किशोरीको बयान

बिना थिङ

एक अपराह्न म विद्यालय हाताभित्र थिएँ । कसैले मेरो हातमा एउटा पत्र पारिदियो । कार्यालय कक्षमा पुगें । पत्र उघारें । पढ्न थालें । पत्रमा गज्याङमज्याङ देखिने अक्षरहरूको शाब्दिक गुजुल्टो थियो । तर तिनै गज्याङमज्याङ शब्दहरूले एउटा समस्या स्पष्ट रूपमा बताएको थियो :


उमेरको लम्बाइ तनक्क तन्किएर तेह्रमा पुग्यो । नाम पूजा (परिवर्तित) तामाङ । किशोरीस्वरूप विकसित छन् शरीरमा । तर हृदयमा कुनै चञ्चलता छैन । मानौं ती रुष्ट छन् । त्यसैले खुसी बेपत्ता छ उनको जीवनबाट । एक्लो–एक्लो, उदास–उदास रहनु उनको नियति बनेको छ । आमा उनी सानै छँदा मरेकी । बाबु ज्यामी काम गर्छन्, त्यसैले अत्यधिक समय कामको सिलसिलामा बाहिरै बित्छ । बाबु, छोरीका लागि खाना बनाउनु, कपडा धुनु, स्कुल जानु, भएका एक–दुई बाख्रा स्याहार्नु पूजाको दैनिकी हो । यसबाहेक खेल्नु, हँसीमजाक गर्नु, साथीसंगीसँग घुलमिल हुनु, पढाइमा ध्यान दिनुजस्ता यावत् कुराहरूमा उनको रुचि पटक्कै छैन र यस्तो हुन थालेको करिब डेढ वर्ष हुन लाग्यो ।
डेढ वर्षदेखि नै छिमेकमा दुर्योधन (परिवर्तित) अंकल बस्न थालेको छ । दुर्योधनको एक श्रीमती र एक छोरा, एक छोरी छन् । उमेर पूजाको बाबुको हाराहारीका होलान् उनी । साथी बनेका छन् पूजाको बाबु र दुर्योधन । त्यसैले दुर्योधनलाई पूजाको घरमा ओहोरदोहोर गर्न कुनै अवरोध छैन । र अवरोध छैन पूजाको बाबुको अनुपस्थितिमा पूजाको शरीर गिजोल्न । मेरो छोरीजस्तै लाग्छे पूजा भन्दै माया जताउने दुर्योधन अंकलको हातहरू संवेदनशील अंगमा सल्बलाउन्जेल पूजा लाज र रिसले रातो–पिरो हुन्छिन् । प्रतिकार गर्न भने सक्दिनन् । चुप लागेर हल्का शरीर दोबारेर सीमित हुनुबाहेक अरू केही गर्न सक्दिनन् । दुर्योधन साँझ–बिहानको मौका पारेर हप्तामा दुई–चारपटक भान्छामै पुग्छन् र मनोमानी गरेर फिर्छन् । पूजालाई दुर्योधन देख्दा घीन लाग्छ । रिस उठ्छ । तर यसबारे न बाबुलाई भन्न सक्छे न साथीभाइलाई न त विद्यालयमा कुनै शिक्षकलाई ।
यो पत्र पाउनुअघि मैले केही विद्यार्थीसँग मनोविमर्श गरेकी थिएँ । समस्या थुप्रैसँग थिए । त्यसमध्ये एउटा ‘केस’ यहाँ उल्लेख गर्नु सान्दर्भिक लाग्यो । उनको नाम सविना (परिवर्तित) हो । उनलाई न्यौपाने दम्पतीले धर्मपुत्रीको रूपमा स्विकारेको चौध वर्ष पुगिसकेको छ । आर्थिक रूपले सम्पन्न ती दम्पतीको तीन जना छोराहरू मात्रै भएको र छोरीको अभाव पूर्तिका लागि सविनालाई अपनाएका हुन् । छोराहरू यतिखेर लक्का जवान भइसके । घरमा सबैले सविनालाई माया गर्छन् । हाई सुख छ सविनालाई त्यहाँ । कुनै अभाव हुन दिएका छैनन् । त्यसरी आफूलाई धर्मपुत्री राखिएको बारे सविना आजपर्यन्त अनविज्ञ छिन् । उनका माइला दाजु अठार वर्षको भइसके । यिनै माइला दाजु गृहकार्य सिकाउनेदेखि लिएर सविनाको अनुशासनबारे चिन्तित छन् । यिनले सविना स्कुलबाट समयमै आए–नआएकोदेखि उनको साथीसर्कलसम्मै हेक्का राख्छन् । प्राय: ऊ सविनाको कोठामै हुन्छे । बहिनी ठूली भइसकेको र उसको खराब संगत रहला भनेर ख्याल राखेकोमा आमाबाबु माइला छोराप्रति ढुक्क छन् । तर वास्तवमा बाहिर जे देखिन्थ्यो त्यो भित्र थिएन । लामो समयदखि आफू यिनै माइला दाजुबाट यौन हिंसामा परिरहेकी छु भन्ने कुरा सविनाले कसैलाई भन्न सकेकी छैनन् । दाजु भित्र कोठा पसेपछि उनको स्तन समाउने, गालामा चुम्बन गर्नेदेखि आज फलानोसँग किन हिँडिस् भनेर ताडना दिने गर्छन् । उनको दाजुले आफूले गरेको हर्कतबारे कसैलाई बताए मारिदिने धम्की पटक–पटक दिन्छन् । त्रसित छिन् सविना । एकपटक यसबारे आमालाई जानकारी गराउन खोज्दा आमाले ‘पाप सोच्छेस् दाजुलाई’ भनेर उल्टै हप्काएपछि उनको ओठ बन्द छ । अचेल उनको पढाइमा ध्यान कम जाने, कक्षामा प्राय: घोप्टो परिरहने, अतिरिक्त क्रियाकलापमा मन नराख्ने, एकदम हतास–हतास देखिने र कमभन्दा कम बोल्नेजस्ता लक्षणहरू देखा परेका छन् । यसले उनको भविष्य अन्योल रहेको स्पष्ट संकेत गरिरहेको छ ।

अर्को एउटा घटना
काठमाडौंकै एक विद्यालयमा पढिरहेका एकाघरका ३ बालिका जो क्रमश: ५, ७ र ९ वर्षका छन्, ती केही समयदेखि गन्हाउन थाले । किन गन्हाए भनेर शिक्षकहरूले खोजी गर्दा जुन रहोस्यद्घाटन भयो, त्यो हृदयविदारक थियो । ती तीनै जना आफ्नै बाबुबाट बलात्कार हुँदै आएका रहेछन् । अन्तत: लगातार तीनवटी छोरी जन्माएपछि आमामा आङ खस्ने समस्या देखिएकाले त्यो नरपिपासुले आफ्नै रगतसँग शारीरिक सम्पर्क राखेर यौन सन्तुष्टि लिने गरेको बयान सामुन्ने आयो । योभन्दा घृणित कार्य अरू के हुन सक्ला ? कसमाथि विश्वास गर्ने ?
उल्लिखित प्रतिनिधि घटना राजधानी काठमाडौंको हो । जहाँका जनता गाउँका भन्दा सचेत र सुविधासम्पन्न छन् । अधिकांशले हात–हातमा मोबाइल बोकेका छन् । सूचना र पहुँचको हकमा अन्यत्रका भन्दा यहाँका जनता अगाडि छन् । देशमा सरकार छ, कानुुन छ । चोक–चोकमा प्रहरी बिट छन् । बालबालिकाको अधिकारका लागि विभिन्न संघसंस्था खुलेका छन् । तर किशोरीहरू यौन हिंसाको सिकार भइरहेका छन् र अधिकांश सिकारी टाढाका नभई चिनेजानेका, नजिकका आफन्तहरू हुन्छन् । जसलाई अभिभावकहरूले आँखा चिम्लेर विश्वास गरिराखेका हुन्छन् । उनीहरूको भित्री हर्कतबारे कुनै कोणबाट पनि शंका गर्न सक्दैनन् । यसले गर्दा ती अपराधीहरूको मनोबल अझ बढेर गएको छ । तिनीहरूको मनोबल बढ्नुको अर्को महत्त्वपूर्ण कारण भनेको पीडित किशोरीहरू आफूलाई परेको मर्काको बारेमा कसैलाई भन्नै सक्दैनन् । उनीहरूमा एक किसिमको लज्जाबोध हुनुको साथै ग्लानि अनुभव हुन्छ । आफ्नै कारण यस्तो भइरहेको भन्ठान्छन् । आफैंलाई दोषी करार गरिराखेका हुन्छन् । गोपनीयता भंग हुने त्रासले यसबारे बोल्न सक्दैनन् । काठमाडौंमा हुनेको त यो हाल छ भने ग्रामीण भेगमा कति किशोरीहरू पीडित होलान् जो सम्पूर्ण गल्ती आफैंलाई थोपरेर मौन–मौन बाँचिरहेका ।
मनोविद् किशोरकुमार थापाका अनुसार नेपालमा १८ वर्षभन्दा कम उमेरका ६ मध्ये १ केटा र ४ मध्ये १ केटी कुनै न कुनै तबरबाट यौनजन्य हिंसामा परिरहेका हुन्छन् । तर यसबारे प्राय:लाई खबर हुँदैन । कतिपय अवस्थामा आफू हिंसामा परेको थाहै पाउँदैनन् केटाकेटीहरू । बिस्तारै ती केटाकेटीहरू साथीहरूको झुन्डबाट अलग्गै रहने, पढाइमा ध्यान नदिने, कम बोल्ने, चिढिने, रिसाउने, आत्महत्याको प्रयास गर्ने गर्छन् । यसरी किशोरीहरूको यौन शोषण गर्नेहरूमा सयमा नब्बे प्रतिशत आफन्त, नातेदार, नजिकका चिने–जानेकाहरू हुने गर्छन् । तिनीहरू किशोरीहरूको घर, कोठासम्म निर्बाध आउन–जान सक्छन् । यसमा कसैले शंकै गर्न सक्दैनन् । जसले गर्दा किशोरीहरू आफ्नाहरूविरुद्ध आवाज उठाउनै सक्दैनन् । अधिकांश किशोरीहरूमा नाइँ भन्न सक्ने चेतना छैन । वास्तवमा यस्तो हिंसाबाट बच्न स्वयं किशोरीहरू नै सचेत हुनु जरुरी छ । उनीहरूले कसैले गलत गर्दै छ भन्ने लाग्नासाथ प्रतिकारस्वरूप नाइँ भन्न सक्नुपर्छ । सुरुआतमै प्रतिकार गरेमा त्यस्ता अपराधीहरू हच्किन्छन् र दोस्रोपटक त्यस्तो हर्कत नदेखाउन सक्छन् । त्यस्तै यो प्रक्रिया लगातार दोहोरिन थालेमा आफ्नो आमाबाबु, साथी, शिक्षक अथवा मनले जितेको कसैसँग सेयर गर्ने, सहयोग लिने गर्नुपर्छ र साथसाथै नजिकको प्रहरी प्रशासनमा उजुरी गर्नुपर्छ ।
एनजीओ फेडरेसन काठमाडांै शाखाका उपाध्यक्ष प्रदीप डंगोल भन्छन्, ‘बालबालिकाको यौन शोषण गर्नेहरूमा पावरफुल वर्ग बढी हावी छन् । ती पैसा, पहुँच अथवा पदीय हिसाबले शक्तिमा हुन्छन् । यस्ता पुरुष उमेरगत हिसाबले ३५ वर्षदेखि ५५ वर्ष समूहबीचका बढी रहेको पाइएको छ । बढीजसो पारिवारिक विखण्डनमा परेका बालिकाहरू जोखिममा हुन्छन् । त्यस्तै एकल परिवारका, बसाइसराइ भएका परिवारका, दोस्रो विवाह गरेर गएका महिलासँगै लगिएका छोरीहरू उच्च जोखिममा रहन्छन् ।
राज्यले कसैले बालबालिकामाथि यौन हिंसा गरेको प्रमाणित भएमा अपराधीलाई २ देखि १३ वर्ष जेल सजाय वा जरिवानाको व्यवस्था गरेको छ । तर अधिकांश किशोरीहरू यसरी कानुनी प्रक्रियामा जान अप्ठयारो मान्ने, डराउने गर्छन् । फेरि जति पीडितहरू कानुनी प्रक्रियामा जान्छन्, तिनीहरूका लागि न प्रहरी कार्यालयमा बालमैत्री वातावरण छ न फरेन्सिक ल्याबसम्म पुग्ने सहज छ । यहाँ विदेशमा जस्तो वान डोर एप्रोच पनि छैन, जहाँ पीडितले एकै ठाउँमा डक्टर, प्रहरी र वकिलको सामु बकपत्र दिन सकोस् । पटक–पटकको बयानले पीडितले अपमानित बोध गर्छ । यो लम्बेतान प्रक्रियाले पनि पीडितहरूलाई हतोत्साही गरिरहेको हुन्छ । यो त भयो बोझिल कानुनी प्रक्रियाको कुरा, अर्को छ मानसिक ‘टर्चर’ । यसमा भोलिका दिनहरूमा ससम्मान बाँच्न नपाउने आशंकामा किशोरीहरू आफ्नो वर्तमान जिन्दगी जोखिममा राख्ने गर्छन् । गोपनीयता भंग नहुने कुरामा विश्वस्त भएपश्चात् मात्र यसबारे उनीहरू खुल्छन् । जुन कुरा विश्वस्त दिलाउन जो कोहीले सक्दैनन् । उनीहरू प्राय: मनोविर्मशकर्तासँग खुल्न सक्छन् । यसको लागि प्रत्येक विद्यालयमा कम्तीमा एक जना मनोविमर्शकर्ता हुनैपर्छ । कम्तीमा हप्तामा एउटा वैयक्तिक विमर्श गरिनुपर्छ ।

Yamaha

Esewa Pasal

प्रकाशित : जेष्ठ २७, २०७४ १०:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

क्युबामा चे र क्यास्त्रोको सम्झना

क्युबालीहरू ऐयासीमा बाँच्ने अवस्थामा पुगेका छैनन् तर बाँच्नलाई चाहिने आधारभूत सबै वस्तुहरू उनीहरूसँग छ । मैले भेटेका चौकीदार भन्छन्, ‘विश्वकी कुनै सुन्दरी रातभरि हवानाको सडकमा एक्लै हिँडी भने पनि कुनै असुरक्षा छैन । चोरी, बलात्कार, गुन्डागर्दी, डकैती गर्ने पनि मान्छेले नै हौँ तर हामीकहाँ त्यो समस्याका रूपमा छैन ।’
राम कार्की

चेग्वेभारा र फिडेल क्यास्त्रो मेरो राजनीतिक जीवनका एकदमै प्रिय व्यक्तित्वहरू हुन् । व्यक्ति प्रिय हुनका लागि ऊ भौतिक रूपमा निकटमा भइरहनु पर्दैन, त्यसका अरू नै भावनात्मक र वैचारिक कारण हुन्छन् ।

तर प्रिय चीजलाई नजिकबाट महसुस गर्ने चाहनाचाहिँ सबैमा हुन्छ । राजनीतिक यात्राको प्रारम्भिक चरणदेखि नै चे र फिडेलप्रति मेरो रुचि र सम्मान थियो । उनीहरूले क्रान्ति गरेर महाशक्ति अमेरिकाको नाकैमुन्तिर दशकौंको नाकाबन्दीमा पनि टिकाएको देश क्युबा जान मन पनि हुने नै भयो । 
समय र मौका मिलेसम्म एकपटक क्युबा पुग्न र फिडेल क्यास्त्रोसँग भेट्ने चाहना थियो । तर नमीठो संयोग के पर्‍यो भने फिडेल क्यास्त्रो बितेको केही महिनापछि मात्रै मलाई क्युबा जाने अवसर जुर्‍यो । अघिल्लो वर्षको मंसिरमा ९० वर्षको उमेरमा क्यास्त्रोको निधन भयो, मचाहिँ त्यसको तीन महिनापछि क्युबा पुगेँ ।
यता हामी माक्र्सवादी छौँ र माक्र्सवादलाई एउटा बनिबनाउ सूत्रका रूपमा ग्रहण गर्छौं । फिडेल माक्र्सवादलाई सूत्र नभएर मान्छेको हित गर्ने दर्शनका रूपमा आत्मसात् गर्छन् । कम्युनिस्ट नेताहरूकै कुरा गर्ने हो भने लेनिन मजदुर वर्गको कुरा गर्छन्, माओत्से तुङ किसानको विषयलाई महत्त्व दिन्छन् तर फिडेल र चे भने बारम्बार मान्छे भन्छन् । यो सामान्य अन्तर होइन, यसैबाट उनीहरूबीचको तात्त्विक दार्शनिक भिन्नता बुझ्न सकिन्छ । 
एउटा नेता विश्वसनीय भयो भने उसले जनतालाई कसरी परिचालित गर्न सक्छ भन्ने उदाहरण पनि क्यास्त्रोले देखाएका छन् । एक करोड पनि जनसंख्या नभएको देशले तीन लाख पचास हजार गुरिल्ला देशबाहिर मुक्तिका लागि लड्न पठाएको थियो । तिनीहरूमध्ये ठूलो संख्याले शहादत प्राप्त गर्‍यो । अमेरिकाको सबैभन्दा सानो राज्यभन्दा पनि सानो त्यो देशले अफ्रिका, ल्याटिन अमेरिकामा गएर ठूलो बलिदान गर्‍यो । युरोपेलीहरूको चलनजस्तो उनीहरू कहीँ कब्जा जमाएर बसेनन्, बरु देशहरू मुक्त भए र आफ्नै देशमा फर्के । आफ्नो देश टिकाउन क्यास्त्रोले जुन कारणले सके, त्यो जनताले उनीप्रति गरेको विश्वास थियो । सोभियत संघको पतनपछि क्युबाको अन्तिम घडी सुरु भयो भनेर पश्चिमा पत्रकारले पुस्तकै लेखे । तर त्यसलाई क्युबाको टिकाउले असत्य सावित गरिदियो । 
जति बेला नाकाबन्दीबाट क्युबा सताइएको थियो, त्यति बेला क्युबाका जनताको वजन ७ देखि १० पाउन्ड घटेको थियो भनिन्छ । किनभने उनीहरूसँग आफ्नो उत्पादन भनेको उखुबाहेक केही थिएन । त्यति बेला क्यास्त्रोले भने, जहाँ जे फल्छ, रोप, खाने कुरा रोप । त्यसपछि क्युबाका मानिसहरूले सहरमा पेटीमा छतमा यहाँसम्म कि गाडी राख्ने ग्यारेजमा पनि खेती गर्न थाले, खानेकुरा उब्जाउन थाले । त्यसको सात वर्षपछाडि संसारले मान्नुपर्‍यो कि संसारको सबैभन्दा बेस्ट अर्गानिक स्टेट क्युबा । आज अर्गानिक खानेकुराको निम्ति क्युबा प्रसिद्ध छ, जबकि क्रान्ति अगाडि क्युबा भनेको घाम ताप्ने र जुवा खेल्ने ठाउँ थियो । यश गर्ने ठाउँ । त्यो ठाउँलाई भेङ्गाडहरूको केन्द्रका रूपमा बदलिदिए क्यास्त्रोले । आज पनि क्युबाका मानिसहरू संसारमा बन्दुक लिएर गइराखेका छैनन्, स्टेथेस्कोप, ब्लड प्रेसर नाप्ने मेसिनसहित उनीहरू संसारभरि विचरण गरिरहेका छन् । 
क्यास्त्रोले केवल दर्शन, राजनीति र लडाइँको मात्रै कुरा गरेनन्, सबै महत्त्वपूर्ण तर खुद्रामसिना लाग्ने सबै विषयमा संसारका पुँजीपतिहरूसँग बहस गरिराखे । सम्पूर्ण प्राणी र ग्रहप्रतिको उनको चिन्ता, सोच र नीति अनुकरणीय छ । क्यास्त्रो खुला र पारदर्शी जीवन बाँचे । आफैं साइकलमा हिँडे ।
क्युबा पुग्दा मलाई ती आदर्श नेता क्यास्त्रोले छाडेको मुलुक त्यस्तै होला कि अर्कै होला भन्ने खुलदुली थियो । मनमा अलिअलि डर पनि थियो— मैले जुन सुन्दर क्युबा परिकल्पना गरेको छु, कतै मेरो विश्वास भत्किने त होइन ?
गत मार्च (फागुन) मा स्पेनमा आयोजित मोबाइलसम्बन्धी अन्तर्राष्ट्रिय कंग्रेसको मौका पारेर म क्युबा पुगेँ । यसबारे मैले हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेँ । केही क्युबाली मित्रहरूसँग मेरो पूर्वचिनजान भएकाले उनीहरूले मलाई पहिल्यै उपयुक्त समयमा भ्रमणमा आउनु भनेर निम्ता पठाएका थिए । प्रधानमन्त्रीले एउटा चिठी लेखिदिएपछि क्युबाप्रतिको सम्मानभाव बोकेर त्यहाँ पुगेँ । 
०००
क्युबाबारे बीबीसीलगायतका टीभीहरूमा समाचार देखाउँदा त्यहाँ अघोरै गरिबी र अभाव पनि देखाइन्थ्यो । म युरोपबाट क्युबा जान लागेकाले ससाना दैनिक आवश्यकताका वस्तुहरू पनि झोलामा हालेँ । त्यहाँको स्थिति कस्तो छ, भताभुंग पो होला कि भन्ने पनि लाग्यो । मैले पहिले नै भनेको थिएँ उनीहरूलाई–मलाई लजिङको मात्र व्यवस्था गरिदिँदा हुन्छ । खानापिनाको पैसा आफैं तिर्नुपर्ला, ट्याक्सी आफैँ चढौंला भन्ने सोचसहित अलिकति पैसा लिएर गएको थिएँ । दिमागमा यतिन्जेल साँचेको क्युबा त्यहाँ पुग्दा भताभुंग हुनुभन्दा बरु नगएकै बेस हुन्थ्यो कि भन्ने पनि मनमा लागिरहेको थियो । जवान र तन्दुरुस्त देखिएको साथी दस वर्षपछाडि भेट्दा बूढो, रोगी र थरथर कामिरहेको देख्नुपरेजस्तो होला कि भन्ने कताकता डर थियो । जे होस् म गएँ । 
हवानाको जोसे मार्टी अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिसकेपछि अंग्रेजी बोल्ने बुझ्ने मान्छे भेटिएन । अनि कोही त लिन आएको हुनुपर्ने । हामी जाँदा ढोकैमा कोही आइपुगेन । सामान कलेक्सन गर्ने ठाउँसम्म आइपुगियो तर कोही आइपुगेको छैन । 
मेरो श्रीमतीले भनिन्, ‘टोपी लगाउनु न टोपी ।’
मैले टोपी लगाएँ, तैपनि कोही आएन । 
प्रतीक्षा गर्ने त उनीहरूको बाहिर खास ठाउँ हुँदो रहेछ, त्यहाँ आइपुगेपछि तीन जना क्युबाली कमरेडहरू कुरिरहेका रहेछन् । हाम्रो लामो यात्रा भएर सामानहरू ठूलो–ठूलो थियो । बाहिर दुईवटा कार पनि रहेछ । ड्राइभरहरू दुवै सत्तरी नाघेका बूढाहरू थिए । डेबिट भन्ने दोभाषे पनि हाम्रा लागि छुट्याइएको रहेछ, जो पहिले कतिपय अफ्रिकी देशमा प्रथम सचिव भएर काम गरिसकेका र अंग्रेजीका ज्ञाता रहेछन् । पहिला दिल्ली दूतावासबाट नेपालका निम्ति काउन्सिलरका रूपमा रहिसकेका अर्को एक जना कमरेडलाई हामीसँग कुराकानी गर्न खटाइएको रहेछ । ती कमरेडहरू र दुइटा गाडी हामी क्युबा बसुन्जेल साथमा रहे । 
उनीहरूले नै हाम्रा लागि होटल व्यवस्था गरेका रहेछन् । क्युबामा विभिन्न खालका होटल हुँदा रहेछन् । सरकारले विदेशीसँग मिलेर खोलेका ठूला होटल पनि रहेछन् । सरकारको आफ्नै पनि ठूलो होटल रहेछ । तर संसारभरिका सरकारका पाहुनाहरूलाई ठाउँ–ठाउँ राख्ने बेग्लै खालको होटलहरू बनाइएको रहेछ । सार्वजनिक यातायात सबै सरकारी रहेछ । हामीलाई लगेर ठीकठाक होटलमा राखियो, जहाँ बेडरुमबाहेक मान्छेहरू भेट्ने कोठाहरूसमेतको व्यवस्था थियो ।
क्युबा पुगेपछि मलाई युरोपको कुनै ठाउँमा पुगेजस्तो लाग्यो । उनीहरू भाषा जान्दैनन् तर उनीहरूको आतिथ्य सत्कार भावबाट नै निकै हार्दिक भएको देखिन्थ्यो । चार–पाँच दिन बस्दा उनीहरूबीचको आपसी व्यवहार पनि मैले ख्याल गरेर हेरेँ, एकदमै खुला चरित्रका हुँदा रहेछन् । उनीहरूको एउटा विशेषता ठूलो ठूलो आवाजमा बोल्नु पनि रहेछ । मैले क्युबालीहरू आपसमा ठूलो–ठूलो स्वरमा बोलेको देखेँ । 
त्यहाँको सिस्टमले मान्छेलाई कसरी नियन्त्रण गरेको रहेछ भनेर हेर्न म बिहान सहर घुम्न निस्केँ । एक ठाउँ गएर चिया खाएँ र त्यहाँका मान्छेहरूसँग कुरा पनि गरेँ । त्यहाँ निजी स्तरका साना–साना होटलहरू पनि खुलेका रहेछन् । जसका आफन्तहरू अमेरिकामा छन्, उनीहरू आफन्तले पैसा पठाइदिने भएकाले सम्पन्न रहेछन् । क्युबामा दुइटा मुद्रा चल्दो रहेछ— पेसो र कुक । विदेशीहरूले डलरबाट कुक साट्नुपर्ने रहेछ । कुकको भाउचाहिँ डलर बराबरै छ । अनि चौबीस–पच्चीस पेसो बराबर एक कुक हुँदो रहेछ । 
हाम्रो दोभाषेलाई मैले सोधेँ, ‘तपाईंले महिनामा कति तलब पाउनुहुन्छ त ?’
उनले भने, ‘पाँच सय पेसो पाउँछु ।’
पाँच सय पेसो डलरमा रूपान्तरित गर्दा त केही पनि हुँदैन । 
मैले फेरि प्रश्न गरेँ, ‘त्यसले महिना चल्छ त ?’ उनले भने, ‘चल्छ ।’
उनले भने, ‘सात पेसोमा ग्यास, महिनामा दुईवटा चाहिने भएकाले चौध पेसोमा दुइटा ग्यास चलाउँछौँ । दस पेसोमा एक बोरा चामलले हाम्रो परिवारलाई पुग्छ, दस पेसोमा दाल पाइन्छ । नुन र चिनी पनि त्यस्तै सस्तो छ । विलासिताका सामान किन्न त पुग्दैन तर हामी राम्ररी चल्न सक्छौँ ।’
कपडा पनि त्यस्तै रहेछ । उनीहरूले लगाउने सर्टहरू मलाई पनि केही उपहार दिए । त्यसबाहेकका सामान किन्नु छ भने जस्तै क्रिम, मोस्चराइजर, स्याम्पु किन्नु छ भने कुकमा खर्च गर्नुपर्‍यो । तर त्यहीं उत्पादित कपडा धुने, नुहाउने साबुनहरू भने छ । उनीहरूका जीवनका अरू सबै आवश्यकता त्यसमा पनि शिक्षा र स्वास्थ्य सहज छ । पुराना घरहरू मर्मत गरिएको छ, नयाँ घरहरू पनि बनेका छन् । 
०००
त्यहाँ उनीहरूले मेरो भिजिटको सेड्युल नै बनाएका रहेछन् । मलाई दिइएको दोभाषे डेबिड लोपेज सियरा, ड्राइभर दुई जना थिए— जर्ज जे रियुस रेमेरिज र राफेल विल्सन रुइज । एभेलार्डो क्वेटे सोसा भन्ने डिप्लोम्याटचाहिँ एसिया र ओसियाना सेक्सनको डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन अफ द सीसी सीपीसी हुनुहुँदो रहेछ । बस्ने व्यवस्थाचाहिँ लजिङ एज द फोर्टी वान होटलमा थियो । त्योचाहिँ एसियाना र ओसियाना सेक्सन अफ दी इन्टरनेसनल डिपार्टमेन्टको होटल रहेछ ।
मेरो पहिलो भेट त्यहाँका सञ्चारमन्त्रीसँग भयो, उनको नाम रहेछ मेहमार मेसा रामोस । सञ्चारमन्त्री रामोससँग मैले त्यहाँको सञ्चारको अवस्थाबारे कुरा गरेँ । त्यहाँ उनीहरूसँग मोबाइल हातहात छैन । इन्टरनेट जहाँसुकै छैन तर हस्पिटल र स्कुलहरूमा भने छ । मैले मेरो टेलिफोनको इन्टरनेसनल रोमिङ गरेको थिएँ तर क्युबामा त्यसले काम गरेन । युरोपको एउटा सिमकार्ड थियो । त्यसले अलि–अलि काम गर्‍यो । उनीहरूले जेनेरल क्लालिभ टोस कार्सिया भन्ने हस्पिटलमा मलाई लिएर गए, त्यहाँको स्वास्थ्य आदिको अवस्था बुझ्नका निम्ति । हस्पिटलका व्यवस्थापक, प्रबन्धकहरूसँग भेटघाट भयो । त्यहाँ पुग्दाचाहिँ क्युबा युरोपभन्दा पनि सफा पाएँ । फ्रान्समा चाहिँ बाटोमा प्लास्टिक जलिरहेको पाएँ । पहिलो कुरा त सफाइ पनि रहेनछ युरोपमा, झन् अहिले युरोपले आप्रवासनको समस्या भोगिरहेको छ । 
क्युबालाई अमेरिकाले सबै कुरामा प्रतिबन्ध लगाएको छ । उनीहरूको कूटनीतिक सम्बन्ध सुरु भएको छ तर व्यापार अहिले पनि छैन । मैले क्युबन इन्स्टिच्युट अफ द फ्रेन्डसिप विथ द पिपुल (आइक्याप) भन्ने संस्थाको डेपुटी चियरम्यान इलिसिया कोरिडेरासँग भेटघाट गरेँ । त्यहाँ के देखियो भने प्राय: जो भेट्रानहरू छन्, क्युबाको क्रान्तिमा भाग लिएका कमान्डरहरू, उनीहरू चिफ छन् र हरेक चिफसँग दुई जना डेपुटीहरू छन् । ती डेपुटीहरूचाहिँ चालीसदेखि पचास वर्ष उमेरभित्रका छन् । मतलब सत्ताको हस्तान्तरण भइरहेको छ । विदेश मन्त्रालयमा पुगेर विदेशमन्त्रीसँग मेरो भेट भयो । उनका डेपुटी मार्सेलिनो मेडिनासँग बढी कुराकानी भयो, अन्तर्राष्ट्रिय सम्बन्धबारे । उनीहरू विश्व राजनीतिबारे राम्रो दख्खल राख्दा रहेछन् । अर्को रोचक के देखियो भने क्युबाको औसत मान्छे पनि संसारका बारेमा धेरै जानकारी राख्दोरहेछ । मैले भेटेका स्थानीय मान्छेसँगको कुराकानीबाट पनि यो थाहा भयो ।
क्युबामा लाउन, खान हिँड्न, डुल्न फेसन, आदिमा कहीँ–कतै प्रतिबन्ध छैन । महँगा फरारी कारहरू पनि कुदिरहेका छन्, टुरिस्टहरू हिँडिरहेका छन् हूलका हूल । बढी टुरिस्ट क्यानडाबाट आउँदा रहेछन् । क्युबाले केही लुकाएर, छुपाएर कहीँ राखेको छैन भन्ने देखिन्थ्यो, बरु ‘आउ सक्छौ भने मलाई परिवर्तन गर’ भन्नेजस्तो देखिन्थ्यो, त्यहाँ । क्युबा बन्द मुलुक भनेर बाहिर प्रचार गर्थे तर त्यो कहिल्यै बन्द रहेनछ । उसले युरोपलगायत संसारका विभिन्न देशहरूसँग कुनै न कुनै प्रकारले सम्बन्ध राखिरहेको रहेछ । त्यहाँ स्पेनिस, अफ्रिकी र केही चिनियाँ पृष्ठभूमिका मान्छेहरू छन् र केहीचाहिँ त्यहीँका पुराना आदिवासीहरू छन् । एउटै परिवार, हस्पिटल र स्कुलमा पनि विभिन्न रंगका मान्छेहरू भेटिन्छन् । बाबु कालो छ, आमा गोरी छन्, एउटा छोरो गोरो छ, एउटी छोरी काली छ परिवारमा । उनीहरूको पृष्ठभूमिको कुरा गर्दा ‘तपाईं अफ्रिकाली मूल हो ?’ भनेर सोध्दा ‘मूल त मन्कीबाट आएको हो भन्छन् तर मान्छेका रूपमा हामी क्युबाली हौँ’ भन्छन् उनीहरू । यो बुझाइ क्युबा बलियो हुनुको एउटा आधार बनेछ । के देखियो भने क्युबाको क्रान्तिले काला जातिप्रतिको सम्पूर्ण भेदभावलाई चाहिँ समाप्त पारिदिएछ । 
मैले डेबिडलाई उनकै कार्यालयमा काम गर्ने अर्को एक जना मान्छेको तलब कति हुन्छ भनेर सोधेँ । 
उनले भने, ‘पन्ध्र सय पेसो पाउँछन् ।’ 
‘तपाईं फस्ट सेक्रेटरी भएको मान्छे, पढेको मान्छे, तपाईंको पाँच सय, उनको पन्ध्र सय ?’ मैले भनेँ । 
उनले भने, ‘म त पार्टीको मान्छे हुँ त ।’
क्युबाको समाजवाद अडिने बलियो आधारचाहिँ त्यो रहेछ । अन्तचाहिँ पार्टीको मान्छे भएपछि बढी सुविधा लिने तर क्युबामा चाहिँ पार्टीको मान्छेले चाहिँ कम तलब लिएर काम गर्दारहेछन् ।
‘अनि यसो गर्दा पनि आउँछन् त पार्टीको मान्छे ?’ मैले फेरि सोधेँ । 
‘त्यो त भौतिक सुविधा न हो, मान्छेको जीवनमा भौतिक सुविधा मात्रै सबै कुरा होइन, म जहाँ पनि जान्छु मलाई पार्टीको मान्छे भन्नासाथ जसरी सम्मान र आत्मीयता देखाइन्छ, त्यो त बडो गौरवको कुरो हो ।’ उनले भने । मैले त्यहाँका एक जना चौकीदारसँग लामो कुरा गरेँ । उनी अंग्रेजी पनि बोल्दा रहेछन् । त्यो चौकीदारको सूचना हेरेर नै थाहा पाउन सकिन्छ, क्युबामा मान्छेको योग्यता र सचेतता थाहा हुन्छ । त्यहाँ कि त मान्छे ग्य्राजुएट छ वा ग्य्रायुजेसन गरिरहेको छ । आयु असाध्यै बढेको छ । बेरोजगारी छैन, काम गर्ने उमेरका सबैजसोले काम गर्न पाएका छन् । 
क्युबामा म पाँच दिन बसेँ । सबैभन्दा उच्च स्तरको नेता जोसे रामन बालगुएर क्याबेरा (मेम्बर अफ द सेक्रेटरियट अफ कम्युनिस्ट पार्टी अफ क्युबा एन्ड हेड अफ इन्टरनेसनल रिलेसन डिपार्टमेन्ट) ले मलाई लन्च अफर गरेका थिए । जुआन कार्लोस मार्सन एगुएलेरा, जो जेनेरल कोअर्डिनेटर अफ द डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन अफ द सीसीसी सीपीसी थिए, उनीसँग पनि मेरो भेट र कुराकानी भयो । 
मैले त्यसपछि एन्ड्रिक जोसिक भेयोना– हाइएर पेडागोगिक इन्स्टिच्युटको भ्रमण गरेँ । यो शिक्षालय हो । मिटिङ अफ दी बोर्ड अफ इन्टरनेसनल नामक ऐतिहासिक ठाउँ गएँ । उनीहरूको युद्ध संग्रहालय, पुरानो राष्ट्रपतिको भवन पुगेँ । ओल्ड हवानाचाहिँ सांस्कृतिक भण्डार नै रहेछ ।
एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरू असुरक्षित महसुस गर्दैनन् । मान्छेबीच पारदर्शिता छ । वीरताको पर्यटन रहेछ, पर्यटकीय क्षेत्रमा जहाँ तपाईं पुग्नुहुन्छ, त्यहाँ–त्यहाँ चे ग्वेभाराले स्वागत गर्छन् । उनका भनाइका बोर्डहरू छन् । क्यास्त्रोले चाहिँ आफ्नो नाम कतै केही नराख्नू भनेका रहेछन्, उनका भनाइ देखिन्न । 
जब सोभियत रूस ढल्यो, क्युबाले क्युबालीलाई जो–जो अमेरिका जान चाहन्छौ जाऊ भनिदियो । कतिपय क्युबाली गए तर क्युबा खाली भएन । क्युबाको असाध्यै सानो जनसंख्या पलायन भयो । त्यो अति साधारण मान्छेलाई लिएर उनीहरूले क्युबा बनाए । क्युबाबाट सिक्ने कुरा उसको दार्शनिक पक्ष हो, उनीहरू मान्छेको बढी चिन्ता गर्छन् । क्युबामा करिब–करिब मान्छे–मान्छेबीच कुनै तहहरू देखिँदैन । 
क्युबाको मेडिकल स्कुलमा अमेरिकी पनि आएर पढेका छन् । उनीहरूको शिक्षा र स्वास्थ्य बेजोड मानिँदो रहेछ । चीनमा जसरी संसारभरिका मान्छेहरू जान्छन्, त्यसरी नै क्युबामा पनि एल सल्भाडोर, ग्वाटेमाला, बोलिभिया, कोलम्बियाका मान्छे आएका आएै छन् । उनीहरू एउटै देशप्रति निर्भर छैनन् । प्रतिबन्धमा पनि जुन आत्मविश्वासका साथ क्युबा उभियो, त्यसैले उसलाई बँचायो । समाजवादलाई बचाउने भनेको मान्छेले रहेछ । मान्छेमा विकसित जीवन दर्शनले रहेछ । ठूला उद्योग, हातहतियार र आणविक शक्तिले समाजवाद जोगाउन नसक्ने रहेछ । उनीहरूको कम्युनिस्ट पार्टीप्रति आस्था र लगाव छ, त्यसमा उनीहरू गौरव गर्छन् । किनभने त्यसले क्युबाको समाज जोगाएको छ । हरेक ठाउँमा क्रान्तिको प्रतिरक्षा समितिहरू छन्, प्रत्येक टोलमा प्रत्येक गाउँमा, प्रत्येक गल्लीमा । त्यसको नाम कमिटी फर द डिफेन्स अफ रिभोलुसन हो । यो हरेक ठाउँमा, स्कुल, कलेज, गाउँमा गल्लीमा सबैतिर छ । 
क्युबालीहरू ऐयासीमा बाँच्ने अवस्थामा पुगेका छैनन् तर बाँच्नलाई चाहिने आधारभूत सबै वस्तुहरू उनीहरूसँग छ । मैले भेटेका चौकीदार भन्छन्, ‘विश्वकी कुनै सुन्दरी रातभरि हवानाको सडकमा एक्लै हिँडी भने पनि कुनै असुरक्षा छैन । चोरी, बलात्कार, गुन्डागर्दी, डकैती गर्ने पनि मान्छेले नै हौँ तर हामीकहाँ त्यो समस्याका रूपमा छैन ।’ यो सबै अनुभव लिँदा मलाई क्युबा गएर ठीक गरेछु भन्ने लाग्यो, पश्चात्ताप गर्नुपर्ने कुनै कारण भेटिनँ । मैले जुन क्युबा पालेर बसेको थिएँ, दिमागमा मैले ठीकै पालेको छु भन्ने लाग्यो । पुन: मलाई एकपटक क्यास्त्रो र चे ग्वेभारा पढ्न मन लागेको छ ।
अनुराधा गान्धी किताबको पछाडि छापिएको 
मलाई मन पर्ने एउटा कवितांश क्युबा भ्रमणमा घरीघरी सम्झिएँ :
नरुनु उभिएर मेरो चिहानछेउ
म त्यहाँ म सुत्ने गर्दिनँ 
म बहने गर्छु बताससरि, बहिरहेको छु
म चमक हुँ पारसमणिको, उजेली रहेको छु
पाक्दै गरेको बालीमा पस्ने सूर्यप्रकाश हुँ म
शरद ऋतुमा तप्कने स्निग्ध वर्षा हुँ म
म विनम्र तारा हुँ रातभरि चम्कन्छु
मेरो चिहानछेउ उभिएर नरुनु
म त्यहाँ छैन, साँचो कुरा म मर्दै मर्दिनँ ।

खास गरेर चे ग्वेभारा, क्यामिलो, सिनी फिजियज, फिडेल क्यास्त्रोहरू क्युबाली जनताको दिमागमा यो कवितामा झैँ बसेका छन् । उनीहरू मरेका छैनन् । त्यसले गर्दा जहाँ पनि उनीहरूको उपस्थिति अनुभूति हुन्छ । त्यो विस्मृतिमा पुर्‍याएपछि मात्रै क्युबाले अर्को बाटो लेला । क्युबालीले तिनलाई बिर्सिनै दिएका छैनन् । क्युबा भ्रमणपछि म विश्वासपूर्वक भन्न सक्छु, भविष्यमा पनि बिर्सिने छैनन् । 

प्रकाशित : जेष्ठ २७, २०७४ १०:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT