कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिसीभित्र कला

फोटो
प्रशान्त माली

सीभित्र पनि कला ! असम्भवजस्तो लाग्ने यस किसिमको कलाका प्रयोगकर्ता हुन् पाटनका विभूषण नवीन ताम्राकार । तिच्छुगल्ली, मंगलबजारका ४१ वर्षीय उनले अहिलेसम्म ४५ वटाभन्दा बढी सिसीभित्र कला भरिसकेका छन् ।

सिसीभित्र कला


काम नलाग्ने रक्सीका बोतलभित्र उनले आकर्षक सिंहदरबार, राजदरबार, पशुपति मन्दिर, जनकी मन्दिर, रानीपोखरी, काष्ठमण्डप, पाँचतले मन्दिर, तलेजु भवानी देवी मन्दिर बनाएका छन् । काम नलाग्ने अण्डामा राजा र रानीको तस्बिर, सिसीभित्र घर, पुल, गाउँ परिवारको प्रकृति इत्यादि पनि बनाएका छन् । 


कसरी भर्छन् त उनले सिसीमा आफ्नो कला ? ‘सुरुमा सिसीको नापजाँच गर्छु । सिसीभित्र कस्तो प्रकृतिको मन्दिर अट्छ, अनुमान गर्छु,’ उनले सुनाए, ‘त्यसपछि पहिला बनाउन लागेको मन्दिर वा भवनको प्रतिमूर्ति तयार पारेर त्यसलाई स–साना टुक्रामा विभाजित गर्छु । टुक्राहरूलाई चिम्टाको सहयोगले सिसीभित्र पुर्‍याई भित्र जडान गर्छु ।’


ताम्राकारले जलेका चिम, फुटेर फ्याँकिएका विभिन्न आकारका सिसी, काठलाई सफा गरेर त्यसभित्र कलात्मक कला सिर्जना गर्दा उनलाई रमाइलो लाग्छ । सुरु–सुरुमा यस किसिमको एउटा कला बनाउन उनलाई एक महिनाभन्दा बढी लाग्थ्यो । अहिले सातामै बनाउँछन् । यी कला बेचेर उनले आम्दानी पनि गर्छन् । ‘मूर्ति हेरी एउटाको ५ हजारदेखि ४० हजार रुपैयाँसम्म लिन्छु,’ उनले भने, ‘यस्ता कला सिर्जना गर्न धैर्य र मिहिनेत धेरै लाग्छ ।’


ताम्राकारका कलाकृति उपहारको रूपमा अमेरिका, जापान, नर्वे, थाइल्यान्ड, बंगलादेश, भारत र कोरियामा समेत जाने गर्छन् । ‘निकट भविष्यमै आफूले सिर्जना गरेको कलालाई सबैको सामु प्रदर्शन गर्ने लक्ष्य लिएको छु,’ उनले भने । उनले रूखको मुढामा स्वर्गीय राजा वीरेन्द्रको परिवारलाई कलात्मक हिसाबले बनाएका छन् । स्वर्गीय राजपरिवारको तस्बिर अंकित उक्त मूर्तिको टाउकोमा भगवान् बुद्धको चित्र कोरिएको छ । बुद्धको मूर्तिले शान्तिको कामना गर्न खोजिएको उनको भनाइ छ । ‘सिर्जना आफैंमा ठूलो कुरो हो,’ ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले भने, ‘त्यसमा पनि विभूषणको शैली फरक छ ।’ अध्यक्ष ताम्राकारले कलाका लागि इन्जिनियरको ज्ञान चाहिने र त्यो ज्ञान विभूषणसँग भएको बताए । 


लगनखेलस्थित नमुना मच्छिन्द्र माविका २०४९ ब्याचका उनले मानविकीमा आईएसम्म पढेका छन् । सुरुमा उनको रुचि कला क्षेत्रमा थिएन । खेलकुदमै राम्रो गर्ने सोच थियो । उनले फुटबलमा ‘ए’ डिभिजनसम्म खेलेका थिए । ‘जन्डिसले लामो समय थला परेपछि कला क्षेत्रमा प्रवेश गरेका हुन् । ‘बिरामी निको भएपछि पाटनका नरेश ताम्राकारको सल्लाहमा ब्याडमिन्टन खेल्न सुरु गरें,’ उनले भने । ब्याडमिन्टनमा पनि उनी कृष्णमोहन स्मृति, यल कप, सिर्जनशील कपलगायत ताम्राकार समाजद्वारा आयोजित विभिन्न कपहरूमा विजयी भएका छन् । उनी पौडी पनि राम्रो खेल्ने गर्छन् ।


कला क्षेत्रमा लागेर ‘खासै पैसा कमाउन नसके पनि नाम कमाएकोमा’ उनी खुसी छन् । पेन्टिङमा उनले दुइटा राष्ट्रिय पुरस्कार जितिसकेका छन् ।

 

प्रकाशित : आश्विन २१, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?