कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘खेल्नै सजिलो’

खेलाडी
नेपाली राष्ट्रिय फुटबल टिमकी खेलाडी दीपा अधिकारी अफ्रिकी सर्वोच्च शिखर किलिमान्जारो आरोहणका लागि तान्जानिया गएकी थिइन् ।
राजु घिसिङ

दोस्रो साफ वुमेन्स च्याम्पियनसिप पाँच वर्षअघि कोलम्बोमा भएको थियो । नेपालको फाइनल भिडन्त उही परम्परागत प्रतिद्वन्द्वी भारतसँग भएको थियो । प्रतिस्पर्धाले रोमाञ्चक लय समात्न बाँकी नै थियो, नेपालले गोल गर्‍यो ।

 ‘खेल्नै सजिलो’

दीपा अधिकारीले पेनाल्टी क्षेत्रबाहिरबाटै प्रहार गरेको बल लोभलाग्दो गोलमा परिणत भएपछि नेपालले अविश्वसनीय अग्रता लिएको थियो ।

‘त्यस प्रहारमा गोल हान्छु भन्ने मलाई लागेकै थिएन,’ दीपाले बुधबार हाँस्दै भनिन्, ‘गोलकिपर अगाडि बढिसकेकी रहिछन् । त्यसैले मैले माइनस गरेको बलमा थाहै नपाई सुन्दर गोल भयो ।’ सुरुमै अग्रता लिएपछि उनलाई नेपाल दक्षिण एसियाली च्याम्पियन बन्ने विश्वास थियो । ‘अबचाहिँ फाइनल जित्छौं भन्ने लाग्यो । साथीहरूलाई पनि त्यस्तै भएको रहेछ । च्याम्पियन भएपछि नेपालमा थुप्रै पुरस्कार पाउने सपना देखिसकेको थिएँ,’ मैदानमा छँदाकै मानसपाटलमा आएका कुरा उनले 
स्मरण गरिन् ।
तर नेपाली टिमले भारतलाई रोक्न सकेन र ३–१ ले हार्न पुग्यो । त्यसले दीपा र उनका सहकर्मीहरूको च्याम्पियन र पुरस्कार सपनालाई याथर्थमा बदलिने मौका नै दिएन । कोलम्बोमा नेपालले भारतविरुद्ध निकै राम्रो खेलेको थियो । त्यसअघि भारतलाई नेपालले पहिलो साफ च्याम्पियनसिप (सन् २०१०/कक्सबजार) को फाइनलमा दिएको थियो, जहाँ भारतले १–० ले जितेको थियो । हुन त १२ औं दक्षिण एसियाली खेलकुद (२०१६/सिलोङ) मा नेपालले भारतसँग समूह चरणमा गोलरहित बराबरी खेलेको थियो तर नेपालले क्षेत्रीय महारथीविरुद्ध त्यसभन्दा राम्रो कोलम्बो र कक्सबजारमा गरेको थियो ।
नेपाली महिला टिमले ११ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेदेखि १२ औं साग २०१६ सम्म दीपाले लगातार राष्ट्रिय टिममा खेलिन् । सेन्टर–ब्याकदेखि राइट–विङ्समा पनि जमेकी उनले ६ गोल गरेकी छन् । पछिल्लो समय उनको मुख्य काम फरवार्डका लागि गोलको अवसर सिर्जना गर्नु थियो ।
कानेपोखरी, मोरङकी २४ वर्षीया दीपालाई गत महिना फरक खालको प्रस्ताव आयो–अफ्रिकी महादेशकै सर्वोच्च शिखर किलिमान्जारो आरोहण गरी ५,७८५ मिटरको उचाइमा रहेको मैदानमा ९० मिनेट फुटबल खेल्ने । खेल र जीवनमा लैंगिक समानाताको लागि ‘इक्वेल प्लेइङ फिल्ड–ईपीएफ’ ले सबभन्दा माथिल्लो उचाइमा फुटबल खेलेको कीर्तिमान ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता गराउनलाई किलिमान्जारोको कार्यक्रम ल्याएको थियो । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापामार्फत किलिमान्जारो अभियानका लागि नेपालबाट दीपा र राष्ट्रिय टिमकी गोलकिपर एन्जिला तुम्बापो लिम्बूलाई प्रस्ताव आएको थियो । कीर्तिमानसँग देशकै नाम जोडिने भएपछि दुवैले प्रस्ताव स्विकारे पनि । तर एन्जिला हवाई टिकट लिएर पनि अन्तिम समयमा तान्जानिया गइनन् । दीपा पनि धेरै अवरोधहरू चिर्दै आफैं चुनौती सामना गर्न सक्ने हिम्मत लिएर उड्नुपर्‍यो ।
काठमाडौंबाट दोहा हुँदै तान्जानियाको जान्जिबारस्थित किसौनी विमानस्थल ओर्लेपछि ईपीएफ टिम सात दिन पदयात्रा गर्दै किलिमान्जारो पुगेको थियो । हिमाल आरोहण गरी २५ जुन, २०१७ मा ९० मिनेट खेल्ने कार्यक्रम थियो । तान्जानिया पुग्नुअघि नै २३ देशका ३१ चर्चित खेलाडीहरूलाई अभियानमा थिए । जर्मन लिजेन्ड पेट्रा ल्यान्डर्स, सन् २०११ को विश्वकप र २०१२ को लम्डन ओलम्पिक खेलेकी अमेरिकी लोरी लिन्डसे, इंग्ल्यान्डका पूर्वलेफ्ट–ब्याक रचेल युनिट, क्यानडाकी पूर्वडिफेन्डर सासा एन्ड्रयुज, मेक्सिकोकी पूर्वकप्तान मोनिका गोन्जालेजलगायत चर्चित खेलाडीहरू सहभागी थिए । यसमा दक्षिण एसियाकी एक्ली थिइन् दीपा ।
भोल्क्यानो एफसी र ग्लेसियर एफसी गरी दुई टिम बनाइएको थियो । जर्मन पेट्रासँगै ग्लेसियर एफसीमा थिइन् दीपा । चुचुरोमा पुग्नुअघि तीन दिन २०–२० मिनेट म्याच खेलाइएको थियो । उनले तीनै खेल खेलिन् । राइट–विङ्सदेखि फरवार्डसम्म खेलेकी उनको सबैले प्रशंसा गरेको थियो । ‘ठूला स्टारहरूसँग खेल्दा निकै रमाइलो लाग्यो । बेग्लै अनुभव भइरहेको थियो,’ उनले भनिन् ।
टिम खेल्दै उक्लिँदै गरिरहेको थियो । सबभन्दा अगाडि दीपा हिँड्ने गर्थिन् । उनलाई लौरोको सहारा पनि परेन । उनी हिँड्न गाह्रो भएकाहरूलाई डोर्‍याउने गर्थिन् । त्यसबेला ‘सबैले यिनी त सगरमाथाको देश नेपालकी हुन्’ भन्दा उनी गर्विलो भएको बताउँछिन् । तराई जिल्ला मोरङस्थित कानेपोखरीकी उनी स्वदेशमा भने काठमाडौं, इलाम र ताप्लेजुङभन्दा माथि उक्लिएकी थिइनन् । उनको चाहना पनि जाडोबाटै टाढै रहने नै हो ।
हिमालयको देशकी भएर पनि उनको हिउँसँगको नाता टेलिभिजन र फोटोमा मात्र सीमित थियो । ‘उक्लिदै जाँदा बाटोमा जमेका हिउँ थिए, साह्रै रमाइलो लागिरहेको थियो,’ उनले सुनाइन् । उक्लिँदै जाँदा उनलाई टाउको दुख्न थालेको थियो । अन्तिम दिन भने उनलाई श्वासप्रश्वासमा गाह्रो भयो । ‘शिखर उक्लिन पाँच मिनेट मात्र बाँकी थियो । टाउको दुखाइ सहनै नसक्ने भयो । घोप्टो परी रुन थालें,’ उनले भनिन्, ‘जीवन अब यति नै हो भन्ने लाग्यो । स्वदेशमै मरेको भए राम्रो हुन्थ्यो भन्ने सोचें ।’
‘हाई अल्टिच्युट सिक्नेस’ भएपछि उनलाई चिकित्सकले तल ओर्लने सल्लाह दिएका थिए । उनी भने अझै उक्लिन चाहन्थिन् । ‘त्यति माथि पुगेपछि चुचुरोमै पुग्छु भन्ने आँट आएको थियो तर शरीरले साथ दिइरहेको थिएन । चिकित्सकले पनि रिस्क नलिनू भनेपछि तल्लो क्याम्पतिर झरें,’ उनले भनिन् । एक औषधि लिएपछि एकै छिनमा टाउको दुखाइ ठीक भयो । त्यसपछि फेरि उक्लिने उनलाई जोस चलेको थियो तर चिकित्सकले जान दिएनन् । त्यसैले उनी किलिमान्जारो उक्लिन सकिनन् र अन्तिम लक्ष्यको रूपमा रहेको ९० मिनेट खेल्न पनि पाइनन् । ‘त्यस खेल र चुचुरो खुबै मिस गरें । ओर्लेपछि साथीहरूले पनि मलाई मिस गरेको बताइरहेका थिए,’ उनले भनिन् ।
उनलाई नेपाल फर्कंदा ‘अर्को जुनी लिएर आएको’ अनुभव भएको छ । एकदमै चिसोमा आवश्यक ज्याकेट, पञ्जालगायत कपडा नबोक्दा यसपालि किलिमान्जारो अभियानमा पछाडि परेको उनी बताउँछिन् । ‘त्यति उचाइ र त्यस्तो चिसोमा पहिलोपल्ट पुगेको साह्रै गाह्रो भयो,’ उनले भनिन्, ‘हिमाल चढ्नुभन्दा फुटबल खेल्नु नै सजिलो रहेछ । मानिसहरू सगरमाथा कसरी चढ्छन् भन्ने लाग्यो । सगरमाथा चढ्नेलाई स्यालुट गर्छु ।’
लियोनल मेसी, बार्सिलोना र अर्जेन्टिनाकी समर्थक दीपालाई भनिन्, ‘हिमाल आरोहणमा सफल हुन सकिनँ तर वल्र्डकप खेलेका खेलाडीहरू भेट्दा साह्रै खुसी लाग्यो । हाम्रो लागि त्योभन्दा ठूलो खुसी विरलै मिल्छ ।’ सन्न्यास लिइसकेका खेलाडी भए पनि विश्वकपका अनुभवीहरूको स्किल र स्पिड देखेर उनलाई अचम्मै लाग्यो । ‘हामी त्यो स्तरमा त पुग्न सक्दैनौं तर राम्रो टिमसँग खेल्ने र स्वदेशमै निरन्तर प्रतियोगिता खेल्ने अवसर पायो भने हामी साफ च्याम्पियन चाही बन्न सक्छौं,’ उनले भनिन् ।
Twitter: @rghising

प्रकाशित : श्रावण २१, २०७४ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?