कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व हेर्ने अर्थ–राजनीतिक दृष्टि

समीक्षा
विनोद सिजापती

लेखक रुचिर शर्मा अमेरिकी प्रसिद्ध लगानी व्यवस्थापक र लगानी बैंक मोर्गन स्टानलेको उदीयमान बजार तथा विश्व लगानी रणनीति प्रमुख हुन् ।

विश्व हेर्ने अर्थ–राजनीतिक दृष्टि

उक्त बैंकले उनको मातहतमा वार्षिक २५ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी र व्यवस्थापन गर्दछ । भारत र सिंगापुरमा अध्ययन गरेका शर्माले लेखन कार्यलाई १७ वर्षको कलिलो उमेरदेखि नै निरन्तरता दिँदै आएका छन् । उनले भारत, बेलायत र अमेरिकालगायतका मुलुकहरूबाट प्रकाशित हुने प्रसिद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय दैनिक, साप्ताहिक पत्रिका र व्यावसायिक जर्नलहरूमा आर्थिक र राजनीतिक लेखहरू पस्कने गर्दछन् । सन् २००७ मा वल्र्ड इकनमिक फोरम डावोस (स्विटजरल्यान्ड) द्वारा विश्वका प्रमुख युवा नेतामध्यको एक घोषित भएका थिए उनी । सन् २०१२ मा ‘फरेन पोलेसी’ जर्नलले घोषणा गरेका विश्वका सय प्रमुख विचारकमध्ये पनि एक हुन् उनी । भारतीय पत्रिका ‘आउटलुक’ ले शर्मालाई विश्वका २५ प्रसिद्ध भारतीयमध्यको एकको उपाधि दियो सन् २०१३ मा । ब्लुमबर्ग मार्केट्सले विश्वका ५० प्रमुख प्रभावकारी विचारक (२०१५) मध्ये यिनलाई पनि एक मान्यो । सन् २०१२ मा प्रकाशित उनको पहिलो पुस्तक ‘ब्रेकआउट नेसन्स इन पर्सुइट अफ दी नेक्स्ट इकनमिक मिराकल्स’ बाट उनको ख्याति विश्वव्यापी बनेको हो । अर्थ–राजनीति विषयमा केन्द्रित हुँदाहुँदै पनि ‘ब्रेकआउट नेसन्स’ अन्तर्राष्ट्रिय बजारमा सवार्धिक बिक्री भएको पुस्तकमध्ये एक हो ।

शर्माको प्रथम पुस्तक पढ्न नभ्याएका र उनको व्यावसायिक पृष्ठभूमिसँग अपरिचित पाठकका निमित्त प्रस्तुत पुस्तकको शीर्षकले ‘राइज एन्ड फल अफ थर्ड राइक’, ‘राइज एन्ड फल अफ वल्र्ड पावर्स’, ‘राइज एन्ड फल अफ ब्रिटिस राज’ तथा ‘राइज एन्ड फल अफ कम्युनिजम’ आदि पुस्तकहरूजस्तै यो पनि शासन पद्धति, साम्राज्य र शक्तिशाली मुलुकको उत्थान र पतनको राजनीतिक इतिहास हो कि भन्ने धारणा उब्जाउँदछ । यो पुस्तक आर्थिक, राजनीतिक र सामाजिक इतिहास तथा एतिहासिक घटनाहरूको विश्लेषण र वर्णनहरूले भरिपूर्ण छ । पुस्तकको मुख्य उद्देश्य भने लगानीकर्तालाई लगानी गर्ने राष्ट्रको छनोट गर्ने सहज उपाय वर्णन गर्नु हो । पुस्तकमा विश्व तथ्यांकहरूको भण्डारलाई उघारेका छन् लेखकले । आर्थिक सिद्धान्तहरूको आलोचनात्मक विश्लेषण गरेर निष्कर्ष निकालिएका छन् विश्व आर्थिक स्थितिको ।

द राइज एन्ड
फल अफ नेसन्स
(फोर्सेस अफ चेन्ज इन पोस्ट क्राइसिस वल्र्ड)
लेखक : रूचिर शर्मा
पेनगुइन र्‍यान्डम हाउस, यूके २०१६
मूल्य : २५ पाउन्ड


पुस्तकमा शर्माले २५ वर्षको अवधिमा विभिन्न मुलुकको अध्ययन भ्रमणका क्रममा शासक, लगानीकर्ता, बैंकर्स, उद्यमी र साधारण नागरिकसँग भएका अन्तरक्रिया र आफ्ना अनुभव समावेश गरेका छन् जुन यसको महत्त्वपूर्ण पक्ष हो । विश्वमा प्रभुत्व जमाएको मोर्गन स्ट्यानलेको प्रमुखहरूमध्येका एक भएकाले लेखकको पहुँच उदीयमान अर्थतन्त्रका राष्ट्रप्रमुख, अर्थमन्त्री, उद्योगपति, उद्यमी तथा अन्य प्रभावकारी व्यक्तिहरूसँग हुनु स्वाभाविक हो । उनको अभिरुचि किसान, साना व्यापारीदेखि बटुवासम्म छ । आफ्ना अभिव्यक्तिलाई उनले अर्थशास्त्रको नियमअनुरूप पुस्ट्याएका छन् उनले । जसले गर्दा पुस्तक पट्यारलाग्दो सैद्धान्तिक वर्णनभन्दा व्यावहारिक छ । लेखकले आफ्नो बुद्धि र विवेकको प्रचुर उपयोग पुस्तकमा गरेका छन् ।
बारम्बार अफ्रिकी सफारी क्याम्पहरू भ्रमण गर्ने प्रकृतिप्रेमी पनि हुन् शर्मा । आर्थिक सही सूचकहरूको पहिचानका निमित्त प्रकृतिमा बिहानीको चकमन्न सुनसान अवस्थामा हुने त्रास र सूर्य उदय भएपछिको आनन्दमा पाइने सन्देश ग्रहण गर्ने क्षमता मुलुकहरूको आर्थिक धरातल मापनका निमित्त आवश्यक पर्ने वर्णन पुस्तकको सुरुआतमै गरेका छन् लेखकले । पुस्तकमा आर्थिक मन्दीका कारणहरूको खोजी र तिनको छोटो र दूरगामी प्रभावका बारेमा गहिराइमा पुगेर अध्ययन गरिएका उद्धरण प्रस्तुत गरिएको छ । सञ्चार माध्यमहरूमा अत्यधिक महत्त्व पाउने आर्थिक समाचारहरूका आधारमा लगानीकर्ताहरूले लगानी गन्तव्य छनोट गर्ने प्रक्रियामा भएका उत्ताउलोपनाहरूको चिरफारसमेत गरिएको छ ।
पुस्तकमा उदीयमान अर्थतन्त्रहरूका विषयमा नयाँ सोच तथा तिनको आधारस्तम्भबारे विस्तृत प्रस्तुति छ । लेखकले समकालीन आर्थिक स्थितिलाई दुई खण्डमा विभाजन गरी विश्व आर्थिक संकट (सन् २००८–९) पूर्व र त्यसपश्चात्को स्थिति विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरेका छन् । आफ्नो अनुभव र विवेकको उपजका रूपमा उनले १० सूत्रहरूको निर्माण गरेका छन् । र, त्यसका आधारमा राष्ट्रहरूको आर्थिक उतारचढावको वर्णन, विश्लेषण र तिनको लगानी भविष्यका विषयमा निर्णय गर्ने सहज विधि अथवा नाडी छाम्ने उपायहरू पनि प्रस्तुत गरेका छन् ।
शर्माले निचोड निकालेका छन्— सन् २००८–९ को वित्तीय र आर्थिक संकटले गर्दा नै विकसित राष्ट्रहरूलाई संकीर्ण र स्वार्थी तुल्याएको हो । जसले गर्दा भूमण्डलीकरण प्रक्रियाको गति धीमा मात्र नभएर पछाडि धकेलिने क्रमले निरन्तरता पाएको हो । परिणामस्वरूप विकसित मुलुकहरूबाट उदीयमान अर्थतन्त्रमा हुने लगानी राशिमा गिरावट निम्तिएर विश्व व्यापार खुम्चिँदै गएको हो । लेखकका अनुसार सन २००७ पूर्व ६० भन्दा बढी राष्ट्र वार्षिक ७ प्रतिशत उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएका थिए । तर सन् २००८ पश्चात् उक्त दर हासिल गर्न केवल नौ राष्ट्र मात्र सफल भए । जसमध्ये सबैभन्दा ठूलो अर्थतन्त्र भारतको हो भने दोस्रो इथियोपिया ।
उच्च आर्थिक वृद्धिदरबाट प्रभावित भएर धेरै स्थापित अर्थशास्त्रीले निष्कर्ष निकालेका थिए कि विकासशील राष्ट्रहरूले हासिल गरेको आर्थिक उन्नति दरले भविष्यमा निरन्तरता पाउनेछ । त्यही आधारमा विकसित र विकासशील मुलुकहरूबीचको आर्थिक असमानताको निकट भविष्यमा न्यूनीकरण हुने उनीहरूले भविष्यवाणी गरेका थिए । सन् २००८–९ को आर्थिक संकटले त्यस्ता भविष्यवाणीलाई गलत साबित गर्‍यो । विश्वमा आएको मन्दीका कारण कच्चा पदार्थहरूको मागमा अप्रत्याशित गिरावट आयो । कच्चा पदार्थहरूको निर्यात व्यापारमा निर्भर अर्थतन्त्रहरू 
जस्तै : रूस, ब्राजिल, दक्षिण अफ्रिका आदि मुलुकले अझै पनि आफ्नो अर्थतन्त्रलाई संकटबाट निम्त्याएको प्रभावबाट मुक्त तुल्याउन सकेका छैनन् । आर्थिक संकटको प्रभावबाट मुक्ति पाउन धेरै विकासशील राष्ट्रले अझै केही वर्ष कुर्नुपर्नेछ ।
लेखकको मतमा कुनै पनि मुलुकले निरन्तर अत्यधिक उच्च वृद्धिदर धेरै वर्षसम्म हासिल गर्न सक्दैन । उथान र पतनको यात्रन अविरल चलिरहन्छ । अर्थतन्त्रको नियम हो उच्च दरले नै मन्दीको बीजारोपण गरेको हुन्छ । त्यसकारण अर्थतन्त्रले जति–जति उच्च वृद्धिदर हासिल गर्दै अगाडि बढ्छ त्यति नै छिटो आर्थिक संकट निम्तिन्छ । आर्थिक संकटको प्रभाव विश्वव्यापी हुन्छ । यस अर्थमा तिनले चीनको अर्थतन्त्र निकट भविष्यमा संकटग्रस्त हुने अड्कल काटेका छन् । सन् १९७० यता विश्वमा पाँच ठूला आर्थिक मन्दीहरू भए जसको सुरुआत अमेरिकाबाट भएको थियो । अब हुने विश्व आर्थिक संकट चीनबाट सुरु हुने निष्कर्ष उनले निकालेका छन् ।
शर्मा लामो दूरीको आर्थिक प्रक्षेपण गर्ने कार्यलाई मूर्खताको संज्ञा दिन्छन् । उनको तर्क छ— अर्थतन्त्रलाई प्रभाव पार्ने संकटहरूको अड्कल गर्नु अत्यधिक कठिन र जटिल हुन्छ । यस सन्दर्भमा उनले राष्ट्रसंघीय जनसंख्या प्रक्षेपणलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । जसअनुसार सन् २०५० मा विश्व जनसंख्या ९.७ अर्ब पुग्ने प्रक्षेपण गरिएको थियो । विश्व जनसंख्या वृद्धिदर दुई प्रतिशत प्रतिवर्षका आधारमा उक्त प्रक्षेपण गरिएको थियो । तर स्थितिविपरीत छ । सन् १९५० पश्चात् २ प्रतिशतको जनसंख्या वृद्धिदर भएका राष्ट्रहरूको संख्या अत्यधिक थियो तर 
शताब्दीको अन्तपश्चात् २ प्रतिशत जनसंख्या हुने राष्ट्रहरूको संख्या औंलामा गन्न सकिन्छ । विश्व जनसंख्या वृद्धिदरबाट पीडित हुने अनुमानको साटो क्रियाशील जनसंख्याको अभाव खड्किएर आर्थिक उन्नतिमा बाधा पुगेको छ । लेखकको विचारमा ५ देखि १० वर्षभन्दा लामो अवधिको प्रक्षेपण असान्दर्भिक र अर्थहीन हुन्छ ।
शर्माले अर्थतन्त्रको नाडी छाम्न औचित्यसहितका १० सूत्र निर्माण गरेका छन् । जसको आधारमा सफल लगानी गन्तव्य राष्ट्र छनोट गर्न सहज हुन सक्दछ । ती दस सूत्रका आधारमा उनले मुलुकहरूलाई लगानी गन्तव्यको हिसाबले तीन वर्गमा विभाजन गरेका छन्— उत्कृष्ट, औसत र निम्न कोटिका । उनका दस सूत्रहरू हुन् : (१) जनसंख्या (२) सुधार कार्यको शृंखला (३) असल र खराब अर्बपतिहरू (४) राज्य सञ्चालन स्थायित्व (सुशासन) (५) भौगोलिक स्थिति (६) औद्योगक अवस्थाले पाएको प्राथमिकता (७) प्याजको भाउ (८) सस्तो राम्रो सिद्धान्तमा आधारित मौद्रिक नीति (९) ऋण (व्ययभार) र (१०) सञ्चारमाध्यममा हुने प्रचारप्रसार ।
लेखकले दक्षिण एसियाका विषयलाई भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमा सीमित राखेका छन् । भारत र पाकिस्तानलाई उनले लगानीका हिसाबले उत्कृष्ट गन्तव्य ठहर गरेका छन् । नेपालको बारेमा उनी मौन छन् । सायद विश्वका सबै राष्ट्र घुमेर अध्ययन गर्ने फुर्सद अभावले होला । अर्को कारण हामी अझै अन्तर्राष्ट्रिय वैदेशिक लगानी गन्तव्य राष्ट्रहरूको सूचीमा पर्न नसकेकाले पनि हुन सक्दछ । यथार्थ के पनि हो भने आखिर वैदेशिक लगानी बढाउने कार्यलाई नेताहरूले आफ्नो ओठमा मात्र सीमित राखेका छन् । राजनीतिक लुछाचुँडी र भागबन्डामा राष्ट्रिय स्रोत र साधनको दोहन चुलिएको हाम्रो राजनीतिक माहोलमा कुन लगानीकर्ता अग्रसर हुने ? सुशासनको चरम अभाव र ट्रेड युनियनको वर्चस्व भएको मुलुकलाई लगानीको गन्तव्यका रूपमा चर्चा गरिएन भनेर चित्त दुखाउने अवस्था हाम्रो छैन । कुनै दिन निश्चय पनि नेपाली अर्थशास्त्रीहरूले शर्माका सूत्रहरूको प्रयोगबाट हाम्रो राष्ट्रको वर्गीकरण गर्नेछन् । र, हाम्रो देश अन्तर्राष्ट्रिय लगानी गन्तव्यमा कुन कोटिमा पर्दछ त्यो पत्ता लगाउनेछन् ।
अर्थ–राजनीतिका विषयमा लेखिएका पुस्तकहरू प्राय:जसो पट्यारलाग्दा हुन्छन् । त्यस दृष्टिमा यो पुस्तकलाई अपवाद नै मान्दा हुन्छ । लेखकले जटिल विषयहरू जस्तै : आर्थिक असमानता, मूल्य अभिवृद्धि र मौद्रिक नीति, आर्थिक वृद्धिदर आदिलाई समेत सरल भाषामा रोचक ढंगबाट प्रस्तुत गरिदिएका छन् । यो समीक्षकजस्तो लगानीका विषयमा पटक्कै अभिरुचि नराख्ने व्यक्तिका निमित्त पनि पुस्तक उपयोगी छ । विकास प्रक्रियाको उतारचढाव र आर्थिक संकटहरूका विषयमा जान्न पुस्तकले सघाउँछ । अर्थ–राजनीतिका विषयमा अभिरुचि राख्ने जस्तोसुकै शैक्षिक पृष्ठभूमि भएका पाठकहरूका निमित्त पनि यो पुस्तक पठन र मननयोग्य छ । पुस्तकमा समावेश विषय, तिनका औचित्य पुष्टिका निमित्त प्रस्तुत तथ्यांक, विस्तृत विश्लेषण आदिले पुस्तक मोटो र भारी हुन पुगेको छ । त्यसो त अनावश्यक रूपमा कति स्थानमा लेखकले आफ्ना व्यक्तिगत विषयलाई दोहोर्‍याई तेहेर्‍याई प्रस्तुत गरेका छन् । तर पनि समग्रमा पुस्तक विकासविद्, अर्थ–राजनीतिका विद्यार्थी, अनुसन्धानकर्ता र 
प्राध्यापन पेसामा लागेकाहरू र जागरुक नागरिकहरूका निमित्त उपयोगी छ भन्दा यसको विज्ञापन गरेको अर्थ लाग्ने छैन ।

प्रकाशित : भाद्र ३, २०७४ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?