कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

पश्चिम नेपालबाट चियाउने जमर्को

पुस्तक
ध्रुव सिंखडा

राज्यको चौथो अंग पत्रकारिता । यसले समाजलाई सुसूचित गर्छ । नेपालमा यसको इतिहास त्यति पुरानो छैन । किनकि, १०४ वर्षसम्म निरङ्कुश राणाशाहीले आम नागरिकको बोली बन्द गरेको थियो ।

पश्चिम नेपालबाट चियाउने जमर्को

यद्यपि, तिनै राणा परिवारका श्री ३ महाराज देवशमशेरले आजभन्दा ११६ वर्षपहिले गोरखापत्रको प्रकाशन आरम्भ गरेका थिए । १९५८ वैशाख २४ गतेदेखि गिद्दे प्रेसले नेपालमै गोरखापत्र छाप्न थालेको थियो । 

गोरखापत्र प्रकाशन भएको झन्डै आधा शताब्दीपछि मात्र नागरिकले स्वतन्त्रता पाए । २००७ सालको जनक्रान्तिपछिको उन्मुक्त वातावरणसँगै नेपालीले वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता र विनाहातहतियार हिँडडुल गर्ने स्वतन्त्रता पाए । देश तानाशाही जन्जिरबाट मुक्त भयो । समाजका पढे–लेखेका जोसिला तरुणहरूले मुलुकभित्रै पत्रपत्रिका प्रकाशन गरी आफ्ना विचार सञ्चार गर्न थाले । राजधानी काठमाडौँबाट विभिन्न विचारधाराका पत्रपत्रिका छापिन थाल्यो । सँगै फाट्टफुट्ट रूपमा मोफसलबाट पनि पत्रपत्रिका प्रकाशन आरम्भ हुन थाल्यो । पश्चिम नेपालको बागलुङबाट पनि पत्रिका छापिन थाल्यो । राजधानीमा त प्रेसको अभाव भएको त्यो जमानामा बागलुङमा हुने कुरै भएन । त्यसैले बागलुङबाट हस्तलिखित पाक्षिक पत्रिका प्रारम्भ भयो । पहिलोपटक जोसिला युवा ओमकारप्रसाद गौचनको सम्पादकत्वमा ‘सही बाटो’ छापियो २००८ सालमा ।
२००८ सालमा प्रकाशित हस्तलिखित ‘सही बाटो’ पाक्षिकदेखि २०६९ सालमा प्रकाशित सहारा न्युज दैनिकसम्मलाई ‘धौलागिरिको ६ दशकीय पत्रकारिता’ मा समावेश गरेका छन् प्राज्ञ प्रेम छोटाले ।
अध्ययन, अनुसन्धान र साहित्य लेखनमा अभिरुचि राख्ने प्रेमप्रसाद श्रेष्ठ अर्थात् प्रेम छोटा पश्चिमाञ्चलका मात्र नभई मुलुककै एक परिचित साहित्यकार हुन् । ६१ वर्षको पत्रकारिताको इतिहास छ, ‘धौलागिरिको ६ दशकीय पत्रकारिता’ मा । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङबाट करिब ६ दशकसम्म प्रकाशित पत्रपत्रिकाको खोजबिन गरिएको छ— यसमा । अन्वेषक छोटाले यस कृतिमा पाक्षिक, मासिक, साप्ताहिक र दैनिक पत्रिकाको इतिहास उत्खनन् गरेका छन् । 
धवलागिरी अञ्चलका चार जिल्लामा २००८ देखि २०६९ साल मध्यसम्म आइपुग्दा विभिन्न प्रकारका ५२ वटा पत्रपत्रिका प्रकाशित भएको पाइन्छ । ती ५२ बाट घटेर अहिले २५ वटामा झरेको अनुसन्धानले देखाएको छ । तिनमा बागलुङबाट दैनिक–४ र साप्ताहिक–६ गरी १०, पर्वतबाट दैनिक–२ र साप्ताहिक–९ गरी ११, म्याग्दीबाट दैनिक–१ र साप्ताहिक–२ गरी ३ र मुस्ताङबाट एउटा मात्र पत्रिका प्रकाशन भइरहेको छ । बाँकी पत्रपत्रिकाहरू इतिहासको गर्तमा हराइसके । 
राणा शासन हटेर प्रजातन्त्रको लहर फैलिएसँगै आरम्भ भएको धवलागिरीको पत्रिकारिताको इतिहास रचनामा पुरुषसँगै महिला सञ्चारकर्मीको पनि योगदान रहेको पाइन्छ । २०३६ सालमा बागलुङबाट पार्वती श्रेष्ठ प्रकाशक रहेको खबर कागज साप्ताहिक प्रकाशित भएको पाइन्छ । पर्वतकी माया अधिकारी कार्यकारी सम्पादक भई २०६८ सालमा फलेबास साप्ताहिक प्रकाशन हुनपुग्यो । म्याग्दीबाट रेखाकौशल रेग्मी प्रधानसम्पादक तथा प्रकाशक भई २०६२ सालमा धवलध्वनि प्रकाशित भएको पाइन्छ । 
सहीबाटो, बाग्लुङ सम्क्षिप्त पाक्षिक पत्र, अङ्क, १ र २, २००८ साल आश्विन १५ गते सोमबार प्रकाशित भएको थियो । एक प्रतिको २० पैसा पर्ने उक्त पत्रिकाका सम्पादक र प्रकाशक ओमकारप्रसाद गौचन (जो पञ्चायतकालमा मन्त्री भए) थिए भने उपसम्पादक चाहिँ गोविन्दलाल श्रेष्ठ थिए । 
हातैद्वारा लेखेर प्रकाशित १२ पृष्ठको उक्त विचारप्रधान पत्रिकाको साइज ९ वाई १२ को थियो । र, यो नै धवलागिरीको पहिलो पत्रिका हो । उक्त पत्रिकाले बागलुङको सदरमुकाममा रहेको मालअड्डालाई गुल्मीको वामीटक्सार सार्न लागेकोमा जनस्तरबाट ठूलो विरोध भएको विषयलाई ब्यानर न्युज बनाएर प्रकाशित गरेको थियो । पहिलो पृष्ठमा पूरै छाप्दा पनि नअटाएपछि उक्त समाचारलाई बाँकी ८ पेजमा प्रकाशित गरेको थियो । दोस्रो पेजमा प्रकाशित सम्पादकीय नेपाली कांग्रेसले १०४ वर्षको राणा शासनको अन्त्य गरेकाले यसै संस्थालाई बलियो पारी प्रजातन्त्रको जग दह्रो बनाउनुपर्ने विषयमा लेखिएको थियो । भ्रष्टाचारी र तथाकथित प्रतिक्रियावादीको पक्ष नलिई सत्य समाचार पस्कँदै मातृभूमिको रक्षा गर्ने दृढतासमेत सम्पादकीयमा उल्लेख गरिएको पाइन्छ । नेपाली कांग्रेसलाई संस्था चलाउन आर्थिक समस्या रहेको समेत सम्पादकीयमा उल्लेख गरिएको थियो । 
त्यसपछि सही बाटोले युरोप, रुस, चीन र भारतको उन्नति र प्रगतिको कुरा विचार पृष्ठमा प्रकाशित गरेको थियो । सन् १९१७ को रूसी क्रान्ति र प्रगतिका कुरा, कार्ल माक्र्सको समाजवाददेखि चिनियाँ कम्युनिस्ट पार्टी र माओत्से तुङको बढ्दो प्रभावबारे समेत विचारमा उल्लेख गरेको थियो । र, नेपालमा प्रजातन्त्र आइसकेकाले त्यसलाई नै बलियो पार्नुपर्ने विश्लेषण निकालेको थियो । प्रजातन्त्रको लहरसँगै त्यसकै प्रभावस्वरूप निस्केको पहिलो पत्रिका भएकाले पत्रिकामा पूरै नेपाली कांग्रेस समर्थकहरूकै प्रभाव देखिन्थ्यो । 
जनदबाबपछि बागलुङ मालअड्डा गुल्मी सार्ने निर्णय अर्थ मन्त्रालयद्वारा रद्द गरी बागलुङमै राख्नू भनी आदेश भएको समाचार धरि ‘सही बाटो’ ले उक्त अंकमा प्रकाशित गरेको थियो । उपसम्पादक गोविन्दलाल श्रेष्ठले बडाहाकिमको एक दिन शीर्षकमा लामो लेख प्रकाशित गरेका थिए । नौ पेजमा ‘बागलुङ नेपाली कांग्रेसको शाखा, राजनीतिक झलमल’ शीर्षकमा समाचार छापेको थियो । उक्त समाचारमा बागलुङ कांग्रेस सभापति ओमकारप्रसाद गौचन, मन्त्री हेमलाल राजभण्डारी, कोषाध्यक्ष साहु अश्विनिकुमार वडान था.क्षे. र कार्यकर्ता सदस्यमा मेघकुमार श्रेष्ठ, गोविन्दलाल श्रेष्ठ, साहु अम्मरबहादुर प्रधान, हरिबहादुर श्रेष्ठ, मोहनप्रसाद शेरचन र हीराबहादुर खड्का क्षत्री रहेका थिए । पेज १२ मा विद्या मन्दिर नाट्यशालामा सावित्री सत्यवान नाटक प्रदर्शन भइरहेको समाचारका साथै चैतमान गुभाजूको डेराको पसलबाट धनमाल चोरी भएको विवरणसहितको समाचार छापिएको थियो । 
धवलागिरीको दोस्रो पत्रिका मुस्ताङबाट २००९ जेठ ३० गते सम्पादक, सहायक सम्पादक र प्रकाशक तीनवटै भूमिका निर्वाह गर्दै नरसिंहभक्त तुलाचन ‘अथक’ ले प्रकाशन गरेका थिए । यो ६ पेजको हस्तलिखित पत्रिका थियो । पद्मनाथ शर्माद्वारा सम्पादित खबर कागज साप्ताहिकले २०३६ सालको जनमतसंग्रहका बेला बहुदलको पक्षमा समाचार तथा लेख/रचना प्रकाशित गरेको पाइन्छ । उक्त पत्रिकाले २०३६ असार १३ गते प्रकाशित पहिलो अङ्कमा काठमाडौंको टुँडीखेलमा प्रजातन्त्रवादीहरूको आमसभालाई नेपालको इतिहासको अभूतपूर्व आमसभा, बीपीद्वारा आमसभालाई सम्बोधन भन्दै बहुदल पक्षधरलाई बल पुग्ने समाचार छापेको थियो । महिला प्रकाशक भई धवलागिरीबाट प्रकाशित यो नै पहिलो पत्रिका हो । उक्त पत्रिकामा भारतीय पत्रिका ‘दिनमान’ मा प्रकाशित सामग्रीलाई अनुवाद गरी छापेपछि प्रशासनले प्रकाशक र सम्पादक दुवैमाथि राजकाज मुद्दा लगाएको थियो । तत्कालीन वनराज्यमन्त्री भीमप्रसाद गौचनलाई साडीको फेटा शीर्षक राखी समाचार छापेकाले उक्त पत्रिका प्रशासनद्वांंंरा बन्द गरिएको थियो । 
२०२८ देखि प्रकाशन आरम्भ गरेको धौलाश्रीले २०५८ सालसम्म पनि धवलागिरीमा निरन्तर समाचार प्रकाशन गरिरहेको पाइन्छ । माओवादी विद्रोहका समाचार समेत धौलाश्रीमा प्रकाशित भएका छन् । 
यसरी २००८ सालमा हातैले लेखेर २० पैसामा पत्रिका बेच्ने गरिएकोमा अहिले सरदर ५ रुपैयाँमा पत्रिका बेच्ने गरेको पाइन्छ धवलागिरी क्षेत्रमा । 
यो अनुसन्धानले २०४६ सालपछि धवलागिरीमा बढी पत्रपत्रिका प्रकाशित भएको तथ्यांक देखाउँछ । व्यावसायिक नबनीकन केन्द्रमा त पत्रिका प्रकाशन चुनौतीपूर्ण बनेका बेला मोफसलमा पत्रिका प्रकाशन गरी त्यसलाई बचाउन सहज हुने कुरै भएन । जे होस् ‘धवलागिरिको ६ दशकीय पत्रकारिता’ ले ००७, ०३६ र ०४६ साल यता समाचार र विचार प्रवाहमा आमनागरिकलाई सुसूचित गर्न ठूलो भूमिका निर्वाह गरेको । छ । 

प्रकाशित : श्रावण २८, २०७४ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?