मुण्ड–मुण्ड वधूशिक्षा

विमर्श
हामी प्रेम र वात्सल्य पनि लेख्न चाहन्छौं तर कम्तीमा समाज र संस्कृति त्यो विन्दुमा पुगोस् जहाँ पुरुष र महिलाका लागि एकै अर्थले घाम उदाउँछ । समान महत्त्वले फूल फुल्छ ।
सरिता तिवारी

१८७१ सालमा जन्मिएका ‘आदिकवि’ भानुभक्त आचार्यले आदर्श बुहारी र पत्नीका लक्षण बयान गर्दै एक विशेष रचना लेखे— ‘वधूशिक्षा’ । आफूले लेखेको ३३ श्लोके काव्यको कालान्तरसम्म झन्–झन् चर्चा होला भन्ने पूर्वानुमान हुन्थ्यो भने कविले यस विषयमा महाकाव्यै लेख्दा हुन् ।

भलै, यसको समय र यसअघिका सन्त कविद्वारा लिखित छुवाछुत र सतीप्रथाविरोधी कविताको समय ध्यानपूर्वक हेर्दा आचार्य ‘जहाँ नपहुँचे रवि, वहाँ पहुँचे कवि’ जस्तो परिभाषामा कहाँनेर अटाउलान् ? प्रश्न अस्वाभाविक छैन । तर हाललाई उनको यो रचनाले बोकेको समयचेतलाई थाती राखौं । त्यसभित्रको ‘कन्टेन्ट’ का आजसम्म तन्किने शृंखलाहरूको मात्र कुरा गरौं । ऊबेला उनले आदर्श महिला कस्ती हुनुपर्छ भन्ने गजबको काव्यिक ‘निर्देशिका’ तयार पारे । विधि, राजनीति र समाजव्यवस्थाका अधिकांश उक्ति र नियम श्लोकमै प्रचलित रहेको संस्कृत परम्पराबाट प्रभावित कवि जो थिए । उनले श्लोकमै भने, ‘यसरी उठबस गर, यसरी पति, सासू, ससुरालगायत पाहुनाको समेत सेवा गर । सबैलाई रिझाऊ । नहाँस । सुस्तरी बोल । प्रतिकार त गर्दै नगर । लोग्ने बाँचुन्जेल असीम, अहर्निश पतिसेवा गर । मरेपछि उसको लाससँगै सती जाऊ । यही नै तिम्रो ‘परम धर्म’ हो ।’

यो भानुभक्तको मात्र होइन, तत्कालीन संस्थापनको ‘जबर्जस्त’ कथ्य थियो । उनका अन्य रचना हेर्दा पनि भानुभक्त संस्थापनको चेतना फड्किने दुस्साहसका धनी कवि थिए भन्ने लाग्दैन । उनी समाजका बहुसंख्यक मानिसभन्दा अलग हुन नसक्नुका कारणबारे पनि खोजबिन गर्न नसकिने होइन । यसरी गरिने अनुसन्धानमा भानुभक्तका ‘दोष’ कति वैयक्तिक, कति संस्कारजन्य र कति तत्कालीन समाज–राजनीतिजन्य भन्ने कुरा आउँछन् । तर समयान्तरमा शासकीय सदिच्छाले उनको गलामा ‘आदिकवि’ नामको माल्यार्पण गरिदियो । उनको आदिकवित्वका नाममा राज्ययन्त्रका भौतिक र सांस्कृतिक लगानीहरू भएका छन् । तीन वर्षअघि मात्र बडो धुमधामसँग सरकारी संयन्त्रकै सक्रियतामा मोटो धनराशि लगाएर भानुभक्त द्विशतवार्षिकी मनाइयो, वर्षैभरि । रमाइलो कुरा के भयो भने यस छेकोमा राज्यद्वारा ‘पत्याइएका’ सयौं कवि–लेखकले भानुभक्तका नामको पदक फेला पारे । यथा काम तथा सम्मानले साहित्य ‘धन्य’ भयो । 
नेपाली कविताका ‘पितामह’ नै भएपछि उनले बोलेका वा लेखेका कुराबारे जिज्ञासा त उठ्छ नै । उनका अवदान र कमजोरीहरूको बारम्बार मूल्याङ्कन हुन्छ नै । यही क्रममा उनका अरू कृतिसँगै विशेष गरी ‘वधूशिक्षा’ पटक–पटक कठघरामा उभिन्छ । कसैले विशेष शोध र अनुसन्धान गरेर आफ्नो मत टुङ्ग्याइसके पनि बहसमा पूर्णविराम लाग्दैन । अन्य–अन्य मतहरू आउने क्रम जारी रहन्छ । यसरी आउने फरकमतहरूबाट सामयिक बहस चलिरहन्छ ।
जमानाले नयाँ जामा फेरिसक्यो । यसका रङ्ग र शैलीहरू फेरिए । भाषामा पनि ढप र ढाँचा नयाँ–नयाँ आए । तर कथ्यका ध्वनि फेरिएनन् । अब आएर सीधैसीधै र दुरुस्तै वधूशिक्षा लेख्ने कविले कुटाइ खान्छ । सती जाने आग्रह गरे त कानुनले कठालो समाइहाल्छ । तर आश्चर्य नमाने हुन्छ, आज पनि बकाइदा ‘वधूशिक्षा’ लेखिन्छ । यो ‘शिक्षा’ को नाम, यसका बिम्ब र अलङ्कार भने बिल्कुलै आधुनिक छन् । गोष्ठी र कन्सर्टहरूमा कविता सुन्न पुग्नुस् । प्रखर ‘अत्याधुनिक’ चेतको ‘कम्युनिकेटिभ’ भनिएको कवि हात मल्लार्दै बडो भावुक मुद्रामा भन्छ, ‘म जिउँदो हुनुको प्रमाण तिम्रो सिउँदोमा मुस्कुराउँछ प्रिये  !’ रोचक कुरो यहाँनेर छ, सनातन राजतन्त्रप्रेमीदेखि गणतान्त्रिकसम्म अधिकांशको ‘प्रिय’ यही कवि हुन्छ । अब भानुभक्तको कवित्वमा त्यो शक्ति छ या उनले समर्थन गरेको वैचारिक सत्तामा, भानुभक्तका नव–नव ‘क्लोन’ हरू नेपाली कवितामा स्थापित भएकै छन्  ! तर जसरी भानुभक्तको वधूशिक्षाबारे चर्चा गरिन्छ, त्यसको आलोचना गरिन्छ, क्लोन भानुभक्तहरूका ‘वधूशिक्षा’ को आलोचना लगभग गरिँदैन । 
***

Yamaha

ए मेरी चम्पाकी फूलजस्ती चेली
तिमीलाई घरबाट लिन आइ’रचन् 
तयार छ सोलीडोली साइत गर भोलि
सम्झेर काम गर मेरो बोली

गीत यसरी थालिन्थ्यो । जब–जब तीज आउँथ्यो आमाको ‘सिग्नेचर भ्वाइस’ मा यो गीत असंख्यपल्ट सुनिन्थ्यो । गीतमा ‘लिडिङ्’ आमाको आवाजले गथ्र्यो र उहाँको स्वरले अरूका स्वरहरूलाई ‘अधीनस्थ’ गरिरहेको हुन्थ्यो । यस अर्थले यो आमाको विशेष रुझान र रुचिको गीत थियो भन्ने अनुमान गर्न सकिन्छ । गीतका यसपछिका पंक्तिहरूमा बुहारीको शील, सह र परिपाठबारे प्रशस्त उपदेश हुन्थे । माइतीको इज्जत, आमद राख्नुपर्ने, बोलीको काइदा (सकेसम्म बोल्दै नबोल्ने, बोल्नै परे सारै मसिनु स्वरले बोल्नेलगायतका कुरा हुन्थे) पुर्‍याउनुपर्ने, खुरुखुरु घरका सबैको सेवा गर्नुपर्ने आदि परोक्ष रूपले आमाले हामीलाई सिकाउन चाहेका ‘पाठ’ र अर्ति हुँदा हुन् । यसो सम्झेर ल्याउँदा, यो त आमाले परम्परामा पाएको ‘वधूशिक्षा’ पो रहेछ । लडेर जुधेर आफ्नो हकको रक्षा गर्ने इतिहास रच्नुभएकी हाम्री आमा । न्यायका लागि जोकोहीसित भिड्न पछि नपर्ने आमा । उमेरैमा दुस्साहसहरूका सत्यकथा बुनेकी आमा  ! तर आमाले हरेक तीजमा नछुटाई गाउने गीतमध्ये यो पनि एउटा हुन्थ्यो । जसको अन्त्यतिर यस्तो पंक्ति छ :

गाउँघर रिझाए दयाले र मायाले
गुनले र ज्ञानले घर भिजाए । 

अरू त त्यस्तै हो अन्तिमका यी कुरा भने मेरो स्मृतिकोषमा कहिल्यै नमेटिने गरी बसेका रहेछन् । दया, माया, गुन र ज्ञान । यी कुरा वधूशिक्षा मात्र होइनन् मानवीय शिक्षा नै हुन् ।
आमाहरूले विरासतमा पाएको वधूशिक्षाको ‘उत्तरदान’ ले अधिकांश छोरी पुस्ता पितृसत्ताको अघोषित ‘अधिकृत’ का रूपमा तयार भैसकेको हुँदो रहेछ । कुरो कति गहिरो छ भने यसरी नारीकै मुखबाट भनाएर नारी वर्गलाई पुस्तौंपुस्ता आफ्नो ‘एजेन्ट’ बनाई नारीकै दासत्व र दुर्दशाको यो मायावी शिक्षा रच्ने रचनाकार भने कुनै अमूक पुरुष हुँदा रहेछन् । भानुभक्तजस्तै ।
आज पनि घरघरमा, समाजका विभिन्न क्षेत्रमा वधूशिक्षाको ‘करिकुलम’ जारी छ । मुलुकको शिक्षामा धेरैपटक पाठ्यक्रम सुधारका प्रयास गरिए । नयाँ र संशोधित ऐनहरू आए । राणाकालीन शिक्षादेखि गणतान्त्रिक चेतनाका नयाँ पाठहरूसम्म आइपुग्दा परिवर्तनका अनेक दृष्टान्त प्रकट भए । तर वधूशिक्षाको जरो नासिएन । देशका घघडान शिक्षाविद्हरू, राजनीतिकर्मी, अधिकार आन्दोलनका अगुवा, पत्रकार र लेखकहरूको ‘कत्रो’ प्रयास मुठीले माछो छोप्न खोजेजस्तो भएको छ । यसो हुने कारण के होला ? प्रस्ट छ, कुरा गर्नेहरू वचनमा जति प्रतिबद्ध हुन्छन् व्यवहारमा भएनन् । घरको चौघेरा नाघेपछि उदारताका नमुना बन्नेहरू आफ्नै घरभित्र चरम सामन्ती प्रवृत्तिमै यथावत् रहिरहे । जान्ने–बुझ्नेहरू अघि लागेर समाजको चेतना बदल्नुपर्नेमा उनीहरू स्वयम् गलत संस्कृतिका पक्षपोषक भइरहे । यसबीचमा वधूशिक्षाका भङ्गिमा त फेरिए तर सार फेरिएनन् । त्यसका आवरण बदलिए, ‘गुदी’ बदलिएनन् ।
समस्या त्यता मात्र छैन । यता पनि छ । हिजो आमाले बाईसौं दिनसम्म ‘नछुने’ बार्न लगाएर चोख्याउँदा आमालाई मनैमन गाली गर्नेहरू आज आफ्ना छोरीको पहिलो ‘छुई’ बार्न आफन्त र साथीभाइ गुहार्छन् । नभए घरका अँध्यारा कोठामा राखेर अबोध छोरीहरूलाई सूर्य र मर्द देख्न नहुने परम्परा सके पूरै नभए आंशिक भए पनि दोहोर्‍याउँछन् । भलै यसको निर्देशक पितृसत्ता हो तर घरभित्र अस्तित्वमा रहेको छुत र अछुतको विभेदकारी नियमलाई कडाइपूर्वक पालन गर्ने र गराउने कर्ता आमाहरू नै हुन् । अन्धविश्वासलाई कुल्चिएर यसविरुद्ध लड्ने साहस आमाहरूसँगै हुनुपर्छ । आजकी आमासित आजकै चेतना भइदिए पो छोरी पुस्ता सबल बन्दो हो । अनि पो भोलिको समाज नारी–पुरुषको साझा बन्ने बाटोमा हिँड्दो हो । तर अहँ, कोही तयार छैन । छोरीहरूलाई मान्छे बन्ने होइन कसैकी बुहारी र पत्नी बन्ने तालिम दिनमै आमाहरूलाई भ्याइनभ्याई छ । वरिपरि छरछिमेक हेर्‍यो । आफन्त र साथीहरू हेर्‍यो । किताबको माछा पो नखाने, खोलाको माछा त खान भैहाल्छ नि भन्ने छट्टु पुरेतको आहान याद आउँछ । 
यिनीहरू नै हुन् जो साउनको हरित ‘हरिलट्ठक’ दर्शनमा मुग्ध भएर आफ्नो चेतना त सखाप पार्छन् पार्छन् दुनियाँको सौन्दर्य र कुरूपता चिन्न बाँकी नै रहेका छोरीहरूलाई पनि त्यही पत्रु दर्शनको सिकार बनाउँछन् । अर्को छ, पुस–माघको स्वस्थानी दर्शन । जब–जब अखबारहरू रातैराता पेटिकोटधारी महिलाहरूले भरिएको साली नदीको तस्बिर छाप्छन्, ती मानिस होइनन् यो युगका महादासीजस्ता लाग्छन् । हजुरआमादेखि नातिनी पुस्ता सब ठेलमठेल गर्दै लागेका छन्  ! कस्तो ‘अन्ध’कामना हो त्यो जसले विभेदको चाङमाथि उभिएको त्यस्तो बकबास दर्शन चिन्दैन ? वर्षा र हिउँदका यी दुई संस्कार वधूशिक्षाकै सांस्कृतिक रूपक हुन् । यस्ता अनेक रूपक हामीकहाँ ज्युँदै छन्, पुस्ता दरपुस्ता गर्दै सरेका । नयाँ पुस्ताले समेत चपक्क आफूसँग टाँसेर बोक्दै हिँडेका ।
***

केही दिनअगाडिको कुरा हो । एउटा साहित्यिक संस्थाले भानुजयन्तीको अवसर पारेर एक प्रखर महिला कविको कृतिलाई पुरस्कृत गर्‍यो । निम्तारुमध्ये पंक्तिकार पनि त्यहाँ थिएँ । त्यसै बिहान एउटा स्टाटस छोडेकी थिएँ फेसबुकमा— ‘भानुभक्तको देवत्वकरण होइन उनीबारे मीमांसा गरौं । छलफल र बहस गरौं ।’ कार्यक्रमका सञ्चालकले सुरुमै यही सन्दर्भ जोडे । सामाजिक सञ्जालमा राखेको प्रस्ताव यहाँ ‘मेन्सन’ भएकोमा नयाँ र फरक कुरा पनि आउलान् भनेर म केही आश्वस्तजस्तो भएँ । भानुभक्त एउटा युग र कालखण्डको प्रतिनिधित्व गर्ने कवि मात्र होइनन् । उनी राज्यले पाठ्यक्रममा राखेर प्राथमिक तहदेखि विशेष रूपले पढाइरहेका ‘आदिकवि’ को सम्मान प्राप्त कवि हुन् । उनीमाथि निरपेक्ष भावले अबिर र फूलमाला मात्रै अर्पण होओस् भन्ने अपेक्षा सर्वथा हानिकारक छ । उनका कविताका कथ्यहरूमाथि विमर्श गर्ने आग्रहलाई कविको मानमर्दन नै ठान्ने जुन परिपाटी छ, त्यो त झन् डरलाग्दो लाग्छ । जब बहसलाई वर्जित गरेर ‘हस’ मात्रै बाँकी राखिन्छ, प्रश्नहरू खील बनेर बस्छन् । यसरी बन्ने खील अहिले सामान्य लागे पनि कालान्तरमा विस्फोटक हुन्छन् भन्ने बुझ्नु जरुरी छ ।
भानुजयन्ती । भानुभक्तको व्यक्तित्व र कृतित्वबारे ‘प्रकाश’ पार्ने कुरो त स्वाभाविक नै भइहाल्यो । विद्वान् वक्ताद्वारा वधूशिक्षालाई कविको समकालीन संस्कृति र मानसिकताको कसीमा राखेर आलोचना गर्नुपर्ने अपिलसँगै पुरुषलाई गाली गरेर मात्रै नारीवादी नहोइने परम्परित टिप्पणीबाहेक अरू कुरा आएनन् । वक्ताको रामायण तथा वधूशिक्षा महात्म्य र भर्खरै पुरस्कृत कविताकृतिका बीच भयानक विपर्यास गोचर थियो । जब पुरस्कृत कृतिका कवि पोडियममा उभिइन् उनका एक–एक शब्द हृदयतलको भुङ्ग्रोबाट छुटेका फिलुङ्गाजसरी निस्किए । सभाहल उनका शब्दसँगै एकाएक निस्तब्धजस्तो बनिदियो ।
समाजको संरचनामै विभेद र हिंसा छ भने ब्यवस्थाविरुद्ध बोल्नु कसरी नाजायज कुरा हुन्छ ? तर बोल्दा त्यसका सापेक्षिक तर्क र संवेदनासम्म पुग्ने चेष्टा कि उल्टै आरोप–प्रत्यारोपको उत्तेजना र हतारो देखाउने ? के यस्ता कुरा ‘विद्वान् वर्ग’ लाई सुहाउने कुरा हुन् ? ‘लौ यसले त पुरुषलाई गाली मात्र गरी  !’ छि:छि: हेर, बोल्ड हुने नाममा फोहोर र भद्दा शब्द कसरी प्रयोग गर्न सकेकी ?’, ‘कविताको नाममा ‘लाउड’ नारा लेखी  !’ जस्ता आरोप लगाउने मानिसहरू कतिचाहिँ तटस्थभावले कविता पढ्छन् ? किन उनीहरू तथाकथित पुरुषवादी चस्मा भिरेर कविता पढ्न अभिषप्त छन् ? सहनशीलता, सुशीलता र आज्ञापरायणता नै स्त्रीयोचित गुण हुन् भन्ने पुरुष अपेक्षा जब तोडिन्छ, कुनै नव भानुभक्त वधूशिक्षा बोकेर ‘नसिहत’ दिन आइपुग्नुमा आश्चर्य भएन । हाँसो त तब उठ्छ जब ‘यस्तै हो भने तेस्रो विश्वयुद्ध पुरुष र नारीका बीच हुनेवाला छ’ भन्ने भविष्यवाणी सुनिन्छ । शब्दकै बलले युद्धको मोहरी निम्त्याउने बहादुर भएछौं हामी उसो भए ?
‘...इतिहासमा कुनै दिन द्रौपदीको सारी तान्ने र मूकदर्शक भएर त्यो दृश्य हेर्ने निर्विवेकी पुरुष आज सभा, समारोह र मिडिया हरेक ठाउँमा हाम्रा सारी तान्न उद्यत छ । तपार्इंहरू हाम्रा सारी नतानिदिनुहोस् । हाम्रा कुराले उत्तेजित नहुनुहोस्, हामीले भनेका कुराको संवेदनासम्म पुग्नुहोस् ।...’ 
कविका यी अभिव्यक्ति भित्र–भित्र वधूशिक्षाकै आदर्शमा अड्किएर बाहिर उदारमना भएको स्वाङ गर्ने संस्थापन सत्तालाई सानोतिनो आग्रह होइन । हामी प्रेम र वात्सल्य पनि लेख्न चाहन्छौं तर कम्तीमा समाज र संस्कृति त्यो विन्दुमा पुगोस् जहाँ पुरुष र महिलाका लागि एकै अर्थले घाम उदाउँछ । समान महत्त्वले फूल फुल्छ ।... यी कुरा उपस्थितमध्ये कति पुरुषले ध्यानस्थ भएर गमे वा कतिले आफ्नो सोचमाथि आत्मसमीक्षा गरे ? थाहा छैन ।
सन २०१० मा बनेको एउटा घतलाग्दो फिल्म छ, ‘माई नेम इज खान’ । यसमा न्युयोर्कको ‘ट्विन्स टावर’ माथि भएको हमला (नाइन/इलाभेन) पछि अमेरिकामा बस्ने मुस्लिम समुदायले भोगेका त्रासदीलाई मार्मिक रूपले उनिएको छ । यहाँ ‘अटिजम’ (आफैंभित्र हराउने, आत्मकेन्द्री र आंशिक सुस्त मनस्थिति) को रोगीसमेत रहेको मुख्य पात्र रिजवान खान पटक–पटक एउटै संवाद दोहोर्‍याइरहन्छ, ‘माई नेम इज खान एन्ड आई एम नट ए टेरोरिस्ट  !’ यसो भन्नुपर्ने स्थिति किन आइपर्छ ? कथाको चुरो यहाँनेर छ । आज जब–जब कुनै महिला लेखकलाई पुरुषविरोधी मार्का लगाउने हतारो गरिन्छ तब–तब लेखेकै कारण र व्यवस्थाको विरोध गरेकै कारण हामीले अपराधीझैं बारम्बार भन्नुपर्ने हुन्छ— हामी पुरुषविरोधी होइनौं । हामी सिर्फ मानवतावादी हौं । तर चुपचाप र प्रतिक्रियाहीन भएर आफ्नो उद्धारक कुनै ‘मसिहा’ को आगमन पर्खेका दीनहीनचाहिँ होइनौं ।
मान्छे भएर सम्मानपूर्वक बाँच्ने ‘स्पेस’ हाम्रो हक हो । नबोली र नलेखी यो हक स्थापित गर्न सकिन्न । इतिहासले प्रमाणित गरेको छ, कसैको पनि हक कसैले किस्तीमा सजाएर टक्र्याइदिएको छैन । आफ्नो हकको लडाइँ लड्न आफैं सचेत हुने हो । आफैं प्रतिबद्ध हुने हो । लेख्नु र बोल्नु अधिकार स्थापनाको लडाइँका सबैभन्दा शान्तिपूर्ण तरिका हुन् । तर यसरी सोचिन्छ, मानौं ‘लेख्न दिएर’ हामीमाथि ठूलो कृपाको वर्षा भएको छ । र प्राप्त ‘अवसर’ मा त्यही त्यही कुरा मात्र लेख्नुपर्छ जुन तथाकथित आधुनिक वधूशिक्षामा ‘फिट’ हुन्छ । जब अभिव्यक्तिको अदालतमा उभिएर कुनै महिलाले स्थापित मानक भत्काउने चेष्टा गर्छे र आत्मशक्तिको ऐलान गर्छे, असहिष्णु पुरुष स्वर जुरुक्क उठेर बोलिहाल्छ ‘अब्जेक्सन माई लर्ड  !’ 
साहित्यमा र खुला बहसहरूमा यस्ता ‘अब्जेक्सन’ कैयौंपल्ट आइरहन्छन् र तिनलाई छिचोल्दै हिँड्नुपर्ने स्थिति छ । 
***

स्थान र सन्दर्भ उही । कार्यक्रम उही । सभाहल भर्खरै बोलेर बिसाएकी कविका आग्रह र तिनका कविताको ध्वनिले बडो सोचमग्न देखिन्थ्यो । त्यसपछि विशिष्ट अतिथिको पालो आयो । समाजसेवा र राजनीतिमा लामो समयदेखि क्रियाशील व्यक्तित्व । समानुपातिकतर्फबाट व्यवस्थापिका–संसद्का सदस्य मात्रै होइन, आयोजक संस्थाका अनवरत ‘दाता’ समेत । यो नाताले पनि मन्तव्य जोडिनु स्वाभाविक थियो । यी पाको उमेरकी महिलालाई यसअघि सुन्ने अवसर नजुरेकाले खुब उत्साहले कान ठाडा ठाडा भए । चित्त एकाग्र भयो । 
जब आवश्यकताभन्दा लामो यिनको मन्तव्य सकियो एउटा ठूलो भ्रमबाट बाहिर निस्किन पाएकोमा वक्ताप्रति धन्य भएँ । महिलाभित्रसमेत पितृसत्ता कसरी जिउँदो छ ? साक्षात्कार भयो । नवउन्मेषी, नवप्रसूत गणतन्त्रको सम्मानित संसद्का सदस्यको वाणीमा प्रतीकात्मक रूपले वधूशिक्षाका तिनै पंक्ति थिए जसले महिलालाई दासभन्दा माथिल्लो तहमा उक्लिन दिँदैनन्—
स्त्रीको धर्म पती, मती पनि पती मन्र्या बखत्को गति ।
बाँचुन्जेल सुखभोग् पनी बुझि लिँदा को दिन्छ त्यसले जति ।।
स्त्रीको धर्म पती जती त अरु थोक् देख्तैन मन्ले रति ।
यस लोक्मा परलोकमा सुख दिन्या सो हेर जान्छन् सति ।।३२।।

 
पालो सकेर बसेकी कविलाई लक्षित गर्दै उनले भनिन्, ‘हेर्नुस् जेसुकै भन्नुस्, जतिसुकै उफ्रिएर ठूल्ठूला कुरा गर्नुस् । लोग्ने जति विशिष्ट हाम्रो लागि अर्को कोही छैन । उसको सम्मान गर्नुस् । उसको भावनाको कदर गर्नुस् । म त हाउस (संसद्) बाट दिनको बार्‍ह बजे आऊँ या रातको बार्‍ह बजे । कहिल्यै उहाँलाई भात पकाउनुस् भन्दिनँ । उहाँ सोफामा पल्टिराखेको हुनुहुन्छ । अहँ, कस्तै भए पनि म यहाँले भात पकाएको हेर्न सक्दिनँ । म आफैं पकाउँछु । मलाई आफ्नो पतिको सेवा गर्दा अपूर्व आनन्द लाग्छ । सेवामै रमाउनुस् । र सुखी पारिवारिक जीवन बिताउनुस् ।’
वयले पनि हो कि चिन्तनको जरा नै जब्बर भएर हो, यत्तिका महिलाहरू पनि कठोर मर्दवादी हुँदा रहेछन् । राज्य र समाजको मूल स्वभावसँग दुरुस्त मिल्ने यो चरित्र हाम्रा महिला जनप्रतिनिधिभित्र पनि जबर्जस्त रहेछ । शक्तिशाली र बोल्ड देखिने महिलाहरूबाट समेत सुनिने यस्ता अभिव्यक्तिबाट बुझ्न सकिन्छ शक्ति, संरचनाको रसी खिच्ने निर्णायक ठाउँमा पुग्दा झन् कसरी उनीहरूले आत्मसमर्पण गरिदिन्छन्  ! जसका अभिव्यक्तिको विशेष अर्थ रहन्छ, जसको बोलीले समाजमा अलग्गै प्रभाव पार्न सक्छ, उनैले संस्थापनसँग सम्झौता गर्ने भएपछि सांस्कृतिक समताको सिङ्गो आन्दोलन कहाँ पुग्छ  ! अब संविधानको ‘मर्मअनुसार’ बन्दै गरेका नयाँ कानुनहरूको निर्माणमा यस्ता पश्चगामी माननीयको भूमिका कस्तो होला ? 
माया, ममता र वात्सल्य आमा जातिको स्वभाव हो तर माया र प्रेमको नाममा महिलाले मात्रै पग्लिएर मैनबत्तीझैं सिद्धिनुपर्छ भन्ने छ र ? अधिकार र आत्मसम्मानको रक्षा गर्नुपर्दा आफैं कमजोर र रित्तो हुनुपर्ने मायाको मोह हामीलाई किन हुने ? यसको खोजी गर्नु जरुरी छ । हामीले भावनाको नाम दिउँm वा समर्पण र त्यागको । परिवारलाई प्रेमले, सेवा र स्याहारले बाँध्ने सूत्रमा महिलाले मात्रै बलिदान गर्नुपर्ने हो भने यो सांस्कृतिक राजनीतिको छद्म रूप हो भन्ने कुरो हामीले बुझ्नुपर्छ । र यो छद्मताको पर्दा च्यात्न हामी नै प्रतिबद्ध हुनुपर्छ ।
परिवर्तनको बलिवेदी ख्यालख्याल होइन । सत्तरी वर्ष लामो लोकतान्त्रिक संघर्षमा असंख्य ज्ञात–अज्ञात महिलाहरूले परिवर्तनको सपना देख्दादेख्दै र त्यसको बहाबमा भिडभिड्दै आफूलाई बलिदान गरेका छन् । संसदीय प्रणालीको त्रासदी के हो भने राजनीतिक परिवर्तनको स्वाद लिने ठाउँमा विडम्बनावश परिवर्तित चेतनाप्रतिको अपनत्वबिनाका मानिसहरू नै उल्लेख्य संख्यामा पुग्छन् । जसले सामन्तवाद र पितृसत्ताविरुद्ध रगतपसिना बगाएर आन्दोलन गरेन उसलाई यस आन्दोलनका अवदानको चिन्ता किन हुन्थ्यो र ? न आजसम्मका उपलब्धि तुहिने पीर, न त्यसको ‘स्वामित्व’ मा गौरव ।
हजारौं बलिदानले प्राप्त परिवर्तनको यो मोडमा उभिएर पनि जब वधूशिक्षाकै पाठ दोहोर्‍याइरहिन्छ भने र यो पाठ ‘डिलिट’ गर्ने प्रभावकारी उपकरण खोजिँदैन भने, भन्नै पर्ने हुन्छ त्यस्तो चेतनालाई धिक्कार छ  ! कम्तीमा आफूलाई सचेत वर्ग भन्न रुचाउने मानिसहरू धिक्कारमुक्त होऊ्न् । 
अब भानुभक्तको भन्दा लोकतन्त्रको बार्दलीमा मौलाएका यी ‘क्लोन’ हरूको आलोचना बढ्ता जरुरी छ । 

 

प्रकाशित : श्रावण २१, २०७४ ०९:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT