कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कल्ली : पहिचानको एषणा

समीक्षा
राम लोहनी

काठमाडौं — हरिमाया भेटवालको ‘कल्ली’ उपन्यास यही नामकी पात्रले जीवनको पच्चीस वर्षसम्म भोगेको घटनाको इतिवृत्त हो । उपन्यास मूलत: गाउँले परिवेशमा केन्द्रित छ । अधिकांश मानिस आर्थिक रूपले कमजोर छन् । दुईचार पैसो कमाउन विदेश जानुपर्ने बाध्यता छ ।

कल्ली : पहिचानको एषणा

समाजमा वर्ग विभाजन छ । मानिसहरू शोषण र अन्धविश्वासको सिकार भएका छन् । लैङ्गिक विभेद छ । गाउँमा, सहरमा, धनी परिवारमा, गरिब परिवारमा, शिक्षित वर्गमा, अशिक्षित वर्गमा– लैंगिक विभेदमा कतै भेद छैन । महिलाहरू परिवारभित्र बाबु, लोग्ने र दाजुभाइबाट पीडित छन् र परिवारबाहिर यौनहिंसाबाट प्रताडित । उनीहरूमा विद्रोहको चेत त छ, तर त्यो पर्याप्त फक्रिन पाएको छैन । परनिर्भरता मनोवैज्ञानिक तहमै गहिरो गरी गाडिएको छ । कल्लीजस्ता सीमित नारीमा मात्र आत्मपहिचानको तृष्णा पलाउन सक्छ । अधिकांश महिला परिस्थितिअनुसार आफूलाई अनुकूलित गरिरहेका छन् ।

पात्र संयोजन
छोराको कामना गर्दागर्दै छोरीको रूपमा जन्मेकीले कल्ली जन्मजात विभेदमा परेकी छ । छोरा नजन्मेकै कारण उसको बाबु सोमे रक्सीको कुलतमा लागेर अकाल मृत्यु वरण गर्न पुग्यो । लक्षिमा अर्थात् कल्लीकी आमा लोग्नेको रक्सी खाने बानीबाट पीडित छे । सोमेले उसलाई पत्तै नदी भएको बीस रोपनी खेत बेचिदिएको छ । सोमेको मृत्युपछि एकल महिलाका रूपमा उसले पाएको दु:ख कहालीलाग्दो छ । बोक्सीको आरोपमा गरिएको बेइज्जती खप्न नसकेर फाल हालेर मृत्यु वरण गर्छे ऊ । विदुषी पढे–लेखेकी, सहरकी योग्य नारी हो । शिक्षित र सक्षम भईकन पनि लोग्नेको शङ्काको घेराबाट मुक्त हुन नसक्ने निरीह पात्र हो विदुषी ।
मनमाया, गंगामाया, लाहुरेनी आमा र सपनाको पनि गौण तर प्रतिनिधिमूलक उपस्थिति छ उपन्यासमा । मनमाया छोरा पाएकीले समाज र परिवारमा इज्जतिलो जीवन बाँच्न पाएकी छ । गंगामाया शोषण र उत्पीडनविरुद्धको आवाज निकाल्न खोज्ने महिला हो । तर ऊ राजनीतिक प्रतिशोधको सिकार भएकी छ । लाहुरेनी आमा लोग्नेको अपराधलाई देख्दिनन्, लोग्नेलाई बात लगाउने लक्षिमालाई बोक्सीको आरोप लगाएर समाज उराल्छिन् । र, सपना काठमाडौंमा अर्काको घरमा काम गर्न बसेकी युवती हो । डिल्लुबाट गर्भवती भएकी ऊ डिल्लु हिँडेपछि आत्महत्या गर्नेबाहेक अर्को विकल्प देख्दिन ।
डिल्लु (डिल्लीराम अधिकारी), सोमे, लाहुरे बा, लट्टे झाँक्री, किस्ने, सिद्धार्थ राणा, शान्तिराम र बलराम मिझार पुरुष पात्र हुन् । सोमे र किस्ने छोराको रहर गर्ने ग्रामीण तर सरल पात्र हुन् । गाउँका अन्य पुरुषझैं उनीहरू पनि सङ्लीको भट्टीमा रक्सी धोक्छन् र 
आफ्नो मर्दानगी प्रदर्शन गर्छन् । लट्टे झाँक्री बोक्सी चिन्ने, गर्भमा रहेको बच्चाको लिङ्ग परिवर्तन गरिदिएर छोरा बनाउन सक्नेजस्ता कामका लागि चर्चित छ । लाहुरे बा दोस्रो विश्वयुद्धका लडाकु र गाउँका हुनेखाने व्यक्ति हुन् । यी लाहुरे बा समाजका शोषक, पीडक र सामन्ती प्रतिनिधि हुन् । ब्याजमा रकम लगानी गरेर घरखेत उठाउने, बालिकाहरूप्रति यौन कुदृष्टि राख्ने र आफूविरुद्धको आवाजलाई जुनसुकै तरिका अपनाएर बन्द गराउने प्रवृत्तिका छन् यी लाहुर बा ।
डिल्लु कम सक्रिय भएरै नायकको स्थितिमा छ । कल्लीसँग उसको बालविवाह हुन्छ तर राम्रो हिमचिम हुनुअगावै सहर पस्छ । दस वर्षपछि घर आउँदा उसले कल्लीलाई यौन तृप्तिको साधनबाहेक केही देख्दैन । समकालीन आम युवाझैं ऊ पनि दुईचार पैसो कमाउन ऋण काढेर अरब पुग्छ । अरबमा उसलाई कर्तव्य ज्यानको अभियोगमा मृत्युदण्डको सजाय सुनाइन्छ ।
शान्तिराम तुलनात्मक रूपले प्रगतिशील भावनाले प्रेरित देखिन्छन् । टुहुरी बनेकी बुहारी कल्लीलाई संरक्षण मात्र दिँदैनन्, बाह्र कक्षासम्म पढाउँछन् पनि । छोराको अर्घेल्याइँमा बुहारीको पक्ष लिन्छन् । छोरालाई मृत्युदण्डको सजाय सुनाएको थाहा पाएपछि भने विक्षिप्त हुन्छन् शान्तिराम । बलराम मिझार हरेक हिसाबले असल र आदर्श पात्र हो । मौकामा ऊ डिल्लुलाई सहायता मात्र गर्दैन, आत्महत्या गर्न लागेकी गर्भवती सपनालाई अपनाउँछ पनि । सिद्धार्थ राणा सहरी सम्भ्रान्त परिवारको शिक्षित व्यक्ति हो । तर ऊ पत्नीप्रति हदैसम्मको शंकालु छ ।

विवेचना
समाजमा विद्यमान विभेद, शोषण, अन्धविश्वास आदिको माखेसाङ्लोमा जेलिएर मानिसहरू त्यसलाई नै जीवनको वास्तविकता मान्न अभिशप्त भएको तथ्यलाई विभिन्न पात्रहरूमार्फत उपन्यासले उजागर गर्न खोजेको छ । मरेपछि स्वर्ग पुग्न छोरा नभई हुँदैन भनेर सोमे लक्षिमाको गर्भमा भएको बच्चालाई छोरा बनाइदिन लट्टे झाँक्रीको शरण पर्छ ।
विविध प्रकृतिका विभेद र शोषणबाट महिला नै सबैभन्दा पीडित छन् भन्ने मूल विषय उपन्यासको जग हो । कल्लीको पच्चीस वर्षसम्मको जीवनका विभिन्न विन्दुलाई छुँदै उपन्यासका घटनाहरू अघि बढेका छन् । कल्लीबाट सहनशीलता र समर्पण मात्र खोजिँदैन, सहादत पनि खोजिन्छ । जब शान्तिरामले कल्लीलाई ‘जे जसरी हुन्छ मलाई मेरो छोरा फिर्ता ल्याइदे’ भन्छ, सामाजिक मनोविज्ञानको त्यो पाटो पनि खुलस्त हुन्छ । यद्यपि यसमा शान्तिरामको निरीहता पनि बोलेको छ, उसलाई स्वाभाविक रूपमा बुहारीभन्दा छोराकै मोहले ज्यादा गाँजेको छ ।
उपन्यासले उठाउन खोजेको मूल मुद्दाचाहिँ आत्मपहिचान र स्वअस्तित्वको हो । विदुषीको सहयोगमा कल्ली डिल्लुका लागि ब्लड मनी जम्मा गर्न सक्षम हुन्छे । ज्युँदै फर्कन सकेकोमा डिल्लुमा हर्षको सीमा हुँदैन । तर ऊ कल्लीलाई त्यसको लागि कृतज्ञता ज्ञापन गर्न जरुरी ठान्दैन । ‘स्वास्नीले लोग्नेका लागि कर्तव्य गरेको’ बुझ्छ ऊ । अझ सोच्छ, ‘मलाई बचाउन यसले आफूलाई बिक्री पनि गरी होली । सिद्धार्थजस्तै यहाँ डिल्लु पनि स्वास्नीको यौनिक चरित्रप्रति शङ्कालु बन्छ । तर कल्लीलाई धोखा दिएर सपनालाई अपनाएको कुरा उसका लागि सामान्य बन्छ । यो तथ्यको उजागर हुनुसँगै कल्लीलाई आफ्नो पहिचान डिल्लुको पैतालामुनि दबिएर निरर्थक बनेको बोध हुन्छ । अनि मात्र ऊ डिल्लुसँगको सम्बन्धको भ्रमबाट मुक्त हुने निर्णयमा पुग्छे ।
नारी पात्रहरू सबैलाई पीडित र अधिकांश पुरुष पात्रहरूलाई पीडकको रूपमा प्रस्तुत छन् । नारीहरूको आर्थिक सबलता पनि परोक्ष रूपमा पुरुष आश्रित नै छन् । जस्तो कि, सङ्ली भुसतिघ्रेको आडमा रक्सी भट्टी चलाउँछे भने विदुषीलाई आफ्नोभन्दा लोग्नेको इज्जतप्रति चासो छ । सपनालाई पत्नीको चिनारी चाहिएको छ । डिल्लुसँग बस्न थालेर गर्भवती भइसक्दा पनि उसलाई डिल्लुले सिउँदोमा सिन्दूर भरिदिएन भन्ने चिन्ता छ ।
अज्ञानता व्याप्त छ । तर शिक्षा वा सहरी वातावरण केहीले पनि परम्परागत निरीहतालाई तोड्न सकेको छैन । मनमायालाई माओवादीको आरोप लगाएर मारिएकोमा गाउँमा कसैले चुँक्क बोल्दैन, लक्षिमालाई बोक्सीको आरोप लगाउँदा ऊप्रति सद्भाव हुँदाहुँदै कोही गाउँले उसको पक्षमा उभिन सक्दैनन् । शिक्षित भईकन पनि विदुषीमा मनमायामा आएको स्तरको चेत र कल्लीमा पलाएको आँट पलाउन 
सकेको छैन ।
उपन्यासको सबलता यसको भाषामा देखिन्छ । स्थानीय भाषिकाको प्रयोगले उपन्यासको ग्रामीण परिवेशलाई दुरुस्त उतारेको छ । घटनाहरूको विकास क्रमबद्ध रूपले भएका छन् । एकपछि अर्को गर्दै संकट उत्तरोत्तर बढ्दै गएको छ । यसले पाठकमा कौतूहल कायम राख्न मद्दत गरेको छ । पीडाको वर्णनको बीचमा हास्य प्रसंगहरू पनि छन् । पँधेराको उन्मुक्त वातावरणलाई जीवन्त प्रस्तुत गरिएको छ । गरिबी र बालमनोविज्ञानको चित्रण सशक्त छ ।
मुख्य पात्रको औपचारिक नाम कल्ली राखिएको होइन । छोरा जन्मेला र लगाइदिउँला भनेर बनाएको कल्ली छोरी जन्मेकीले सोमेले रक्सीमा सिध्याइदियो । लगाउन नपाएको कल्लीबाटै उसको नाम रहन पुग्यो । सोमेको मृत्युपछि लक्षिमाले छोरा त जन्माई । तर न सोमेले छोराको अनुहार हेर्न पायो, न छोराले त्यो कल्ली नै लगाउन पायो । जीवनको विसंगतिलाई यो परिदृश्यले सुन्दर चित्रण गरेको छ ।
प्रतीकात्मक रूपमा कल्ली एक प्रकारको बन्धन हो । समाजमा नारीहरू हुँदै नभएको बन्धनमा परेका हुन्छन्, आफूलाई विभिन्न प्रकारको बाध्यता र दायित्वले जेलिएका ठान्छन् । यथार्थमा त्यो त्यति बलियो बन्धन होइन, आँट हुनेले तत्काल चुँडाल्न सक्छ यसलाई । मुक्त हुने चाहना, पहिचानको एषणा मुख्य कुरा हो । त्यो चाहना अरूले दिने होइन, आफैंमा पैदा हुनुपर्छ भन्ने सन्देश उपन्यासबाट निकाल्न सकिन्छ । तर उपन्यासको विकास हुँदै गर्दा कल्लीको प्रतीकात्मक अर्थ उजागर भएको छैन, शिथिल भएको छ । कथा व्यक्ति कल्लीमाथि केन्द्रीत छ । द्वन्द्वात्मक मनोदशा हुर्किनसकेकाले कल्लीको घर छोड्ने निर्णय पनि एउटा भावुक उत्तेजनाको रूपमा मात्र प्रकट भएको छ । उत्कर्षले विद्रोहको विगुल फुक्दैन, स्थूलीकरण मात्र गरेको छ ।

त्रुटि तथा कमजोरी
उपन्यासमा समयको लेखाजोखा गडबड भएको छ । लाहुरे बा दोस्रो विश्वयुद्धमा बर्मामा लडेका योद्धा हुन् । दोस्रो विश्वयुद्धको बर्माको लडाइँ भनेको विसं २००१–२००२ तिरको हो । लक्षिमाको गर्भमा कल्ली आउँदा लाहुरे बा सतसट्ठी वर्षका थिए । त्यो समय कम्तीमा २०४०–४२ सालतिरको हुनुपर्छ । त्यसको एक वर्षपछि कल्ली जन्मी । मनमायाको नेतृत्वमा रक्सीमुक्त अभियान सुरु भएको त्यसै ताक हो । मनमायालाई माओवादीको आरोप लगाएर पक्राउ गराइएको छ । यहाँ वास्तविक घटनाको सापेक्षतामा समयको तालमेल मिलेको देखिँदैन । 
त्यस्तै कल्लीको तेह्र वर्षको उमेरमा विवाह भएको हो । त्यो समय लाहुरे बालाई सत्तरी वर्षको मात्र बताउनु अर्को त्रुटि भएको छ ।
लट्टे झाँक्रीको निवास पुग्न सोमे र किस्नेलाई चार घण्टा लागेको थियो । कल्लीको नामकरणको दिन सोमे एकाबिहानै लट्टेकहाँ पुगेर लट्टेलाई कुट्छ । प्रहरी लट्टेकहाँ पुगी सोमेलाई पक्राउसमेत गरिसकेको जानकारी गाउँ आइपुग्दा आधा दिन पनि भएको बोध हुँदैन । लट्टे झाँक्रीले गर्ने होममा रक्सी चढाउने कुरा पनि अमिल्दो देखिन्छ । शान्तिरामलाई एक ठाउँमा काशीराम (पृ. १९२) भनिएको छ । स्थानीय भाषिका प्रयोग गर्ने क्रममा ‘पर सरेको’, ‘ब्याङ्क’, ‘मदिरा’ जस्ता औपचारिक शब्दहरू नपरेका भए भाषिका अझ सशक्त हुने थियो ।
डिल्लु काठमाडौंमा ड्राइवरको काम गर्छ । तर ऊ सानै उमेरमा काठमाडौं गएको र दस वर्षदेखि गाउँ फर्केको छैन । नागरिकता बन्ने उमेरभन्दा पहिल्यै काठमाडौं छिरेको डिल्लुले गाडी चालकको अनुमतिपत्र कसरी बनाउन सक्यो होला प्रस्ट हुँदैन । त्यस्तै शान्तिरामको एक मात्र छोरा दस वर्षसम्म गाउँ गएन र कुनै खबर पनि भएन भन्नेजस्ता कुराको स्पष्टीकरण कथाले बताउँदैन । डिल्लुका लागि ब्लड मनीका लागि प्रचारप्रसार गर्न गरिएको पत्रकार सम्मेलनमा कल्लीले डिल्लुको निर्दोषिताको चर्चा पटक्कै नगरेर आँसुको मात्र व्यापार गरेको सुहाउँदो भएन । पहिलो कुरा त डिल्लु परिवन्दले फसेको थियो । दोस्रो कुरा, यदि डिल्लुले अपराध गरेकै भए के नेपाली भएकैले सजायबाट मुक्त हुनुपर्ने हो त भन्ने प्रश्न अनुत्तरित छ ।
उपन्यासमा केही स्थानमा नाटकीयता अलि बढी भएको अनुभूत हुन्छ । लोग्नेबाट हरक्षण निरीक्षणमा रहेकी विदुषी ताप्लेजुङको गाउँसम्म कसरी एक्लै पुग्न सकी होला भन्ने अनुमान गर्न गाह्रो छ । विदुषीसँग सम्पर्क नगरी कल्ली काठमाडौं बसपार्कमा आइपुगेको घटना पनि अमिल्दो देखिन्छ । निरीह र पराश्रित कल्लीलाई एक्कैचोटि काठमाडौंको बसपार्कमा उतार्नुअघि कुनै योजना बनाउनु उपयुक्त हुन्थ्यो । उपन्यासमा धेरै विषय समेटिएर एउटै पात्र कल्लीमाथि भएभरका दु:ख र कष्ट थोपरिएको छ । समाजमा दु:ख छ, पीडा छ, उत्पीडन छ, विभेद छ । त्यो यथार्थ हो । तर एउटै पात्रमाथि यी सबै व्यथाको भारी बिसाउनु जरुरी थियो ?

प्रकाशित : मंसिर २३, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?