कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यहाँ भविष्यको छ चिन्ता...

खेलाडी
जीवनको उत्कर्ष समय ब्याट र बलमा बिताएका खेलाडीको भविष्यको चिन्ता कसले गर्ने ? हाल राष्ट्रिय टिममा रहेका खेलाडीलाई हरेकपटक भेट्दा उनीहरूको एउटै गुनासो हुन्छ, अब के गर्ने ?
सविना कार्की

केहीअघि राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले आफ्नो हालखबर सुनाइन्–‘ठीकै छ’ । क्रिकेटको हालखबर सोध्दा भने उनको जवाफ थियो, ‘ठीकै होला नि । मनसुनका कारण त्यसै पनि अहिले क्रिकेटको अफ सिजन हो, अभ्यास पनि गरेको छैन ।’

यहाँ भविष्यको छ चिन्ता...

आफ्नो भविष्यबारे चिन्ता लागेको सीताले बताइन् । ‘करियर’का बारेमा सोच्दै, विकल्प खोजिरहेको उनको भनाइ थियो । उनी त्यही सीता हुन् जो सन् २००७ मा नेपालमा महिला क्रिकेट टिम सुरु भएयता निरन्तर राष्ट्रिय टिमको मुख्य सदस्य छिन् । क्रिकेटमा एक दशक बिताएपछि उनी आफ्नो भविष्यको चिन्ता गर्दै छिन् । 

महिला क्रिकेट टिमकी कप्तान रुविना क्षत्रीले फेसबुकमा आफ्ना टिमका सदस्यहरूका नाममा एउटा स्टाटस पोस्ट गरिन्, ‘नेपालले नोभेम्बरमा थाइल्यान्डमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेल्दै छ । कसैको आस नगरौं जो जहाँ बस्छ, त्यहीं अभ्यास गरौं । हामीसँग क्षमता छ छनोट हुने सम्भावना पनि उत्तिकै छ ।’
***
यी दुई फरक प्रसंग पर्याप्त छ नेपालमा महिला क्रिकेटको वर्तमान अवस्था बुझ्न । १–२ वर्षको अन्तरालमा फाट्टफुट्ट अन्तर्राष्ट्रिय प्रतियोगिता भए पनि महिला क्रिकेटको घरेलु अवस्था भने दयनीय छ । अहिले त नेपाल क्रिकेट संघ नै अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बनमा छ । त्यसअघि पनि महिला क्रिकेटका लागि भनेर क्यानसँग कुनै प्रभावकारी योजना थिएन । पहिलो सहभागितामै उपविजेता बनेर फर्किएको नेपाललाई एसोसिएट राष्ट्रमा अब्बल टिम मानिन्थ्यो । यो अहिले बिस्तारै आरोलोलाग्दो क्रममा छ । एसीसी यू–१९ वुमन्स च्याम्पियनसिप नेपालले २००८ देखि २०१२ सम्म गरी लगातार चारपटक जित्यो । २०१२ पछि यो प्रतियोगिता भएको छैन । सिनियरमा नेपालले अहिलेसम्म कुनै उपलब्धि हासिल गर्न सकेको छैन । २००७ को पहिलो सहभागिता नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो, जसमा नेपाल फाइनल पुगेको थियो । 
सन् २००८ थाइलयान्ड चियाङमाई । जहाँ एसियाली क्रिकेट परिषद् (एसीसी) ले पहिलोपटक एसीसी यू–१९ वुमन्स च्याम्पियनसिप आयोजना गरेको थियो । नेपाल रहेको समूह ‘बी’ मा मलेसिया, सिंगापुर, कुबेत, चीन र भुटान थिए । नेपालसामु सबै टिम फिक्का । नेपालको ‘बडी ल्याङ्वेज’ ले नै अरू टिमको होस् उड्थ्यो । थाइल्यान्डले विभिन्न खेलका खेलाडीलाई निकै मिहिनेत गरेर एक ठाउँमा जम्मा पारेर क्रिकेट टिम बनाएको थियो । चीनलाई त राम्रोसँग क्रिकेटको ‘टर्मिनोलोजी’ समेत आउँदैनथ्यो । भनौं नेपालले पर्फेक्ट टिमका रूपमा आफूलाई स्थापित गर्दा यी देशहरू भने भर्खरै क्रिकेट सिक्दै थिए । नेपाल अपराजित च्याम्पियन बन्यो । 


यो प्रतियोगितामा म आफैं खेलाडीका रूपमा नेपाली टिमको सदस्य थिए । अरू देशका पदाधिकारीले नेपाली टिमको खुलेर प्रशंसा गरेका थिए । यसले नेपालमा ठूलै खुसियाली ल्यायो । मैले नै क्रिकेटलाई निरन्तरता दिन सकिनँ, आफ्नो भविष्य हेर्दै पढाइ र मिडियातिर लागें । त्यसैले अहिले मेरै समकालीन साथीहरूले क्रिकेटमै लागिरहेको समयमा भविष्यको चिन्ता गर्नु कम्तीमा मलाई त आश्चर्य लागेन र लाग्दैन पनि ।
त्यो समयमा पुरुष क्रिकेटले नतिजा दिन सकिरहेको थिएन । महिला टिमले राम्रो गरिरहेको थियो । आजको अवस्था भने बिल्कुलै फरक छ । चीन र थाइल्यान्ड अहिले टेस्ट नखेल्ने राष्ट्रहरूमा पावरहाउस बनिसकेका छन् । 
हरेक प्रतियोगिताको उपाधि दोबेदार टिमका रूपमा यी दुई टिमले आफूलाई प्रस्तुत गर्छन् । अरू देश पनि क्रमिक रूपमा आफ्नो देशको महिला क्रिकेटको सुधारमा लागेका छन् । उनीहरूले महिला क्रिकेटलाई मलजल गरे, उचित स्याहार गरे । नेपालले भने महिला क्रिकेटको बिरुवा त रोप्यो तर हुर्काउन गर्नुपर्ने सबै काम बेवास्ता गर्‍यो । महिला क्रिकेटको उद्गमस्थल नेपालगन्जमै यसको गतिविधि शून्य छ अरू ठाउको कुरा नगरौं । 
वर्षमा मुस्किलले महिलाका लागि एउटा राष्ट्रिय प्रतियोगिता हुन्छ । त्यो पनि राउन्ड रोविन लिग होइन । खेलाडीले राम्रोसँग क्षमता देखाउन नपाउँदै प्रतियोगिता सकिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आउनु तीन साताजस्तो अघि खेलाडीलाई बटुलबाटुल पारेर बन्द प्रशिक्षण राखिन्छ । त्यसमा पनि महिला क्रिकेट कहिले कसैको प्राथमिकतामा पर्दै पर्दैन । अनि कसरी उपाधिको अपेक्षा गर्ने । 
हुन त पुरुष क्रिकेट पनि व्यावसायिक छैन । उनीहरूका समस्या पनि उस्तै छन् । कम्तीमा पुरुष क्रिकेटका विषयमा छलफल हुन्छ, उनीहरूका आवाज सायद बुलन्द छन् र सुनिन्छन् । महिला क्रिकेट खेलाडी त आफ्ना कुरा खुलेर राख्न पनि सक्दैनन् । केही समयअघि एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानुपूर्व सञ्चारमाध्यमसमक्ष आफ्ना समस्या राख्दा क्रिकेटको जिम्मेवार व्यक्तिबाट नराम्रोसँग गाली खाएको तीतो अनुभव छ महिला खेलाडीसँग । होटलमै आएर ‘पारस खड्का बन्न नखोज, तिमीहरूले जित्ने पनि केही होइन’ भनेर हप्काएका शब्द अहिले पनि ती खेलाडीले भुल्न सकेका छैनन् । 
महिला खेलाडीका आफैंमा पनि केही कमजोरी छन् । बेलाबेला बन्द प्रशिक्षणका क्रममा खेलाडीबीच झगडा भएका समाचारहरू पनि बाहिर आउने गर्छन् । केही जुनियर खेलाडीले मापसे गरी फेसबुक लाइभ गरेको पनि देखियो । क्रिकेटमा भन्दा अनावश्यक कुराहरूमा बढी अल्झिएको महिला खेलाडीमाथि लाग्ने आरोप हुन् । तर यी सबको कारण गतिलो व्यवस्थापन नहुनु नै हो । खेलाडीलाई खेल्न मात्र आएर हुँदैन उत्तिकै अनुशासन पनि आवश्यक पर्छ । बेन्चमा खेलाडी नहुँदा अनुशासनभन्दा बाहिर गएका खेलाडीलाई विस्थापन गर्न सक्ने सामथ्र्य राख्दैन नेपालले । ‘म मात्र हँु राष्ट्रिय टिमको खेलाडी, म भएन भने महिला क्रिकेट सकिन्छ’ भन्ने भ्रम केही खेलाडीमा देखिन्छ, जुन गलत हो । राष्ट्रिय टिममा खेलाडी आउने र जाने प्रक्रिया निरन्तर चलिरहन्छ । एउटा खेलाडी नहुँदैमा केही खेलको प्रदर्शनमा फरक पर्ला तर क्रिकेट नै सकिन्छ भन्ने होइन । केही खेलाडीको यस्तो व्यवहारले राम्रा र प्रतिभावान खेलाडीलाई भने प्रत्यक्ष असर पारिरहेको छ । यी सबैलाई सही ठाउँमा ल्याउन केवल बलियो व्यवस्थापनले मात्र सक्छ जुन नेपाली क्रिकेटमा खड्किरहेको छ । 
***
भर्खरै इङ्ल्यान्डमा महिला एकदिवसीय विश्वकप सम्पन्न भयो । फाइनलमा भारतलाई पराजित गर्दै इङ्ल्यान्डले उपाधि जित्यो । विश्वकपका सबै खेलको प्रत्यक्ष प्रसारण भएको थियो । यसले विश्वकपमा महिला क्रिकेटको क्रेज बढिरहेको प्रस्ट पार्छ । नेपाली महिला क्रिकेटमा पनि पर्याप्त लगानी गर्ने हो भने पुरुषले जस्तै विश्वकप खेल्न सक्छन् । १० वर्षअघिको स्थिति हेर्ने हो भने पनि थाइल्यान्ड र चीनभन्दा नेपाल धेरै पछाडि परिसकेको छ । अर्को अहिलेको पुस्तालाई विस्थापित गर्ने खेलाडी पनि देखिँदैनन् । अब नेपालले सुरुआतदेखि नै महिला क्रिकेटलाई अगाडि बढाउनुपर्ने देखिन्छ । 
खेलेर महिला क्रिकेट खेलाडीले अहिलेसम्म केही कमाएका छैनन् । सशस्त्र प्रहरी बलले महिला टिम बनाएकाले केही खेलाडीले त्यहाँ रोजगार पाएका छन् । सीता यही विभागीय टोलीबाट खेल्छिन् । बाहिर बसेर खेलिरहेका खेलाडीका हकमा भने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा पाउने भत्ताबाहेक केही छैन । जीवनको उत्कर्ष समय ब्याट र बलमा बिताएका खेलाडीको भविष्यको चिन्ता कसले गर्ने ? हाल राष्ट्रिय टिममा रहेका खेलाडीलाई हरेकपटक भेट्दा उनीहरूको एउटै गुनासो हुन्छ, अब के गर्ने ? उनीहरू भन्छन्, ‘क्रिकेट नशाजस्तै भइसक्यो, छोड्न सकिन्न तर भविष्य सोच्यो भने कहाली लाग्छ ।’ धेरैका लागि जीवन नै क्रिकेट हो । क्रिकेटबाट बाहिर उनीहरू सोच्न सक्दैनन् । प्रतियोगिता नजिकै आएको तर्फ मोडिँदै उनीहरू भन्छन्, ‘पहिला नोभेम्बरमा ट्वान्टी–२० को विश्वकप छनोट खेलौं, त्यसपछि फेरि आफ्नो भविष्यको बारेमा सोचौंला ।’ 
Twitter: @sabinakarki1

प्रकाशित : श्रावण २८, २०७४ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?