कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘चिन्ताजनक’ चिन्तन

समीक्षा
गुरुङ सुशान्त

काठमाडौं — समयले मोहक इन्द्रेणी पहिरिएर पुँजीवादी बजारमा उन्मत्त नृत्य गर्न थालेपछि विचारविहीन लेखकहरू लामबद्ध रमितेजस्तै ताली पिट्न थाल्छन् । ती लेखक क्षणिक शब्दजालको भुलभुलैयामा उफ्रिहाल्छन् ।

 ‘चिन्ताजनक’ चिन्तन

कलिला मनमस्तिष्कको गल्लीगल्लीमा पनि कोरस गुन्जिन थाल्छन्, चामत्कारिक प्रभावमा । बजारले हामीलाई नयाँ–नौला झिलिमिली दिन्छ । र, हाम्रा आँखा नाफामा खोसिलान्छ बिस्तारै । जादुई पाउजु दिएर हाम्रा गोडा बन्धक बनाउँछ । तापनि, हामी बेसुरा उत्सवमै रमाइरहन्छौँ । एकएक प्राश्निक प्रतिवादहरू बिरानो देशको श्रमिकजस्तै हुन्छन् । र, मौन शिविरमा कैद हुन्छन् ती । 

बजारको पर्दामा अचेल प्लास्टिकका कानजडित यन्त्रमानवहरू ‘मानवता’ को गीत गाइरहेका छन् । र, अनन्त सिठ्ठी बजिरहेछन् । कोलाहलबीच कहिलेकाहीँ एकाध प्राश्निक बेलुन पनि उड्छन्, जसमा प्रतिरोधी चेत भरिएको हुन्छ । बजारको देब्रे नाकाबाट भर्खरै एउटा बेलुन उडेको छ, ‘भूमण्डलीकरण र साहित्य’ । बेलुनको धागो समातेका छन्, अमर गिरीले ।
कविको फेटा गुथेका गिरीले सार्वजजिक चोक–चौतारीमा सांस्कृतिक अतिक्रमणविरुद्ध बेलाबेला चोरी औँला उठाइरहेका छन् । आफूलाई विशेषत: भूमण्डलीकरण, बजारवाद, उत्तरआधुकितावाद, सांस्कृतिक आक्रमण र उपभोक्तावादको विपक्षमा उभ्याउँछन् उनी । एकाध पुस्तक उनेर अमर गिरीहरूलाई महान् सांस्कृतिक योद्धाको पगरी गुथाउन थालेमा अतिशय भासमा फसिन्छ । तर, बौद्धिक खडेरीमा ‘भूमण्डलीकरण र साहित्य’ जस्ता वैचारिक रचनाले विमर्शमा चाख लिने पाठक, लेखक र संस्कृतिकर्मीलाई थोरै शीतल बनाउने नै छ । माक्र्सवादी चस्मा लगाउने गिरीको आफ्नै लेखनयात्रामा भने यो पुस्तकले प्राज्ञिक महत्त्व राख्ने कुरामा सन्देह छैन ।
भनिन्छ, हरविधाको आआफ्नै भाषिक शक्ति र सीमा भए पनि कविहरूले गद्यमा पनि कहीँ न कहीँ काव्यिक छटा दिन्छन् । कविताको मैदानमा लामो समयदेखि खेलिरहे पनि गिरीको यस पुस्तकमा काव्यिक स्वाद कहीँ कतै छैन । लाग्छ— विश्वविद्यालयका शास्त्रीय प्राध्यापकको नोटबुक पल्टारहेका छौँ । तापनि, विषयप्रतिको लेखकीय गाम्भीर्यले पुस्तकका पृष्ठमा सिलसिलाबद्ध अघि बढ्न बाध्य हुन्छन्, गम्भीर पाठक । पछिल्लो डेढ दशकदेखि प्राज्ञिक विमर्शको सानो घेरामा गुन्जिरहेका संकथन नै पुस्तकको केन्द्रमा छन् ।
थाहै छ, भूमण्डलीकरणको स्वभाव तरल छ । उँचो भागबाट भिरालोतिर बग्दै जान्छ यो । र, कुनाकाप्चासम्म भिजाउँछ । यही स्वभावको रफ्तारमा अविकसित र अर्धविकसित मुलुकहरूमा अमेरिकाजस्ता देशका भाषा–संस्कृतिको प्रभाव एकोहोरो परिरहेको छ । र, तिनै शक्तिशाली राष्ट्रको हेजेमोनीको विशाल जाँतोमा तेस्रो मुलुकहरू अनाजमा लुकेका घुनझैँ भएका छन् । पुँजीवादी युगको बलियो हतियार नै पैसा र प्रविधि भएका छन्, जसको आडमा साना देशमाथि आफ्नो सांस्कृतिक प्रभुत्व लादिरहेका हुन्छन्, जानी–नजानी । नेपाली समाजको दैनिकी र नयाँ पुस्तामा देखिएको प्रभावलाई नजिकबाट नियाल्दा पनि हामी प्रस्ट हुन्छौँ, भूमण्डलीकरणको सांस्कृतिक पाटाबारे ।
वैश्वीकरणको प्रभाव आर्थिक क्षेत्रमा उत्तिकै बलियो ढंगले परेको हुन्छ । आधुनिक वैश्वीकरणको मूल बाटो नै विश्व अर्थ–राजनीति र बजारको केन्द्रमा जोडिनु हो । नेपाली राष्ट्रिय राजनीतिको केन्द्रीय डिस्कोर्स हो, भूराजनीति । नेपालको भूराजनीतिक ऐतिहासिकता, भूमण्डलीकरण र राजनीतिक–सांस्कृतिक पक्षमा बृहत्तर विमर्शपश्चात् नै सैद्धान्तिक निष्कर्षहरू निस्कनेछन् । हामी आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा गम्भीर सिकार भएको बोध गरेर नै गिरीले भूमण्डलीकरणलाई ‘आजको साम्राज्यवाद’ मानेका छन् । उनको अध्ययनको निष्कर्ष छ, ‘सांस्कृतिक भूमण्डलीकरणले हाम्रो सांस्कृतिक पहिचान र उदात्त मूल्यलाई नष्ट गर्दै छ । प्रगतिशील सांस्कृतिक आन्दोलन धरासायी बनाउँदै छ । हामी आत्म विसर्जनको सिकार हुँदै छौँ । यसका विरुद्ध संघर्ष आजको हाम्रो प्रमुख दायित्व हो ।’ तर, यहीँनेर मूल जिज्ञासा ब्युँतिन्छ— गिरीको दृष्टिमा ‘सांस्कृतिक पहिचान’ र ‘उदात्त मूल्य’ के हुन् ? बहुसांस्कृतिक देशमा पछिल्लो समय उछालिएको ‘राष्ट्रवाद’को भाष्य र ‘सांस्कृतिक पहिचान’ लाई एकसाथ चिरफार नगरिए गिरीहरूले इंगित गरेको ‘उदात्त मूल्य’ जराविहीन अमूर्त लहरा मात्र ठहरिदिन्छ । स्वरूप र विधि स्पष्ट नपार्दा ‘संघर्ष’ पनि बनावटी मुस्कानजस्तो क्षणिक हुन्छ । ‘भूमण्डलीकरण र साहित्य’ पनि यी विषयमा मौन छ । 
पछिल्ला दशकमा संस्कृति र साहित्यको हातामा जोडजोडले होहल्ला गर्ने वाद हो, उत्तरआधुनिकतावाद । कहिलेकाहीँ लाग्छ— तोडले चिच्याएर गाए पनि प्रस्ट नबुझिने ‘अन्डरग्राउन्ड म्युजिक’ हो, उत्तरआधुनिकतावाद । नेपाली साहित्यमा उत्तरआधुनिकतालाई प्राज्ञिक व्याख्या गर्ने गम्भीर अध्येताहरूमध्ये अग्रणी समालोचक कृष्ण गौतम ‘खेलाँचीको शक्ति प्रदर्शन’ ठान्छन्, उत्तरआधुनिकतालाई । क्वाँटी स्वादमा रमाउने यस वादले समाजको याथार्थिक चित्रणभन्दा भ्रम र लीलाको जञ्जालमा लगेर पाठकलाई बेवारिसे छोडिदिन्छ । र, आफू पनि अनिश्चयको सुरुङमा हराइजान्छ । जटिल प्रयोगमा नाच्ने निरर्थक शाब्दिक भुमरीलाई नै यसको विलक्षणता मानिदिए हुन्छ । साठीको दशकमा नेपाली साहित्य–संस्कृतिको विमर्शात्मक चुल्होचौकोमा रजगज गरेको उत्तरआधुनिकतावादी स्वर अचेल मलीन भएको आभास हुन्छ । यसका केही अर्थपूर्ण कारण छन् । 
संक्रमणकालीन राजनीतिक परिवेशमा दलित सौन्दर्य, जनजातीय संस्कृति, सवाल्टर्न/सीमान्तीकृत/किनारीकरणका आवाजजस्ता उदाउँदो बहसलाई समेट्न खोज्ने नेपाली उत्तरआधुनिक चिन्तकहरू आन्दोलनको निर्णायक घडीमा मौनताको गुफा पसिदिए । र, उत्तरआधुनिकतावाद छलनाको बैंसालु कुहिरो मात्र रहेको पुष्टि पनि गरिदिए । माक्र्सवादविरोधीको रुपमा आलोचित उत्तरआधुनिकतावादलाई अमर गिरी ‘आजको साम्राज्यवादको वैचारिक हतियार’ ठान्छन् । उत्तरआधुनिकतावादलाई विचार, कला र इतिहासविरोधी अराजकतावादी धारणाको रूपमा चित्रण गर्दै गिरी लेख्छन्, ‘अनेकान्तवादी उत्तरआधुनिकतावादले अन्तत: विसर्जनको बाटोतर्फ लिएर जान्छ, जसले पुँजीवादको वर्चस्वलाई सघाउँछ । यसले स्वतन्त्रता दिँदैन, बन्धनका निम्ति मार्ग प्रशस्त गर्दछ । सारमा यो शून्यवादी छ ।’ परम्परावादी संरचनाविरुद्ध हुने सिर्जनशील अराजकतालाई त पाठकले प्रेम गरिरहेकै छन्, साहित्यमा । तर, शून्यवादको भीरतिर धकेल्ने नियतको अराजकतासँग गिरीजस्ता संस्कृतिकर्मीहरूलाई झोंक चल्नु भने मनासिब लाग्छ ।
‘भूमण्डलीकरण र साहित्य’ लाई साक्षी राखेर प्रगतिशील वैचारिकीमाथि अनेक बहस–शृङ्खला बढाउन सकिन्छ । यो नै सबल पक्ष हो, पुस्तकको । साहित्य र कला फगत मनोरञ्जनका लागि हो या उत्तरदायित्वपूर्ण कर्म पनि हो ? यो प्रश्नको मियोमा घुम्दा गिरी साहित्यलाई सांस्कृतिक दायित्व ठान्छन् । उनले लेखेका छन्, ‘साहित्यमाथि बजारको प्रभाव र नियन्त्रण बढ्दै छ । गहिरो अध्ययन र रचनात्मक विमर्शको ठाउँ सतही अध्ययन र कमजोर 
विमर्शले लिँदै छ । यस स्थितिमा गम्भीर समालोचना कर्मले नै हस्तक्षेप गर्न सकिन्छ ।’ आफ्नो 
हस्तक्षेपकारी भूमिकालाई प्राज्ञिक स्वरूप दिनलाई उनले यो पुस्तक लेखे सायद । हरेक रचना कुनै न कुनै ‘आइडोलोजी’ को जमिनमा उब्जिएको हुन्छ । भलै, रचनाकार आफैँ वैचारिक रूपमा प्रस्ट नहुन सक्छ । अमर गिरी आफ्नो वैचारिकतामा प्रस्ट छन् । र, सांस्कृतिक अतिक्रमणमाथि चिन्ता पोखिराख्छन्, निरन्तर ।
नेपाली माक्र्सवादी संस्कृतिकर्मीहरूका लागि आकर्षक फेसन भएको छ, ग्राम्स्की । मुसोलिनीको राज्यलाई नै खतरा महसुस गराउन सफल इटालेली कम्युनिस्ट राजनीतिज्ञ ग्राम्स्की विश्वभर नै प्रभावी छन् । ‘प्रिजन नोटबुक’ का विशृंखलित प्रसंग व्याख्या–मण्डलीका अनेक आयाममा कहिलकाहीँे अपख्याख्याको झमेलातिर मोडिन्छ । सांस्कृतिक प्रभुत्व, नागरिक समाज, बुद्धिजीवी र सवाल्टर्नसम्बन्धी बहसको जरा खोतल्दै जाँदा बौद्धिकहरू ग्राम्स्की र इटालेली राजनीतिक इतिहासमा पुगेर ठोकिन्छन् । ग्राम्स्कीको विश्वदृष्टि बोध गर्न क्रोचेजस्ता अभिव्यञ्जनावादी साहित्यिक–चिन्तक पनि पल्टाउनुपर्ने हुन्छ । परम्परागत विश्वविद्यालयीय कक्षाकोठा र माक्र्सवादी चिन्तकको निकै सानो घेराका ‘सेलिब्रेटी’ ग्राम्स्कीलाई अमर गिरीले पनि छोएका छन्, प्रस्ट्याउने भरपूर कोसिस गरेका छन् । तर, ग्राम्स्की–अध्ययनको अपरिहार्यतालाई नेपाली सन्दर्भमा तार्किक पुस्ट्याईं गर्न चुकेका छन् उनी । ग्राम्स्कीका घुर्मैलो किंवदन्तीसँग दूरदर्शन गरेका जिज्ञासुगणका लागि यो पुस्तक प्रवेशद्वार भने 
बनिदिन्छ नै ।
पुस्तकमा समेटिएका पछिल्ला दुई लेख अघिल्लाभन्दा कमजोर लाग्छन् । नारीवादी आन्दोलन र साहित्य चिन्तनबारे ‘सेकेन्ड ह्यान्ड’ विवरण त भेला पारेका छन् गिरीले । तर, पूर्वीय समाजमा रहेको लैंगिक विभेदको जग र संरचनामाथि ‘आइडोलोजिकल’ प्रश्न र प्रहारको सर्वथा अभाव छ, लेखमा । जब सैद्धान्तिक मार्गचित्रबारे स्पष्ट हुँदैनन्, तब बौद्धिकहरू अमूर्त कुरा गर्छन् भन्ने सबुत हुन्, यी दुई लेख । नारीवादी आन्दोलनबारे गिरी भन्छन्, ‘सामन्तवाद, पुँजीवादका विरुद्ध चल्ने संघर्षको एक अंगका रूपमै नारी आन्दोलनको भविष्य सुरक्षित छ र नारी–पुरुष एकताबाटै नारी मुक्तिको सपनालाई पनि सार्थक तुल्याउन सकिन्छ ।’ नारी–पुरुष एकता–आधारको विश्वदृष्टि प्रस्ट नभएमा ‘मुक्ति’ पनि कागजी मजाक मात्र हुनेछ । 
भाषा–साहित्यबारे निचोडमा गिरी भन्छन्, ‘अबको नेपाल इन्द्रेणी नेपाल हुनुपर्छ, सम्पूर्ण भाषिक र सांस्कृतिक विभेदको अन्त्य भएको नेपाल हुनुपर्छ, वास्तविकतामा अनुभूत गर्न सकिने गरी सबैको साझा फूलबारी बन्नुपर्छ ।’ नेपालको भाषिक ऐतिहासिकता र भाषा–नीति अध्ययन गरेकै छन्, पाका प्राज्ञ गिरीले । तापनि, कुरा चपाउने कुनै चुनावी नेताझैँ ‘हुनुपर्छ–बन्नुपर्छ’ को लयमा कुरा टुंग्याउँछन् उनी । प्रश्न जाग्छ— साझा फूलबारी बन्नुपर्छजस्ता ‘क्लिसे’ वाक्यगठन तानतुन पार्नकै लागि करिब साढे तीन सय पृष्ठको पुस्तक लेख्नैपर्छ ? उदेक लाग्छ, चिन्तकको कलमले चिन्ताजनक ढंगले किन जिब्रो चपाउँछ ? समाधानको बुँदागत मार्गचित्र किन कोर्दैनन् प्राज्ञिकहरू ? समस्या कहाँ छ ?
लेखकको वैचारिक विरोधाभास नै पुस्तकको गाँठी समस्या हो । पहिचानको आवाजलाई उत्तरआधुनिक ‘रिमिक्स’ मात्र ठान्दा रहेछन्, गिरी । भन्छन्, ‘साहित्यमा अभिव्यक्त पहिचानको उत्तरआधुनिकतावादी अवधारणा र चेतनाको रचनात्मक आलोचना माक्र्सवादीहरूको दायित्व हो । माक्र्सवाद वर्गीय मुक्तिसँगसँगै जातीय उत्पीडनको पनि अन्त्य हुन्छ भन्ने ठान्छ ।’ घनघोर सिद्घान्तमा जकडिनु नौलो रूढिवाद हो । यति अन्धता पनि नपालौँ कि सबै विभेदको अन्त्य माक्र्सवादले ‘ठाने’ अनुसार हुन्छ । राम्रो पक्ष उत्तरआधुनिकतावादबाट सापटी लिँदा पनि माक्र्सवाद निचो हुँदैन, बरु गतिशील हुन्छ । वर्गको निर्माणमा वर्णव्यवस्थाको सर्वोपरि भूमिका रहेको इतिहासलाई चिरफार नगरेसम्म बहस घुमिफिरी अमूर्तताको रुम्जाटारमा आइपुग्छ । र, खोक्रो ‘राष्ट्रवाद’ मा टुंगिन्छ । आन्तरिक रूपमा जातीय तिरस्कार सहेका भुइँ–वर्गले बाह्य सांस्कृतिक आक्रमणविरुद्घ लड्नेबारे कसरी सोच्न सक्छन् ?
नेपाली संस्कृतिको हर पिँढी, आँगन, भात–भान्सामा हिन्दु ब्राह्मणवादीे जरा जकडिएर बसेको यथार्थमाथि आँखा चिम्लिन मिल्दैन, बौद्घिकहरूले । दलित–समुदायमाथिको विभेद र दलनको इतिहासलाई अनेक आदर्शका लेपनले छोप्नु जातिप्रथाको घुमाउरो समर्थन हो । विडम्बना, जातीय मुक्तिको संकथनलाई ‘विखण्डनकारी’ बिल्ला टाँसिदिएर बेवास्ता गरिन्छ । गिरीय पुस्तकको वैचारिक चस्माले पनि ‘वर्ग’ मात्र देख्छ, जाति–व्यवस्थाको बलियो इँटाबाट निर्मित वर्गप्रति आँखा चिम्लिदिन्छ । पहिचानको राजनीतिले विचारधारामा आधारित राजनीतिलाई कमजोर बनाउँछ भन्ने निष्कर्ष नै असहिष्णु प्रतीत हुन्छ । यस निष्कर्षले हिजोकै जातिवादी ‘हाइरार्की’ लाई टेको दिन्छ । यस्तो टेकोदार धारलाई सजिलोका लागि ‘हिन्दु माक्र्सवाद’ भनी व्यङ्ग्यात्मक आलोचना गर्न सकिन्छ । 
सयौँ वर्षको जातीय उत्पीडनको अन्त्य संरचनागत परिवर्तनपछि मात्र सम्भव छ । जातीय–आर्थिक समानताले मात्र वैश्विक सांस्कृतिक आक्रमणविरुद्ध बोल्ने आँट पलाउनेछ, बौद्घिक नागरिकमा । र, अनेकौँ प्रतिरोधी बेलुन उड्नेछन् । नत्र, एकाध बेलुन उड्लान् कहिलेकाहीँ । बजारका चमत्कारी आकाशमा हराउनेछन्् ती । प्राज्ञिकहरूको हातमा बाँकी रहनेछ– चुँडिएको धागो मात्र ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?