नेपालमा सिनेमा

इतिहास
लोकरञ्जन पराजुली

काठमाडौं — नेपालमा सिनेमा कहिले भित्रियो ठ्याक्कै भन्न कठिन छ । न त नेपालीले कहिलेदेखि सिनेमा हेरे त्यो भन्न सकिन्छ । नेपाली भाषामा बनेका प्रारम्भिक चलचित्रबारे समेत केही विवाद अद्यापि छ, तर त्यसबारे केही लेखिसकिएको छ ।

नेपालबारे अरूले बनाएका सिनेमा अथवा नेपालमा खिचिएका सुरुआती सिनेमाबारे पनि तोकिएरै केही भन्न सकिन्न । व्यवस्थित अभिलेख तथा यो विषयमा खोजी पस्ने अनुसन्धाताको अभावले हामीलाई यो फाँटबारे खासै थाहा छैन । तथापि, राणाकालको उत्तराद्र्धमा सामान्यजनले सार्वजनिक रूपमा सिनेमाको रसस्वादन गर्न पाएको देखिन्छ । २००६ सालको मंसिरदेखि त नेपालमा पनि सिनेमाहल खोलेर व्यापारिक तवरबाट सिनेमा देखाउन थालेको पाइन्छ । यो आलेख नेपाली (काठमाडौंवासी) को प्रारम्भिक सिनेमा हेराइ, भोगाइ र त्यसबारे भएका केही छलफलमा केन्द्रित छ । 

सिनेमा हिँडेको बाटो
अन्यत्र विश्वमा फिल्म बन्न थालेपछि अंग्रेजहरूले शासन गरेको भारतमा पनि बिस्तारै सिनेमा छिर्‍यो । उन्नाइसौं शताब्दीको अन्ततिर बम्बई र कोलकातामा छिरेको व्यापारिक चलचित्रको प्रदर्शनीक्रम भकाभक अन्य सहरमा समेत फैलियो । भारतीय भाषामा पनि व्यापारिक हिसाबले सिनेमा तयार गरिन लागे, र तिनको सार्वजनिक प्रदर्शन हुन थाल्यो । सीमित सम्भ्रान्तहरूको पकडबाट फुत्किएर सार्वजनिक उपभोग र व्यापारको वस्तु बन्योसिनेमा । भारतका ठूला सहरमा सिनेमा छिरेपछि त्यहाँ बस्ने र यताबाट जाने नेपालीहरूले पनि त्यहाँका सिनेमा घरमा गएर सिनेमा हेरेको हुनुपर्छ । भारतमा सिनेमाको सार्वजनिक प्रदर्शन हुन थालेको केही समयमा नै नेपालका राणाका दरबारमा सिनेमा छिरेको देखिन्छ । तथापि, तिथिमिति ठ्याक्कै तोक्न सकिन्न । 
प्रमोदशमशेर राणाले आफ्नो पुस्तकमा देवशमशेरको पालामै सामान्य नेपालीले समेत मूक चलचित्र हेर्ने अवसर पाएको उल्लेख गरेका छन् । उनका अनुसार देवशमशेरले एक हप्तासम्म सामान्यजनलाई टुँडिखेलमा चलचित्र देखाएका थिए । त्यस्तै, पुरुषोत्तमशमशेरले पनि देवशमशेरको पालामा साँझमा ‘बाइस्कोप’ चलचित्र हेर्ने अवसर सामान्यजनले पाएको लेखेका छन् । देवशमशेर सन् १९०१ मा करिब चार महिना प्रधानमन्त्री बनेकाले ढिलोमा उन्नाइसौं शताब्दीको अन्ततिर नेपालमा सिनेमा छिरेको भन्न सकिन्छ ।
देवशमशेरलाई लखेटेर शासनसत्ता हत्याएका चन्द्रशमशेरले त्यसपछि करिब तीन दशक अविच्छिन्न शासन गरे । चन्द्रशमशेरको पालामा राणाहरूकहाँ त भैहाल्यो, केही शक्तिशाली गैरराणा ‘सिविलियन’ कहाँ पनि सिनेमा हेर्ने मेसिन पुगेको हुनुपर्छ । उदाहरणका लागि, मदनमणि दीक्षितको आत्मकथाबाट आचार्य–दीक्षित खलककहाँ सिनेमा हेर्ने औजार भएको बुझिन्छ । सन् १९३५ को नेसनल जिओग्राफिक म्यागेजिनका अनुसार जुद्धशमशेरले सिनेमालगायत पश्चिमा सिर्जनालाई नेपालको सरहदभित्र छिर्नमा नियन्त्रण गरेको उल्लेख छ । पश्चिमाहरूको अत्यन्तै निजी पक्षको सिनेमामा हुने जीवन्त प्रस्तुतिले नेपालीहरूको नैतिकपनमा दुष्प्रभाव पार्ने ठानेका थिए जुद्धले । तर, जुद्ध आफैंले सन् १९४३ मा निजी सिनेमाभवन स्थापना गरेको बताइन्छ । उनको शासनकालमा आइपुग्दा राणाहरूले बर्सेनि १४–१५ वटा सिनेमा हेरेको उल्लेख पाइन्छ ।
जुद्धको निजी सिनेमाघर बन्नुअघि सन् १९३७ को शिवरात्रि मेलामा विराटनगरमा ‘टंकी सिनेमाको खेल तमासा’ भएको र सो हेर्न ‘पहाड र मध्येस–तराईका धेरै आएका’ तत्कालीन समयको गोरखापत्रमा छापिएको छ (हेर्नुहोस् बक्स) । खास गरी सन् १९५० को दशकमा र पछि ‘टुरिङ सिनेमा’ या ‘टंकी सिनेमा’ नेपालका अलि साना–ठूला सहरमा पुगेपछि तत्‌तत् स्थानका सर्वसाधारणले पनि सिनेमा हेर्न पाएको अनुमान लगाउन सकिन्छ । 

विद्यार्थीका लागि सिनेमा
सन् १९४५ मा पद्मशमशेरले शासनारूढ भएपछि आफ्ना दरबारमा विद्यार्थीका लागि केही सिनेमा देखाएका थिए । उनले विद्यार्थीलाई सिनेमा देखाउन थालेपछि सोबारे त्यसबेलाको एकमात्र खबरपत्रिका गोरखापत्रमा सम्पादकीय, लेख र चिठ्ठीपत्र छापिएका छन् । तीमध्ये पहिलो, दुई लाइनको सम्पादकीय थियो— ‘श्री ३ महाराज, आज नेपालका शिक्षित नवयुवकहरूका प्यारा श्री ३ महाराजबाट चलचित्रको भाव बुझ्नसम्म सक्ने कालेज स्कुलका विद्यार्थीहरूलाई बराबर शिक्षाप्रद सिनेमा देखाउने प्रबन्ध मिलाइदिबक्स्यो । आज नेपालका प्रत्येक शिक्षित यो कुराले गदगद् छन् ।’
पद्मशमशेरको यो ‘उदारता’ बारे गोरखापत्रमा त्रिचन्द्रका एक विद्यार्थी रामराजको लामै लेख छापिएको छ । उनलाई विश्वास गर्ने हो भने त्यसताकाका विद्यार्थीको एउटा ठूलै हिस्सा (उनको दाबीअनुसार सयकडा पच्चीस) नेपालबाट सिनेमा हेर्न भारत पुग्थ्यो । यो आँकडाको सत्यतामा प्रश्न उठ्न सके पनि एउटा तथ्य के भन्न सकिन्छ भने पद्म शासनारूढ हुँदासम्ममा नेपालीहरू सिनेमा हेर्नैका लागि भनेर भारततर्फ हानिन्थे, अथवा ‘एक पन्थ दो काज’ गर्थे । पद्मको पालामा विद्यार्थीका लागि भनेर खासगरी धार्मिक सिनेमा देखाइएको र तीमध्ये पहिलो ‘विदुर’ भएको थाहा लाग्छ । पहिले त्रिचन्द्र कलेजका विद्यार्थीले मात्र सिनेमा हेर्ने मौका पाएकामा कम्तीमा एकपटक संस्कृत मेलतर्फका विद्यार्थीले पनि सिनेमा हेर्न पाएको देखिन्छ । र, सम्भवत: केही सर्वसाधारणसमेतले ती सिनेमा हेर्न पाएको अनुमान लगाउन सकिन्छ । गोरखापत्रमा एक जना पाठकले लेखेका छन्, ‘वर्तमान श्री ३ महाराजबाट आफ्नो व्यक्तिगत उपयोगको निम्ति झिकाइएको सिनेमा अरू धेरै सर्वसाधारणलाई पनि हेर्ने मौका बक्सियो । फेरि यसपालि विशालनगर दरबारमा भैरहेको नाटकहरूलाई हेर्नका लागि कैयन दिनसम्म हदसे हद थाङ्ने माग्नेहरूका निम्ति पनि ढोका खुला थियो ! यसलाई भन्दछन् उदारता ! सायद कुनै–कुनैलाई यो कुरा मन परेन पनि होला— यसमा ता मुसुक्क हाँस्नु सिवाय के औषधि छ र ?’
पद्मशमेरले विद्यार्थीलाई सिनेमा देखाउन थाल्नुको कारणबारे अन्य कसैले टिप्पणी गरेको नसुनेकाले थप अध्ययन नगरेसम्म अनुमान मात्र लगाउन सकिन्छ । के उनी सिनेमामार्फत आफ्नो प्रभाव विस्तार गर्न चाहन्थे ? अथवा आफ्नो उदारवादी छवि निर्माण गर्न चाहन्थे ? या उनको अभीष्ट अर्कै थियो ? ‘हूलका हूल’ नेपाली युवाहरू सिनेमा हेर्न भारत जाने भएकाले यसले एक त नेपालको पैसा बिदेसिने र अर्को, त्यहाँ ‘सबैखाले’ सिनेमा हेर्ने र ‘अरू नै केही’ (अलग विचारधारामा दीक्षित हुने या मतिभ्रष्ट हुने) समेत बोकेर आउन लागेकाले त्यसलाई रोक्न काठमाडौंमै ‘धार्मिक एवं शिक्षाप्रद’ सिनेमा देखाउन थालिएको हुन सक्छ ।
गोरखापत्रमै छापिएको लेखमा यसको केही छनक पाइन्छ, ‘हिन्दुस्थानको डुलफिरले २/४ ओटा असल कुरा सिकेता पनि एक दुइटा साह्रै नै बेकम्मा कुराहरू पनि सिकिन्थ्यो । त्यहाँका विभिन्न विचार धाराहरूमा बगेर अबोध छात्रहरूको यो लोक परलोक दुवै बिग्रन्थ्यो । शृंगार कलाले परिपूर्ण पश्चिमी चलचित्रले विलासिता र शृंगार सिकाउँथ्यो । विलासी चित्रले सनातानधर्मको आदर्श गाँठोलाई खुकुलो पाथ्र्यो ।’

व्यापारको मेलो
पद्मशमशेरलाई निर्वासित हुन बाध्य तुल्याएर सत्तारूढ भएका मोहनशमशेरको पालामा नेपालमा सिनेमाको व्यावसायिक प्रदर्शन सुरु भयो । ‘काठमाडौं सिनेमाभवन’ को स्थापना गरेर व्यापारिक हिसाबले आजभोलिको जस्तो सिनेमाको टिकट बेचेर सिनेमा देखाउने प्रबन्ध भयो । त्यस्तै, विराटनगरमा समेत सिनेमाभवन स्थापना गर्ने प्रक्रिया राणाकालमै सुरु भएको थियो । ‘रामविवाह’ नामक सिनेमाबाट काठमाडौं सिनेमा भवनमा व्यापारिक प्रदर्शन प्रारम्भ भयो । तत्कालीन ‘म्युनिसिपलिटी’ अड्डाको मातहतमा रहेको सो सिनेमाभवन (पछि जनसेवा हल भनिएको) बाट हुने आम्दानी म्युनिसपलिटीको हुने व्यवस्था गरिएको थियो । श्रेणी हेरी ५० पैसादेखि पाँच रुपैयाँसम्म सिनेमाको टिकटदर तोकिएको थियो, जुन तुलनात्मक रूपमा अहिलेको भन्दा महँगो हो । तथापि, महँगै भए पनि कतिपय सिनेमा देखाउँदा त्यति बेलै टिकटको ‘कालोबजारी’ (तीन गुणासम्म) र झैझगडासमेत भएको पाइन्छ ।
काठमाडौं सिनेमाभवनको उद्घाटन हुँदै गर्दा गोरखापत्रले सोबारे सम्पादकीयसमेत छापेको थियो । सम्पादकीयमा उल्लिखित केही कुराले सिनेमा र त्यसले पार्न सक्ने प्रभावबारे तत्कालीन राज्यका चिन्ता–चासो प्रस्ट्याउँछन् । सम्पादकीयमा लेखिएको छ— ‘सिनेमाका धेरै गुणहरू छन् । तर ‍‘प्रयोग र उपयोग गर्न जानिएन भने त्यसबाट धेरै बेफायदा पनि हात पर्न जाने हुन्छ । यसबाट भइरहेका केही बेफायदाहरू यी हुन्— (१) सिनेमा हेर्नु पनि एउटा व्यसनजस्तो हुँदा बानी लागेपछि आफ्नो थैलो रित्तिँदै गएको पनि पर्वाह नराखी सिनेमा हेर्ने हुन्छन् । (२) धेरैजसो प्रचलित कलाकारको पात्रहरूको अभिनय र कहिलेकाहीँ अश्लील पात्रहरू पनि हेर्दा मानिसको कलिलो मनोवृत्ति दू:षित हुँदै जाने हुन्छ । (३) अशिक्षित जनतामा यसको प्रभाव नराम्रो पर्न गई दुष्कर्ममा उत्साह दिने पनि हुन सक्छ ।’
सिनेमाबाट हुने माथि उल्लिखित बेफाइदा पन्छाएर फाइदा उठाउन सक्नुपर्ने गोरखापत्रको आग्रह थियो । उसका अनुसारु ‘मनोरञ्जनका साथसाथै शिक्षाप्रद पनि हुने सिनेमाको खाँचो हामीलाई छ । मानसिक स्तर उकास्ने र देशको कल्याण गर्ने उत्साह भर्ने सिनेमाहरूकै प्रदर्शनले मात्र हामीलाई हित गर्छ । अश्लील तथा देशको मनोवृत्ति बिगार्ने सिनेमाहरूलाई हामीले ठाउँ दिन हुँदैन । सरोकारी विभागले यसमा विचार गर्ने नै छ । जुन महान् उद्देश्यबाट श्री ३ महाराजबाट यो सिनेमाको प्रदर्शन गर्न इजाजत बक्सेको हो त्यस्तै उद्देश्यमा हामी पनि चल्न सकौं ।’
मोहनशमशेरले जेसुकैले उद्देश्य लिएर व्यापारिक रूपमा सिनेमा प्रदर्शन गर्न दिए पनि प्रारम्भमा सो हलमा धार्मिक सिनेमा मात्र प्रदर्शन भए । तर, छिट्टै अन्य खाले अथवा हिन्दीका ‘प्यार–मोहब्बत’ वाला सिनेमा पनि देखाइए । त्यसबखतका गोरखापत्र हेर्ने हो भने त्यस्ता सिनेमाका हिरो–हिरोइन (के एल सैगल, सुरैया, रेहमान, मनोरमा, देवआनन्द आदि) का तस्बिर भएका पोस्टर–विज्ञापन नियमितै छापिएका देखिन्छन् । ती सिनेमा सम्पादकका दृष्टिमा ‘अश्लील’ या मानिसको ‘मनोवृत्ति बिगार्ने’ खाले थिए वा थिएनन्, त्योचाहिँ यसै भन्न सकिन्न ।

 

मोफसल

विराटनगर एक्सचेन्ज आफिस, चैत ८ गते । अस्ति फागुन २८ गते श्री शिवरात्रिको मेला हुनाले सो मेलामा यहाँका बडाहाकिम हाकिम कारिन्दाहरू र गाउँ मौजाका भलाद्मीहरू सबै गएका थिए । सो मेलामा टंकी सिनेमाको खेल तमासा पनि भएको थियो । सो खेल तमासा हेर्न पहाड र मध्येस तराईका धेरै आएका थिए ।
गोरखापत्र, २० चैत १९९३, पृ ४ ।

प्रकाशित : कार्तिक ११, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

हलो विमर्श

राणाकालमा बाहुनले हलो जोत्न नहुने भन्ने सामाजिक मान्यता रहेको अवस्थामा राणाकालको उत्तराद्र्धमा केही बाहुनले सामूहिक रूपमा र सांकेतिक अभियानको रूपमा हलो जोतेका थिए ।
लोकरञ्जन पराजुली

नेपालका सामाजिक, राजनीतिक आन्दोलनबारे चर्चा गरिँदा नछुट्ने एउटा अभियान पश्चिम नेपालका केही इलाकामा २००६ सालमा सुरु गरिएको सामूहिक रूपमा हलो जोत्ने अभियान हो । कुनै धार्मिकशास्त्रले या ऐनले बाहुनलाई हलो जोत्न निषिद्ध नगरे पनि ‘बाहुनले हलो जोत्न हुँदैन’ भन्ने मान्यता समाजमा रहेकाले उनीहरूले अद्यापि नेपालका कतिपय ठाउँमा हलो जोत्दैनन् । त्यस्तै, नेवारले र महिलाले समेत हलो जोत्ने गरेको खासै पाइन्न ।

नेवारहरूको मूल थातथलो काठमाडौं उपत्यकामा उनीहरूले गोरु नारेर हलो जोतेको सामान्यतया देखिन्न । अरू कसैले हलो जोतेको समाचार नबन्ने आजका दिनमा समेत महिलाले हलो जोतेका समाचार तथा तस्बिर यदाकदा अझै छापिन्छन् । अर्थात् नेपाली समाजमा महिलाले हलो जोत्नु अझै पनि नवीन कुरा हो । 

राणाकालमा बाहुनले हलो जोत्न नहुने भन्ने सामाजिक मान्यता रहेको अवस्थामा राणाकालको उत्तराद्र्धमा केही बाहुनले सामूहिक रूपमा र सांकेतिक अभियानको रूपमा हलो जोतेका थिए । सो अभियान लमजुङको दुराडाँडाका बाहुन युवाहरूले सुरु गरेका थिए । उक्त अभियान खासमा सांकेतिक मात्रै देखिन्छ किनकि ती हलो जोत्ने अभियानका सदस्य एक त आफ्नो खेतबारी जोत्नै पर्ने आर्थिक स्थितिका थिएनन ्। अर्को, तिनले सो अभियान सुरु गरेपछि पछिल्ला दिनमा हलो जोत्ने उपक्रम जारी राखेनन् । यी बाहुनहरूको यो सामूहिक कर्मलाई तत्कालीन शासकले राजनीतिक रूपमा हे‍र्‍यो र तीमध्ये केहीलाई पक्रेर जेलमा समेत जाक्यो । 
सांकेतिकै भए पनि यो अभियानले गाउँ वरपर या जिल्लाभित्र मात्र नभई छिमेकका जिल्लामा समेत राजनीतिक र सामाजिक तरंग उत्पन्न गरेको पाइन्छ । उदाहरणका लागि २००७ सालको वर्षायाममा तत्कालीन सामाजिक–राजनीतिक कार्यकर्ताहरूले (मूलत: बाहुन–क्षत्री र नेवार मिलेर) पोखराको फेवा फाँटमा सामूहिक हलो जोत्ने काम गरेका थिए र त्यसका केही अभियन्तालाई पनि सामाजिक र राजनीतिक रूपमा कठिनाइ बेहोर्न परेको थियो । दुराडाँडाबाट सुरु भएको यो हलो जोत्ने अभियानलाई हंसपुरे सुवेदीले आफ्नो पुस्तक सांस्कृतिक परिवेशमा नेपालको हलो क्रान्ति मा लिपिबद्ध गर्दै त्यसलाई ‘हलो क्रान्ति’ को संज्ञा दिएका छन् । 
यो आलेख सुवेदीको पुस्तकमा अभिलेखबद्ध भइसकेको सो अभियानबारे नभई त्यसअघि खासगरी गोरु नारेर हलो जोत्नेबारे गोरखापत्रमा भएका विमर्श या लेखापढीबारे केन्द्रित छ । जुद्धशमशेरले राजकाज त्यागेपछि शासनारूढ भएका पद्मशमशेरका पालामा नेपालमा नजानिँदो पाराले समाजमा अलि खुलापन, उदारता, र केही हदसम्म स्वतन्त्रताको वातावरण सिर्जना भएको देखिन्छ । रुन्चे महाराजसमेत भनेर उल्याइने गरिएका यी शासकको पालामा भएका त्यस्तो खुलापनको अन्दाज हामीले तत्कालीन समयको गोरखापत्रका सामग्री पढेर लगाउन सक्छौं । पहिले सानो आकार, थोरै पाना, हप्ताको दुई दिन र सानो संख्यामा छापिने मुलुकको एक मात्र समाचारपत्र गोरखापत्रको पद्मशमशेर प्रधानमन्त्री भइसकेपछि कायापलट भएको थियो— साइज बढ्यो, पाना संख्या बढे, हप्ताको तीन दिन छापिन थाल्यो र ग्राहक संख्या–बिक्री ह्वात्तै बढ्यो । त्यति मात्र होइन पाठकको सहभागितासमेत अन्तर्वस्तु उत्पादनमा बढ्यो, गोरखापत्रमा पाठकपत्र, लेखका संख्या बढे । 
यही क्रममा शुक्रबार, १४ असार २००३ को गोरखापत्रको दोस्रो पातामा ‘कस्तो खबर ?’ शीर्षकमा पाँच वाक्यको एउटा छोटो सम्पादकीय टिप्पणी छापिएको छ । पहाडको कुनै गाउँमा एउटी आइमाईले हलो जोतेकोलाई गोरखापत्रका संवाददाताले नकारात्मक रूपमा लिई समाचार पठाएकोमा सम्पादक महोदयले आफ्ना संवाददातालाई उल्याउँदै ‘त्यस्तो पनि खबर हुन्छ ?’ भनेर एक हिसाबले डाँटेका छन्, सो छोटो सामग्रीमा : 
‘पहाडमा एउटी आइमाईले गोरु जोती बडो अनौठो भो’ भन्ने खबर एक जना संवाददाताको आयो । आइमाईले गोरु जोत्दैमा के अनौठो भो ? त्यसलाई किन गिल्ला गरेर उडाउने हामीले त केही बुझ्न सकेनौं । बर्ता अन्न पैदा गर्नका निम्ति आइमाई, केटाकेटी, लोग्नेमानिस सबले कोसिस गर्नुपर्छ । बर्ता अन्न उब्जाउने चेष्टा मनुष्य मात्रले गर्ने समय आइरहेछ, यसको उल्टो खिसी गर्ने के काम ?
यो छोटो टिप्पणीले गोरखापत्रका सम्पादकको उदारचित्तलाई प्रदर्शन त गर्छ नै, शासन व्यवस्थामा आएको खुकुलोपनलाई समेत संकेत गर्छ । पछि, मोहनशमशेरको शासनकालमा, हलो जोत्ने बाहुनलाई भएको धरपकड सम्झँदा गोरखापत्रको यो सम्पादकीय टिप्पणी अकल्पनीय लाग्छ— राणाकालमा समेत त्यस्तो छापिन्थ्यो र भनेर । यो टिप्पणीले धेरै कुराको जवाफ दिने भन्दा पनि थुप्रै प्रश्न जन्माउँछ । पहाड त पहाडको, तर पूर्वी कि पश्चिमी पहाडको आइमाई ? कुन गाउँठाउँको ? कुन सामाजिक समूहको ? किन या के कारणले जोतेको ? त्यसको प्रतिक्रिया समाजमा के भयो ? एक पटक मात्र जोतेको कि पटक–पटक ? यी र यस्तै अन्य प्रश्नको जवाफ पाउने हो भने तत्कालीन समाजमा भइरहेको परिवर्तनको छनक पाउन अथवा अलि धेरै कुरा बुझ्न, भन्न सकिन्थ्यो होला । तर हामीसँग अहिले त्यसबारे थप जान्न सक्ने सार्वजनिक अभिलेख सहजै उपलब्ध छैनन् । 
यो दोस्रो विश्वयुद्धको लगत्तैको समय भएकाले गाउँ नै रित्तिने गरी युवाहरू बिदेसिनुपर्दा यो अवस्था आएको हुन सक्छ । घरपरिवारमा विपत्ति आइलाग्दा र समाजबाट सहयोग नपाउँदा महिला स्वयं खेत जोत्न अग्रसर भएको पनि हुन सक्छ । अथवा कोही महिलाले यसै साहस गरेको हुन सक्छ । तर यी कोरा अनुमान मात्र हुन् । यी अनुमानमध्ये पहिलो कारक (विश्वयुद्ध) ले गर्दा नेपालका पहाडमा युवाको खडेरी परेको र त्यस्तो अवस्थामा पुराना सामाजिक मान्यता केही भत्किएका पाइन्छन् । पोखराका सामाजिक अभियन्ता र २०१५ सालको उपल्लो सभा (महासभा) का सदस्य मुक्तिनाथ तिमिसिनाले आफ्नो आत्मकथामा २००१ सालतिर विश्वयुद्धका कारण गाउँमा खेतमा काम गर्ने कामदार नपाउँदा आफूले आफ्नो खेतबारीमा हलो जोतेको उल्लेख गरेका छन् । बाहुन भइकन पनि आफूले खेत जोत्दा पनि तत्कालीन समयमा समाजबाट खासै बाधाविरोध बेहोर्न नपरेको बताएका छन् । पछि २००७ सालमा फेवा फाँटमा सामूहिक हलो जोत्ने अभियानमा समेत तिमिसिना संलग्न थिए । 
२००३ र २००४ सालका गोरखापत्रमा हलो जोत्नेबारे पाँचवटा लेख, टिप्पणी या पाठकपत्र छापिएको देखिन्छ । यससम्बन्धी पहिलो टिप्पणीको माथि चर्चा गरियो भने दोस्रो लेख १५ असोज २००३ को गोरखापत्रको चौथो पानामा प्रकाशित छ । ‘उपाध्याय बाहुनले हला ेजोत्न कसो गर्ने’ शीर्षकको कालिकाले लेखेको यो आलेख (रिपोर्टाज) करिब ५२० शब्द लामो छ । आफू पश्चिमी पहाडमा घुम्न जाँदा त्यहाँ उपाध्याय बाहुनले हलो नजोत्ने गरेको र खासगरी युवाहरू बिदेसिएका कारण हलीको अभावमा खेत जोत्न नपाएकाले उनीहरूलाई सकस भएको विवरण लेखक (यिनको पूरा नाम, ठेगाना या आवद्धता दिइएको छैन) ले दिएका छन् । हिन्दुस्थानतर्फ काम गर्न जानेले ‘१०।८ महिनामा ५।७ सय’ कमाउने भएकाले गाउँमा हली काम गर्ने कोही युवा बाँकी नबचेको उनले उल्लेख गरेका छन् । गीतालाई उद्धृत गर्दै उनले बाहुनले हलो जोत्न हुन्छ भन्ने पक्षमा आफूलाई उभ्याएका छन् । त्यस्तै, आफूले सोधखोज गर्दा धनी बाहुनले चाहिँ हलो जोत्ने विपक्षमा र गरिब बाहुनले जोत्न हुने पक्षमा अभिमत जाहेर गरेको लेखेका छन् । र, हलो जोतेर समाजमा रहन पनि सकौं, भातभान्छा हटक नहोस् र छोरीबेटीको बिहेबारी पनि नरोकियोस् भन्ने गरीब बाहुनको ‘आर्तपुकार’ कसले सुनिदेला भन्ने प्रश्न उनले आफ्नो लेखमा गरेका छन् ।
अर्का पत्रलेखक नाल (नील ?) बहादुरले नेवारले हलो जोत्न नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ११ माघ २००३ को गोरखापत्रमा छापिएको उनको पाठकपत्रमा त्यस्तो प्रचलनले गरिबलाई मार पारेको भनिएको छ :
खेती गर्नु, पशु पाल्नु, व्यापार गर्नु, इत्यादि धर्म हाम्रो भएपछि हामीले हलो जोत्न नहुनु किन ? एउटाले मात्र गर्दा समाजमा नमिल्ने भो । धनीलाई ता हलो जोत्नुपर्ने के आवश्यक थियो र ? गरिबहरूका निम्ति हलो जोत्न नहुने हुनाले खेतीपाती चलाउनै मुस्किल भएको छ । ऐनले र लोकचलनले समेत बाधा नपर्ने यस कुराको उपाय चाँडो भए खेतीको उन्नति हुने थियो ।
अर्का पाठक भीमभक्तमान सिंहले नीलबहादुरको पत्रको प्रत्युत्तर दिएका छन्, २८ माघको गोरखापत्रमा । ‘हलो जोत्ने प्रश्नको उत्तर’ शीर्षकमा छापिएको यो सामग्रीमा उनले मनुस्मृतिलाई उद्धृत गर्दै ‘गोरु जोत्न हुने देखियो’ भनेका छन् । उनी थप्छन्, ‘गोरु जोत्नेलाई भात काढ्ने हो भने गाडाहरू चढ्नेलाई पनि भात काढे हुन्छ । यसमा अन्धविश्वासको झल्का आउँछ ।’
गोरखापत्रमा राणाकालमा हलो जोत्ने पक्षमा छापिएको सम्भवत: अन्तिम समाचार सामग्री १ फागुन २००४ को हुनुपर्छ । ‘हलो जोत्न छलफल’ शीर्षकमा दिव्यलालले बन्दीपुरबाट पठाएको सामग्रीमा भनिएको छ :
बन्दीपुरमा साहु महाजन सबै जम्मा भई गरिबलाई सुख र अन्न सस्तो कसरी हुन्छ भनी छलफल गर्दा यो कुरो उठ्यो । नेवार जातिले हलो जोत्न हुन्न भन्ने चलन भएकाले आफूले नहुने, अरूको भर गर्दा ढिला भई उब्जा राम्रो नहुने हुनाले हामीलाई साह्रै बाधा प‍र्‍यो । कसैकसैले ऐनमा (न?)भएको कुरा गर्न के हुन्छ भने पनि भातको हटक हुनुपर्छ भन्ने धेरैको भनाइ भएकाले अबलाई आआफूले हलो जोत्ने भन्ने सल्लाहमा २–४ जनाको मञ्जुरी पनि भयो । त्यसैमा पुर्खादेखि नचलेको काम हामी गर्दैनौं भनी २–४ जनाले जवाफ दिए । यो काम गर्दा कसैमा केही नपर्ने भए पहाडका धेरै गरिबको उपकार हुने थियो ।
गोरखापत्रमा छापिएका यी सामग्रीले तत्कालीन समाजमा देखिएको केही हदसम्मको खुलापनलाई संकेत गर्छन् । उच्च राणा पदाधिकारीले दैनिक ‘सेन्सर’ गरेर मात्र प्रकाशन गर्ने यो पत्रिकामा हलो जोत्न हुने पक्षका मात्र सामग्रीले मात्र स्थान पाउनुले ‘हावा कतातिर बहिरहेको’ थियो भन्ने पनि इंगित गर्छ । खासगरी हलो जोत्न नहुने भन्ने प्रचलित मान्यता रहेका तीन सामाजिक समूह (महिला, बाहुन र नेवार) ले ती सामाजिक मान्यता भत्काउन खोजेको समेत यी सामग्रीले बताउँछन् । तर यो सामाजिक परिवर्तनको प्रमुख उत्प्रेरकबारे गोरखापत्रका यी सामग्रीबाट मात्रै प्रस्ट हुन सकिन्न । ती उत्प्रेरक फगत स्थानीय वर्गीय समस्या मात्र थिएनन्, ती भूमण्डलीकरणजनित वर्गीय समस्या पनि थिए भन्नेता देखिन्छ, तर चुरो पहिल्याउन त अझै गहन अध्ययनकै खाँचो पर्छ । 

पराजुली मार्टिन चौतारीमा आवद्ध ऐतिहासिक समाजशास्त्री हुन् ।

प्रकाशित : फाल्गुन १४, २०७३ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्