कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साम्यवादको मोहपास

बहस
किन साम्यवादीहरू सत्तारोहणपछि कर्तव्यच्यूत हुन्छन् ? पुँजीवादीहरू गलत मनसायले सत्तामा पुग्ने भएकाले उनीहरूलाई राज्यदोहन गर्ने सुविधा छ भन्न सकिन्छ तर साम्यवादी त गरिखाने वर्गको हित गर्ने पवित्र उद्देश्य बोकेर गएका हुन्छन् ।
मुराहरि पराजुली

काठमाडौं — बितेको महिना साम्यवाद, समाजवाद, अधिनायकवाद, वाम गठबन्धनले धेरै चर्चा पाए । रूसी क्रान्ति यही अवधिमा सयौं वर्षमा पुग्यो । राजधानीबाट चुनावको अघिल्तिर फलाना उम्मेदवारलाई हराऊँ भन्ने आशयको कथित वाम बुद्धिजीवीहरूको वक्तव्य आयो ।

साम्यवादको मोहपास

पोखराबाट झन्डै दुई दर्जन प्राध्यापकले यो चुनाव समग्र वाम आन्दोलनकै लागि जीवन–मरणको सवाल हो त्यसैले वाम गठबन्धनलाई जिताउनुपर्छ भन्ने किसिमको विज्ञप्ति निकाले । 

ती ‘बुद्धिजीवी’हरूको दुई विज्ञप्तिमा साम्यवाद वा समाजवादको सम्यक् विश्लेषणपश्चात् नेपाली समाजले समाउनुपर्ने अबको बाटो ‘वाम मार्ग’ नै हो भन्ने निष्कर्ष निकालिएको थिएन । दुवै विज्ञप्तिको उद्देश्य दलविशेष र उम्मेदवार विशेषलाई चुनावमा जिताउनुपर्छ भन्ने थियो । चुनावपछि सत्तारोहण गर्ने दलविशेषबाट लाभको अपेक्षा गरिएको ती विज्ञप्तिहरूमा छर्लंगै देखिन्थ्यो । 
बोल्सेभिक क्रान्ति सय वर्ष पुग्दा यहाँ सञ्चालित गोष्ठीहरू समाचार बनेनन् । सोही सन्दर्भमा नेपाली मिडियामा आएको लेख–विचारहरूमा पनि पुँजीवादलाई गाली मात्र गरिएको भेटियो । पुँजीवाद गलत भएकाले समाजवाद सही हो भन्ने तर्क गरिएको पाइयो । पुँजीवादलाई नराम्रो देखाएर समाजवादलाई सही ठहर्‍याउन खोजिएको देखियो । लेखहरूमा पुँजीवादविरोधी तर्कहरू पनि निकै फितला थिए । पुँजीवाद किन गलत हो भन्ने विषयमा लेखहरू प्रवेश गरेकै थिएनन् । पुँजीवादमा श्रमिक वर्गको शोषण हुन्छ, यसले असमानता बढाउँछ, उपभोगवादी संस्कृतिलाई प्रोत्साहित गर्छ, प्राकृतिक स्रोतको दोहन गर्छ, बजार व्यवस्था विकृत हो, अनैतिक हो भन्ने थेगोहरू दोहोर्‍याइएका थिए । समग्रमा ती लेखहरू पुँजीवादविरोधी रोमाञ्चका उपज थिए । 
चुनावअघिका दुई विज्ञप्ति र बोल्सेभिक क्रान्ति सय वर्ष पुग्दाको वैचारिक मन्थनहरूबाट हाम्रो समाजमा कम्युनिस्ट पक्षधर दुई किसिमको समूह सक्रिय रहेको देखिन्छ । नितान्त व्यक्तिगत लाभका लागि सामूहिकतावादी दर्शन (साम्यवाद वा समाजवाद) प्रति ओठेभक्ति प्रदर्शन गर्ने पहिलो समूह हो । पुँजीवादविरोधी रोमाञ्चको सिकार बनेको दोस्रो समूह । यी दुवै प्रवृत्ति हाम्रा लागि घातक हुन् । एउटा जानाजान सामूहिकतावादी दर्शनको मोहपासमा अल्झेको नाटक गरिरहेको छ, दोस्रो अञ्जानमा । पहिलो समूहमा पर्नेहरू यो लेखको चासोका पात्र होइनन् । 
कम्युनिस्टहरूले उन्नत समाज निर्माणको सबैभन्दा भव्य, आकर्षक र रोमाञ्चक प्रस्ताव पेस गरेका छन् । साम्यवादी अवधारणा आधुनिक समयमा मानवीय खुसी सुनिश्चित गर्ने सम्भवत: सबैभन्दा प्रिय ‘प्रेस्क्रिप्सन’ हो । ती द्रष्टाहरूले मानव मात्रलाई मुक्त गर्ने, एकत्रित गर्ने सूत्र दिएकोमा शंका गर्ने यो संसारमा थोरै मान्छे छन् ।
तर, जब त्यो प्रस्ताव कार्यान्वयनमा जान्छ विसंगति देखा पर्न थाल्छन्, धेरै कुराहरू छुटेका भेटिन्छन् । त्यसले चेलाहरूलाई दु:खी बनाउँछ, शुभचिन्तकहरूलाई निराश । अनि कल्याङमल्याङ सुरु हुन्छ, ‘अवधारणा सही हो तर फलानाले बिगार्‍यो, समय ठीक भएन, स्थान उपयुक्त थिएन ।’ अवधारणा असफल हुनुका कारणहरूमा अझ परिवेश, सामाजिक संरचना, संस्कृति, कार्यान्वयनको क्रमिकतालगायतका धेरै कुरा थपिन्छन् । साम्यवादी असफलतालाई स्वीकार गर्न नचाहनेहरूको सबैभन्दा बलियो बहानालाई सटीक रूपमा ‘माक्र्स सही हुन माक्र्सवादीहरू गलत’ भन्ने वाक्यांशमा अभिव्यक्त गर्न सकिन्छ । साम्यवादको स्थायी शत्रुका रूपमा ‘पुँजीवादी साम्राज्यवादी’ अमेरिका, बेलायत, विश्व बैंक र मुद्रा कोष त कहिल्यै छुट्दैनन् ।  
पूर्णकालीन राजनीतिक कर्ममा लागेका नेता तथा कार्यकर्तालाई साम्यवाद भ्रम हो भन्ने स्विकार्न कठिन मात्रै होइन असम्भवजस्तै छ । साम्यवादीलाई मात्रै होइन जोसुकैका लागि यस खालको वैचारिक मोहपासबाट मुक्त हुन गाह्रै पर्छ । जीवनको सबैभन्दा ऊर्जाशील, व्यक्तिगत स्वार्थहीन, इमानदार, उत्साही, जिज्ञासु बालापनदेखि अगाँल्दै आएको विचार, अभ्यास कसरी भ्रम हुन सक्छ ?
मान्छेलाई धेरै खालका भ्रम हुन्छन् । वैचारिक भ्रममा जोकोही पर्न सक्छ । साम्यवाद भ्रम नै हो भने पनि म त्यसलाई किन अस्वीकार गर्ने ? भन्ने उनीहरूलाई लाग्न सक्छ । भ्रम नै सही साम्यवाद मेरा लागि प्रिय छ । त्यो मेरो हो— मैले बिनासर्त स्वीकार गरेको । आफ्नै ठानेको । मैले आत्मा बनाएको । मेरो आत्माबिना म कसरी जीवन्त हुन सक्छु ? साम्यवादबाहेक सबै घृणायोग्य हुन भन्दैसुन्दै आएको । साम्यवादलाई त्याग गरिसकेपछि म केको सहारामा उभिने ? तीनै घृणित बजार विचार, अभ्यास र संस्कृतिलाई पछ्याउने ? त्यो त जीवन होइन मृत्यु हो † 
कुनै विचार वा गतिविधिमा प्रवृत्त भइसकेपछि त्यसलाई दुत्कार्न कठिन हुन्छ । आफू र आफ्नाहरूले निर्माण गरेको त्यत्रो संगठन । संगठनभित्रका साथीभाइ, अग्रज, अनुजहरू, सहकर्मी, प्रतिस्पर्धीहरूसँग बिताएका सुखदु:खका क्षण सजिलै कसरी बिर्सन सकिन्छ ? साम्यवादी सपनाप्रतिको समर्पण कसरी झूट हुन सक्छ ? दु:खी गरिबको अर्थपूर्ण जीवन रक्षार्थ आफ्नै ज्यानको बाजी लगाएको, अर्काथरी मान्छेकै ज्यान लिन तयार भएको उद्यम कसरी गलत हुन सक्छ ? साम्यवादी ज्ञानसागर एकाएक कसरी सुकेर जान सक्छ ? पत्याउनै नसकिने कुरा † यो खालको मानसिक तनाब जहिल्यै रहन्छ । 
थोरैले मात्र जीवनकालको मध्यमा वा उत्तराद्र्धमा आएपछि नयाँ शिराबाट सोच्न वा काम गर्न थाल्छन् । सामान्यजनले त बालापनदेखिकै कुरालाई परिमार्जित विकसित गर्दै लैजाने हो । हाम्रो पुस्ता बाह्य संसारमा खुलेदेखि नै साम्यवादी शिक्षामा प्रशिक्षित छ । साम्यवाद वा त्योभन्दा केही नरम समाजवादभन्दा हामीले अर्को विचार छ भन्ने सुनेकै छैनौं । सुनेकै भए पनि त्यो त्याज्य हो, घृणायोग्य हो, विकृत हो, अमानवीय हो, बजारु हो, क्षणिकको हो भन्ने सुन्दै आएका छौं । आफैंले साम्यवादसँग प्रतिस्पर्धी विचारको प्रत्यक्ष अध्ययन विवेचना गरेका छैनौं । कसैले साम्यवाद कामकाजी हो बाँकी सब बेकार हुन् भनेकै भरमा पत्याउँदै आएका छौं । कसैले हामीलाई साम्यवाद गुलियो हुन्छ पुँजीवाद अमिलो भनेकै कुरालाई पत्याएका छौं । आफैंले चाख्ने कष्ट गरेका छैनौं । 
संसारमा धेरै किसिम, आकार, रंगका साम्यवादीहरू आए–गए, केही अझै छन् । साम्यवाद एक स्तुत्य अवधारणा हो त्यसको सबैभन्दा सच्चा भक्त हामी हौं भन्ने निरन्तर प्रयास गरिएको छ । यो प्रजातिका भक्तहरू लोपोन्मुख छन् । सोभियत क्रान्तिको सय वर्ष पुग्दा यही दृश्य देखा पर्‍यो । सोभियत शक्ति उत्कर्षमा पुगेका बेला संसारको ४० प्रतिशत भूभागले उसलाई पछ्याउँथ्यो । बोल्सेभिक क्रान्तिको वर्षगाँठ एउटा उल्लासमय उत्सव हुन्थ्यो । आज त्यही ‘महान्’ क्रान्ति सय वर्ष पुग्दा हर्ष मनाउने कि विस्मात भन्ने प्रश्न खडा भएको छ । 
भक्तहरूमाझ एउटा प्रचलित थेगो छ— साम्यवाद असफल हुनै सक्दैन । यो ओझेलमा परेको मात्रै हो— पुँजीवादी चटकले मान्छेलाई लोभ्याएकाले । त्यो चटक समाप्त हुन्छ अनि मान्छे यतैतिर फर्केर आउँछन् भन्ने आशाको दियो बालेर बसेका छन् उनीहरू । खासमा उनीहरू साम्यवादी प्रभाव साँघुरिएको, समाप्त हुन लागेको स्विकारै गर्दैनन् । कथंकदाचित स्वीकार गरिहाले भने त्यसको दोष पुँजीवादलाई दिन्छन् । साम्यवादी विचार व्यवस्था खोटरहित हो । यो पुँजीवादजस्तो आन्तरिक कारणले नष्ट हुन सक्दैन भन्ने दाबी गरिरहन्छन् । धरातलीय यथार्थ भने विपरीत छ । साम्यवाद शनैशनै लुप्त हुँदै गइरहेको छ, खिइरहेको छ, क्षय हुँदै गएको छ । 
उनीहरूलाई लाग्छ, पुँजीवादमा जस्तो अन्तरविरोध कम्तीमा पनि सैद्धान्तिक तहमा साम्यवादमा छैन । यो त विज्ञान हो । दुई र दुई जोड्दा चार हुन्छ । एक मात्रा अक्सिजन र दुई मात्रा हाइड्रोजन मिलाएपछि पानी बन्छ भनेजस्तै हो । आन्तरिक कारणले साम्यवाद समाप्त हुनै सक्दैन भन्ने ढिपी गरिंदै आएको छ । माक्र्सले बोलेको ब्रह्म वाक्य हो । ‘क्यापिटल’ का चारवटै भाग र ‘कम्युनिस्ट मेनिफेस्टो’ मा लेखिएका प्रत्येक शब्द आफैंमा प्रमाण हुन्, थप प्रमाण आवश्यक छैन । जसले यी ‘कम्युनिस्ट वेदहरू’ माथि शंका गर्छ, आलोचना गर्छ त्यो गरिबमारा हो, सामन्त हो, पुँजीवादी–साम्राज्यवादीको दलाल हो ।   
नतिजा के देखिएको छ भने साम्यवादी व्यवस्थालाई बाहिरबाट हानेर ध्वस्त पारिएको छैन । आन्तरिक कारणले यो समाप्त हुने होइन । सामन्तवादी साम्राज्यलाई समाप्त पार्नुपर्छ, पुँजीवादी किल्ला भत्काउनुपर्छ भने जसरी कोही पनि साम्यवादी सत्ताको पछि लागेको छैन । बरु साम्यवादी क्रान्ति निर्यातको कुरा गरिएको थियो । चे ग्वेभारा क्रान्ति निर्यातकै लागि अमेरिका, युरोप, अफ्रिका, एसिया महादेश चहारेका थिए । तापनि साम्यवादी धरातल खुम्चिएको छ । साम्यवादी शक्ति यति कमजोर किन भयो ? खोजी गरिएको छैन । 
साम्यवादी व्यवस्थाको जग मानिने माक्र्सको श्रमको बचत मूल्यसम्बन्धी सिद्धान्त र समाज विकास क्रमको सिद्धान्तमा ठूला समस्या छन् भन्ने हामी मान्दैनौं । माक्र्सको समयमा जस्तो उत्पादनका साधन श्रम, पुँजी र भूमिमा सीमित छैनन् । उत्पादन पनि भौतिक पदार्थमा सीमित छैन । श्रम, पँुजी र भूमिको विभिन्न संयोजनमार्फत भौतिक पदार्थ उत्पादन गरी संलग्न पक्षलाई वितरण गर्ने प्रणालीगत विश्लेषण असान्दर्भिक भइसकेको छ । मानवीय आवश्यकता खाने–लाउने भौतिक पदार्थको सञ्चयमा सीमित छैन । त्यसैले कसले अधिकारभन्दा कम भौतिक वस्तु पायो र कसले बढी भन्ने प्रश्न व्यर्थको भइसकेको छ ।
यसैगरी समाज सामन्तवादबाट पुँजीवाद र पुँजीवादबाट समाजवादतर्फ अगाडि बढ्छ भन्ने विश्लेषण पनि सही होइन भन्ने इतिहाससिद्ध भएको छ । त्यसैले रूसी समाज सामन्तवादबाट एकैचोटि समाजवादमा प्रवेश गरेकाले बोल्सेभिक क्रान्ति असफल भएको भन्ने खालको विश्लेषण गलत हो । अनि अब नेपाली समाजले सामन्तवादबाट पुँजीवादको यात्रा थाल्नुपर्छ त्यसपछि समाजवाद हुँदै साम्यवादमा पुगिन्छ भन्नु पनि तर्कयुक्त कथन होइन । 
‘माक्सवाद’ सिद्धान्त हो विज्ञान होइन भन्ने स्वीकार नगर्दासम्म माक्र्सका विचारहरूको तथ्यपरक विवेचना हुनै सक्दैन । सत्य निरुपण गर्ने धेरै विधिहरूमध्ये एक माक्र्सको विधि हो । अरू दार्शनिकहरू जस्तै माक्र्सका विचारमा पनि कमी–कमजोरी हुन सक्छन भन्ने सत्यलाई स्विकार्नेले मात्रै वर्तमानका अन्तरविरोधलाई देख्न सक्छन्, समस्या पहिल्याउन सक्छन्, समाधान निकाल्न सक्छन् । तर साम्यवादीहरूले यस्तो आवश्यकता देख्दैनन् । उनीहरूलाई लाग्छ, अन्तरविरोध के हो थाहा भइसकेको छ, समस्या पहिचान भइसकेको छ, समाधान निकालिहालिन्छ ।   
साम्यवादले व्यक्तिको विशिष्टतालाई, समाजको भिन्न प्रकृतिलाई, मानवीय भावना र त्यसको विविध आयाम तथा गतिशीलतालाई सम्बोधन गर्दैन । निर्देशित सामूहिकतामा विश्वास राख्दा व्यक्तिको प्रकृतिप्रदत्त स्वाभाविक प्रतिभाले खेल्ने हुर्कने मौका पाउँदैन । साम्यवादी प्रणालीमा भन्नलाई सामूहिक आकांक्षाबाट निर्माण गरिएको भनिए पनि नेताहरूबाट स्थापित मूल्य मान्यताको घेराभित्र सर्वसाधारण बाँधिइन्छन् । सर्वोच्च निकायले थोपरेको आदर्श मूल्यमान्यताविपरीत चल्नेहरू स्खलित र दोषभागी हुन्छन् । अनि जोडिन आइपुग्छ वर्ग शत्रुको सफाया, सांस्कृतिक विचलनमा रोक आदि । 
लालबादशाहहरूको जन्म साम्यवादी प्रयोग भएका सबै कालखण्ड र भूभागमा भएको छ । यस्तो घटना कुनै एक देशमा कुनै एक समयमा भएको हुँदो हो त यसलाई दुर्घटना वा संयोग मान्न सकिन्थ्यो । बाहिरबाट कसैले टपक्क टिपेर पार्टीको सर्वोच्च निकायमा यिनीहरूलाई राखिदिने होइन–पार्टीभित्रै जन्मिने, हुर्किने हो । यसको दोष कसलाई दिने ? उच्च आदर्श र नैतिकता माग गर्ने साम्यवादी प्रणालीभित्र ती तत्त्वहरूको सर्वथा अभाव किन हुन्छ ? 
किन साम्यवादी नेताहरू सत्तारोहणपछि कर्तव्यच्यूत हुन्छन् ? पुँजीवादीहरू गलत मनसायले सत्तामा पुग्ने भएकाले उनीहरूलाई राज्यदोहन गर्ने सुविधा छ भन्न सकिन्छ तर साम्यवादीहरू त गरिब गरिखाने वर्गको हित गर्ने पवित्र उद्देश्य बोकेर गएका हुन्छन् । उनीहरूलाई त यस्तो सुविधा नहुनुपर्ने हो । साम्यवादीहरू यी प्रश्नहरूमा घोत्लिनुपर्ने थियो । विडम्बना साम्यवादी मोहपासबाट उम्किएको अवस्थामा मात्रै यस्ता प्रश्नहरू सोधिन्छ अनि बल्ल सही जवाफ पाउन सकिन्छ । 

प्रकाशित : मंसिर २३, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?