कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म र मेरा बाको कथा

रचनागर्भ
विप्लव प्रतीक

काठमाडौं — मेरो उपन्यास कुनै दिन प्रकाशन होला भनेर मैले कहिल्यै कल्पना गरिनँ । किनभने, त्यो मेरो विधा होइन भन्नेमा मेरो मन र मस्तिष्क दुवैको सहमति थियो । केही कथा लेख्ने जाँगर भने यदाकदा चल्थ्यो । तर, लेखेका कापीहरू मैले सुरक्षित राख्न सकिनँ ।

म र मेरा बाको कथा

त्यसो हुनुमा मेरो लापरबाही थियो या त्यो कथाको नियतिमै हराउनु लेखिएको थियो, मैले अहिलेसम्म जान्न पनि खोजेको छैन । लेखिएका रचना हराएपछि मैले त्योसँग फेरि सम्बन्ध गाँस्न चाहिनँ ।

उपन्यास लेख्न भने मलाई छवर्षे अमेरिका बसाइँको बेलामा नै जाँगर चलेको हो । भर्जिनियाको जेम्स मुनरो हाइवेको छेउमा केही महिना बस्दा उपन्यास लेख्न सुरु गरेँ । पहिलो खण्डभन्दा अगाडि कलम सार्नै सकिनँ । मन–मस्तिष्कले आफ्नो पूर्वसहमतिपत्र सम्झायो । मैले त्यो सोचलाई त्यहीँ त्यागिदिएँ । खेस्रा कोरिएको फाइलपछि हरायो । मैले सायद त्यसको बारे केही नसोचेकाले नै त्यो आफैं बिलायो ।
भर्जिनियाको केही महिनाको बसाइँपछि म विस्कन्सिन गएँ । जहाँ पुगेर साथीभाइ भेटेपछि उही कुरा चल्थ्यो, ‘के गर्दै छस् ? के लेख्दै छस् ?’ लेख्न मरिसकेको जाँगर त्यहाँ साथीहरूको स्नेही करकापका कारण 
फेरि बौरियो । 
केबारे लेख्ने ? मनमा अनेक तर्कनाहरू थिए । लाग्यो बाबारे लेख्छु । अधिकांशका झैं मेरा बा पनि मेरा नायक थिए । बाका बारे केही सुनेको र केही देखेको विषयमा केही कल्पना मिसाएँ अनि केही आफ्ना अनुभव घुसाएँ । योपटक भने कतै अड्किनँ । तर पनि अमेरिका घुम्दै–डुल्दै दसौं खण्ड पुग्न मलाई चार वर्ष लाग्यो । अन्तिम खण्ड वा क्लाइमेक्सले भने मलाई धुरुक्कै पार्‍यो । केही फुर्दै फुरिरहेको थिएन ।
त्यत्तिकैमा म भिन्न प्रकारको अमेरिका दर्शनमा निस्किएँ, अठारपाङ्ग्रे ट्रक चढेर । पहिलो चरणको यात्रा एरिजोनाको नगालसबाट बफेलोसम्म तय थियो । त्यहाँबाट म बसमा सिकागो पुगें । साथी पल्पसाको घर बन्यो मेरो आश्रयस्थल ।
एक दिन सबै जना काममा गएका थिए । म घरमा एक्लै थिएँ । त्यहीँ मलाई उपन्यासको अन्तिम खण्ड फुर्‍यो । तर मसँग त्यहाँ ल्यापटप थिएन । नौलो घरमा धुइँपत्ताल मारेर केही खेस्रा फुलिस्केप कागज र डटपेन भेट्टाएँ र मनमा आएको क्लाइमेक्सको टिपोट बनाएँ । अब टिपोटलाई विस्तारमा लेखेसँगै मेरो उपन्यास सिद्धिन्थ्यो ।
ट्रक यात्राको दोस्रो चरण सुरु भयो । आयोवा, नेब्रास्का, वायोमिङ, युटा, नेभाडा, क्यालिफोर्निया, न्यू मेक्सिको र ओक्लाहोमा हुँदै म टेक्सस फर्किएँ । मलाई सधैं उपन्यास सिध्याउन झकझकाई रहने भीम कार्कीजीलाई मैले अन्तिम खण्डको टिपोटका बारे सुनाएँ । त्यसपछि उनलाई झनै निहुँ मिल्यो । झन् बढी करकर गर्न थाले । अहिले सम्झिन्छु, ‘तपाईँले उपन्यास सिद्धाएको दिन खसी काट्छु,’ भनेर भीमजीले मलाई ‘प्रेसर’ दिन सुनाएका थिए । एक दिन मैले पनि उनलाई ‘सरप्राइज’ दिएँ– उपन्यास सिद्धिएको खबर सुनाएँ । अन्तत: लगभग चार वर्षपछि २४ सेप्टेम्बर सन् २०१३ को दिन मंगलबार बिहान १०:४२ उपन्यास लेखिसिद्धियो ।
भीमजीले खसी काट्ने कुरा ख्यालख्याल गरेका होइन रहेछन् । उनले खसी काट्नलाई शुक्रबारसम्म पनि कुरेनन् । भोलिपल्ट नै छुट्टी लिए र मेरो उपन्यास सिद्धिएको उपलक्ष्यमा सानो पार्टी नै दिए । 
त्यसपछि म काठमाडौं फर्किएँ । यहाँ बसेर मैले यस उपन्यासलाई निकैपटक पढेँ, ‘रिभिजिट’ गरें । आफ्नो सानो अंश अरूसँग बाँड्न निकै कठिन हुँदो रहेछ । त्यसैले पनि यो उपन्यास सिध्याउन र सबैसामु ल्याउन यतिका वर्ष लाग्यो– बाको कुरा, मेरो कुरा र समाजको कुरा । यस उपन्यासमा भएका कथाहरूका विषय यिनै हुन् । तर, ती विषयभित्र लुकेका मेरा भावना, मर्म, आदर्श र खुसीहरू ‘अविजित’ पढ्ने जोकोहीलाई पनि आफ्नैजस्तो लागोस् भन्ने ध्येय पनि उपन्यास चाँडो नसिद्धिनुको अर्को कारण हो ।
‘अविजित’ को भोगाइले त्यो कालखण्डका धेरैको भोगाइको प्रतिनिधित्व गर्ला वा नगर्ला म भन्न सक्दिनँ । र, भनिन्छ, ‘फ्याक्ट्स आर स्ट्रेन्जर द्यानफिक्सन’ । यसमा केही स्ट्रेन्ज देखियो भने त्यसलाई फ्याक्ट मान्न म पाठकहरूलाई अनुरोध गर्दछु । उपन्यास मेरो वा मेरा बाको जीवनसँग मात्रै ती मेल खान्छन्, कसैको जीवनमा मेल खान गएमा त्यो आश्चर्यजनक संयोग मात्र ठहरिनेछ ।

प्रकाशित : कार्तिक ११, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?