कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अली जत्तिकै बोल्ट

खेलाडी
बोल्ट ट्रयाक एन्ड फिल्डमा सफल त रहे नै, उनले समग्र एथलेटिक्समा छाडेको प्रभाव पनि उत्तिकै ठूलो छ ।
हिमेश

मोहम्मद अली जत्तिको खेलाडी विश्व खेलकुदले देखेको छैन भनिन्छ । यस्तो भन्नुपछाडि यी बक्सिङका खेलाडी रिङभित्र मात्र सफल थिए भन्ने होइन ।

अली जत्तिकै बोल्ट

रिङबाहिर उनले तत्कालीन समाजमा छाडेको प्रभावका कारण पनि यस्तो भनिएको हो । अलि त अब रहेनन्, तर यिनै महान् खेलाडीको तुलना अचेल एक अर्को खेलाडीसँग गरिन्छ र उनी हुन्, एथलेटिक्सका युसेन बोल्ट । बोल्ट ट्रयाक एन्ड फिल्डमा सफल त रहे नै, उनले समग्र एथलेटिक्समा छाडेको प्रभाव पनि उत्तिकै ठूलो छ ।

संयोग नै मान्नुपर्छ, अलीले पनि आफ्नो अन्तिम भिडन्त जितेका थिएनन् । बोल्टले पनि जित्न 
सकेनन् । हालै मात्र लन्डनमा एथलेटिक्सको वल्र्ड च्याम्पियनसिप सकियो । यो बोल्टको अन्तिम प्रतियोगिता हुने तय थियो, त्यसैले धेरैले यसलाई खुबै ध्यान दिएर पर्खे र हेरे । तर उनीहरूले चिताएजस्तो केही पनि भएन । बोल्ट लन्डनमा नराम्रोसँग असफल भए । सय मिटर दौडमा उनी तेस्रो स्थानमा मात्र रहे, चार गुणा सय मिटर रिले त उनले पूरा पनि गर्न सकेनन् ।
चोटका कारण दौड बीचमै छाड्न बाध्य रहे । अहिले बोल्ट ३० वर्षका भए, उनको शरीर पहिलेको जस्तो रहेन । फेरि लन्डन आउनुअगाडि उनी चोटग्रस्त पनि थिए । तर प्रतियोगिताको अन्त्यमा उनले बिदाइको राम्रो अवसर भने पाए, लन्डन स्टेडियममा खचाखच भरिएका दर्शकसामु । त्यस क्रममा उनले आफ्नो ‘सिग्नेचर भिक्टरी पोज’ पनि दिए । यो खुबै प्रख्यात छ र यसलाई एकपल्ट हेर्न पनि खेल प्रशंसक खुबै मरिमेट्छन् । खासमा के हो त यो ?
यसका लागि बोल्ट आकाशतर्फ धनुषवान प्रहार गर्ने प्रयास गर्छन् । बोल्टको देश जमैकातिर यसलाई ‘टु द वल्र्ड’ भन्ने गरिन्छ । यसका खास अर्थ पनि छ र यो हो, विश्वलाई एक सूत्रमा जोड्ने । जमैका भनेपछि त्यससँगै जोडिएर आउने गर्छ, रेग्गी संगीत । रेग्गी संगीत भनेपछि धेरैले ठ्याक्कै सम्झिने गायक हुन्, बब मार्ले । रेग्गीको संगीतमा मस्तसँग झुमेर जमैका र अरू क्यारेबियन देशतिर खुबै नाचिन्छ र यसै नाचका क्रममा अकाशतिर फर्केर धनुष प्रहार गर्ने भाव निकालिन्छ ।
यो कहाँबाट कसरी सुरु भयो, धेरैसँगै धेरै कथा छन् । तर एउटा तथ्य के हो भने यसलाई पूरा विश्वमा लोकप्रिय बनाउने काम भने यिनै बोल्टले गरे । बोल्ट प्रत्येक दौड जितेयता यही ‘सिग्नेचर भिक्टरी पोज’ दिने गर्छन् । यसपल्ट नजितेर पनि उनले अन्तिकपटक बिदाइका बेला यही काम गरे । त्यसयता उनले भनेका थिए, ‘म सबैसँग सबथोकबाट बिदाइ लिँदै छु । मलाई पनि एथलेटिक्सबाट बिदा हुँदा दु:ख छ । म आफ्ना प्रशंसकबाट मात्र टाढा गइरहेको छैन, पूरा ट्रयाक एन्ड फिल्डबाट झन् टाढा जाँदै छु ।’
अघिपछि हँसिमजाक गर्न उत्तिकै रुचाउने बोल्टले त्यति बेला आफ्नो मनलाई भने रोक्न सकेनन्, भावनामा बग्नबाट । के उनले ‘कमब्याक’ को प्रयास गर्नेछन् त ? उनलाई त्यति नै बेला सोधिएको प्रश्न थियो । उनको उत्तर थियो, ‘मैले सन्न्यास लिएर पनि फेरि खेल मैदानमा ओर्लेका धेरै खेलाडी देखेको छु । तर यसक्रममा उनीहरू यसअघि कमाएको प्रतिष्ठा पनि गुमाउने गर्छन् । म यस्तो गर्न चाहन्नँ ।’ स्पष्ट छ, बोल्टलाई अब वास्तवमै फेरि ट्रयाक एन्ड फिल्डमा देख्न पाइने छैन ।
उनले एकपल्ट सन्न्यास लिएपछि लिए, लिए । उनको मन फेरिने छैन । उनी फेरि दौडिने छैनन् । तर खेलुन्जेल उलने विश्व एथलेटिक्सका लागि यति धेरै गरे, त्यसैका कारण उनलाई अलि जत्तिकै भनिएको हो । सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकबाट उनी विश्व एथलेटिक्समा प्रवेश गरेका हुन् । त्यति बेला उनले तहल्का नै मच्चाए । सय मिटर, दुई सय मिटर र चार गुणा सय मिटर रिलेमा तीन स्वर्ण जिते । यस्तै सफलता उनले अरू दुई ओलम्पिकमा पनि दोहोर्‍याए, लन्डन र रियो डे जेनेरियोमा ।
उनले नौ ओलम्पिक स्वर्ण जिते, पछि यो आठमा झर्‍यो । यस्तो किन भन्दा बेइजिङमा रिलेतफै जितेको एक स्वर्ण पछि खोसियो । फेरि बेइजिङ ओलम्पिकमै फर्कने हो भने त्यति बेला उनी विश्व एथलेटिक्सका लागि नयाँजस्तै थिए । त्यति बेलाका स्टार थिए, अमेरिकाका जस्टिन ग्याटलिन । सबैको अनुमान थियो, सबैभन्दा तीव्र गतिले दौडिन सक्ने खेलाडीको उपाधि ग्याटलिनले जित्ने छ । तर उनलाई स्तब्ध पार्दै बोल्ट विजयी भए । एक अर्को संयोग लन्डनमा उनले अन्तिमपटक सय मिटर दौडिँदा त्यो रेस जित्ने थिए, यिनै ग्याटलिन ।
ग्याटलिनले के जिते, पूरा लन्डन स्टेडियममा उपस्थित दर्शक निराश बने, अनि सबैले आक्रोश र पीडाको भाव पोखे । यो भाव बोल्टले नजित्नुले जति थियो, त्यत्तिकै बराबर ग्याटलिनले जित्नुमा थियो । बोल्टलाई किन महान् खेलाडी भनिएको हो, त्यसको अर्थ यहींनिर खुल्छ । बोल्ट पर्दामा देखिन धेरै अगाडिदेखि नै विश्व एथलेटिक्समा सबैभन्दा ठूलो समस्याका रूपमा देखा परेको थियो, प्रतिबन्धित शक्तिबर्धक औषधिको प्रयोग । डोपिङ गर्दै सफल हुने खेलाडीको सूची लामो हुँदै थियो ।
अहिले पनि यो समस्या उस्तै छ । अब त पूराका पूरा देश नै डोपिङ गर्दै पदक जित्ने अभियानमा हुने गर्छ । जस्तो, रूस । ग्याटलिन पनि उही ढर्राका खेलाडी हुन् । उनलाई दुई डोपिङको आरोपमा समातिएको थियो । दुवैपल्ट उनी दोषी पनि रहे र दुवै अवसरमा प्रतिबन्धित पनि भए । यसको ठीक उल्टो बोल्ट सफा खेलाडी हुन् । उनी कहिल्यै डोपिङमा परेनन् । अझ उनी प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोगका प्रखर विरोधी हुन् । उनी यसलाई सके निर्मूल नै गर्नुपर्छ भन्ने खालमा हुन् ।
बोल्टले लगातार डोपिङको विरोधमा बोलिरहे । डोपिङ नगर्न अरू खेलाडीलाई भनिरहे । वल्र्ड च्याम्पियनसिप सुरु हुनुअगाडि उनले दिएको एउटा अन्तर्वार्ता साह्रै लोकप्रिय रह्यो । त्यसमा उनले भनेका थिए, ‘यसरी नै प्रतिबन्धित शक्तिबर्धक औषधिको प्रयोग गर्ने हो भने एक दिन एथलेटिक्स आपैंm मर्नेछ । र, त्यो दिन धेरै टाढा पनि छैन, यही यस्तै डोपिङको भयावह स्थिति रहने हो भने ।’ एथलेटिक्स आपैंm मर्‍यो भने खेलाडीले कहाँ खेल्ने, कसरी खेल्ने, अनि किन खेल्ने ?
एक दशकभन्दा लामो समय स्प्रिन्टमा प्रभुत्व कायम राखेर बोल्टले एथलेटिक्सलाई मर्न दिएनन् । एक्लो खेलाडीले यत्तिको गर्नु कम्ती हो र ? त्यसैले त उनलाई अली जत्तिकै मान्ने गरिएको । त्यसो त बोल्टलाई यो पृथ्वी ग्रहभन्दा बाहिरको पनि मानिन्छ । अर्थात् ‘आउट अफ प्लानेट’ । यस्तो किन भनिएको भने उनी नै यस्ता एक्ला खेलाडी हुन्, जसले सय मिटर दौडमा जितेयता अरू खेलाडीलाई पछाडि फर्केर हेर्न भ्याउँछ । वास्तवमै उनी बोल्ट विश्व एथलेटिक्सले अहिलेसम्म देखेकामध्ये सबैभन्दा महान् खेलाडी हुन् ।

twitter : @himeshratna

प्रकाशित : भाद्र ३, २०७४ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?