कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अहं ब्रह्मास्मि !

सम्झना
लेखनाथ भण्डारी

काठमाडौं — अग्रज साहित्यकार कविताराम श्रेष्ठ दाइ भौतिक रूपमा अब हामीमाझ रहेनन् । कविताराम दाइको आत्माको शान्तिको कामना । शोकाकुल परिवारजनमा हार्दिक समवेदना !

अहं ब्रह्मास्मि !

‘मेरो प्यारो ओखलढुङ्गा’ । कवि सिद्धिचारण श्रेष्ठको यस लोकप्रिय कविता/गीतले ओखलढुङ्गाप्रतिको चासो वा आकर्षण अलिक बढ्तै थियो । संयोगले काठमाडौं बसाइँ पनि ओखलढुङ्गाका लोकप्रिय प्रजातन्त्रवादी नेता बलबहादुर राई र उनको परिवारसँग जुर्‍यो । काठमाडौं घट्टेकुलोमा कुलोको डिलजतिको पनि बाटो नभएको त्यही समयमा ओखलढुङ्गा निवासी शिवजी श्रेष्ठ हुँदै अनामनगरस्थित कविताराम श्रेष्ठको घरसम्म पुगियो । रेवतीरमण सुवेदी दाइले ओखलढुङ्गे युवाहरू रामहरि खतिवडा, केदार ढुङ्गेलगायतसँग यसै समयकालमा परिचय गराएका थिए ।
फिल्म ‘मुक्ति संघर्ष’ ले कविताराम श्रेष्ठसँग प्रत्यक्ष परिचय गरायो । आफ्नै कथा र निर्देशन तथा अभिनयको यस फिल्मले कविताराम दाइको बहुआयामिक व्यक्तित्वसँग परिचित गरायो । क्रमश: अस्वीकृत साहित्य आन्दोलनको सन्दर्भदेखि लिएर विज्ञान कथा, बाल कथा हुँदै नेपाल टेलिभिजनको ढोकासम्म पुर्‍यायो उनैको संगतले । आफ्ना केही आग्रह वा दृष्टिकोणका कारण म नेपाल टेलिभिजनको ढोकासम्म पुगेर फर्कें तर अन्य मसँग नै त्यहाँ पुगेका केही साथी लामै समयसम्म नेपाल टेलिभिजनभित्रै थिए ।
यसै क्रममा असाधारण नेपाली साहित्यिक प्रतिभा झमक घिमिरेसँगको चिनजानले पनि कविताराम दाइसितको संगत र मित्रतालाई नजिक ल्यायो । कविताराम दाइ लन्डनतिर नजिकिंदै गर्दा म पनि पाताल प्रदेशतिर पसें । त्यसपछिका दिनहरूमा पनि अस्वीकृत साहित्य पुरस्कारलगायतका अन्य सन्दर्भहरूमा फोन, इमेल र फेसबुकमा बाक्लो नभए पनि नियमित रह्यो सम्पर्क ।
केही वर्षपहिले अमेरिका आउँदा कुराकानीमा उनले नेपाल र नेपालीको गौरव तथा मानवताका लागि बुद्ध दर्शनप्रतिको आकर्षण र महत्त्वबारे पनि चर्चा गरेका थिए । बुद्ध दर्शनप्रतिको लगाव र अध्ययनको परिणाम यससम्बन्धी उनका ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ उपन्यासलगायत अन्य सिर्जनाहरू पनि सार्वजनिक भएका छन् ।
अढाई दशक लामो संगतले कविताराम दाइलाई मित्रवत् र प्रेरणादायी अग्रजको रूपमा मैले पाएँ । २ दर्जनभन्दा बढी यथार्थपरक अर्थात् जीवनवादी साहित्यिक कृतिहरूका लेखक हुन् उनी ।
मृत्यु, मानव जीवन अर्थात् जीव र प्राणीको मात्र होइन प्रकृतिका लागि समेत अनिवार्य चुनौती हो । मानिसलाई मृत्यु अनिवार्य छ वा यसको विकल्प छैन भन्ने थाहा छ र यो स्विकार्न धेरैलाई कठिन र त्यत्तिकै पीडादायी पनि छ । तर कविताराम दाइले जीवनको यो कठिन सत्यलाई पीडारहित ढंगले स्विकारेका थिए । विज्ञानको परिभाषा र निष्कर्षअनुसारको मृत्यु अर्थात् ‘डेटअफ एक्स्पाएर’ पनि उनले पार गरेका थिए ।
केही महिनापहिले उनले फेसबुकको इनबक्समा त्यस प्रकारको सन्देश पनि पठाएका थिए, आफूले नजिक मानेका मित्रहरूका लागि । तर उनले त्यसलाई आफू जीवितै रहेको अवस्थामा सार्वजनिक नगर्न पनि अनुरोध गरेका थिए ।
उनको गत मे २५ मा प्राप्त सन्देश–‘मैले अति नजिक मानेको मेरा प्रिय मित्र गण ! मलाई सन् २०१२ मा बोसे आन्द्रामा क्यान्सर भएको थाहा भो र त्यसलाई तत्काल अप्रेसन गरेर फालियो तर फेरि त्यो फोक्सोमा संक्रमित हुन पुग्यो र आजसम्म किमो लिँदै गरेको स्थिति छ । गत वर्ष जुलाईमा मलाई साढे ३ देखि ६ महिनाभित्र मेरो मृत्यु हुने आकलन डाक्टरले सुनाएका थिए । तर त्यसै बेलामा नयाँ खाले किमो आएको र त्यसको उपचारले मेरो आयु लम्बियो । अझै केही भइहाल्ने म देख्दिनँ । शरीरमा कुनै कतै पीडा छैन । कडा साइड इफेक्ट पनि छैन । ओछ्यान कहिल्यै परेको छैन र अहिले त्यस्तो सम्भावना पनि छैन । यो निको हुने भन्ने त होइन तर आयु त लम्बियो नै । डाक्टरले मिति तोकिदिएको घटनापछि मैले बाँकी रहेका पुराना काम र दायित्व सल्ट्याउने र नयाँ काम बन्द गरें । त्यसैले हिजोआज मलाई तपाईंहरूले नयाँ केही गरेको देख्नुहुन्न । पब्लिकमा पनि अति छोटो समय मात्र देख्दै हुनुहुन्छ । कुनै काम अधुरो नरहोस् भन्ने एक मात्र मेरो चाहना छ । यसैमा तपाईं साथीहरूको समेत सहयोगको अपेक्षा छ । सम्झाइदिनुहोला कहीं कतै मैले गर्न केही बाँकी देखिन्छ कि ? मलाई मर्नसँग किञ्चित डर छैन । मर्न त जीवधारी सबैले पर्छ नै । ७० वर्षमा छु । मान्छेको आयु त्यस्तै–त्यस्तै नै हो । यद्यपि बढी बाँच्ने छन् नै । बाँचुन्जेल आफूले जानेसम्म सही ढंगमा बाँच्ने प्रयास थियो र सफल छु भन्ने लाग्छ । केही कतै त्रुटि कमी कमजोरी छ भने ती नियतवश भएका गरेका होइनन् मेरो क्षमताकै कमी कमजोरी हो । त्यता पनि पश्चात्ताप छैन । मैले अहिलेसम्म मेरो यो रोगको अवस्थाको सार्वजानिक गरिनँ । यस्तो थाहा हुनेबित्तिकै स्वजन रुने कराउने, हतासिने, अनि सहानुभूति दिने गर्न लागिहाल्छन् । म त्यस्तो हंगामा चाहन्नँ । ५ वर्ष बित्यो र बडो सरल र उस्तै ढंगमा बित्यो । डाक्टरले मिति तोकिदिंदा भने मैले सम्बन्धित नातागोतामा थाहा दिन आवश्यक सम्झें र तत्काल थाहा दिएँ । अहिले भरखर अबचाहिं तपाईं नजिकका अन्तरंगी साथीलाई पनि भन्न आवश्यक ठानें । केही त्यस्तो कुनै समस्या वा गाह्रो साह्रो भएर होइन तर मेरो आफ्नै गतिविधिमा कमी भइरहेको अवस्थामा यसको कारक तत्त्व यो थियो भन्ने थाहा दिने अवस्था आइसकेको मैले सोचें । मैले यो पत्र सार्वजनिक कतै गरेको छैन । तपाईंजस्तै मेरा अन्य सीमित अन्तरंगी मित्रको बक्समा मात्र छोडेको छु । यति थाहा दिएपछि मैले आफूलाई हल्का भएको महसुस गरेको छु । म यसरी सामान्य ढंगमा जीवितै रहेको अवस्थामा कुनै पनि सामाजिक सञ्जालमा यो मेरो स्वास्थ्यको अवस्थाको हल्लीखल्ली नहोस् त्यति भने मैले तपाईंबाट अपेक्षा राखेको छु ।
धन्यवाद ।
कविताराम श्रेष्ठ
सूर्यका अगाडि दियो जलाउनु झनै अँध्यारो वा धूवाँ फैलाउनु हो । लेख्न सकिने र भन्न सकिने बाँकी देखिनँ मैले तत्काल । त्यसको २ हप्तापछि मैले साहस गरेर लेखें– ‘कविताराम दाइ सम्झनाका लागि धन्यवाद ।
तपाईंको स्वास्थ्यको दुखद खबरले म पनि दु:खी भएँ । जीवनको यति कठिन र चुनौतीलाई पनि हाँसी–हाँसी सामना गर्ने तपाईंको अठोट र उद्देश्य मर्मस्पर्शी र प्रेरणादायी छ । मलाई लाग्छ— चेतना दु:ख पनि हो र दु:ख चेतना पनि हो । चेतना नभए दु:ख भन्ने थाहै हुन्न र दु:ख थाहै नभए चेतना पनि । संवाद र सम्पर्क हुँदै गरोस् है ।’
तर यसपछि सम्पर्क हुन सकेन । सामान्य १/२ फेसबुकमा लाइक र कमेन्टहरूबाहेक ।
सम्भवत: ४ दिनपहिले आफ्नो फेसबुक स्टाटसमा ‘अहं ब्रह्मास्मि !’ लेखेर अस्पताल भर्ना भएका कविताराम दाइको निधनको खबर नेपाल, लन्डन र अमेरिका तिनैतिरबाट १९ नोभेम्बरको बिहान करिब–करिब एकै समयमा पाएँ । उनले केही फेसबुक मित्रहरूको जिज्ञासा वा खिसी टिउरीजस्तो लाग्ने टिप्पणीहरूमा पनि सहज, शान्त र धैर्यपूर्वक रेस्पोन्स गरेका रहेछन् । ‘अहं ब्रह्मास्मि !’ यसको अर्थ यसरी दिनुभएको देखिन्छ, ‘मेरो घैंटोमा घाम लाग्यो ।’

प्रकाशित : मंसिर ९, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?