कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका बिनाको विश्वकप

फुटबल
सुवास हुमागाईं

काठमाडौं — विश्वमानचित्रको कुल क्षेत्रफल र जनसंख्या दुवैमा संयुक्त राज्य अमेरिका शीर्ष तीन स्थानमा पर्छ । तर उही अमेरिका विश्वको लोकप्रिय खेल फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा भने छनोट हुन सकेन । सन् २०१८ मा रुसमा हुने फिफा विश्वकप प्रतियोगिताको लागि अमेरिका छनोट चरणमै बाहिरियो ।

 अमेरिका बिनाको विश्वकप

३० वर्षयता लगातार विश्वकपमा छनोट हँुदै आएको अमेरिका यसपटक छनोटबाट अगाडि बढ्न सकेन ।

छनोटको अन्तिम खेलमा अमेरिकाले विश्व वरीयताको ९९ औं स्थानमा रहेको ट्रिनिडाड एन्ड टोबेगोको सामना गरेको थियो । उक्त खेलमा बराबरी गरे छनोट पक्का हुने भए पनि अनुकूल नतिजा नआउँदा अमेरिकाको विश्वकप यात्रा सफल हुन सकेन । अमेरिका पराजित भएको खण्डमा होन्डुरस वापानामाले नजितेको भए छनोटमा अमेरिकाको अझै आशा रहन्थ्यो । तर, दुवै टोलीले जितेर आफूअनुकूल नहुँदा अमेरिका विश्वकपमा नहुने पक्का भयो ।
सन् १९८६ मा चार दशकको अन्तरालपछि विश्वकपमा फर्किंदा उसले ट्रिनिडाडलाई पराजित गरेको थियो । यसपटक अमेरिकाको विश्वकप छनोट हुने आशामा पूणविराम लगाउने उही ट्रिनिडाड बन्यो । यसअघिका दुई दशकमा अमेरिका छनोटका अन्तिम चरणको खेलअगाडि नै विश्वकपमा छनोट हुँदै आएको थियो । तर यसपटक टोलीको खराब प्रदर्शनका कारण प्रशिक्षक योर्गेन क्लिन्सिमानले जागिर गुमाउनुपर्‍यो । उनको स्थानमा संघले डेढ दशकअगाडि टोलीको प्रशिक रहेका ब्रुस एरिनालाई नियुक्त गर्‍यो । तर उनले टोलीको भाग्य फेर्न सकेनन् ।


अमेरिका विश्वकप नपुग्नाले टेलिभिजन कम्पनी फक्सलाई पनि ठूलो घाटा पुगेको छ । फक्सले फिफासँग आगामी तीन संस्करणका लागि प्रसारणको अधिकार लिएको थियो । उसले करिब ४ सय मिलियन डलर खर्च गरेर अधिकार लिए पनि अमेरिका विश्वकप नपुग्दा ठूलो घाटा पुग्ने देखिएको छ । अमेरिका सहभागी नहुने भएपछि टेलिभिजनमा खेल हेर्नेको संख्या न्यून त हुन्छ नै, प्रायोजकहरू पनि निरुत्साहित हुनु स्वाभाविक हो ।
यद्यपि सन् २०२६ को विश्वकप आयोजनाका लागि अमेरिकाले क्यानाडासँग संयुक्त रूपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । हालसम्म मोरोक्कोबाट मात्र विपक्षीमा आवेदन आएकाले अमेरिकाले आयोजनाको जिम्मा पाउने प्रबल सम्भावना छ । अमेरिकाले विश्वकप आयोजना गर्न सकेमा भने फक्सलाई लामो समयमा फाइदा हुने देखिन्छ । आगामी संस्करणमा भने फक्सलाई लगानी उठाउन पनि धौ–धौ पर्न सक्छ ।
आधुनिक फुटबलमा अमेरिकाको मुख्य फुटबल लिग, मेजर लिग सकर निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । तर अमेरिका विश्वकपमा छनोट नहुनुले यसलाई केही हदसम्म भने असर पार्न सक्छ । विश्वकप छनोट नहुनेबितिकै एक युगका खेलाडीहरूको महत्त्वाकांक्षा आशामै सीमित हुन्छ भने अर्को युगले विश्वकप छनोटदेखि प्रतियोगितासम्मको अनुभव संगालेको हुँदैन । वर्तमान स्थिति हेर्दा अमेरिकाले अब सन् २०२२ को विश्वकप छनोट कुर्नुबाहेकको विकल्प छैन । त्यसका लागि अहिलेदेखि गृहकार्य सुरु गरेर अगाडि बढ्ने राष्ट्रिय टोलीका प्रशिक्षक एरिना बताउँछन् ।
समर्थकमाझ बिस्तारै लोकप्रिय हुँदै गइरहेको फुटबल मोह अब भने अमेरिकामा केही समय घट्ने अमेरिकी फुटबल व्यवसायीको बुझाइ छ । सन् २०१० को विश्वकपमा एक्कासि फुटबलमा होमिएका दर्शकलाई सन् २०१४ को विश्वकपले झनै तताएको थियो । त्यसयता एमएलएसमा पनि नामचलेका खेलाडी अनुबन्धित हुँदा फुटबल झन् लोकप्रिय हुँदै गयो । 
तर फुटबलकै महाकुम्भमा अमेरिका सहभागी नहुँदा पहिलेजस्तो फुटबलमा नहोमिएका दर्शकको आशा गर्नुको कुनै तुक रहन्न । 
अमेरिकाले विश्वकप नपुग्दा दुई युगका खेलाडीको नमीठो अनुभव पनि साट्नुपर्‍यो । क्लिन्ट डेम्प्सी सन् २०१८ को विश्वकपमा सहभागी हुँदै आफ्नो चौथो विश्वकप सहभागिता यादगार बनाउन चाहन्थे । ३४ वर्षीय डेम्पसीले युरोपियन फुटबलमा भरपूर अनुभव बटुलेका छन् । उनी एमएलएसको प्रवद्र्धनसँगै आफ्नो करियरलाई सुखद बिट मार्न स्वदेश फर्किएका थिए । तर अमेरिका छनोट नहुँदा उनको सपना चकनाचुर भएको छ ।
पछिल्लो विश्वकपमा क्रिस्टियन पुलिसिच १६ वर्षका थिए । अहिले १९ वर्षीय पुलिसिच जर्मन क्लब बोरुसिया डर्टमुन्डका मुख्य खेलाडीका रूपमा स्थापित छन् । अमेरिकाले विश्वकप गुमाउँदा पुलिसिचको विश्वकप खेल्ने सपनाले धैर्य गर्नुपर्ने बाध्यता रह्यो । 
अर्को संस्करणमा अमेरिका विश्वकप पुग्दा पुलिसिच आफ्नो उच्च स्तरमा हुनेछन् । कुनै अनुभवबिना विश्वकप खेल्दा उनलाई त्यहाँ राम्रो प्रदर्शन गर्नुपर्ने दबाब हुन्छ । जसमा उनी खरो उत्रन सक्ने सम्भावना अहिले नै आँकलन गर्न सकिन्न । 

प्रकाशित : कार्तिक ११, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?