कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हारले देखाएको बाटो

क्रिकेट
क्रिकेट प्रशासनदेखि लिएर जुन माहोल हुनुपर्ने हो त्यो नहुँदा खेलाडीको प्रदर्शन एउटा स्तरमा अड्किएको छ । डिभिजन २ अगाडि नै त्यसलाई चिर्नुपर्छ ।
विनोद पाण्डे

काठमाडौं — एउटा जितले भविष्यको गन्तव्य देखाउँछ, हारले धरातल । एउटा जितले टिमको शक्ति देखाउँछ, हारले कमजोर पक्ष उदाङ्ग पारिदिन्छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको निर्णायक मानिएको खेलमा हङकङसँग पराजित भएपछि नेपाली क्रिकेटले आफ्नो धरातल केही हदसम्म देखेको छ । कमजोरी उदाङ्गिएका छन् ।

 हारले देखाएको बाटो

हङकङ यात्रा च्याम्पियनसिपको शीर्ष चारभित्र पर्न नेपालले दुवै खेल जित्नैपर्ने थियो, कम्तीमा हार्नु हुदैंन थियो । नेपाल पहिलो खेलमा पराजित भयो । दोस्रो खेल टाइफुन र वर्षाले हुन नदिएपछि नेपाल च्याम्पियनसिपको शीर्ष चारभित्रमा नपर्ने पक्का भयो । त्यसको अर्थ नेपालले फेरि विश्व क्रिकेट लिग डिभिजन २ खेल्नु हो । त्यसै पनि नेपाल डिभिजन २ को टिम थियो । २०१५ को जनवरीमा नामिबियामा भएको डिभिजन २ मा नेपाल चौथो हँुदै च्याम्पियनसिपका लागि छनोट भएको थियो । च्याम्पियनसिपमा डिभिजन २ र डिभिजन १ का टिमहरूले प्रतिस्पर्धा गर्छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका पुछारका ५ टिमले पनि विश्वकप छनोटमा खेल्ने हुनाले नेपालजस्ता राष्ट्रका लागि विश्वकपमा पुग्नु निकै कठिन यात्रा हो । नेपालले यही कठिन यात्रामा विश्वकपमा पुग्ने सपना देखेको थियो । एकदिवसीय विश्वकपमा पुग्न च्याम्पियनसिप नै सहज बाटो हो । नेपालको सपनाको आगामी गन्तव्य नामिबिया हुनेछ । जहाँ गएर नेपालले फेरि डिभिजन २ खेल्नेछ । च्याम्पियनसिपजस्तो डिभिजन २ बाट विश्वकप छनोटमा पुग्न सजिलो छैन ।
अन्तरमहोदशीय कप पनि खेलिरहेकाले हङकङ वरीयतामा नेपालभन्दा माथि छ । तर प्रदर्शनका हिसाबले नेपाल र हङकङ समान हैसियतका टोली हुन् । केही अघि मात्र बंगलादेशमा इमर्जिङ टिम्स कपमा नेपालले हङकङलाई पराजित गरेको थियो । विभिन्न देशबाट गई त्यहाँ बसोबास गरेका अधिकांशलाई समेटेर बनाइएको हङकङ टिम यसअघिभन्दा कमजोर थियो । राम्रो प्रभाव पार्दै आएका स्पिनर नदिम अहमदले क्रिकेटमा आफ्नो भविष्य नदेखेपछि अर्को विकल्प रोजेका छन् । अन्य केही वरिष्ठ खेलाडीले संन्यास लिएपछि हङकङको टोलीमा नयाँ अनुहार धेरै थिए ।
हार–जित खेलको एउटा पाटो हो । तर नेपालले हङकङसँगको खेलमा सम्मानजनक प्रदर्शन पनि गर्न सकेन । विशेषगरी ब्याटिङले नेपालको प्रदर्शनलाई निकै निराश बनायो । च्याम्पियनसिपमा नेपाली बलिङ आफ्नो क्षमताअनुसार जम्न सकिरहेको थिएन । हङकङलाई १ सय ९४ रनमै अलआउट गरी नेपाली बलिङ पुन: जागेको थियो । विशेषगरी टिन क्वोङ रोड रिक्रिएसन मैदान सानो आकारको पृष्ठभूमिलाई हेर्ने हो भने नेपाली बलिङ धारिलो देखिएको थियो । ३५ ओभरमा हङकङले १ सय १४ रन मात्र बनाउँदा नेपालले ७ विकेट खोसिसकेको थियो । त्यसपछि नेपाली बलिङको लय बिग्रिन सुरु भएको थियो ।
मैदानको आकार सानो भएकाले टिन क्वोङ रोड रिक्रिएसन मैदानम ठूलो स्कोरहरू बन्ने गरेको छ । नेपाल र हङकङको खेलमा पनि मैदानकै कारण ठूलो स्कोर बन्ने लख काटिएका थिए । नेपाली बलिङले त्यसो हुन दिएन । हङकङले जुन स्कोर बनायो त्यसमा धेरैजसो सट सीधा सटहरू खेलेर बनाएको थियो । मैदानको सीधा लम्बाइ ५०–५५ यार्ड मात्र थियो । ७६ रन बनाएका ओपनर जेम्स एटकिन्सन र तल्लोक्रममा तानविर अफजलले स्ट्रेट सट खेलेर सानो आकारको मैदानको फाइदा उठाए ।
नेपाली इनिङ्समा विनोद भण्डारीले मात्र एउटा छक्का प्रहार गर्न सकेका थिए । त्यो स्ट्रेट सटमै सम्भव भएको थियो । यसले नेपाली ब्याट्सम्यानको मात्र नभई रणनीतिक कमजोरीलाई पनि छताछुल्ल बनाएको थियो । विनोद तिनै खेलाडी हुन् जसको छनोटलाई लिएर धेरै प्रश्न उठेका थिए । उनले पछिल्लो समय खासै राम्रो खेल्न सकेका छैनन् । त्यही पनि उनी नेपाली टोलीमा छन् । हङकङको त्यो सानो आकारको मैदानलाई हेरेर उनलाई नेपाली टोलीमा राखिनु एक हिसाबले खासै नौलो नभए पनि जोखिमचाहिँ थियो । प्रश्न अर्को के हो भने ठूलो सट खेल्ने विनोदबाहेक अरू ब्याट्सम्यानका लागि साना आकारको मैदानअनुसार रणनीति थिएन ।
पारस खड्को ब्याटिङमै भर परेको थियो नेपाल । पारसबिना नेपाल टिम नै नभएको जस्तो विगत दोहरिएको थियो । पारस चाँडै आउट हुँदाको नेपालको रणनीति के हो देखिँदैन्थ्यो । पारस ‘मोटिभिएटिङ कप्तान’ हुन् । तर पारस नहँुदा अरू खेलाडीले कसरी खेल्ने भनेर भेउ पाउन छाडेको जस्तो देखिन्थ्यो । प्रशिक्षक जगत टमाटा नेपालसँग ‘ए’, ‘बी’ ‘सी’ योजनाहरू रहेको बताउने गर्छन् । नेपाली टिम यतिसम्म पारसमाथि निर्भर देखिन्छ कि उनको अनुपस्थितिको योजना नै प्लान ‘बी’ हुनुपर्ने हो । तर नेपालसँग त्यो प्लान ‘बी’ भएन् । पारस क्रिजमा छँदा आरिफ शेखले लेगमा दर्शनीय
फ्लिक सटहरू खेलेका थिए । पारस आउट भएपछि आरिफले खुलेर खेल्न सकेनन् । विनोदबाहेक अन्य खेलाडीको पनि पारस आउट भएपछि यही हालत रह्यो ।
अस्वस्थताका कारण शरद भेषावकर हङकङ पुगेर खेल्न नसक्ने भएपछि नै नेपाली ब्याटिङ धरमराउन पुग्यो । च्याम्पियनसिपमा पारस खड्का, ज्ञानेन्द्र र शरदको ब्याटिङमै नेपाल धेरै मात्र टिकेको छ । शरद नेपालको इनिङ्सलाई ‘एङ्करिङ’ गर्छन् । शरदको स्थानमा पारस आफैं तेस्रो नम्बरमा खेले । प्रमुख ब्याट्सम्यानले सुरुआतमै खेल्नु निकै राम्रो हो । विशेषगरी पारसले आफंै अगाडि खेल्दा अन्य खेलाडीको हौसला पनि बढ्छ । तर नेपाली टिमले शरदको स्थानमा उनको भूमिका लिने खेलाडी राख्न सकेन्, जसको कारण इनिङ्स अगाडि बढाउन नसकेको नेपाल ३५ ओभरभित्र १ सय ११ रनमै अलआउट हुन पुग्यो ।
त्यसै पनि हङकङ यात्राका लागि नेपाली टोलीको छनोट निकै विवादास्पद थियो । ७ जना मात्र ब्याट्सम्यान थिए । नेपाल नियमित रूपमा प्रमुख ४ बलर लिएर खेल्दै आएको छ । त्यस हिसाबमा हङकङमा नेपालले एउटा बलर बढी नै लिएर गएको थियो । शरदको स्थानमा बोलाइएका नरेश बुढाएर हङकङ पुग्दा पहिलो म्याच चल्दै थियो । शरद अस्वस्थ भएसँगैं नेपाल ६ ब्याट्सम्यानमात्र लिएर खेल्न बाध्य भएको थियो । यसले नेपाली ब्याटिङमा असर पारेको थियो । हारपछि यस्तो कारण निस्कनुलाई पारस स्वाभाविक मान्छन् । किनकि शरद भएको अवस्थामा पनि नेपाल प्रमुख ५ बलर लिएर खेल्ने निर्णयमा थियो ।
सौरभ खनाल, कुशल भुर्तेलजस्ता खेलाडीलाई छनोट नगरिएपछि खेलाडी छनोटलाई लिएर आलोचना सुरु भएको थियो । त्यसलाई हङकङसँगको हारले बल प्रदान गर्‍यो । सौरभले छनोटका लागि आधार बनाइएको प्रधानमन्त्री कपमा असाधारण प्रदर्शन गरेका थिए । त्यसका बाबजुद उनी टिममा परेनन् । हिजोको दिनमा सिद्धान्त लोहनी, राजु रिजाल, सुनिल धमलाले पनि यही नियति भोगेका थिए । ५ वर्षअगाडि जितेन्द्र मुखियालाई नेपाली यू–१९ टोलीमा राखिँदैनथ्यो । छनोट कसैले बुझेका थिएनन् । उनलाई पछि राष्ट्रिय टोलीमा राखिएको थियो । छनोटको दायरा हेर्ने हो भने अहिले नेपाली क्रिकेट त्यही ५ वर्षपछि धकेलिएको छ ।
प्रशिक्षक टमाटा र कप्तान पारस टिम छनोटको प्रमुख भूमिकामा छन् । उनीहरू छनोटमा कुनै भेदभाव नभएको जिकिर गर्छन् । राष्ट्रिय प्रतियोगितामा प्रदर्शन देखाउनेबित्तिकै एकैपटक नेपाली टोलीमा छानिनैपर्छ भन्नेमा उनीहरू छैनन् । यो उनीहरूको बुझाइ हो । यो बुझाइबाट उनीहरू परिवर्तन हुन जरुरी देखिन्छ । कसैले प्रदर्शन गर्छ भने उसलाई कम्तीमा मौका दिनुपर्छ र नेपालको हङकङअगाडि भएको भारत भ्रमण त्यही मौका थियो ।
दुई वर्ष र केही समय मात्र बढी भएको छैन सिद्धान्तले विश्व ट्वान्टी–२० छनोटमा जर्सीविरुद्ध आयरल्यान्डमा ‘डेब्यु’ गरेको । आफ्नो ब्याटिङ र फिल्डिङबाट राष्ट्रिय टोलीका लागि पहिलो खेलमै सबैको मन जितेका युवा खेलाडी सिद्धान्तले आफू कुनै समय नेपालका लागि क्रिजमा उत्रेको पनि बिर्सिसके होलान् । किनकि त्यसपछि उनले नेपालबाट खेल्ने मौका पाएका छैनन् । नेपालले गत वर्ष नेदरल्यान्ड्समा एतिहासिक विजय हात पार्दा पारसपछि अर्का प्रमुख खेलाडी थिए राजु । त्यसयता राजुले नेपालबाट अर्को खेल खेलेका छैनन् । सुनिलले केन्यासँग र इमर्जिङ टिम्स कपमा मात्र मौका पाए । १–२ खेलबाटै खेलाडीको भविष्य निर्धारण हुने हो भने अहिले राष्ट्रिय टोलीको मुहार अर्कै हुनुपर्ने हो ।
क्रिकेट प्रशासन नहुँदा पनि नेपाली टिमले गति लिन सकेको छैन । नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले निलम्बन गरेको डेढ वर्ष भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट निकायको स्वीकृतिबेगर नेपालले आफूअनुसार चल्न सक्दैन । यसको प्रभाव मैदानमा पनि देखिन्छ । हङकङले नेपाल र अफगानिस्तानसँगको खेलका लागि अस्ट्रेलियामा तयारी गरेको थियो । नेपालले त्यही हङकङसँग खेल्न भारतको चेन्नई रोजेको थियो । हालका वर्षहरूमा नेपालको तयारी गन्तव्य भारत नै बनिरहेको छ । जहाँ नेपालले एकपछि अर्को गर्दै स्थानीय टोलीलाई ठूलो अन्तरमा पराजित गर्दै आएको छ । नेपाली ब्याट्सम्यानले शतक पनि बनाएका छन् । जबकि त्यो प्रदर्शन राष्ट्रिय टोलीले प्रतियोगितात्मक खेल खेल्दा कमै देखिन्छ । यसले नेपालको तयारी गलत हिसाबले भएको देखिन्छ । यसअघि क्रिकेट संघ हुँदा पनि यस विषयमा खासै गतिलो उदाहरण भएको त होइन, तर त्यसपछि पनि सच्चिएको देखिँदैनन् ।
च्याम्पिनसिपको पहिलो चार खेलमा पराजित भएसँगै नेपालको यात्रा सकिएको धेरैको अनुमान थियो । हङकङसँगको हारले नेपालले विश्वकप छनोटमा नपुग्ने निक्र्योल मात्र गरेको हो । यसबीचमा नेपालले नामिबिया, नेदरल्यान्ड्स, केन्यालाई पराजित गरी शीर्ष चारको ढोका घचघचाउन सकेको हो । धेरै मात्रमा यो खेलाडीको मिहिनेतकै प्रतिफल थियो । क्रिकेट प्रशासनदेखि लिएर जुन माहोल हुनुपर्ने हो त्यो नहुँदा खेलाडीको प्रदर्शन एउटा स्तरमा अड्किएको छ । डिभिजन २ अगाडि नै त्यसलाई चिर्नुपर्छ ।
हारले पाठ सिकाउँछ । नेपालले हङकङको हारबाट पाठ सिक्न जरुरी छ । मुख्य भनेको हारपछि नेपालसँग विश्वकप छनोटमा पुग्ने एउटा अवसर छ । डिभिजन २ ले त्यो अवसर दिएको छ । डिभिजन २ मा शीर्ष दुई टोली भए नेपाल विश्वकप छनोटमा पुग्नेछ । नेदरल्यान्ड्स र केन्यासँग देखाएको प्रदर्शन हेर्ने हो भने नेपाली टोली त्यसका लागि योग्य छ । पारसले हङकङ यात्रामा अनौपचारिक रूपमा भनेका थिए, ‘डिभिजन २ मा चार खेल जित्नु त हो नि ∕’
twitter: @dearbinod

प्रकाशित : कार्तिक ११, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?