कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीमा नेपाली कविता

एक कवि भएर मैले अनुभूत गरिरहेको सत्य— हामी कविहरू कवितामा धेरै बोलिरहेका छौं । कविहरूले आफ्ना कविता मन्त्र बनुन् भन्ने चाहना राख्ने हो भने झेन गुरुहरूले झैं मौनताको उपासना गर्न सक्नुपर्छ । तर अभिव्यक्ति कलामा मौनताको उपासना कसरी गर्ने ? अहम् प्रश्न यही हो ।
सरुभक्त

अनपेक्षित रूपले नयाँ दिल्लीबाट फोन आयो । फोन गर्ने कृष्ण शर्मा रहेछन्, विश्वविद्यालयका विद्यार्थी । प्रज्ञाप्रतिष्ठानमा आफ्नो कार्यालयको व्यस्तताबीच मैले उनीबाट सुनें— मे २२ तारिखमा नयाँ दिल्लीस्थित साउथ एसियन युनिर्भसिटीमा प्रथम अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव हुँदै छ, त्यसमा कि–नोट दिन आमन्त्रण छ ।

दिल्लीमा नेपाली कविता

मैले उहिल्यै विद्यालयकालमा पढेको ‘दिल्लीका सुर्मावाला’ कथा सम्झें, मध्यजेठको गर्मी सम्झें अनि आफ्ना कामहरू सम्झें । प्रत्युत्तरमा उम्कने हिसाबले भनें, ‘भाइ म व्यस्त छु । नेपालमा स्थानीय चुनावको अवस्था छ । त्यस बेला के परिस्थिति पर्छ, अहिले भन्न गाह्रो छ ।’
कृष्ण शर्माले सायद मेरो मनोभावना बुझे । तुरुन्त उनले पोखरेली साइनो गाँसे, ‘दाइ, म पनि पोखराकै हुँ । तपार्इंलाई बोलाउने हामी विद्यार्थीको पहिलेदेखिको चाहना हो ।’
‘अरू क–कसलाई बोलाउनुभएको छ ?’ मैले सोधें । 
‘प्राध्यापक अभि सुवेदी र नवराज लम्साललाई ।’ कृष्णले जवाफ दिए ।
म अलि उत्साहित भएँ तर निर्वाचन आयोगको स्वीकृति लिनु आवश्यक थियो ।
‘म कोसिस गर्छु भाइ...’ मैले भनें ।
कोसिस गर्दा झन्झट परेन । मैले विश्वविद्यालयकालीन मेरा गुरु अभि सुवेदी र प्रखर कवि सञ्चारकर्मी भाइ नवराज लम्साललाई फोन गरी सहयात्रा गर्न पाइने खुसी व्यक्त गरें ।
नियत दिन हामी तीन जना आमन्त्रितहरू तीन भिन्न बासस्थानबाट बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं । नयाँ दिल्ली जाने आरए २०६ को उडान समय बिहान ८ बजे थियो । हामीलाई आश्चर्यमा पारी त्यसले समयभन्दा दस मिनेटपहिले नै उडान भर्‍यो । के कारण ? सायद विमानचालकले आफ्नो परिचयात्मक कथनमा भने तर हामीले बुझेनौं । मैले केही वर्षअघि कतारबाट फर्किंदा दोहा विमानस्थलको मोनिटर स्क्रिनमा सबै देशका उडानसम्बन्धी सूचनामा ‘फ्लाइट टाइम’ मात्र लेखिएको तर आरएको उडानसम्बन्धी सूचनामा ‘फ्लाइट टाइम’ का साथै ‘एक्सपेक्टेड टाइम’ लेखिएकोमा लज्जाबोध भएको सम्झें ।
सफा मौसम । नयाँ दिल्लीसम्मको उडानमा झन्डै डेढ घण्टा लाग्नेरहेछ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नासाथ अभि सरले भन्नुभयो— मलाई यो विमानस्थलमा पुस्तक पसलहरू साह्रै राम्रो लाग्छ ।
विमानस्थलबाट बाहिर पाइला चाल्नासाथ दिल्लीको चर्को गर्मीले आक्रमण गरिहाल्यो । बिताउने भयो— मैले मनमनै सोचें ।
हामीलाई लिन कृष्ण शर्मा र लक्ष्मी अधिकारी आएका रहेछन् । कृष्णले नवराज लम्साल र मलाई एउटा गाडीमा नयाँ दिल्लीस्थित एक प्रमुख स्थान पञ्चशील मार्ग, चाणक्यपुरीमा अवस्थित ‘न्यू सिक्किम’ हाउस लिइगए । लक्ष्मी अधिकारीले अभि सरलाई साउथ एसियन युनिभर्सिटीमा लिइगए ।
‘अभि सरलाई पनि सँगै राख्दा हुन्थ्यो नि !’ मैले आफ्नो किसिमले जिज्ञासा पोखें । कृष्णले भने, ‘युनिर्भसिटीमा अभिसरको पूर्वपरिचित मित्र मल्लिका शाक्य हुनुहुन्छ । त्यहाँ अरू पनि अतिथि छन् ।’
बिहानै दिल्ली पुगेकाले नवराज र मेरो सोच दिनभर घुमघाम गर्नुपर्छ भन्ने थियो । यहीबीच हामीलाई भेट्न युनिभर्सिटीका प्राध्यापक युवराज पोखरेल र नेपाली राजदूतावासका काउन्सिलर कृष्णप्रसाद पन्थ न्यू सिक्किम हाउस आइपुग्नुभयो । उहाँहरूले सुझाव दिनुभयो— अहिले दिनको प्रचण्ड गर्मीमा घुम्न जानु ठीक हुन्न । दुई–तीन बजेपछि ठीक हुन्छ ।
काउन्सिलर पन्थ दूतावासतर्फबाट सम्मान व्यक्त गर्दै बिदा भएपछि युवराज पोखरेलले भन्नुभयो, ‘सार्क युनिर्भसिटी, अकबरभवन नजिकै छ । अवलोकन गर्न जाऔं ।’
हामी युवराजजीका साथ अकबर भवन पुग्यौं । अकबर भवनबाट निस्कँदा बाटोमा अभि सरलाई हिँडिरहेको देख्यौं । उहाँलाई लिएर हामी निकटको एक कफीसपमा पस्यौं ।
दिल्लीको गर्मीमा कफी अनि साहित्यिक वार्तालाप । समय बितेको थाहा भएन ।
मध्यदिनको अवसानपछि हामी घुम्न निस्क्यौं ।
‘पहिले कहाँ जाने ?’ नामका थारू युवा चालकले सोधे ।
‘पहिले राजघाट जाने मन छ । भारत आएपछि सबभन्दा पहिले भारतका राष्ट्रपितालाई श्रद्घाञ्जलि चढाउनुपर्छ ।’ मैले भनें । अभि सर र नवराज भाइले मेरो भावनालाई आफ्नो भावना सम्झिदिए । राजघाट नजिकै रहेछ । महात्मा गान्धीको समाधिस्थल छेउमा किसानघाट रहेछ, चौधरी चरणसिंहको समाधिस्थल ।
महात्मा गान्धीको आकृतिजस्तो देखिन्थ्यो राजघाट पनि त्यस्तै रहेछ— सादा, शान्त ।
सामान्य कालीगडीमा कालो सिंगमर्मरको समाधि । पातलो भीडबीचको निरन शान्तिमा अभिसर, नवराज भाइ र मैले श्रद्धापूर्वक महात्मा गान्धीलाई श्रद्धाञ्जलि चढायौं । मैले क्याम्पसकालीन दिनहरू सम्झें, जब म नेपाल–भारत सांस्कृतिक केन्द्र, नयाँ सडक र केशर पुस्तकालय, केशरमहलमा भएका गान्धी साहित्यका मोटा ठेलीहरू पल्टाइहिँड्थें । आफ्नो आत्मकथालाई र ‘माई एक्सपेरिमेन्ट विथ ट्रुथ’ र आफ्नो जीवनलाई ‘माई लाइफ इज माई म्यासेज’ भन्ने अद्वितीय क्षमता महात्मा गान्धीमा थियो । वैज्ञानिक अलबर्ट आइन्स्टाइनले ‘यस्ता मानव यो संसारमा थिए भनेर पछिका पुस्ताका मानिसहरूले कठिनतापूर्वक विश्वास गर्नेछन्’ त्यस्सै भनेका थिएनन् ।
राजघाटबाट फर्केपछि हामी दिल्लीका महत्त्वपूर्ण स्थलहरूको भ्रमणमा निस्क्यौं । राष्ट्रपति भवन, संसद्भवन, नर्थ र साउथ ब्लक, इन्डिया गेट, लालकिल्ला । लालकिल्ला साँच्चै नै लाल र विशाल । 
मे २२ तारिख, बिहान आठ बजेतिर नवराज भाइ र म महोत्सवीय उत्साहपूर्वक सार्क युनिर्भसिटी, अकबर भवन प्रस्थान गर्‍यौं । बिहान आंशिक बदली भएकाले तापक्रम नियन्त्रित थियो । अकबर भवनमा यथासमय महामहिम राजदूत दीपकुमार उपाध्याय, हिन्दीका कवि तथा भारतको ललितकला अकादेमीका पूर्वअध्यक्ष अशोक वाजपेयी, सार्क युनिर्भसिटीका उपकुलपति कविता शर्मालगायत सहभागीहरू सबैको उपस्थिति भएपछि नौ बजेदखि वाताकूलीन एफएसआई हलमा महोत्सव आरम्भ भयो । प्राध्यापक मल्लिका शाक्यले आकर्षक ढंकले कार्यक्रम सञ्चालन गर्नुभयो । महामहिम राजदूत दीपकुमार उपाध्याय, कवि अशोक वाजपेयी, उपकुलपति कविता शर्माले महोत्सवको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गर्नुभएपछि दिनभर, विभिन्न चरणमा कार्यक्रमहरू सम्पन्न भए । पहिलो चरणमा अभि सुवेदी र अशोक वाजपेयीबीच ‘पोयटिक इमेजनिङ अफ साउथ एसिया : अ कन्भर्सेसन बिटविन नेपाल एन्ड इन्डिया’ शीर्षकमा एक गम्भीर र रोचक संवार्ता भयो । नेपाल र भारतका दुवै वरिष्ठ कवि साहित्यकारले दुई देशका कवितात्मक चिन्तन र कविताप्रभावका साम्यताबारे प्रकाश पारे । ‘संवार्ताको अन्त्यतिर अशोक वाजपेयीले एक सुन्दर अभिव्यक्ति दिए, ‘पोयट्स सुल्ड लर्न टु बी साइलेन्ट ।’ 
एक कवि भएर मैले अनुभूत गरिरहेको सत्य— हामी कविहरू कवितामा धेरै बोलिरहेका छौं । कविहरूले आफ्ना कविता मन्त्र बनुन् भन्ने चाहना राख्ने हो भने झेन गुरुहरूले झैं मौनताको उपासना गर्न सक्नुपर्छ । तर अभिव्यक्ति कलामा मौनताको उपासना कसरी गर्ने ? अहम् प्रश्न यही हो । 
प्रथम अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव—२०१७, नाम दिइएको महोत्सवको दोस्रो चरणमा ‘रिसाइटिङ लभ एन्ड डिस्ेपर : पाब्लो नेरुदा इन साउथ एसिया’ शीर्षकमा विश्व प्रसिद्ध ल्याटिन अमेरिकी कवि पाब्लो नेरुदाका कविताहरू नेपाली, हिन्दी, उर्दू, बंगाली, तेलुगु, सिंहाली, तमिल भाषाहरूमा वाचन गरिए । यतिमा सीमित नराखी उनका कविता अंग्रेजी र मूल स्पानिसमा पनि वाचन गरिए । विभिन्न भाषामा उनका कविता वाचन गर्न आयोजकहरूले तत्तत् भाषाका कवि–विज्ञहरूलाई आमन्त्रण गरेका थिए । महोत्सवलाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गर्न र पाब्लो नेरुदाको प्रभाव र प्रसिद्धि दक्षिण एसियामा कति परेको छ भन्ने हृदयंगम गर्न यो प्रयास अत्यन्त सराहनीय र समीचीन रहेको मैले महसुस गरें ।
 यसको लगत्तैपछि कार्यक्रमको दोस्रो चरणमा ‘रिसाइटिङ फेमिनिजम इन साउथ एसिया’ शीर्षकमा अंग्रेजीसहित नेपाली, हिन्दी, बंगाली, तामिल, मलयालम, उर्दू आदि भाषाका प्रसिद्ध महिला साहित्यकारका कविता सोही भाषाका नवोदित कविहरूबाट वाचन गराइयो । यो चरणको उद्देश्य पनि महोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नुका साथसाथै दक्षिण एसियामा महिला साहित्यकारका नारीवादी चिन्तन र नारी अस्मिताद्धारा सिर्जित तिनका अनुभूतिहरूलाई असन्धान गर्नु थियो । मलाई व्यक्तिगत रूपले यो चरण धेरै महत्त्वपूर्ण र उद्देश्यपूर्ण लाग्यो ।
नेपालका सुप्रसिद्ध साहित्यकार, कवि पारिजातको चर्चित कविता ‘लाहुरेलाई एक रोगी प्रेमीको पत्र’ लाई नवोदित कवि अभिनय थापाले वाचन गरे । बंगलादेशका सुप्रसिद्घ साहित्यकार, कवि तसलिमा नसरिनको कविता ‘अ लेटर टु माई मदर’ लाई रइद अरिफले बंगाली भाषामा वाचन गरे । त्यसैगरी आलोक धवनको ‘भागी दुई लडकियाँ ’लाई खुसल दासले वाचन गरे । अन्डालको कविता ‘सङ्स टु कामदेव’ लाई उपासना शर्माले, मोहम्मद अनवर खालिदको कविता ‘कुल्हाडी’ लाई अजमल कमालले, जयप्रभाको कविता ‘जस्ट वर्न दिस सारी’ लाई तानी मनचाण्डेले वाचन गरे । सुप्रसिद्घ अफगान कवि नादिमा अञ्जुमनको कवितालाई नाजी करिमले अफगान भाषामा वाचन गरे । 
कार्यक्रमको अर्को चरणमा भारतका चर्चित नेपाली कविहरू राजेन्द्र भण्डारी, देवकी तिमिल्सिना र राजा पुनियानी प्रस्तुत भए । तिनले आफ्ना धारणासहित कवितावाचन गरी सबैका मन जिते । राजेन्द्र भण्डारी लामो समयसम्म सिक्किममा प्राध्यापन सेवामा रही कालेबुङमा अवकाशको जीवन बिताउन जाने तर्खरमा रहेछन् । देवकी तिमिल्सिना समकालीन आसामका संघर्षशील, प्रतिनिधि कवि रहेछन् । हस्तक्षेप अभियानका अभियन्ता सिलगुडीका युवाकवि राजा पुनियानीले कवितावाचनपूर्व एक वैचारिक हस्तक्षेप गरे । उनले भने— मलाई ‘नेपालबाहिरको नेपाली कविता’ नाम दिइएको यो चरणको शीर्षक मन परेन । वास्तवमा हुनुपर्ने हो ‘भारतको नेपाली कविता’ । उनले अशोक वाजपेयीलाई सम्बोधन गर्दै भने, ‘अशोकजी, तपाईं हिन्दीको वरिष्ठ कवि, म भारतीय नेपाली कवि । भारतमा हामी दुवैको अधिकार बराबर छ ।’
राजा पुनियानीको कुरामा हामी सबै सहमत भयौं । अर्को चरण सुरु भयो कविता चिन्तन । यस चरणमा दार्जिलिङका कवि एवं भारतीय सेवाका अवकाश प्राप्त कर्नेल सुकुल प्रधान, मदन पुरस्कार विजयी नेपालका कवि, कथाकार रामलाल जोशी, भारतीय साहित्य परिषद् देहरादूनका अध्यक्ष भुपेन्द्र खड्का, नेपाली राजदूतावासका कृष्णप्रसाद ढकालले कविता वाचनसहित कवितासम्बन्धी आफ्ना धारणाहरू अभिव्यक्त गरे । भुपेन्द्र खड्काले देहरादूनमा नेपाली साहित्यको दयनीय अवस्था र आफ्ना संघर्षहरूबारे प्रकाश पारे ।
मध्याह्नपछि पहिले ‘सञ्चारमाध्यम र अध्यापनमा नेपाली कविता’ शीर्षकमा कवि एवं सञ्चारकर्मी नवराज लम्साल, अल इडिया रेडियोका वरिष्ठ सञ्चारकर्मी विष्णुबहादुर गुरुङ र दार्जिलिङका प्राज्ञिक व्यक्तित्व जोगेन दर्नालबीच वैचारिक संवाद भयो । साहित्यमा सञ्चारमाध्यमको प्रभाव, उपयोगिता र समस्याहरूबारे पनि विमर्श भए । 
अब पालो मेरो आयो । म विशेष रूपले नेपाली कविताको समकालीन सन्दर्भ विषयमा किनोट अथवा विशेष मन्तव्य दिन आमन्त्रण गरिएको थिएँ । नेपाली कविताको समकालीन सन्दर्भ के हुन सक्छन् ? मैले आफैंलाई प्रश्न गर्दा केही प्रश्नहरू जन्मिएका थिए । यिनै प्रश्न प्रस्तुत गर्ने क्रममा एउटा आलेख तयार भएको थियो । मैले सरसर्ती आलेख सुनाएँ र प्रश्नहरू आमन्त्रण गरें । कविहरू कसैले प्रश्न गरेनन् । विश्वविद्यालयकालीन मेरा गुरु अभि सुवेदीले आलेखले उठाएका सन्दर्भहरूको चर्चा गरी मेरो उत्साहवर्धन गरिदिनुभयो ।
अपरान्ह घण्टाभर चियापानका लागि विश्रान्ति प्राप्त भयो । चिया पिउँदै अकबर भवनको पछाडिपट्टि हेर्दा पानी परिरहेको दृश्यले मलाई आकृष्ट गर्‍यो । कता–कता मनमा लाग्यो, पोखरामा पर्नुपर्ने पानी दिल्लीमा परेछ कि क्या हो ? मैले अविश्वसनीय आँखाले पानी परेको यसरी हेरिरहें मानौं दिल्लीमा पानी पर्नु अनौठो कुरा हो ।
अपराह्न चार बजेपछि यो ‘साँझ कविका माझ’ नाम दिइएर महोत्सवको अन्तिम कार्यक्रम आरम्भ भयो । दार्जिलिङका कवि चेतना तामाङले सबभन्दा पहिले कविता वाचन गरिन् । त्यसपछि क्रमश: नेपालका करण अ‍ैरी, दिल्लीका विधान शर्मा, दार्जिलिङका कुशल तामाङ, नेपालका नवीन भुसाल इन्टरनेट भिडियोमा चीनबाट मित्र घिमिरे, इजरायलबाट सुशीला राई, अमेरिकाबाट शिव रिसाल, त्यसपछि नेपालका प्रवीण काफ्ले, डुवर्सका कमल क्षत्री, नेपालका दिनेश जोशी, दिल्लीका तासी छिरिङ, सिक्किमका एनबी घिमिरे, दिल्लीका मदन मगर, नेपालका त्रैलोक्यराज बजाइँ, कालिङपोङका विक्की थापा, नेपालका सुरज पराजुली, नेपालका विपीन श्रीस, सिलोङका विशाल क्षत्री, नेपालका रसिकराजले कविता वाचन गरे । कविहरू सबै युवा र धेरै सम्भावनायुक्त । सम्भावनाहरूको उत्साह, उमंग र प्रतिबद्ध उपस्थिति देख्दा मलाई नेपाली कविताको गतिशीलताको आभास भयो ।
कवितावाचनपछि अभि सर, नवराज र मलाई छोटा मन्तव्यका लागि आमन्त्रण गरियो । बुद्धको युगदेखि हाम्रो युगसम्म आइपुग्दा मानवजातिले शिक्षामा धेरै प्रगति गरिसकेको छ । सायद हामी बुद्धभन्दा धेरै शिक्षित भइसकेका छौं । तर कविता भनेको शिक्षा होइन अन्तर्बाेध हो, अन्तज्र्ञान हो बुद्वत्वजस्तै । मैले सारांशमा यति नै भन्न चाहें ।
बिहान आठ बजेदेखि राति आठ बजेसम्म पूरै बाह्र घण्टाको म्याराथन महोत्सवको अन्त्यमा प्राध्यापक युवराज पोखरेलले कविहरू र महोत्सवका सहयोगीहरू सबैलाई धन्यवादज्ञापन गरे । 
रात्रि भोजनको समय महोत्सवको सफलताले हामी पुलकित भयौं । खुसी साटासाट गरी भोजन गर्दागर्दै लक्ष्मीनगर क्षेत्रमा अध्ययनरत केही भाइहरू मसम्मुख आए । उनीहरूले समय पाए लक्ष्मीनगरमा एउटा साहित्यिक कार्यक्रम राख्ने कुरा गरे । म इच्छुक भएँ तर समयाभावले गर्दा त्यो सम्भव भएन । मैले ती भाइहरूले भनेको एउटा कुरा सम्झिरहें— लक्ष्मीनगरमा पाँच हजार नेपाली विद्यार्थी सीए (चार्टर एकाउन्टेन्ट) पढ्दै छन् । याने सीए पढ्नेहरूले पनि कविता रच्दै छन् ।
भोलिपल्ट नयाँ पुरानो दिल्लीलाई राम्ररी अनुभूत गर्न अक्षरधाम, लालकिल्ला, जामामस्जिद, चाँदनीचोक क्षेत्रको भ्रमणमा निस्क्यिौं । पुरानो दिल्लीको पुरानो बजार दरियागन्जमा केही किताबपसल रहेछन् । ती किताब मूल्यका हिसाबले होइन किलोको हिसाबले बिक्री हुँदारहेछन् । एक किलो किताबको सय रुपैयाँ । किताबपसलअगाडि तुलमै लेखिएका थिए । त्योदेखि नवराज भाइ र म छक्क पर्‍यौं । मैले नवराजसित ठट्टा गरे, ‘हैन भाइ, हाम्रा रचना आलु, सागसब्जीजस्तै भए कि क्याहो ?’
राति नेपाली राजदूतावासले हामी केही अतिथि र महोत्सवका आयोजकहरूलाई रात्रिभोजका लागि आमन्त्रण गरेको थियो । नयाँ दिल्लीको बाह्रखम्बा रोडस्थित नेपाली राजदूतावासको पुरानो तर आकर्षक भवनभित्र प्रवेश गर्दा नेपाली आत्मीय परिवेशले स्वागत गरिहाल्यो । 
दिल्ली बसाइँको चौथो तथा अन्तिम दिन नवराज लम्साल भाइ र म ताजमहल हेर्न जान इच्छुक भयौं । ताजमहल हेर्न जाँदा शारीरिक अवस्थाले मलाई गाह्रो पर्‍यो तर मैले भीडभाडबीच ताजमहलमा प्रवेश गरी मुमताजमहल र शाहजहाँका समाधि परिक्रमा गर्ने अवसर गुमाउन चाहिनँ । मलाई थाहा थियो यी वास्तविक समाधि होइनन् । वास्तविक समाधि भूमिगत कक्षमा राखिएका छन् । ताजमहल हेरी नयाँ दिल्ली फर्कंदा वर्षौंपहिले लेखिएको एउटा गीतको स्थायी याद आयो :
ताजमहल तिम्रो नाममा बनाउन सक्नेभए
रानीमहल तिम्रो नाममा बनाउन सक्नेभए
यतिबिघ्न तिम्रो माया मान्ने थिइनँ

अर्को दिन तातो दिल्लीबाट अपेक्षाकृत कम तातो काठमाडौंको माटो टेकेपछि मैले सोचें—दिल्ली मात्राको अर्थ के ? महत्त्व के ?
दिल्लीमा प्राध्यापन गरिरहेका र अध्ययन गरिरहेका केही शिक्षक–विद्यार्थीले मिलेर नेपाल र नेपाली भाषा–साहित्यलाई चिनाउने अभिप्राय लिएर ‘प्रथम अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सवको नाममा यति ठूलो आयोजना गरे । भाषा–साहित्यसित सम्बद्ध व्यक्तिहरू र संस्थाहरूद्वारा आयोजना गरिने राष्ट्रिय र अन्तर्राष्ट्रिय महोत्सवहरूको तुलनामा यो महोत्सवको मौलिकता के ? भिन्नता के ?
मलाई लाग्यो, यो महोत्सवको पहिलो सन्देश यही हो— नेपाली भाषा–साहित्यलाई माया गर्ने सबैले नेपाली भाषा–साहित्यप्रति आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् । भाषा–साहित्य सबैको साझा हुन्छ । ज्ञान–विज्ञानको जुनसुकै क्षेत्रमा कार्यरत रहेपछि भाषा–साहित्यलाई माया गर्न सबै स्वतन्त्र छन् ।
यो महोत्सवले दिएको दोस्रो सन्देश पनि धेरै अर्थपूर्ण र महत्त्वपूर्ण छ । नेपालीहरूले इमानदारीपूर्वक चाहे भने भारतको राजधानी दिल्लीको प्रमुख केन्द्रमा बसेर पनि नेपाली साहित्य–संस्कृतिका कार्य गर्न सक्छन् र त्यसमा कसैले आपत्ति जनाउँदैनन् । यही समय पश्चिम बंगाल सरकारले नेपाली भाषीमाथि अवाञ्छित रूपले बंगाली भाषा थोपर्ने खोजेको हुनाले दार्जिलिङमा आन्दोलन चर्केको छ । नेपालमै पनि एकथरीले हिन्दी भाषा थोपर्ने कोसिस गरिरहेकै छन् । तर सत्यको अर्को पाटो— हिजो बनारस र दार्जिलिङ नेपाली साहित्यका केन्द्र थिए । आज पनि छन् । भारतीय संविधानमा नेपाली भाषाले मान्यता पाएपछि भारतीय नेपालीहरूमा तीव्र गतिमा भाषिक–साहित्यिक चेतना विस्तार भएको छ ।
यस परिप्रेक्ष्यमा विचार गर्दा दिल्लीमा केही नेपालीका सत्प्रयासबाट सम्भव भएको अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सवले जुन सन्देश प्रवाह गरेको छ त्यो साँच्चै नै अन्तर्राष्ट्रिय रूपमा परिव्याप्त हुँदै जाने विश्वास गर्न सकिन्छ । 

प्रकाशित : असार १७, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?