कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

सिमानालाई जितेकाहरू

लीला लुइटेल

नेपाल र भारत खुला सिमाना जोडिएका मुलुक हुन् । यी दुवै देशका नागरिकलाई एक अर्काे देशमा आवतजावत गर्न राहदानीको आवश्यकता पर्दैन ।

सिमानालाई जितेकाहरू

नेपाल अङ्ग्रेजबीच भएको सुगौली सन्धिमा नेपालको ठूलो हिस्सा भारतमा गाभिएको हुनाले त्यस क्षेत्रका नेपालीहरू स्वत: भारतीय नागरिक हुन पुगे। विभिन्न राजनीतिक कारणबाट धेरै नेपालीहरू भारतमा निर्वासनको जीवन बिताउन बाध्य भए भने राजनीतिमा लाग्ने कतिपय नेपालीहरू आफूलाई सुरक्षित राख्न आफूखुसी भारतमै स्वनिर्वासित जीवन बिताउन थाले। कतिपय नेपालीहरू कामको खोजीमा भारतका विभिन्न क्षेत्रमा गए र भारतलाई नै आफ्नो स्थायी बसोबास बनाएर बस्न थाले। अङ्ग्रेजहरूले आफ्नो सेनामा भर्ती गरेका नेपाली सैनिक र तिनका परिवारलाई भारतका विभिन्न ठाउँमा बस्ने व्यवस्था मिलाइदिएका हुनाले जागिरबाट निवृत्त भएपछि ती उतै स्थायी रूपले बसोबास गर्न थाले। यसरी विभिन्न कारणबाट भारतका विभिन्न ठाउँमा नेपालीहरूको बसोबास हुन गएको हो। यी दुवै देशका धेरै मानिसहरू निर्बाध रूपमा आवतजावत गर्नाका साथै व्यापार व्यवसाय गर्दै स्थायी रूपले बसिरहेका पाइन्छन् । दोहोरो नागरिकताका कारण कतिपय व्यक्तिलाई यता र उताको भनी छुट्याउन निकै कठिन रहेको स्थिति पनि देखिन्छ । 

नेपाल र भारतबीच रहेको यस्तो स्थिति साहित्यका क्षेत्रमा पनि लागू हुन्छ। नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्ध, नाटक आदिका क्षेत्रमा यता र उता दुवैतिर योगदान दिने महिला साहित्यकारको सङ्ख्या थुप्रै रहेको छ। नेपालमा जन्मिएर भारतमा गएपछि साहित्य सिर्जनामा लागेका, भारतमा जन्मिएर नेपाल प्रवेश गरेपछि साहित्य सिर्जनामा लागेका तथा भारतमै जन्मिएर उतै शिक्षादीक्षा प्राप्त गरी साहित्य यात्राको प्रारम्भ गरी नेपाल प्रवेश गरिसकेपछि पनि साहित्य सिर्जनालाई निरन्तरता दिएका अनेक महिला साहित्यकारले नेपाली नेपाली साहित्यको इतिहासमा दिएको योगदान उल्लेखनीय रहेको छ। 
सन् १९३२ मा प्रकाशित ‘राजपूत रमणी’ उपन्यासका लेखक अम्बालिकादेवीको जन्म काठमाडौँमा भए पनि विवाहपश्चात् यिनी भारतमा बसोबास गर्न थालेकी हुन्। विवाहपूर्व माइतीमा पुतली भनेर बोलाइने यिनको नाम अम्बालिकादेवी चाहिँ नेपालको इतिहासका लेखक तथा पटना हाइकोर्टका वकिल उनका पति अम्बिकाप्रसाद उपाध्यायको नामका आधारमा गरिएको देखिन्छ। नेपाली उपन्यासको इतिहासमा महिलाद्वारा लिखित पहिलो कृतिका रूपमा लिइने यिनको ‘राजपूत रमणी’ उपन्यास त्यसै वर्ष हिन्दी भाषामा पनि प्रकाशित भएको जानकारी पाइन्छ। छुट्टै कविताकृति नदेखिए पनि यस उपन्यासको अधिकांश ठाउँमा श्लोकको प्रयोग पाइने हुँदा यिनको कलम कवितातर्फ पनि चलेको स्पष्ट हुन्छ ।
नेपालमा जन्मिएर भारतलाई कर्मक्षेत्र बनाई साहित्य सिर्जना गर्ने अन्य महिला साहित्यकारमा सावित्री सुन्दास, मदना ओझा, तथा कल्पना प्रियदर्शिका पनि रहेका छन्। नेपालको जनकपुरमा जन्मिएकी सावित्री सुन्दासको कर्मथलो दार्जिलिङ रहेको छ। यिनका ‘भावचित्र’ तथा ‘इच्छाको अवशेष’ जस्ता कविता सङ्ग्रह प्रकाशित छन्। नेपालको लमजुङमा जन्म भएकी मदना ओझा (अधिकारी) को कर्मथलो भारतको कालेबुङ छ। यिनको ‘अस्तित्वको खोजमा’ नामक कविता सङ्ग्रहका कवितामा जन्मस्थलबाट टाढा जानुपर्ने नारीको नियतिलगायत नेपालमा रहेको जन्मभूमि एवं आफन्तका सम्बन्धमा पनि कवितात्मक अभिव्यक्ति दिइएको पाइन्छ। इलाममा जन्मिएकी तथा कर्मघर सिक्किम भएकी कल्पना ‘प्रियदर्शिका’ को ‘पहिल्याउँदै गरेको गोरेटो’ कथासङ्ग्रह प्रकाशित छ । 
कविहरू प्रेमराजेश्वरी थापा तथा कुन्दन शर्मा नेपालमै कविको रूपमा परिचय बनाएर विवाहपछि भारतमा बसोबास गर्न थालेकी हुन्। यीमध्ये भारतमा बसोबास गर्न थालेपछि प्रेमराजेश्वरीले हिन्दी भाषामा केही कविता रचना गरेको जानकारी पाइन्छ। कुन्दन शर्माको कविता यात्रा नेपाल छँदै प्रारम्भ भए पनि यिनका कविताका सङ्ग्रहहरू यिनी विवाहपश्चात् भारतमा बसोबास गर्न थालेपछि प्रकाशन भएका भए पनि यी दुवैका कविताकृति नेपालबाटै छापिएका हुन्।
नेपाली साहित्यमा भारतमा जन्मेर उतै छँदा नै साहित्य यात्रा सुरु गरेका र पछि नेपाल प्रवेश गरिसकेपछि पनि साहित्य सिर्जनालाई निरन्तरता दिएका थुप्रै महिला साहित्यकार छन्। दार्जिलिङमै बसेर कथायात्रा सुरु गरी कथाकारका रूपमा परिचित र प्रसिद्ध भइसकेकी देवकुमारी थापाले विवाहपश्चात् नेपालमा नै बसेर कथा सिर्जना गरेको पाइन्छ। यिनका कथाहरू विवाहपूर्व देवकुमारी सिन्हा र विवाहपश्चात् देवकुमारी थापाका नामबाट प्रकाशित भएका देखिन्छन् । यिनका ‘झझल्को’, ‘सेतो बिरालो’, ‘टपरी’, ‘भोक र तृप्ति’, ‘प्रलय प्रतीक्षा’, ‘देवकुमारी थापाका प्रतिनिधि कथा’ शीर्षक कथासङ्ग्रहका साथै केही बालकथासङ्ग्रह पनि प्रकाशित छन् । यिनका अधिकांश कथामा दार्जिलिङे नेपाली समाजको चित्रण पाइन्छ। 
असम जन्मिएर उतै छँदा साहित्य सिर्जनामा लागेकी चन्द्रकला नेवारको ‘ममता’ शीर्षक कथासङ्ग्रह उनी उतै छँदा नेपालको प्रचार विभागबाट प्रकाशित भएको हो। नेपाल प्रवेश गरिसकेपछि यिनका चक्रव्यूह, याशिलालाई ‘मेरो आज’ तथा ‘तृष्णाको लहरी’ शीर्षकका कवितात्मक कृतिलगायत यिनका ‘साँघुरो धरातल’ शीर्षक कथासङ्ग्रह प्रकाशित छन् । यिनको ‘ममता’ मा असममै रहँदा लेखिएका कथा समेटिएका छन् भने ‘साँघुरो धरातल’ मा नेपाल प्रवेश गरेपछिका कथाहरू समेटिएका छन्। खर्साङमा बसोबास गर्दादेखि नै कविता यात्रा प्रारम्भ गरेकी वानीरा गिरी नेपाल प्रवेश गरेपछि पनि कविता सिर्जनामा सक्रिय रूपले लागिपरेको पाइन्छ। नेपालमा स्थायी रूपले बसोबास गर्न थालिसकेपछि यिनका ‘एउटा जिउँदो जङ्गबहादुर’, ‘जीवन थायमरू’, ‘मेरो आविष्कार’ शीर्षकका कवितासङ्ग्रह एवं ‘कारागार’, ‘निर्बन्ध’, ‘शब्दातीत शान्तनु’ शीर्षकका औपन्यासिक कृतिहरू यिनी नेपालमा स्थायी रूपले बसोबास गर्न थालेपछि प्रकाशित भएका हुन्। यसैगरी यिनको ‘पर्वतको अर्काे नाम पार्वती’ लगायतका निबन्धात्मक कृति प्रकाशित छन्। 

माया ठकुरीका ‘नजुरेको जोडी’, ‘गमलाको फूल’, ‘साँघु तरेपछि’ शीर्षक कथासङ्ग्रहमा मेघालयमा छँदै लेखिएका कथा समाविष्ट छन् भने त्यसपछिका सङ्ग्रहमा नेपालमा बसेर लेखिएका कथा छन्। यिनका सुरु–सुरुका कथामा मुख्य रूपमा बृहत्तर असमको नेपाली समाज र २०३१ पछिका कथाहरूमा नेपालभित्रकै नेपाली समाजको मध्यमवर्गीय सहरिया परिवेशको चित्रण पाइन्छ । 
पाकिस्तानको क्वेटामा जन्मेर सम्पूर्ण शिक्षादीक्षा भारतमा हासिल गरेकी सुभद्रा सुब्बाको विवाहपश्चात् कर्मथलोचाहिँ नेपाल हो। दार्जिलिङमै छँदा यिनले लेखेको ‘बालमहाभारत’ शीर्षक कृतिलाई मदन पुरस्कार पुस्तकालयको सूची ‘मदन–सौरभ’ मा उपन्यास तथा यसै पुस्तकालयको वेब साइटमा चाहिँ बालकथा भनेर उल्लेख गरिएको छ। यसपछि सुभद्रा सुब्बाका भाषाविज्ञान
सम्बन्धी केही लेखबाहेक अन्य लेखरचना प्रकाशित भएको पाइँदैन। मिलिकथुङ, दार्जिलिङमा जन्मिएकी प्रणिता चामलिङ विवाहपछि नेपालमै बसोबास गरिरहेकी छन्। विद्यालयमा अध्ययन गर्ने बेलादेखि नै लेखनमा लागेको जानकारी पाइए पनि यिनको ‘तिमीजस्तै म पनि’ नामक गीतसङ्ग्रह नेपालमा बसोबास गर्न थालेपछि प्रकाशित भएको हो।
भारतमा जन्म भए पनि नेपाल प्रवेश गरिसकेपछि लेखन–प्रकाशनको प्रारम्भ गर्ने थुप्रै नेपाली महिला साहित्यकारहरू छन्। मायादेवी सुब्बा, पारिजात, सुकन्याजस्ता साहित्यकारको जन्म भारतमा भए पनि लेखन–प्रकाशनको प्रारम्भ नेपाल प्रवेश गरिसकेपछि मात्र भएको हो। पारिजातका विभिन्न विधाका गरी दुई दर्जन कृतिहरू प्रकाशित छन्। पारिजातकी सहोदर बहिनी सुकन्याको ‘अनुभव पारिजातको कलम सुकन्याको’ शीर्षक कृति पारिजातको मृत्युपश्चात् लेखिएको हो।
दार्जिलिङमा जन्मेकी मायादेवी सुब्बाका विवाहपश्चात् नेपाल प्रवेश गरिसकेपछि ‘बिलौना’ शीर्षक कथासङ्ग्रह एवं ‘पश्चात्ताप’ शीर्षक उपन्यास प्रकाशित छन्। यिनका नाटकहरू मञ्चन भएको जानकारी पनि पाइन्छ। कालिम्पोङमा जन्मिएर उतै शिक्षादीक्षा प्राप्त गरेकी लक्ष्मीदेवी राजभण्डारीका रचनाहरू विवाह भएर नेपाल प्रवेश गरिसकेपछि प्रकाशन हुन थालेका हुन्। यिनका ‘जीवनयात्राका क्षणहरू’, ‘दीप शिखा’, ‘अपलक चियाइ’, ‘अपराजिता’, ‘गुन्जिरहोस् अपार’, ‘सर्वस्व तिमी’ जस्ता कविता कृति प्रकाशित छन्। 
आचार्य प्रभाको जन्म दार्जिलिङको मानेभञ्ज्याङमा भएको भए तापनि यिनको शिक्षादीक्षा र लेखन–प्रकाशनको सुरुआत नेपालमा नै भएको हो। यिनको ‘परदेशबाट’ शीर्षक कवितासङ्ग्रह प्रकाशित छ। मेघालयको बडापानीमा जन्मिएर सानैमा नेपाल प्रवेश गरेकी विष्णु तिवारी उषाको शिक्षादीक्षा पनि नेपालमै भएको हो। यिनका ‘गजल यात्रा भाग २’, ‘गजलगङ्गा भाग १’, ‘धुमिल धुमिल सपनाहरू’ लगायतका पुस्तकाकार कृति प्रकाशित छन्। 
साहित्यकार कुनै भूगोलको सीमामा सङ्कुचित भएर बस्न सक्दैन। आफ्नो भौगोलिक सीमाभन्दा बाहिर पुग्नु नै उसको शक्ति एवं सफलता हो। माथि उल्लेख गरिएका साहित्यकारहरूको जन्मथलो र कर्मथलो जता भए पनि यिनले नेपाली साहित्यमा प्रशंसनीय काम गरेका छन् र तीमध्ये अधिकांशले नेपाली साहित्यमा आफ्नो स्थान अविस्मरणीय बनाउन सफलता हासिल गरेका छन्। अझ भारतमा जन्मिएका पारिजात, वानीरा गिरीजस्ता कतिपय साहित्यकारले नेपाली साहित्यमा दिएको योगदान त उल्लेखनीय एवं महत्त्वपूर्ण पनि छ। 

प्रकाशित : श्रावण ७, २०७४ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?