नेपाली संगीतको एउटा मानक

सम्झना
प्रदीपकुमार उपाध्याय

काठमाडौं — नेपाली गीतसंगीतलाई शिशु अवस्थामा मेलवादेवी र मित्रसेनहरूले डोर्‍याए । प्रजातन्त्रप्राप्तिसँगै रेडियो नेपालको स्थापना भएपछि नेपाली संगीत एक मानेमा आधुनिक युगमा प्रवेश गर्‍यो । यसपछि गीत रेकर्डिङका लागि कलकत्ता लगायतका भारतीय सहर जानुको विकल्प तत्काल नहटे पनि हाम्रा गीतहरूमा विदेशी बाजाको प्रयोग हुन थाल्यो ।

आधुनिक भनिने गीति विधाका लागि नारायणगोपाल अँध्यारोमा जूनकिरीझैँ देखा पर्नुभयो । 

आधुनिक गीतसंगीतका क्षेत्रमा नारायण दाइले अद्भुत काम देखाउनुभयो । उहाँले नेपाली गीतसंगीतको क्षेत्रमा जे दिनुभयो, त्यो एउटा कोसेढुंगाका रूपमा रहेको छ र त्यसलाई आजसम्म कसैले नाघ्न सकेको छैन । धेरै जना प्रयासरत चाहिँ छन् । स्वरको रेन्ज, मार्मिक भ्वाइस टेक्स्चर, सेन्स अफ म्युजिक, गायकी/संगीत/शब्दलाई पहिचान गर्ने क्षमता, प्रविधिको प्रयोगमा उत्सुकता जस्ता विशेषताले ओतप्रोत हुनुहुन्थ्यो उहाँ । यी विशेषता समकालीन अन्य गायकमा उहाँमा झैँ एकमुस्ट थिएनन् र यही कारण उहाँ अरूभन्दा भिन्न हुनुभयो । त्यसैले नारायणगोपाल एउटा गायक वा संगीतकार मात्रै होइन कि, नेपाली संगीतको एउटा कालखण्ड हो । एउटा मानक हो ।

नयाँ प्रविधिको भरपूर उपयोग गर्ने
गायक मधु छेत्री मेरा बालसखा । उनी वीरगन्जका, म कलैयाको । हामी दुवै ठाकुरराम क्याम्पसका उत्पादन । ठाकुरराममा पढ्दाखेरि नै म ‘अल्झेछ क्यारे पछ्यौरी...’ जस्ता नारायण दाइका गीतहरू गाइरहन्थेँ । मधु र प्रकाश श्रेष्ठसँगको संगतका कारण म पनि सानोतिनो कलाकारमा गनिन थालेको थिएँ । म बाजा पनि बजाउँथेँ, बेन्जो । मधु र प्रकाशहरू गायनमै समर्पित भए, म चाहिँ प्रविधि अध्ययनतिर लागेँ । पहिले भारतको इलाहाबादबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ गरेँ, पछि पुनाको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट साउन्ड इन्जिनियरिङ गरेँ । उताबाट फर्केपछि त्यस बेलाको शाही नेपाल चलचित्र विकास संस्थानमा पाँच–छ वर्ष काम गरेँ । नेपाली संगीतका लागि नेपालमै नयाँ काम गर्ने सोचले २०४० सालतिर हामीले पार्टनरसिपमा म्युजिक नेपाल स्थापना गर्‍यौं । 

त्यसका लागि मैले जापानबाट फोर ट्रयाकको क्यासेट ल्याएको थिएँ । राजा वीरेन्द्रको सवारीमा मलाई चलचित्र विकास संस्थानबाट त्यता पठाइएको थियो र मैले त्यसको फाइदा उठाएको थिएँ । सानो कोठा र थोरै उपकरण राखेर सञ्चालन गरेको स्टुडियोका लागि हामीलाई अब काम चाहियो । 
म्युजिक नेपालका लागि काम खोज्ने सन्दर्भमा एक दिन कुरा हुँदा मधुले ‘नारायण दाइलाई यहाँ ल्याउन सक्छु’ भने । साँच्चै भोलिपल्टै उनी नारायण दाइलाई लिएर आए । नारायण दाइले ‘काम राम्रो लागे एल्बमै गर्छु’ भन्दै पहिले स्टुडियो हेर्ने मन गर्नुभयो । हाम्रो स्टुडियोको ताल देखेर उहाँ मजाले हाँस्नुभयो । व्यंग्य गर्दै भन्नुभयो, ‘यस्तो स्टुडियोमा पनि रेकर्डिङ हुन्छ ?’ हुन पनि अमेरिकाले बनाइदिएको रेडियो नेपालको भव्य स्टुडियोका तुलनामा हाम्रो स्टुडियो एक छेउ पनि थिएन । रेडियो नेपालमा आरसीआई कम्पनीको माइक्रोफोन, सिंगल ट्रयाकको भए पनि ठूलो रेकर्डिङ मेसिन जस्ता उपकरण देखेका नारायण दाइलाई चार ट्रयाकको क्यासेट, चार वटा माइक्रोफोन, सानो एम्प्लिफायर आदि भएको सानो स्टुडियोमा के आँखा लागोस् ? तर हामीले त्यति बेला उपलब्ध नयाँ प्रविधि भित्र्याएका थियौँ, जुन रेडियो नेपालमा थिएन । नारायण दाइ यही कुराबाट प्रभावित हुनुभयो । रेडियो नेपालमा सिंगल ट्रयाक रेकर्डिङ हुन्थ्यो । गाउँदा वाद्यवादकहरू पनि काममा लाग्नुपथ्र्यो, बाजा पनि सँगै बज्थ्यो । टेक ओके भयो भने भयो, ‘एनजी’ (नट गुड) भयो भने फेरि सुरुदेखि नै रिटेक गनुपथ्र्यो । त्यस्तो हैरानी थियो ।
हाम्रो स्टुडियोमा आफूलाई चित्त नबुझुन्जेल गायकले मात्रै पनि गाइरहन सक्थ्यो, जबकि रेडियो नेपालमा त्यस्तो भए वाद्यवादकहरू पनि गायकसँगै भिडिरहनुपथ्र्यो । गायन सुधार्ने विकल्प धेरै भएका कारण नारायण दाइले ‘गीतियात्रा, भाग १’ को सारा रेकर्डिङ म्युजिक नेपालमै गराउनुभयो । उहाँ मलाई बिहानै बाइकमा घरबाट उठाउनुुहुन्थ्यो । म्युजिक नेपालमा मैले कुचो लगाउनेदेखि लिएर रेकर्डिङ गर्नेसम्मका काम गर्नुपथ्र्यो । त्यो बेला जोस पनि थियो । राति एघार–बाह्र बजेसम्म काम गथ्र्यौं । उहाँलाई मेरो सोच, मेरो काम राम्रो लाग्यो । त्यसपछि हामी दुईबीच घनिष्ठता बढ्यो । पछि अरू स्टुडियोमा आफ्नो रेकर्डिङ हुँदा पनि मलाई नै बोलाउने गर्न थाल्नुभयो । 


मिस्टर पर्फेक्सनिस्ट
नारायण दाइलाई एकदमै पर्फेक्सन चाहिन्थ्यो । आफूले गाएको सुनिसकेपछि यहाँ मलाई घुमाउन पुगेन, यो प्वाइन्टसम्म पुग्न सकिनँ, यहाँ होल्ड गरिनँ भन्नेमा उहाँ बडा सचेत बन्नुहुन्थ्यो । चित्त नबुझुन्जेल गाइरहनुपथ्र्यो । त्यसैले सिंगल ट्रयाकवाला रेकर्डिङमा, रेडियो नेपालमा उहाँको रेकर्डिङका बेला वाद्यवादकहरूको भागाभाग हुन्थ्यो । उहाँ एउटै गाना २०–२५ चोटि गाए पनि चित्त बुझाउनुहुन्नथ्यो र ‘भोलि गाउने है, आज सकिनँ’ भन्दै हिँड्नुहुन्थ्यो । जति दिन लगाएर जति टेक लिए पनि वाद्यवादकले एउटा गानामा बजाएबापत २५–३० रुपैयाँ पाउँथे । एउटै गानामा दुई दिन लाग्ने भएपछि बिचराहरू नभागेर पनि के गरून् ? वाद्यवादकहरू भन्थे, ‘नारायणगोपाल एकदमै टेक खान्छन् ।’ उहाँले नजानेर ‘टेक खाने’ गर्नुभएको थिएन, गीतमा क्वालिटी आओस् भनेर मरिमेट्नुहुन्थ्यो । 
म शाही नेपाल चलचित्र विकास संस्थानमा कार्यरत हुँदा ‘बदलिँदो आकाश’ फिल्म बन्ने भयो । त्योसँगै बन्दै गरेको ‘के घर के डेरा’ फिल्मका गीत रेकर्ड गर्न संगीतकारहरू शुभबहादुर सुनाम र शम्भुजित बास्कोटा कलकत्ता गए । संगीतकार गोपाल योन्जन र मैले ‘बदलिँदो आकाश’ का लागि रेकर्डिङको काम चलचित्र संस्थानकै स्टुडियोमा गर्ने योजना बनायौँ । फिल्मका सबै कामका लागि भारतै जानुपर्ने परिपाटीको अन्त्य होस् भन्ने हाम्रो सोच थियो । प्राविधिक रूपले एकदमै प्रिमच्योर्ड इक्विपमेन्टमा हामीले काम गर्‍यौं । संस्थानमा एउटा थियो डबिङ मेसिन । ट्रयाक चाहिँ चार वटा थिए । ट्रयाक फिल्मको रिलसँगै घुम्थ्यो । डबरमा पनि रिलजस्तै म्याग्नेटिक टेप प्रयोग हुन्थ्यो । त्यसको एउटा ट्रयाक खराब थियो, चीँ गरिरहन्थ्यो । त्य फिल्मको शीर्ष गीत ‘बदलिँदो आकाश...’ नारायण दाइले नै गाउनुभयो । दुइटा मात्रै ट्रयाकमा फुल ट्रयाक रेकर्ड गर्‍यौँ, सबै वाद्यवादकलाई एकै चोटि काम लगाएर, मल्टी ट्रयाक नभएकाले । भोकलको लागि एउटा ट्रयाक राखिएको थियो । भोकलमा नारायण दाइले निकै समय लगाइदिनुभयो । हत्तपत्त चित्तै बुझाउनुभएन । त्यही भएर त्यो गीत राम्रो सुनिएको छ ।


गला रसिलो बनाउन टुच्च लाइरहनुपर्ने
नारायण दाइको अर्को विशेषता के थियो भने, आफूले गाउनुपर्ने गीतको मेलोडी र ट्युन ठीक छ कि छैन, आफ्नो भोकल रेन्ज सुहाउँदो छ कि छैन भन्नेमा निकै ख्याल गर्नुहुन्थ्यो । यस्तो गुण भएको गायक निकै माथि पुग्छ । नारायण दाइको हकमा भएको यही हो । शब्दको स्तर हेर्ने र आफ्नो गलाले गीतका तलमाथिका नोटलाई धान्न सक्छ कि सक्दैन, त्यहाँसम्म लग्न सक्छु कि सक्दिनँ, अडिन सक्छु कि सक्दिनँ, सस्टेन नोटमा बेसुरा हुन्छु कि, घुमाउने ठाउँहरूमा गलत घुमाइ होला कि भनेर सचेत बन्नुहुन्थ्यो उहाँ । त्यो सबै पक्का भएपछि उहाँ रेकर्डिङमा बस्नुहुन्थ्यो र मन नपरुन्जेल गाइरहनुहुन्थ्यो । गाना सक्न उहाँलाई हतार हुन्नथ्यो । त्यही भएर उहाँ रेकर्डिङमा थाक्नुहुन्थ्यो र गला भिजाउन टुच्चटुच्च लगाइरहनुहुन्थ्यो । एक क्वाटर रम प्राय: उहाँसँगै हुन्थ्यो र बेलाबेला यसो गला भिजाइरहनुहुन्थ्यो । निट खानुहुन्थ्यो, तर थोरैथोरै, मात्ने गरी होइन । ‘त्यसो नगर्नु न दाइ’ भन्दा मान्नुहुन्नथ्यो । पेमला भाउजू (नारायणगोपालकी श्रीमती) अक्सर स्टुडियो आएर मलाई ‘दाइलाई रक्सी खान नदिनू है, देखेपछि खोस्नू’ भन्नुहुन्थ्यो । मैले यो आग्रह सुनाउँदा दाइ चाहिँ भन्नुहुन्थ्यो, ‘यो नभई त तिमीले रेकर्ड गर्‍यौ मेरो गीत ? गलो खोल्ने औषधि हो यो ।’ साँच्चिकै ड्रिंक्सका कारण गीत बिग्रिने वा ढिलो हुने हुँदैनथ्यो, झन् राम्रो गाउनुहुन्थ्यो । गलो साँच्चिकै खुल्थ्यो । 
चुरोट पनि उहाँको अभिन्न साथी थियो । रक्सी र चुरोटलाई उहाँले अम्मलभन्दा पनि सिर्जनशीलताका लागि प्रयोग गर्नुभएको ठान्छु म ।


रेकर्डिङमा हार्मोनियम बजाउँदै गाउने
नारायण दाइलाई गीतको पूर्वाभ्यासमा मात्र होइन, रेकर्डिङमा पनि हार्मोनियम चाहिन्थ्यो । त्यसबाट हामीलाई कति समस्या हुन्थ्यो, भनिसाद्दे छैन । वान टेक रेकर्डिङमा पनि उहाँ हार्मोनियम बजाएरै गाउनुहुन्थ्यो । रेकर्डिङमा हार्मोनियम लिएर गाउने बानी अरु कति गायकको पनि छ । यसले डिस्टर्ब गर्छ । औंला नबज्ने गरी हल्का बजाए पनि बीचबीचमा अनावश्यक च्याँ–प्याँ आइहाल्छ ।
गीतमा अनावश्यक ध्वनि नसुनियोस् भनेर नारायण दाइको रेकर्डिङका बेला हामी हार्मोनियमलाई च्यादर वा ब्ल्यांकेटले छोपिदिने गथ्र्यौं । उहाँ पर्दा नहेरी बजाउँदै गाउनुहुन्थ्यो । तैपनि माइकले टिपिहाल्थ्यो, हार्मोनियमका पर्दा थिच्दा ख्याटख्याट आइहाल्थ्यो । एक चोटि मैले सम्झाउन खोज्दा उहाँ रिसाउनुभयो । भन्नुभयो, ‘बिनाहार्मोनियम मैले गाउँदिनँ ।’ 
स्टुडियोमा छिरेपछि उहाँ एउटा कुनाको भित्तापट्टि फर्केर अभ्यास गर्न थाल्नुहुन्थ्यो । म्युजिक नेपालको स्टुडियोको एउटा कुनो उहाँकै लागि भनेजस्तो थियो । मुड बनेपछि ‘लु टेक लेऊ’ भन्नुहुन्थ्यो । त्यसैले कन्ट्रोल रुममा हामी स्टयान्डबाई हुनुपथ्र्यो । उहाँ भित्तातिरै फर्केर गाउनुहुन्थ्यो, माइक त्यसरी नै मिलाइदिनुपथ्र्यो । ‘कन्ट्रोल रुमको ऐनातिर हेर्दा ध्यान भंग हुन्छ’ भन्नुहुन्थ्यो । कन्ट्रोल रुममा पनि संगीतकार र मबाहेक तेस्रो व्यक्तिलाई बस्न दिनुहुन्नथ्यो, बाहिर खेदाइहाल्नुहुन्थ्यो । अनि भित्तातिर फर्केर इम्प्रुभाइज गर्दै गाउनुहुन्थ्यो ।
नारायण दाइले हरेक गीतमा इम्प्रुभाइजेसन गर्नुभएको छ । ‘गीति यात्रा, भाग १’ मा रहेको आफ्नै कम्पोजिसनमा पनि इम्प्रुभाइजेसन गर्नुभएको थियो । आजको इम्प्रुभाइजेसनमा भोलि फेरि अलिकति बदलाव गरिहाल्नुहुन्थ्यो । मल्टी ट्रयाकको सुविधा पाएपछि उहाँको गायक झन् बढी मुखर भयो । इम्प्रुभाइजेसन कतिसम्म हुन्थ्यो भने, केही गीतको त रेकर्ड भइसकेको प्रिल्युड र इन्टरल्युड पनि बदल्नुपर्ने अवस्था आएको थियो । तर पनि उहाँले रिटेक गरेका गीतहरू झन्झन् मीठा सुनिएका छन् । 
तर, हार्मोनियम बजाएर गाएकै कारण उहाँका धेरैजसो गीतमा अनावश्यक ध्वनि सुनिने समस्या छ । ध्यान दिएर सुन्दा आमश्रोताले पनि यो कुरा थाहा पाउन सक्छन् । ‘गीतियात्रा, भाग १’ का सबैजसो गीतमा यो समस्या छ । कति ठाउँको ख्याटख्याट मैले पनि मिक्सिङमा काट्न सकिनँ । त्यस बेलाको डिजिटल प्रविधि अहिलेको जस्तो एडभान्स्ड थिएन । त्यसैले नारायण दाइका गीतबाट त्यो कमजोरी हटाउन सकिएन । अहिले त कट–पेस्ट गर्न सकिन्छ, ट्रयाकै सिफ्ट गर्न पनि सकिन्छ । एकातिरको बेसुरालाई उडाएर सुरवाला ल्याएर पेस्ट गर्न सकिन्छ । हुँदाहुँदा बेसुरा गाएकोलाई अटोट्युन लगाएर ट्युनमा पनि ल्याउन सकिन्छ । त्यसले गर्दा अचेल अभिनेताहरू पनि गायक बनेर देखिन थालेका छन् ।
तर पछिपछि, प्राविधिक समस्या बुझ्न थालेपछि उहाँले रेकर्डिङमा हार्मोनियम बजाउन छोड्नुभयो । प्रविधिको भरपूर इन्जोय गर्नुभयो । ‘गीतियात्रा, भाग १’ देखि अन्तिम गीत ‘विरही माया अधुरो रह्यो...’ सम्ममा हाम्रो अविस्मरणीय सहयात्रा रह्यो । 


नारायण दाइको अन्तिम गीत ‘विरही माया...’ नै हो 

नारायण दाइको मृत्युपछि कति मानिसले ‘विरही माया...’ उहाँको अन्तिम गीत नभएको प्रतिक्रिया दिए । अचेल पनि कहिलेकाहीँ केही मानिस ‘यो मुटुलाई कसरी सम्झाई बुझाउँ...’ उहाँको अन्तिम गीत भएको तर्क गर्छन् । तर, त्यो सत्य होइन । उहाँको जीवनको अन्तिम रेकर्डिङ ‘विरही माया...’ नै हो । कुनै गीत पछि सार्वजनिक हुनु बेग्लै कुरा हो । ‘विरही माया...’ मैले नै रेकर्ड गरेको हुँ र त्यसपछि उहाँले एक शब्द गाउन सक्नुभएन, थला परिहाल्नुभयो । यो गीत रेकर्ड गर्नुभन्दा केही दिनअगाडि नारायण दाइ बम्बई जानुभएको थियो, रञ्जित गजमेरको संगीतका फिल्मी गीत गाउन । फर्किंदा उहाँले मलाई ‘यो मुटुलाई...’ दिँदै ‘यो गीत बिग्रेको छ, खोकी लागेकोले मैले राम्रो गाउन सकिनँ, तर घरमा सुन्नलाई ट्रान्सफर गर्देऊ है’ भन्नुभएको थियो र मैले स्पुलबाट क्यासेटमा सारेर उहाँलाई दिएको थिएँ । त्यो बेला म म्युजिक नेपालमै थिएँ । ‘विरही माया...’ त्यसपछि मात्रै रेकर्ड भएको हो । 
‘गीतियात्रा, भाग २’ निकाल्ने सपना थियो ‘गीतियात्रा, भाग १’ को सफलतापछि नारायण दाइ अर्को भाग निकाल्न उत्सुक हुनुभएको थियो । त्यतिन्जेल म म्युजिक नेपाल छोडेर उमेश श्रेष्ठ (लिटिल एन्जल्स स्कुल) को लगानी रहेको साङ स्टुडियोमा आबद्ध भइसकेको थिएँ । ‘गीतियात्रा, भाग २’ त्यहीँबाट निकाल्ने तयारी थियो । उहाँले गीतहरू जम्मा गरेर काम थालिसक्नुभएको थियो । दुर्भाग्यवश, त्यही बेला बिरामी पर्नुभयो ।
उहाँलाई भ्वाइलनको समवेत स्वर एकदमै मन पथ्र्यो । नेपालमा पाँच–छ जना मात्रै थिए, अलि ठीकसँग भ्वाइलिन बजाउन सक्नेहरू । तर अर्केस्ट्रालाई त्यतिले पुग्दैनथ्यो । अनि भ्वाइलिनबाट जस्तो पन्च आउनुपर्छ, त्यो मिठास निस्किँदैनथ्यो । बम्बईमा त भ्वाइलिन राम्ररी बजाउने सक्ने पचासौँ मान्छे भेटिन्थे । उहाँले मलाई भन्नुभएको थियो, ‘गीति यात्राको दोस्रो भागको ट्रयाक तिमी यहीँ बनाउने भए बनाऊ । भोकल यहीँ गर्छु म । तर भ्वाइलिन चाहिँ बम्बईमै गएर हाल्नुपर्छ ।’
पहिलो चोटि बिरामी पर्दा उहाँ केही दिनपछि ठीक हुनुभएको थियो । उहाँ तंग्रिएपछि हामीले फेरि डेमो तयार गर्‍यौँ । साङमा अटारीको एउटा सफ्टवेयर थियो, आईटी विज्ञ करुण थापाको त्यसमा प्राविधिक सहयोग थियो । त्यति बेलासम्मको उच्च स्तरको, अत्याधुनिक स्टुडियो थियो साङ । त्यो देखेर पनि नारायण दाइ साङबाट एल्बम निकाल्न लोभिनुभएको थियो ।
उहाँ गीतकै तयारीमा लाग्नुभयो । म ‘झुमा’ फिल्मको निर्देशनको जिम्मा लिएर त्यतै व्यस्त भएँ । मनाङमा सुटिङ गर्दैमा मलाई दुई महिनाजति लाग्यो । त्यसबीच उहाँ फेरि बिरामी हुनुभयो । पोस्ट प्रोडक्सनको काम लिएर बम्बई मलाई जानु थियो र त्यता जानुअघि उहाँलाई भेट्न वीर अस्पताल गएँ । उहाँलाई कोमामा राखिएको थियो । मन अमिलो बनाएर बम्बईतिर लागेँ । फिल्मको सम्पादन सकेर मिक्सिङको तरखरमा थिएँ, प्रदीप रिमाल ‘माया’ फिल्मको काम लिएर त्यहीँ पुग्नुभयो । अनि पो मैले नारायण दाइ हामीलाई छोडेर गइसक्नुभएको कुरा सुनेँ । यो संसारै रोकिए जस्तो भयो, एक छिनसम्म । रिमालजीले उहाँको शवयात्रा खिच्नुभएको रहेछ । शवयात्रामा उहाँलाई माया गर्नेहरूको भीड देख्दा चाहिँ उहाँको सान्निध्यमा काम गर्न पाएकामा गर्वबोध भयो । 
नारायणगोपालपछिको नेपाली संगीत
नारायणगोपाल नरहनु भनेको हाम्रो गीतसंगीतका क्षेत्रमा अपूरणीय क्षति हो । अढाई दशकभन्दा बढी बितिसक्दा पनि त्यसको भरपाई हुन सकेको छैन । उहाँ जस्तो हरेक गीतलाई गीतै बनाएर छाड्ने गायक भेटिएका छैनन् । दुईतीन गीत हिट हुनु बेग्लै कुरा भयो । जे गाउन राजी हुनुभयो, त्यसलाई उहाँ सतही तवरले गाइदिएर मात्रै तयार भयो भन्ने होइन कि, गानै तयार हुन्थ्यो । त्यस हिसाबले भन्दा, अर्को अर्थ नलागोस्, उहाँको लेभलमा अरू संगीतकर्मी देखिएका छैनन् ।
उहाँलाई ‘स्वरसम्राट्’ भनियो, जुन एकदम सही हो । सही मान्छेलाई सही उपमा प्राप्त भएको ठानेको छु मैले । अरूलाई फलाना/ढिस्काना भनेर दिएको टाइटल अलि हावादारी जस्तो लाग्छ । उहाँले जति गीत गाउनुभयो, दुईचारबाहेक सबै लोकप्रिय छन् । अहिले पनि कर्णप्रिय छन् । विशेष गरी, ‘गीति यात्रा भाग १’ का गीतहरू उत्तिकै ताजा छन् । कतिपय गीतले छोटो समयका लागि बजार पिट्छन्, त्यसपछि ती कहाँ जान्छन्–जान्छन् । ती किन कालजयी नभएका भने, तिनमा नारायण दाइका गीतमा जस्तो कम्पोनेन्ट पुगेन । चाट मसला जस्ता हुन् ती, खाउन्जेल मुखमा स्वाद दिने, पछि सम्झनामै नरहने । 
(वरिष्ठ साउन्ड इन्जिनियर उपाध्यायसँग पारस नेपालले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित : मंसिर ९, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

के पाए नि पाख्रिन दाइले?

गाउँबस्ती र प्रवाससम्म भरिया, कुल्ली र निमुखाको मर्म गाउँदै हिँडेका खुशीराम पाख्रिन लोकगीतको प्रगतिवादी फाँटका सरल, इमानदार र प्रतिबद्ध साधक थिए ।
सङ्गीत श्रोता

काठमाडौं — अहिलेका टिनेजरहरूले उनका गीतको ‘कभर सङ’ गाएनन् । सामाजिक सञ्जालमा उनका दैनिकीको ट्रेन्डिङ चलेन । न सहरका खुला चोकमा उनका महँगा कन्सर्टहरू भए, न रेडियो–टेलिभिजनमै उनको गीत दोहोरिई–दोहोरिई बजे ।

लाइक र कमेन्ट बटुल्ने ध्येयको प्रतिभा प्रदर्शन–होडबीच खुशीराम पाख्रिन (२००९– २०७४) कतै थिएनन् । उनी त थिए नेपाली सङ्गीत इतिहासको त्यो धारामा, जसले लोकलयलाई जनताको सुखदु:ख र न्यायप्राप्तिको आन्दोलनसँग निरन्तर जोड्यो, गाउँबस्ती र प्रवाससम्म भरिया, कुल्ली र निमुखाको मर्म गाउँदै हिंड्यो । उनी लोकगीतको प्रगतिवादी फाँटका सरल, इमानदार र प्रतिबद्ध साधक थिए । संगीत सिर्जना र गायनमा विचारबद्ध भएर बिताएको झन्डै चार दशक अवधिमा पाख्रिनले आफ्नो त्यस्तो मौलिक पदचाप छाडेका छन्, जो अहिलेको चमकधमक दुनियाँले नदेख्न सक्छ तर इतिहासले अवश्यै त्यसको मूल्यांकन र पुन:मूल्यांकन गर्नेछ ।

पहाडी जिल्ला गोरखाको निम्नवर्गीय तामाङ परिवारमा जन्मेका खुशीरामको बालादिन र युवा उमेर चितवनमा बित्यो । दस वर्षअघि काठमाडौंमा भएको एक कार्यक्रममा उनले भनेका थिए, ‘म रामेश, रायन, मञ्जुलहरूका गीत सुनेर किशोर उमेरमा प्रभावित भएको हुँ ।’ पञ्चायतकालमा व्यवस्थाविरोधी संगीत सिर्जना गरेर नयाँ धारा निर्माण गर्ने वेदना र संकल्प परिवार रायन र रामेशहरूले नै चलाएका थिए । पाख्रिनले यही धारा समाते, जुन धाराका लागि सरकारी स्वामित्वको रेडियो नेपाल पनि आफ्नो थिएन, निजी स्तरका रत्न रेकर्डिङहरू पनि आफ्ना थिएनन्, न त कोलकाता वा मुम्बईसम्मको व्यवासायिक पहुँच नै थियो ।

२०३९ सालमा भारतको गोरखपुरमा गीत गाउँदै पाख्रिनसहितको चितवन सांस्कृतिक परिवार । 

पाख्रिनले आफ्नै सिर्जनात्मक बुतामा चितवनमा सानोतिनो सांगीतिक टोली बनाए । राजनीतिक रूपमा चौथो महाधिवेशन (पछि मोटो मशाल) सँग आबद्ध उनी वेदना र संकल्प परिवारको ठूलो प्रभाव रहेको मध्यपञ्चायतमा आफ्नो पाइलो राख्ने जमिन खोज्दै जनवादी संगीतका क्षेत्रमा प्रवेश गरेका थिए । पञ्चायतको उत्तराद्र्धमा मोटो मशालसँग प्रतिबद्ध भएर उनले चितवन सांस्कृतिक टोली बनाए । कतिले यसलाई पाख्रिन सांस्कृतिक परिवार पनि भन्ने गर्थे । यही टोलीको नेतृत्व गर्दै उनी पार्टीकै अभियानअन्तर्गत स्वदेश र प्रवासमा जनवादी गीत गाउँदै आफ्नो सीप र कलाकारिता निखार्दै लगे । रामेश, रायन, मञ्जुलले एकछत्र प्रभाव जमाइरहेको समयमा आफ्नो बेग्लै पहिचान बनाउनु सजिलो कुरा थिएन । तर खुशीरामका ‘गैंती बेल्चा उचालेर’, ‘कालो वनको बीचैमा’ जस्ता गीतले सुर र शब्दमा समेत मौलिकता दिँदै श्रोताको मन जित्यो ।
२००७ सालको परिवर्तन, २००६ सालमा कम्युनिस्ट पार्टी स्थापनासँगै नेपालमा जागृतिपूर्ण लोकसंगीतको आधुनिक चरण सुरु भएको देखिन्छ । यसै सेरोफेरोबाट गोकुल जोशी, केवलपुरे किसान, सुरुआती कालका धर्मराज थापा आदिले लोकलयमा जनपक्षीय गीतको देशभित्र र भारतमा समेत प्रचारप्रसार गरेको पाइन्छ । पञ्चायत सुरु भएको केही समयपछि यस धाराको नेतृत्व रामेश, रायनबाट भयो । पञ्चायतकै दोस्रो प्रहरमा यही धारामा निस्केका जनवादी संगीतकर्मीहरूमध्येका हुन् पाख्रिन । चालिसको दशकको सुरूमा उनको गीतिसंग्रह ‘आँसुको भाका’ प्रकाशित भयो । माक्र्सवादी समालोचक तथा चिन्तक मोहन वैद्य ‘चैतन्य’ ले उक्त गीतिपुस्तकको समीक्षा गर्दै २०४४ सालमा पाख्रिनलाई ‘सबल श्रमजीवी प्रतिभा’ भनेका थिए । उक्त पुस्तकमा उनले भरिया, कुल्ली, मजदुर, सुकुम्बासी, महिला, किसान, विद्यार्थी, बालबालिका, सिपाही, प्रवासीजस्ता श्रमजीवी र निम्न वर्गका जनताको सुखदु:खलाई गीतमा ढालेका थिए ।
चालीसकै दशकदेखि पार्टीको सांस्कृतिक विभागको इन्चार्ज रहेका र खुशीराम पाख्रिनसँग निकटतम संगत एवं अन्तक्र्रियामा रहेका समालोचक चैतन्य (हाल : क्रान्तिकारी माओवादीका महासचिव) उनलाई सामन्तवाद–साम्राज्यवादविरोधी सांस्कृतिक आन्दोलनमा व्यावहारिक मैदानमै क्रियाशील योद्धाका रूपमा स्मरण गर्छन् । भन्छन्, ‘पञ्चायतविरूद्धको सांस्कृतिक आन्दोलनमा उहाँको मुख्य योगदान हो, उहाँले सांगीतिक जीवनको जग पञ्चायतकालमै बनाउनुभयो ।’ पाख्रिनका पुराना साथी एवम् गायक जीवन शर्मा आफू वेदना, संकल्पका गीतसँगै पाख्रिनका गीत गाउँदै जनवादी धारामा लागेको सम्झन्छन् । पंक्तिकारसँग उनले भने, ‘आफ्नो जति क्षमता र तागत थियो, त्यो सबै उहाँले नेपाली सर्वहारा वर्गको मुक्तिका निम्ति लगानी गर्नुभयो ।’
रेकर्ड भएका र नभएका गरेर पाख्रिनले चार/पाँच सय गीतहरू सिर्जना गरे । ‘आँसुको भाका’ गीतिसंग्रह दुई भागमा संकलित छ भने कलम, जनादेशलगायत पत्रिकामा उनका थुप्रै रचना प्रकाशित छन् । २०४६ सालपछि गठित अखिल नेपाल जनसांस्कृतिक संघको सांस्कृतिक टिम सामना परिवारका कलाकारका लागि उनी अभिभावकका रूपमा आस्था र सम्मानको केन्द्रमा रहे । युद्धावधिमा खुशीराम पाख्रिन नयाँ कलाकारहरूका लागि गौरवशाली र प्रेरक नाम हुन्थ्यो । पार्टीनीतिअनुसारको पत्रकारिता र कला–साहित्य सिर्जना माओवादी युद्धावधिको एउटा परिपाटी बनेको थियो । त्यसैअनुसार ०५० को दशकयताको पाख्रिनको सिर्जनात्मक काम माओवादी आन्दोलनको वैचारिक–राजनीतिक परिधिमा प्रतिबद्ध रहेको देखिन्छ । ‘जनादेश’ पत्रिकामा चौथो पातोमा (विभिन्न अंकमा) छापिएका उनका ‘रोल्पा : नझुक तिमी एक्लै छैनौ’, ‘होसियार, हे होसियार’, ‘मुक्ति योद्धा हो’ लगायतका गीतहरूमा पार्टीको तत्कालीन कार्यनीतिक अभिव्यक्ति पाइन्छ । त्यस्तै ‘लालझोपडीका मान्छेहरू’ लगायतका उनका रेकर्डेड सिर्जनाले ‘जनयुद्ध’ को सौन्दर्यलाई स्वर दिएका छन् । माओवादीलाई शान्तिप्रक्रियातिर मोड्न महत्त्वपूर्ण मानिने चुनबाङ बैठकमा प्रस्तुत गरिएको उनको निर्देशनको अपेरा खुबै रुचाइएको थियो । तैपनि पञ्चायतकालीन ‘हाम्री चेली बिरानु देशमा’, ‘कालो वनको बीचैमा’, ‘गैंती बेल्चा उचालेर... के पायो नि कुल्ली भाइले’ जस्ता जनमनमा बसेका मर्मस्पर्शी गीत सिर्जनाको अवधि पाख्रिनको युद्धकालीन र युद्धोत्तरकालभन्दा कैयौँ गुना प्रभावशाली र ऊर्जाशील देखिन्छ । 

खुशीराम विरासत र संगीत चिन्तन
जसरी कला साहित्यको मूल्यांकन निरपेक्ष कलावादी कोणबाट मात्र गरेर पुग्दैन, त्यसरी नै कलाकारको इतिहास पनि समाजको इतिहाससँग नजोडी अधुरो हुन्छ । नेपालमा माओवादी ‘जनयुद्ध’ ले उत्खनन गरेका महत्त्वपूर्ण आयामहरूमध्ये एउटा हो— सीमान्त समुदायको जागरण । यो कुरा सांगीतिक क्षेत्रमा पनि देखिन्छ । खुशीराम आर्थिक हिसाबले विपन्न मात्रै होइन, सामाजिक–सांस्कृतिक र ऐतिहासिक रूपमा सीमान्त परिवारमा जन्मे, हुर्के । भारतबाट आएका निर्मल लामा, पारिजात, गोपाल योञ्जनजस्ता एकाध नामहरूको सन्दर्भ बेग्लै भयो, अन्यथा तामाङ समुदायबाट जन्मने–हुर्कनेलाई देशभित्रैको पञ्चायतकालीन पर्यावरणले प्रतिभाशाली हुने अवसरहरू दिंदैनथ्यो । यो सन्दर्भ किन स्मरणीय छ भने खुशीरामले विरासतमै काव्यअभ्यास वा संगीत साधना गर्ने मौका पाएका होइनन् । र, पनि उनी निरन्तर आफ्नो बर्कतले भ्याएसम्म संघर्षरत रहिरहे । युद्धकालमा उनले आफ्ना एक छोरा पनि गुमाए तर सांगीतिक प्रतिबद्धतामा कहिल्यै विचलित भएनन् । 
जीवनको अन्तिम घडीसम्म पनि उनी हातमा माइक र ज्यानमा जोस भरेर युवाहरूलाई देश बनाउन आह्वान गरिरहेका थिए र भविष्यको सपना देखिरहेका थिए । विडम्बनाको विषय के छ भने उनले विश्वास गरिरहेको राजनीतिक आन्दोलन त्यस्तो जँघारमा पुगेर खुट्टा उचालेको छ, जसले कुल्ली, भरिया र मजदुरका दु:खहरू सम्झन्छ कि ठेकेदारकै गाडीमा इन्धन भरिदिन्छ भन्ने टुङ्गो छैन । नेताहरू पाख्रिनका होइन, राष्ट्रवादी गीतकारका सिलोक सम्झन थालेका छन् । आन्दोलनमा हिंडेको जन उपाधियुक्त कलाकारहरूको फौज अब त्यस्तो टोलीमा परिणत भएको छ, जो बिग्रँदै गरेको नेतृत्वसँग प्रतिवाद गर्दैन, बरु भात मात्रै मागिरहन विवश छ, जो बजार–विधिसँग जुध्न सक्दैन, बरु डराईडराई बजारमै कतै ओत माग्न अभिशप्त छ । अनि आजको पार्टी–राजनीति पनि परसम्मको भविष्य वा सपनाबाट निर्देशित छैन, जसरी पनि चुनाव जित्ने र जसरी पनि सिंहदरबार वा बालुवाटार मुकाम पुग्ने बाटो खोजिरहेको छ । चार महिनाअघि अर्कै पार्टीको चुनावी गीत गाइदिने ‘लोकप्रिय’ हरू चार महिनापछि ‘वरिष्ठ जनवादी गायक’ का रूपमा खुशीरामकै पार्टीको चुनावी गीत गाइरहेका छन् ।
खुशीराम पाख्रिनलाई सम्झँदा नेपालको जनवादी संगीत क्षेत्रको अर्को डरलाग्दो खड्को पनि सम्झनैपर्छ । त्यो हो— सङ्गीत चिन्तनमा खडेरी । जनताका बीचमा अत्यन्तै लोकप्रिय र स्थापित गायक तथा संगीतकारहरू नेपालमा छँदै छन्, सिर्जनामा उनीहरूको प्रभावशाली व्यक्तित्व पनि छ तर दुर्भाग्य उनीहरू संगीत चिन्तन गर्दैनन्, बरु नेता वा शासकहरूसँग गनगन गर्छन् । संगीतकर्मीलाई स्वतन्त्र सर्जक वा चिन्तकका रूपमा होइन, अरनखटन गर्ने टोलीका रूपमा लिने प्रवृत्ति राजनीतिक नेतृत्वमा पनि बलियो छ । बोलीवचनमा पनि सांस्कृतिक ‘टोली’ वा ‘परिवार’ भनेर चिनाइन्छ । पछिल्लो समय संगीतकर्मलाई चिन्तनकर्मसँग र नयाँ परिवेशसँग जोडेर लैजानुपर्छ भन्ने विचार निर्मित हुँदै थियो र पाख्रिन पनि यो छलफलमा सहभागी हुँदै थिए, भलै अब यो जिम्मेवारी नयाँ पुस्तामा सरेको छ । 
व्यवस्था फेर्न हिंड्ने धेरै असल योद्धाहरू यतिखेर आफ्नै पार्टी फेर्न नसक्ने विडम्बना झेलिरहेका छन् । खुशीराम पनि माओवादी पार्टीको उतारचढाव, टुटफुट र अकल्पनीय घुम्तीमराइबाट हैरान थिए र धेरै अर्थमा त्यसको सिकार भएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष, संविधानसभामा सभासद, राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित, जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी पार्टीका केन्द्रीय सल्लाहकार भए । तर धेरै हदसम्म पार्टीसँग उनका गुनासा, चित्तदुखाइ र असन्तुष्टि थिए ।

उत्तराद्र्धको चिन्ता
‘साथीभाइहरू तथा जनताको प्रेरणाले नै धेरै गीतहरू लेखियो । अब त जनपक्षीय गीत सुन्ने 
संस्कार हराउँदै जाला भन्ने डर भइसक्यो । तर सच्चा जनताका पक्षधरहरूले आफ्नो वर्गको मुक्तिको लडाइँ जुनसुकै रूपमा होस्, जारी राख्नेछ । त्यसरी नै युग बदल्ने जनसंगीत पनि कहिल्यै निभ्ने छैन । 
आफ्नो ठाउँबाट निरन्तर कलमहरू चलिरहनेछ, स्वरहरू गुन्जिरहनेछ ।’
जीवनको उत्तराद्र्धमा पाख्रिन कुन कुराले सबैभन्दा बढी चिन्तित थिए भन्ने कुराको साक्ष्य हो, गीत–संगीत सम्बन्धमा भदौ २१ गते लेखेको उनको यो फेसबुक स्टाटस । मृत्यु हुनुभन्दा अढाई महिनाअघि मात्रै जनपक्षीय गीत सुन्ने संस्कार हराउँदै जान लागेको भन्दै उनले त्यसको कारकका रूपमा ‘वर्ग मुक्तिको लडाइँ’ को अहिलेको हालततिर संकेत गरेका थिए । 
इतिहासकार एरिक हाब्सबाम भन्छन् : ‘इतिहासबाट शिक्षा लिने वा पाठ सिक्ने हो भने दुई जना मान्छे त चाहिन्छन् नै । पहिलो जानकारी दिने, दोस्रो त्यसलाई सुन्ने ।’ पाख्रिनले जनसंगीत क्षेत्रमा हिंडेको बाटो र त्यसको सौन्दर्यमूल्यको स्थापनाका लागि पनि यतिखेर कम्तीमा दुईथरी मान्छेको खाँचो छ : उनका बारेमा बताउनेहरू, अनि सुनेर त्यसको मूल्य ग्रहण गर्नेहरू । अनि यतिखेरको राजनीतिलाई प्रश्न गर्नेहरूको पनि त्यत्तिकै खाँचो छ, जसले सोधोस्— पाख्रिन दाइले के गाएको थियो ? पाख्रिन दाइले के जिन्दगी बाँचेको थियो ? अनि यो लोकतन्त्रको सुविधाभोग कुनै ठेकेदारले त गरिरहेको छैन ?

प्रकाशित : मंसिर ९, २०७४ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्