कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पठन–यात्रामा गोर्की

खगेद्र संग्रौला

तेह्रथुम, आठराईको चुहानडाँडा भन्ने पहाडी भित्तामा पढेर चौबीस सालमा आईएको जाँच बुझाउन काठमाडौँ आउनुअघि म्यक्सिम गोर्कीको नाम त फाटफुट सुनेको थिएँ, उनको कुनै कृति पढेको थिइनँ।

पठन–यात्रामा गोर्की

म थिएँ गाउँको झन्डैजसो आदिम प्रकृतिको पिछौटे जीवन जिउन अभ्यस्त र त्यही जीवनका परम्परा र क्रियाकलापहरूबाट संस्कारित ठिटो। आधुनिकताबारे बिल्कुल अनविज्ञ। नेपाल खाल्डो भनिने राजधानी सहर टेक्दा मलाई एकाएक एकदमै बिरानो परीलोकको चमत्कारयुक्त थलोमा पदार्पण गरेको अद्भुत अनुभूति भयो। कल्पित कथामा मञ्जुश्रीले चोभारको चट्टान काटेर तालको पानी बगाई बसोबासयोग्य बनाएको राजधानी सहरको रमझममय जीवनशैली मेरो ग्राम्य दृष्टिमा नितान्त नूतन, रंगीन, रुमानी र चामत्कारिक गोचर भयो। जता गयो, जे पनि मलाई बिरानै बिराना लाग्ने। जे हेर्‍यो, चमत्कारै चमत्कार प्रतीत हुने। चिल्ला सडकका हिपटाइटधारी सुन्दरी र मुरली प्यान्टधारी सुन्दरहरूसामु आफू त आदिम गुफाबाट निस्केको मनुवाजस्तो लाग्ने। केही नदेखेको, केही नजानेको, केही नबुझेको जस्तो। 

काठमाडौँ धाउने झगडियाहरूका मुखबाट गाउँलेका कानले सुन्दा पशुपतिनाथको मन्दिर काठमाडौँको भव्य आभूषण र अनुपम शोभाझैँ लाग्थ्यो। म त्यस्तो पशुपतिनाथको दर्शन गर्न गएँ। भगवान्का वारिसेहरूको आज्ञाबमोजिम मूलद्वारबाहिर मैले जुत्ता फुकालेँ। र, दुर्दम जिज्ञासाले भरिपूर्ण मन र नयन लिएर म खाली खुट्टा भित्र पसेँ। कैलाशपति पशुपतिको पवित्र निवासमा हेमानको साँढेका धार्नीका जाइफलमा मेरा कौतुकमय दृष्टि झ्वास्स ठोक्किन पुगे। त्यो अप्रीतिकर दृश्य देखेर म त्यसै–त्यसै झस्किएँ। नामी देवस्थलमा के के न भव्य चीज देखूँला भन्ने कत्रो अपेक्षा थियो, देख्न पुगेँ गौपुत्रका बडाबडा, चिल्ला र पोटिला जाइफल। बाहिर निस्कँदा त मेरी आमा, चोरले मेरा छालाका नयाँ जुत्ता अघि नै उडाएछ ! भित्र गौपुत्रका ढ्याके जाइफलको दर्शन, बाहिर जुत्ता चोरी, अनि यसको नाम पशुपतिको दर्शन ! म जिल् परेँ। दर्शनार्थीका जुत्ताको रक्षा गर्नधरी नसक्नेले कसरी पो लोकको रक्षा गर्न सक्दा हुन् र ! यसरी पहिलो दर्शनमै पशुपतिनाथप्रति मेरो मोहभंग भयो। म फेरि कहिल्यै अनाथ पशुपतिनाथको मन्दिरभित्र छिरिनँ। 
वसन्तपुर गएँ। देवी–देवताहरूको घना बस्ती भएको वसन्तपुरमा तिनको बसोबासको राम्रो बन्दोबस्त रहेछ। फराकिलो व्यासमाथि साँघुरिँदै गजुर भिर्न उठेका तँभन्दा म के कम टाइपका एकसे एक मन्दिर। भक्तगणले नित्य चढाउने भेटीले देवी–देवताको राम्रैसँग गुजारा चलिरहेको रहेछ। यता आफ्नो भने खल्ती उजाड हुँदै गएको कारुणिक दशा छ। सानोमा मलाई बातैपिच्छे ममताको भाकामा ‘तँ उपद््रयाहा’ भन्ने ठूल्दाइले कम्मरमा बाँधिदिएका छ सय नेरु निख्रिन लागेको अवस्था छ। उता वसन्तपुरका देवी–देवता हुनुसम्म सम्पन्न छन्, यता म सांसारिक मनुवाको हविगत यस्तो छ। देवी–देवतासँग मेरो जीवनको लय मिलेन, र म वसन्तपुर पनि गइरहिनँ। 
वसन्तपुरमा अदृश्य देवी–देवताहरूले भन्दा दृश्यमान् हिप्पीहरूले मेरा नजर आफूतर्फ खिचे। गाउँले ठिटाका सनातनी दृष्टिमा ती अर्धनग्न, फोहोरी र दिगमिगलाग्दा देखिए। तर सँगसँगै तिनमा मैले केही आकर्षक तत्त्वको छनक पनि पाएँ। ती निर्बन्ध थिए, ती स्वच्छन्द थिए, ती मस्त थिए। बिरानो देशमा ती भयमुक्त मुद्रामा निसंकोच विचरण गरिरहेका थिए। ती कहाँका को हुन्? के कति कारणले यहाँ आएका हुन् ती? तिनले कुन पीडा, कुन तनाव वा कुन हतासाका कारण गाँजाको धूवाँमा शरण लिएका हुन्? मूर्त आकार नलिइसकेका मेरा ती खुल्दुलीहरूमा हिप्पीहरूप्रति नजानिदो आकर्षण अन्तरनिहित थियो। त्यसपछि म वसन्तपुरतिर देवी–देवताको दर्शन गर्न होइन बरु यदाकदा हिप्पीहरूको अनौठो चालामाला हेर्न पो गएँ। जाँदा तीसँग आङ्ल भाषामा ‘हेल्लो सर, ह्वाई आर यू हियर इन आवर गोर्खा ल्यान्ड?’ टाइपका दुई–चारवटा प्रश्न पनि सोधिहालेँ। अनि थाहा पाएँ— देख्दा त्यस्ता भए पनि प्राय:जसो हिप्पीहरू विनम्र, सहयोगी र प्रेमिल रहेछन्।
बौद्धनाथ गएँ। आकारको विशालताले मनमा त्यसै–त्यसै धक जगाउने सेतो विराट् जाँतोजस्तो सानदार गुम्बज छ। त्यो अजंगको जाँतोभित्र खोक्रो पो होला कि ! ज्ञानी गौतम बुद्ध त्यही विराट् रिक्ततामा निसास्सिएका पो हुनन् कि ! मानवनिर्मित त्यो अद्भुत संरचनाले मलाई अभिभूत तुल्यायो। तर, डेरादेखि धाईधाई त्यसलाई हेर्न जान मलाई बाटा खर्चकै दु:ख थियो।
सहरी जीवनको रहस्य र त्यसबाट चित्तमा उत्पन्न दकस एवं सकसमाझ राजधानीमा मलाई दुईवटा शरण प्राप्त भए। तीमध्ये एउटा थियो वाम युवामण्डली र अर्को थियो पुस्तक। ती दुई शरण प्राप्त नहुँदा हुन् त सायद आईएको जाँच दिएर म काठमाडौँबाट घरतिर टाप ठोक्दो हुँ। वाममार्गी तन्नेरीहरूसँगको उठबस र हिमचिमले मेरो एक्लोपनालाई डाँडो कटाइदियो र पुस्तकसँगको संगतले मेरो भावलोकलाई सरस र शनै:शनै: समृद्ध तुल्यायो। त्यो आदर्शको समय थियो। जिज्ञासु वाममार्गी तन्नेरीहरू क्रान्तिको बाटो उजिल्याउने प्रकाश खोज्न पल–प्रतिपल आतुर भएझैँ लाग्थ्यो। ती क्रान्तिचेत र रुमानी आवेगले ओतप्रोत भएका पुस्तक पढ्न हुुरुक्क हुन्थे। छाँटले पुस्तक पठन अलिकता आलोकको खोजी थियो, अलिकता फेसन थियो र थियो अलिकता मित्रमण्डलीमाझ धाक लगाउने माध्यम पनि। सम्झेर ल्याउँदा पढिने पुस्तक उति धेरै थिएनन्। तर जति थिए, ती सबै पुस्तकप्रेमी वाममार्गीहरूका जिब्राका टुप्पा–टुप्पामा झुन्डिएका हुन्थे। प्राय: चर्चा हुने पुस्तकहरूमा राहुल सांकृत्यायनको ‘भागो नहीँ दुनियाँको बदलो’, यशपालको ‘बात बात मे बातें’, 
ओस्त्रोबस्कीको ‘अग्निदीक्षा’, चिनियाँ उपन्यासहरू ‘चम्किलो रातो तारा’ र ‘ओयाङ हाईको गीत’, सहिद जुलियस फ्युचिकको ‘भुन्ड्याउँदा झुन्ड्याउँदै’, ‘थ्याङ्क यू मिस्टर ग्लाड’, गोर्कीको ‘आमा’ आदि। माओका उक्तिहरू संकलित ‘रेड बुक’ त यसै पनि वाममार्गको गीता नै भइहाल्यो। कुरा सुन्दा म्यक्सिम गोर्की यी सबै लेखक र यी सबै पुस्तकका शीर्षकजस्ता लाग्थे। गोर्की, गोर्कीको उपन्यास ‘आमा’ र ‘आमा’ को मूल पात्र ‘पाबेल’ को बडो गर्वसाथ उच्चारण गरिन्थ्यो। वाम युवाहरूका लागि ‘आमा’ उपन्यास क्रान्तिको पाठशालाको पहिलो र अति महत्त्वपूर्ण पाठतुल्य थियो। परीक्षा दिनु नपर्ने यो पाठ सजिलो थियो। कारण तिनताका पठन–संवादको संस्कृति शून्यप्राय: थियो। केवल गोर्की, ‘आमा’ र ‘पाबेल’ को चर्चा हुन्थ्यो, उपन्यासको पेट व्यहोरामा पसेर त्यसका केस्रा–केस्रा केलाउने लेठो कदापि गरिँदैनथ्यो। 
लेखकहरूमध्ये गोर्की वाम तन्नेरीहरूका आदर्श लेखक, उपन्यासहरूमध्ये ‘आमा’ तिनको आदर्श उपन्यास र उपन्यासहरूका पात्रहरूमध्ये पाबेल तिनको आदर्श पात्र। बस्, घरी–घरी उठिरहने गोर्की, ‘आमा’ र ‘पाबेल’ को प्रसंगमा गोर्कीका कृति पढ्दै नपढी मैले बुझेको वा लख काटेको कुरा यही हो।
पठनको स्तर किञ्चित उक्सिएको कुनै तन्नेरी उमंग र उत्तेजनामिश्रित स्वरमा ‘अहो, डान्को !’ भन्छ। के हो यो डान्को? डान्को गोर्कीको एउटा मिथकीय पात्र। क्रान्तिकारी आशावाद, अदम्य संघर्ष, अथाह करुणा र अद्भुत उत्सर्गको प्रतिमूर्ति। पढी जान्नेहरू आत्मगौरवका साथ मुख मिठ्याउँदै यस्तै केही भन्छन्। अनि कुरैकुरामा के जाती ‘बाजको गीत’ र ‘तुफानी चरीको गीत’ को प्रसंग पनि उठिहाल्छ। आफूले केही पढेको छैन। गोर्कीसम्बन्धी चर्चा प्रकरणमा मुखर वक्ता माथि व्यासासनमा बसेर बोलेको बोल्यै छ, अज्ञान आफू तल धूलीकणमा केवल ट्वाँ परेर माथि हेर्ने मूक श्रोता मात्र।
पुस्तक पसलबाट पुस्तक किन्ने गच्छे मेरो थिएन। त्यसैले म पुस्तक पढ्न मन मिलेका मित्रहरू र गुरु टाइपका युवा नेताहरूका डेराको शरण पर्थेँ। एक दिन एक जना मित्रको डेरामा गोर्कीको ‘आमा’ देखेँ। मलाई के–के न अनमोल मणि फेला परेजस्तो लाग्यो। पुस्तक हातमा लिएँ, त्यसलाई भावुक स्नेहले मुसारेँ। पढ्न सापटी माग्दा मित्रले देला नदेला, मेरो पालो खुसुक्क झोलामा हालेँ। लान्छु, पढ्छु र फर्काइदिन्छु। हो, लगेँ र पढेँ। वामपन्थीहरू कट्टर नास्तिक हुन्छन् भन्ने सुनिआएको थिएँ, तिनले आदर्श मान्ने पुस्तक ‘आमा’ की आमाको धार्मिक भावना देखेर म अलमल्ल परेँ। आमाको धार्मिकतामा प्रचुर मानवीयता अवश्य थियो, तैपनि त्यो धार्मिकताले वाम आदर्शसँग कसोकसो मेल नखाएको मलाई महसुस भयो। तथापि चमत्कारपूर्ण शैली, मिहिन वर्णन र जीवन्त चित्रण, वीरुगाथाको रंगीन शृंखला र जीवनको उदात्त आदर्शको खोजीबाट म हुनुसम्म प्रभावित भएँ।
मेरो गोर्की पठनले बिस्तारै गति लियो। ‘आमा’ बाहेक गोर्कीका कृतिहरू नेपालीमा उपलब्ध थिएनन्। मेरो हिन्दी र अंग्रेजी दुवै भाषामा उन्नत साहित्य बुझ्नलाई पुग्दो सामथ्र्य थिएन। तर घरी–घरी शब्दकोश पल्टाएर अर्थ ठम्याउँदै भए पनि मैले पढिरहेँ। फर्केर हेर्दा र सम्झेर ल्याउँदा मेरो सौन्दर्यदृष्टि र वैचारिक व्यक्तित्वको निर्माणमा गोर्कीको प्रभाव मैले पढेका सबै लेखकको भन्दा बढी परेको महसुस हुन्छ।
गोर्कीले मलाई डोर्‍याएर लेखकहरूसम्म पुर्‍याए। ती रुसी मात्र थिएनन्, अंग्रेजी, फ्रेन्च र अन्य पनि थिए। मलाई गोर्कीले पुस्किन र गोगोल, तोल्सतोय र तुर्गनेभ, चेखोब र दोस्तोयब्स्की चिनाए। बाल्ज्याक र स्टेन्धाल, फ्लुबर्ट र बोदलेयरसँग मेरो सम्पर्क गराए। र, शेक्सपियर र डिकेन्सतर्फ मलाई खिचे। गोर्कीले मलाई अनेक लेखक र तिनका कृतिहरूका नाम मात्र सुनाएनन्, जीवन र जगत्सम्बन्धी तिनका दृष्टि र प्रवृत्तिहरूको चिनारी पनि गराए। मेरो पठनयात्रामा गोर्की त्यस्तो पुल बने, जसलाई तरेर विश्वसाहित्यको समृद्ध भण्डारमा विचरण गर्न म भित्रिएँ।
यो पठन संस्मरण लेख्न थालेपछि मैले युवाबयमा जोश–जाँगरका साथ पढेका र थोत्रिएका गोर्कीका पुस्तकहरू पल्टाएँ। त्यो बेला गोर्कीका कृतिका कुन–कुन पक्षमा मेरो ज्यास्ती ध्यानाकृष्ट भएको हुँदो हो? जान्न मलाई खसखस लागेर आयो। पढिएका पुस्तकका धेरैजसो पन्नामा बाबुराम भट्टराईको नोटका घ्यूकमिले अक्षरभन्दा आध्धै साना अक्षरमा माने नलेखिएको खाली ठाउँ कतै छैन। पन्नाहरू हेरिनसक्नु फोहोर छन्। हरफका बीचमा समेत अहिलेको मेरो पावरवाल चस्माले धरी ठम्याउन नसक्ने अक्षरमा गोटामाने लेखिएका छन्। थाहा पाएँ, ऊबेला मुख्यत: तीनवटा विषयमा मेरो ज्यास्ती चाख रहेछ। ती हुन्— पुस्तक, धर्म र ईश्वरबारे गोर्कीका विचारहरू। धर्म र ईश्वरसम्बन्धी विषयलाई थाती राखेर यहाँ म गोर्की र पुस्तकमाथि एकाग्र हुन्छु।
पुस्तक नै त्यो चीज हो जसले गोर्कीलाई जीवनको अन्धकारमा हजारौँ मृत्यु छलेर बचायो। पुस्तक नै त्यो चीज हो जसले स्वध्यायको माध्यमले गोर्कीलाई रुसी जीवनको नारकीय पीँधबाट रुसी बौद्धिकता र सिर्जनशीलताको चुचुरोमा उठायो। पुस्तक नै त्यो चीज हो जसले गोर्कीको आत्मिक जगत्लाई समृद्ध तुल्यायो र जसको सहाराले गोर्कीले विश्वको आत्मिक जगत्लाई हल्लाए। र, पुस्तकको प्रकाश नै त्यो चीज हो जसमा आफ्नो जीवनका समृद्ध अनुभूति र अनुभवहरूलाई घोलेर गोर्कीले, चिन्तन र सिर्जना दुवै तहमा, विश्वका अगणित पददलितहरूको आत्मिक जागृति र मुक्तिको नवीन सौन्दर्यशास्त्रको जग बसाए।
गोर्कीको बाल्यकालको कथा ममता र ताडना एवं अभाव र संकटको विछट्टको योग हो। शैशवकालमै गोर्कीका वयस्क वा म्यक्सिम पेसकोभ हैजाको आक्रमणबाट परास्त भए। बालक गोर्की भने बालाई लाने हैजालाई जितेर बाँचे। गोर्की ८ वर्षका छँदा उनकी करुणामयी आमा बारबराले दोस्रो बिहा गरिन्। र, हजुरआमा अकुलिना इभानोभनाको ममतामय साथ र न्यानो काख उनको शरणस्थल बन्यो। बाजे भास्सिली कासिरिना चौपट्टै निष्ठुरी र कन्जुस थिए। हजुरआमा थिइन् हुनुसम्म उदार र कोमलहृदयी। बज्यै जादूगरी पाराले कथा सुनाउँथिन्, बालक गोर्की मन्त्रमुग्ध भएर सुन्थे। दसै वर्षको उमेरमा हान्स क्रिस्चियन एन्डरसनका कथा पढेर गोर्की पुलकित भए। परिवारको आर्थिक अवस्था नाजुक थियो। पाकेट खर्चको चाँजो मिलाउन गोर्की झत्ता लुगा र हाडखोड बटुल्थे। बाजेको रंगाउने सानो धन्दा थियो, त्यो टाट पल्टियो। र, प्राथमिक तहमै गोर्कीको औपचारिक शिक्षाको क्रम भंग भयो। बाजेले एघार वर्षका गोर्कीलाई एउटा जुत्ता पसलको बालनोकरमा भर्ती गरिदिए। त्यसपछि १८८० मा गोर्की एक निर्माण ठेकेदार भीएस सर्गेयेभकोमा नानाभाँती काम गर्न थाले। गोर्कीको यायाबरी जीवनको न कुनै निश्चित थलो थियो न कुनै गन्तव्य। काम फेर्नु, ठाउँ फेर्नु र जगत्को विचरण गर्दै हिँड्नु गोर्कीको नित्य नियतिजस्तो बन्यो। १८८१ मा सर्गेयेभकहाँबाट गोर्कीले टाप ठोके। र, उनी एउटा पानीजहाजमा काम गर्न थाले। सुखद संयोगवश गोर्कीले जहाजका भान्से मिखाइल अकिमोभिचलाई भेटे। मिखाइल बडो पुस्तकप्रेमी थिए। तिनले गोर्कीमा पुस्तक पढ्ने चाखका अतृप्त लहरहरू सञ्चार गरिदिए। जहाजबाट बिदा भएर हिँड्न लाग्दा मिखाइलले गोर्कीलाई सल्लाह दिए, ‘बाबु, पुस्तक पढ। तिमीले गर्न सक्ने अत्युत्तम काम यही हो।’ त्यो मित्रवत् गुरुवचन गोर्कीका जीवनको त्यस्तो प्रकाशरेखा बन्यो, जसलाई गोर्कीले आज्ञाकारी चेलाले झैँ जीवनभरि पछ्याए। 
गोर्कीले आफ्नो जीवनका धेरै वर्ष जीवनका जरा उखेलिएका र जिउनुको खासै प्रयोजन नभएका आबारा श्रमिकहरूमाझ बिताए। तर आबाराहरूको लफंगो चरित्र र निरुद्देश्य जीवनको हतासाबाट उनी अचम्मसँग जोगिए। यहाँ पनि उनलाई जोगाउने अस्त्र उही पुस्तक थियो। पुस्तक पढ्ने लत बसेपछि उनी आफूवरिपरिका जनलाई पढिएका पुस्तकका कथा सुनाउन थाले। गोर्कीको प्रतिभा, लगन र इमानको उनलाई काममा लगाउने प्राय: सबै मालिक प्रशंसक बने।
पठनको अविराम यात्राको क्रममा युवाबयमा पुग्दा गोर्की श्रमको निर्णयकारी सांस्कृतिक तथा ऐतिहासिक मूल्यप्रति सजग भइसकेका थिए। र नै त उनी भन्छन्, ‘काठमा आरा लगाउने, जमिन खन्ने र रोटी बेल्ने काम गीत गाउनुजस्तै आनन्दका साथ गर्न सकिन्छ।’ जहाँ जसको जे काम गरे पनि गोर्की दत्तचित्त भएर गर्थे। र, उनी मालिकहरूका पनि प्रिय बन्थे। तर हेलाँहोचोको छिसिक्क संकेत पायो कि उनी विरोध गर्थे, प्रतिवाद गर्थे र उस्तै परे मुक्का उजाएर एकाध राउन्ड प्रतिरोध पनि गरिहाल्थे। त्यसैले उनको कुनै पनि काम दिगो भएन। कामको यो अदिगोपन गोर्कीका लागि सधैँ लाभदायक भयो किनभने उनी नौलो ठाउँ, नौलो इलम, नौला मानिस र नौलो परिस्थितिमा सरिरहे।
पठनको गति जति तीव्र भयो, पठनको चामत्कारिक प्रभावबाट गोर्की त्यति नै लठ्ठ हुँदैगए। उनी भन्छन्, ‘पुस्तकहरूले मेरा अँखासामु जीवनका नौला, तर्कसंगत, सुन्दर र मानवीय तस्बिरहरू खिचिदिए।’ नांगा आँखाले जीवनमा जे देखिएको थिएन, गोर्कीले पुस्तकमा त्यो देखे। गोर्कीले मानवीय बेसोमती, मूर्खता र दु:खकष्टको सेरोफेरोमा आफूले कहिल्यै नदेखेका, नसुनेका स्वच्छ, सत्यनिष्ठ र सौन्दर्यका लागि आत्मबलिदान गर्न तत्पर मानिसहरू देखे। आफूले नदेखेका र नजानेका कुरालाई उजागर गर्ने सामथ्र्य पुस्तकमा हुँदो रहेछ। यो कुरा थाहा पाउनु गोर्कीका लागि, उनकै शब्दमा, ‘एक महान् आविष्कार’ थियो। यसरी सबै निकटतम आफन्तहरू धर्तीको गर्भमा विलीन भएर एक्ला र बेसहारा भएका गोर्कीका लागि पुस्तक ती सबैको न्यास्रो मेटिदिने र आफूलाई सधैँ सहारा दिने अभिन्न मित्र बन्यो। पुस्तक पानी बन्यो, गोर्की त्यो पानीमा तैरिने माछा बने। पानी नित्य प्रवाहित भइरह्यो, गोर्की जलप्रवाहमा नित्य हेलिइरहे। 
पुस्तकप्रति कृतकृत्य हुँदै गोर्की भन्छन्, ‘पुस्तकले मलाई मानिसमाथि विश्वास गर्न सिकायो।’ तर पठन अनुभवको क्रममा यो अलि पछिको कुरा हो। पठनको प्रारम्भिक कालमा गोर्कीलाई आफ्नो प्रत्यक्ष सम्पर्कमा भएका मानिसभन्दा पुस्तक कता हो कता चाखलाग्दो लाग्यो। पुस्तकको जीवन त्यति सुन्दर छ, वास्तविक जीवन यति कुरूप किन? यो प्रश्नले गोर्कीलाई निकै समयसम्म डसिरह्यो। तर पछि, धेरै ढिलो हुनुभन्दा पहिले नै, गोर्कीकै शब्दमा उनलाई ‘सर्वाधिक बुद्धिमत्तापूर्ण र कडा शिक्षकरूपी जीवनले छिट्टै नै पुस्तकको आनन्दी अन्धोपनबाट मुक्त गरिदियो।’ कसरी? पुस्तकमा जीवन लेखिन्छ। पुस्तकको मुहान जीवन हो, पुस्तक त्यही जीवनबाट प्रवाहित हुने नदी हो। पुस्तक जीवनको पनि जीवन हो— सौन्दर्यशास्त्रको भाषामा जीवनबाट कच्चा पदार्थ लिएर सौन्दर्यका विविध उपकरणहरू प्रयोग गरी पुन:सिर्जित, रंगीन र चित्ताकर्षक जीवन। जीवनमा, आफ्नै सेरोफेरोमा, सस्याना ह्यामलेट, ओथेलो, रोमियो, गोरिओट, करामाजोभ, डेबिड कपरफिल्ड, मडाम बोभरी, डनक्यिक्सोट आदि लुकिबसेका हुन्छन्। देख्ने तीक्ष्ण दृष्टि र मिहिन अन्तर्दृष्टि चाहिन्छ, सिर्जना गर्ने कच्चा पदार्थ आफ्नै वरिपरि छेलोखेलो छ। यहाँ उल्लेख गरिएका विश्वसाहित्यका पात्रहरू आखिर जीवनका कच्चा पदार्थहरूबाट कवि–लेखकले चुम्बकीय बिम्बहरूको सिर्जना गरी अमरत्व प्रदान गरेका पात्रहरू त हुन्।
नाम मात्रको औपचारिक शिक्षा पाएका, अस्तित्वरक्षाका लागि रुसी जीवनको नारकीय पीँधमा घोटिन अभिशप्त र बसाइको थालथलोको टुंगोबिनाका गोर्कीले यति पढे, यति पढे कि जीवनका यावत् भौतिक एवं आत्मिक सुख–सुविधा भोग गरी भयानक पढन्ते कहलिएका मै हुँ भन्नेहरू पनि गोर्कीको पठनको परिमाण, विविधता र आयामहरू देखेर चकित हुन्थे। यी चकित हुनेमध्ये महान् तोल्सतोय पनि थिए। महान् तोल्सतोयमा कुलीन विरासतबाट प्राप्त अहंकारजन्य संस्कार थियो, जुन यदाकदा उनका ओठबाट अनायासै चिप्लिहाल्थ्यो। धृष्ट शब्दमा भनूँ भने महान् तोल्सतोय आबारा जगत्बाट आफ्नो सुकिलो संसारको उचाइसम्म उठेका गोर्कीलाई अन्जानमै हेप्थे। गोर्की मौका पर्‍यो कि तोल्सतोयलाई भेट्न र ज्ञानगुनका कुरा सुन्न उनीकहाँ गइरहन्थे। यी भेटहरूबारे गोर्कीले जीवन्त संस्मरणहरू लेखेका छन्। आफ्ना संस्मरणहरूमा गोर्कीले कुरोकन्थोको सन्दर्भ नै अघि सारेर पटक–पटक ‘तोल्सतोयले मेरो चित्त दु:खाए’, ‘तोल्सतोयका कटु वचनले मेरो चित्तमा ठेस लाग्यो’ भनेका छन्। गोर्कीको संस्मरणअनुसार एकपटक तोल्सतोयले उनलाई सोधे, ‘गोर्की, तिमीलाई जति सुपठित भनिन्छ, तिमी साँच्चि नै त्यति सुपठित हौ त?’ यी शब्दहरूमा अन्तरनिहित अभिप्रायमा कुराको चुरो आफैँ बोल्छ।
पुस्तकको आलोकमा गोर्की बडो उत्सुक र आशालु दृष्टिले आफ्नो नारकीय जीवनको सम्भाव्यतातर्फ चियाइरहन्थे। पठनको नशाले गाँजिएका गोर्कीमा क्रमश: आफ्नो पुन:सिर्जनको इच्छा जागृत हुँदै गयो। के पैत्रिक सम्पत्ति र औपचारिक शिक्षाबाट वञ्चित, मस्तिष्क र हात–खुट्टासिबाय कुनै साधन नभएको एक सामान्य श्रमिक आफ्नो नैसर्गिक प्रतिभा, यत्न, लगन र संघर्षद्वारा मानवोचित जीवनको उचाइमा उठ्न सक्छ? त्यो उचाइमा उठेर के उसले जीवनमा कुनै अर्थपूर्ण भूमिका निर्वाह गर्न वा अर्थपूर्ण सिर्जना वा आविष्कार गर्न सक्छ? यी प्रश्न अघि लगाएर पुस्तकहरूमा आँखा कुदाउँदै जाँदा गोर्कीले उत्साहजनक दृष्टान्तहरू फेला पारे। गोर्कीले एक दिन सामान्य कामदारबाट भौतिकशास्त्रीको तहका उठेका माइकल फराडेको तस्बिर पत्रिकामा देखे। अनि उनले भुइँतहबाट आविष्कारक बनेका एडिसनलाई फेला पारे। स्पिनिङ जेन्नी अर्थात् धागो कात्ने यन्त्रका आविष्कारक आर्कराइट पनि गोर्कीका जिज्ञासु दृष्टिमा परिहाले। आर्कराइट हजम थिए। त्यसपछि माटाका कलात्मक भाँडाका श्रेष्ठ स्रष्टा पलिस्सी भेटिए। पलिस्सी लौहकर्मी थिए। गोर्कीले जब विश्वसाहित्यको गजुर बनेका विलियम शेक्सपियरको बांगोटिंगो विकासपथको कथा चाल पाए, उनी हुनुसम्म मखलेल भए। उनलाई खोजेको चीज भेटेँ–भेटेँ भन्दै छमछम नाच्न मन लाग्यो। एक समय थियो जब शेक्सपियर नाट्यमञ्चका पर्दाका डोरी तानेर खोल्दै र बन्द गर्दै जेनतेन गुजारा चलाउँथे। नाटकमा अभिनय गरेर पेट पाल्थे। यी स्वशिक्षित र स्वनिर्मित आविष्कारक र स्रष्टाहरूलाई गोर्कीले पुस्तकमै फेला पारे। र, यी उनको जीवनका आदर्श प्रकाशस्तम्भ बने।
गोर्कीका लागि पुस्तक मानव चरित्रका गूढ रहस्यहरू बुझ्ने साधन बन्यो। भनिसकेँ, गोर्कीका बाजे उत्पात निठुरी र कन्जुस थिए। त्यो निष्ठुरता र त्यो कन्जुसीको स्रोत के हुँदो हो? बज्यै त्यति मायालु र बाजे त्यति क्रूर कसरी भएका हुनन्? गोर्कीले जब बाल्ज्याकको ‘युजिन ग्रान्डेट’ पढे तब उनले आफ्नो अदम्य जिज्ञासाको उत्तर पाए। युजिनको बाबु बूढो ग्रान्डेट गोर्कीका बाजेभन्दा पनि निष्ठुरी र कन्जुस रहेछ, जसको कारण उपन्यासमा खुलाइएको थियो। बूढो ग्रान्डेटको अतिशय निष्ठुरीपना र कन्जुसीले बाजेप्रतिको गोर्कीको घृणाभावलाई थोरै मात्र भए पनि घटाइदियो। मनमनै हाँस्दै गोर्कीले गम खाए— फ्रान्सेली निष्ठुरी र कन्जुसभन्दा त रुसी निष्ठुरी र कन्जुस नै कम खराब रहेछ बा !
नांगा हाते र फिरन्ते गोर्कीलाई पुस्तक रोज्न पाउने अवसर र सुविधा थिएन। त्यसैले जहाँ जे हात पर्‍यो, उनले त्यो पढे। गोर्की भन्छन्, ‘झुर पुस्तक त मैले कति पढेँ कति !’ के यो झुर पुस्तक पठन झुर काम थियो त, मान्यवर? 
गोर्की ‘थियो’ भन्दैनन्। बरु भन्छन्— यो झुर पठन पनि मेरालागि उपयोगी सिद्ध भयो। यसबाट जीवनको अरुचिकर र नीच पाटो बुझियो। दोस्तोएब्स्की र बउदलेयरका पुस्तकसम्बन्धी गोर्कीका टिप्पणी झनै रोचक छन्। गोर्कीले दोस्तोएब्स्कीलाई ‘दुष्ट प्रतिभा’ को संज्ञा दिएका छन्। तर दोस्तोएब्स्कीको विलक्षण प्रतिभाको प्रशंसा गर्न उनी एकरत्ति कन्जुसी गर्दैनन्। गोर्कीको परखमा दोस्तोएब्स्की विश्वसाहित्यमा चित्रणको मामिलामा शेक्सपियरपछि रोल नम्बर दुईमा पर्छन्। अनि दोस्तोएब्स्कीको साहित्य? गोर्की दोस्तोएब्स्की र बउदलेयरलाई दु:खबद्र्धक र दु:खविस्तारक प्रतिभा मान्छन्। अर्थात् दु:खको फाँटका दुई विस्तारवादी ! तथापि, गोर्कीको विचारमा जीवनमा जे कुरूप र घृणित छ त्यसको सटीक चित्रण गरेर यी प्रतिभाले जीवनलाई समग्रमा बुझ्न मनग्गे सघाउ पुर्‍याएका छन्। 
विचार र कलाको फाँटमा भयानक साधना गरी उल्लेख्य सिद्धि प्राप्त गरेका मनीषीहरूलाई सायद लेखन यात्राका सिकारु प्रतिभाहरूलाई एकाध प्रेमपूर्ण सल्लाह दिने नैतिक हक हुन्छ। पुस्तक चर्चाको प्रसंगमा गोर्कीले त्यो हकको उपयोग गरेका छन्। गोर्की भन्छन्— स्टेन्धाल, बाल्ज्याक र फ्लुबर्ट शिल्पसज्जाको कलाका उस्ताद हुन्। रुसी साहित्यमा यी तीन प्रतिभासँग दाजिनलायकको कोही छैन। कलाकृतिको शिल्प होस् त यिनको जस्तो पो !

प्रकाशित : श्रावण ७, २०७४ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?