सेल्फी संवेदना

अनन्त वाग्ले

सहस्राब्दीको दुर्गम किनारमा


उभिइरहेथ्यो एउटा गिद्ध
जो आत्तुर थियो ठुाडोले आहारा लुछ्न

उसको आहारा—
अन्न देख्दै नदेखेका रुग्ण आँखा
खानाको वासना नपाएको शुष्क नाक
अन्तिम सास फाल्दै गरेको फोक्सो
आखिरी धड्कन दिइरहेको कलिलो मुटु
संवेदनाले भरिएको कलेजो
हड्डी देखिने पातलो न पातलो पारदर्शी छाला
र जम्मामा घोप्टिनै लागेको सिङ्गै अस्थिपञ्जरजस्तो बालक !

Yamaha

हो, यही क्यानभासजस्तो तस्बिर कैद गरेपछि क्यामरामा
रातारात चर्चित भएथेँ म
पाएँथेँ इज्जत र धनदौलत
एकाएक बढेथ्यो मेरो सानसौकत
तर जति फैलँदै गयो यो तस्बिर
त्यत्ति नै विक्षिप्त हुँदै गएँ म
र थाम्नै नसकी बिसाइदिएँ सदाका लागि आफैँलाई मैले

आज, समयको त्यही पाखामा
बल्ड्याङ खाएको बसबाट उछिट्टिएर
पानी..पानी..कराइरहेको यात्रुसामु
तिमीले पनि हान्यौ उसैगरी एक सेल्फी
र हिँड्यौ पोस्ट गर्न

कथित मर्दको अतृप्त प्यासको सिकार बन्दै
त्यो आदिम गल्लीमा
साना पृथ्वीजस्ता दुई आँखाबाट
विरह गुन्जाइरहेकी नाबालिकासामु उभिएर
तिमी स्टिभ जब्सका उपभोक्ताले थप्यौ एक क्लिक
र सोच्न थाल्यौ उत्तम स्ट्याटस

दु:खको इपिसेन्टरमा
थरथरी काँपिरहेका वारपाकवासीका हातमा
कर्पोरेट कोसेली स्वरुप अजिनोमोटोको प्याकेट थमाएर
उत्रियौ तिमी लाइक, कमेन्ट र सेयरको मैदानमा

खै के भयो भयो, के हुँदै छ धरतीमा ?
जे जे देखे पनि छुँदैन सायद !
दुख्दै दुख्दैन कुनै कुराले
करूणा गायब छ
वेदना हराएको छ,
र अत्तोपत्तो छैन संवेदनाको
बस् हान्यो सेल्फी र गर्‍यो पोस्ट
अनि गन्यो लाइक, सेयर र कमेन्ट

यदि करूणा, भावना, संवेदना केही जागेन भने
यो फोटोग्राफरको बाटोमा
सबै सबै सहर शून्य हुने भय छ
बस्ती बस्ती सबै रित्तिने त्रास छ

यतिखेर गहिरो गर्तमा गाडिएको संवेदनामाथि उभिएर
मुख चुच्चो पार्दै सेल्फी हानिरहादा
मलाई तिम्रो औधि दया लागेर आयो !
कतै तिमीले पनि मैलेजस्तै बोधिचेत खुल्दा
आत्मग्लानिले आत्महत्या गर्ने त होइनौ !!

म मरेर पनि आज फेरि मरो
सेल्फी महाशयले
अघि नै पोस्ट गरिसकेका छन् मेरो मृत्यु
कृपया लाइक गर्न नबिर्सनुहोला है !

Esewa Pasal

प्रकाशित : असार २४, २०७४ १०:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पुस्तकसँगै हुर्कौं

आज अन्तर्राष्ट्रिय बालपुस्तक दिवस
अनन्त वाग्ले

हरेक वर्षको ‘अप्रिल फुल’ बारे सबैजसो जानकार छन् । यस दिन मानिसलाई झुक्याउँदै र उटपटयाङ गर्दै नरमाउने कमै होलान् । तर यसको भोलिपल्ट अप्रिल २ मा पर्ने महत्त्वपूर्ण दिवसबारे कमैलाई थाहा होला । यो दिन अन्तर्राष्ट्रिय बालपुस्तक दिवस हो । सन् १९६७ देखि यो दिवस संसारभर नै विविध कार्यक्रमका साथ मनाउने गरिएको छ । केही वर्ष यतादेखि नेपालमा पनि मनाउन थालिएको छ ।

बालसाहित्यको विकासमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था आईबीबीवाईमा आवद्ध विश्वका ८० भन्दा बढी देशमा यो दिवस विशेष रूपमा मनाइन्छ । ती ८० मध्येका कुनै न कुनै देशले बर्सेनि यो दिवसका लागि नारा तथा विशेष लोगो तय गर्छन् । अनि विशेष सन्देशसाथ संसारभर त्यसको प्रचार गर्छन् । बालबालिकालाई कथा सुनाउँछन् । नयाँ पुस्तक उपहार दिन्छन् । नयाँ किताब सार्वजनिक गर्छन् । पुस्तक मेला गरिन्छ । बालबालिका पनि आफूले पढेका पुस्तकबारे छलफल गर्छन् । यस वर्ष रूसले यो दिवसको संयोजन गरिरहेको छ । यस वर्षको बालपुस्तक दिवसको नारा ‘पुस्तकसँगै हुर्कौं’ रहेको छ । बालपुस्तक दिवस अप्रिल २ मा मनाउनुको खास कारण पनि छ । यस दिन विश्व विख्यात परिकथाकार हान्स क्रिस्चियन एन्डर्सनको जन्मदिन पनि हो । १ सय ५० भन्दा बढी भाषाहरूमा अनुदित एन्डर्सनका कथा संसारमै सर्वाधिक बालबालिका र पाकाहरूबाट समेत पढिन्छन् । कुरूप टिउरो (अग्ली डक्लिङ), बादशाहको नयाँ लुगा (इम्पेरर्स न्यु क्लथ), राजकुमारी र केराउको गेडा (दि प्रिन्सेस एन्ड दि पिच), सानी जलपरी (लिटिल मर्मेड) र सलाई बेच्ने केटी (दि म्याचेच गर्ल) एन्डर्सनकृत १ सय ७० कथामध्ये सबैभन्दा लोकप्रिय मानिन्छन् । उनका बाबु घरघरमा जुत्ता सिउँदै हिँड्थे । उनी ११ वर्षको हुँदा बाबुको मृत्यु भएपछि आमाले दोस्रो विवाह गरिन् । यसरी बेसहारा बनेका एन्डर्सन लेखनप्रतिको उत्कट चाहनाले संसारभर प्रसिद्ध भए । उनको देश डेनमार्कमा मात्र होइन, संसारभरि नै उनलाई अत्यन्त श्रद्धा गरिन्छ ।
सानो उमेरमा बालबालिकाले जति धेरै किताब पढे, उनीहरूको भाषा त्यत्तिकै राम्रो हुन्छ । जसको भाषा राम्रो छ, उसले अध्ययन, रोजगारलगायत हरेक क्षेत्रमा सफलता र अवसर पाउँछ । भाषामा राम्रो भएका बालबालिकाको अरू सबै विषयमा पनि रम्रो नतिजा पाइन्छ । यी सबै तथ्य अनुसन्धानबाट पत्ता लागेका कुरा हुन् ।

हिजोआज रेडियो, टीभी, कम्प्युटर, मोबाइलजस्ता माध्यमका कारण किताबको महत्त्व घट्दै गएको पो हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ । तर सूचना र सञ्चार प्रविधिमा जतिसुकै विकास भए पनि किताबको बेग्लै महत्त्व छ । यसको प्रभावकारिता घट्ने सम्भावना कमै छ । पुस्तकप्रेमी र असल पाठकहरू भन्छन्– किताबको स्वाद अरू कुनै माध्यमबाट पनि पाइँदैन । त्यसैले अन्तर्राष्ट्रिय बालपुस्तक दिवसको सन्दर्भमा पनि हामी पनि किताब संस्कृतिमा रमाउन सिकौं है । यही दिवसका सन्दर्भमा रूसी लेखक सर्जेयी माखोतिनले दिएको सन्देश यस्तो छ–‘बालककालमा म ब्लक र साना खेलौना जोडजाड गरेर घर बनाउँथे । अनि छानाको ठाउँमा चित्रमय बालपुस्तक राख्थेँ । सपनीमा म घरमाथि चढ्थेँ । सलाईको बट्टाले बनाएको ओछयानमा पल्टन्थेँ ।
अनि तारा चम्चमाइरहेको आकाश र बादल नियाल्थेँ । यो सबै मलाई मन परेको तस्बिरमा आधारित हुन्थ्यो । म अन्तरआत्मादेखि नै बालकमा जीवनको नियम पछयाउँछु, जो सुरक्षित र शान्त वातावरण चाहन्छन् । यसमा बालपुस्तकले साँच्चै मलाई सघाउँछन् ।
म हुर्किएँ । पढ्न सिकेँ । मेरो कल्पनामा किताब घरको छानाभन्दा भिन्न भयो । यो पुतली या चराझैं देखिन थाल्यो । किताबका पाना पखेटाझैं लाग्न थाले, जसले सुकेका पातकोजस्तै धुन निकाल्छ । झयालमा रहेको किताबले वेगका साथ झयाल खोल्दै अज्ञात शून्यतालाई चिर्न खोजेझैं देख्छु । म त्यसलाई हातमा लिन्छु र पढ्न थाल्छु, अनि त्यो शान्त हुन्छ । अनि म अर्कै संसारमा बत्तिन्छु, जहाँ कल्पनाको संसार फैलन थाल्छ ।
आहा ! कसैको हातमा नयाँ किताब देख्नुमा कत्ति मज्जा छ, त्यो केको बारेमा होला भनेर उर्लिने जिज्ञासा ख्याल रमाइलो हुन्न । तिमी त्यसको अन्तिम पृष्ठ हेर्न लोभिन्छौ । आहा ! त्यसमा क्या वासना आउँछ, जसलाई छपाइको मसी र गममा भाग लाउन सकिँदैन । त्यो किताबको आफ्नै सुवास हो, जो आफैँमा उत्तेजक र अनुपम हुन्छ । केही पृष्ठको वासना लिइसक्दा पनि किताब ब्युँझेको हुन्न । जब तिमी पढ्न थाल्छौ, बल्ल त्यो ब्युँझिन्छ ।
तिमी बढिरहेका छौ । संसार झन्झन् जटिल बन्दै छ । तिमीले अनेकौं प्रश्न सामना गरिरहेका छौ, जसको जवाफ दिन वयस्कहरू पनि तयार छैनन् । तैपनि तिमीले शंका र रहस्यहरू सुनाउनु महत्त्वपूर्ण छ । यस्तो बेला किताब तिमीलाई सघाउन आउँछ । हामीलाई लाग्छ : यो किताब मेरै बारेमा लेखिएको होला । र, मन पर्ने पात्रले एक्कासि तिमीले जस्तै चिच्याउँछ । उसले पनि उस्तै समस्या भोग्छ र आफूलाई आफ्नै बान्की दिन्छ । र, अर्को पात्र सधैं तिमीजस्तो हुन्न तर तिमी उसलाई आफ्नो आदर्शको रूपमा चाहन्छौ । अनि ऊजस्तै बहादुर र सम्पन्न हुने चाह गर्छौ ।
जब कुनै बालक या बालिकाले भन्छन् कि ‘मलाई पढ्न मन लाग्दैन’ त्यसले मलाई हाँसो लाग्छ । मलाई ती बालबालिका हुन् भन्नेमा शंका लाग्छ । उनीहरू आइसक्रिम खान्छन्, खेल्छन् र रमाइला सिनेमा हेर्छन् । अर्को किसिमले भन्दा उनीहरू रमाइलो मन पराउँछन् । खासमा पढाइ भावना र व्यक्तित्व विकासको कडा काम मात्र होइन, सबैभन्दा पहिला त यो महान् आनन्द हो ।’

प्रकाशित : चैत्र २०, २०७३ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT