कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हवाइन गितारका उस्ताद

व्यक्ति
पर्वत पोर्तेल

दार्जिलिङले अनगिन्ती स्रष्टा जन्मायो । दार्जिलिङ स्रष्टा, सर्जकको उर्वरभूमि नै हो । लामो सूचीमा संगीतकार प्रदीप दर्नालको नाम छुट्दैन । नेपाली सुगम संगीतका यी पाका साधकको पहिचान भने ‘हवाइन गितार’ ले बनायो ।

 हवाइन गितारका उस्ताद

करिब १५ करोड जनसंख्या भएको पश्चिम बंगालले हवाइन गितारका उस्ताद ठान्छ यिनलाई । यिनले हात समाएर गितार सिकाएका धेरै संगीत क्षेत्रमा जमे । केही त बिति पनि सके । ‘आफ्ना चेलाहरू ठूलो संगीतकार भएको सुन्दा भित्रैबाट खुसी लाग्दो रहेछ,’ ९५ वर्षमा हिँडिरहेका दर्नालले खरसाङको घरमा अनुभूति साटे, ‘आत्मसन्तुष्टि मिल्दोरहेछ ।’ 
कुनै समय दार्जिलिङमा गितार बजाउने मान्छे पाउनु देउता भेटे बराबरी हुन्थ्यो । गितारवादकलाई सिला खोज्नुपर्ने त्यो जमानामा स्टिल इलेक्ट्रिक गितार (हवाइन) बजाउने मान्छे पाउनु त कल्पनाबाहिरको कुरा थियो । त्यसमा पनि नेपालीलाई भेट्नु दुर्लभ नै थियो । त्यति बेलै पनि उनको नामचाहिँ अग्रपंक्तिमै आउँथ्यो । दर्नालले पहिलोपटक संगीत सुरु गर्दा संगीतप्रति आममान्छेको रुचि खासै थिएन । संगीत सुन्ने तर सिक्नचाहिँ नचाहने जमात बढी थिए । अहिले गीत संगीतको क्षेत्रमा बढेको आकर्षण र क्रेज देखेर उनी चकित छन् । ‘अहिले संगीतप्रतिको आकर्षण डरलाग्दोसँग बढेर गएको छ,’ दार्जिलिङे लवजमा यिनी बोले, ‘अन्त, यो निकै राम्रो कुरा हो नि है ।’ 
उनका समकालीनहरू क्रमश: बित्दै जाँदै छन् । लगभग सकिए भन्दा पनि हुन्छ । ‘कसैलाई कालले लग्यो, कसैलाई नेपालले,’ दर्नाल हाँसोसँगै बोले, ‘मलाईचाहिँ न कालले लग्यो, न नेपालले नै ।’ धेरैजसो समकालीन नहुँदा उनलाई एक्लो महसुस पनि हुन्छ । भावुक बने, ‘यति बेला आफूलाई एक्लो ठानिरहेको छु ।’ यो उमेरमा उनको जोस बिल्कुल तन्नेरीझंै छ । अहिले पनि बिहान र साँझ केही घण्टा नियमित रियाज गरेर मात्रै बिछ्याउनामा पल्टिन्छन् । 
***
सन् १९६७ । खरसाङको सेन्ट हेलेन्स स्कुल । जहाँ रानी ऐश्वर्य पढेकी थिइन् । यही स्कुलले आयोजना गरेको एउटा सानोतिनो सांगीतिक कार्यक्रममा दर्नालले पहिलोपटक गितार फिटेका थिए । गितार बजाउने उनको फरक शैली देखेर दर्शक छक्क परेछन् । स्कुलकी प्रिन्सिपल सिस्टर युवानाले बोलाएर भनिछन्, ‘अबदेखि तपाईंले हाम्रो स्कुलका नानीहरूलाई गितार सिकाइदिनुपर्‍यो ।’ सिस्टरको प्रस्तावलाई उनले इन्कार गर्न सकेनन् । त्यो कार्यक्रम उनको जीवनमा कोसेढुंगा सावित भयो । उनी त्यो बेला खरसाङमा ‘सेलिब्रिटी’ नै थिए । उनको लोकप्रियता यसरी चुलियो कि सिलिगुढी, जलपाइगुडीदेखिका मान्छे गितार सिक्न खरसाङ उक्लिन थाले । उनलाई भ्याइनभ्याई भयो । 
त्यो बेला रेडियो पनि थिएन । ग्रामफोन रेकर्ड र हार्मोनियन तबलाको चल्ती बढी थियो । केही हिन्दी गीत र नेपालीमा मित्रसेनको रेकर्ड मात्रै सुन्न सकिन्थ्यो । त्यो पनि निश्चित ठाउँहरूमा मात्रै । दर्नालको पहिलो संगीत रेकर्डिङ नै भारतको सरकारी टीभी च्यानल दूरदर्शनबाट भएको थियो । 
सन् १९८६ ताका दूरदर्शनको टिम उनको घर खोज्दै पुगेछ । जति बेला दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनको आगो यसरी दन्किरहेको थियो, जसरी अहिले गोर्खाल्यान्डकै लागि ‘पहाडकी रानी’ अशान्त बनेको छ । उनलाई लाग्छ गोर्खाल्यान्डको आगो अझै लामो समय निभ्नेवाला छैन । आन्दोलनकै कारण दूरदर्शनवाला टिम ‘इनडोर रेकर्ड’ गरेर फर्कियो । सुनाए, ‘आउटडोर रेकर्डका लागि मलाई बोलाइयो, कोलकाता स्टेडियममा भयो ।’ उनले पुराना र ज्यादै रुचाइएका नेपाली गीतको धुन दूरदर्शनको प्रस्तुतिमा सुनाए । धेरैको मन जिते । 
दूरदर्शनमा अवसर पाउनु दार्जिलिङे स्रष्टाका लागि खेलाँची थिएन त्यो बेला । दूरदर्शनले भर्खर सेवा सुरु गरेको थियो । हिन्दी गीत–संगीत बाक्लै बज्ने दूरदर्शनमा नेपाली संगीतको कार्यक्रम थिएन । दर्नालको श्रव्यदृश्यसहितको रेकर्डिङ नै दूरदर्शनले पहिलो नेपाली कार्यक्रमको रूपमा वर्षौंसम्म बजायो, देखायो । उनका संगीतबद्ध धुनहरू अझै पनि बेला–बेला दूरदर्शनले सुनाउँछ । त्यो सुन्दा दर्नाल भित्रभित्रै खुसी हुन्छन् । 
अल इन्डिया रेडियोले खरसाङबाट प्रसारण सुरु गरेपछि त उनी झन् लोकप्रिय बने । साहित्यकार शिवकुमार राईका धेरै गीत र रूपकहरूमा उनले संगीत भर्न पाए । जुन रेडियोका श्रोताले अत्यधिक रुचाए । अरुणा लामाका पनि केही गीतमा यिनको संगीत छ । जब अरुणा नेपाल भासिइन् संगत पातलिँदै गयो । 
सन् १९४४ ताका सर्व संगीतालय नामको एउटा संगीत स्कुल खुल्यो खरसाङमा । यो स्कुलमा त्यस बेलाका मूर्धन्य हस्तीहरू माणिकचन्द्र प्रधान, सीबी गुरुङ, टीबी रामुदामु, एनबी गुरुङहरू जोडिए । उनीहरूकै संगतबाट दर्नालले संगीतलाई तिखार्ने मौका पाए । अमर गुरुड, अरुणा लामा, गोपाल योञ्जनहरूसँग पनि उनको संगत बाक्लै थियो । तर, यी हस्तीहरू क्रमैसँग नेपाल भासिएपछि भने सम्बन्ध टुट्यो । अम्बर गुरुङ दार्जिलिङ पुगेका बखत कहिलेकाहीं उनीकहाँ पुग्थे । 
नेपाल भासिने अवसर त यिनले पनि पाएकै थिए । तर, खै किन हो, यिनको भित्री मन मानेन रे नेपाल जान । १९५० ताका पासाङ गोपर्मा, तारानाथ शर्मा उनका सहपाठी थिए । उनीहरू सेन्ट अल्फासिसमा सँगै पढ्थे । तानासँग उनको बढी घनिष्ठता थियो । ‘मेट्रिक सकेर उहाँहरू नेपाल फर्कनुभयो,’ दर्नाल नोस्टाल्जिक बने, ‘मलाई पनि जाऊँ उतै भन्नुभाथ्यो, जान मनै भएन ।’ 
  twitter : @parwatportel2

प्रकाशित : भाद्र ३१, २०७४ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?