कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘न सियो, न बन्चरो’

कठोर आत्मविश्वासले सांस्कृतिक मोर्चामा एक्लै भिडिरहेका छन्, दुई दर्जन भन्दा बढी पुस्तकका लेखक हरिराम जोशी । नेपाल सरकार, नेपाल एकेडेमी, त्रिभुवन विश्वविद्यालय इत्यादि सरकारी र गैरसरकारी संस्थाको आडभरोसा उनलाई कहिल्यै चाहिएन ।
राजकुमार बानियाँ

यू आर मिस्टेकनली बर्न इन नेपाल ।’ विदेशी संस्कृतिविद्हरू हरिराम जोशी, ८२, को निष्काम कर्मयोग देखेर अक्सर यस्ता टिप्पणी गरिरहन्छन् ।

‘न सियो, न बन्चरो’

नेपालमा जन्मनु दुर्भाग्य हो या सौभाग्य ? एक कर्मयोगीका निम्ति भौगोलिक सिमाना बाधक हुन्छ कि साधक ? हरिराम स्वयं जान्दैनन् । नेपाल सरकार, नेपाल एकेडेमी, त्रिभुवन विश्वविद्यालय इत्यादि सरकारी र गैरसरकारी संस्थाको आडभरोसा उनलाई कहिल्यै चाहिएन । 
कठोर आत्मविश्वासले सांस्कृतिक मोर्चामा एक्लै भिडिरहेका छन्, हरिराम । अहिले पनि वेद, उपनिषद्, पुराण, मनुस्मृति, त्रिपिटक आदि ग्रन्थ र अभिलेख अगाडि राखेर वैदिक कोश र पौराणिक आख्यानमा आदिदेव शिवबारे समानान्तर काम गरिरहेका छन् । वैदिक कोशको नाम हो, ‘अभिनव वेद, वेदांग एवं इतिहास पुराणादि कोश ।’ यी संस्कृतिविद् तथ्यको मौलिक व्याख्या मात्र गर्दैनन्, उत्तिकै आलोचक पनि भइदिन्छन् । 
हाल सालै उनको २८ औं पुस्तक निस्कियो, ‘पञ्च पल्लव ।’ उनलाई थाहा छ, संस्कृतिको खोजीमेली दाम नआउने काम हो । मृत्युपछि नामसम्म आउन सक्छ । उमेरले आराम गर्न भनिरहेको छ उनलाई । तर, उनको मन पटक्कै थाकेको छैन । अझै पनि थुप्रै काम वक्यौता छन् । ‘सन्ध्याकाल भनेको छाडी जाने बेला हो तैपनि जानेको काम धेरथेँर गरिरहन मन लाग्दो रहेछ,’ उनी भन्छन्, ‘यहाँ रहुन्जेल गरिरहने हो । थाहा छैन, पूरा हुन्छ कि अधुरै रहन्छ ?’ 
हरिराम जोशीका थुप्रै परिचय छन्, संस्कृतिविद्, इतिहासकार, मुद्रा विशेषज्ञ, पुरातत्त्वविद् र अन्वेषक । यसै लहरमा काव्यकार परिचय जोड्दा पनि अन्यथा नहुन सक्छ । उनको पहिलो पुस्तक छापिएको थियो ०१० सालमा । रुसी लेखक निकोलाइभिज लियोन्तेभको अनुवाद, ‘समाजको विकास ।’ ‘चिनी क्रान्ति र किसानहरूको सवाल’ ‘नयाँ चीनको विवाह कानुन,’ ‘भियतनामको स्वतन्त्रता संग्राम,’ ‘चिनी क्रान्तिको जितको रहस्य,’ ‘पुँजीवादी जनवाद र समाजवादी जनवाद’ आदि थुप्रै अनुवाद पुस्तक छन् उनका ।
उनको जीवनको अभूतपूर्व घटना भयो ००४ वैशाख १६ मा । उपत्यकाका तीनै सहरमा ‘इन्कलाव–जिन्दावाद’ को नारासहित जुलुस निस्किएको दिन । त्यसपछि नै हो हरिराममा समाचार पढ्ने लत लागेको । समकालीन विश्वमा के भयो, कसो भयो ? यही चस्का लागेर पाटनको न्हागल (टंगल) टोलबाट एक घण्टा पैदल मार्च गरेर बांगेमुढाको सन्देशगृह धाइरहन्थे । ‘संसार’, ‘नवभारत टाइम्स’, ‘आज’, ‘स्टेट्सम्यान’, ‘नेसनल हेराल्ड’ आदि पत्रिका पढेर समाचारको धित मार्थे ।
त्यति बेलासम्म उनले मौलिक किताब लेखिसकेका थिएनन् । काठमाडौँ, टुँडिखेलमा खरीको बोटमुनि बसेर पहिलो कविता लेखेछन्, ‘त पागल हुँदैन ?’ हरिश, वसन्त, दादा नाममा थुप्रै नाममा लेखे पनि । ०१४ सालमा फुटकर कवितासंग्रह गर्ने लहड आयो मनमा । विश्वेश्वरप्रसाद कोइराला, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित आदि लेखकका लिखितम मन्तव्य पनि लिए । तर, पुस्तक भने छापेनन् । बरु ०१७ मा नवपत्नी कदमकेशरी मास्केका नाममा खण्डकाव्य लेखे, ‘कदम ।’ कविता पल्टाउँदै के थाहा हुन्छ भने, उनले ७० वर्षपहिले नै राजतन्त्र समाप्त हुने घोषणा गरेका रहेछन् । 
राजा त्रिभुवनले घोषणा गरेको संविधानसभा निर्वाचन संसदीयमा बदलिएको आक्रोशमा लेखेका रहेछन् त्यो कविता । तारिणीप्रसाद कोइरालाको पत्रिका ‘कल्पना’ मा पनि उनले संविधानसभाको पक्षमा स्पष्ट अभिमत राखेका रहेछन् । नेपालमा राजतन्त्रभन्दा गणतन्त्र पुरानो भएको तर्क छ उनको । उनका शब्दमा राजतन्त्रपछि गणतन्त्र होइन, गणतन्त्रपछि राजतन्त्र आएको हो । कीर्तिपुरको बाघभैरव, बत्तिसपुतलीको लोककथा अनि द्रव्य शाह निर्वाचित राजा भएको आधार दिएका छन् उनले । 
एउटा प्रसंग के भने, बहालवाला प्रधानमन्त्री हुँदा झलनाथ खनालले उनको पुस्तक ‘ग्लिम्प्सेज अफ एन्सेन्ट पोलिटी’ विमोचनमा जम्मा १० मिनेटका लागि आउने वचन दिएका थिए । कार्यक्रममा आएर डेढ घण्टा मात्र बसेनन्, सँगै हरिरामको घर गएर भनेछन्, ‘ल जोशीजी, हामी मिलेर गणतन्त्रको किताब लेख्नुपर्छ ।’ त्यसको एक महिनामै हरिराम ‘लोक गणतन्त्र’ नामक पाण्डुलिपिसहित खनालको घर गएर भनेछन्, ‘लौ मेरातर्फबाट लेखिसकें । बाँकी तपाईं नै थप्नुस् ।’ खनालले असमर्थता जनाए तर ५० थान किताब कार्यकर्ताका लागि किनिदिने बताए ।
यी हरिराम पिता भारथरामको सहमति लिएर दाजु केशवरामसहित नेपाल कम्युनिस्ट पार्टीमा लागेका रहेछन् ००७ सालको क्रान्तिताका । उनी त अझ समर्थक कमिटीबाट पार्टी सदस्यमा बढुवा भएर ००९–१० मै नेपाल कम्युनिस्ट पार्टीको पाटन टाउन कमिटीका सेक्रेटरी भएछन् । नेकपाको प्लेनम र सेमिनार अक्सर उनकै घरमा हुन्थ्यो । धेरै कम्युनिस्ट नेताको गाँस–बास–कपासको व्यवस्था गर्नुपथ्र्यो उनकै परिवारले । पुष्पलाल, मनमोहन अधिकारी, निरञ्जन गोविन्द वैद्य, तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, नरबहादुर कर्माचार्य, शैलेन्द्रकुमार उपाध्याय, केशरजंग रायमाझी, साधना–साहनादेखि डीपी अधिकारी, धनुषचन्द्र गौतम, कलमराज रेग्मी, अरविन्द रिमाल, भारतीय नेता गिरीश जोशीसम्मको जमघट उनकै घरमा हुन्थ्यो । 
रुसी नेता ख्रुस्चेभले स्टालिनलाई देहान्तसँगै तानाशाह करार गरेपछि उनको आस्था विचलित भयो । बाँचुन्जेल महान्, मरेपछि गद्धार ? व्यक्तिपूजा र निन्दा, क्रान्ति र प्रतिक्रान्ति, घात र प्रतिघातको शृंखलाबाट अमन भयो जोशी दाजुभाइलाई । त्यसैले ०१२ सालमा कम्युनिस्ट पार्टी मात्र होइन, राजनीतिक यात्राकै बिट मारिदिए । ‘न मामा (निरञ्जन गोविन्द वैद्य) ले मलाई कन्भिन्स गरे, न त मैले मामालाई,’ उनी कुम्लो फुकाउँछन्, ‘स्वतन्त्र विचारको मानिस भएकाले कसैको अन्धसमर्थन गर्न चाहिनँ । त्यसपछिका भेटघाटमा हामीले पार्टीका कुरा गर्दै गरेनौं ।’ कम्युनिस्ट पार्टी छाडेको यतिका वर्ष भइसक्दा पनि उनको बिछ्यौनाछेउ बहिनी गौरीश्यामले ०१४–१५ सालमा बनाएको माक्र्स, लेनिन, स्टालिन र माओ (पछि थपेको) को पेन्टिङ छँदै छ । 
तीन पुस्तादेखि कपडा व्यापारी थियो जोशी परिवार । घरमै रहेको पसलमा हरिराम स्वयं २० वर्ष पितासँगै कपडा बेचेका छन् । पाटनको रैथाने नेवार भए पनि उनले ‘जलम्–पानी,’ ‘अनल–आगो’ भनेर संस्कृत पढे विष्णुराज रिमाल (शिवगोपाल रिसाल) सँग । ललित प्राथमिक विद्यालयमा १९९६ मा भर्ना भए । पाटन हाइस्कुलबाट ०१० सालमा एसएलसी गरे । पाटन इन्टरकलेजमा पढे इतिहास, अर्थशास्त्र र संस्कृत । उनी त्रिभुवन विश्वविद्यालयमा संस्कृतिमा डिग्री लिने पहिलो समूहका विद्यार्थी हुन् । संस्कृतबाट संस्कृतिमा उनको छलाङ सुन्दर छ । 
लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति एवं इतिहासकार त्रिरत्न मानन्धरका अनुसार हरिरामले पीएचडी उपाधि नलिए पनि त्योभन्दा माथिल्ला स्तरका गहकिला ग्रन्थहरू लेखेका छन्, ‘अभिनव संस्कृति शब्दकोश,’ ‘उत्तर–प्राचीनकालीन मुद्रा,’ ‘नेपालको प्राचीन अभिलेख,’ ‘मध्यकालीन अभिलेख, ’ ‘मिडिएभल कोलोफोन्स,’ ‘पेजेज अफ द फर्गटन पास्ट,’ ‘ग्लिम्प्सेज अफ एन्सेन्ट पोलिटी,’ आदि । ‘हिडेन रियालिटिज,’ र ‘हिन्दु प्रतिमा लक्षण’ प्रकाशनोन्मुख छन् । 
यी पुस्तक लेखनको एउटा कारण नेपाली, नेवारी, अंग्रेजी, संस्कृत र हिन्दीमा उनको पकड हो भने अर्को कारण इन्सोम्निया (अनिद्रा रोग) । निद्रा नआएपछि उनमा पुराना कुरा खोजेर पढ्ने बानी बस्यो । ‘पीएचडी टाँगेर हिँड्ने तर केही नगर्ने व्यक्तिले त हरिराम जोशीको अर्कै प्रकारको मूल्यांकन गर्लान्,’ मानन्धरले लेखेका छन्, ‘ती ग्रन्थहरूका आधारमा हरिराम जोशीलाई डिलिट उपाधिले सम्मान गर्नुपर्ने हो ।’
संस्कृतिमा डिग्री लिएपछि हरिरामले विश्वनिकेतन हाइस्कुल त्रिपुरेश्वरमा तीन वर्ष जति इतिहास पढाएछन् । त्यसपछि ०२३ मा नेपाल म्युजियम छाउनीमा किपर (शाखा अधिकृत तहको) जागिर सुरु गरे । त्यहाँ हाकिमका दुई दरबन्दी हुँदा रहेछन्, किपर (प्रशासन) र म्युजियमोलोजिस्ट (प्राविधिक) । एक थिए हाम्रै हरिराम, अर्का थिए वारकृष्ण श्रेष्ठ । चन्द्रशमशेरको पालामा लडाइँका हातहतियार राख्ने ठाउँ शिलखाना जुद्धशमशेरको पालामा जुद्ध जातीय कलाशाला भयो भने ०२५–२६ मा आएर राष्ट्रिय संग्रहालय । त्यहाँ केही वर्ष बिताएर हरिरामले २८ वर्षे निजामती सेवामा पुरातत्त्व विभाग, केशर पुस्तकालय, किताबखाना, सामान्य प्रशासन, परराष्ट्र, सञ्चार र शिक्षा मन्त्रालय, अञ्चलाधीश कार्यालय, आर्मी हेडक्वार्टर हुँदै रक्षा मन्त्रालय चहारे ।
उनका साथीहरू नारायणशमशेर थापा, कर्णबहादुर चन्द आदि भने सचिव भए भने उनले १८ वर्षमा जम्मा एउटा बढुवा पाए । उनको अधिकतम पद भयो उपसचिव । उनका लागि आएको विदेश जाने कतिपय अवसर पनि एक–दुई दिनअगावै अरूले उछिट्याए । ‘मलाई चाकरीको भाषा जानिनँ । त्यसमा म कामै नलाग्ने रहेछु,’ उनको हक्की जवाफ छ, ‘जागिरमा जे होस्, मैले त्यसको मतलब गरिनँ । अनुसन्धान नै मेरो प्रिय क्षेत्र भयो ।’ उनले अन्याय भयो भनेर कतै उजुरबाजुर पनि गरेनन् । ०५० सालमा अवकाश पाएपछि हरिराम फेरि आफ्नै रुचिको ड्युटीमा फर्किए । 
सांस्कृतिक इतिहास लेखनका क्रममा उनी नारी जातिप्रति समानुभूति राख्छन् । भाइपूजाजस्तै बहिनीपूजाको परम्परा नचलाउनुलाई प्राचीन संस्कृतिको त्रुटि मान्छन् । कन्यादानलाई नारी जातिका लागि अभिशाप मान्ने उनले ‘ओम सती प्रथा’ मा सत्य स्थापनार्थ आत्माहूति गर्ने वीरांगनाको गाथा लेखेका छन् । उनले के तथ्य खोलेका छन् भने राणा प्रधानमन्त्री जंगबहादुरले १९१० को मुलुकी ऐनमार्फत सती प्रथाको उन्मूलन त गरे तर उनकै पत्नीहरूलाई सती जानबाट रोक्न सकिएन । 
संस्कृति, पर्व, जात्रा र संस्कारबारे आधिकारिक ज्ञान छ उनमा । कुन जाति कहाँबाट आयो ? कुन धर्म–संस्कृति कसरी थालनी भयो ? उपत्यकाभित्रका जात्रा मात्रामा के–कसो गरिन्छ ? उनको लेखनको क्षेत्र काठमाडौं, भक्तपुर, ललितपुर र बनेपा देखिन्छन् । बनेपा, पनौती, धुलिखेल, नाला, खड्पु, चौकोट र साँगा सप्तग्रामका बारेमा उनको पुस्तक हो, ‘बनेपा सात गाउँ ।’ लिच्छवीकालमा द्वैध शासन थिएन भन्ने तथ्य ‘प्राचीन नेपाल’ (०२२) मा हरिरामले नै दिएका हुन् । सर्वोच्च शिखर सगरमाथालाई उनले ‘सर्गमाथ’ भन्ने तर्क गरेका छन् । सर्गको अर्थ सृष्टि, माथको अर्थ बाटो । द पाथ अफ क्रिएसन । उनको अर्को तर्क के छ भने, बुद्ध (सिद्धार्थ) कपिलवस्तुका राजकुमार होइनन्, शुद्धोदन पनि राजा होइनन् । 
पिता भारथरामको सम्झनामा हरिरामले जोशी रिसर्च इन्स्टिच्युट पनि खोले ०३७ मा । ‘रोलम्ब’ नामक उच्चकोटिको इतिहास र संस्कृतिप्रधान त्रैमासिक जर्नल पनि निकाले । स्वर्ण अंक निस्किएको त्यो जर्नल सात–आठ वर्षयता बन्द छ । रोलम्बको अर्थ हुन्छ, मौरी । संस्कृतिको फाँटमा रोलम्बकै प्रतिविम्ब हरिराम ‘वन म्यान इन्स्टिच्युसन’ हुन् । उनको कुनै उत्तराधिकारी छैन । ‘कतिपयले पत्रिका म चलाउँछु भनेर मागेका पनि हुन्,’ उनी भन्छन्, ‘पिताजीको सम्झनामा खोलेको संस्था कसैलाई चलाउन दिने इच्छा पनि छैन ।’ 
यी तमाम काम गरेबापत ०५५ मा राष्ट्रिय प्रतिभा पुरस्कार पाए उनले । नेपाल यस्तो मुलुक हो, जो प्रतिभा पुरस्कारबापत १५ हजार रुपैयाँ बाँड्छ, त्यसपछि प्रतिभाको कुनै सोधीखोजी गर्नु आवश्यक ठान्दैन । ०४१ मा ‘हिन्दु देवीदेवता’ पुस्तकमा दुई हजार राशिको गुणराज पुरस्कार पाएका हरिरामले ‘अभिनव संस्कृतिकोश’ (०५९) मा एक लाख राशिको मदन पुरस्कार पाए । तर, उनका लागि त्योभन्दा खुसीको क्षण भयो, गत जेठ १५ गते गणतन्त्र दिवसमा पाएको २५ हजार राशिको कुलचन्द्र राष्ट्रिय पुरस्कार । 
‘साँच्चै भन्ने हो भने, कुलचन्द्र पुरस्कार पाउँदा जतिको खुसी मलाई कहिल्यै लागेको थिएन,’ उनी सुनाउँछन्, ‘मदन पुरस्कारको राशि त पैसा त मैले ०३६ सालमै युनेस्को अवार्डबापत झन्डै पाइसकेको थिएँ ।’ उनले पाउने पक्का भइसकेको आठ हजार डलरको त्यो पुरस्कार राजदरबारको सोर्स लगाएर अर्कै लेखकले उछिट्याएछन् । त्यति बेला एक डलरको नेपाली विनिमय दर १२ रुपैयाँ थियो । ‘अभिनव संस्कृतिकोश’ विमोचनकै दिन दुई लाख रुपैयाँको पुस्तक बिक्री भएको रोमाञ्चक अनुभव पनि छ हरिरामसँग । रोयल या क्राउन साइजको त्यस्तो कोश नेपालमा त्यसअघि थिएन । त्यो ग्रन्थ तयार पार्न उनलाई २० वर्ष लागेको छ ।
कुमारी प्रकाशनले ०६२ पुस १६ मा ‘संस्कृति शिरोमणि’ उपाधि दियो उनलाई । शिरोमणि त के, सिपाही भने पनि उनलाई मञ्जुर छ । उनलाई संस्कृतिको सिपाही या शिरोमणि बनाउने भने तिनै कदमकेशरी हुन् । हरिराम सप्तऋषिकी अरुन्धती नै मान्छन् उनलाई । बिसन्चो र बुढेसकालमा जेठा इन्जिनियर छोरा प्रदीपरामको ५१ वर्षका उमेरमा भएको निधनले गहिरो शोकमा पार्‍यो उनलाई । उनलाई श्रद्धाञ्जलीस्वरूप ‘प्रदीप अभिनव संस्कृति शब्दकोश’ निकाले । माइला छोरा दीपराम नेपाल बैंकबाट रिटायर्ड भइसकेका छन् भने कान्छा इन्जिनियर सुशीलराम र छोरी प्रतिभा वैद्य क्यानडामा छन् । 
हरिराम जोशीको चिनी पनि संस्कृति हो, ‘हनी’ पनि संस्कृति । हार्डवेयर पनि संस्कृति हो, सफ्टवेयर पनि संस्कृति । पछिल्लो कालखण्डमा आफ्नो संस्कृतिको ज्ञान हुनुपर्छ भन्ने जागरण आएको अनुभव छ उनीसँग । ‘आफूलाई चिन्ने माध्यम संस्कृति हो । संस्कृतिलाई नचिनी आफूलाई चिन्न सकिँदैन,’ उनको मत छ, ‘खासगरी विदेशमा बसेका नेपालीमा देखावटी भए पनि त्यो भावना आएको छ ।’ यद्यपि हरिराम वैश्विक चिन्तनमा विश्वास गर्छन् । उनका लागि नेपाल मात्र होइन, संसार नै मातृभूमि हो । राष्ट्रवाद राम्रो हो तर त्योभन्दा पनि उच्च छ— विश्ववादी समानता, स्वतन्त्रता र भाइचारा ।
अधिकांश पुस्तक हरिराम स्वयंले छापेका छन् । ‘नेपालका चाडपर्व’ उनले सवा लाख ऋण गरेर छापे । त्यो ७२ वटा चाडपर्वका बारेमा लेखिएको आधिकारिक ग्रन्थ हो । ‘अभिनव संस्कृतिकोश’ मा उनको छ लाख रुपैयाँ खर्च भएको छ । ‘प्रदीप : अभिनव संस्कृति विश्वकोष’ भने नारायणमान बिजुक्छेको वर्कर्स प्रकाशन, भक्तपुरले छापिदियो । उनलाई थाहा छ, सहयोग जसले गरेको छ, उसले पनि आफूलाई चाहिने बेलासम्म मात्रै गर्ने हो । ‘यो चिया–चुरोटको तलतलजस्तै हो । नयाँ चीज पायो कि आनन्द लाग्छ,’ उनी सुनाउँछन्, ‘थुप्रै मानिस किताब दिनुस् भन्दै आउँछन्, भएसम्म दिएर पठाउँछु । यो त सिंगो बन्चरो बिगारेर सियो बनाउने काम रहेछ । कसैलाई एउटा दियो, कसैलाई दुइटा । आफ्नो हातमा त न सियो हुन्छ, न बन्चरो ।’

प्रकाशित : असार २४, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?