कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निरंकुशतन्त्रका पाठहरू

पुस्तक
‘अन टिरानी’ युरोपमा बीसौं शताब्दीमा उदाएको अधिनायकवादी प्रणालीका अनुभवहरूका आधारमा कसरी अमेरिकी लोकतान्त्रिक प्रणालीको जगेर्ना गर्ने विषय केन्द्रित छ ।
विनोद सिजापती

काठमाडौं — हाम्रो देशको इतिहास जति लामो भए पनि प्रजातन्त्र/लोकतन्त्र प्राप्तिको इतिहास भने छोटो छ । सन् १९५१ पश्चात् मात्र प्रजातन्त्रसँग परिचित हुने अवसर हामीले पाएका हौं ।

निरंकुशतन्त्रका पाठहरू

प्रजातन्त्र प्राप्तिको एक दशक नपुग्दै राजा महेन्द्रले आफैंले मुलुकवासीको नाममा दिएको संविधानप्रदत्त आफ्नो अधिकारको प्रयोगद्वारा प्रजातन्त्र मात्र खोसेनन् संविधानलाई नै खारेज गरेर अधिनायकवादको नौलो परीक्षण दलविहीन पञ्चायती व्यवस्था सुरु गरे । तीन दशक लामो संघर्षपश्चात् प्रजातन्त्रको पुन:स्थापना भयो सन् १९९० मा । विश्वभरि नब्बेको दशकपश्चात् साम्यवादलगायत सबै प्रकारका अधिनायकवादको अवसान भएको हुनाले नै प्राध्यापक फुकुयामाले ‘इतिहासको अन्त’ घोषणा गरेका हुन् । त्यसपश्चात् प्रजातन्त्र अब कसैले पनि खोस्न सक्दैन भन्ने विश्वास धेरै नेपालीको मनमस्तिष्कमा छाएको थियो । प्रजातन्त्रको पुन:स्थापना भएको पाँच वर्ष नबित्दै राजनीतिक धरातलमा ‘प्रचण्ड–बाबुराम’ प्रकट भए । एक दशक लामो माओवादी ‘जनयुद्ध’ को चपेटामा राष्ट्र फस्यो । बल्लबल्ल टुसाझैं पलाउन लागेको प्रजातन्त्रलाई अधिनायकवादी चुनौतीले ढाक्न थालेको अवस्थामा दरबार हत्याकाण्ड भयो फलस्वरूप ज्ञानेन्द्रको उदय निम्त्यायो । संवैधानिक प्रावधानबाट राजा बन्न पाएका ज्ञानेन्द्रले पनि त्यही संविधानमा निहित अधिकारको उपयोग गरेर निरंकुश शासक बन्ने अवसर गुमाएनन् ।
दोस्रो जनआन्दोलनको सफलतापछि मात्र सत्तरी वर्ष पुरानो राजा त्रिभुवनले घोषणा गरेको नागरिकद्वारा निर्वाचित प्रतिनिधिहरूले निर्माण गरेको संविधानअनुरूपको शासन व्यवस्था राष्ट्रले बल्ल पाएको छ । संविधानको प्रावधानअनुरूप स्थानीय चुनाव सम्पन्न गरेर अब प्रान्तीय र केन्द्रीय संसद्को चुनाव सम्पन्न हुँदै छन् । अधिनायकवाद र निरंकुशताका भुक्तभोगी हामी नेपालीलाई लोकतन्त्र खोसिएला भन्ने त्रास हुनु स्वाभाविक हो । त्यो त्रासलाई आगोमा घ्यू थप्ने कार्य भने ‘छापामार शैली’ मा निर्माण गरिएको वाम गठबन्धन र चुनावपश्चात् सम्भावित साम्यवादी दलहरूको एकीकरणले गरेको छ । 
उल्लिखित राजनीतिक परिप्रेक्ष्यमा अमेरिकाको एल विस्वविद्यालयका इतिहासका प्राध्यापक टिमोठी स्नाइडरले (२०१७) लेखेको पुस्तक ‘निरंकुशता : बीसौं शताब्दीका बीस पाठहरू’ सान्दर्भिक लागेर यस स्तम्भमा उक्त पुस्तकको समीक्षा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
प्राध्यापक स्नाइडर बीसौं शताब्दीको मध्ययुरोप, पूर्वी युरोप तथा ‘होलोकास्ट’ दखल राख्छन् । यिनै क्षेत्रका राष्ट्रहरू र विषय केन्द्रित तिनले एक दर्जनभन्दा बढी पुस्तक लेखिसकेका छन् । स्नाइडरद्वारा लिखित बहुचर्चित दुई पुस्तकहरू हुन् ‘ब्लडल्यान्डस : युरोप बिटुइन हिटलर एन्ड स्टालिन’ (२०१०) तथा ‘बल्याक अर्थ : द होलोकास्ट एज हिस्टोरी एन्ड वार्निङ’ (२०१५) । उनलाई सन् २०१३ को हानाह आन्र्देट राजनीतिक विचारक पुरस्कारद्वारा सम्मानित गरिएको थियो ‘ब्लडल्यान्डस’ पुस्तक पस्किएकोमा । त्यसो त तिनले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू पाइसकेका छन् । प्रस्तुत पुस्तक ‘अन टिरानी’ पनि लामो अवधिसम्म न्युयोर्क टाइम्सको सबैभन्दा बढी बिक्री भएको पुस्तकहरूमध्येको एक हो । यो पुस्तक युरोपमा बीसौं शताब्दीमा उदाएको अधिनायकवादी प्रणालीका अनुभवहरूका आधारमा कसरी अमेरिकी लोकतान्त्रिक प्रणालीको जगेर्ना गर्ने विषय केन्द्रित छ । 
पुस्तकको सुरुआत स्नाइडरले ‘इतिहास दोहोरिँदैन तर त्यसले भविष्यको दिशाबोध गराउँछ’ भन्ने कथनबाट गरिएको छ । युरोपमा अघिल्लो शताब्दीमा भएका घटनाहरूको संक्षिप्त सिंहालोकन गरेर तिनले २० पाठहरू र समाधानका निमित्त सूत्रहरू समावेश गरेका छन् । कुल ११७ पृष्ठको पुस्तकमा उल्लेख गरिएका पाठहरूमध्ये अधिकांश हामीले अहोरात्र भोगेका तर साधारण घटना सम्झेर नजरअन्दाज गर्ने किसिमका छन् । तीमध्ये हाम्रो परिप्रेक्ष्यमा सान्दर्भिक देखिने केही पाठहरूलाई यहाँ उल्लेख गरिएको छ । प्रथम पाठ भनेको सत्ता प्रमुखको कार्यादेश मिलेपछि मात्र आज्ञापालन गर्नु । निरंकुश शासकहरू मजबुत हुनमा तिनले आदेश जारी गर्नुपूर्व नै नागरिक स्वत:स्फूर्त तिनको पालना गर्न थाल्नु हो । सन् १९३२ मा जर्मनीमा हिटलरले सत्ता प्राप्त गर्दा होस् वा १९४६ मा कमुनिस्टहरूले चेकोस्लोभाकियाको संसद्मा बहुमत कायम गर्दा त्यहाँका नागरिकले शासकबाट के आदेश आउनेछ भन्ने आँकलन गर्दै तिनको पालना गर्न थालेका थिए । त्यस्ता कार्यहरूले गर्दा नाजी तथा कम्युनिस्टहरूलाई अधिनायकवादी प्रणाली स्थापना गर्न अत्यन्त सहज भएको थियो । दोस्रो पाठ स्थापित संस्थाहरू जस्तै : संविधान, नियम कानुन आदिलाई नागरिकले संरक्षण गर्नुपर्छ । त्यस्ता संस्थाहरूको उपस्थितिले गर्दा नै समाज सभ्य र गतिशील हुन्छ । गल्ती त्यति बेला हुन्छ जब स्थापित पद्धतिको पालनाबाट शासक सत्तासीन भएको हुनाले तिनले वैधता पाएको प्रणालीको जगेर्ना गर्छन् भन्ने जनविश्वास हुन्छ । अधिनायकवादी शासकले वास्तवमा आफूलाई वैधानिकता दिने संस्थागत पद्धतिहरूलाई ध्वस्त पारेर नै अधिनायकत्व कायम गर्छन् । तेस्रो पाठ एकदलीय प्रणालीप्रति सदा सजग रहनुपर्छ भन्ने छ । अधिनायकवाद बहुदलीय पद्धतिमा स्थापित हुन सक्दैन । त्यसैगरी तिनको पाँचौं पाठ भनेको नागरिकले आफ्नो पेसागत मर्यादाप्रति इमानदार भइदिएको खण्डमा अधिनायकवादीले वर्चस्व कायम गर्न सफल हुँदैनन् । उन्नाईसांै पाठ राष्ट्रवादी होइन राष्ट्रप्रेमी हुनुपर्छ । अधिनायकवादीहरू आफूलाई सदा राष्ट्रवादी कहलाउँछन् र विरोधीलाई अराष्ट्रिय । बीसौं पाठ भनेको हिम्मत नहार्नु भन्ने हो । पुस्तकमा स्नाइडरले विगतबाट सिकेका पाठहरूको उपयोग गरेर विद्यमान राजनीतिक परिस्थितिलाई सुन्दर भविष्य निर्माणतर्फ कसरी मोड्न सकिन्छ भन्ने आफ्ना धारणाहरू छोटो तर सटीक रूपमा प्रस्तुत गरेका छन् । समग्रमा भन्नुपर्दा तिनले मौलाउन थालेको अधिनायकवादलाई कसरी मत्थर पार्दै लोकतन्त्रको जगेर्ना गर्न सकिन्छ भन्ने उपाएहरू पुस्तकमार्फत पस्केका छन् ।
पुस्तकमा समावेश गरिएका अधिकांश सल्लाह सुझावहरू व्यक्तिपरक छन् अर्थात् नागरिकले के कस्तो कर्तव्य निर्वाह गरेको खण्डमा अधिनायकवाद मौलाउन पाउँदैन । जस्तै : कुनै लक्षित समुदायप्रति दोष फैलाउने कार्य हुँदै छ भने त्यसलाई टुलुटुलु हेर्नुको साटो एक्लैले नै किन नहोस् नागरिकले प्रतिकार गर्न चुक्नु हुँदैन । त्यसैगरी पेसेवर व्यक्तिले आफ्नो पेसाप्रतिको इमानदारी कायम नगर्दा नै निरंकुश शासन व्यवस्थाले जरो गाड्न पाउने हो । वकिलको सहाराबिना कुनै पनि अधिनायकले कानुनी शासनको अन्त गर्न सक्दैन । त्यसैगरी न्यायाधीशको सहयोग लिएर मात्र अन्यायलाई न्यायिक साबित गर्न लागिपर्ने हुन् निरंकुश शासकहरू । स्नाइडरको कथन छ आज्ञापालक प्रशासनिक संयन्त्रकै कारणले गर्दा अधिनायकवादीको सत्तामा टिक्न सफल हुन्छन् । अर्काको विचारलाई बिनाप्रश्न स्वीकार गर्न जति सरल छ त्यति नै कठिन विवेक प्रयोग गरी त्यस्ता विचारप्रति प्रश्न गर्न । नागरिकले हिम्मत गरेर प्रश्न गर्न थालेपछि मात्र लोकतन्त्रको जगेर्ना हुने निक्र्योल निकालेका छन् स्नाइडरले । पुस्तकको सुन्दर पक्ष भनेको स्नाइडरले पुस्तक अमेरिकी ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्प र तिनले लाद्न सक्ने अधिनायकवादप्रति अमेरिकी नागरिकलाई आह्वान गर्ने उद्देश्यले लेखिएको प्रस्ट हुँदाहुँदै पनि तिनले निक्र्योल गरेको पाठ र सल्लाहहरू हाम्रोजस्तो राष्ट्रका नागरिकहरूका निमित्त पनि सान्दर्भिक हुनु हो । हाम्रो परिप्रेक्ष्यमा पनि सुरुमा उल्लेख गरेजस्तै यदि समकालीन इतिहासलाई पल्टाउने हो भने निश्चय पनि व्यक्तिगत र सामूहिक रूपमा गल्तीहरूकै कारण विगतमा राजा महेन्द्र र तिनका छोरा ज्ञानेन्द्र अधिनायकवादी शासक बन्न सकेका हुन् । वर्तमान कालखण्डमा पनि हामी यस्तो अवस्थाको सामना गर्दै छांै जुन बेला व्यक्तिगत रूपमा हामीले लिएको निर्णयले यस राष्ट्रलाई अधिनायकवादीहरूको चंगुलमा फसाउन सक्छ । यस अर्थमा यो पुस्तक वास्तवमा लोकतान्त्रिक शक्तिहरूका निमित्त घोषणापत्र साबित हुन सक्छ । प्राज्ञिक समुदायका निमित्त मसिनो तर खँदिलो यो पुस्तक पठनपाठन कार्यका लागि अत्यधिक उपयोगी साबित हुन सक्छ । 

 

प्रकाशित : मंसिर २, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?