कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवाहेत्तर सम्बन्ध छुटाउने अस्पताल !

काठमाडौँ — चीनमा नयाँ प्रकारको उद्योगको सुरुआत भएको छ, जसले श्रीमान्/श्रीमतीको आग्रहमा कुनै केटा/केटीसँग विवाहेत्तर सम्बन्ध (एक्स्ट्रा म्यारिटियल अफेयर) रहेका आफ्ना श्रीमान्/श्रीमतीलाई छुटाउन मद्दत गर्छ । यसरी अनैतिक सम्बन्ध छुटाउन श्रीमान् वा श्रीमतीले दसौं हजार अमेरिकी डलर तिर्ने गरेका छन् ।

विवाहेत्तर सम्बन्ध छुटाउने अस्पताल !

यसरी अस्पतालको साहयता लिन पुग्नेमा महिला/पुरुष दुवै भए पनि महिलाको संख्या निकै बढी छ । अस्पतालले श्रीमान् वा श्रीमतीको अफेयर छुटाउन मद्दत गर्नुका साथै सेवाग्राहीलाई पनि कसरी राम्रो श्रीमान्/श्रीमती बन्ने भनेर सिकाउँछन् ।

संघाईको चर्चित लभ अस्पतालमध्ये एक विकिङकी सह–संस्थापक मिङ लीका अनुसार उनी कहाँ सहायता माग्न आउने महिलाको संख्या धेरै छ । तसर्थ उनी त्यस्ताको श्रीमान्को ‘अफेयर’ मात्र छुटाउँदिनन्, श्रीमतीलाई पनि कसरी श्रीमान् रिझाउने भनेर सुझाव दिने गर्छिन् । उनका अनुसार अस्पतालमा श्रीमान्/श्रीमतीको अफेयर रहेको शंका गरेर वा यकिन गरेरै आउनेहरू हुन्छन् ।

‘धेरै महिला वा पुरुष आफ्नो लामो वैवाहिक सम्बन्धलाई डिभोर्स गरेर टुंग्याउनुभन्दा समझदारीबाट अगाडि बढाउने चाहनासहित आउँछन्,’ ली आफ्नो अस्पतालको विशेषता बताउँदै थप्छिन्, ‘हामी कहाँ उनीहरूले दिएको सूचनाअनुसार काम गर्ने विभिन्न तरिकाहरू छन् ।’

१७ वर्षदेखि ‘लभ अस्पताल’ सञ्चालन गरिरहेका लीको साझेदार सू सिनका अनुसार उनीहरूले लगभग दस लाख जतिलाई सेवा दिइसकेका छन् । ‘श्रीमान्/श्रीमतीले आफ्नो जीवनका धेरै रमाइला पलहरू हामीलाई सुनाउँछन् जसबाट हामीलाई उनीहरूको सम्बन्ध पुन: राम्रो बनाउन सकिन्छ भन्ने लाग्छ,’ आफ्नो काम गर्ने तरिका बताउँदै उनले भने, ‘उनीहरूले नै हामीलाई यस्ता गोप्य कुराहरू भन्छन् जुन हामी अफेयर छुटाउने हतियारका रूपमा प्रयोग गर्छौं ।’

समाज र परिवार दुवैका लागि नराम्रो विवाहेत्तर सम्बन्ध छुटाउन उनीहरूसँग ३३ तरिका छन् । उनले आफ्नो सफल तरिकाहरूमध्ये मुख्य चारका बारे बताउँदै भने, ‘हामी सबैभन्दा पहिला त प्रेमी/प्रेमिकालाई गएर अरू कसैसँग सम्बन्ध राख्न आग्रह गर्छौं, अफेयर गरिरहेकाहरूको हाकिमलाई भनेर उनीहरूको सरुवा गर्न लगाउँछौं, उनीहरूको साथी वा बाबु–आमालाई हस्तक्षेप गर्न भन्छौं, प्रेमी/प्रेमिकालाई उनीहरू सम्बन्धमा रहेको व्यक्तिको चरित्र निकै खराब रहेको र उसको परिवारमा भयानक वंशाणुगत रोग रहेको बताउँछौं ।’ यसका अलावा अन्य २९ तरिका पनि छन् । ‘सबै त कहाँ भन्न मिल्छ र मिडियालाई,’ उनले भने ।

चिनियाँ मिडियामा घुसखोरी र धम्कीलाई लिएर धेरै समाचार प्रकाशित र प्रसारण हुन्छन् । तर, लभ अस्पताल भने आफू कुनै पनि गैरकानुनी काममा संलग्न नभएको दाबी गर्छ ।

अर्को त्यस्तै ‘अफेयर’ छुटाउने कार्य गर्दै आएका डाई पेङ जुन भने अलिक पुरानो तरिकाले काम गर्छन् । उनी निजी गुप्तचर एजेन्सीका सञ्चालक हुन् । उनी आफ्ना सेवाग्राहीको श्रीमान् अफेयरमा रहेका प्रेमिकासँग आफ्नो एजेन्टहरूको हिमचिम बढाउँछन् र त्यसका प्रमाणहरू संकलन गरी श्रीमान्लाई दिन्छन् । उनको विचारमा आफ्नो प्रेमिकाको अन्यसँग पनि सम्बन्ध रहेको थाहा पाएपछि त्यस्ता श्रीमान् आफैं टाढा हुन्छन् र श्रीमतीसँग राम्रो सम्बन्ध बनाउँछन् ।

उनका अनुसार चीनमा धनी व्यक्तिको विवाहेत्तर सम्बन्ध हुनुलाई प्राकृतिक मानिन थालिएको छ । त्यसैले उनले आफूले दिने सेवा समाजमा सुधार ल्याउन महत्त्वपूर्ण रहेको दाबी गर्छन् ।

माओत्सेतुङले आफ्नो शासनकालमा विवाहेत्तर सम्बन्धलाई गैरकानुनी करार दिँदै विवाहपछि महिला अधिकार सुनिश्चित गर्न विवाह कानुन बनाएका थिए । तर, माओको मृत्युपछि जब चीनमा आर्थिक विकासको नयाँ युगको प्रारम्भ भयो तब धनीहरू पुन: पुरानो संस्कारमा फर्किए अनि विवाहेत्तर सम्बन्ध वृद्धि हुन थाल्यो ।

मिडियामा प्रकाशित औपचारिक सर्वेक्षणअनुसार सी चिन पिङको भ्रष्टाचारविरुद्धको योजनाअन्तर्गत कारबाहीमा परेका ९५ प्रतिशत अधिकारीको एक वा बढी रखैल थिए । तीन वर्षअघि ‘द पिपल्स डेली’ ले ‘व्यभिचारी नक्सा’ नै प्रकाशित गरेको थियो । जसमा व्यभिचारी बढी भएको स्थानहरू देखाइएको थियो ।

डाईका अनुसार धेरैजसो रखैल आर्थिक प्रलोभनका कारणले विवाहित व्यक्तिसँग सम्बन्ध बनाइरहेका हुन्छन् । त्यसैले ९० प्रतिशत समय त्यस्ता केटीहरू पैसाको प्रलोभन देखाउने जोसँग पनि सम्बन्ध राख्न तयार हुन्छन् । ‘हामी उनीहरूको त्यही कमजोरीको फाइदा उठाउँछौं र प्रमाणहरू संकलन गरेर दिन्छौं,’ उनले भने ।

विकिङका सञ्चालकहरूका अनुसार उनीहरूको व्यापार १७ वर्षमा धेरै बढेको छ । त्यसैले उनीहरू छिट्टै आफ्नो संस्थालाई सांघाईको स्टक बजारमा पनि सूचीकृत गर्ने सोचमा छन् । सामाजिक विषयका टिप्पणीकार झाङ लिजाको बुझाइमा चीनको सम्बन्धविच्छेद कानुनले पनि यसमा धेरै ठूलो भूमिका खेलेको छ । सन् २०११ मा आएको नयाँ कानुनअनुसार विवाह गर्नुपूर्व श्रीमान्ले कमाएको सम्पत्ति सम्बन्धविच्छेद हुँदा उसले श्रीमतीलाई बाँड्नु पर्दैन र प्राय:जसो समय अदालतले बच्चाहरूको जिम्मा पनि बुबालाई नै दिने गर्छ ।

‘सम्बन्धविच्छेद कानुन पुरुषलाई हँसाउन र महिलालाई रुवाउन बनाइएको छ,’ लिझाले भने, ‘यस्तै सम्बन्धविच्छेद गर्ने महिलालाई हेर्ने दृष्टिकोण पनि समाजमा फरक छ ।’

विकिङका सञ्चालकले भने, ‘रखैल भनेको ट्युमर हो । त्यसैले पहिला हामी ट्युमरको व्यवस्थापन गर्छौं । त्यसपछि कटुता पैदा भएको सम्बन्धलाई सुधार गर्न थाल्छौं ।’

(बीबीसीमा प्रकाशित फिचरको अनूदित अंश)

प्रकाशित : पुस १५, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?