कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिलुको दोस्रो इनिङ

गोजीमा जापानको पीआर राखेका तर नेपाल सरकारले जारी गरेको हरियो पासपोर्ट नत्यागेका बाग्लुङ गल्कोटका दिलु खत्री फेरि आफ्नो दोस्रो प्रोजेक्टका साथ काठमाडौंमा उत्रिएका छन् ।

दिलुको दोस्रो इनिङ

२२ वर्ष जापानमा बिताएका यी ४१ वर्षीयको दोस्रो इनिङका रूपमा नयाँ बानेश्वरबाट शंखमूल जाने सडकमा गिन्जा नामको इटरी हाउस सुरु भएको छ । यो रेस्टुरेन्ट, बार र फास्टफुड तीनवटै हो । खासमा गिन्जा जापानको प्रख्यात व्यापारिक हब हो । राजधानी टोकियोमा पर्ने गिन्जा विश्वकै लक्जरी सपिङ सेन्टरहरू भएको ठाउँ पनि हो । यसै शब्दलाई दिलुले आफ्नो आउटलेटको नाममा उतारेका हुन् । कारण के हो उनै जानुन् । 

१२ वर्षअघि कान्तिपथमा राज रेस्टुरेन्ट सञ्चालन गर्दा १ करोड लगानी डुबाइसकेका दिलुले गिन्जामा करिब २ करोड रुपैयाँ लगानी भइसकेको सुनाए । यसमा उनले जापानमा सिकेको हस्पिटालिटीलाई उतार्ने छन् । यो आउटलेटमा दिलु र उनका काभ्रेली साथी भुवन अधिकारीको संयुक्त लगानी हो । अधिकारी पनि दुई दशकदेखि जापानमै रेस्टुरेन्ट पेसामा आबद्ध छन् । 

२२ वर्षअघि बाग्लुङबाट एसएलसी सकेर रोजगारीका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका यी उद्यमीले त्यहाँ तल्लो तहबाट होटलमा जागिर थाले । ११ वर्षपछि भारतीय रेसिपीहरूमा पारंगत भएपछि त्यतैबाट हानिए जापान । अहिले जापानको राजधानी टोकियो, चिवाकेन र इभाराकीमा आफ्नो ७ वटा रेस्टुरेन्ट भएको उनले सुनाए । ‘त्यहाँ राजा नाममा इन्डियन रेसिपीहरू राखेर मैले सात वटा रेस्टुरेन्ट चलाइरहेको छु,’ नेपाली गीत/संगीतका म्युजिक भिडियोमा पनि आफूलाई मोडलका रूपमा उतारेका दिलुले सुनाए । ‘अब चैं नेपालमै केही उद्यम गरौं भनेर यता फर्किएको हुँ,’ एसएलसीपछि अध्ययनलाई निरन्तरता नदिएका उनले भने । 
काठमाडौंको दोस्रो प्रोजेक्ट मज्जाले चल्नेमा उनी ढुक्क छन् । दुई तले आउटलेटलाई उनले अलि अलि जापानी फास्टफुड शैलीमा ढालेका छन् । र, आम्दानी पनि राम्रै रहेको यिनले बताए । ‘१ लाख रुपैयाँसम्म कारोबार भयो,’ दिलुले भने, ‘जापानमा रहेका मेरा रेस्टुरेन्टले दिनको २/सवा २ लाखको कारोबार गर्छन् ।’ 

मेनुमा यिनले भारतीय खान्कीलाई पनि समेट्न खोजेका छन्– बिरयानी, तन्दुरी, पुलाउ, करी, पनिर आदि इत्यादि । वेस्टर्न र नेपाली रेसिपी पनि मेनुमा समेटिएको गिन्जाले सर्भिस चार्ज भने राखेको छैन । विदेशमा जस्तो सर्भिस दिलाउने उद्देश्यले यिनले यहाँ वेटरहरूलाई युनिफर्ममा एकरूपता दिएका छन् । ‘यो मेरो सानो योजना होइन, यसलाई काठमाडौंबाट पोखरा हँुदै धेरै स्थानमा विस्तार गर्ने सोच रहेको छ,’ हाल शंखमूलमै घर बनाइसकेका दिलुले भने । जापानमा ३९ जना नेपालीलाई रोजगारी दिएका उनले यहाँको आउटलेटमा जापानी खानेकुरा बनाउन जान्ने सेफ पनि ल्याउने योजना रहेको सुनाए । 

प्रकाशित : माघ २३, २०७३ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?