कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विद्यालयबाट टुसाउँदै चिनियाँ भाषा

भाषा
कूटनीतिका विज्ञहरू भन्छन्, उदीयमान विश्व शक्ति चीनलाई बुझ्न भाषाको समस्या छ । तर, अहिले नेपालका दसौं हजार स्कुले विद्यार्थी चिनियाँ भाषा सिकिरहेका छन् ।
मकर श्रेष्ठ

काठमाडौं — चिनियाँ महिला शिक्षकले चीनमा अक्षर कसरी लेखिन्छ भनेर निगालाले लेख्दै गरेको चित्र देखाइन् । अनि अक्षर लेख्ने तरिका पनि सिकाइन् । नेपाली भाषा बायाँबाट दायाँ लेखेजस्तै चिनियाँ अक्षर दायाँबाट बायाँ अनि माथिबाट तल लेखिँदो रहेछ ।

विद्यालयबाट टुसाउँदै चिनियाँ भाषा

ती शिक्षकले सुरुमा स्मार्टबोर्डमा एउटा अक्षर देखाइन् । अब कता लेखिन्छ भनेर विद्यार्थीलाई प्रश्न गरिन् । राजधानीको कलंकीस्थित एलआरआई स्कुलका दुई कक्षाका विद्यार्थीले माथि–तल, दायाँ–बायाँ भने । शिक्षकले विद्यार्थीलाई अगाडि लगेरै अब अर्को अक्षर कता हुन्छ भनेर गोलो लगाउन अह्राइन् । अनि, किबोर्ड थिचेर अर्को अक्षर निकालिन् । विद्यार्थीहरू आफूले लगाएको गोलोमा मिल्यो कि मिलेन भनेर हेर्न थाले । 

शिक्षकले लगत्तै जनावरको चिनियाँ नाम सिकाइन् । सुरुमा चिनियाँ अक्षर देखाइन् अनि तस्बिर र अंग्रेजी नाम । यसअघिको कक्षामा पनि जनावरको नाम पढाइएको रहेछ । चिनियाँ भाषामै जनावरको नाम देखाउनेबित्तिकै खुसी हुँदै विद्यार्थीले अंग्रेजी नाम भन्न हानाथाप गरे । कक्षा दुईपछि चिनियाँ भाषा पढ्ने पालो कक्षा सातको आयो । ती शिक्षकले उसैगरी विद्यार्थीलाई चिनियाँ अक्षर लेख्न लगाइन् । हरेक विद्यार्थीको अगाडि माउ पी (बासमा जनावरको भुत्ला राखेर बनाइएको ब्रस) र बोतलमा पानी थियो । विद्यार्थीहरू धमाधम चिनियाँ अक्षर लेख्न थाले । धेरैले आफ्नो नाम लेखे । एलआरआई कन्फ्युसियस क्लास रुमकी निर्देशक मिचेल सीले विद्यार्थीलाई हात समाएरै सिकाइन् । 


सात कक्षाकी आकांक्षा पाण्डेले चार कक्षादेखि नै चिनियाँ भाषा पढ्न थालेकी हुन । उनी अहिले चिनियाँ भाषामा आफ्नो परिचय दिन, परिवार, खाना र पशुपन्छीको नाम भन्न र समयबारे बताउन सक्छिन् । चिनियाँ सामान्य अक्षर पनि चिन्छिन् । ‘चिनियाँसँग सामान्य कुराकानी गर्न सक्छु,’ उनी भन्छिन्, ‘चीनको संस्कृति पनि अलि–अलि बुझें ।’ उनले आफ्नो नामको अर्थ चिनियाँ भाषामा वाङ हुवान हुनेसमेत थाहा पाइसकिन् । उनीसँगै पढ्ने सुस्मिता थपलिया चिनियाँ भाषाले आत्मबल बढाएको अनभव गर्छिन् । उक्त स्कुलमा एक हजार सात विद्यार्थीले चिनियाँ भाषा सिकिरहेका छन् । मिचेलका अनुसार उनीहरूलाई भाषा मात्र सिकाइँदैन, चिनियाँ गीत गाउन पनि लगाइन्छ । चिनियाँ नृत्य सिकाइन्छ र फिल्म पनि देखाइन्छ । चिनियाँ सामग्री अध्ययनका लागि पुस्तकालय पनि लगिन्छ । ‘विद्यार्थीले कसरी रमाइलो मानेर सिक्छन्, त्यसरी नै हरेक उपाय अपनाउँछौं,’ उनले भनिन् ।
चिनियाँ भाषा पढाउने भक्तपुर बालकोटस्थित माउन्ट भ्यू स्कुलमा कक्षा पाँचको च्छोरोल्पा सेक्सनमा चिनियाँ शिक्षक यानछ्यान नान अंग्रेजीका आज्ञात्मक वाक्यलाई चिनियाँ भाषामा कसरी बोल्ने भनेर सिकाइरहेकी थिइन् । विद्यार्थी चाख मानेर सिकिरहेका थिए । ह्वाइटबोर्डमा अंग्रेजीसँगै चिनियाँ भाषा पनि लेखिएको थियो । शिक्षकले सुरुमा भन्थिन् अनि विद्यार्थीलाई सँगसँगै भन्न लगाउँथिन् । त्यसपछि उनले विद्यार्थीलाई पालैपालो उठाएर सोधिन् । भन्न नजान्नेलाई फेरि सिकाइन् । उक्त विद्यालयमा ३ देखि ६ कक्षासम्म नियमित चिनियाँ भाषा पढाइ हुन्छ । ७ देखि १० कक्षाका विद्यार्थीलाई अनिवार्य गरिएको छैन । तर पनि इच्चुकहरूलाई सातामा दुईपटक सिकाउने गरिएको छ । 
ललितपुरको लिटिल एन्जल्सको कक्षा पाँचमा चिनियाँ अंक पढाइ भइरहेको थियो । चिनियाँ शिक्षक वेन्डीको विद्यार्थीलाई अंक सिकाउने काइदा फरक थियो । सुरुमा उनले १ देखि १० सम्म भनिन् । अनि हरेक विद्यार्थीलाई चिनियाँमै रोल नम्बर भनेर बोलाइन् । उनले बोलाएपिच्छे विद्यार्थी जुरुक्क उठ्थे । ‘विद्यार्थीलाई नै सक्रिय बनाएर सिकाउँछौं,’ उनले सुनाइन्, ‘त्यसैले विद्यार्थी पढ्न चासो दिइरहेका छन् ।’ उक्त कक्षाका विद्यार्थी एङगिस मगरलाई ९९ सम्म चिनियाँमै भन्न र लेख्न आइसकेछ । उनको भनाइ थियो, ‘मलाई सजिलो लागेको छ ।’ विद्यालयमा ४ र ५ मा चिनियाँ भाषा अनिवार्य छ । 
विद्यार्थीहरूलाई चिनियाँ भाषाप्रतिको रुचि कतिसम्म छ भने माउन्ट भ्यूमा कक्षा तीनमा पढ्ने गृष्मा श्रेष्ठले चिनियाँ भाषाको गृहकार्य–कापीमा मायाको चिह्न भएको चीनको झन्डा टाँसेकी छन् । आफ्नो देशको झन्डालाई कापीमा राखेको देखेर चिनियाँ शिक्षक दंग थिइन् । सबै गृहकार्य मिलेपछि गृष्मा पनि उत्तिकै दंग । 

***
राजधानीमा करिब सयवटा स्कुलमा चिनियाँ भाषा पढाइ हुन्छ । तीमध्ये एउटाबाहेक सबै निजी स्कुल हुन् । चिनियाँ भाषाको मोह यतिसम्म छ कि, माउन्ट भ्यूका प्रिन्सिपल राजकुमार महर्जन भन्छन्, ‘कतिपय अभिभावकले चिनियाँ पढाउनकै लागि अन्यत्रबाट बच्चा निकालेर मेरोमा भर्ना गरेका छन् ।’ लिटिल एन्जल्सका मुकुन्दराज शर्मा पनि  चिनियाँ सिकाउन अभिभाववकै जोड रहने गरेको सुनाउँछन् । 
चीन उदीयमान विश्व शक्ति मात्र होइन । हाम्रो छिमेकी मुलुक पनि हो । तर भाषाको कारण दक्षिणी छिमेकी भारतलाई बुझ्नजस्तो चीन चिन्न सजिलो छैन । त्यही भएर स्कुल र अभिभावकले चिनियाँ भाषालाई प्राथमिकता दिन थालेका हुन् । राष्ट्रसंघद्वारा सूचीकृत ६ भाषामध्ये एक रहेको चिनियाँ सिक्ने लहर नै चलेको छ । 
हामीकहाँ यसअघि फ्रेन्च, जर्मन र जापानी भाषा सिक्ने लहर थियो । एक समय रुसी सिक्ने पनि उत्तिकै थिए । चिनियाँ भाषा सिक्ने/सिकाउने लहर भने दस वर्षयता चलेको हो । राजधानीका विद्यायलमा चिनियाँ भाषा पढाउन सुरु भएलगत्तै तातोपानी नाकाका निजी स्कुलले पनि यसको सिको गरे । ०६७ देखि नै तातोपानीको मानसोवर र बाह्रबिसेको प्राइभेट प्याराडाइज स्कुलले चिनियाँ भाषा सिकाउन थालेका थिए । ‘व्यापारका लागि भाषा नभई नहुने भएपछि अभिभावककै आग्रहमा पढायौं,’ प्याराडाइजका प्रिन्सिपल बालकृष्ण श्रेष्ठ भन्छन्, ‘भूकम्पपछि पढाउन छाड्यौं ।’ 
शिक्षा मन्त्रालय र चीन सरकारबीच ०७१ असोज २९ मा नेपालमा चिनियाँ भाषा पढाउन स्वयंसेवक परिचालन गर्नेबारे सम्झौता भएको छ । ‘चिनियाँ भाषा, कला, गीत र संगीतमार्फत दुई देशमा शैक्षिक र सांस्कृतिक सहकार्य गर्न चाहेको’ सम्झौतामा उल्लेख छ ।


मन्त्रालयको तथ्यांकअनुसार ६० भन्दा बढी विद्यालयले चिनियाँ भाषा पढाउन अनुमति नै लिएका छन् । यी विद्यालयमा अध्यापन गराउन ६६ चिनियाँ स्वयंसेवक शिक्षक खटिएका छन् । थप ६ स्वयंसेवक भिसा स्वीकृतिको प्रक्रियामा छन् । सम्झौताअनुसार सय जनासम्म स्वयंसेवक ल्याउन सकिनेछ । काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस सेन्टरले पनि छुट्टै स्वयंसेवकहरू पठाउने गरेको छ । यसको तथ्यांक मन्त्रालयमा छैन ।
यीबाहेक, काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस सेन्टर र विश्वभाषा क्याम्पसमा पनि चिनियाँ भाषा पढाइ हुन्छ, जसबारे यस आलेखमा चर्चा गरिएको छैन । 
शिक्षा मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाहेक काभ्रेपलाञ्चोक, पोखरा, बुटवलका विद्यालयले समेत यो भाषा पढाउन थालेका छन् । खोटाङको सामुदायिक विद्यालयले पनि चिनियाँ भाषा पढाउन चासो देखाई मन्त्रालयसँग दुई शिक्षक मागेको छ । भारतीय शैक्षिक कार्यक्रम सीबीएसई सञ्चालन गर्ने विद्यालयहरूले समेत चिनियाँ भाषा पढाउन थालेका छन् । 
एउटा विद्यालयमा सरदर चार सय विद्यार्थीका दरले हिसाब गर्दा पनि करिब ४० हजार विद्यार्थीले चिनियाँ भाषा सिकिरहेको जानकारहरू बताउँछन् । चीनको अर्थतन्त्र मजबुत भएकाले पनि अभिभावाकहरूले छोराछोरीलाई चिनियाँ सिकाउन चाहेको प्रिन्सिपल महर्जनको बुझाइ छ । 
स्वयंसेवकलाई विद्यालयले तलब दिइरहनु पर्दैन । स्कुलले खाने, बस्ने व्यवस्था मिलाइदिए पुग्छ । नेपालमा चिनियाँ भाषा विस्तार गर्न चीन सरकारले नै तलब–भत्ता दिने गरी शिक्षक पठाइरहेको छ । ‘अभिभवाकसँग भाषा सिकाएको भनेर छुट्टै शुल्क लिंदैनौं,’ महर्जन भन्छन्, ‘कक्षा सातभन्दा माथिकालाई अतिरिक्त समयमा पढाएबापत भने शुल्क लिने गरेका छौं ।’ एलआरआईले पनि अभिभावकको अनुरोधमा आठभन्दा माथिल्लो कक्षाका विद्यार्थीलाई अतिरिक्त कक्षा चलाउने गरेको छ । 
तीन र चार कक्षाका विद्यार्थीले चिनियाँ लबज सहजै सिक्न सके पनि पाँच कक्षाभन्दा माथिका विद्यार्थीमा समस्या हुने गरेको माउन्ट भ्यूकी शिक्षक यानछयान नान बताउँछिन् । ‘ठूलो कक्षाकाले चिनियाँ अक्षरको ध्वनि नै टिप्न सक्दैनन्,’ उनी भन्छिन् । 
यी विद्यालयहरूले अरू भाषाको जस्तै चिनियाँ भाषाको पनि परीक्षा सञ्चालन गर्ने गरेका छन् ।

चिनियाँ भाषा किन पढ्ने ? 
‘चीनको उदीयमान अर्थतन्त्र र शक्तिसँगै त्यसले ल्याउने अवसर र चुनौती हामीले उपयोग गर्नका लागि उनीहरूसँग सम्पर्क बढाउन जरुरी छ । र, यसका लागि भाषा जान्न जरुरी छ,’ चीनसम्बन्धी जानकार रूपक सापकोटा भन्छन्, ‘नेपालमा चिनियाँ लगानी भित्रिने सम्भावना छ । तर, भाषाको समस्या छ ।’ भारतको तुलनामा हाम्रो चीनसँगको सम्पर्क कम भएको उनको बुझाइ छ । यसको कारण उनी भाषालाई नै देख्छन् । ‘चीनको उदाउँदो विकासबाट नेपालले लाभ लिन चिनियाँ भाषा सिक्न जरुरी छ,’ रेनमिन युनिभर्सिटी अफ चाइनाबाट चीन, भारत र नेपालको सम्बन्धबारे पीएचडी गरिरहेका सापकोटा भन्छन्, ‘युरोपमा थप अर्को भाषा सिक्दा अवसर आउने भनाइ नै छ । नेपालीले पनि अंग्रेजीबाहेक चिनियाँ भाषा सिकेमा अवसरका ढोका खुल्नेछन् ।’ 
आर्थिक शक्ति–केन्द्र बनेपछि चीनले ‘सफ्ट पावर’ का विभिन्न पक्षमध्ये भाषा, संस्कृति सिकाएर र छात्रवृत्ति प्रदान गरेर ठूलो शक्तिका रूपमा स्थापित भइराख्न चाहेको सापकोटाको टिप्पणी छ । चीनले नेपालमा १० वर्षअघि कन्फ्युसियस सेन्टर स्थापना गरेको हो । उक्त सेन्टरमार्फत तल्लो तहसम्म चिनियाँ भाषा विस्तार गर्न नसकेपछि स्वयंसेवकमार्फत विद्यालयमा सिकाउन थालिएको हो । यसरी स्वयंसेवकमार्फत विद्यायलमा चिनियाँ भाषा पढाउनु भनेको चीनले नरम शक्तिमार्फत नेपालसँंगको सम्पर्क बढाएर जनता–जनताबीचको सम्बन्धलाई निकट बनाउन चाहेको सापकोटाको बुझाइ छ । ‘कूटनीतिक र राजनीतिक विस्तार गर्न चीनले भाषा विस्तार गर्न लगानी गरिरहेको छ,’ उनी भन्छन् । 
दुई देशबीच मात्र होइन र जनता–जनताको सम्बन्ध बढाउन पनि चिनियाँ भाषा जान्न जरुरी रहेको चाइना नेपाल फ्रेन्डसिप रिसर्च सेन्टरका निर्देशक राजीव झा बताउँछन् । भाषा समस्याले दुई देशका जनताबीचको सम्बन्ध विस्तार गर्न नसकेको उनी उल्लेख गर्छन् । नेपालमा हरेक वर्ष चिनियाँ पर्यटक आउने क्रम बढिरहेको छ । उनीहरूलाई सेवा गर्न होस् वा होटलमा कुराकानी गर्न वा बिरामी परेर अस्पताल पुगेकाको दुखाइ थाहा पाउन पनि चिनियाँ भाषा सिक्न जरुरी भइसकेको उनको निष्कर्ष छ । ‘एकातिर चिनियाँ पर्यटक बढिरहेका छन् तर, हाम्रोमा पर्याप्त गाइड छैनन्,’ उनी भन्छन्, ‘अर्कातिर नेपाली नेताहरू चीन जाने गर्छन् । भाषा नभएकै कारण आफूले भन्न खोजेको कुरा प्रस्टसँग बुझाउन सक्दैनन् ।’ यसरी विद्यालय स्तरबाटै चिनियाँ पढाइ हुन थालेपछि यस्तो समस्या घट्दै जाने उनको भनाइ छ । 
चिनियाँ भाषाको प्रभाव बढ्दै गएपछि जसरी अहिले हलमा हिन्दी फिल्म चलेको छ, त्यसैगरी चिनियाँ फिल्म पनि चल्न सक्ने झा अनुमान गर्छन् । भाषाकै कमजोरीले चीनसँग व्यापार गर्ने व्यापारीले दोभाषेमार्फत काम गर्दा सस्तोमा सामान ल्याउन नसकेको अवस्था पनि हट्ने उनी बताउँछन् । पछिल्लो समय व्यापारीले पनि चिनियाँ भाषा सिक्न थालेका छन् । 

मिहिनेती शिक्षक 
विद्यालयमा खटिएका चिनियाँ स्वयंसेवक मिहिनेती र परिवारकै सदस्य भएर सहयोग गरिरहेको विद्यालय सञ्चालकहरू बताउँछन् । कक्षामा छिर्नुअघि विद्यार्थीलाई बुझाउने सामग्री तयार गर्न धेरै मिहिनेत गर्ने गरेको एलआरआई एजुकेसन फाउन्डेसनका अध्यक्ष शिवराज पन्त बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीलाई खेलाउँदै सिकाइरहेका हुन्छन् ।’ विद्यार्थीलाई के सिकाउने भन्ने शैक्षिक सत्रको सुरुमै योजना बनाएका हुन्छन् । त्यसैअनुसार ‘पाठ योजना’ बनाएर कक्षामा छिर्छन् । 

स्वयंसेवक छनोट प्रक्रिया 
चिनियाँ भाषा सिकाउन चाहने विद्यालयले शैक्षिक सत्र सुरु हुनुभन्दा नौ महिनाअघिदेखि प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । शिक्षा कार्यालय, विभाग हुँदै मन्त्रालयमा विद्यालयको निवेदन पुग्छ । मन्त्रालयले विद्यालयको माग संकलन गरेर अर्थ मन्त्रालयको सहमति लिएर शैक्षिक सत्र सुरु भएको ६ महिनाअघि नै चिनियाँ दूतावासमा पठाइन्छ । स्वयंसेककलाई गैरपर्यटकीय भिसा नि:शुल्क उपलब्ध गराउनुपर्ने भएकाले अर्थको सहमति लिनुपरेको हो । 
शिक्षा मन्त्रालयले विद्यालयको विवरणसहित चिनियाँ दूतावासमा विवरण पठाउँछ । दूूतावासले स्वयंसेवक छनोट गरेर पठाउने गरेको छ । यसअघि निजी विद्यालयमा सहजै स्वयंसेवक ल्याउन अर्थ मन्त्रालयले सहमति दिए पनि आउँदो वर्षदेखि सामुदायिक विद्यालयलाई मात्रै दिने नीति अघि सारेको छ । 

प्रकाशित : भाद्र १०, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?