हरियो पात

कान्तिपर संवाददाता

देशी घिउ, कालीमर्चा, दालचिनी, तेजपत्ता, धनियाँ, अदुवा, जाइफल, पुदिनालगायतका मरमसला राखेर चामलमा बनाइने बिरयानीमा कत्तिको रुचि राख्नुहुन्छ?

मुखै रसाउँछ भने नारायणहिटी दरबारको उत्तर ढोकातिर पुग्दा ठीक होला। त्यहाँ नेवारी शैलीमा माटोको हाँडीमा बिरयानी पाक्छ। बिरयानीलाई मेन कोर्समै राखेको आउटलेटको नाम हो, ग्रिन लिभ्स। 

एक तलामाथिको आउटलेटमा पाक्ने हाँडी बिरयानी खाँदा कस्तो लाग्छ? फेसबुक पेजमा गएर निष्फिक्री कमेन्ट लेखिदिए हुन्छ। 
यहाँको बिरयानी हैदराबाद, लखनउ सम्झाउने खालको नहोला भलै। यो राइस मिक्स डिस तपाईंलाई पुलाउजस्तो पनि लाग्ला। तर भातकै परिकार हो। यस्तो रेसिपी भारतका कतिपय राज्यमा रसगुल्ला र पानजस्तै पपुलर छ। तपार्इंलाई थाहै छ, बिरयानीको उत्पत्ति भारतीय राजघरानाका किचेनबाट भएको मानिन्छ। 

अब कुरा गरौं ग्रिन लिभ्सको। खासमा मजदुरहरूको रेस्टुरेन्ट हो। पछिल्ला वर्ष निकै चलेको नक्सालको तबेला रेस्टुरेन्ट तीन मालिकबीचको विवादले बन्द भयो। त्यसपछि त्यहींकै ६ कर्मचारी मिलेर ग्रिन लिभ्स सुरु गरे। 
१ करोड २० लाख हाराहारी लगानी अनुमान गरिएकामा झन्डै २ करोड नै पुग्यो। शानदार छ रेस्टुरेन्ट। रेस्टुरेन्ट त तयार भयो, तर सुरुमै गर्नुपर्ने एउटा कामचाहिँ छुटेको रहेछ। न्वारन अर्थात् नामकरण। ६ जना एक ठाउँ बसेर २ पाना खेर फाले। अझै फुरेन। 
फेरि एक दिन सबै जना बसे नाम जुराउन। ठाउँ थियो, लाजिम्पाट उत्तर ढोका। सडकपारि नारायणहिटी दरबार, वारि थियो रेस्टुरेन्ट। ६ जनामध्ये एकले नारायणहिटी परिसरभित्रको बाँसको झ्याङतिर हात सोझ्याउँदै फ्याट्ट भने, ‘ग्रिन लिभ्स ∕’ ओके ∕ डन।
बाँकी ५ जना लगानीकर्ताले यही नाममा सहमति जनाउँदै खुसियाली साटासाट गरे। अनि कम्पनी रजिस्टारको कार्यालयमा दर्ज भयो, ग्रिन लिभ्स रेस्टुरेन्ट।


६ सञ्चालक मध्ये भक्तपुर गुन्डुका गणेश कार्कीसँग २८ वर्ष यसै क्षेत्रमा संलग्न भएको अनुभव छ। ट्रेनी ब्वाईबाट इन्ट्री गरेका कार्की यसका अध्यक्ष हुन्। १८ वर्षअघि दरबारमार्गमा उबेलाको 
नाङ्लो बेकरीमा छिरेका नुवाकोटे गजेन्द्र नेपाल यसका अर्का सञ्चालक हुन्। त्यस्तै १२ वर्षको अनुभव बटुलेका काठमाडौं टोखाका श्यामकृष्ण लामिछाने, २५ वर्ष हाराहारी भान्सा सम्हालेको अनुभव भएका मकवानपुरको चित्लाङका सेफ गणेश बलामी, चित्लाङकै रमेश बलामी (इन्डियन सेफ) र काभ्रेका प्रेम तामाङ (चाइनिज सेफ) हरियो पत्ताका बराबर साझेदार हुन्।

अहिले उनीहरूको एउटै ध्याउन्न छ, त्यो हो– ग्रिन लिभ्सलाई सबैको जिब्रोमा झुन्ड्याउने। यो फराकिलो र खुला छ। खानामा हलाल विधिलाई अपनाएको यसले फेमेलीलाई फोकस गरेको छ। अध्यक्ष कार्कीका अनुसार २ लाख ७० हजार मासिक घर बहालमात्रै तिर्ने ग्रिन लिभ्सले अहिले दैनिक १ लाख हाराहारीको सेल्स गर्छ। 

२ सय ५० जनाको अकुपेन्सी रहेको यहाँ सार्वजनिक बिदाका दिन ५ लाखसम्मको कारोबार भएको छ। बुधबार र शुक्रबार लाइभ म्युजिक, फराकिलो पार्किङ, बच्चाहरूका लागि फराकिलो ठाउँ, बार, चाइनिज, कन्टिनेन्टल र इन्डियन मेनु यसका विशेषता हुन्। फेमेली ग्यादरिङ गर्न चाहनेलाई यो शान्त र एकान्त पनि छ। 

प्रकाशित : चैत्र १५, २०७३ १४:००
प्रतिक्रिया
पठाउनुहोस्

श्रीमती र छोरामाथि खुकुरी प्रहार

नुवाकोट — विदुर नगरपालिका-६ चारघरे मान्द्रेढुङ्गाका यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । अत्यधिक मादक पदार्थ सेवनगरी मंगलबार बिहान यमलालले श्रीमती राममाया र छोरा राजुलाई अन्धाधुन्द खुकुरी प्रहार गर्दा दुबैको अवस्था गम्भीर भएको छ ।

खुकुरी प्रहारबाट ४४ वर्षका राममायाको टाउको र हातमा गहिरो चोट लाग्नुका साथै बाँया आँखा फुटेको छ । आमालाई बाबुले खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका २१ वर्षका छोरा राजुको पनि टाउको र घाँटीमा खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

'अत्याधिक मादक पदार्थ सेवन गरी मध्यरातमा घर पुगेका यमलालले राममायाको ज्यान लिने उद्देश्यले टाउको र घाँटीमा खुकुरी प्रहार गरेको देखियो ।' डिएसपी कँडेलले भने, 'छेक्न गएपछि छोरालाई पनि टाउको र घाँटीमा खुकरी प्रहार गरी गहिरो चोट लागेको छ, घटना ज्यान लिने उद्देश्यले भएको छ ।' यमलाललाई छिमेकीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । घाइतेको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ । रासस

प्रकाशित : चैत्र १५, २०७३ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्