कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदृश्य इन्जिनियरको जीवन–चित्र

पुस्तक
गंगा बीसी

अलग अनुसन्धान । अलग विषयवस्तु । उनको र मेरो बाटो अलग । तैपनि, एक अपरिचत इन्निनियरको अतीत खोज्दै हिँडेँ ।

अदृश्य इन्जिनियरको जीवन–चित्र

उनीसँग जोडिएका जलविद्युत् इतिहास खोतल्दै हिँडेँ, खोलैखोला, नदीनाला, भीरपाखा, पखेरा ।’ लेखक तारालाल श्रेष्ठका यी भनाइबाट स्पष्ट हुन्छ, यो एक इन्जिनियरको कथा हो । सत्य घटनामा आधारित कथा । एक अनुसन्धानमा आधारित कथा । व्यक्तिबारे पढ्न रुचि सायद धेरैलाई हुन्छ । कथा रुचिकर बनाउने घटनाले मात्र हुँदैन, त्यसलाई लेखकले रोचक बनाउन सक्छ ।

‘बन्दीपुरदेखि बन्दीपुरसम्म’ । सामान्य शीर्षक छ पुस्तकको । बन्दीपुर घुम्न चाहने सबैले चिनेको पर्यटकीय रमाइलो क्षेत्र हो । पर्यटकको रूपमा त्यहाँ पुग्ने जो कोहीका लागि रमाइलो स्थल भए पनि त्यसभित्रको कथाव्यथा कमैलाई थाहा हुन सक्छ । ‘बन्दीपुरदेखि बन्दीपुरसम्म’ ले यसबारे जानकारी दिन्छ ।
धेरै लेखकले चल्तीको विषयमा कलम चलाउन रुचि राख्छन् । कम मिहिनेतमा धेरै फाइदा खोज्ने आमलेखकको प्रवृत्ति छ । तारालाल श्रेष्ठले भने झ्वाट्ट हेर्दा सानो लाग्ने विषयमा प्रशस्तै मिहिनेत र समय खर्चेर ‘बन्दीपुरदेखि बन्दीपुरससम्म’ पुस्तक तयार गरे । सामान्य रूपमा हेर्दा यो पुस्तक बन्दीपुरमा कन्द्रित भएको देखिए पनि यसको अन्तर्यमा नारायणगढ र बुटवलको पनि कथा छ । यी तीन स्थानका मुख्य पात्र हुन इन्जिनियर बलराम प्रधान ।
सबैको जीवन एउटा नाटकजस्तो हो, कहिले रुनु कहिले हाँस्नु, कहिले रिसाउनु, कहिले खुसी हुनु । यस्तै अरू–अरू । चाहेर वा नचाहेर जीवन एउटा नाटकको रूपमा अघि बढ्छ । इन्जिनियर बलरामको जीवन अझ रोचक नाटकजस्तो छ । एक वर्षको अनुसन्धानपछि यो पुस्तक प्रकाशन भएको हो । यस पुस्तकमा कुनै पनि कुरा बिनाप्रमाण प्रस्तुत गरिएको छैन । उल्लिखित जति प्रसंग छन्, तिनको तथ्य कहाँबाट कहिले कसरी प्राप्त गरिएको हो भन्ने प्रमाण राख्ने कोसिस गरिएको छ,’ लेखकले भनेका छन् ।
इन्जिनियर बलरामको जीवनमा आधारित यो पुस्तकमा माया, प्रेम, आक्रोश, विद्रोह, राजनीति, विछोड, मिलन त छँदै छ समाजमा देखिएको अन्तरसघर्षका भिल्काहरूमा पनि छन् । लेखकले बलरामको जीवन चित्रण गर्दा तथ्यका प्रमुख आधार बनाएका छन्, उनले ती तथ्य खोतल्न कडा मिहिनेत गरेको देखिन्छ । एक व्यक्तिलाई केन्द्रमा राखेर लेखिएको यो पुस्तकमा अलि बढी सकारात्मक कुरा देखिएका छन् । एक इलेक्ट्रोनिक्स इन्जिनियरको प्रयासले खासगरी बुटवल र बन्दीपुरलाई परिवर्तन गरेको रोचक कथा यसमा छ ।
‘करिब चार सय वर्षदेखि बसोबास गरिरहेका आदिवासी भूमिमा लगभग अढाइ तीन सय वर्षअगाडि भक्तपुरे नेवार बन्दीपुर आइपुगे वरिपरि व्यवस्थित वस्तु देखेर लोभिए । आफ्नो भविष्य देखेर कृषि तथा व्यापारिक गतिविधि सुरु गरे ।’ लेखकले अर्को पुस्तकबाट उद्धृत गरेका छन् । उनले अन्तत: मगर तथा अन्य समुदाय बजारबाट विस्थापित भएपछि बन्दीपुर नेवारबाहुल्य बस्ती हुन पुगेको उल्लेख गरेका छन् ।
बन्दीपुरका नेवारका लागि अर्को व्यापारिक उद्गम थलो नारायणगढ बन्न पुग्यो । बन्दीपुरका व्यापारीले नै पहिलोपटक गोलबजार भन्ने स्थानलाई नारायणगढ बजार नाम राखेको लेखकले दाबी गरेका छन् । ‘विष्णुकुमार र कृष्णगोपाल प्रधानले चितवनको गोलबजारलाई नारायणगढ नामकरण गरी स्थायी ब्यापार व्यवसायका लागि बसोबास सुरु गरेका थिए,’ लेखकले भनेका छन् । त्यसबेला नारायणगढ मान्छेलाई सजाय कटाउने ठाउँ थियो । अपराधीलाई सजाय कटाउन चितवनको जंगल पँmडानी गरी बसाइन्थ्यो, कैदीका लागि खर्च गर्ने ढुकुटी थिएन, मार्नु भएन, त्यसकारण कैदीलाई राख्ने ठाउँ बनेको नारायणगढ हाल मुलुकको चर्चित केन्द्र भएको छ । लेखकका अनुसार २०१२ सालदेखि बस्ती बसाल्ने कामको थालनी भएको थियो । त्यसअघि बन्दीपुरका ब्यापारी गर्मी लागेपछि बन्दीपुर फर्कन्थे । त्यसबेला जसले निवेदन हाले पनि पाँच बिघा जमिन पाइन्थ्यो, निजी ट्रयाक्टर देखाउन सक्नेले ५० बिघासम्म जमिन सित्तैमा पाउँथे । त्यसबेलै चितवन झरेका थिए, बलराम ।
बलरामको जीवनमा केन्द्रित यो पुस्तकमा उनको गतिविधिबारे ब्याख्या हुनु स्वाभाविक हो । उनले बनारस विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियर पास गर्दासम्म त्यसबेलाको बटौलीमा बुटवल पावर कम्पनी खुलिसकेको थियो । बटौलीलाई ‘नथिङ बट वाल’ भन्ने विदेशीहरू । अंग्रेज सेनाले बटौलीमा आक्रमण गर्ने बेला ‘नथिङ बट वाल’ बाट बुटवल रहन गएको लेखकको दाबी छ । उनले कुराकानीका आधारमा यो उल्लेख गरेका छन् । आधिकारिक पुष्टि छैन ।
नेपालमा २०२० सालमा युनाइटेड मिसन टु नेपाल स्थापना भएपछि क्रिस्चियन धर्मले बढी प्रचार पाएको लेखकले उल्लेख गरेका छन् । पाल्पामा मिसन अस्पतालको स्थापना भएपछि क्रिस्चियन धर्मको खुलेआम प्रचार गर्न नपाए पनि जिसस क्राइस्टको नाममा चर्चको सुरुवात पनि त्यसबेलादेखि भएको लेखकको भनाइ छ । २०१७ सालमा प्रेम प्रधानसहित केही क्रिश्चियन धर्मावलम्बीहरूलाई तत्कालीन राजा महेन्द्रले जेल हालेका थिए ।
बुटवलमा औद्योगीकरणको मात्र होइन टेक्निकल इन्स्टिच्युट खुलेपछि बिजुली निकाल्ने कामको थालनी भएको पुस्तकमा छ । २०२५ सालमा तिनाउ जलविद्युत् परियोजना सुरु भएपछि बिजुली उत्पादन सुरु भएको थियो । नर्वेका नागरिक अड हप्टनले काम थाले पनि इन्जिनियर बलराम जागिरको खोजीमा बुटवल आइपुगेका थिए । दुई वर्ष लगाएर तिनाउ परियोजनाले ५० किलोवाट बिजुली उत्पादन गरी वितरण गरेको थियो । त्यसबेला नै बुटवलमा औद्योगीकरण सुरु भएको दाबी लेखकको छ ।
राप्ती अञ्चलको ठूलो जलविद्युत् परियोजना झिमरुक (प्यूठान) निर्माणका लागि संघर्ष पनि पुस्तकमा छ । त्यो बुटवल पावर कम्पनीले जिम्मा लिएको थियो । यो परियोजना निर्माण भइसकेपछि द्वन्द्व देखिन्छ । सम्झौताविपरीत लोडसेडिङ गराएको भन्दै २०६९ मा जलविद्युत् केन्द्रमा तोडफोड र आगजनी भयो । त्यसअघि २०५८ मा माओवादीले बम विस्फोट गराएको प्रसंग पनि पुस्तकमा छ ।
सरकारको स्वामित्वमा रहेको बुटवल पावर कम्पनी निजीकरणको रोचक प्रसंग यसमा छ । ‘चौथोपटक निकै माथि चढेर बलराम समूहले बिडिङ गर्‍यो । यति उच्च बिड गर्लान् भन्ने चौधरी (विनोद चौधरी) समूहले कल्पना गर्न सकेन । एक सय करोडमा बिड गरेपछि नेवार समूहको हातमा बुटवल पावर कम्पनी पर्‍यो । चौधरी समूह बिडमा निकै तल पर्‍यो ।’ लेखकले उल्लेख गरेका छन् ।
लेखक बन्दीपुरबाट सुरु भएर नारायणगढ, बुटवल हुँदै फेरि बन्दीपुर फर्किएका छन्, त्यसको इतिहास बोकेर । ‘२०२३ सालको सरकारी निर्णयलाई सदर गर्दै २०२५ मा बन्दीपुरबाट तनहुँको सदरमुकाम दमौली सरेको थियो । सदरमुकामसँगै बजार सर्‍यो’ लेखकले त्यसछि बन्दीपुर ओरालो लागेको जनाएका छन् । विस्थापित भइसकेको बन्दीपुरलाई पुन: जगाउनेमध्ये एक थिए, बलराम । बन्दीपुरलाई पहिलेभन्दा नयाँ ढंगले बन्दीपुरलाई चम्काउन सफल पनि भए । हाल बन्दीपुरको सान सायद पहिलेभन्दा बढ्दो छ ।
राजनीति नघुसेको कुनै क्षेत्र छैन, होला । त्यस्तै २०४९ मा गठन भएको बन्दीपुर सामाजिक विकास समितिमा पनि राजनीतिक प्रभाव पर्‍यो । बन्दीपुरलाई उकास्न ‘हरेक घरबाट वर्षमा एकपटक कम्तीमा एक जना बन्दीपुर फर्कनुपर्ने बाध्यात्मक नियम बन्यो । सकेसम्म नयाँ वर्षमा नसके आफूलाई पायक पर्ने समयमा । बन्दीपुर विकास समितिमा विवाद हुँदाहुँदै बलराम संसारबाट बिदा भएको प्रसंगले सबैलाई छुन्छ ।
‘बन्दीपुर बजारमा ढुंगा नबिछ्याएसम्म बन्दीपुर नजाने उद्घोष गर्ने मानिस । विदेशीलाई दिएर मात्रै विकास हुन्न, आफ्नै स्रोतबाट विकास गर्नुपर्छ भन्ने मानिस । मृतकको पोसाकमा पनि उपहार दिनुपर्छ भन्ने मानिस । भाग्यवादका पछाडि भौंतिरिनुको कुनै अर्थ छैन भन्ने व्यक्ति । अचानक हराए, बिलाए’ लेखक भावनामा डुबेका छन् । लेखकले पहिले नचिनेका एक अज्ञात इन्जिनियरको जीवनमा आधारित पुस्तक लेख्दा पक्कै आँसु बगाएको हुनुपर्छ, हैन भने एक व्यक्तिको जीवनीका लागि यति मिहिनेत हुने थिएन । ‘सेतै कपाल भएकी वृद्धा प्रेमिकाले बितेर गएको प्रेमीलाई यति धेरै आँसु 
पोखेको जीवनमा पहिलोपटक देख्दै थिएँ, परिपक्व प्रेमको नमुना । आँखाबाट बगिरहेको आँसुका थोपामा आफ्नै आमाको तस्बिर नदेखेको भए सायद यस कृतिका पछाडि पागलझै भौतिरिने थिएनँ,’ लेखकले भनेका छन् ।
लेखक अभि सुवेदीके छोटो भनाइ छ, ‘अदृश्य इन्जिनियरको नौलो जीवन– चित्रण ।’
सायद बलरामको अवसानपछि कृति तयार गरिएको हुनाले लेखक बढी आलोचक बन्न चाहेनन् । अनुसन्धानमूलक पुस्तक भए पनि पढ्न सुरु गरेपछि राम्रो आख्यान पढेजस्तो सरल, सहज र रोचक प्रसंग छ ।

प्रकाशित : भाद्र ३, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?