कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनता : फगत एक भोट

डायरी
लेखनाथ पाण्डे

काठमाडौं — जानु थियो, धादिङ बेंसी । तर भेटियो धनगढीको बस ।
‘...लाई भोट हाल्ने भए चढ्नुस् !’
चालकले सुरुमै ‘बार्गेन’ गरे ।

जनता : फगत एक भोट

जानु थियो, धादिङ बेंसी । तर भेटियो धनगढीको बस ।

‘...लाई भोट हाल्ने भए चढ्नुस् !’

चालकले सुरुमै ‘बार्गेन’ गरे ।

‘हो हो’, भन्दै बसमा उक्लियौं । म, भाइ र मामाकी नातिनी पूजा ।

अपराह्न पौने चार बजिसकेको थियो ।

विप्लव माओवादीले आह्वान ‘नगरेको’ बन्दका कारण मंसिर ८ गते राजधानीबाट खासै सवारी छुटेका थिएनन् । अझ, अघिल्लो दिन राजमार्गमा दुई ठाउँ बम भेटिएपछि सबै त्रसित थिए ।

पूजा बसपार्क पुगेर दुईचोटि फर्किसकेकी थिई ।

‘रिस्क’ लिएरै गुडेकामध्ये धनगढीको बस पनि एक थियो ।

‘यति अग्लो बस कहिल्यै चढेकी थिइस् ?’ भाइले भतिजीलाई जिस्कायो ।

‘अनि प्लेनभन्दा ठूलो विन्डस्किन भएको बस नि ?’ मैले थपेँ ।

‘एसी बस त चढेको छैन, प्लेनको विन्डस्किन कत्रो हुन्छ, मलाई के था ?’ इन्जिनियरिङकी विद्यार्थी पूजा बोली ।

‘धादिड–काठमाडौं रुटमा खटारा बसबाहेक केही चल्ने होइन ?’ ७०० किमि टाढा पुग्ने ‘डिलक्स’ बस थियो त्यो । हामी नजिकै ओर्लिने भएकाले चालकछेउ बस्यौं । उनी रहेछन्, बैतडीका भट्ट । मतदाता नामावली भने धनगढीमा रहेछ । भने, ‘हाम्रोमा आरजु देउवा उठेकी छन् । प्रतिपक्षीले ‘टुरिस्ट’ भनेपछि स्थानीय व्यवसायी गोपी हमालको घर तीन करोडमा किनिन् ।’ हुनत, अघिल्लो चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले जितेको क्षेत्र हो त्यो । यसपटक दुई क्षेत्रबाट चुनाव लड्न नपाउने भएपछि उनले पत्नीलाई उठाएका थिए ।

फरासिला मिजासका चालक प्रसंग आउनेबित्तिकै कुरा जोड्थे । तर, एक दलको प्रशंसा गर्न चुक्थेनन् ।

धादिङमा पहिलो चरणमा मतदान हुँदै थियो । हामी तीनै जना पहिलोपल्ट भोट हाल्न जाँदै थियौं ।

पत्रकारितामा भएकाले यसअघि मतदान गर्ने संयोग पनि जुरेन । यसपटक भने साँच्चै, मतदाताको अनुभव सँगाल्न म छुट्टी लिएर गाउँ फर्किएको थिएँ ।

मलेखु पुग्दा अँधेरो भइसकेको थियो । ओर्लिने बेला चालकले फेरि सम्झाए, भोटचाहिँ ‘...’ मै खसाउनुहोला † जय होस् भन्दै हामी ओर्लियौं ।

...

धादिङबेंसी पुग्न अर्को गाडी चढ्नु थियो । काठमाडौंमै नभेटिएको बस बीच बाटोमा सजिलै पाइने अवस्था थिएन ।

त्रिशूलीको स्याँठ खाँदै अँधेरोमा आधी घण्टा कुरेपछि बल्ल एउटा माइक्रो आइपुग्यो । झन्डै १५ जना थियौं । दोब्बर भाडा कबोल गर्दा पनि लैजान मानेन ।

एक यात्रु अफसोस मान्दै थिए—‘बरु भोलि आएको भए सोझै गाउँ पुगिन्थ्यो, फिरीमा ।’

एक त ‘बन्द’, अर्कोतिर भएका सबै गाडी दलका कार्यकर्ता ओसार्न ‘रिजर्भ’ थिए । कांग्रेस, एमाले, माओवादी सबैले मतदाता नि:शुल्क ओसार्न बस रोकेका थिए । नियमित गाडी फिट्टु गुडेका थिएनन् ।

निकै बेरपछि अर्को माइक्रो आयो । भाडा बढी दिने भएपछि यात्रु बोक्न राजी भयो । हामी चढ्यौं । लाग्थ्यो, धेरै जना चुनावका लागि गाउँ जाँदै थियौं ।

माइक्रो चढ्दा ह्वास्स गन्हायो । केही यात्रुले पिएका थिए । केही भने उल्टी गरेर थकित देखिन्थे । मलेखु–धादिङ १९ किमि घुमाउरो सडकमा चालकले माइक्रो बत्ताए ।

दुर्गन्ध र गाडीको गतिले धेरैले थाम्नै सकेनन् । अरूको अवस्था देखेर पूजाले पनि प्लास्टिक मागी । तर उल्टी गरिन । एक यात्रुले गति कम गर्न आग्रह गरे । तैपनि चालकले सुनेको नसुन्यै गरे ।

‘ज्यान कि खोलामा कि झोलामा †’ कन्डक्टर पहिलोचोटि बोल्यो ।

अनि मतिर हेर्दै सोध्यो, ‘कहाँ झर्ने ?’

‘एमाले चोक’ पूजाले भनी ।

धादिङ सदरमुकाममा तीन बजार छन्— सिरान, बीच र पुछार बजार । सदरमुकाम क्षेत्र कांग्रेस पकड भनेर चिनिए पनि पुछार बजार एमालेको गढ मानिन्छ, जसले केही समयदेखि नयाँ नाम पाएको रहेछ ।

अर्का यात्रुले चोकको नाममा आपत्ति जनाए ।

‘कुनै ठाउँलाई पार्टीको नाम दिनु गलत हो,’ उनले प्रश्न गरे, ‘के भोलि कांग्रेसले जिते लोकतान्त्रिक चोक राख्ने ?’

...

त्यसरात धादिङ बेंसी मामाघरमा बसियो । अर्को दिन २३ किमि डाँडै–डाँडा कच्ची सडक नाप्नु थियो । बिहानै उठेर सबै बस काउन्टर चहारियो, तैपनि गाउँ जाने गाडी भेटिएन ।

अर्का दाइ, काठमाडौंबाट बाइक बत्ताउँदै बिहानै धादिङ बेंसी उत्रिए । उनकै दुईपाङ्ग्रेमा डाँडो उक्लिने निधो गरियो । बाइक त पूरै दाइले चलाए तर धेरै ठाउँमा मलाई हिँडाए । धूलो यति थियो, आधी पाङ्ग्रा गाडिन्थ्यो । जब–जब धूलोभित्र गोलो ढुंगा भेटिन्थ्यो, बाइक धर्मराउँथ्यो । एक ठाउँमा झन्डै पल्टियो † त्यसपछि, जहाँ धूलो बेसी थियो, म ओर्लेर हिँड्थें ।

उत्तरपश्चिम धादिङलाई जिल्ला सदरमुकामसँग जोड्ने यो सडक करिब दुई दशकअघि खनिएको थियो । स्थानीयले पटक–पटक आग्रह गर्दा पनि ग्राभेलसमेत भएको छैन । गत साल, दसैंको मुखमा मार्पाकमा बस दुर्घटना हुँदा १८ यात्रुको घटनास्थलमै मृत्यु भयो । यो वर्ष पनि थप २ जनाले यही सडकमा ज्यान गुमाए ।

सडक खनेयता तीन आम चुनाव र दुई स्थानीय चुनाव भए । हरेक निर्वाचनमा उमेदवारले सडक ‘पिच’ गर्ने आश्वासन पनि बाँडे । तर हालत उस्तै छ ।

...

दुई घण्टा कष्ठपूर्ण यात्रापछि लपाङ बेंसी पुगियो, जहाँ भूकम्पअघिसम्म हाम्रो घर थियो ।

म २०७२ वैशाखको विनाशकारी भूकम्पपछि पहिलोचोटि गाउँ फर्किएको थिए ।

भूकम्पमा घरमा मान्छेबाहेक कुनै प्राणी बाँचेको थिएन । नजिकै, सल्यानटारमा टेलिभिजन हेरिरहेका १२ जना एकै ठाउँ पुरिएका थिए । लाप्राकमा पूरै बस्ती उठीबास लागेको थियो ।

चुनावको अघिल्लो दिन केही बेर गाउँ डुल्ने मौका मिल्यो । गाउँको अवस्था देख्दा लाग्थ्यो, भूकम्पको कप्पन मात्र रोकिएको छ तर विनाशलीला आज पनि उस्तै छ । यत्रतत्र खण्डहर र भग्नावशेष छन् ।

सरकारी अनुदान निकासीमा ढिलाइ भएपछि धेरैले ऋण–धन गरेर बस्ने गुजारा गरे । तर, अहिले सरकारी मापदण्ड तिनका लागि घाँडो भएको छ ।

‘पहिले सरकारले पैसा दिएन, आफैंले घर बनायौं । अहिले, राहत पाउन यो घर हुँदैन, नयाँ बनाउनुपर्छ भन्दै छ,’ स्थानीय अमरबहादुर अधिकारीले भने ।

धादिङ–२ बाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनबाट एमाले वैकल्पिक केन्द्रीय सदस्य खेम लोहनी उम्मेदवार छन् । लोकतान्त्रिक मोर्चाबाट बहालवाला राज्यमन्त्री दिलमान पाख्रिन उठेका छन् । दुवैले शीघ्र राहत र पुन:स्थापनालाई आफ्नो प्राथमिकतामा राखेका छन् । तर, जनता भने उनीहरूप्रति उति आश्वस्त देखिन्नन् ।

...

गाउँ पुग्दा मौन अवधि सुरु भइसकेको थियो । गाउँ–ठाउँमा भने चुनाव प्रचार–प्रसार झन् आक्रामक बन्दै थियो । पाख्रिन स्वयं सुरक्षा सैन्य सुरक्षा दस्तासहित बोलेरोमा गाउँ–गाउँ डुल्दै थिए । उनको आवागमन रोक्न वाम पक्षले सडकभर मुढा तेस्र्याएका थिए । उनले ‘दलित’ बस्तीमा पसेर पैसा बाँडेको, भतेर गरेको वाम पक्षको आरोप थियो । तर, वाम घटक पनि भोजमा पछाडि देखिन्थेन । चुनावको अघिल्लो रात धेरै ठाउँमा स्थानीयले भोज खाएका थिए ।

राजधानीमा आचारसंहिता उल्लंघन भइरहेका बेला दूरदराजका गाउँहरूमा निर्वाचन अनुगमन सम्भव पनि नहोला † अझ, पार्टीहरूबीच आचारसंहिताविपरीतका गतिविधिको विरोध गर्नेभन्दा पनि कसले बढी उल्लंघन गर्ने भनेजस्तो होड देखिन्थ्यो ।

मौन अवधिलाई निर्वाचन प्रभावित पार्ने र चलखेल गर्ने अन्तिम अवसर भनी टिप्पणी हुँदै आएको थियो । यसपटक प्रत्यक्ष अवलोकन गरियो । भोज, सभा र बैठकहरू मतदाता प्रभावित पार्न लक्षित त छँदै थिए । उम्मेदवार र तिनका कार्यकर्ता त्योभन्दा बेसी नाटक गर्थे । मतदाताका भैंसी दुहुनेदेखि मही पार्नेसम्म, मितेरी साइनो लगाउनेदेखि गोडा ढोग्नेसम्मका चर्तिकला स्थानीयले हाँस्दै सुनाए ।

त्रिपुरासुन्दरी–७ स्थित केन्द्रमा मतदान चलिरहँदा पनि भोज जारी थियो । दुवै गठबन्धनका आ–आफ्नै भतेर थिए । तिनका कार्यकर्ता भाते–कुपन बाँड्दै थिए ।

‘पाँच सय कुपन सिद्धियो,’ कुपन बाँड्दै गरेका कार्यकर्ताले भने ।

‘भोट कति आउँछ त ?’ मैले सोधें ।

‘यीमध्ये आधीले भोट दिए मार्नु †’ उनी आफैं विश्वस्त थिएनन् ।

भोज, नोटका विकृति अचाक्ली भएपछि केहीले, ‘दिए खाइदिने तर भोट तलमाथि नगर्ने’ सल्लाह गरेका रहेछन् । तैपनि धेरैले निजी निर्णयमा भन्दा पनि भीडको लहैलहैमा मतदान गर्ने गरेको पाइयो । हुनत, निच्त्सेले एक्लै हुँदा मान्छेले जसरी विवेक प्रयोग गर्छ, भीडमा उसले निजत्व गुमाउने र अर्कै निर्णय गर्ने बताएका थिए । केहीले प्रजातन्त्रलाई ‘मवोक्रेसी’ भनी तिखो टिप्पणी पनि गर्छन् ।

यथार्थ के भने, धेरै ग्रामीण जनतालाई मैले मत किन दिने, कसलाई दिने, कसरी दिनेलगायत सामान्य जानकारीसमेत थिएन । आफन्त, गाउँ–ठाउँका गन्नेमान्ने र धक्कुबाजहरूमा निर्भर पर्नुपर्ने अवस्था थियो । आँखा नदेख्ने, अक्षर नचिन्ने र बूढापाकाहरूले एजेन्टमार्फत् भोट दिए । तर केही एजेन्टले मतदाताले भने जसरी छाप नलगाएको खुलेर बताए ।

...

विन्स्टन चर्चिल प्रजातन्त्रलाई सबैभन्दा खराब शासन व्यवस्था भनी टिप्पणी गर्थे । तर, इतिहासमा प्रयोग भएकामध्ये योभन्दा असल व्यवस्था अर्को नभएको उनको ठम्याइ थियो ।

मतदान केन्द्रमा स्कुलका सहपाठीकी आमा पनि भेटिइन् । गाउँघरतिर आफूभन्दा पाकालाई नामले बोलाइँदैन ।

‘माइलीआमा, नमस्कार †’ हात जोड्दै सन्चो–विसन्चो सोधें ।

सापकोटा थरकी उनको पैताला खाली थियो । न चप्पल, न जुत्ता । सायद लगाउने बानी पनि बसेन । उनी डेढ घण्टा हिँडेरै मत दिन पुगेकी थिइन् ।

सोधें— कसलाई भोट दिनु भो त ?

‘उही पुरानै त हो नि, कहिले पो अरूलाई दिएको छ र ?’ उनले भनिन् ।

मैले लख काटें ।

न उनले अहिलेसम्म मत बदलिन्, न उनको अवस्था बदलियो । बरु, उनका मतले धेरैको हैसियत बदलियो ।

प्रजातन्त्रमा जनताले आफ्नो अमूल्य मतमार्फत् आफ्ना प्रतिनिधि चयन गर्छन् । जनता मालिक हुन्छन्, दल र नेताहरू तिनका ‘एजेन्ट’ ।

तर लाग्थ्यो, यहाँ भने ठीक उल्टो हुँदै छ । जनता नेता चयन गर्ने फगत ‘एजेन्ट’ मात्र बनाइएका छन् ।

Twitter: @PandeyLekhanath

प्रकाशित : मंसिर १६, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?