्रति गौरव गरिरहँदा थपे, ‘सुन्दा घमण्डी लाग्ला तर मेरो फिल्मले कुनै निर्माता घाटामा जानु परेन । ‘कुसुमे रुमाल’ का निर्माताले त फिल्म हल नै खोल्नुभयो ।’ हुन पनि त्यसपछि निर्माता उद्धव पौडेलले गोपीकृष्ण मुभिज खोलेर फिल्म प्रदर्शन पनि थाले ।
तुलसी घिमिरेका ‘दर्पणछाया’ अघिको समयलाई हेर्ने हो भने उनी सर्वाधिक हिट फिल्म दिने विवादरहित निर्देशक हुन् । ‘कुसुमे रुमाल’ का निर्देशक घिमिरेका होम प्रोडक्सन फिल्ममा सर्वाधिक कमाउने फिल्म ‘दर्पणछाया’ हो । ‘१६ वर्षअघि त्यो फिल्मले ७ करोड रुपैयाँ ग्रस गरेको थियो’ तुलसीका त्यसपछि ‘बलिदान’, ‘लाहुरे’ र ‘चिनो’ पनि सुपरहिट बने ।
‘त्यो बेला घाटामा कोही पनि जाँदैनथ्यो । शतप्रतिशत फिल्म नाफामा नै हुन्थे,’ तुलसी घिमिरेले निर्माण गरेको पहिलो फिल्म ‘बाँसुरी’ बाटै उनले छ लाख कमाएका थिए । ३६ वर्षअघि उनले पौने पाँच लाख रुपैयाँमा उक्त फिल्म बनाएका थिए ।
नेपाली फिल्म एकपछि अर्को गरी फ्लप हुँदै गएपछि झन्डै छ वर्षअघि चलचित्र विकास बोर्ड संकटकाल घोषणाको तयारीमा थियो, निर्माता बचाउने भन्दै । तत्क्षण आयो ‘लुट’ । साढे चार करोड रुपैयाँ ग्रस पनि त्यो बेला ठूलो भयो । निर्माता माधव वाग्लेले त्यसपछि ‘रेसम फिलिली’ बाट देशभित्र ८० लाख, ‘छड्के’ बाट ७९ लाख र ‘लुट २’ बाटै तीन करोड रुपैयाँ कमाए । पछिल्लो छिमलका उनी सर्वाधिक सफल निर्मातामा पर्छन् ।
‘ठाउँ–ठाउँमा मल्टिप्लेक्स खुल्न थालेपछि फिल्मको बजार धेरै माथि आइसक्या छ,’ निर्माता वाग्लेले भने । तर पछिल्लोपटक उनकै फिल्म ‘लभ सासा’ ले देशभरबाट पाँच लाख रुपैयाँभन्दा नकमाएको वाग्ले नै स्विकार्छन् । तर गत वर्ष फिल्म ‘छक्कापञ्जा’ ले झन्डै १६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेर नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइको रेकर्ड राख्यो । त्यसअघि अधिकांश निर्माता आफ्ना फिल्म फ्लप हुनुमा सानो बजारलाई नै दोष दिएर पानीमाथिको ओभानो हुँदै आएका थिए ।
छवि पनि बजार घटेको वा खुम्चिएको मान्न तयार छैनन् । भन्छन्, ‘बजार घटेको छैन । पहिलेभन्दा बढेको छ । मात्र दर्शक विभाजित भएका छन् ।’ उनी कमर्सियल वा अर्गानिक फिल्म, सिंगल स्क्रिन दर्शकका लागि वा मल्टिप्लेक्स दर्शकका लागि भनी फिल्मलाई विभिन्न धारमा छुट्याउने परिपाटीले दर्शक बाँडिएको जिकिर गर्छन् । उनले यसैकारण आफूहरूसमेत अचेल कस्तो खालको फिल्म बनाए चल्छ भन्ने द्विविधामा पर्न थालेको दुखेसो पोख्छन् ।
भुवन केसी पनि बजार घटेको मान्न तयार छैनन् । ‘फिल्म बजार कहिले पनि घटेको देख्दिनँ’ उनले पैसा कमाउन वा नाम कमाउन फिल्म बनाउनेभन्दा पनि दर्शकको मन जित्न बनाइयो भने सफल हुने तर्क गर्छन् । हुन पनि उनी अभिनीत ‘सम्झना’, ‘कन्यादान’, ‘सन्तान’, ‘दुई थोपा आँसु’, ‘दक्षिणा’, ‘बादलपारि’, ‘साइनो’ जस्ता फिल्म सबै हिट भए भने पहिलोपटक निर्देशनसमेत गरेको ‘ड्रिम्स’ ले पनि उनलाई सफलता दिलायो ।
‘हवल्दार सुन्तली’ सम्म आइपुग्दा बाघ निर्माता भनिएका छवि केही खुम्चिएका छन् । ‘हिम्मत’, ‘किस्मत’, ‘हिफाजत’, ‘कसले चोर्‍यो मेरो मन’, ‘अन्दाज’ जस्ता फिल्म उनका पहिलेका जस्ता बिकाउ भएनन् । यसको कारण के होला त ? छवि तर्क गर्छन्, ‘त्यो बेला मेकिङ सस्तो थियो । ‘युगदेखि युगसम्म’ २० लाख रुपैयाँमा बनाएको थिएँ भने ‘अन्दाज’ बनाउँदा ७६ लाख रुपैयाँ पुग्यो । लगानी बढ्दै गयो आम्दानीको रेसियो घट्दै गयो ।’
त्यसो त पछिल्ला वर्ष महँगो टिकट दर भएका मल्टिप्लेक्स धमाधम खुलेका पनि छन् । तर अझै सिंगलस्क्रिन दर्शकमै सीमित भइरहेका छविको भनाइ यस अर्थमा जायज पनि छ । निर्देशक तुलसी घिमिरे भने बक्सअफिस नहुनु र वितरण प्रणाली भद्रगोल हुँदा नेपाली फिल्मले यकिन बजार पाउन नसकेको तर्क गर्छन् । ‘नाफामा कोही छैनन् । बक्सअफिस छैन । भद्रगोल फिल्म वितरण छ । निर्माताको भागमा ग्रसको २२–२५ प्रतिशत मात्रै सेयर पर्छ । निर्माता कसरी बाँचिरहेका छन्, थाहा छैन,’ उनले आश्चर्य व्यक्त गरे ।
तर यही बजार हो, जहाँबाट दुई साताभित्रमा दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ ले दुई सातामै १८ करोडको व्यापार गर्न सफल भयो । त्यसअघि पनि आमिर खानको ‘धुम ३’, ‘दंगल’ वा सलमान खानको ‘बजरंगी भाइजान’, ‘सुल्तान’ हेर्न यहाँ दर्शकको ओइरो लाग्ने गरेको छ ।
त्यसैले भुवन निचोडमा भन्छन्, ‘मैदानमा कति खेलाडी कुद्छन्, तर त्यसैको नाम आउँछ जसले गोल हान्छ ।’ गोल हान्नका लागि राम्रो अध्ययन, प्रस्ट भिजन र तन, मन, वचनले समर्पित फिल्मकर्मी आएमा दर्शकले सदैव साथ दिने जिकिर गर्दै भुवनले थपे, ‘स्वर्गीय नारायणगोपालका सबै गीत हिट छन् । उहाँका नराम्रा भनिएका गीत पनि अन्य गायकका राम्रा भनिएका गीतभन्दा राम्रा किन छन् ? किनकि उहाँ सोचेर, सम्झेर र फ्यानको मनस्थिति बुझेर गाउनुहुन्थ्यो । अब कसैले मैले यति धेरै गीत रेकर्ड गराएको छु भनेर गर्व गरेर हुन्छ ?’

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?