कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केन्द्रमा ‘आउटसाइडर’

फिल्म
हिरोको परम्परागत मानकमा फिटिक्कै नअटाउने र फिल्मसँग कुनै साइनो नभएका राजकुमार रावको बलिउडको जादुई यात्रा
गोकर्ण गौतम

काठमाडौं — हरियानाको गुडगाउँ र नयाँ दिल्लीको दूरी ४१ किलोमिटर छ । सन् २००३ तिर गुडगाउँको एउटा ठिटो बिहानै घरबाट निस्कन्थ्यो, सुरुमा दिल्लीको आत्मसदन कलेजमा क्लास लिन्थ्यो । त्यसपछि निजी कम्पनीमा काम गथ्र्यो । घर पुग्दा मध्यरात भइसक्थ्यो । बस सधैं ठेलमठेल । यात्रा ज्यादै कष्टकर ।

 केन्द्रमा ‘आउटसाइडर’

तैपनि ऊ नजिकैको यात्रुको हाउभाउ, आनीबानी र मनोविज्ञान खुब नियाल्थ्यो । कहिले आफू दृष्टिविहीन बन्थ्यो, कहिले कान नसुन्ने त कहिले खुट्टा खोच्चाउँदै हिँड्थ्यो । त्यतिबेला अरूले गर्ने ‘रियाक्सन’ सुत्ने बेला नोट गथ्र्यो । 

यत्रो झन्झट गर्नुको फाइदा केही थिएन । तर यो सब उसका लागि ‘होमवर्क’ जस्तै थियो, अनिवार्य गर्नैपर्ने । अभिनयको कखरासमेत नजान्दै/नसिक्दै मौलिक तवरले चरित्रहरूको पहिचान र निर्माण गर्ने त्यही ठिटोले एक दशक नबित्दै उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड चुम्यो, फिल्म ‘साहिद’ बाट । अब त भन्नु परोइन कि, उनी अरू कोही नभएर राजकुमार राव थिए । यस्तो ‘लक्की’ अभिनेता जसले फ्यान र फिल्म समीक्षक दुवैको मन जितेका छन् । बिल्कुलै विरानो संसार बलिउडमा लोभलाग्दो सफलता चुमेका छन्, सिर्फ आफ्नो अभिनय क्षमताको बलले । इन्डिपिडेन्ट सिनेमाको त पहिलो रोजाइ हुन् उनी । 
सन् २०१७ त बलिउड ‘राजकुमार रावमय’ भएको छ । भारतीय मिडियाले लेख्न थालिसकेका छन्, ‘इयर अफ राजकुमार राव’ । नलेख्नु कसरी, यो वर्ष उनका ६ फिल्म प्रदर्शन भए, ‘ट्रयाप्ड’, ‘राब्ता’, ‘सादी मे जरुर आना’, ‘बरेली की बर्फी’, ‘बहन होगी तेरी’ र ‘न्युटन’ । जसमध्ये ‘राब्ता’ र ‘बहन होगी तेरी’ मात्र असफल भए । बाँकी फिल्मले प्रशंसा पनि कमाए, पैसा पनि । हरेक फिल्ममा फरक चरित्र, जीवन्त अभिनय । स्टार स्क्रिन अवार्डमा न्युटनबाट ‘वेस्ट एक्टर क्रिटिक्स’ र बरेलीकी बर्फी बाट ‘वेस्ट सर्पोटिङ एक्टर’ को अवार्ड चुमिसकेका छन् । ‘न्युटन’ ले उनलाई फेरि राष्ट्रिय अवार्ड दिलायो भने अचम्म नमाने हुन्छ । यही वर्ष उनी अभिनीत वेब सिरिज ‘बोस : डेड/लाइभ’ पनि बाहिरियो । अमाजोन प्राइम निर्मित यस सिरिजमा उनले भारतीय स्वतन्त्रता आन्दोलनका नायक सुवासचन्द्र बोसको भूमिका निर्वाह गरेका छन् ।
त्यसो त बायोपिक फिल्म राजकुमारको चिनारी बनेको छ । ‘साहिद’ अगावै ‘चित्तागोङ’ मा भारतीय स्वतन्त्रताकै अर्का हस्ती लोकनाथ बलका रूपमा देखिएका थिए । मेहताकै ‘ओर्मेता’ मा पाकिस्तानी मूलका बेलायती आतंककारी अहमद ओमार शेख, जो यतिबेला जन्मकैदको सजाय भोगिरहेका छन्, बनेका छन् । यस फिल्मले टोरेन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा काफी तारिफ बटुलेको थियो । अर्को वर्ष ‘ओर्मेता’ सहित उनका सात फिल्म प्रदर्शन हुनेछन् । जसमा ऐश्वर्या राय बच्चनसँग स्क्रिन सेयर गरेको ‘फ्यान्नी खान’ पनि छ । यति धेरै फिल्म एकै वर्ष कसरी ? उनी भन्छन्, ‘सन् २०१५ मा जम्मा दुई फिल्म रिलिज भए, ‘डल्ली की डोली’ र ‘हमारी अधुरी कहानी’ । सन् २०१६ मा ‘अलीगढ’ मात्र । तर दुई वर्षअगाडिबाटै दुई साताको विश्राम लिँदै लगातार फिल्म खेलिरहेका थिएँ । संयोगले यही वर्ष रिलिज भए ।’ 
अहिले फिल्मको ओइरो छ तर यिनै अभिनेताले कुनै समय फिल्म पाउनका लागि कैयौं कास्टिङ डाइरेक्टरलाई हात मात्र जोडेनन्, खुट्टैमा ढोगे । अर्थात् उनको वर्तमान जति सुखद छ, विगत 
त्यत्तिकै पीडादायी ।
अभिनयको हुटहुटी बढेपछि कलेज अध्ययनपश्चात् दिल्लीको एउटा नाट्य समूहसँग आबद्ध भए । केही नाटकमा काम गरे तर अभिनयको भोक मरेन । बरु अझ च्याप्यो । त्यही भएर फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा भर्ना भए । निम्नमध्यमवर्गीय परिवारका राजकुमारले यहाँसम्म आइपुग्न नै अनेकौं सास्ती झेल्नुपरेको थियो । जबकि संघर्ष त सुरु पनि भएको थिए । सन् २००८ एफटीआईआई पास आउट भएर मुम्बई छिरे । त्यसपछि नै हो, संघर्षको पहाड छिचोल्नुपरेको । तर खाली पेटमा मुम्बईका गल्लीहरू फेरो लगाउँदाभन्दा अपहेलना र तिरस्कारको सिकार हुनुभन्दा मन बढी चराउँथ्यो । 
मुम्बईसँग राजकुमार अनि राजकुमारसँग मुम्बई पूरै अपरिचित । मुम्बई अनि नातावाद हावी भएको त्यहाँको फिल्मी दुनियाँ राजकुमारजस्ता ‘आउटसाइडर’ (बाहिरिया) सँग कठोरमात्र होइन, निर्दयी पनि भइदिन्छ । त्यसमाथि उनको ज्यान लुरे थियो, कद होचो, वर्ण कालो । अर्थात् फिल्मको ‘कथित’ हिरो हुन कहींकतैबाट नसुहाउने । फलस्वरूप सुरुआतताका जति कास्टिङ डाइरेक्टरलाई भेट्थे, सबैको सल्लाह एउटै हुन्थ्यो, फिल्मको भूत त्याग्न । कति त उनको बाक्लो आँखीभौं देखेर खिज्जाउँथे । राजकुमारले भनेका छन्, ‘तर मैले कहिल्यै हरेस खाइनँ किनभने यात्रा ज्यादै कष्टकर हुन्छ भन्ने थाहा हुँदाहुँदै म मुम्बई पसेको थिएँ ।’ सयौं अडिसन र अस्वीकृतिपछि यस्तो दिन पनि आयो, उनी प्रयोगात्मक फिल्ममा दिलचस्पी राख्ने निर्देशक दिवाकर वजर्नीको आँखामा परे । फिल्म थियो, ‘लभ सेक्स और धोका’ । उनको भूमिका सामान्य नै थियो, तर उनले चमत्कार गरिदिए । त्यसपछि कम्तीमा खाली बस्नु परेन । 
‘सैतान’, ‘रागिनी एमएमस २’, ‘ग्याङस् अफ वासिपुर २’ लगायतका फिल्ममा काम पाए तर खास चम्कन सकेका थिएनन् । बलिउडमा ‘मार्क’ हुन कुनै फिल्म सुपरहिट हुनैपर्छ । त्यही अभाव पूरा गरिदियो, ‘काई पो चे’ ले । अर्को वर्ष ‘साहिद’ आयो, त्यसपछि त सबथोक बदलियो । राजकुमार यादवबाट राजकुमार राव भए । दर्शक मात्र होइन, मिडियासमेत राजकुमार यादव र राजपाल यादवमा झुक्किएपछि उनी नाम परिवर्तन गर्न बाध्य भएका थिए । ‘काई पो चे’ प्रदर्शनपश्चात् उनी ध्याउनै परेन, फिल्ममेकर आफैं उनको ढोका ढक्ढकाउन थाले स्क्रिप्ट बोकेर । ‘सिटिलाइट्स’ र ‘क्वीन’ बाट फरक अभिनेताको छवि अझ बलियो भयो । ‘अलिगढ’ मा पत्रकारको भूमिकाबाट उस्तै प्रशंसा कमाए । 
हिटको कोणबाट हेर्दा राजकुमार स्टार भइसके । उनका ९० प्रतिशत फिल्मले व्यावसायिक रूपमा मुनाफा कमाएका छन् । त्यसैले उनलाई ‘स्टार’ को पगरी गुथाउन थालिएको तर यो विशेषणसँग उनी आफैंलाई भारी लाग्दो रहेछ । भन्छन्, ‘सुरुमा एक्टर नै हुँ । स्टार नै हो भने त्यसपछि मात्र ।’ उनका फिल्म बिग बजेटका हुन्नन् तर विषयवस्तु, प्रस्तुति, उनको अभिनय र सफलताचाहिँ साँच्चै ‘बिग’ हुन्छ । कलात्मक र विषयप्रधान फिल्मको रोजाइको केन्द्रमा छन् उनी । तर कथित मूलधार र ‘लार्जर देन लाइफ’ कोटीका सिनेमाबाट प्रस्ताव नआउने होइन । धेरै आउँछ । तर हत्तपत्त खेलिहाल्दैनन् । कमर्सियल सिनेमालाई निषेध गरेको हो त ? आउटलुक म्यागजिनसँग उनले भनेका छन्, ‘होइन । जुन विधाका फिल्म खेल्न पनि समस्या छैन । मात्र कथाले मलाई उत्साही बनाउनुपर्‍यो ।’ उनलाई राम्रोसँग थाहा छैन, उनले खेल्ने फिल्मबाट उत्साह हरायो भने दर्शकको उनीप्रतिकै उत्साह हराउँछ । किनभने न उनी अनुहारले चलेका हुन्, न उनी ‘स्टार किड्’ नै हुन् । लाग्छ, नसुरुद्धिन शाह, इरफान खानको ‘लिगेसी’ को नयाँ र बलियो हकदार हुन् उनी, नवाजद्दिन सिद्दिकीजस्तै ।
हप्तौं एउटै कोठामा थुनिन विवश पात्रको कथा भनिएको ‘ट्रयाप्ड’ मा राजकुमारको को–एक्टर मुसा मात्र थियो । ‘न्युटन’ मा इमानदार र आदर्शवादी निर्वाचन अधिकारी बने । ‘राब्ता’ मा ३ सय २४ वर्षको वृद्धको भूमिका निर्वाह गरे । ‘सादी मे जरुर आना’ मा अफिस ब्याई । सबै भूमिका भिन्न तर सधैं विश्वसनीय । यसको राज ? उनकै शब्दमा, उनी चरित्रलाई निर्वाह मात्र गर्दैनन्, आत्मसात गर्छन्, जिउने प्रयास गर्छन । त्यसो नहुँदो हो त, हरेक पात्र पर्दामा किन जीवन्त लाग्थ्यो होला र ? 
(एजेन्सीको सहयोगमा)

प्रकाशित : पुस १, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?