विद्रोहका संवाहक

रुलबहादुर आले

देश र जनताको हितका लागि आफ्नो जिवनको कुनै पर्वाह नगरी नेपालका केही वीर सपूतहरूले हाँसीहाँसी फाँसीको माला पहिरिएर जीवन उत्सर्ग गरेका छन् । तिनैको बलिदानका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ ।

तिनै वीरहरूमध्ये एक हुन्— लखन थापामगर, जसले नेपाली समाजलाई सम्बोधन गरी फाँसीको माला पहिरिए । नेपालको एकतन्त्रीय निरङ्कुश जहानियाँ राणाशासनविरुद्ध आवाज उठाएकै कारण उनले मृत्युवरण गर्नुपर्‍यो । उनले त्यति बेला विद्रोहको आवाज उठाएका थिए, जति बेला जंगबहादुर राणाद्वारा स्थापित राज्यसत्ता र शासन व्यवस्था थियो, जति बेला राज्यसत्ताको विरोधमा मुख खोल्नु मात्रै पनि ठूलो अपराध मानिन्थ्यो । त्यही बलिदानका कारण उनलाई, शहादतको १३९ वर्षपछि भए पनि, राज्यले २०७२ असोज ३ मा ‘प्रथम सहिद’ को सम्मान प्रदान गर्‍यो । 

१८९१ सालमा गोरखाको बुङकोट–४, काउले (हाल सहिद लखन गाउँपालिका–७) मा सामान्य परिवारमा जन्मेका लखन थापाको बाल्यकाल भारतमा बितेको थियो । परिवार सदस्य र अन्य आफन्त त्यहाँ रहेको बेलायती गोर्खा फौजमा रहेकाले उनलाई उतै लगिएको थियो र शिक्षादीक्षा पनि उतै भएको थियो । त्यहाँ उनको बसाइ परिवारसँगै फौजको फ्यामिली क्वाटरमा भयो । फौजका विषयमा उनलाई ज्ञान हुँदै गयो । त्यो समय भारतीयहरू बेलायती शासनबाट मुक्ति पाउन लड्दै थिए । सानैदेखि तीक्ष्ण बुद्धि र निडर स्वभावका उनमा स्वतन्त्रता आन्दोलनप्रति रस बस्दै गयो । आफ्नो राष्ट्र र राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रतालाई जोगाउनुपर्ने, संवद्र्धन गर्नुपर्ने रहेछ भन्ने कुरा उनको मनमा दह्रो हुँदै गयो । त्यसैले भारतमै जागिर खाने पारिवारिक चाहना र अन्य सरसुविधालाई बेवास्ता गर्दै उनी नेपाली जनता र राष्ट्रको सेवा गर्ने उद्देश्य लिएर नेपाल आए र १९११ सालमा नेपाली सेना (पुरानो गोरख गण) मा भर्ना भए । 
लखन थापा सेनामा प्रवेश गर्दाताका जंगबहादुर राणाद्वारा स्थापित एकतन्त्रीय निरङ्कुश शासन उत्कर्षतिर बढ्दै थियो । नेपाली जनता राणाशासनविरुद्ध चुँसम्म गर्न सक्दैनथे । भित्रभित्रै भने जनतामा तीव्र असन्तोष र आक्रोश बढ्दै थियो । त्यति बेला जंगबहादुर र उनको शासनको खिलाफमा जानु भनेको काललाई निम्तो दिनुजस्तै थियो । तत्कालीन नेपाली समाजमा आहानै चलेको थियो, ‘हुकुमको जवाफ छैन, कालको ओखती छैन’ । 
लखन थापाले सैनामै रहेर पनि तत्कालीन परिस्थिति, राज्यसत्ता एवं शासकहरूको विभेदपूर्ण र अमानवीय व्यवहारलाई गम्भीरतापूर्वक मनन गरिरहेका थिए । राष्ट्र र जनताप्रति उत्तरदायी, बफादार, कर्मठ, साहसी, दूरदर्शी उनले बिस्तारैबिस्तारै सैनिक संगठन, रणकौशल, युद्ध योजना, सामरिक प्रविधिबारे ज्ञान बढाउँदै लगे । पेसाप्रतिको बफादारी, अनुशासन आदिका कारण उनी चाहेर पनि तत्काल केही गर्न सक्दैनथे । उनी हुकुमी शासनविरुद्ध जनताको स्वतन्त्रता र मुक्ति संघर्षमा लाग्न उपयुक्त अवसरको पर्खाइमा रहे । 
सन् १८५७ (१९१४ साल) मा भारतमा बेलायती उपनिवेशविरुद्ध सिपाही विद्रोह सुरु भयो । त्यो भारतमा भएको पहिलो ‘स्वतन्त्रता संग्राम’ थियो । अंग्रेजहरूको आग्रहमा अंग्रेजी सेनालाई सघाउन नेपालबाट जंगबहादुर राणाकै नेतृत्वमा नेपाली सेना लखनउ पुग्यो । त्यो फौजमा लखन थापा पनि परेका थिए । संसारभर राज गरेको अंग्रेजलाई खुसी पारी आफ्नो सत्ता सुरक्षित गर्न जंगबहादुरले अंग्रेजलाई सघाएका थिए । 
भारतीय जनताले आफ्नो राष्ट्र, राष्ट्रियता र स्वतन्त्रताका लागि गरेको अगाध त्याग र बलिदानलाई लखन थापाले प्रत्यक्ष नियाल्न पाए र त्यसबाट ठूलो शिक्षा लिए । अन्याय, अत्याचार, निरंकुशता, दमन, विभेद र उत्पीडनबाट नेपाली जनता पनि आक्रान्त भइरहेको र जनतालाई तीबाट जतिसक्दो चाँडो मुक्ति दिलाउनु अत्यावश्यक रहेको अठोट राखी उनी फौजका साथ नेपाल फर्के । त्यसअघि नै जंगबहादुरले आफ्नो शासनलाई अनुकूल हुने गरी १९१० सालमा मुलुकी ऐन ल्याई नेपाली समाजलाई तागाधारी र मतवाली वर्गमा विभाजन गरिसकेका थिए । उचनीच, छुवाछूतजस्ता अमानवीय र विभेदकारी कानुनको जग बसालिसकेका थिए । लखनउमा काम फत्ते गरी फर्केपछि उनी झन् गर्वोन्मत्त भए ।
तत्कालीन अवस्थामा नेपाली जनता शिक्षा, सचेतना, जागरणजस्ता विषयबाट टाढा थिए । देशको समग्र शासन व्यवस्था मुठीभर राणाहरूमा केन्द्रित थियो । देशभर राणाहरूका आसेपासे, धुपौरेहरूको बिगबिगी थियो, जसले सोझासीधा जनतामाथि हुकुमी शासन कार्यान्वयन गराउन सहयोग गर्थे ।
देश र जनताले भोग्नुपरिरहेको यस्तो असहज परिस्थितिलाई हृदयंगम गरी लखन थापाले सेनाको जागिर छाडे र आफ्ना साथी जयसिंह चुमीका साथमा गोरखाको बुङ्कोटतर्फ लागे । त्यहाँ उनले १९२७ सालदेखि नेपाली जनतालाई राणा शासनविरुद्ध उचाल्दै र संगठित पार्दै लगे, जहानियाँ शासनविरुद्ध लाग्न आवाज बुलन्द पारे । यसरी त्यस्तो चुनौतीपूर्ण कालखण्डमा राणा शासनविरुद्ध नेपाली जनताका तर्फबाट पहिलोपटक विद्रोहलाई वाणी दिने काम लखन थापाले गरे । 
लखन थापाले तत्कालीन परिस्थति, समाज, जनभावना र परिवेशलाई राम्ररी अध्ययन गरेका थिए । उनको विद्रोह दूरगामी, रणनीतिक, योजनाबद्ध र व्यवस्थित थियो । धार्मिक, सामाजिक, सैन्यलगायत सबै क्षेत्रको सूक्ष्म अध्ययन गरेर त्यहीअनुरूप रणनीति बनाई, किल्ला खडा गरी उनी अगाडि बढ्दै गए । जातीय भेदभाव र छुवाछूत, मूर्तिपूजामा विश्वास नगर्ने अनि राजा र प्रजालाई समान दृष्टिले हेर्ने नेपालको पुरानो सन्त परम्परा मानिने जोसमनी धर्मको प्रचार–प्रसार गर्ने क्रममा उनले जंगबहादुरका कुकृत्यहरूको भण्डाफोर गर्दै जनमत बढाए । धर्मप्रति अगाध आस्था र विश्वास राख्ने नेपाली जनताको समर्थन जुटाउन उनले किल्ला परिसरभित्र मनकामना माईको मन्दिरसमेत स्थापना गरे । जहाँ बाहिरबाट हेर्दा पूजाआजा गरिन्छ भन्ने लाग्थ्यो भने, भित्र गोप्य रूपमा भक्तजनहरूसँग जंगबहादुरको खिलाफमा बैठक गर्ने, योजना तय गर्ने काम हुन्थ्यो । 
लखन थापाले प्रजातान्त्रिक शासन व्यवस्थाको आधारभूत राजनीतिक दस्तावेज लेखेर गोरखाको बुङ्कोटमा किल्ला बनाएर सैन्य दस्तासमेत तयार गरे । उनी २ हजारभन्दा बढी जनतालाई आफ्नो दस्तामा सहभागी गराउन सफल भए । त्यो दस्ताका लागि कवाज खेल्ने, तारो हान्ने, सैन्य तालिम गर्ने, खानेबस्ने सबै बन्दोबस्त किल्लाभित्र थियो । किल्ला परिसरमा ढुङ्गेधारा र पोखरी बनाइएको थियो । यो नै नेपाली जनताको सहभागितामा जंगबहादुरविरुद्ध बनेको पहिलो वैकल्पिक सत्ता थियो । 
‘जंगबहादुरले नेपाल म्लेच्छ (अंग्रेज) लाई बेच्यो, दुनिञालाई त्राहित्राहि पारिरहेको छ, जंगबहादुरलाई हटाई नेपालमा सत्य युग फिराउ भनेर मलाई मनकामना माताले वरदान दिएकी छन्, लौ भाइ हो तयार होओ’ भन्दै उनी जनतालाई राणातन्त्रविरुद्ध एकजुट भई विद्रोहमा लाग्न आह्वान गर्थे । 

Yamaha

चतुर जंगबहादुरले आफ्नाविरुद्ध गोरखाको बुङ्कोटमा सैन्य दस्ता खडा भई विद्रोहको तयारी भइरहेको थाहा पाइहाले । त्यो विद्रोह तुरुन्तै दबाउन आदेश थिए । फलस्वरूप जंगबहादुरकै कान्छा भाई धीरशमशेरको नेतृत्वमा देवीदत्त गण बुङ्कोटमा पुग्यो । जंगबहादुरको सेना र लखन थापाको सेनाबीच लडाइँ सुरु भयो । लखन थापाको सेनासँग गोली, खाद्य सामग्री र अन्य आवश्यक वस्तुको सीमितता थियो । लडाइँ तन्किँदै गएपछि उनीहरूको रासनपानी र गोलीगट्ठाको मौज्दात सकिँदै गयो । लखन थापा र उनका सहयोगीहरू पक्राउ परे ।
आत्मसमर्पण गर्न नमानेकाले लखन थापा र उनका सहयोगीहरूलाई फलामे पिँजरामा कैद गरी अत्यन्त क्रूरतापूर्वक काठमाडौंको थापाथली दरबार पुर्‍याइयो । उनीहरूलाई अनेक यातना दिई माफीपत्रमा हस्ताक्षर गर्न भनियो । तर लखन थापा, जयसिंह चुमीलगायत कोही पनि राणा शासकअघि झुक्न चाहनेनन् । अन्तत: लखन थापासहित उनका सहयोद्धाहरूलाई गोरखाकै बुङ्कोटस्थित काहुलेमा लगियो । १९३३ फागुन २ गते त्यही किल्ला परिसरमा सबैभन्दा पहिले लखन थापालाई बर्बरतापूर्वक छाला काढी झुन्ड्याइयो । त्यसपछि जयसिंह चुमीसहित अन्य चार जनालाई पनि सोही किल्ला परिसरमा फाँसी दिइयो । 
यसरी हुकुमी शासनको विरोध र प्रजातन्त्रका पक्षमा संघर्ष गर्ने लखन थापा र उनका साथीहरूले एकै दिन, एकै स्थानमा शहादत प्राप्त गरे । उनले बीजारोपण गरेको प्रजातान्त्रिक अभियानलाई स्थापित गर्ने क्रममा १९९७ सालमा शुक्रराज शासत्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले शहादत प्राप्त गरे । तिनै सपूतहरूको बलिदानको जगबाट २००७ सालमा १०४ वर्ष लामो एकतन्त्रीय जहानियाँ राणाशासनको विधिवत् अन्त्य भयो र नेपालमा प्रजातन्त्रको स्थापना भयो । तिनै महान् सहिदहरूको वीरता, साहस र योगदानका कारण आज नेपाली जनताले स्वतन्त्रतापूर्वक बस्न, बोल्न, हिँडडुल गर्न र चाहेको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक कार्य गर्न पाइरहेका छन् । 
(लेखक प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् ।)

Esewa Pasal

प्रकाशित : आश्विन ७, २०७४ १०:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT