कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुइँमान्छेबारे लेखिएको अग्लो किताब

पुस्तक
मोहन मैनाली

२०६९ सालमा नेपालका दैनिक पत्रिकामा प्रधानमन्त्री बाबुराम भट्टराई मुसहर, दलित, थारू आदि उत्पीडित मानिसहरूका घरमा बास बस्न पुगेको समाचार छापिएका थिए । यो समाचार अहिले पनि धेरैले सम्झन्छन् । तर कति समाचार छापिँदैनन्, छापिइहाले पनि त्यस्ता समाचारको सम्झना मानिसलाई हुँदैन तर ती दूरगामी महत्त्वका हुन्छन् ।

 भुइँमान्छेबारे लेखिएको अग्लो किताब

जस्तै, बाबुराम प्रधानमन्त्री भएकै बेला सुनसरीको एउटा स्कुल व्यवस्थापन समिति विद्यार्थीका अभिभावकले छान्न पाउनुपर्छ भनी सुरु भएको आन्दोलनमा मुसहर र थारू महिला कुटिए । कुटाइबाट एक जना मुसहर महिलाको गर्भ पतन भयो । कुट्नेमध्ये केहीले आफूलाई प्रधानमन्त्रीको पार्टीका मानिसको आशीर्वाद भएको दावी गरेका थिए । यसपछि भएका घटनाले यस कुराको पुष्टि गरे किनभने गर्भपतन हुने गरी कुट्नेहरूलाई कुनै सजाय भएन । कुटिनेहरू थुनिए, धम्क्याइए ।

पत्रकार यज्ञशले लेखेको किताब ‘भुइयाँ’ मा यो र यस्ता कुराको वर्णन विस्तारमा गरिएको छ । ‘जुन पार्टी र शक्ति थारू मुसहरको अधिकारका लागि लडेको थियो, त्यही पार्टीको नाममा सावित्री र सुलो सदालाई धम्की आउन थाल्यो,’ यस घटनाका बारेमा यज्ञशले लेखेका छन् ।

यज्ञशको किताब ‘भुइयाँ’ छापिँदै छ भन्ने सुन्दा मलाई लागेको थियो नेपाली साहित्यमा अर्काे एउटा उपन्यास थपिने भएछ । उपन्यासको जगजगी भएका बेलामा यज्ञशले पनि उपन्यास लेखेछन् ।

किताब विमोचनका दिन थाहा पाएँ ‘भुइयाँ’ उपन्यास होइन रहेछ । यज्ञशले यस किताबमा सम्पूर्ण जीवन जग्गामा निर्भर भएर पनि एक इन्च पनि जग्गा आफ्नो नभएका, नेपालका सबैभन्दा कमजोर वर्गका मानिसको दु:ख र जग्गा पाउनका लागि तिनले गरेका संघर्षको चित्रण गरेका छन् । यसो गर्ने क्रममा उनले नेपालका राजनीतिक दलहरूको कुरूप तथा बहुरूपी चरित्रलाई पनि उदाङ्गो पारेका छन् ।

‘भुइयाँ’मा यज्ञशले यस्ता मान्छेका वास्तविक कथा लेखेका छन् जसले भोग्नुपरेका घटना सुन्दा पत्यार लाग्दैन किनभने ती कल्पनै गर्न नसकिने खालका थिए ।

प्रकाशकले ‘भुइयाँ’लाई गैरआख्यान अर्थात् यो आख्यान होइन मात्र भनेका छन् । गैरआख्यानअन्तर्गतको कुन विधा हो भनेका छैनन् । यात्रा संस्मरण, अनुसन्धान, जीवनीजस्ता विविध विधाको संयोजन भएकाले यसलाई कुनै एउटा विधामा नबाँधेको हुन सक्छ । खासमा ‘भुइयाँ’ समाज विज्ञानको किताब पो रहेछ । तर यसो भनेर पाठकले तर्सनु पर्दैन किनभने यसको प्रस्तुति बेजोडको छ । नेपालका राजनीतिक दलहरूले आफ्ना मतदाताका सानातिना तर जायज आकांक्षालाई कसरी वास्ता गरेनन् र तिनले आफ्ना मतदाताको विश्वास कसरी गुमाए भन्ने कुरा ‘भुइयाँ’मा संकेत गरिएको छ । पहिले नेपाली कांग्रेस, त्यसपछि नेकपा (एमाले) अनि माओवादीलाई विश्वास गरेका एक जना मानिसका कुरा यसरी लेखिएको छ, ‘...यसपछि आए माओवादी । माओवादी सबैभन्दा कडा थिए । सबैभन्दा पहिला यिनै भाँचिए । अहिले त सर, यसो हेर्दा म सबै पार्टी अरूका नै देख्छु । सबै सरकार मात्रै देख्छु । जति पार्टी छन् ती सबै सरकार हुन्, शासक हुन् ।’

माओवादीले अन्यायमा परेका सामान्य मानिसको त कुरै छाडिदिउँ आफ्ना कार्यकर्तासमेतलाई कसरी निराश बनाएको छ भन्ने उदाहरण पनि छ किताबमा । किताबमा लेखिएको छ, ‘जमिनदारसँग क्षतिपूर्ति दिलाउने कुरा भएको थियो । त्यो बेला माओवादीले सबै जिम्मा लियो । क्षतिपूर्ति हामी दिलाउँछौँ भने प्रशासनलाई पठाइदियो, अहिलेसम्म क्षतिपूर्ति दिएको छैन ।’

किताब पढ्दा लाग्छ— राजनीतिक दलहरू आफू सत्तामा पुग्न न्यायका कुरा गर्छन् । उनीहरू जब सत्ता वा सत्ताको नजिक पुग्छन् तब अन्यायबाट सबैभन्दा बढी पिसिएका मानिसलाई बेवास्ता गर्छन् ।

सम्पूर्ण रूपमा जग्गामा निर्भर रहेका कति जना मानिसको जग्गा नहोला ? यज्ञशले निकालेको हिसाबअनुसार कैलालीमा ४० हजार जति होलान् । एक परिवारमा ५ जना हुन्छन् भन्ने सामान्य हिसाब निकाल्दा कैलालीमा ८ हजार परिवार भूमिहीन हुन्छन् । हरेक परिवारलाई आधा बिघा जग्गा दिँदा पनि ४ हजार बिघा जग्गाले पुग्दो रहेछ । कैलालीमा मासिन लागेको वन फाँडेर यति जमिन दिइयो भने पनि त्यहाँ प्रशस्त वन बाँकी रहला । यसरी हेर्दा भूमिहीनको समस्या धेरै ठूलो रहेनछ ।

यसो नहुँदा भूमिका नाममा थरीथरीका आन्दोलनका भएका छन् । तीमध्ये कति सफल भए, कति आंशिक रूपमा सफल भए । कतिचाहिँ असफल भए जसले भूमिहीनको अवस्था झन् खस्कायो । धेरै ठाउँका यस्ता आन्दोलनलाई लगातार केही वर्षसम्म हेरिसकेर यज्ञश भन्छन्, ‘अधिकारका सबै लडाइँले उपलब्धि नदिने पनि रहेछन् । सलमाले भरपाई माग गर्नु जायज थियो तर उनले कमाइरहेको जग्गासमेत गुमाइन् । आन्दोलनमा लाग्न उकास्ने तर त्यसलाई पार लगाउन नसक्नेहरूसँग सलमा रिसाएकी छन् । यसमा माओवादी र अधिकारवादी दुवैथरी पर्छन् ।’

भूमिहीनताको अन्त्यका लागि उपायको संकेत पनि उनले एउटा प्रसंगमा गरेका छन् । जस्तै, मुक्त कमलरीलाई पढाउने र खाने बस्ने सुविधा भएको स्कुल । सबै भूमिहीनका सन्तानले स्तरीय शिक्षा र शिक्षा आर्जन गरुन्जेल खान–बस्न पाउने हो भने अर्काे पुस्ताले केही हात जमिनमा शरण लिनका लागि यसअघिका पुस्ताले जस्तो जीवन दाउमा राख्नुपर्ने थिएन ।

यज्ञशले जसका बारेमा लेखेका छन् उनीहरूलाई पटक–पटक भेटेका छन् । यसबीचमा उनीहरूको जीवन के कसरी फेरियो वा फेरिएन भन्ने हेरेका छन् । विभिन्न दृष्टान्त हेरेर उनले एक वा दुई वाक्यमा निचोड प्रस्तुत गरेका छन् । ती निचोडका एकाध दृष्टान्तका हकमा मात्र होइन समग्र नेपाली समाजका हकमा सत्य सावित छन् । लेखकले चाहिने ठाउँमा तथ्यांक राखेका छन् तर तिनलाई एकै ठाउँमा थुपारेर पाठकलाई वाक्कदिक्क बनाएका छैनन् । रोचक प्रसंगका बीचमा राखेर पाठकलाई थाहै नदिईकन तथ्यांक र तिनले दिने सन्देश सुनाएका छन् ।

यज्ञश सुन्दर वाक्य कुँद्छन् । यस किताबमा पनि उनले त्यसो गरेका छन् । भुइयाँ पढ्दा लाग्छ— सुन्दर लेखन कुनै विधाविशेषको एकाधिकार होइन । लेख्न जान्ने मान्छेले जुन विधा छोयो त्यसैलाई सुन्दर बनाउँछ । उनका केही सुन्दर वाक्य संयोजन :

दजेह एउटा अग्नि कुण्ड हो, जसमा जिउँदा जाग्दा केटीहरूको हवन हुन्छ ।

मानिस त्यतिखेर पछि रहँदैन, जब उसमा चेतना आउँछ ।

बाढी एकपटक आयो, पालकी चढ्ने भक्त बारबार आउँछन् ।

कतै–कतै ठाउँको वर्णन भने अलमल्याउने खालको छ । जस्तै, धनगढी पुगेर कञ्चनपुरको वर्णन गर्छन् अनि धनगढी र कञ्चनपुरबीचको ठाउँका मान्छे भेट्न जान्छन् । इटहरीबाट पाठकलाई धरान पुर्‍याउँछन् र त्यहाँ वर्णन गर्छन् धरानभन्दा तल्तिर बसेका मान्छेको ।

यज्ञशले भनेका छन्, ‘विसं १४३६ मा जयस्थिति मल्लका पालादेखि छुवाछुतलाई कानुनी संरक्षण दिइएको मानिन्छ ।’ मेरा विचारमा यो कानुनी संरक्षण मात्र होइन कानुनी संरक्षणभन्दा कठोर कुरा थियो किनभने त्यतिबेला छुवाछुत गर्नेले कानुनी संरक्षण मात्र पाएको थिएन । छुवाछुत नगर्नेलाई कठोर जरिवाना गरिन्थ्यो । कानुनी संरक्षण शब्दावलीले छुवाछुतसम्बन्धी प्रावधानको निर्दयताको व्याख्या गर्न सक्दैन ।

यस्ता सानातिना कुराको क्षतिपूर्ति यज्ञशले प्रस्तुतिमार्फत् दिएका छन्– कुनै प्रसंग आउँदा त्यसभन्दा अघिपछिका कुरा जोडेर । जस्तै, रसुवाकी पुतली तामाङको कथा भन्दै जाँदा उनी पुतलीले जग्गाको लालपुर्जा पाएको कुरा बताउँछन् । र हामीलाई सम्झाउँछन्– त्यतिबेला माधव नेपाल प्रधानमन्त्री थिए ।

यसअघि माधव नेपालका बारेमा बलदेव रामले गरेको मूल्यांकन बताउने क्रममा यज्ञशले भनेका हुन्छन्– यिनका लागि चाहिँ बलदेवसँग धेरै प्रिय शब्द छैनन् ।

यस प्रसंगमा आएपछि यज्ञश भन्छन्, ‘मैले अचानक बलदेव रामलाई सम्झिएँ । माधव नेपालकै पालामा पुतलीले लालपुर्जा पाएको खबर पाएदेखि उनी नेपालसँग अलि कम रिसाउँथे कि ?’

लेखकले एउटा निरर्थक आशा गरेका छन् जस्तो लाग्छ मलाई । उनले भनेका छन्, ‘...संघीय संरचनाले सरकारहरूलाई अलि नजिक पुर्‍याउनेछ भन्नेमा आशावादी पनि ।’ सरकारलाई नजिक पुर्‍याएपछि निर्धा मानिसले अधिकार पाउलान् भन्ने आशा उनमा झल्कन्छ । तर उनले किताबभर उदाहरण दिएर के प्रस्ट पारेका छन् भने भूमिहीनका अधिकार खोस्न, उनीहरूलाई दबाउन स्थानीय ठालुहरूको हात छ र संघीय संरचनामा, तिनलाई नियन्त्रण गर्ने दलमा यिनै ठालुहरूको वर्चस्व छ । यस्ता बेलामा सरकार नजिक आइपुग्दा दमितहरूले झन् डराउनुपर्ने हुन्छ ।

‘भुइयाँ’ नेपाली समाजको यस्तो ऐना हो जसमा सबैभन्दा पिल्सिएको वर्गको दु:ख देख्न सकिन्छ, उनीहरूका त्यस्ता दु:ख निवारण गर्छु भनेर राजनीति गर्नेले अझ दु:ख दिएको पनि प्रस्ट हुन्छ ।

प्रकाशित : आश्विन २८, २०७४ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?