इटालीमा ‘प्रलय’

खेल
हिमेश

काठमाडौं — इटालीमा ‘प्रलय’ । त्यहाँका लगभग सबै मिडियाले इटाली विश्वकपमा छनोट हुन नसकेपछि प्रयोग गरेको एक मात्र शब्द हो, यो । बाइबलमा पृथ्वीमा प्रलय आउने प्रसङ्ग उल्लेख छ । त्यसपछि पृथ्वी पनि रहन्न । त्यसैसँग जोडेर इटालीका मिडियाले आफ्नो देश एक वर्षपछि रूसमा हुने विश्वकपमा छनोट नभएको घटनालाई प्रस्तुत गरे ।

फुटबलसँगै जोडिएर आउने देश हो, इटाली । यही इटाली अब विश्वकपमा छनोट हुन नसकेको घटनालाई प्रलय भनिएको थियो त्यहाँ । 
साँच्चै एक वर्षपछि हुने विश्वकपमा इटाली हुनेछैन, त्यसैले आउने विश्वकपले पस्कने स्वाद पनि यसअघिका संस्करण भन्दा फरक हुने छ । इटालीको फुटबलले एक खास प्रकारको स्वाद पस्कने गर्छ । र, यो हो, डिफेन्समा बढी जोड दिएर खेल्ने तरिका । यसरी नै खेलेर इटालीले चारपल्ट विश्वकप जित्यो । अन्तिमपटक सन् २००६ मा इटालीले विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको थियो । अहिले लाग्छ, कति पुरानो प्रसङ्ग भइसकेको छ । 
के अब डिफेन्समा जोड दिएर खेल्ने जमाना रहेन त ? फुटबलमा प्राय: दोहराएर सुनाइने सिद्धान्त हो, आक्रामक फुटबल खेलेर खेल जितिन्छ, रक्षात्मक रहेर खेल्दा उपाधि जितिन्छ । के यी दिन गए त अब ? इटाली छनोट हुन नसकेपछि उब्जिएको यो पहिलो प्रश्न हो, आम फुटबलप्रेमीको जिज्ञासा । तर सबै कुरा यस्तो होइन । इटाली जम्माजम्मी यसअघि एकैपल्ट मात्र यसरी छनोट हुन असफल थियो १९५८ मा । यो ६० वर्षअगाडिको घटना हो । इटाली सन् १९३० को पहिलो विश्वकप पनि खेलेका थिएन, फरक कारणले । 
म्याराडोनाले आफ्नो व्यावसायिक फुटबलको उत्कृष्ट क्षण इटालीमै बिताए । त्यसैले उनी अर्जेन्टिनापछि इटालीको समर्थन गर्ने गर्छन् । इटाली छनोट हुन नसकेपछि यिनै म्याराडोना पनि चुप लागेर बस्न सकेनन् । उनले भनेका छन्, इटाली नहुनुको सत्य उनलाई सह्य भएको छैन । म्याराडोनालाई निकै दु:ख लागेको छ, त्यसैले उनले पनि उही कुरा दोहोर्‍याएका छन्, अबको विश्वकप  फरक हुनेछ । 
रोमका केही मिडियाले लेखेका छन्, यसपल्ट इटाली विश्वकपमा छनोट नहुँदा कोही रोएनन, किन त ? किनभने अहिलेको टिम विश्वकपका लागि छनोट हुन योग्य नै छैन । खासमा धेरै इटालीका समर्थक खुसी नै छन्, किनभने उनीहरूलाई आफ्नो देशको खेल हेर्न अब रूस जानुपर्ने छैन । एक प्रकारले व्यंग्य हो, यो । अझ भनौं अथाह पीडापछि पोखिएको गुनासो । जुन देशमा लोग्ने–स्वास्नीको झगडाको प्रमुख कारण फुटबल हुन्छ, त्यही देशले विश्वकप नखेल्ने भएपछि कसको मात्र चित्त दुख्दैन र ? 
इटालीले वास्तवमै युरोपेली छनोटमा निकै खराब खेल्यो । इटाली छनोटको समूह ‘जी’ मा थियो र यसमा परेको अर्को टिम थियो, स्पेन । छनोटका क्रममा इटालीले स्पेनलाई छुन पनि सकेन, त्यसैले दोस्रो स्थानमा रह्यो । दोस्रोमै रहेर इटालीले प्ले अफको अवसर पाएको थियो । त्यसमा पनि स्विडेनको हातबाट माथ खायो । प्ले अफको पहिलो लेग १–० ले गुमाएको इटालीले दोस्रो लेग घरमा गोलरहित खेल्यो । सानसिरोमा उपस्थिति ७० हजारभन्दा बढी दर्शकको विश्वासभन्दा पर रहेर । 
यसपल्ट इटालीलाई भाग्यले कहाँनिर धोका दियो त ? पूरा कथा यसरी सुरु हुन्छ र यो कथामा छन्, एक ठूलै खलनायक । यी अरू कोही होइनन्, बरु प्रशिक्षक जियामपिएरो भेन्टुरा हुन् । एन्टोनिया कोन्टेले इटाली छाडेपछि उनको स्थानमा आएका थिए, यी भेन्टुरा । उनलाई मिडियासामु प्रस्तुत गर्ने क्रममा इटालीको फुटबल संघले भनेको थियो, अब भेन्टुरा र उनको टिमले नयाँ इतिहास कोर्नेछ । नभन्दै यस्तै भयो, इतिहास त बन्यो, तर खराब इतिहास । 
त्यो घोषणाको एक वर्षपछि नै इटाली विश्वकप पुग्न सकेन । सानसिरोमा खेल सकेलगत्तै इटालीका गोलरक्षक जियानलुगी बुफोनले आँसु रोक्न सकेनन् । उनी रोएको तस्बिरले इटाली छनोट हुन नसकेको तथ्यलाई सधैं सम्झाउनेछ । खेल चल्दै गर्दाको एउटा घटनाले भने सबै कथा भन्छ । खेलका क्रममा भेन्टुराका एक सहायक डिफेन्सिव मिडफिल्डर ड्यानिएल डे रोसीतर्फ गएछन् र भनेछन्, ‘वार्म अप गर ।’ प्रशिक्षकको संकेत थियो, उनलाई मैदानमा पठाइँदै छ । 
यस्तोमा रोसीले उल्टै प्रश्न गरेछन्, ‘म किन ? मेरो मैदानमा के काम छ ? इटालीलाई बराबरी चाहिएको होइन, चाहिएको जित हो ।’ रोसीले खासमा भन्न खोजेका थिए, उनलाई होइन, मैदानमा छिराउनुपर्ने त फरवार्ड लोरेन्जो इनसिग्नेलाई हो । इटालीका खेलाडीमध्ये इनसिग्नेलाई सबैभन्दा कलात्मक र प्रतिभाशाली मानिन्छ । उनकै खेल त हो, अहिले सिरी ए मा नेपोलीले राम्रो खेलिरहेको । तर भेन्टुराले यी २६ वर्षीय खेलाडीलाई वास्तै गरेनन्, जति बेला इटालीलाई उनको खासै आवश्यकता थियो । 
यी प्रशिक्षक भेन्टुराले कति खराब नीति लिएका थिए, यसबाट प्रस्ट हुन्छ । प्ले अफअगाडि नै इटालीको टिमका केही प्रमुख खेलाडी बैठक बोलाएका थिए, आफ्ना प्रशिक्षकप्रति असन्तुष्टि जनाउँदै । प्रशिक्षकको रणनीतिप्रति उनीहरूलाई पटक्कै चित्त बुझेको थिएन । तर केही भयो कि भेन्टुरा राजीनामाको धम्की अगाडि ल्याइहाल्थे । स्विडेनविरुद्ध स्टकहोममा भएको पहिलो लेगको खेल गुमाएयता इटाली मिलानमा ३–५–२ को रणनीतिले खेलेको थियो । 


यो रणनीतिको किन चाहियो भने यसअन्तर्गत भेन्टुराले इनसिग्नेलाई खेलाउनु नै परेन । स्विडेन आपैंmले डिफेन्समा जोड दिइरहेको थियो, तर इटाली पनि के कम, तीन सेन्टर ब्याक्स राखेको थियो टिममा । इटालीले खेलका क्रममा एकपछि अर्को क्रस मात्र गर्‍यो । क्रसमाथि क्रस । अनि प्रत्येक क्रसलाई सजिलै क्लियर गर्थे, अग्ला र बलिया स्विडेनी डिफेन्डरहरू । प्रत्येक पासलाई उनीहरूले सजिलै हेड गरेर कम असरदार पारिरहेका थिए । 
कोन्टे हुँदा तिनै खेलाडीले क्या राम्रो खेल्थे, भेन्टुराको पालामा ती सबै निकम्मा देखिए । फेरि युरोपमा यिनै इटालीका क्लब मज्जाले खेलिरहेका छन् । तर यस्तै प्रदर्शन देशका लागि भने छैन । स्पेनविरुद्ध म्याड्रिडमा भएको खेल इटालीले ३–० ले गुमाएपछि त प्रशिक्षकले टिमलाई कसरी खेलाउने हो भनेर नै किटान गर्न सकेनन् । उल्टै उनी भ्रमित हुन थाले । इटालीले खेलेका पछिल्ला चार खेलमा टिमले तीन फरक रणनीति प्रयोग गरेको थियो, जुन प्रत्येक खेलमा असफल रह्यो । 
त्यसैले यो कथा हो, एउटा खराब प्रशिक्षकले कसरी टिमलाई असफल बनाउन सक्छ भन्नेको उदाहरण । यी तिनै प्रशिक्षक हुन्, जसले धेरै क्लब त सम्हाले, तर केही जित्न सकेको इतिहास छैन । विश्वास नहुन सक्छ, भेन्टुराले सिरी डी, सी र बीका उपाधि त जिते, तर त्योभन्दा अरू केही पनि होइन । पछिल्लो समय युरोपतिर नजर लगाउनुपर्छ, केही ठूला क्लबमा इटालीकै प्रशिक्षक बढी छन् । तर इटाली आपैंmले राष्ट्रिय टिमका लागि यति खराब प्रशिक्षक किन चुन्यो, त्यो कसैलाई थाहा छैन । अहिले नतिजा सबैसामु छ र यो हो, प्रलय । 
twitter : @himeshratna

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT