कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालका पुरस्कृत, सांघाईमा प्रर्दशित

जनकराज सापकोटा

काठमाडौंमा प्रत्येक बर्ष हुने राष्ट्रिय कला प्रदर्शनीमा उत्कृष्ट पुरस्कार पाउने कलाकृतिहरू कहाँ पुग्छन्?

नेपालका पुरस्कृत, सांघाईमा प्रर्दशित

धेरैलाई अनौठो लाग्न सक्छ, पछिल्ला चार वर्षयता प्रदर्शनीमा अब्बल ठहरिएका धेरैजसो पेन्टिङहरू चीनको सांघाई सहर पुगेका छन्। त्यहाँको चाइनिज बुद्धिस्ट कल्चरल एन्ड प्रोटेक्सन सेन्टर अन्तर्गतको वाटर मुन म्युजियमको भित्तामा नेपाली कलाकारहरूका चित्रहरू वर्षौंदेखि झुन्डिरहेका छन्। 

नेपाली कलाकारले बनाएको बुद्ध धर्मसम्बन्धी थिम भएका उत्कृष्ट कलालाई मनग्गे पैसा तिरेर म्युजियम पुर्‍याउने चिनियाँ तन्नेरी हुन् साओ जुन्ये। साओका अनुसार अहिले उनको म्युजियममा संकलनमा १ सय ८० मौलिक थांकाहरू छन् जसमध्ये १ सय २० नेपालबाट ल्याइएको हो। पछिल्ला वर्षमा विश्वका अनेकन देशबाट सांघाई घुम्न आएका विश्वका ६ हजार विदेशीले म्युजियम घुमिसकेका छन्। 
सन् २०१५ को राष्ट्रिय कला प्रदर्शनीमा शंकर जोशीको आर्यतारा शीर्षकको कलाले राष्ट्रिय अवार्ड पाएको थियो। प्रदर्शनी सकिएको केही सातामै विजेता घोषित उनको पेन्टिङ साओको म्युजियममा सर्वजनिक प्रदर्शनीमा पुगिसकेको थियो। ६ डिजिटको अंकमा बेचेको पेन्टिङको यकिन मूल्य जोशी खुलाउन चाहन्नन्। प्राकृतिक रंगको प्रयोग गरेको उनले यो थांका ६ महिना लगाएर बनाएका थिए। ६ दशकदेखि थांका पेन्टिङ गरिरहेका जोशीले भने, ‘सानो देशका कलाकारले बनाएको पेन्टिङ विश्वभरिका कला पारखीको आँखा पुग्ने ठाउँमा पुग्नु सुखद कुरा हो।’ 
सन् २०१६ को राष्ट्रिय कला प्रदर्शनीमा कर्मा लामाको नौ मण्डलाको पेन्टिङले राष्ट्रिय अवार्ड पाएको थियो। २४ क्यारेटको सुन पगालेर बनाइएको लेपनबाट निर्मित यो पेन्टिङ पनि पुरस्कार पाएको केही सातामै सांघाईको म्युजियममा प्रदर्शनीमा पुगिसकेको थियो। कर्माका अनुसार यो पेन्टिङमा साढे दुई तोला सुन प्रयोग भएको थियो जसलाई उनले पाँच लाखभन्दा धेरैमा बिक्री गेरका थिए । करिब चालीस वर्षदेखि पेन्टिङ गरिरहेका कर्माले ६ फिट अग्लो र साढे चार फिट चौडाइको यो पेन्टिङ बनाउन नौ महिना समय खर्चेका थिए। 
ललितकला प्रतिष्ठानको परम्परागत तथा शिल्प कला विभागका प्रमुख निमा लामाका अनुसार साओको नेपाली थांकाप्रतिको लगाव अचम्मको छ। उनले सांघाई सहरमा नेपाली कला प्रदर्शन हुनु भनेको कलाको विश्वव्यापीकरणलाई सघाउ पुर्‍याउनु भएको बताए। उनले भने, ‘समृद्ध देशले हाम्रो कलालाई सार्वजनिक प्रदर्शनीमा राख्नु राम्रो कुरा हो।’ चीनसँगको दसकौं पुरानो दौत्य सम्बन्धकै कारण चिनियाँहरूले नेपाली कलाको महत्त्वलाई बुझेको लामाको कथन छ। उनले बितेका पाँच वर्षमा कलाका चिनियाँ पारखीहरूका कारण नेपाली कलाकारहरूले राम्रो आम्दानी गरेका छन्। जसमा साओजस्ता कला पारखीको ठूलो भूमिका छ। 
नेपाली थांकाप्रति साओको मोह अचम्मको छ। उनको पहिलो प्राथमिकतामा नेपाली कलाकारका बुद्धसम्बन्धी थिम भएका पेन्टिङहरू छन्। बुद्ध धर्म र दर्शनप्रति उनको आकर्षण पनि विछट्टको छ। साओका अनुसार उनको आमातर्फको हजुरआमा र बातर्फको हजुरआमा दुवै बुद्ध धर्मावलम्बी थिए। हजुरआमाहरूसँग प्रार्थना गर्न स्तूपा जाँदाजाँदै उनी बुद्ध धर्मको प्रभावमा परे। थांकामा कुदिएको मिहिन कलाले लोभिए। इमेल कुराकानीमा साओले नेपाली थांकाप्रतिको मोहको कारण बताउँदै भने, ‘त्यस्तो कुनै विशिष्ट कारण छैन, मैले मेरो हजुरआमालाई पछ्याएको मात्रै हो। जब म थांकको अघि उभिन्छु, बयान गर्नै नसक्ने खालको तस्बिर मेरो दिमागमा आउँछ।’
साओलाई त्यति बेला खुसी लाग्छ, जब अनेकन देशका कला पारखीहरू म्युजियममा आएर नेपाली थांका टोलाएर हेर्छन्। उमेरले चालीसको बाटोमा हिँडेका साओले भने, ‘भिजिटरको मुखबाट कलाको प्रशंसा सुनेर खुशी लाग्छ।’ साओका अनुसार कतिपय भिजिटर नेपाली थांकाको फोटो खिचेर लैजान्छन् त कतिले कलाको विस्तृत पक्षबारे सोध्छन्। 

प्रकाशित : श्रावण ७, २०७४ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?