कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोइ दायित्व बोध ?

टिप्पणी
लीला लुइटेल

काठमाडौं — नेपाली साहित्यलाई माया गर्ने हरेक व्यक्तिको आस्थाको केन्द्र रहेको नेपाल प्रज्ञा प्रतिष्ठानबाट केही समययता संस्थाको गरिमामै आँच आउने तथा नेपाली साहित्यमा प्रदूषण फैलाउने अनेक क्रियाकलाप हुन थालेका छन् ।

खोइ दायित्व बोध ?

सन्दर्भ हाल त्यसै संस्थाबाट प्रकाशित नेपालका नारी साहित्यकार नामक परिचय कोशको हो । कुमारप्रसाद कोइराला र रत्नमणि नेपालद्वारा सम्पादित यस कोशमा ३७१ जना नेपाली महिला साहित्यकारको विवरण दिइएको छ भने नेपालका नारी साहित्यकारहरूका साहित्यिक अवधारणाहरू शीर्षकमा साहित्यकारका विचार प्रस्तुत गरिएको छ । यसैगरी सिर्जनात्मक लेखन र नारी साहित्यकारहरूको अवस्था, नेपालका विविध भाषाका महिला साहित्यकारहरूको ऐतिहासिक स्थिति भनी सतही ढङ्गले चर्चा गरिएको छ । 

‘यस अनुसन्धानमा सबै नेपाली नारी साहित्यकारहरूलाई समावेश गरिएको छैन । पहिलो कुरा त जीवित नेपाली नारी साहित्यकारहरू मात्र छनोट गरिएको छ । दोस्रो, अनुसन्धान र विश्लेषणलाई चुस्त बनाउन सकियोस् भनेर कम्तीमा एउटा कृति प्रकाशन गरिसकेका नारी लेखकहरूलाई मात्र समावेश गरिएको छ’ भनी प्रस्तुत कोशको सम्पादकीयमा उल्लेख गरिएको छ । यहाँ प्रश्न उठ्न सक्छ प्रज्ञा प्रतिष्ठानजस्तो संस्थाले अनुसन्धान भनेर नाम दिइसकेपछि जीवित साहित्यकार मात्र छनोट गरिएको छ भनेर व्यक्तिको बायोडाटा थुपार्दैमा त्यसलाई अनुसन्धान भन्न सकिन्छ कि सकिँदैन ? ल भैगो, जीवित स्थितिलाई एउटा सीमा मानिदिँदा पनि कुन्दन शर्मा, गार्गी, चन्द्रकला नेवार, प्रेमा शाह, वेदकुमारी न्यौपाने, शुभ श्रेष्ठ, सीता पाण्डेजस्ता जिन्दगी नै साहित्य सेवामा समर्पण गरेका व्यक्तिसमेत फेला नपर्नुलाई अनुसन्धानको कस्तो कोटीमा राख्न सकिन्छ ? अर्काेतिर उषा दीक्षित, कमला नेउपाने, किरण शाक्य, गीता लामिछाने, पुष्पलता आचार्य, रेवती राजभण्डारी, लिली रिमाल, विद्या सापकोटा, सुधा बस्नेतलगायतका काठमाडौँमै सार्वजनिक जीवन बिताइरहेका थुप्रै साहित्यकार नभेटिएकै हुन् त ? 
यसैगरी उमा गुरुङ, उषा हमाल, कमला प्रसाईं, गायत्री घर्ती मगर, गायत्री परिरोशनी, केवल गङ्गा गुरुङ, जुनु क्षत्री, पूनम क्षत्री, पूर्णिमा जी शाह, प्रगति राई, भगवती बस्नेत मञ्जु गुरुङ, मधु शर्माजस्ता साहित्य सिर्जनामा सक्रियता देखाइरहेका अनेक व्यक्ति यस कोशमा पर्नलायक नभएकै हुन् त ? शान्तिकुमारी राई, शान्ति चौधरीलगायतका थुप्रै व्यक्तिका थुप्रै पुस्तक प्रकाशित छन् भन्ने कुरा पनि जानकारी नभएकै हो त ? नेपाली नाटकमा महिलाको अवस्थिति शून्य रहेको स्थितिमा नाटक सिर्जना गर्ने सावित्री पोखरेल, समालोचनामा महिलाको प्रवेश आशालाग्दो रूपमा गराउने सरिता ढकाल तथा सञ्चार क्षेत्रका तृष्णाराज्यश्री कुँवर, वविता बस्नेत, रमा सिंह, रुमु न्यौपाने, हरिकला अधिकारीजस्ता साहित्यकारलाई पनि यसका सम्पादकले नचिनेकै हुन त ? नेपाली महिला सङ्घर्षको इतिहासमा अत्यन्त श्रद्धाका साथ नाम लिइने जुझारु योद्धा एवं थुप्रै पुस्तककी स्रष्टा शान्ता श्रेष्ठ तथा मन्त्रीको पद धारण गरिसकेका सुषमा घिमिरे, सत्य पहाडीजस्ता स्रष्टासमेत पनि यस कोशमा अटाउन नसक्नु अनि संस्मरण लेखेरै एकताका अत्यन्त चर्चित रहेका गौरा प्रसाईं, तारा राई एवं शान्ता चौधरी तथा महाकाव्यसमेत सिर्जना गरी आफ्नो पहिचान बनाइसकेका बुनु लामिछाने, सीतादेवी प्रधानजस्ता साहित्यकारसमेत सम्पादकका आँखामा नपरेपछि बाँकी के नै रह्यो र ?
सबै साहित्यकारले बायोडाटा चुस्तदुरुस्त ढङ्गले बनाएका हुँदैनन् भन्ने कुरा यस क्षेत्रमा काम गर्ने सबैलाई विदितै छ । सम्पर्कमा रहेका सीमित व्यक्तिको बायोडाटाको सम्पादनमा पनि यस कोशमा गम्भीरता देखाइएको छैन । साहित्यकारको बायोडाटामा उल्लिखित कृति कुन विधाको हो भनेर छुट्याइदिने आवश्यकताको बोधसमेत यसमा गरिएको पाइँदैन । बायोडाटामा कृतिको प्रकाशित मिति उल्लेख नगरेका साहित्यकारका कृतिको प्रकाशन मितिसम्म खोज्ने प्रयास नगरिनु अनि कतिपय साहित्यकारको त मौलिक र सम्पादित कृतिसमेत नछुट्याउन नसक्नु पनि अनुसन्धान हो त ? प्रकाशित मिति सन्मा भए पनि उल्लेख गरेका कतिपय स्रष्टाका कृतिमा सन् भनेर उल्लेख गरिदिनुपथ्र्याे कि पर्दैनथ्यो ? कुनै पनि साहित्यकारको कृति कुन विधाको हो, प्रकाशन कहिले भएको हो भन्नेसमेत स्पष्ट पार्न नसक्नु अनि कृतिको क्रम प्रकाशन वर्ष अथवा विधा कुन आधारमा गर्ने हो भन्ने निक्र्योलसमेत गर्न नसक्नु अनुसन्धानको कुन कोटिमा पर्छ ? कि यसमा उल्लिखित साहित्यकारको प्रकाशित कृतिका विधा तथा प्रकाशन मितिका सन्दर्भमा अर्काे अनुसन्धानका लागि मार्ग प्रशस्त गरिदिएको हो ? 
प्रस्तुत कृतिमा अम्बिकादेवी घिमिरेको कामकाजी नाम ‘लक्ष्मी पोखरेल ‘कोकिल’ तथा सीमा आभासको स्थायी बसोबासमा ‘क्यानडा र कालधारा, काठमाडौँ’ भनी उल्लेख गरिएको छ । प्रचारमुखी नभई जीवनभर गम्भीर ढङ्गले अध्ययन–अनुसन्धानमा समर्पित रमा शर्माका कृतिहरूमा भीमकुमारी श्रेष्ठका कृतिहरू टाँसिएको छ । हाल प्राज्ञ सदस्यकै रूपमा कार्यरत उषा ठाकुरको नाम उषा शर्मा उल्लेख गर्दै आत्मदा र टुटते जुटते रिस्ते नामक दुईवटा हिन्दी कथासङ्ग्रह प्रकाशित छन् भनी उल्लेख गरिएको छ । उषा ठाकुरका कुनै पनि कृतिमा उषा शर्मा भनेर लेखिएको छैन अनि उनका कुनै कथासङ्ग्रह नै प्रकाशन भएका छैनन् । यसरी वर्तमान प्राज्ञ उषा ठाकुरको नामलगायत अन्य विवरण एक वचन सोध्ने समयसमेत नमिलेकै हो त ? 
यस कृतिको सन्दर्भसूचीमा उल्लेख गरिएको लक्ष्मी उप्रेतीको पुस्तकको शीर्षक ‘नेपाली नारी कथाकार : प्रवृत्ति र प्रतिनिधि कथा’ नभई ‘नेपालका नारी कथाकार : प्रवृत्ति र प्रतिनिधि कथा’ हो । सन्दर्भ सामग्रीका रूपमा प्रयोगै नगरिएको ‘साहित्यकार कलाकार परिचय कोश’ र ‘नेपाली महिला साहित्यकार’ शीर्षक कृति झारा टार्न मात्र सन्दर्भसूचीमा उल्लेख गरिएको छ किनकि यी पुस्तक प्रयोग गरिएको भए कुन्दन शर्मा, गार्गी, चन्द्रकला नेवार, पूनम क्षत्री, प्रेमा शाह, बुनु लामिछाने, रेवती राजभण्डारीजस्ता थुप्रै साहित्यकारहरू सायद छुट्दैनथे । यसरी प्रयोगै नगरिएका तथा कतिपय प्रयोग गर्नै नपर्ने कृति उल्लेख गरिनु र पूर्वकार्यसँग सम्बन्धित कतिपय कृति उल्लेखै नगरिनुले सन्दर्भसूचीको प्रस्तुतिमा पनि आग्रह–पूर्वाग्रह स्पष्टै देखिन्छ । त्यसमा पनि प्रकाशन भइसकेको आफ्नै पुस्तकको नाम नदिई प्रतिवेदनमूलक पाण्डुलिपि उल्लेख गर्नुले के बुझिन्छ ? दु:खको कुरो, पुस्तकै नहेरी, नदेखी हावादारी ढङ्गले उल्लेख गर्ने भाइरसले यसका सम्पादकहरूलाई पनि आक्रमण गरिसकेको रहेछ । 
सबभन्दा हास्यास्पद कुरो— विभागीय मन्तव्यमा प्रतिष्ठानबाट प्रकाशित पुस्तक भनी ‘नेपालका महिला कथाकारहरू’, ‘नेपालका महिला कथाकारहरू भाग–२’ लगायत अन्य पुुस्तकहरूको उल्लेख गरिएको छ, तर यी पुस्तकका शीर्षक क्रमश: ‘नेपाली महिला कथाकार’ र ‘नेपाली महिला कथाकार भाग–२’ रहेको छ । सर्सर्ती हेर्दा यो सामान्य त्रुटिजस्तो देखिए पनि यी शीर्षकले समेट्ने विषय र उद्देश्य पृथक् हुने स्थिति स्पष्टै देखिन्छ । अझ उल्लेखनीय कुरो ‘नेपाली महिला कथाकार भाग–२’ स्वयं ज्ञानू पाण्डेद्वारा नै तयार पारिएको हो । प्राज्ञको कुर्सीमा विराजमान भएर आफ्नै कृतिको नामसमेत शुद्ध लेख्न नसकेपछि बाँकी के रह्यो र ? 
उल्लिखित सन्दर्भहरू व्यक्तिविशेषसँगको आग्रह–पूर्वाग्रहले प्रेरित भई कसैलाई उचाल्ने–पछार्ने, कसैको त्रुटि एवं कमजोरी देखाई आलोचना गर्ने उद्देश्यले नभएर सही जानकारी दिई यसले नेपाली साहित्यमा पार्न सक्ने नकारात्मक असरलाई देखाउने उद्देश्यका साथ अनुसन्धानकर्तामा दायित्व बोध हुनुपर्छ कि पर्दैन भन्ने छलफलका लागि उठाइएको हो । इतिहास लेखक सम्बद्ध विषयमा सदैव अद्यावधिक हुनैपर्छ, तर यो कृति हेर्दा विद्वान् महोदयहरू समसामयिक परिवेशप्रति अद्यावधिक एवं जिम्मेवार भएर काम नगरी मौका पर्दा टापटिपे तालले नै भए पनि यसो एउटा पुस्तक प्रकाशित गरिहालौँ न भन्ने दृष्टिकोणबाट प्रेरित भएको पो हो कि भनी शङ्का गर्ने ठाउँ प्रशस्तै रहेको छ ।
अर्काे कुरा, प्रस्तुत कृति विमोचनका दिन बिक्रीमा रहेको सूचना मञ्चबाट घोषणा गरेलगत्तै एउटा कर्मचारीले यो पुस्तक सच्च्याउनुपर्ने भएकाले अहिले बिक्री नगर्नू भन्ने आदेश आएको छ भनी उपस्थितलाई सूचित गरेका थिए । पुस्तक बिक्रीयोग्य नभएको थाहा हुँदाहुँदै विमोचनको समयलाई अलि पछि सार्न सकिँदैनथ्यो र ? यस्ता प्रश्न गर्दै विस्मयका साथ पाठकहरू प्रज्ञा प्रतिष्ठानबाट बाहिरिएका हुन् । अनेक बिब्ल्याँटाहरू रहेको बोध गरी पुस्तक सच्च्याउन लागेको कुराले त्यतिखेर मलाई निकै खुसी तुल्याएको पनि हो तर पछि सच्चिएर आएको भनिएको पुस्तकमा त बिब्ल्याँटाहरूलाई यथावतै राखेर पछाडि एउटा लेख थपेर पो बाहिर ल्याइएको रहेछ । ठूलो तामझामका साथ सार्वजनिक भइसकेपछि भत्काएर अनि पुन: जोडजाड गरेर बजारमा ल्याउँदासमेत यस्ता कुरामा ध्यान दिइँदैन भने योभन्दा ठूलो लापरबाही र मनोमानीको नमुना अरू के हुन सक्ला ? 
सर्सर्ती हेर्दा यो लेख पुस्तक समीक्षाजस्तो देखिए पनि यहाँ उठाउन खोजिएको कुरा दायित्व बोधको हो । कुनै कार्यका लागि व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने त छँदै छ, सम्बन्धित संस्थाले चाहिँ दायित्वबोध गर्नुपर्छ कि पर्दैन ? यहाँ को छुट्यो, को पर्‍यो, कसका बारेमा गलत लेखियो भन्ने होइन, प्रश्न दायित्व बोधको हो । प्रज्ञा प्रतिष्ठानको परियोजनामा अनुसन्धान भन्दै सम्पर्कमा रहेका सीमित व्यक्तिको बायोडाटा एक ठाउँमा थुपारेर मात्र अनुसन्धान हुन्छ र ? अर्काेतिर नेपाली साहित्यमा उल्लेखनीय योगदान गरेका महिला साहित्यकारलाई बेवास्ता गरी समेट्न नसक्नु अनि पाठ्यपुस्तकका गाइड लेख्ने कतिपय व्यक्तिहरूलाई चाहिँ साहित्यकारका रूपमा उल्लेख गर्नुले के बुझिन्छ ? सम्पूर्ण नेपाली साहित्यकारको आस्थाको केन्द्र मानिने प्रज्ञा प्रतिष्ठान अहिले हीरक जयन्ती मनाइरहेका बेला यस्ता टालटुले र गैरजिम्मेवार क्रियाकलापले प्रतिष्ठानको प्रतिष्ठा एवं विश्वसनीयतामा कस्तो असर पर्ला ? 
नेपाली साहित्यसम्बन्धी कुनै अन्योल उत्पन्न भएमा प्रज्ञा प्रतिष्ठानको प्रकाशन एवं अभिलेखलाई अन्तिम सत्य मान्ने हाम्रो मनोविज्ञान रहेको यथार्थमा कोही पनि असहमत हुँदैन सायद । प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित यसअघिका हावादारी विश्लेषणयुक्त पुस्तकलाई आधार बनाएर सिक्किमबाट एउटा ठूलै पुस्तक प्रकाशन भइसकेको छ । अर्काेतिर २०७१ मङ्सिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानकै सहकार्यमा साहित्य, कला, सङ्गीत प्रवद्र्धन समाज मकवानपुरद्वारा आयोजित आख्यान विमर्श तथा सिर्जना वाचन कार्यक्रममा घनश्याम घिमिरेद्वारा प्रस्तुत गरिएको ‘२०६० को दशकमा नेपाली कथा’ शीर्षक कार्यपत्रमा पनि तिनै हावादारी विश्लेषणयुक्त पुस्तकमा भएका बिब्ल्याँटाहरू जस्ताको तस्तै साभार गरिएका छन् । यसमा ती सिक्किमे भाइ र घनश्याम घिमिरेको दोष कत्ति पनि छैन । 
सत्यलाई ओझेलमा पर्न नदिई विवेकपूर्ण ढङ्गले प्रकाशमा ल्याउनु पनि अनुसन्धान नै हो । यो कसैको व्यक्तिगत चासोको विषय नभई नेपाली साहित्यलाई माया गर्ने सबैको चासोको विषय हो । कसैको आलोचना त बिनाप्रमाण पनि गर्न सकिन्छ तर सप्रमाण यस्ता कुरा केलाउनु अनुसन्धानकै एउटा पाटो हो । त्यसैले काम गर्दा झिनामसिना गल्ती हुन सक्छ भनेर ढाकछोप गर्दै गल्ती देखाइदिनेको आलोचना गर्नुभन्दा यस्ता गल्तीहरू बेलैमा सच्च्याउनु बुद्धिमानी हुन्छ । यसप्रकारका भाँडभैलोले नेपाली साहित्यलाई पार्न सक्ने नकारात्मक असरप्रति गम्भीर हुनुलाई कसैले अन्यथा सम्झेर आफ्नो मानमर्दन भएको ठानी ‘प्रेस्टिज इस्यु’ बनाएर नसच्च्याउनुचाहिँ अक्षम्य भूल हो । अझ आफूले महिला भनेर लेखेका यशु श्रेष्ठ, शशि भण्डारी, गङ्गा श्रेष्ठ, कुमुद अधिकारी, रश्मिशेखर सुवेदीजस्ता वर्तमानमै सक्रिय साहित्यकार महिला नभएर पुरुष हुन् भनी यथार्थ जानकारी दिँदा ‘यी नाम के कति गलत र सही हुन् छलफलकै विषय बन्नेछ’ भनी सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै छलफलको आवश्यकता देखाएपछि भन्न बाँकी केही पनि रहँदैन ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?