कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोहोरो संस्कृतिको चपेटा

प्रवास
हाम्रो बाटोका बारेमा कुनै पनि जानकारी नभएका हाम्रा सन्तानका रोजाइ के हुन सक्थे वा तिनका कठिनाइ के हुन् भन्नेबारेमा हामीले न सोचेका हुन्छौं न त सोच्न नै सक्छौं ।
लेखनाथ भण्डारी

काठमाडौँ — बसाइँ–सराइ सामान्यतया मानव सभ्यता र विकासको पहिलो प्रस्थानविन्दु हो । एकै ठाउँमा बसेर मानव जातिले अहिलेसम्म आर्जन गरेको ज्ञान र विकास सम्भव थियो कि थिएन भनेर हामी तर्क गर्न सक्छौं । तर, त्यो अनुमानभन्दा बाहिरको विषय हो ।

दोहोरो संस्कृतिको चपेटा

सभ्यता र विकासको क्रममा मानव जाति एक ठाउँबाट अर्को ठाउँमा पुग्दा ऊसँग नचाहेर पनि जाने भनेको संस्कृति नै हो । बसाइँ–सराइका लागि हामीले बोकेका भारीका भारी अनेकौं भौतिक सामग्रीहरूका पोकाहरूमा यो संस्कृतिको कुनै छुट्टै पोको भने हामीसँग हुँदैन । तर संस्कृतिका पाटोसँग जोडिएका जीवन पद्धतिका अनेक विश्वासहरू हामीले हाम्रा मन मस्तिष्कमा भारीका भारी लिएर एक ठाउँबाट अर्को ठाउँमा गएका हुन्छौँ । मन मस्तिष्कमा बोकिएका ती भारी नै अन्य सामग्रीभन्दा गह्रौं र जीवनयापनका दीर्घकालीन माध्यम पनि बन्छन् । नयाँ ठाउँमा पुगेर रमाउने अनेक पक्षहरूको तुलनामा हामीलाई आफूसँग गएका सांस्कृतिक विश्वासले मानसिक शान्ति र जीवन निर्वाहमा केही बढी ऊर्जा दिइरहेको हुन्छ ।

मानव जातिको यो सभ्यता र विकासको क्रममा हुने बसाइँ–सराइ वा स्थानान्तरण अन्तरदेशीय मात्र नभएर धेरै प्रकारको पनि हुन सक्छ । आफ्नै जन्म देशको एक गाउँबाट अर्को कुनै गाउँ वा देश महादेशका बीच नै सही तर बसाइँ–सराइपछि मानव जातिले भोग्ने अनुभूतिको फरक उन्नाइस–बीस मात्र हो । यो समान अनुभूति नेपालीका लागि मात्र होइन युरोपेली, अमेरिकी, अफ्रिकी वा अस्ट्रेलियाली सबैका लागि उस्तै हो ।


बसाइँ–सराइमा बालबालिकाको रोजाइ

रोजेर नै होस् वा अन्य स्वार्थ र बाध्यताले बाँधिएर देश छोडेर परदेश पुगेपछि सबैलाई धेरै प्रकारका अप्ठयाराहरू हुने नै भए । रोजाइ होस् वा बाध्यता नै सही, हामी अभिभावक त्यस्ता अप्ठयाराहरूसँग भिड्ने अठोट गरेरै त्यो चुनौतीको बाटो हिँडेका हुन्छौँ । तर हाम्रो बाटोका बारेमा कुनै पनि जानकारी नै नभएका हामीसँगै देश छोडेर आएका हुन् वा परदेशमै आएर जन्मेका हाम्रा सन्तानहरू, जसका रोजाइ के हुन सक्थे वा तिनका कठिनाइ के हुन् भन्नेबारेमा हामीले न सोचेका हुन्छौं न त सोच्न नै सक्छौं । अझ साँच्चै भनौं, हामी त्यसबारे सोच्नुपर्ने नै ठान्दैनौं । किनकि, हाम्रो रोजाइ, स्वार्थ वा बाध्यतामा हामीले आफ्ना सन्तानको सुन्दर भविष्य र सुखसमेत जोडेर आफूलाई सान्त्वना दिइरहेका हुन्छौँ । उनीहरूको अवस्था यस्तै हो— बसाइँ सर्दा हामीले मन परेर छोड्न नसकेर पोकोमा बोकेका सामानहरूजस्तै ।

अन्तरदेशीय होस् वा बाह्य स्थानान्तरण बालबालिकाहरूमा पर्ने प्रभाव ठूलो र दीर्घकालीन हुन्छ । उदाहरणका लागि जब हामी हाम्रो व्यावसायिक वा शैक्षिक उन्नतिका लागि एक ठाउँबाट अर्को ठाउँमा सर्छौं, त्यो बेला बालबालिकाको जन्मथलोको माटो ढुङ्गाको त हामीलाई के अर्थ लाग्छ र ? हामी तिनका साथी–सङ्गी वा स्कुलका शिक्षकहरूसँगको चिनजान वा मित्रता र भावनात्मक लगाव पनि महत्त्वपूर्ण हुन्छ भनेर ख्याल गर्न सक्दैनौं । तर आफ्नो मूलथलोमा खेल्ने ढुङ्गा–माटो, बोटरिुवा, चराचुरुंगी र पशुहरूसँग पनि उनीहरूको मित्रता र मोह हाम्रो अनुमानभन्दा गाढा हुन्छ ।

पंक्तिकारको अनुभव छ— अमेरिका आएपछि हामी आर्लिङ्टनमा लामो समयसम्म बस्यौं । ठूली छोरी सुलेखा सानै थिइन् । हामीले आर्लिङ्टनबाट अलिक बाहिर सर्ने कुरा गर्दा उनले धेरैपटक भनिन्, ‘म नेपालमा पाटन अस्पतालमा जन्में । पहिले हामी कलंकीमा बस्यौं । म सानै हुँदा अर्थात् स्कुल जान सुरु गर्नेबित्तिकै फेरि कीर्तिपुर सर्‍यौं । कीर्तिपुरबाट यहाँ आयौं । अब फेरि कहाँ जाने ? मेरो जन्मस्थान कहाँ हो ? मेरो बाल्यकाल कहाँ हुर्कियो ? भोलि मैले के भन्ने ।’ सुलेखा अलिक ठूली भएर कुरा बुझ्न थालेपछि तीन वर्षपहिले हामी आर्लिङ्टनबाट करिब ३३ माइल पश्चिम गेन्सभिल सर्ने भयौं । त्यसबेला पनि सानी छोरी अभिलेखाले उनले आफू पढ्दै गरेको स्कुल, साथी र शिक्षकहरू, घरनजिकैको पार्क आदिको मायाका बारेमा मात्र कुरा गरिनन्, उनलाई त्यो ठाउँ छोड्न मनै थिएन ।

हामी आर्लिङ्टनमा हुँदा अभिलेखाले घरको बरन्डामा आउने भँगेरालाई कहिलेकाहीं चारो र पानी दिने गर्थिन् । तिनकोसमेत उनले चिन्ता गरेपछि हामीले बरन्डामा ती चरालाई अलिक लामो समयसम्म पुग्छ भनेर अलि धेरै चारो र पानी राखिदियौं । र, भन्यौं यिनीहरू पनि बिस्तारै हामी गएकै ठाउँमा आउँछन् । मलाई लाग्छ, सुन्दा सामान्य वा स्वाभाविक बाल सुलभ लाग्ने यी विषय बालबालिकाहरूका लागि ठूला सबाल हुन् ।


दुई पाइलापछाडिको अपेक्षा

आधुनिक सभ्यता र विकासको गन्ध चाख्न थालेको जुनसुकै भूगोल वा संस्कृतिको आजको कुनै पनि युवा/प्रौढले आफ्नो मौलिक संस्कृतिभन्दा आफूलाई एक पाइला अघि सारिसकेको हुन्छ । अवसर होस् वा चुनौती उसले बसाइँ–सराइका लागि पाइला उचालिसकेको हुन्छ । उदाहरण हाम्रो नै दिन सकिन्छ— अमेरिका वा युरोप बासमा रहेका हामी नेपाली क्रमश: नेपालमा हुँदा पनि आफ्ना परम्परागत धर्म संस्कृतिअनुसारका सबै सामाजिक मान्यता अपनाउनुको अप्ठयारोलाई समयानुकूल सुधार गर्दै जानुपर्ने वकालत गरिरहेका हुन्छौं । खास केही चाडबाडबाहेक हाम्रा हजुरबा–आमा वा बुबाआमाहरूले मनाउने धेरै चाडबाड र तिथि–मिति हाम्रा लागि रुचिकर छैनन् । औंसी, पूर्णिमा वा एकादशी, संक्रान्ति होस् वा मसान्त, दक्षिणा होस् वा फूलप्रसादीका पछि को लाग्छ र अब ? यी सामान्य उदाहरण हुन् । तुलसीको मठ, वरपीपल, बेल वा धुपीको पात हामीले वास्ता नगरेको धेरै भयो । जातजाति वा समुदायअनुसारका अलगअलग प्रचलन र पहिचान छन् । मेरा लागि काँधमा जनै, बिहान–बेलुकाको फूलपाती चन्दनसहितको पूजा आराधना पनि अब थोत्रा–पुराना भए । दसैँ–तिहारका टीका फूलपाती, लामालामा सार्वजनिक बिदा आदिको व्यावहारिकता र विज्ञानका बारेमा प्रश्न उठाएको धेरै भयो हामीले । थ्याङ्क्स गिभिङमा टर्की वा बिफ र जर्कीजस्ता मासुजन्य पदार्थमा पशु हिंसा नदेखेका हामी दसैंमा काटिने खसी–बोकाको आत्माको शान्तिको कामना गर्दै अहिंसाको वकालत गर्दै छौं अब । बलि चढाउने होस् वा अन्य प्रकारका पशुमाथिको हिंसा रोकिन सके राम्रो । तर त्यो हिन्दु संस्कृतिका लागि मात्र आलोचनाको विषय बनेको छ आजकल किन ? नेपालमै अर्थात् मूलथलोमा नै विकसित हाम्रो यो छलाङ प्रवासको बासपछि अरू एक पाइला अघि सर्नु स्वाभाविक होइन र ? तर बालबालिकाहरूका लागि हाम्रो अपेक्षा के हुन्छ त ?

सानी छोरी अभिलेखाको स्कुलबाट तीन वर्षपहिले एक दिन फोन आयो, ‘तिम्रो छोरीको निधारमा ठूलो रातो दाग छ अर्थात् कतै लडेर ठोकिएको हो कि के हो ? स्कुलमा त कतै लडेको छैन, उसले दुख्छ पनि भनेको छैन तर तिमीहरू आएर अस्पताल लानुपर्छ । अभिलेखालाई अहिले नर्सको कोठामा राखेको छ ।’ अभिभावक आत्तिनु स्वाभाविकै थियो । तत्काल के भएको सोचिहाल्न पनि सकिएन । तर एकै छिनमा सम्झना आयो— अघिल्लो दिन दसैंमा लगाएको टीकाको रङ्ग राम्रोसँग सफा भएनछ । कुरा बुझाइयो, ठीकै भयो । अहिले छोरीहरू निधारमा रङ्ग मिसाएको टीका लाउन मान्दैनन् । ‘किन यसो गर्नुपर्छ’ भन्छन् । तर क्रिसमस र थ्याङ्क्स गिभिङमा हामी नै अपेक्षाअनुसारका माग पूरा नगरिदिएर साथी–संगीसामु उनीहरूलाई खिन्न पारिदिन्छौं । अनि उता हामी आफूले नेपालमै छोडेका कतिपय सामाजिक सांस्कृतिक परम्पराहरू हाम्रा बालबालिकाले पालना नगरिदिए यो भूगोलमा हाम्रो पहिचान के रहला ? हाम्रो यो चिन्ता एक पाइला अगाडि बढेर दुई पाइला पछि सर्नु बराबर होइन र ?


सिक्ने कि सिकाउने ?

बालबालिकालाई सिकाउने हो कि तिनले आफंै सिक्छन् ? सिक्नु र सिकाउनुका बीचमा ठूलो अन्तर छैन तर समानता पनि छैन । हामी हाम्रा बालबालिकालाई उनीहरूले सिक्न सक्दैनन् वा जान्दैनन् भनेर सिकाउन खोज्छौं । तर उनीहरूलाई सिक्न भने दिँदैनौं । सिक्नु र सिकाउनुको फरक यति नै छ ।

एक दिन हामी ४–५ जना साथी सामान्य कुराकानीमा थियौं घरैमा । खेल्दाखेल्दै सानी छोरी एक्कासि रिसाएर ठूलो स्वरमा कराइन्, ‘ह्वाई आर यू टकिङ अबाउट मी’ (तिमीहरूले किन मेरोबारेमा कुरा गरेको) ? हामीले उसका कुरा गरेका त थियौं तर रिसाउनैपर्ने नराम्रो कुरा नाबालक छोरीको किन गर्नुपथ्र्यो र ? एकातिर कुनामा साथीहरूसँग खेल्दै गरे पनि उनीहरूले हाम्रा कुरा सुनिरहेका हुँदा रहेछन् । आफ्नै कुरा काटेको सुनेपछि छोरीले प्रश्न नगर्नु पनि कसरी ? यसैमा ठूली छोरीले पनि बल पुर्‍याइन्, ‘तपाईंहरू हामी बच्चाले केही बुझ्दैनौं वा सुन्दैनौं भनेर के–के कुरा गरिरहनुभएको हुन्छ हाम्रोबारेमा । त्यो हामी सबै सुनिरहेका हुन्छौं । ती सबै हाम्रा चासो वा प्राथामिकतामा पर्दैनन् । हामी मतलब पनि गर्दैनौं । तर हामीलाई त्यसले एक प्रकारको प्रभाव वा विषयहरूप्रतिको दृष्टिकोण निर्माणमा भने प्रभाव पार्छ नै ।’

मलाई लाग्यो— हामीले उनीहरूलाई सिकाउने कुराभन्दा पनि उनीहरूले हामीबाट सिक्ने कुरा महत्त्वपूर्ण र प्रभावकारी हुनेरहेछ । तिनका बाल मष्तिष्कमा ‘रोलमोडेल’ वा आइडल जे भनौं हामी अभिभावक नै होइनौं र ?

डा. शंकरप्रसाद उप्रेती नेपाली समाजका प्रतिष्ठित नागरिक हुन् । अढाई दशकपहिले व्यक्तिगत रूपमा १–२ पटक भेट्दा भनेका थिए— यथास्थितिमा कुनै प्रगति हुँदैन । फरक बाटो हिँड्न खोज्नु र जान्नुपर्छ । डाक्टर उप्रेतीकृत संस्मरण ‘जीवन एक सपना’ को पृष्ठ १४६ को मध्यतिर आफ्नो बुबासँगको संवादका सार यस्तो छ— बाल्यकालमा बुबासँग डर लाग्थ्यो । प्रौढ अवस्थामा बुबासँग डराइरहनुपर्ने कारण थिएन । उहाँलाई डर लाग्ने रहेछ, आफ्नै नाबालक छोरासँग । चिकित्सक पेसाका सम्मानित अग्रज डा. उप्रेतीका छोरा डाक्टर संजीव अहिले अंग्रेजी भाषाको प्राध्यापक मात्र होइनन् नेपाली साहित्यमा अब्बल दर्जाको लेखक पनि हुन् । डा. उप्रेती आफ्नै नाबालक छोरासँग किन डराउँथे त ? उनलाई डर लाग्नुको कारण थियो— नाबालक छोराले आफूबाट कुनै नराम्रो काम पो सिक्ने हो कि ? आफ्ना सन्तानलाई आफूले सिकाउँदाभन्दा आफूबाट उनीहरूले सिकेको कुराले महत्त्व राख्छ, डा. उप्रेतीको अनुभव हो यो ।

यी अध्ययन र अनुभवले भन्छ— हाम्रा बालबालिकाका लागि आफ्नो संस्कृतिअनुसार समाज र सामाजिक वातावरण पर्याप्त हुनुपर्छ । बालबालिकालाई दोहोरो सांस्कृतिक मारको चपेटाबाट जोगाउन उनीहरूलाई तत्कालीन सामाजिक वातावरणअनुसारका गतिविधिमा सहभागी हुन दिनु पहिलो प्राथमिकतामा पर्छ । तत्कालीन सामाजिक वातावरणबाहिरको आफ्नो मौलिक संस्कृतिका बारेमा बालबालिकाहरूलाई बुझाउने, पहिचानको पक्ष बोध गराउने तथा भिन्न संस्कृति किन र कसरी भन्ने बुझाएर त्यसमा गर्वबोध गराउनुपर्छ । तत्कालीन सामाजिक परिवेशअनुसारको संस्कृतिको निषेध गरेर घरभित्रको मौलिक सांस्कृतिक पहिचानको पक्षमा मात्र उनीहरूलाई सीमित गराउनु हुँदैन । तत्कालीन सामाजिक परिवेशअनुसारको संस्कृतिको निषेध गर्नाले उनीहरूमा मौलिक भनिएको संस्कृतिप्रति वितृष्णा र तत्कालीन सामाजिक संस्कृतिप्रति भने अलिक धेरै उत्सुकता बढाउँदै लान्छ । तसर्थ हाम्रा बालबालिकालाई दोहोरो संस्कृतिबाट दबाबमुक्त गर्न सामूहिक र संस्थागत प्रयास सुरु गरौं । बालबालिकाहरू व्यक्तिगत रूपमा वा आफ्नो घर परिवारभित्रको मात्र जातीय, धार्मिक वा अन्य कुनै सांस्कृतिक पहिचान रुचाउँदैनन् । उनीहरूको रोजाइ सामूहिक र सामाजिक हो ।

प्रकाशित : पुस ८, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?