कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहर फेर्ने समय

हिमाल न्यौपाने

पाँच डिग्री तापक्रम दुई साताको अन्तरमा एक्कासि उकालो चढ्दै छ । डेढ महिनाअघि माइनस बीस डिग्री थियो । तापक्रमको निकै उतार–चढाव भएको ठाउँ हो, चीनको उत्तर पूर्वी सहर छाङ्छुङ् । यो अहिले दिनुहुँजसो समाचारमा छाउने उत्तर कोरियाको सीमावर्ती चिनियाँ सहर हो ।

सहर फेर्ने समय

छाङ्छुङ्को अर्थ पनि रमाइलै छ । छाङ् भन्नाले लामो र छुङ् अर्थात् वसन्त ऋतु । पन्ध्र–बीस दिन मात्र अर्थात् असाध्यै कम समय मध्यम मौसम रहने ठाउँलाई चिनियाँहरूले लामो वसन्त ऋतु भएको सहर भनेर छाङ्छुङ् नाम दिएका छन् । 
किन त ? छाङ्छुङ्का पाकाहरू भन्छन्, ‘अर्कोपटक लामो वसन्त ऋतु हुनेछ भनेर यस्तो नाम दिइएको हो ।’ यहाँका मानिसहरू अर्को वर्ष लामो वसन्त ऋतु आउने आसमा सबैभन्दो छोटो वासन्ती मौसमलाई बिदा गर्दै चर्को गर्मी र लगत्तै माइनस तीससम्म पुग्ने हिउँमा लुटपुटिन थालिहाल्छन् । फेरि राम्रा दिन आउनेछन् भन्ने आसमा जीवनको निरन्तरता हो भन्ने बुझ्न यो छाङ्छुङ्को नाम र मौसम दुवै काफी छन् । 
अहिलेका चिनियाँ युवा भने राम्रो दिनका लागि भाग्यमा भर पर्ने दिन गए भन्छन् । चिनियाँ मित्र चाङफङलाई मैले भनें, ‘यो कुरा त नेताहरूको भाषणजस्तै भयो नि ।’ चाङले भनी, ‘ल हिँड म तिमीलाई केही दिनमै चर्किने गर्मी थेग्न भइरहेको तयारी देखाउँछु ।’ चाङ र म विश्वविद्यालय नजिकैको सडकमा आधा घण्टा हिँड्यौं । उसले सुनाई, ‘सडकमा गुड्नेले वातानुकूलित कार चढ्छन् । यो सहरको अर्को नाम अटोमोबाइल सिटी पनि हो । तर, फुटपाथमा हिँड्नेको समेत ख्याल गर्नुपर्‍यो नि ।’ यसको जिम्मा स्थानीय सरकारले लिन्छ । हुन पनि दुई साताअघि फराकिलो पार्न थालेको सडकमा फुटपाथ बनिसकेछ । भर्खर बनेको फुटपाथमा एकाएक अग्ला–अग्ला रूख र बगैंचा देखेर म त छक्क परें । हरिया हुँदै गरेका रूखमा बिरामी मानिसलाई रगत चढाएजस्तै भिटामिनका ब्यागहरू झुन्डिएका थिए । मैले तस्बिर खिचें । तर, मैले तस्बिर खिचेको देखेर चाङ छक्क परी । उसले भनी, ‘चिनियाँ सहरमा सग्लै रूख रोप्ने र रूख नसर्दासम्म यसै गरेर भिटामिन दिनु अब नयाँ कुरा होइन । यस्ता दृश्य सामान्य हुन् ।’ 
हुन पनि काठमाडौंको भन्दा दोब्बर जनसंख्या भएको छाङ्छुङ्मा लगभग सबैजसो फुटपाथमा हिँड्दा अब सोझै चर्को घाम खेप्नु पर्दैन । रूखसँगसँगै विभिन्नथरीका फूल रोपेर फुटपाथ लगभग सुन्दर बगैंचाजस्तै देखिन थालेको छ । यसरी सजाइएको बगैंचाको आयु करिब छ महिना मात्रै हो । त्यसपछि हिउँले यसलाई ढाकिहाल्छ । अर्थात्, केही महिनाका लागि मात्रै सहर सिँगार्न कति मिहिनेत परेको होला । चाङले भनी, ‘हो धेरै मिहिनेत छ । तर, त्यसका फाइदा अनेक पनि त छन् । पहिलो त रोजगारी नै हो ।’ यसरी सहर सफा सुग्घर राख्ने काममा पहिलो प्राथमिकता पाका मानिसहरूलाई छ । उनीहरू अघिल्लो पुस्ताका हुन् । उबेला कलेज पढ्न पाएनन् । त्यसैले अहिलेका मेसिनरी जागिर पाउन गाह्रो छ । तर, उनीहरूले धैर्यपूर्वक काम गर्न जानेका हुन्छन् । र, उनीहरूको अनुभवले सहर सिँगार्न सजिलो हुन्छ । अर्को झनै फाइदा पनि छ । पाका उमेरका अनुभवीले सफासुग्घर पारेको सहरमा हुर्कन पाएपछि तिनका सन्तानले बढी काम गर्न सक्छन् । कार्यालय र व्यापारमा हरेक दिन टाउको दुख्यो या रुघा लाग्यो भन्नेहरूको संख्या स्वत: कम भइहाल्छ । 
यसरी फुटपाथका बगैंचा हेर्दै चाङका कुरा सुनिरहँदा मचाहिँ तीनकुने कार्यालयबाट आफ्नै डेरा बुद्धनगर हिँडेको सम्भिँmदै थिएँ । दुई महिनाअघि त्यो बाटो हिँड्दा सडकबीचको बगैंचामा रोपिएका बिरुवाका पात धूलोले ढपक्कै छोपेको थियो । तीन किलोमिटरको सडक बगैंचा हुर्काउने जिम्मा लिएको नेपाल टेलिकमका तीन–चारवटा बोर्ड मात्र सडकको बीचमै चम्किला देखिन्थे । हाम्रा कैयौं सहरहरू सार्वजनिक निजी साझेदारीको नाममा कुरूप पारिएका छन् । दुई–चार किलोमिटर मुख्य सडकको छेउछाउ रूख रोप्न र हुर्काउन पनि होडिङ बोर्ड टाँस्ने कम्पनी खोज्नेहरूले किन महानगर बनाउन तम्सिए यो आफैंमा अचम्मलाग्दो छ । सरसफाइ कर्मचारीहरूको परिचालन पनि निकै कमजोर छ । यतातिर भने सडक सफा गरिरहेका पाका मानिसहरू विभिन्न उपकरणले सुसज्जित देखिन्छन् । 
सायद, अब नेपालमा यसपालि आएका जनप्रतिनिधिहरूले सहरको वातावरण सुधारमा पक्कै केही गर्नेछन् । छाङ्छुङ्का बगैंचामा चुनावअघि नेताहरूले देखाएका सपना र अहिले जनताले चुनेर उनीहरूलाई दिएको जिम्मा सम्झेर एकै छिन टोलाएको मात्र के थिएँ, चाङले सम्झाई— अब फर्किने बेला भयो । साँझको बजार हेर्न फेरि भेटौंला । बिदा हुने बेलामा उसले मलाई अंग्रेजी नाम देऊ सम्झिन सजिलो हुन्छ, भनी । नाम जुराउन मलाई धेरै बेर लागेन र भन्दिएँ, ‘लोरा फङ्’ । बगैंचाजस्तो फुटपाथमा यति लामो कुरा गरेपछि मैले चाङलाई पनि फूलको सहरमा बस्ने फूल अर्थात् ‘लोरा’ नाम दिएँ । 
फेरि भेट भयो, अर्को दुई दिनपछि । साँझको बजार घुम्न तय भएको समयमा एक सेकेन्ड ढिला नगरी आइपुगी, ‘लोरा फङ्’ । पाँच मिनेट टाढाको होस्टलबाट आउँदा पनि ऊ ट्याक्सीबाट ओर्लिई । किन भन्ने प्रश्न नफुत्किँदै उसले भनी, ‘अहिलेको चिनियाँ पुस्ता समयलाई अलि बढी नै महत्त्व दिन्छन् । समयमा नपुगे काममा समस्या हुन्छ । काम नभए पैसा कमाउन सकिन्न । पैसो नभए चिनियाँ सहरमा काम गर्न सक्नेलाई सित्तै कसैले पानी पिउनसमेत दिँदैन ।’ तर, समयको पालना गर्न धेरै कुरा मिल्नु पनि पर्‍यो नि । मैले भने, ‘पाँच मिनेटको बाटोमा ट्याक्सी चढ्न पाउनु हाम्रा नेपालका सहरमा चन्द्रमा यान चढ्नुजस्तै गाह्रो छ । नजिकको ठाउँ बताए ट्याक्सीले लैजान मान्दै मान्दैनन् । अझै ड्राइभर झर्केर दिन नै खराब गर्दिन बेर लाग्दैन । सहरको सार्वजनिक यातायात सुधार भए कसले समय टार्ने थियो र, हाम्रोमा पनि ।’ उसले भनी, ‘ट्याक्सीका कहानी छोड र साँझको रमाइलो बजार हिँड ।’ 
दिउँसो खुला देखिने छाङ्छुङ्का फुटपाथ चोक झमक्क साँझ पर्दा खानाका स्टलहरूले भरिइसकेका थिए । चाउमिनका अनेक प्रकारदेखि पोलेका सखरखण्ड र उसिनेका मकै खानेहरूको ताँती लाग्दै थियो । उसले फुड स्टलमा हात लम्काई । मैले फुटपाथमा केही खान्नँ, भने । उसले आश्वस्त पार्न खोजी, ‘खराब केही हुन्न । यी सबैले सहरी प्रशासनसँग लाइसेन्स लिएका छन् । कम पुँजी भएका र चोक छेउछाउ भएकाले स्थानीय स्वाद झल्किने व्यापार गरुन् भनेर यस्ता ठाउँ तोकिदिएको हो । खराब खानेकुरा बेचे कडा कानुन छ । तलमाथि गर्ने आँटै गर्दैनन् । भैगो तिमीलाई म केटीभी लैजान्छु ।’ कान्तिपुर टेलिभिजनलाई छोटकरीमा केटीभी भन्दै पन्ध्र वर्ष काम गरेको मलाई केटीभी लैजान्छु भनेर उसले फेरि छक्क पारी । चाङले भनी, ‘यो तिमीले काम गर्ने केटीभीसँग अलि–अलि मिल्छ । काराओकेको छोटकरीमा केटीभी भनिएको हो । चीनका ठूला–साना सहरमा ‘केटीभी’ निकै लोकप्रिय छन् । यस्ता सांगीतिक क्लबमा चीनमा धनाढ्य हुँदै गएका र तिनका छोराछोरीले मनग्य खर्च गर्छन् ।’ केटीभी पुगेर चाङले चार बोतल बियर किनी । मैले ‘धेरै भएन’ भनेर सोध्दा उसले जवाफ दिई, ‘दुई प्रतिशत मात्रै अल्कोहल हो । चारै बोतल एक्लै पिए पनि तिमी सजिलै हिँडेर घर जान सक्छौं ।’ 
फस्टाउँदो मनोरञ्जन बजारलाई अनुशासनमा राख्न जरैदेखि उपायहरू लगाएको देखिन्छ । धेरै बोतल पिउँदा राज्यलाई कर बढी उठ्ने, पियक्कडहरू पनि ढलिनहाल्ने । गजब तरिका लाग्यो । अर्कोतिर यसरी फस्टाएको मनोरञ्जन व्यापारबाट उठेको धेरै करले सहरहरूको विकासमा पनि ठूलो योगदान छ । केटीभीमा चिनियाँ र अंग्रेजी गीत गाउँदा गाउँदै रातिको बाह्र बजिसकेछ । केटीभीबाट बाहिरिँदा सडकमा चहलपहल अझै थियो । खाना बेच्ने पसलहरू भने उठिसकेछन् । ट्याक्सी बोलाउनै आँटेको उसले भनी, ‘पाँच मिनेटको बाटो हो । म गइहाल्छु हिँडेर, ट्याक्सी चाहिँदैन् ।’ यति राति केटी मान्छे एक्लै जाने, उसले भनी, ‘केही फरक पर्दैन । सडकमा पूरै सिसी क्यामेराको सर्भिलेन्स छ । कसले छुने आँट गरे केही गर्नुपहिल्यै पुलिस आइहाल्छ ।’ 
हुन पनि, आममानिसलाई अनुशासित बन भनेर जति भने पनि केही काम छैन । जबसम्म प्रविधि र सुरक्षा सेवाको भरपर्दो संयोजित व्यवस्था हुँदैन । जाँदाजाँदै चाङले दोहोर्‍याइ, ‘चिनियाँ समृद्धिको सूत्र यही हो, सहर उच्च आर्थिक वृद्धिका इन्जिन हुन भने गाउँ इन्जिन चलाउन चाहिने इन्धन ।’ मैले बुझेजस्तो गरें, ‘उत्पादन, खपत र त्यसबाट निस्कको चिनियाँ सामथ्र्यको संगम यही होला ।’ 
मैले फेरि नेपाल सम्झिएँ— नेपालमा भर्खर चुनिएका नयाँ स्थानीय सरकारहरूले यस्ता कैयौं तरिका लगाएर काम देखाउने मौका पाएका छन् । त्यसैले अब ढिलो नगरी मुहार फेरौं सहरको ।

प्रकाशित : जेष्ठ २०, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?