कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात हातमा बैंक

यज्ञ बञ्जाडे

बैंकिङ कारोबारका लागि बैंकसम्म धाइरहनुपर्ने बाध्यता अब रहेन । ग्राहकले आफू रहेकै स्थानबाट आवश्यकताअनुसार बैकिङ कारोबार गर्न र जानकारी लिन सहजै सक्ने भए ।

हात हातमा बैंक

त्यति मात्र कहाँ हो र ? हत्केलाबाटै चेक बुक अर्डर गर्ने, निक्षेप तथा रकम स्थानान्तरण गर्नेलगायत अन्य थुप्रै सेवा लिन सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाले मोबाइल र इन्टरनेटमार्फत बैकिङ सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई यस्तो अवसर प्राप्त भएको हो । छोटो समयमा यस्ता सेवा ग्राहकमाझ निकै लोकप्रिय बनेका छन् । आधुनिक बैंकिङले सेवाग्राहीलाई कारोबारका लागि बैंकसम्म पुग्नुपर्ने, लामो समय लाइनमा विताउनु पर्नेलगायतका झन्झटबाट छुटकारा दिएको छ । यसले एकातिर सेवाग्राहीको खर्च र समय बचाएको छ भने अर्कातिर कागजविहीन कारोबार (पेपरलेस ट्रान्जेक्सन) बढाउँदै लगेको बैंकरले जनाएका छन् । 

आधुनिक प्रविधिको विस्तारसँगै अधिकांश मानिसको हात–हातमा मोबाइल सुविधा पुगेको छ । यही अवसरलाई सदुपयोग गर्दै यतिबेला बैंक तथा वित्तीय संस्थाले आक्रामक रूपमा मोबाइल र इन्टरनेट बैंकिङ सेवा विस्तार गरिरहेका छन् । परिणाम आधुनिक बैंकिङकै माध्यमबाट आफू रहेकै स्थानबाट मोबाइल, विजुली तथा खानेपानीलगायत धेरै प्रकारका बिल भुक्तानी गर्न सकिने भएको छ । ‘कामको व्यस्तताले गर्दा पहिले छोराछोरीको स्कुलको शुल्क तिर्न पनि भ्याइदैनथ्यो । अचेल शुल्क तिर्न बैंक गइरहनु पर्दैन । इन्टरनेटबाटै भुक्तानी गरिदिन्छु,’ एक निजी कलेजकी उप–प्राध्यापक सिता रायमाझीले भनिन् । आधुनिक बैंकिङ सुविधाले खानेपानी, बिजुली र टेलिफोनको बिल तिर्न पनि सजिलो भएको छ । पहिला सम्बन्धित कार्यालयमै जानुपर्दा एउटाको शुल्क तिर्नका लागि एक दिन लाग्ने गरेको बताउँदै उनले थपिन्, ‘बाटोको जाम, शुल्क तिर्न लाइनमा बस्नुपर्ने बाध्यता जस्ता धेरै अप्ठेराबाट छुटकारा पाइएको छ, अचेल ।’ 

आधुनिक बैंकिङ सुविधाले व्यस्त जीवनमा केही राहत दिएको व्यवसायी दिपक खरेलले बताए । विहान क्याम्पसमा अध्यापन र बाँकी समय किराना व्यवसायमा लागेका उनको दैनिकी व्यस्ततामै वित्छ । ‘अचेल मोबाइल र इन्टरनेटबाटै बैंकिङ कारोबार गर्न सकिने भएपछि बैंकसम्म धाउनु पर्ने टेन्सन हटेको छ,’ उनले भने, ‘एउटा एसएमएसबाट सजिलै बैंकिङ कारोबार गर्न सकिन्छ ।’ 

यही कारण पछिल्लो समयमा मोबाइल र इन्टरनेट बैंकिङमा ग्राहकको रुची बढ्दै गएको छ । न्यून लागतमा आफ्नो सुविधा अनुसार बैंकिङ कारोबार गर्न र आफ्नो खाताबारे जानकारी पाउन सकिने भएपछि उनीहरूको आकर्षण बढेको बैंकरहरूको भनाइ छ । छिटो, सजिलो र झण्झटपूर्ण भएकै कारण मोबाइल र इन्टरनेट बैकिङमा ग्राहकको रुची बढेको प्रभु बैंकका अल्टरनेट डेलिभरी च्यानल प्रमुख टंकनाथ निरौलाले बताए । ‘धेरै सजिलो छ । बैंकसम्म आउनु पर्दैन । घरमै बसिबसी इन्टरनेट र मोबाइलमार्फत धेरै काम गर्न सकिन्छ,’ उनले भने । सजिलो र धेरैको पहुँचमा भएकै कारण अहिले इन्टरनेट बैकिङको तुलनामा मोबाइल बैंकिङमा ग्राहकको रुची बढी छ । ‘सामान्यतया एक जना ग्राहकले इन्टरनेट सुविधा लिंदा १० जना ग्राहकले मोबाइल बैकिङ सुविधा लिएको देखिन्छ,’ निरौलाले भने । छिटो र सजिलोका साथै देश विदेशबाट पनि कारोबार गर्न सकिने भएकाले आधुनिक बैंकिङ (मोबाइल र इन्टरनेट) को विकास तथा विस्तार तिब्र रहेको एनएमबी बैंकका अपरेसन तथा सूचना प्रविधि प्रमुख रोशन रेग्मीले बताए । ‘व्यक्तिले मोबाइल बैंकिङ सेवा रोज्छन् भने कर्पोरेट हाउसहरूले इन्टरनेट बैकिङ,’ उनले भने । बढ्दो शहरीकरण र व्यस्त मानविय जीवनमा आधुनिक बैंकिङको महत्वपूर्ण भूमिका रहेको उनले जनाए । 

सामान्यतया बैंक तथा वित्तीय संस्थाको काम निक्षेप संकलन र ऋण प्रवाह गर्ने मात्र हो । तर, पछिल्ला वर्षहरूमा इ–बैंकिङमार्फत बैंक तथा वित्तीय संस्थाले धेरै प्रकारका सुविधा दिइरहेका छन् । इन्टरनेट र मोबाइल बैकिङमार्फत सपिङ मलमा सामान किन्न, टिकट बुकिङ गर्न, होटल रेस्टुरेन्ट खर्च तिर्ने लगायत विभिन्न किसिमका शुल्क भुक्तानी गर्न पनि सकिन्छ । ‘अहिले आफ्नो खाताको ब्यालेन्स चेक गर्न, कारोबारबारे जानकारी लिन, मोबाइल रिजार्च गर्न, एक स्थानबाट अर्को स्थानमा रकम ट्रान्सफर गर्नेलगायत धेरै प्रकारका भुक्तानीका लागि बैंकसम्म पुगिरहनुपर्ने बाध्यता छैन,’ सानिमा बैंकका सहायक महाप्रवन्धक बबिसिंह गडतौलाले भने । अहिले अधिकांश नेपालीमा मोबाइल सुविधा पुगेकाले बैंकले सबै ग्राहकलाई मोबाइल बैंकिङ सुविधा उपयोग गर्न आग्रह गर्दै आएको उनले जनाए । ‘मोबाइल बैकिङका लागि ग्राहकलाई प्रोत्साहन गरिरहेका छौं । हाल कुल ग्राहकको ९० प्रतिशत बढीले मोबाइल बैंकिङ सुविधा उपयोग गरिरहेका छन् ।’ मोबाइल र इन्टरनेट बैकिङ सेवामार्फत ग्राहकले फाइनान्सियल र नन फाइनान्सियल दुबै प्रकारका सुविधा लिइरहेको उनले बताए । 

प्रकाशित : माघ १४, २०७३ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?