नेपथ्यमा गुन्जिरहने एउटा धून...

कुमारी लामा

सम्झना भन्नु नै कुटुकुटु मुटु दुखाइरहने बिरामी पो हो कि ।


यस्तै सम्झनाहरूको लस्करले ऐँठन पार्दा बेहाल भइबस्थ्यो उनको मन । आँसु । साथ दिनुपर्ने हो आँसुले तर त्यही पनि तुरिए पछि के लागोस् । सुक्खा आँखा र चिराचिरा मन उसै उसै उराठिएर चर्किन्छ । अनि निस्किन्छन् शब्दहरू—
कहिलेकाहीँ भावुकतावश पनि छचल्किने
कहिलेकाहीँ विरह र व्यथामा पनि रसाउने
एकान्तको साथीसरि आँसु थिए आँखाभरि
थाहा नपाई ती पनि सकिएछन् । 
(आँसु सकिएपछि, कृष्णभूषण वल)

विराटनगर बसेर काठमाडांै थर्काउने कवि कृष्णभूषण वल । एक विद्रोही चेतले ओतप्रोत मस्तिष्क साथै अनुभूतिको गहिराइमा डुबुल्की मारिदिने उनका भावनाहरूले म कायल भएकी छु । पीडा, हो त्यही पीडा हो जसले लखेटिरहने रहेछ सबैलाई जीवनभर । पीडा त्यही पनि कसैलाई गुमाउनुको पीडा बहुतै गह्रौं हुन्छ । त्यसमा पनि अझ आमालाई गुमाउनु बाल्यकालमै, कति नमीठो । कृष्णभूषणको भागमा त्यही पर्‍यो । उनी जीवनभर आमाको न्यानो काख र बात्सल्यका भोका बने । आमाको माया एक अद्भुत रहस्य बनी बस्यो उनको मनमा, जीवनमा । 
कृष्णभूषणले सग्लो जीवन बाँची गए । दु:ख, सुख, सफलता, हन्डर, ठक्कर, रक्सीको नशा, अनि निराशा सबै बेहोरे । तर अब त उनी उनकै सिर्जनाका पन्नाहरूमा कैदी भइगए । सायद रहलपहल यादमा रहेका होलान् उनकै समकालीनहरूको । बेलाबखत बुर्कुसी मार्दो हो उनीसँगका आत्मीय समय गणेश रसिकका सम्झनाहरूमा तब त लेखिदिन्छन् सुदूर सम्झनाका केही फेहरिस्त । रसिकले जस्तै सम्झना संगालिबसेकाहरू अरूले पनि लेख्दा हुन् (अथवा मात्र सम्झँदा हुन्) उनलाई । बस् ! जीवन के पो रहेछ र ! मात्र अल्झिनु केही अक्षरहरूमा, केही सम्झनाका तुवाँले तरेलीहरूमा या रहनु आफन्तले सँगालेको फोटो एल्बममा । 
उनलाई सम्झिन मन भयो । एकदम टालटुले सम्झना भनूँ । ‘कृष्णभूषण वलका बाँकी रचना’ नामक पुस्तक गणेश रसिक दाइसँग सापटी लिएपछि थोरबहुत बुझेकी हुँ उनलाई । पढ्दै जाँदा मन पग्लिँदै गयो । थक्थक् लागिबस्यो, कम्तीमा एकपटक त भेट जुर्नु नि... कस्तो बोर, कहिल्यै भेट भएन । उनी नभएको थाहा पाएपछि अझ बढी उनी सम्झनामा आइबसे । आज केही लेख्न लाग्दै छु । कहिले देखभेट नभएको मानिसकाबारे लेख्नु एकखाले रोमाञ्चक यात्राजस्तो हुँदो रैछ । अलिकति ‘रिस्की’ पनि । तर त्यही खतराको बाटो आज हिँडिदिऊँ लाग्यो । मेरो मनले दिन खोजेको भर्पाई हुँदो हो यो लेखाइ । या उनको सम्झना ताजा पार्ने एक उपाय । 
अघि नै भनिगएँ, उनी पूर्वबाट राजधानीलाई हाँक दिने कवि तर फेरि भावुकताले पग्लिजाने कवि पनि । उनका कविता र संस्मरणहरू पढ्दा उनी गज्जबका प्राणी लाग्छन् । भावुकताले ओतप्रोत छन् एक कृषणभूषण जो आमाको सम्झना, गाउँघरको सम्झनामा भावविभोर भइबस्छन् । अलि पिन्चेपिन्चे लाग्छन् । खोजी छ आमाको मायाको । उनलाई आमाको झझल्को यसरी आउँछ: 
चोलो चौबन्दी, बर्को सेतो
सारी थियो खाँडीको
ढाडमा थुन्चे, पटुकामा खुरुम्बी
तुनामा फूल गुराँसको
आँखा रसिला तर्तर् पसिना
सायद जाँदै थिइन् माइती
एकै झल्को देखेँ झन्न बोलाएँ
थियो उनमा मेरे आमाको आकृति । 
(झझल्को मेरी आमाको)

Yamaha

अनि अर्का छन् भयंकर विद्रोही कृष्णभूषण । समाजमा विद्यमान अन्याय, भ्रष्टाचार, बेथिति र निरंकुश शासन व्यवस्थाका विरुद्ध कडा उत्रन्छन् उनी । उनका कविताहरू विद्रोहको लप्का ओकल्छन् । खबरदारी गरिबस्छन् सत्तासीन र केन्द्रमा मख्ख भइबसेका शक्ति पिपासुहरूलाई । आज हामी जुन विषयहरूमा घोत्लिरहका छौँ, केन्द्र र मोफसल, सीमान्तकृत र शक्तिकेन्द्र, निरंकुशता र स्वतन्त्रता, उही विषयमा चर्को कविताहरू लेखिसकेका छन् उनले विसं २०४१ सालतिरै कवितासंग्रह भोलि बास्ने बिहानमा । उनको समयचेत आज पनि उत्तिकै सान्दर्भिक छ । आज पनि केन्द्रको हेपाहा प्रवृत्ति र सीमान्तकृतको पीडा उस्तै छ । त्यसैले आज पनि खबरदारीका स्वरहरू गुन्जिरहेका छन् साहित्य, कला र संगीतहरूमा । उनले त्यसै बखत केन्द्रलाई यसरी चुनौती दिएका थिए— 
काठमाण्डु एक्लैले अब काठमाण्डु बोक्न सक्क्तैन 
काठमाण्डु एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन
नाघ्नुपर्छ पाइतलाहरूले अब भञ्ज्याङहरू,
टेक्नुपर्छ आँखाहरूले अब सारा पहाडहरू,
उड्नुपर्छ निश्चित लक्ष्यहरूमा अब यो छिमलका चराहरू
ज्वालामुखीझैँ फुट्नुपर्छ अब यो पिँढीका स्वरहरू
(काडमाण्डु एक्लैले अब काठमाण्डु बोक्न सक्दैन)

उनी प्रत्येक युगका नेता, सामन्त, शक्तिपीठका मठाधीश, भ्रष्टाचारी, दुराचारीहरूलाई होसियार भन्छन् एकातिर भने अर्काेतिर जुत्ता पलिस गर्नेलगायतका मजदुर वर्ग जो सधैँ बेवास्तामा छन्, जो शिर निहुराएरै एउटा जीवन टुङ्ग्याउँछन्, उनका पक्षमा लेख्छन् आफ्ना कविताहरूमा ।
इलामको माल्टेनीमा जन्मिएका उनले यायावरी बाल्यकाल बिताए । कहिले मावल, कहिले ठुलीआमाकोमा बस्दै लेखाइ–पढाइमा लागे । गुरुको घरधन्दा सघाएरै भए पनि पढ्नलाई भने निरन्तरता दिइबसे । पुलिसमा भर्ती भई असई पनि भए तर के सनकले सक्सक्यायो, छाडिदिए । राष्ट्र बैंकमा जागिरे भए त्यसपछि । जीवनमा उत्तिसारो पैसाको अभावै भएजस्तो त लाग्दैन उनलाई । एउटा ठीकठाकको जिन्दगी बाँचे । सहरे भएपछि पनि उनलाई गाउँघरको मायाले हुरुक्क पार्न छाडेन । उनले खेली हिँडेको गाउँघर कहिले ओझेल भएन उनको मनबाट । तब न कवितामा लेखिबसे उही छाडी हिँडेका बाटाहरू, खेत खलियानहरू । 
मनमा सधैँ घोचिबस्ने केही छ उनको । निराशा छ व्यापक उनीभित्र । उनका लेखहरू पढ्दा, संस्मरणहरूमा पनि यस्तै केही संकेत देखिन्छ । उनलाई त केवल उनका रचनाहरूमा बुझ्छु म या बुझ्ने प्रयाससम्म गर्दै छु । एक्लोपन र मृत्युका कुराहरू बहुत् मार्मिक छन् उनका लेखहरूमा । जीवनका पछिल्लो समयमा उनी लेख्न नसकेको पीडाले पनि ग्रस्त देखिन्छन् । सायद आफ्नै पियक्कड बानीले पनि उनलाई अलिकति पोलेको छ । उनी कन्फेसनमै उत्रिन्छन् कवितामा । आफैंप्रति व्यंग्य, आफ्नै गल्ती र कमजोरीप्रति एक छिन अडिएर सोचेजस्तो गर्छन् । आफैंलाई शालीन आदेश पनि दिन्छन्— 
कतिपल्ट घाम तुहायौँ, कतिपल्ट जून तुहायौँ
हररात क्षयसँग बात मारिरहेछौँ
हररात मृत्युसँग बात मारिरहेछौँ
हररात रक्सीसँग बात मारिरहेछौँ
जे भयो भैगयो
अब चाहिँ सोच्नुपर्ला भूषणजी ।
(आज त बिसाउँm होला थापाजी)

धेरै कुराले गाँजेको छ उनलाई । सायद क्षयोन्मुख सिर्जना कर्म, झ्याङ्गिँदै गएको एक्लोपना, मृत्युको भय, सायद जीवनमा भएका केही कमजोरी गल्तीले दिएको ग्लानि या त्यस्तै केही । उनी दोधार–दोधार लाग्छन् । उनी विचलितझैँ बुझिन्छन् । उनी बारम्बार ठोक्किन पुग्छन् निराशा र एक्लोपनतिरै । अनि पोखिन्छन् यसरी—
एक्लै छु एक्लोपनमा एक्लै छु, हिजोसम्म मञ्जिल थिए, प्रकाश छोरा थिए, उनीहरू गएपछिका रातहरू कठिन भए, अत्यासलाग्दा भए कति रातहरू अझै मातिए...
हेर्नु नि बारम्बार खोकी चलेर बाक्लो खकार, बाथरुमको बास बेसिनमा खोक्दै पोख्दै छु । पछि बूढो भएपछि बाथरुमसम्म जान पनि सक्दिनँ होला । एक्कासि मृत्यु बोझ हुन्छु... बरु आजै भए हुन्थ्यो । 
(पृष्ठ ८८, कृष्णभूषण वलका बाँकी रचना)

यी हरफहरू पढ्दै गर्दा एकपटक त भक्कानिएँ म । कसरी गल्दो रैछ समय र परिस्थितिसँगै एउटा मानिस । उफ् ! उनी एक उदाहरण बने । ज्वालामुखीजस्तो विस्फोट हुने कवि आज जीवनसँग निराश छ । मृत्युको भय पनि साथै चाह पनि गर्छ ऊ । चाहन्छ होला चाँडै छुट्कारा यी सारा घोच्ने काँडाहरूबाट । देखिने काँडा त झिक्न सकिन्थ्यो तर नदेखिनेलाई गर्नु के सिवाय सहनु । 
एक जोसिला कवि, एक कर्मचारी, एकेडेमीका प्राज्ञ, देशले मानेको एक लेखक बिस्तारै डुब्दै जान्छन् आफ्नै निराशाको भुमरीमा । जीवन टुङ्गिन्छ । मृत्यु स्वयंभन्दा पनि त्यसको भय र निराशाले मान्छेलाई चाँडो सिध्याउँछ कि जस्तो लाग्छ । 
लामो समय उनको सामीप्यमा रहेका डा. गोविन्दराज भट्टराई थक्थकाउँछन्— 
विसं २०६९ सालको असार २२ गते तोकिएको २६औँ प्रज्ञा सभामा भेट गरौँला भन्ने कुरो थियो । तर एक हप्ताअघि नै उहाँको शोक मनाउनुपर्‍यो । 
(पृष्ठ ११०, कृष्णभूषण वलका बाँकी रचना)

मेरो भागको पीडा त अझ कडा छ । जीवनमा कहिल्यै भेट नै पो हुन पाएन उनीसँग । उनी त मात्र नेपथ्यमा गुन्जिरहने एउटा धून भएका छन् मेरा लागि । उनलाई बुझ्ने कोसिससम्म गरिरहेकी छु उनकै सिर्जनाहरूबाट । उनी विद्रोहको चर्को आवाज साथै भावुकताका कमलो महसुस भएका छन् मेरा लागि । 
नमन आफ्नै कविताजस्तै जीवन बाँचेका तिमी कविलाई । जीवनको गहिराइ छामेका तिम्रै यी शब्दहरूसँगै छुट्टिन्छु है आजलाई । 
जब फूलहरू वसन्तमा खेल्छन्
म अन्तै कतै डुलेको हुन्छु
के अर्थ । सानो यो, जिन्दगीको
म ओइली झर्न, पनि त सक्छु ।

             (किन म त्यसै)

Esewa Pasal

प्रकाशित : असार १०, २०७४ १०:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दोधार चिन्तन

कुमारी लामा

आफैंलाई आफ्नो प्रतिद्वन्द्वी ठानेर मेरो लेखक ऊसँग प्रतिस्पर्धा गर्ने गर्छ । एकपछिको अर्को लेखनले लेखिसकेको असन्तोषमा सधैँभरि गुनासो र संघर्ष गरिरहन्छ ।


मीठो सत्य बोलिरहेछ साहित्यकार कृष्णचन्द्रसिंह प्रधानका यी भनाइले । प्रत्येक लेखक आफैंसँग प्रतिस्पर्धा गर्छ । अघिल्लोभन्दा राम्रो सिर्जना गर्नु र पाठकको मन जित्नु । सायद यही ध्याउन्नमा पुस्तकको निकै लामो सूची तयार पारिसक्छ लेखक । बाह्रौं कृतिका कृतिकार भइसकेका छन् श्रीओम श्रेष्ठ रोदन पनि । कवि, कथाकार, निबन्धकार, पत्रकार जे सम्बोधन पनि फिट हुन्छ उनका लागि । उनी लामो समयदेखि यी सबै क्षेत्रमा कर्मशील छन् । तर मेरो लागि भने उनी निबन्धकार नै हुन् । उनले निबन्ध नै धेरै लेखेका छन् । उनको पछिल्लो निबन्ध संग्रह हो
‘भनौँ कि नभनौँ’ ।
भनौँ कि नभनौँ, एक दोधार चिन्तन, कन्फ्युजन, अलिक अक्मकाइको अवस्था । हामी बाँच्दै गरेको परिवेश स्वयं काठमाडौंको कुइरिमण्डल आकाशजस्तै छ धूमिल अनि अस्वास्थ्यकर । यो दोधार लेखकको भोगाइ हो । उनको भोगाइमा सामेल भइदिन्छ हाम्रा भोगाइहरू पनि । हामी उही समय जो बाँच्दै छौँ । श्रीओमका अभिव्यक्ति बहुत् कोमल छन् । उनले छानेको विषय र प्रस्तुत गरेको शैली हेर्दा लाग्छ उनी साह्रै जतन गरी खेलाउँछन् विषय र शब्दहरू । उनी मूलत: अनुभूतिको गहिराइबाट अभिब्यक्त हुन्छन् । उनका आत्मपरक शैलीमा लेखिएका निबन्धहरू मुख्यत: मानवीय सम्बन्ध, संवेदना र उनका निजी अनुभूति केन्द्रित छन् ।
निबन्ध सिमानामा उँघिरहेको बिधा भएको हो कि जस्तो लाग्छ । केन्द्र र सीमा नाप्ने अनेकन मापदण्ड होलान् । सबैभन्द प्रस्ट देखिएको त बजार नै हो । निबन्ध सायद नबिक्ने बिधा हो । बिक्नुसँग खास सरोकार नराखी निरन्तर निबन्ध कर्ममै लाग्नु साहस हो लेखकको । रोशन शेरचन पनि उसैगरी खुरुखुरु लागिरहेका छन् यही कर्ममा । लाग्छ औँलामै गन्न सकिन्छ यस बिधालाई अँगालिबस्नेहरू । निर्बन्ध बिधा हुँदै हो निबन्ध तब न लेखक स्वतन्त्र छ जे, जसरी लेख्न पनि । तर श्रीओम असाध्यै अनुशासित लाग्छन् । सबै हिसाबले उनी वेल डिसिप्लिन्ड । उनले प्रयोग गर्ने भाषा बहुत नापतौल गरी प्रयोग गरेजस्तो लाग्छ । साह्रै शालीन शब्दहरू प्रयोग गर्छन् उनी । अलिकति अराजकता पस्किएको भए पनि हुन्थ्यो नि झैँ भएको हो पढ्दै गर्दा । ‘आग्लो नलगाउँदा’ नामक निबन्धमा उनी ‘कन्फेसनल मुड’मा देखिन्छन् । युवाकालीन प्रेमको विषय उजागर गर्ने कोसिस छ तर उनी समाउँछन् अमूर्त वर्णनको बाटो । केही भनूँजस्तो गर्दागर्दै उनलाई फेरि केही सामाजिक मान्यताहरूले थिचेझैँ लाग्छ । थोरै अराजक भइदिएको भए ? (एउटा पाठकीय थकथकाइ)
अमेरिका बसाइका केही संस्मरणहरू, केही ख्यातिप्राप्त व्यक्तिहरूसँगको सामीप्यको संस्मरण र केही ब्यक्तिगत भोगाइका फेहरिस्त । यही हुन् मुख्यत: श्रीओमका निबन्धका विषयहरू । जीवनका मसिना मानिएका कुराहरूप्रतिको उनको चनाखो दृष्टि र विश्लेषणले एकपटक सोच्न बाध्य पार्छन् । मेजर कि माइनर ? नामक निबन्धमा डाक्टरका लागि माइनर मानिएको अपरेसन पनि एउटा बिरामीका लागि कतिसम्म मेजर महसुस हुन सक्छ भन्ने उनको आफ्नै मुटुको अपरेसनसँग जोडेर बाँडेको अनुभूतिले पाठकलाई एक छिन चिन्तन गर्न बाध्य पार्छ । उनको निबन्धमा बारम्बार आइरहने कुरा भनेको अस्तित्व चेत हो । उनी अमेरिकामा पुगेका छन् तर देश र परिवारबाट टाढा हुनुको पीडाले गाँजिन्छन् । यही प्रसंगको निबन्ध उनको अघिल्लो संग्रह एक्लो परिचयमा पनि आएको छ । उनी धेरैको स्वप्ननगरी अमेरिकामा भएका अनेकन विकृतिका पाटाहरू खोतलिदिन्छन् । यस्तो खुला समाजमा पनि विद्यमान यौन हिंसाका कुरादेखि मानवीय कमजोरी र आपराधिक मनोविज्ञान लिएर हिँडिरहेका डेबिडजस्ताको प्रसंग ल्याउँछन् ।
उनको निबन्धलेखन यात्रालाई नियाल्दा लाग्छ, उनी अमूर्त र एकतमासे मनोसंवेगको चंगुलबाट अब सरल र स्पष्ट अभिव्यक्तिको मैदानमा उत्रिएका छन् । अघिल्ला संग्रहका उनका निबन्धहरू बढी आत्मकेन्द्रित र अस्तित्व चिन्तनसँग सम्बन्धित थिए भने अहिले उनी आफ्नो अनुभूतिसँगै समाजमा घटिरहेका विषयप्रति बढी सजग भएको देखिन्छ । तर यति हुँदाहुँदै पनि आशातीत रूपमा उनी आफैंबाट बाहिर निस्कन नसकेको हो कि जस्तो महसुस हुन्छ । आजका पाठक हरेक बिधामा ब्रेकथ्रु नै खोजिरहेका छन् । चाहे त्यो प्रस्तुतिको हिसाबले होस् या भाषाशैली या विषयको छनोटको हिसाबले नै किन नहोस् । उनका निबन्धहरू प्राय:जसो निकै कोमलतापूर्वक सँगालेका स्मृतिहरू या जीवनका केही खुट्किलाहरू उक्लने क्रममा आइपरेका गारा अप्ठ्यारा क्षणहरू या प्रवासमा रहँदा त्यहाँ देखेका या भोगेका केही घटनाहरू वरपर घुम्छन् । उनले छनोट गर्ने विषय या प्रस्तुतिमा कन्सिस्टेन्सी छ तर अलि फरक चाहने पाठकले खोजेको जस्तो मुटु या दिमाग हल्लाइदिने केही चीज भने मिस भएजस्तो लाग्छ ।
कृष्णचन्द्रसिंह प्रधानजस्तो नेपाली साहित्यका मूर्धन्य स्रष्टा, युद्ध साहित्य भित्र्याउने क्याप्टेन जनकबहादुर राणा, नेपाली साहित्यलाई बहुत प्रेम गर्ने एलबी क्षत्रीहरूसँगको भेटघाट, सामीप्य र सम्बन्धका कुरा उनका संस्मरणात्मक अनुभूतिहरूमा निकै प्रेमील ढंगमा आएका छन् । प्रेम प्रदर्शनको कीर्तिमान नामक निबन्धमा अमर प्रेमको प्रतीकको रूपमा लिइएको ताजमहलप्रतिको उनको फरक मत निकै चिन्तनीय छ । उनी भन्छन् :
ताजमहल प्रेममहल हैन, अझ गरिब जनताका लागि पीडाको महल हो । त्यसो त ताजमहल चिहानघर हो र चिहानघर सधैँ सबैका लागि भय र पीडादायी नै हुन्छ । (पृष्ठ १०६)
केही निबन्धहरूमा यसरी फरक तर तगडा विचार आउनु उनको निबन्धको सुन्दर पाटो हो । कतिपय निबन्धहरूमा जीवनको भित्री तहको महसुससहित पोखिएका दार्शनिक चिन्तन भेटिन्छन् जसले उनका निबन्धहरूमा फरक स्वाद भरेका छन् ।
भनौँ कि नभनौँभित्रका निबन्धहरू भावना र अनुभूतिको गर्तबाट निस्किएका कोमल अभिव्यक्तिहरू हुन् । तर लेखक अलि बढी नै आफूकेन्द्रित भइदिँदा समाजसँगको संवादमा अलिकति उदासीन लाग्छन् । आफ्नै मात्र भोगाइ, देखाइ र विशलेषणको पर्खाल अग्लिँदै गर्दा कतिपय निबन्धहरू एकालापजस्ता पनि भएका छन् ।
यस संग्रहका तीनवटा निबन्ध मात्र शीर्षक परिवर्तन भएर र एउटा उही शीर्षकमा विसं २०५४ सालमा प्रकाशित ‘अर्थहीन अर्थहरू’ नामक निबन्धसंग्रहबाट राखिएको छ । हुन त लेखकले आफ्नो लेखकीय भनाइमा यी निबन्धहरू बीस वर्षअगाडिका पनि छन् र पुनर्लेखन भएका पनि छन् भनेर ‘सेफल्यान्ड’ गरिसकेको अवस्थामा भए पनि अघिल्लो संग्रहमा आइसकेका केही निबन्धहरू यसरी दोहोरिएर आउँदा पाठकलाई भने अलि खल्लो लाग्न सक्छ । निबन्धका पाठकहरू अलि बढी नै अपेक्षा राख्छन् जस्तो लाग्छ उनीसँग । निबन्ध खुद्रे लेखोट र छापामा मात्रै सीमित भइसक्यो भनी समीक्षकहरूले संशय पोखिरहेको बेलामा श्रीओम श्रेष्ठ रोदनजस्तो निरन्तर निबन्ध कर्ममा लागिरहेको स्रष्टाबाट केही बढी नै अपेक्षा राख्नु स्वाभाविक होइन र ?

प्रकाशित : जेष्ठ २०, २०७४ ०९:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT