२५० वर्षका २५

आधुनिक नेपाल राज्य निर्माण सुरु भएयता समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका प्रतिनिधि पात्रहरू
पुरुषोत्तम सुवेदी

विश्वमा विरलै देश यस्ता छन्, जसको क्यालेन्डरमा ‘राष्ट्रिय स्वतन्त्रता दिवस’ छैन । हामी तिनैमध्येमा पर्छौ, जो कहिल्यै पराधीन भएनौं । तर नागरिक स्वतन्त्रताका लागि आफ्नै देशका शासकविरुद्ध भने हामीले पटक–पटक लड्नुपर्‍यो ।

यो भूखण्डका अन्य कैयौं मुलुकहरूले जस्तो सार्वभौमसत्ता गुमाउनु नपरेको गौरव पनि हामीलाई उपलब्ध छ । यो बिनाकसैको कर्म वा ‘आफ से आफ’ प्राप्त भएको चाहिं होइन । यसका पछाडि कैयौं व्यक्तित्वहरूको योगदान छ । कैयौंको बलिदान जोडिएको छ । यसरी राष्ट्र निर्माण गर्न योगदान दिने तिनै असंख्य व्यक्तिहरूमध्ये केही प्रतिनिधि पात्रहरूलाई सम्झने प्रयत्न हो— कोसेलीको यो विशेष अंक ।
नेपाली राज्यको सयौं वर्षे इतिहास धान्ने धरोहरहरू सबैको नाम अखबारका केही पृष्ठमा एकैपटक अटाउन सम्भव छैन । त्यसैले आधुनिक नेपाल राज्य निर्माण सुरु भएयता समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका केही प्रतिनिधि पात्रहरूलाई हामीले यहाँ समेटेका छौं । अर्को साता पृथ्वीनारायण शाहले तत्कालीन कान्तिपुर राज्य जितेर आधुनिक नेपालको जग हाल्न थालेको २ सय ५० औं वर्ष प्रवेश हुँदै छ । उसबेला पृथ्वीनारायणले मुलुकको एउटा भौगोलिक प्रारूप कोर्ने काम गरेका थिए । त्यो ‘हार्डवेयर’ मा समयक्रममा ‘सफ्टवेयर’ हरू थप्दै जाने काम अरू कैयौं सपूतहरूले गरे । तिनैको सत्कर्मको फल हो आजको नेपाल । यहाँ हामीले यही २ सय ५० वर्षका २५ प्रतिनिधि कर्मवीरहरूको योगदानलाई सम्झेका हौं ।
पक्कै पनि, विकसित मुलुकहरूको दाँजोमा हामी आधुनिक विकासको सवालमा निकै पछाडि परेका छौं । मतलब यो होइन कि हामीले कत्ति पनि पाइला चालेका छैनौं । अकण्टक स्वतन्त्र राष्ट्रका रूपमा मात्र होइन, राजनीतिक तथा सामाजिक जागरण र नागरिक चेतनाका दृष्टिले हामी उत्तिकै अगाडि छौं । गत नोभेम्बरमा अमेरिकामा ४५औं राष्ट्रपति पदको निर्वाचनमा हिलारी क्लिन्टन पराजित भइन्, विश्वकै शक्तिशाली लोकतन्त्रले फेरि पनि पहिलो महिला राष्ट्रपति पाउने अवसर गुमायो । हामीले भने त्यसको एक वर्षअगावै विद्यादेवी भण्डारीलाई गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित गरिसकेका थियौं । संसद्मा महिला प्रतिनिधित्वका सवालमा हामी दक्षिण एसियामै अग्रस्थानमा छौं । गणतान्त्रिक नेपालको संविधानले राजनीतिक अधिकारहरूको मात्र सुनिश्चितता गरेको छैन, शिक्षा र स्वास्थ्यलाई पनि मौलिक हकका रूपमा स्थापित गरेको छ । प्राथमिक विद्यालय भर्नाको समुदायगत अन्तर निरन्तर घट्दै छ । यी त प्रतिनिधि उदाहरण मात्र हुन्, अरू कैयौं सवालमा हामी प्रगतिपथमा छौं । 
यी सब उपलब्धि एकाएक सम्भव भएकाचाहिं होइनन् । यहाँसम्मको बाटो पहिल्याउनमा ज्ञात–अज्ञात असंख्य व्यक्तित्वहरूको प्रेरणादायी भूमिका छ । इतिहासमा नाम अंकित भइसकेकाहरू मात्र होइन, इतिहासले भुलेकाहरूको योगदानलाई पनि सम्झेर कदर गर्नु हाम्रो दायित्व हो । हामीलाई थाहा छ, राष्ट्र निर्माणको महाभियान सामूहिक योगदानको प्रतिफल थियो । त्यस क्रममा समाजका विविध क्षेत्रको अगुवाइ गरेका व्यक्तित्वहरूमध्येबाट हामीले केही अनुहारहरू यहाँ प्रस्तुत गरेका छौं । चाहे सामाजिक आन्दोलन होस् या प्रगतिशील आन्दोलन, सबैका नेतृत्वकर्तामध्ये हामीले केहीलाई मात्र समेट्न सकेका छौं । यस्तै, भाषा साहित्य र अन्य बौद्धिक फाँटमा योगदान पुर्‍याएका पनि केहीलाई मात्र स्थान दिन सकेका छौं । अर्थतन्त्र, समाजसेवा र अन्य थुप्रै क्षेत्रमा योगदान दिनेहरूमध्येबाट पनि हामीले केही प्रतिनिधि पात्रलाई मात्र अटाउन सकेका छौं । 
हामीलाई विश्वास छ, विद्रोही अभियन्ता योगमायालाई सम्झिँदा राणा शासनको परिधिभित्र पनि सामाजिक सुधारका कार्य गर्ने प्रधानमन्त्री चन्द्रशमशेरप्रति पनि न्याय हुनेछ । लौहपुरुष गणेशमान सिंहलाई सम्झिँदा सँगै लामो आन्दोलन लडेका कृष्णप्रसाद भट्टराईको पनि कदर हुनेछ । मदन भण्डारीलाई सम्झिँदा पुष्पलाल श्रेष्ठदेखि मनमोहन अधिकारीसम्मको पुस्तालाई सम्मान पुग्नेछ । साहना प्रधानलाई सम्झँदै गर्दा साधना अधिकारी र मंगलादेवीदेखि शैलजा आचार्यप्रति पनि कृतज्ञता झल्कनेछ । रामसागर–रामस्वरूपलाई सम्झिँदा बालगुरु षडानन्दप्रति पनि आदर पुग्नेछ । प्रथम सहिद लखन थापाको नाम लिँदा राणाकालका चार सहिद हुँदै दुर्गानन्द झादेखि रत्नकुमार बान्तवासम्मको पुस्ता समेटिनेछन् । रामलाल गोल्छाको योगदान खोतल्दा मणिहर्ष ज्योतिदेखि जुद्धबहादुर श्रेष्ठसम्मलाई सम्मान दिइएको ठहर्नेछ । महेशचन्द्र रेग्मीको विपरीत धारको प्राज्ञिक योगदान केलाउँदा डोरबहादुर विष्टको भूमिकालाई पनि स्मरण गरेको रूपमा बुझिनेछ ।
सूची बनाउँदै जाने हो भने इतिहासमा यस्ता थुप्रै नामहरू भेटिन्छन्, जो उत्तिकै स्मरणीय र बन्दनीय छन् । यी सबैका प्रतिनिधि पात्रका रूपमा मात्र हामीले यहाँ २५ व्यक्तित्वहरूलाई अगाडि सारेका हौं । हाम्रो अपेक्षा छ, आधुनिक नेपालको निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याइआएका अरू थुप्रै नामहरूमाथि भविष्यमा थप बहस हुँदै जानेछ । नेपाल निर्माताहरूको नाम थपिँदै आउनेछ । कान्तिपुरको यो प्रयास यस क्षेत्रमा एउटा थालनी मात्र हो । 

 

Yamaha

Esewa Pasal

प्रकाशित : आश्विन ७, २०७४ ११:४२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मिनी ब्राजिलका भकुन्डे

चार दशकभन्दा बढी फुटबललाई दिइसकेका राजुकाजी शाक्य नेपालले यस क्षेत्रमा हासिल गरेका प्राय: सबै ठूला अन्तराष्ट्रिय उपलब्धिसँग जोडिएका छन् ।
पुरुषोत्तम सुवेदी

नेपाली फुटबल इतिहासमा टाकुराको व्यक्ति को हो ? उत्तरमा कुनै एकको मात्रै नाम लियो भने पक्कै वस्तुगत हुँदैन । तर भन्छन् नि— नाम होस्, बदनाम नहोस् । यस्तै, कुनै विवादमा नपरीकन सफलताको शिखर चुमिरहेको व्यक्तिका रूपमा भने पहिलो नम्बरमा प्राय: सबैले एकै जनालाई सम्झन्छन्, ती हुन् राजुकाजी शाक्य ।

चार दशक फुटबलमा बिताइसकेका शाक्यलाई भने यसमा कुनै दम्भ छैन । भन्छन्, ‘यत्ति हो, मैले जीवनमा भकुन्डोबाहेक अर्को सोचिनँ ।’ 

मान्छे कस्तो बन्छ भन्नेमा ऊ हुर्किएको वातावरणले धेरै हदसम्म फरक पार्छ । यस्तै भयो शाक्यको जीवनमा पनि । उनको गृहनगर धरानको माहोल नै फुटबलमय थियो । मिनी ब्राजिल नै भनिन्थ्यो यसलाई । टोलैपिच्छेजसो राम्रा–राम्रा मैदान थिए । खेलहरू भइरहन्थे । यसै सहरमा ५५ वर्षअघि जन्मिएका शाक्य सानैदेखि खालि खेल्नमै मन दिन्थे । डल्लो पायो कि खुट्टाले हानिहाल्थे, कागजको होस् या कपडाको ।
विद्यालयमा हरेक शुक्रबार खेलकुद प्रतियोगिता हुन्थ्यो । शाक्य सबै खेल खेल्थे । हाइजम्पदेखि टेबलटेनिससम्म । भलिबलका पनि नामी खेलाडी थिए उनी । टेबलटेनिसमा त नम्बर एक नै । यस्तैमा उनलाई लाग्यो— कुनै एउटा खेल रोज्नुपर्छ, जे खेले पनि । उनले फुटबल नै रोजे, जसको धरानमा राज थियो । आफ्नो छनोटलाई उनले यतिसम्म आत्मसात् गर्न चाहे कि, घरमा भएको टेबलटेनिसको ब्याट नै भाँचिदिए । 
धरानमै थियो ब्रिटिस क्याम्प । पूर्वसेनाका छोराहरू अधिकांश फुटबल खेल्थे । शाक्यले माध्यमिक तह पढेको पब्लिक हाइस्कुलको मैदान निकै राम्रो थियो । उनका सिनियरहरू राम्रो खेल्थे । आफ्ना नातिनातिना खेलेको हेर्न हजुरबुवाहरू आउँथे, घरबाटै कार्पेट र मुडा बोकेर । ‘त्यो मैदानमा छिर्न पाउँदा नै विश्वकपको रंगशाला पसेको जस्तो लाग्थ्यो,’ शाक्य सम्झन्छन्, ‘बाहिर गएको बल टिप्नलाई नै ४–५ जनाको लुठाइन पथ्र्यो । बल टिपेर ड्याङ हान्न पाइयो भने खेलै जितेको जस्तो लाग्थ्यो ।’ 
पछि बिस्तारै शाक्यले आफ्नो खेल देखाउने मौका पाए । अनि त सिनियरहरूको नजरमा परिगए । उनका दाइ पूर्णकाजी पनि राम्रो खेल्थे । राम्रो खेल्दै गएपछि दाजुभाइलाई नै ‘बोरो’ बोलाउन थालियो । अर्थात् अर्को टिमले बोलाएर खेलाउन थाल्यो । सुरु–सुरुमा कापी बाजी । एक दर्जन कपी बाजी खेलेको उनी अझै सम्झन्छन् ।

लेखान्तै फुटबल
भक्तपुरबाट सुनको काम गर्न भारतको खर्साङ पुगेका थिए शाक्यका हजुरबुवा । कान्छीआमा भएकाले उनको बुवाले दु:ख पाए । बेलायती सेनामा भर्ना भएर दोस्रो विश्वयुद्ध लडे । जापान, जर्मनी र इटालीसम्म पुगे । पछि घरमा आएका बेला हजुरबुवाले सेनामा फर्कन दिएनन् । अनि उनका बुवा खर्साङ छोडेर धरान आई घरजम गरे । राजुकाजी शाक्य त्यहीँ जन्मिए । ५ दिदीबहिनी, ३ दाजुभाइमा यिनीचाहिँ माहिला । त्यसरी हजुरबुवाले बुवालाई सेनामा फर्कन नरोकेको भए के हुन्थ्यो ? ‘अहिले हङकङ आईडीवाल भइन्थ्यो,’ उनी अनुमान गर्छन् । तर नेपाली खेलकुदले उनलाई पाउँथ्यो पाउँदैनथ्यो, त्यो भन्न मुस्किल छ । 
आफूले दु:ख पाएको भन्दै उनका बुवा जति बेलै पढ्न कर गरिरहन्थे । खेलेर केही पाइँदैन, ‘तेरो मामाले के पायो’ भन्थे । उनका मामा बिन्दु शाक्य पनि राम्रा स्ट्राइकर थिए त्यो बेलाका । तर राजु फुटबलमा पागल थिए । बरु पिटाइ खाइरहे तर भागेरै भए पनि खेल्न छाडेनन् । 
उनको परिवारको सुनको पसल थियो । उनका दाजुभाइले गहनामा राम्रो ‘फिनिसिङ’ निकाल्थे । उनी भने मरिगए ‘फिनिसिङ’ निकाल्न सक्दैनथे । ‘दाजु–भाइ औंठी पनि राम्रो बनाउँथे । म भने फुली पनि सयमा ६० वटा बिगार्थें,’ अहिले आएर उनलाई लाग्छ, ‘मेरो लेखान्त नै फुटबलमा रहेछ । त्यही भएर न बाबुआमाले भने जसरी पढें, न पारिवारिक पेसा नै राम्ररी सिकें ।’ 
१४–१५ वर्षको भएपछि त शाक्यलाई फुटबल लत नै बन्यो । जहाँ पुगे पनि बेलुकी ४ बजे पब्लिक हाइस्कुलको मैदान आइपुग्ने । फुटबलको नशा यतिसम्म थियो कि, खेलकै धुनमा झन्डै एसएलसीको फर्म भर्नै छुटाएका । पढाइमा भन्दा फुटबलमा ध्यान दिएकोमा बुवाले नामै राखिदिए— भकुन्डे । अरूले पनि त्यसै भन्थे ।
 पछि राष्ट्रिय टोलीमा परेपछि मात्र हो उनले बुवाको स्याबासी पाएको । ‘पैसा नकमाए पनि नाम कमाइस् भन्नुहुन्थ्यो, खुसी नै हुनुभयो,’ उनले भने ।

राष्ट्रिय टोलीसम्मको यात्रा
त्यति बेला धरानमा सिनियर खेलाडीहरू एकदमै राम्रा थिए । यतिसम्म कि पछि आएर सुपरस्टार बनेका यिनले त्यति बेला धरानको पहिलो रोजाइको टिमबाट कहिल्यै खेल्न पाएनन् । ‘बी’ टिमबाट खेले । जोक प्रधान, राम राई, विलियम राईलगायतका खेलाडी भने पहिलो टिममा थिए ।
एसएलसी पास गरेपछि शाक्य प्रहरीमा भर्ना हुन काठमाडौं आए । गृहमन्त्री थिए इनरुवाका होमबहादुर श्रेष्ठ । असइ हुन आईए पास चाहिन्छ भनेपछि उनी धरानै गएर पढ्न थाले । फुटबल यतिसम्म लाग्यो कि, भरेको परीक्षा फाराम उनको गोजीमै रहयो । एक वर्ष त्यत्तिकै गुमाए ।
त्यस बेला अन्तरक्याम्पस प्रतियोगिता हुन्थे । त्यसमा जित्न थालेपछि भने शाक्य हिरो भए । सबैले चिन्न थाले । जनकपुरलगायतका सहरले उनलाई ‘बोरो’ गर्न थाल्यो । कोसीका उनी सगरमाथा अञ्चलबाट काठमाडौं आएर बर्थ–डे कपसमेत खेले । एक पटक त सगरमाथाबाट आफ्नै गृहअञ्चल कोसीविरुद्ध पनि भिडे विराटनगरमा २०३५ सालमा । 
 शाक्य बर्थ–डे कप खेल्न राजधानी आएकै ताका जनकपुर चुरोट कारखाना आफ्नो फुटबल टिम बनाउँदै थियो । सिनियर खेलाडीहरूलाई प्रस्ताव आइरहेको सुनेपछि शाक्यले पनि चाहना व्यक्त गरे । ‘तिमीजस्तै युवाको खाँचो छ’ भन्दै उनलाई राख्ने बताइयो । ब्याइज युनियनसँग हारेपछि शाक्य साथीहरूसँगै धरान गए । त्यसको तीन दिनमा जनकपुर चुरोटका प्रतिनिधिहरू उनीहरूलाई लिन उहीं पुगे । कत्रो आपत् ! उनलाई घरबाट जानै दिइएनन् । रोकेको रोक्यै गरियो । तर उनले आफ्नो फुटबल सपनाको अगाडि घरको आग्रह स्विकारेनन् । लाहुरेजस्तै एउटा झोला भिरेर निस्किए ।
चुरोट कारखानाले खेल मन पराएपछि जागिर दियो, ज्यालादारी । दैनिक ५ रुपैयाँ । त्यही पनि हाजिर भएको दिन पाक्यो, नत्र भोकै । त्यही बेला एक दिन शाक्यकी आमा तीर्थयात्रामा जनकपुर पुगिन् । छोरालाई भेटिन् । उनको कोठामा एउटा दरीबाहेक अरू केही थिएन । त्यो हविगत देखेर आमाले मन दुखाइन््, रोइन् र भनिन्, ‘घर हिडिहाल बाबु । हाम्रो परिवार यति गएगुज्रेको छैन नि, तँलाई राम्रै खुवाउन सक्छौं ।’ तर उनी फर्कन मानेनन् । पछि आमाले भाँडाकुँडा, ओछयान र झुल किनिदिएर गइन् । उनी जनकपुर नै बसेर फुटबल खेलिरहे ।
०३८ सालमा शाक्यले राष्ट्रिय खेलकुदमा जनकपुर अञ्चलबाट खेले र तेस्रो भए । त्यति बेला राजाबाट पुरस्कार पाउनु निकै ठूलो कुरा ! उनले त्यो अवसर पाए । अझ रमाइलो त, यही प्रतियोगिताले नै शाक्यको खेल जीवनको ढोका उघारिदियो । उनी खेल सकेर जनकपुर के फर्किएका थिए, हाकिमले बोलाएर खुसीको खबर सुनाए— उनी फुटबलको राष्ट्रिय टिममा छानिएछन् । 
राष्ट्रिय टोली सिक्किममा गभर्नर्स गोल्डकप खेल्न जाँदै रहेछ । उनले त्यही रात ढल्केवरमा उक्त टोली चढेको बस पक्रनुपर्ने भयो । उनी ५० रुपैयाँ तिरेर जनकपुरबाट २८ किलोमिटर टाढाको ढल्केवर रिक्सामै पुगे, बेलुकी ९–१० बजे । तर सुत्ने–वर्ने केही छैन । उनी लामखुट्टे पट्काउँदै बसिरहे । गाडी आउने बिहान ४–५ बजे । तर, उनले हरेक बस नियाल्न छाडेनन्, छोडेर गइहाल्छ कि भनेर । काठमाडौंका मान्छेले जिल्लाको खेलाडीलाई गन्दैनन् कि भन्ने लागिरहयो ।
बिहानपख एउटा गाडी आयो, आरसीटीका एक खेलाडीले ‘ए राजु’ भनेर बोलाए । उनी निकै उत्साहित भए । बस चढ्दा त सबै एक से एक खेलाडी– रूपकराज शर्मा, गणेश थापा, कृष्ण थापा, लोकबादुर शाही । सबै रेडियो कमेन्ट्रीमा नाम सुनिएकाहरू । उनी सबलाई नमस्ते गर्दै लास्ट सिटमा गएर बसे, अरू जुनियर खेलाडीसँगै । जुनियर भएकाले सिक्किममा उनले खेल्न भने पाएनन्, बेन्चमै रहे । 
त्यसपछि शाक्य सोझै काठमाडौं आए । यहाँ ट्रेनिङ सुरु भयो । त्यति बेलै सहिद स्मारक लिग पनि चलिरहेको थियो । उनलाई आरसीटीबाट खेल्न प्रस्ताव आयो । तर उनले आरसीटीकै भगिनी क्लब अन्नपूर्णबाट खेले । उनको लिग जीवन पनि सुरु भयो । त्यसपछि शाक्यको करिअर–गाडी अविराम अगाडि बढिरहयो, जहाँ नेपाली फुटबलका कैयौं ठूलठूला कोसेढुंगाहरू ठडिए, अझै ठडिइरहेका छन् । 

१७ वर्षको खेलाडी जीवन
राष्ट्रिय टिमबाट शाक्यले औपचारिक खेलमा ६८ क्याप जिते, जुन नेपाली फुटबलरको कीर्तिमान पनि हो । यो १७ वर्षको दौरान यी डिफेन्डरको व्यक्तिगत जीवनका लागि मात्र होइन, मुलुककै लागि सम्झनलायक रहयो । साफ गेम्स (हाल साग) मा नेपालले दुईपल्ट स्वर्णपदक जित्यो । सन् १९८४ मा स्वर्ण जित्दा शाक्य खेलाडी थिए भने १९९३ मा कप्तान । यही बीचमा सागमै नेपालले १९८५ मा कांस्य र १९८७ मा रजत हात पार्‍यो । यसरी उनले सातपल्ट साफ गेम्स खेल्दा मुलुकको पोल्टामा चार पदक पर्‍यो ।
हरेक जितले दिने खुसीलाई स्वाभाविक मान्छन् शाक्य । तर ९३ को क्षण अलि फरक भएको अनुभव छ उनको । उनको कप्तानीमा खेल जितेकोले मात्र होइन त्यति बेलाको परिस्थितिले नै यो पदक विशेष थियो । बंगलादेशमा भएको सागमा नेपालले आस गरेका कुनै पनि खेलमा स्वर्ण पदक जितिरहेको थिएन । अन्तिममा फुटबल बाँकी थियो, जसमा नेपाल फाइनलमा पुगेको थियो । सबै पदाधिकारीले चाहिरहेका थिए— यो खेलबाट चाहिं जसरी भए पनि स्वर्ण आओस् । त्यसैले फुटबल खेलाडीलाई भयानक दबाब थियो । खेलको अघिल्लो मध्यरातमा खेलकुद पदाधिकारीले शाक्यलाई कोठामा बोलाएर भने, ‘राजु, जसरी पनि जित्नुपर्छ । फुटबल जितेपछि साफ गेम्स नै जितेजस्तो हुन्छ ।’ उनी ‘प्रयास गर्छौं’ भनेर फर्किए । नभन्दै नेपालले जित्यो ।
निकै प्रतिस्पर्धात्मक खेल थियो त्यो । सुरुमा भारतले गोल हान्यो । नेपालले फर्कायो । भारतले अर्को गोल थप्यो । नेपालले फेरि बराबरी गर्‍यो । टाइब्रेकरमा पनि त्यस्तै भयो । नेपालले लगालग दुइटा ‘मिस्टेक’ गर्‍यो । त्यति बेला नेपालले हार्‍यो भन्ने भइसकेको थियो । तर भारतीय खेलाडीले पनि त्यति नै ‘मिस’ गरे । अन्तत: ‘सडनडेथ’ मा भारतले मिस गर्‍यो, नेपालले गोल । ‘यसरी उक्त साफ गेम्समा नेपालले फुटबलको स्वर्ण के जितेको थियो पूरै खेलकुद नै जितेजस्तो भयो,’ शाक्य आज सम्झँदा पनि रोमाञ्चित हुन्छन्, ‘मेरो कप्तानीभन्दा पनि देशले जितेको मलाई बढी खुसी थियो, त्यो पनि भारतलाई हराएर ।’ त्यति बेला त्यहाँ डाक्टर पढिरहेका कैयौं नेपालीको शिर ठाडो भएको उनी सम्झन्छन् । स्वदेशमा खुसियाली उस्तै ।
यस अवधिमा नेपालले कति हार पनि बेहोर्‍यो । ती पराजयहरूलाई शाक्यले दुई वर्गमा बाँडेका छन् । एउटा उपलब्धि, अर्को असफलता । मर्डेका कपमा अर्जेन्टिनाको क्लबसँग ३–० र अल्जेरियाको राष्ट्रिय टिमसँग २–० को हारलाई उनले उपलब्धि नै मानेका छन् । किनकि त्यति बेला अल्जेरियाले मैत्रीपूर्ण खेमला जर्मनीलाई ३–० ले हराएको थियो । त्यस्तै दक्षिण कोरियाको ओलम्पिक टोलीसँग अन्तिम पलको फ्रि–किकमा १–० ले हारेको खेललाई पनि उपलब्धि मान्छन् उनी । ‘उनीहरूसँग हामी सक्दैनथ्यांै । हाम्रो स्तर नै के थियो र ? तर पनि ज्यान दिएर खेल्थ्यौं,’ उनी स्विकार्छन्, ‘रूपक दाइलगायतले जुनियरहरूलाई निकै प्रोत्साहन गरिरहन्थे । हामीसँग जे थियो, त्यही गोर्खाली जोश थियो ।’ 
जापानको हिरोसिममामा १९९४ मा आयोजित एसियन गेममा नेपाललाई विश्वकप खेलेको दक्षिण कोरियाली टिमले ११ गोल गर्‍यो । यसलाई भने बिर्सनलायक मान्छन् शाक्य । ‘मेन टु मेन गरेर खेल्दा पनि त्यति धेरै गोल खाइयो । कति दिन त भात पनि खान मन लागेन,’ उनी त्यति बेलाको याद गर्छन्, ‘तर रूपक दाइ हरेस नखान भनिरहन्थे— हेर केटा हो हामी सक्दैनौं, हाम्रो स्तर नै छैन । खालि हामीले गोल मात्रै बढी खाएका हौं ।’ 

भारतलाई उसकै भूमिमा हराउने प्रण
सन् १९९३ मा बंगलादेशमा भारतलाई हराएर स्वर्ण पदक जित्दा शाक्यले प्रतिज्ञा गरेका थिए— भारतलाई फाइनलमा उसकै मैदानमा पराजित गर्ने । १९९७ मा उनले खेलाडीबाट अवकाश लिए, त्यो लक्ष्य त्यत्तिकै रहयो । तर फरक भूमिकामा त्यो अठोट गत वर्ष पूरा भयो, त्यो पनि एकदमै एउटा खास समयमा । पालमुनि जीवन धानिरहेका भूकम्पपीडितहरू भारतको नाकाबन्दीले निसास्सिरहेको अवस्थामा । यस्तो बेला नेपालले फाइनलमा भारतलाई उसकै भूमि गुवाहटीमा हरायो । यो जितले देशविदेशका सबै नेपालीलाई खुसी हुने ठूलो अवसर दियो । र, यति बेला नेपाली टोलीको प्रमुख प्रशिक्षक थिए, यिनै शाक्य । संयोग कस्तो भने नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्दा दुवैमा जोडिएका व्यक्ति यिनै भए ।

‘अनलक्की’
नेपाललाई तीन अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाइसकेका शाक्य केही पाउन भनेर फुटबलमा लागेका थिएनन् । तर कतिपय अवस्थामा सरकारले वचन पूरा नगरेकोमा भने आफूलाई ‘अनलक्की’ मान्छन् । १९९३ मा स्वर्ण जित्दा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले उनलाई भनेका थिए— सबैलाई त सक्दैनौं, तर तिमीलाई गोरखा दक्षिण बाहु (गोदबा) दिलाउँछौं । र, प्रत्येक खेलाडीलाई ३–३ लाख दिन्छौं । शाक्यका अनुसार सरकारले १–१ लाख दिने र अरू अन्यत्रबाट जुटाउने भनिएको थियो । तर नेपाल आएपछि २५–२५ हजार पो दिने भनियो । ‘मैले लिन्नौं भने । त्यसपछि ५०–५० हजार दिइयो,’ उनी भन्छन्, ‘त्यो पनि राजाको हातबाट दिने भनिएपछि हामीले विरोध गर्न सकेनौं ।’ र, गोदबा पनि दिइएन । अझ त्यो टिम निर्माण गर्दा सुरुमा राजनीतिक कारणले आफूलाई छुटाउनै खोजिएको नमीठो क्षण पनि स्मरण गर्छन् उनी । 
उनी १९९९ को आठौं साफ गेम्समा शाक्य सहायक प्रशिक्षक थिए । नेपालले रजत पदक जित्यो । तर उनलाई पदक नै दिइएन । त्यति बेला सबै खेलाडीलाई गोदबा दिइयो तर उनले फेरि पाएनन् । त्यो बेला कांस्यवालालाई पनि गोदबा दिइएको उनी बताउँछन् । यस्तै, जापानमा भएको एसियन गेम्स १९९४ मा मुलुकको झन्डा शाक्यले बोक्न पाउनुपथ्र्यो, देशको सबैभन्दा वरिष्ठ खेलाडी भएकाले । तर दौरा–सुरुवाल लगाएर हिरोसिमा रंगशालामा छिरेपछि मात्र उनले थाहा पाए— झन्डा अरू कसैले बोक्दै छ । त्यति बेला आफ्नो चित्त धेरै दु:खेको उनी सुनाउँछन् । त्यति बेला दावा गुरुङले झन्डा बोकेका थिए । ‘तर देशका लागि झगडा गरिएन । मेरो पालामा मात्र हो, त्यसरी वरिष्ठले बोक्न नपाएको,’ उनी गुनासो गर्छन् ।
तत्कालीन शाही नेपाल वायु सेवा निगम (आरएनएसी) बाट ९ वर्ष खेल्दा स्थायी नगरिएकोमा पनि उनको दुखेसो छ । साफ गेम्समा स्वर्ण जितेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चियापानमा बोलाए । खेलाडीहरूलाई समस्या के छ भनेर सोधे । शाक्यले आफूलगायत पुलिस, आर्मीजस्ता क्लबबाट खेलिरहेका साथीहरूलाई स्थायी गरे ढुक्कले खेल्न सकिने बताए । करिअरको चिन्ता भएन भने देशका लागि मरेर खेल्ने उनको भनाइ थियो । त्यति बेला आरएनएसीमा आफ्नो आन्तरिक परीक्षा भइरहेको पनि उनले सुनाए । प्रधानमन्त्रीले ‘भइहाल्छ नि राजु’ भनेर ३ पटक धाप पनि मारे । तर उल्टो जागिर गयो । ‘यो अन्यायले त म देश छोडेर भाग्नुपर्ने !’ उनी भन्छन्, ‘तर खेल्न पाए मलाई केही नचाहिने, कसरी फुटबलबाट बाहिर निस्कन सक्थें र ?’

अनुशासन र मिहिनेतको मिश्रण
शाक्य आफूलाई अनुशासित, मिहिनेती र प्रशिक्षको माग बुझ्ने खेलाडीका रूपमा मूल्यांकन गर्छन् । ‘कोचको माग पूरा गर्‍यो भने उसले आफूलाई छोरा बनाउँछ,’ खेलाडी र कोच दुवैको भूमिकामा उनको मन्त्र उही छ, ‘उद्देश्य सबैको जित्ने भए पनि कोचहरूको आ–आफ्नै शैली हुन्छ ।’ 
फुटबलबाहेक संगीत सुन्ने, नाटक र सिनेमा हेर्ने सोख पनि थियो शाक्यमा । युवाकालमा उनी हरेक शनिबार प्रज्ञा प्रतिष्ठान, नाचघरमा नाटक हेर्न जान्थे । सिनेमा पनि उस्तै हेर्थे । गीत सुन्न ‘पागल नै थिएँ’ भन्छन् उनी । कुनै गीत मन परे क्यासेट किनेरै सुन्थे । राष्ट्रिय गीत त कण्ठै गर्थे । आखिर स्कुल पढ्दा दीप श्रेष्ठका चेला न परे उनी । 
खेलकुदको अनुशासन जीवनका सबै क्षेत्रसँग जोडिने शाक्यको बुझाइ छ । घरमा उनी ‘हाउस हजब्यान्ड’ पनि हुन् । खाना बनाउने, कपडा धुने झाडु लगाउने सबै काममा पत्नीलाई सघाउँछन् । ससुरालीमा मात्र होइन पाँचतारे होटलमा पनि आफ्नो प्लेट उठाउन नहिच्किचाउने उनी बताउँछन् । 
घरबाट लामो समय बाहिर एक्लै बस्दा पनि अनुशासनकै कारण मर्यादित जीवन जिएको उनको भनाइ छ । छोरो बाहिर एक्लै बस्दा बिग्रन्छ कि भन्ने ठूलो डर थियो उनको घरमा । ‘तर मैले घरमा वाचा गरेको थिएँ— जाँडरक्सी खान्नँ र केटीसित लाग्दिनँ,’ उनी सुनाउँछन्, ‘मलाई एकदम डर पनि थियो दायाँबायाँ लागेर म बिग्रिन्छु कि भन्ने ।’ लामो कपाल पालेका सिनेमाको हिरोको जस्तो हुलिया भएका यिनलाई कैयौं युवतीले पछयाए पनि, तर त्यतातिर बरालिएनन् । बिहे पनि खेलाडी जीवनबाट अवकाश लिएपछि मात्र गरे ३८ वर्षको उमेरमा । अहिले एउटा छोरा र एउटी छोरी छन् उनका । काठमाडौंमा सुरुमा समकालीन खेलाडी किरण राईको घरमा उनी १४ वर्ष छोराजसरी बसेका थिए । आफ्नो जीवनमा त्यो घरको गुण पनि बिर्सिनसक्नु भएको उनी बताउँछन् ।
 
देशका लागि
एन्फाले खोलेको एकेडेमीका सुरुआती कालका प्रशिक्षक शाक्यले अहिले आफ्नै एकेडेमी खोलेका छन् । जहाँ उनी दुई दर्जन बालबालिकालाई फुटबल सिकाउँछन् । 
बंगलादेशमा दुइटा क्लबबाट गरी चार वर्ष व्यावसायिक लिग खेलेका शाक्य कोहीप्रति पनि नकारात्मक छैनन् । सकारात्मक भएर हेरे सफल भइने उनको विश्वास छ । भारतले पनि सागमा स्वर्ण नजितेको दुई दशक भइसकेको उनी स्मरण गर्छन् । भन्छन्, ‘अब टार्गेट एसियन गेम्स हुनुपर्छ । थाइल्यान्ड, फिलिपिन्स, यमनलाई जित्न बिस्तारै अगाडि बढ्नुपर्छ ।’ उनको विश्वास छ— योजना भए सकिन्छ, खालि त्यहीअनुसारको सुविधा हुनुपर्छ । उच्चस्तरीय टिमसँग खेल्न पाउनुपर्छ । एक्सपोजर चाहिन्छ । ‘स्पेन, इङल्यान्डमा जस्तो सुविधा चहिंदैन तर देशले सक्ने जति त देओस्,’ उनी भन्छन् । देशका लागि आधा दर्जन अन्तर्राष्ट्रिय पदक दिलाएका उनको गुरुमन्त्र छ, ‘जन्मेपछि मरिन्छ । आफ्ना लागि जसले पनि गर्छ । अरूका लागि गर्नुपर्छ । देशले देओस्–नदेओस्, हामीले देशलाई दिनुपर्छ ।’ यसरी बोल्दाबोल्दै दुई मुठ्ठी उचालेर उनी आफ्नै कुमतर्फ उज्ज्याउँछन्, र चिच्याउँछन्– ‘राष्ट्र्रऽऽऽ ।’ अनि बिस्तारै बोल्छन्, ‘पहिले यसरी चिच्याउँदा हाम्रो जीउको सबै नसा फुलेर आउँथ्यो । अहिलेका खेलाडीमा पनि यस्तै भाव हुनुपर्छ ।’

प्रकाशित : फाल्गुन ७, २०७३ ०९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT