१९ नम्बर : अवसाद र शोकका कथा

समीक्षा
सरिता तिवारी

पठन कोरा पठन मात्र नहोस् । पढ्नकै लागि मात्र नहोस् । पठनले आफूलाई नयाँ मानिस बनाइदेओस् । सोचको तलाउ तरङ्गित बनाइदेओस् । कुनै नयाँ सुगन्ध बोकेको हावा आफूसँग छोइएर बहेजस्तो ।

कुनै फूलको कोपिला अचानक भित्री संसारबाट पट्ट फुटेर बाहिर निस्केजस्तो । कुनै नयाँ किताब (प्रकाशनका दृष्टिले होइन, हात लागेका हिसाबले) सँग मेरा आफ्नै किसिमका अपेक्षा हुन्छन् ।

‘१९ नम्बर’ पढ्नुपर्ने केही कारण थिए । पछिल्ला केही वर्षयताको नेपाली कथासाहित्य उपन्यासको भीडभित्र कतै अलमलिएको देखिन्छ । युवा पुस्ताका थोरै मात्र कथाकार छन् जसलाई आँखाले पछ्याउन खोज्छ । जसका लेखनले एकप्रकारको लोभ र आकर्षण जगाइदिन्छन् । बाँकी त स्थिति यस्तो छ कि, जेजस्तो होस् उपन्यास नै लेख्नुपर्ने होडमा कुदेका छन् लेखकहरू । 
आज गुरुप्रसाद मैनाली, बीपी कोइराला, शिवकुमार राई, भवानी भिक्षु, पारिजात, प्रेमा शाह, रमेश विकल आदि पढ्दै कथाको स्वाद लिएको पाठक रनभुल्ल पर्ने स्थिति छँदै छ । मनु ब्राजाकी, राजब, भाउपन्थी वा इस्मालीलगायतसम्म आइपुग्दा नेपाली कथाप्रति आश्वस्त बन्ने ठाउँ भए पनि आज आएर औंलामा गन्न सकिने मात्र कथाकारहरू छन् जसको लेखाइमा कथातत्त्व र लेखकीय विवेकले ‘कन्भिन्स’ हुने स्थिति अझै जीवित छ । तर अब्बल भनिएर ठूलै नामको पुरस्कार प्राप्त कथाकृति पढ्दासमेत सकसलाग्दो हुनुमा कि (म) पाठकको रुचिको दोष छ कि वातावरणको । के आजको कथाकार व्यक्ति, समाज र घटनाचक्रहरूको गम्भीर अध्येता बन्न नसकेकै हो ? या ऊभित्र सत्यको भाषा कमजोर भएर हो ? अथवा मभित्रको पाठक अनावश्यक अपेक्षाकारी भएको मात्रै हो ? 
‘१९ नम्बर’ अनमोलमणिको चौथो कृति हो । कथामा दोस्रो । यसअघि यिनको ‘निलिमा र गाढा अँध्यारो’ नामक कथाकृति प्रकाशित भैसकेको छ । झन्डै दुई दशक सक्रिय पत्रकारितामा सम्बद्ध रहेका यिनी कविता पनि लेख्छन् ।
‘१९ नम्बर’ मा कुल नौ थान कथा छन् । सुरुमै छ शीर्ष कथा, ‘१९ नम्बर’ । बर्ताेल्त ब्रेख्तको छोटो कविता ‘इन द डार्क टाइम...’ लाई छायाचित्र जसरी पृष्ठभूमिमा प्रयोग गरिएको यो कथा नेपालको रटन्ते शिक्षा पद्धतिमाथिको एउटा शोकगीतजस्तो लाग्छ । चार कक्षामा पुगेपछि मात्र अंग्रेजी पढाइ हुने अमूक सरकारी विद्यालय छ । त्यहाँका मास्टर कुन तहका अंग्रेजीवाज हुन्छन् र तिनले कस्तो अंग्रेजी सिकाउँछन् भन्ने कुराको मसिनो बयान छ यसमा । हेडमास्टरसमेत रहेका पदम सरको अंग्रेजी सिकाइ अद्यापि अधिकांश विद्यालयहरूको नियति हो ।
‘आई आई माने म’‘आरएएम राम राम माने भेडा’ ‘केएनआईएफई कनाइफ कनाइफ माने छुरा’ 
पदम सरको यस्तो सिकाइ रोहितकुमार ठकुरीको दिमागमा ठ्याम्मै घुस्न सकेन । ऊ चार कक्षामा अंग्रजीमै गुल्टिन्छ । अरू विषयमा राम्रो भन्न सकिने नम्बर आए पनि रोहित ठकुरी ‘ल्वाँठ’ ठहरिन्छ । त्यसैले उनै पदम सरले उसको जिन्दगी खोलैखोला जाने भविष्यवाणीसमेत गर्दिन्छन् मानौं अंग्रजी नै उसको भाग्यविधाता हो । पदम सरका अवतारहरूले उसलाई विश्वविद्यालयसम्मै ऐंठन गरिरहन्छन् । अन्तत: अंग्रेजी नजान्नुको ‘प्रकोप’ खप्न नसकेर उसले आत्महत्याको बाटो समात्छ । यो कथा एकैसाथ शिक्षा पद्धति र अंग्रेजीजन्य सांस्कृतिक उपनिवेशको मनोविज्ञान दुवै प्रति एक गम्भीर प्रश्नचिह्न हो । अंग्रेजीको ब्याक पेपर दिँदादिँदा हत्तु परेको रोहित प्रोफेसरसँग सोध्छ, ‘अंग्रेजी नजानेर के हुन्छ ? के सारा संसार अँध्यारो हुन्छ ? ज्ञानका सारा ढोका बन्द हुन्छन्...अंग्रेजी नजाने हेडमास्टर बन्न सकिन्न ?’ बा चाहन्छन्, पढाइ सकेर छोरो गाउँको स्कुलमा हेडमास्टर बन्न आओस् तर छोरोलाई कसरी अंग्रेजीको प्रेतले खाइरहेको छ, तिनलाई पत्तो छैन ।
‘जूनमा आमा’ मार्मिक कथा हो । प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको यो कथाको वाचक एउटा सानो बालक हो । एउटा छोराको आँखाबाट उसकी आमाको चित्र देखाउन मात्र होइन पिताबाट समेत अपहेलित कलिलो बालकको उत्तप्त हृदयको अनुभूति पस्कन पनि यो कथा सफल भएको छ । तेस्रो कथा ‘नूरप्रताप किन अमेरिका गए ?’ बलियामध्येको एक कथा हो । एउटा मध्यमवर्गीय सहरिया बुद्धिजीवीको मनोविज्ञान र उसमाथि गरिएका तिखा निन्दाचर्चाहरूलाई खुब परिपाठसँग बुनिएको यो कथाले बडो गजबले अन्त्यसम्मै कौतूहलको लय पक्रेको छ । नेपालका विद्यार्थी, प्राध्यापक, कलाकार र पत्रकार मात्र होइन ‘राम्रै आय आर्जन’ गर्न सक्ने निजामती कर्मचारीसमेत दिमागमा अमेरिका बोकेर हिँड्छन् तर संयोगवश अमेरिका जाने अवसर पाएको नूरप्रताप अमेरिका जाने कुरामा उदासीन छ । उसको उदासीनताप्रति सयौं लख र अड्कल काट्ने मानिसहरूका टिप्पणी अर्थपूर्ण छन् । घरभित्र र बाहिरका प्रश्नहरूबाट अति लखेटिएको नूरप्रतापको मनोविज्ञानका रेसा–रेसा यस कथामा जीवन्त रूपमा प्रकट हुन्छन् ।
‘अँध्यारो’ र ‘अर्को एउटा गुलाब’ जस्ता कथामा प्रेमको हार्दिक अपिल र त्यसमाथि परिस्थितिको कठोर त्रासदी एकैसाथ भेटिन्छ । ‘अँध्यारो’ सटीक कथा भएर पनि घटनाक्रमका क्रमागत तारतम्यहरूको अस्वाभाविकताले उति मुखर बन्न सकेको छैन । विद्युतीय उपकरणहरूको दास बनिरहेको मानिसलाई ‘लोडसेडिङ’ कसरी प्रेमको उज्यालो प्रदान गर्ने अद्भुत अवसर भैदिएको छ भन्ने देखाइएको यो कथा ठीकठाक मात्रै हो । यसले अँध्यारो सबै अवस्थामा एकै अर्थले अँध्यारो ठहरिँदैन भन्ने कथ्यलाई चाहिँ न्याय गरेको छ । ‘अर्को एउटा गुलाब’ देशकालका सामयिक संकटमा च्यापिएकी एउटी केटीको बहुरूपको कथा हो । यो गुलाब फूलको प्रहारले ठाउँको ठाउँ बेहोस भएको अवस्थाबाट थालिएर कथावाचककी सहपाठी (प्रेमिका समेत) गुलाब चौधरीको खोजीमा केन्द्रित भएको छ । प्रचलितभन्दा फरक शैलीको कथाकथनले यसलाई अन्यभन्दा विशिष्ट बनाएको छ । रहस्यकी पुलिन्दाजस्ती गुलाब चौधरी कथाभरि रिँगिरहन्छे । उसका अनेक रूप छन् । मानौं सिंगै सहरमा मात्र गुलाब चौधरीहरू छन् जताततै । पूर्वछापामार गुलाब, रेस्टुरेन्टकी वेट्रेस गुलाब, साहुको घरमा भाँडा माझ्ने लुगा धुने दु:खी गुलाब, कफी सपमा साथीहरूसित बसेर निर्धक्क चुरोटको धूवाँ उडाउने कलेज गर्ल गुलाब, डाक्टर गुलाब, मोडल गुलाब आदि ।
बुनोटको हिसाबले ठीकठीकै भन्न सकिए पनि प्रस्तुतिका दृष्टिले ‘अस्तु’ कथा सापेक्षत: माथि उक्लन सकेको छैन । यसले सर्सरी एक आप्रवासी नेपाली परिवारमा परेको आकस्मिक शोक र विदेशमा बसेका नेपालीको पीडा बयान गर्छ । कथानकमा खेल्न सकिने त्यस्ता पर्याप्त स्थानहरू छन्, तिनको सदुपयोग गर्न सकेको भए कथा धेरै सानदार बन्न सक्थ्यो । कथाको मर्म मृत्युको संवेदना नै हो । त्यसभन्दा बढी परदेशको ठाउँमा एउटा मृत्युको मूल्य कति हो भन्ने कुरालाई पक्रनु यस कथाको सबल पक्ष हो । सरल रेखामा बगेको यो कथा मध्यम कोटीमै सीमित हुन पुगेको छ । 
‘कन्टेनरमा रातो डायरी’ युद्धजन्य हत्या, हिंसा र विनाशकारी परिणतिप्रति निराश पूर्वछापामारको कथा हो जुन युद्धपछि सिंगो नेपाली समाजले प्राप्त गरेका सकारात्मक परिणतिबारे लगभग मौन छ । यहाँ किताब लेख्दै गरेको एक छापामार छ, क्यान्टोनमेन्टभित्र बसेको । उसको कथाका स्थुल अंशहरू तृतीय पुरुष दृष्टिविन्दुमार्फत भनिएको छ । सँगसँगै ‘न्यारेटर’ पनि हाजिर छ । कथाको छापामार विचारबारे गहिरिएर र आफैंमा स्पष्ट भएर संसार बदल्ने प्रणले हिँडेको मानिस लाग्दैन । लहैलहैमा कुदेको छ । युद्धप्रतिका उसका टिप्पणीहरू एक भुक्तभोगीका जस्ता लाग्दैनन् । यी बयानमा जीवन्तता थप्न मिहिनेत गरेको भए कथा आफ्नै प्रकारको सैद्धान्तिकीमा बलियो बन्ने थियो । कथाका बयान सुनिजान्ने कसैले गरेका बयानजस्ता लाग्छन् । छापामार आफू हिँडेर यहाँसम्म आइपुगेको बाटोप्रति निराश मात्र होइन अपराधबोधले समेत ग्रस्त छ । युद्धको मोहरीमा तानिएको मानिस युद्धका विवेकसम्मत तर्कबिना मर्न र मार्न तयार हुनुका दु:ख बोकेर कुनै गल्फ देशको रोजगारीमा हिँडेको छ । कथाकथनले सपाट वर्णनको तह छेडेर अनुभूति र विचारको गहिरो दहमा हाम्फालेको हँुदो हो त ‘कन्टेनरमा रातो डायरी’ एक रोज्जा कथा बन्ने थियो । ‘स्खलन’ नगरवधूका आँखाबाट गरिएको क्रान्तिनायकमाथिको प्रक्षेपण बनेको छ । छोटो भए पनि मुखर र सजीव कथ्यले कथालाई प्रभावी बनाइदिएको देखिन्छ । ‘इल्युजन’ कथा कम, भावहरूका मसिना रेसाको गुजुल्टो बढी हो । यो एकालापीय शैलीमा छ । ‘टाइम र स्पेस’ को चेतनाजन्य पीडा बोकेर एक्लै बस्दा वा एक्लै हिँड्दा आउने मध्यमवर्गीय भावलाई रमरम स्वादमा प्रस्तुत गरिएको यो कथा देशको राजनीतिक उहापोहको पनि कथन हो । कथाले महामारीझैं फैलिरहेको भ्रष्टता, समयको पल्ला भित्र–बाहिर गरिरहेका उदास हावाजस्ता चेहराहरू, काला वादलका झुन्ड र तिनैमा कैद भएको एक दार्शनिक पाराको मानिसको नि:श्वासलाग्दो र विषादजनक परिस्थितिलाई दुरुस्त उतारेको छ । यहाँ भनिएको छ, ‘...बाल्डो, यहाँ मान्छेहरूले सात सालको एक दिनलाई पनि महत्त्वपूर्ण माने र छयालीस सालको एक दिनलाई पनि उत्सवको रूपमा सम्झिए । अप्रिल क्रान्तिको एक दिन पनि उनीहरूका लागि महत्त्वपूर्ण नै बन्यो । प्रत्येक महिनाको एक दिन मात्र मान्छे महत्त्वपूर्ण भनेर सम्झिरहेको छ ।’
‘१९ नम्बर’ ले केही अवसाद र केही शोकहरूको धूवाँसहित आफ्नो समयको बयान गरेको छ । आत्महत्यामा पुगेर टुङ्गिएको शीर्ष कथा नेपाली शिक्षापद्धतिको भयावह त्रासदी त हो तर आत्महत्यालाई निर्विकल्प देखाइदिएर कथाकार स्वयम् गलत निष्कर्षको फेर समाउन पुगेका छन् । जबकि कथाको पाश्र्वमा कथावाचक पटक–पटक ब्रेख्तको अत्यन्तै आशावादी कविता ‘इन द डार्क टाइम...’ सम्झिरहन्छ । पढिरहन्छ । कथाले रोहित ठकुरीलाई अँध्यारो गल्छीमा पुर्‍याएर निरूपाय मर्न छोडिदिनु हुँदैनथ्यो भन्ने मेरो व्यक्तिगत मान्यता हो । यसका साथै अन्य अधिकांश कथा समकालका अवसाद नै हुन् । पात्रहरू कुनै न कुनै अवसादका घाउ बोकेर हिँडिरहेका छन् । कथनशैलीमा केही ठाउँमा गरिएका प्रयोग सुन्दर छन् । भाषिक मिठासका लागि कथाकार धन्यवादका पात्र छन् नै तर भाषामा गर्न सकिने चमत्कृतिका लागि प्रशस्त रिक्त स्थानहरू अझै देखिन्छन् । कथाको परम्परित, एकरेखीय र सपाट विस्तार कम्तीमा अनमोलमणि जत्तिका अभ्यस्त कथाकारसँग अब अपेक्षा गरिँदैन । पत्रकारितामा प्रचलित रिपोर्ताज शैलीका बाछिटा पनि यहाँ ठाउँ–ठाउँमा परेका छन् । यस्ता ठाउँ काल्पनिकी र ग्राह्य अतिरञ्जनाले लिनु बरु जाति हुन्छ भन्ने लाग्छ ।
नेपाली कथाले तय गरेको यात्रामा अहिले तुलना गर्दा पहिले र अहिलेका कथाका कथ्यमा त ठूलो परिवर्तन आएको देखिन्छ । यो युगजन्य परिवर्तन पनि हो । पछिल्लो समयका कथामा वैयक्तिक घेराभित्रका मनोदशा कम र समाजको चित्र बढी आएको देखिन्छ । सामाजिक यथार्थ नै आजका कथाको मूल आधार हो । तर कथाहरूले समाजको किलकिलेभित्र पसेर त्यहाँको भाषा मिहिन गरी खिपेको भेट्न अझै मुस्किल छ । व्यक्तिभित्रका उल्लास र उच्छवासको मौलिक ध्वनिको बुनोटको कुशलता पनि कमै कथाकारमा देखिन्छ । कवितामा जस्तै समयको एउटा विश्वसनीय इतिहास बन्नुपर्ने अपेक्षा तत्समयका कथाहरूमा, उपन्यास वा अन्य साहित्यमा पनि गरिन्छ । बाहिरी संसारको चित्र र ध्वनिलाई आफूभित्रको सत्यको भाषामा घोलेर नयाँ रूपमा बुन्नु र विश्वसनीय तरिकाले भन्न सक्नु कथाकारको अद्भुत कला हो । यही कला तत्समयको भावात्मक इतिहासको दस्तावेज पनि हो । आज कथा लेखिरहेका र लेख्न खोजिरहेका कथाकारसँग यो जिम्मेवारी अपेक्षित छ । अनमोलमणि त्यसबाट अछुतो रहने कुरो भएन ।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७४ ०९:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT