हल्का र शीतल पहिरन

राजु चौधरी

उपत्यकामा गर्मी बढ्दो छ । यसले ‘समर वेयर’ को बजार पनि तात्दै गएको छ । हलुका र शीतल दिने लत्ताकपडा उपभोक्ताको छनोटमा छँदै छ, स्टाइलिस र आकर्षक उत्पादनहरूमा उनीहरूको रुचि पनि बढेको छ । हिजोआज गर्मी मौसमलाई फेसन सिजनको रूपमा पनि लिने चलन छ । सोहीअनुसार उपभोक्ताको रुचिलाई ध्यानमा राखेर व्यवसायीहरूले नयाँ–नयाँ डिजाइनका ‘समर वेयर’ का उत्पादनहरू बजारमा ल्याउने गरेका छन् ।


जमलस्थित साइज कलेक्सनका सिर्जना मगरका अनुसार समर सिजन भनेको फेसनेबलजस्तै भएको छ । ‘त्यसैले हलुका र शीतल प्रदान गर्ने कपडासँगै आकर्षक उत्पादन उपभोक्ताहरूको छनोटमा पर्ने गरेको छ,’ उनले भनिन्, ‘उपभोक्ताको रोजाइअनुसार नै कपडा आयात र बिक्री गर्दै आएका छौं ।’
समरमा टिसर्ट, सर्ट, हाफपेन्ट, आउटर, लेगिज, वानपिस खरिद गर्नेहरू बढी हुने उनले बताइन् । ‘दैनिक १२ देखि १५ पिस बिक्री हुन्छ । ग्राहकको चाप पनि दैनिक बढ्दै गएको छ,’ मगरले भनिन् । व्यवसायीका अनुसार ४ सय ७५ देखि ९ सय ५० रुपैयाँमा राम्रै टिसर्ट किन्न पाइन्छ । ७ सय ७५ रुपैयाँसम्ममा हाफपेन्ट, ४ सय ७५ देखि ९ सय ५० रुपैयाँमा आउटर किन्न सकिने उनीहरूको भनाइ छ ।
बढ्दो आधुनिकतासँगै उपभोक्ताहरू थरी–थरीका कपडाहरू फेर्ने चलन पनि बढ्दै छ । विभिन्न ब्रान्डका सोरुमहरू पनि सञ्चालनमा छन् । ब्रान्डेड कपडा रुचाउनेका लागि दरबारमार्ग उपयुक्त गन्तव्य हुन सक्छ । तर, त्यहाँ सपिङ गर्नेहरूमा उच्च वर्गका ग्राहकहरू बढी हुने गर्छन् ।
दरबारमार्गसँगै जमल, असन, भोटाहिटी, महाबौद्ध, न्युरोड, त्रिपुरेश्वर, बौद्ध, चाबहिललगायतका क्षेत्रमा पनि कपडाको व्यापार बढी हुन्छ । यी क्षेत्रमा बिक्रीमा राखिने कपडाहरू तुलनात्मक रूपमा केही सस्तो पर्ने व्यवसायीहरू बताउँछन् ।
‘असन, भोटाहिटी बिजी मार्टकै रूपमा स्थापित भएको छ,’ लक्ष्मण जिन्स सेन्टरका सञ्चालक लक्ष्मण कार्कीले भने, ‘अन्य क्षेत्रको तुलनामा मूल्य पनि सस्तो भएकाले उपभोक्ताको पहिलो रोजाइ यही क्षेत्र हो ।’ उनले समर सिजनका लागि पतलो जिन्स, गर्मीको ज्याकेट, टिसर्ट बिक्री बढेको बताए । ज्याकेट तातोचिसो, धूलोधूवाँ सबै छेक्छ, जसले गर्दा सर्टभन्दा ज्याकेटको माग अत्यधिक भएको उनले जनाए । ‘दैनिक १० देखि १५ पिससम्म बिक्री भइरहेको छ,’ उनले भने ।
यस क्षेत्रका अधिकांश व्यापारीले कपडामा छुट पनि दिएका छन् । छुट दिँदा ग्राहक अर्को वर्षका लागि भनेर किन्न आउने गरेको उनीहरू बताउँछन् । उनीहरूका अनुसार समर कपडामा १० देखि ३५ प्रतिशतसम्म छुट छ । ‘कपडा किन्न आउने ग्राहकहरू सुरुमै छुट सोध्छन् । छुट नदिँदा ग्राहक अन्य पसल जान बाध्य हुन्छ,’ भोटाहिटीका न्यू मालिका गुल्मेली इन्टरप्राइजेजका सञ्चालक सागर सुवेदीले भने, ‘छुटले गर्मीका कपडाको बिक्री उत्साहजनक छ । दैनिक औसतमा सय पिस बिक्री भएको छ ।’ गत वर्षको तुलनामा बिक्री बढेको उनले सुनाए । गर्मीका कपडाहरू होलसेल मूल्यमै बिक्री गरेकाले पनि सर्वसाधारणहरूले रुचाएको उनले बताए । व्यवसायीका अनुसार गर्मीका कपडा चैतदेखि असारसम्म बिक्री हुन्छ ।
पछिल्लो समय मलमा सपिङ गर्ने परिपाटी पनि फेसनको रूपमा विकास भएको छ । विभिन्न ब्रान्डका कपडा एउटै छानामुनि छान्न पाउँदा मलको विस्तार भएको हो । कम्प्लेक्स/मलमा हुने सिनेमा थिएटर, रेस्टुरेन्ट, बालबालिका खेल्ने ठाउँ, पार्किङलगायतले पनि सर्वसाधारण मलमा आकर्षित हुने गरेका छन् । उपत्यकामा मात्रै ३५ भन्दा बढी सपिङ मल रहेको जानकारहरू बताउँछन् । मलमा पनि विभिन्न छुट हुने भएकाले मल सर्वसाधारणको रोजाइमा पर्न थालेको हो ।
छुटले व्यापार बढाउन सहयोग पुगेको पिपल्स प्लाजास्थित बिफोर फेसनका सञ्चालक हरि ज्ञवालीले बताए । ‘कपडा किन्न आउने ग्राहकले छुटको पनि आशा गरेका हुन्छन्,’ उनले भने, ‘छुट दिँदा ग्राहकको आकर्षण पनि बढेकै छ ।’ भारत, चीन, थाइल्यान्डबाट नेपालमा कपडा बढी आयात हुने गरेको छ । लुगा भित्र्याउँदा उपभोक्ताको स्वास्थ्य र फेसनलाई पनि उत्तिकै ध्यान दिएको ज्ञवालीले बताए ।

जुत्ता/चप्पल
गर्मीमा प्रयोग हुने जुत्ता/चप्पलको माग पनि ह्वात्तै बढ्ने गर्छ । व्यवसायीका अनुसार गर्मीमा प्रयोग हुने क्लोज सुज, ओपन सुज र चप्पलको माग बढ्ने गरेको हो । ‘प्रतिदिन १५ हजारभन्दा बढीको लेडिज चप्प्ल बिक्री भएको छ,’ जमलस्थित फेमली सु मार्टका सञ्चालक मीनबहादुर बस्नेतले भने । इन्द्रचोकस्थित आईडी सुज सेन्टरका सञ्चालक रामचन्द्र ढकालले पनि गर्मीमा चप्पलको बिक्री बढेको बताए । ‘महिलाले लगाउने ओपन चप्पल ६ सय ५० देखि ७ सय ५० रुपैयाँमा पाइन्छ । हाल सस्तो भएकाले दैनिक २२ जोर बिक्री हुने गरेको छ,’ उनले भने ।
स्थानीय तहको निर्वाचनले भने व्यापारमा केही समस्या भएको उनले बताए । ‘सिजनमै चुनाव हुँदा अधिकांश उपभोक्ता जिल्लातिर गएका छन्,’ उनले भने, ‘जसले गर्दा सोचेअनुसार बिक्री हुन सकेको छैन ।’
गर्मीलाई लक्षित गरी भृकृटीमण्डपमा जुत्ता/चप्पल शिखर क्रेजी सेल मेलासमेत सुरु भएको छ । मेलामा ५ सय रुपैयाँमा दुई जोर लेडिज चप्पल किन्न पाइन्छ । ८ सय रुपैयाँमा केटाको दुई जोर चप्पल किन्न पाइने शिखर सुज इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए । ७ सय रुपैयाँमा दुई जोर कपडाको जुत्ता पाइने उनले बताए । ‘सेल मेलामा छुटैछुट दिएका छौं । ग्राहकले १ हजार रुपैयाँमा छानीछानी जुत्ता किन्न सक्नेछन्,’ उनले भने ।

आँखा बचाउन चस्मा
गर्मीसँगै धूलोले राजधानीका बासिन्दालाई समस्या छ । धूलोबाट आँखा बचाउनका लागि सबैको रोजाइ र आवश्यकता चस्मा बनेको छ । धेरै रङ र स्टाइलका चस्मा बजारका सबैखाले चस्मा पसलमा उपलब्ध छन् । सामान्यदेखि थ्रीडी इफेक्टसमेतका ग्लासेज अहिले बजारमा आइसकेका छन् । यही बेला युवायुवतीमा इस्टाइलिस बन्ने प्रतिस्पर्धा नै चल्छ, जसले गर्दा चस्माको माग बढेको छ ।
‘घामले चस्मा नलगाई बाहिर हिँड्न सकिँदैन,’ न्युरोडस्थित प्रसन्न सेन्टरमा भेटिएकी सरिता महर्जनले भनिन्, ‘चस्मा आवश्यकतासँगै बाध्यता नै भएको छ ।’ उनले रेबनको चस्मा एक हजार ५ सय रुपैयाँमा खरिद गरेको बताइन् । ‘रेबन चलेको ब्रान्ड नै हो । राम्रो पनि भएर किनेको हुँ,’ उनले भनिन् । ब्रान्डेड चस्मा मुख्यत: विशालबजार र दरबारमार्गमा पाइन्छ । व्यवसायीका अनुसार सन् प्रोटेक्सनका साथै आँखामा रिङ्कलबाट समेत चस्माले बचाउँछ ।
‘खाली आँखा हिँड्दा धूलो, धूवाँ र सूर्यको रापले निम्त्याउने समस्यालाई हटाउने विकल्प नै चस्मा हो,’ विशाल बजारका पसले दीपक लामाले भने । उनले मासिक १५ हजार रुपैयाँको बिक्री गरेको बताए । विशालबजारमै रहेको भेराइटी सेन्टरका सञ्चालक बिक्रम कार्कीको भनाइ पनि उस्तै छ । उपत्यकामा प्रदूषण बढेकाले चस्मा आवश्यकताको वस्तु बनेको बताए ।
‘ग्राहकहरू सुरक्षा, सोख र फेसनका लागि खरिद गर्न आउँछन्,’ उनले भने, ‘अहिले दैनिक औसतमा २० वटा बिक्री हुन्छ ।’ उनका अनुसार बजारमा सयदेखि २ लाख रुपैयाँसम्मका चस्मा उपलब्ध छ । तर, ग्राहकले एक हजारदेखि २५ सय रुपैयाँका चस्मा रुचाउँछन् । चस्मा फुट्ने/हराउने सम्भावना हुँदा मध्यम मूल्यको किन्नेहरू बढिरहेको व्यवसायीको भनाइ छ ।
२ लाख रुपैयाँमा चस्मा किन्ने ग्राहकहरू सीमित हुन्छन् । ‘ग्राहकको अडरअनुसार व्यवसायीले महँगो चस्मा आयात गरी बिक्री गर्छन्,’ उनले भने । रेबन, गुची र डिकोर ब्रान्डको माग भने अत्यधिक रहेको व्यवसायीहरू बताउँछन् । रेबन अमेरिकी ब्रान्ड हो । गुची र डिकोरलगायत चस्मा इटालेली ब्रान्ड हो । फुटपाथ पसल पनि चस्मा किनमेल गर्ने थलो बनेको छ । उक्त चस्माहरू प्राय: न्यून वर्गका ग्राहकहरूले खरिद गर्छन् ।
व्यवसायीका अनुसार यस्ता चस्मामा युभी प्रोटेक्सन हुँदैन । यी चस्मा प्रयोग गर्दा टाउको दुख्ने, आँखा बिगार्ने, रिंगटा लाग्नेलगायतका समस्या हुने गर्छ । कार्कीका अनुसार करिब ९० प्रतिशत चस्मा चीनबाट आयात हुन्छ । बाँकी १० प्रतिशत सिंगापुर, इटाली, अमेरिका, बैंककलगायत मुलुकबाट पनि आयात हुन्छ ।

घामबाट बच्न छाता
वर्षा र गर्मीसँगै छाताको व्यापार पनि सुरु हुन्छ । गर्मी मौसममा यसको माग झनै बढ्ने गरेको व्यवसायीहरू बताउँछन् । अरू बेला समान्य बिक्री हुने छाताबाट हाल व्यापारीले राम्रै फाइदा लिने गरेको पाइन्छ । ‘छाताको बिक्री हुने भनेकै वर्षा र गर्मीमा हो । चर्को घाम हुँदा छाताकै भर हुन्छ । बिक्री पनि बढ्छ,’ भोटाहिटीका व्यापारी निर्मला मगरले भनिन् । हाल दैनिक ८/१० वटा बिक्री भएको उनले बताइन् । उनी फुटपाथमा छाता बिक्री गर्छिन् । असनका व्यापारी सुजना श्रेष्ठले कोरियन र चाइनिज छाता बढी बिक्री हुने बताए । उनले दैनिक १५ वटा बिक्री गरेको बताए । चाइनिज छाताको मूल्य २ सय ५० देखि ५ सय ५० रुपैयाँमा खरिद गर्न सकिन्छ । छाताको मुख्य व्यापार जेठ, असार र साउनमा हुन्छ । फुटपाथ र फेन्सीका व्यापारीहरूले महाबौद्धबाट छाता खरिद गरी बिक्री गर्छन् ।
‘हाम्रा लागि यही सिजन दसैं हो । छाताको व्यापार उत्साहजनक रूपमा बढेको छ,’ न्युरोडगेटसँगै रहेको नाम उल्लेख गर्न नचाहने एक होलसेल व्यापारीले भने, ‘हाल दैनिक ५ सयभन्दा बढी बिक्री भएको छ ।’ ब्रान्डेड छाता भने दरबारमार्गमा पाइन्छ । उक्त क्षेत्रमा जारा, मासिमो, बोसिनो, वेनेटन, गाइरडानालगायत छाता बिक्री हुने गरेका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७४ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्

चिसो पेयको बजार

कृष्ण आचार्य

जडीबुटीकी नानुमैया कार्कीले घरको फ्रिज गर्मी मौसममा कम्तीमा आधा दर्जन प्रकारका हल्का पेय पदार्थ हुन्छन् ।


पाहुनाको सत्कारका लागि गर्मीमा पेयपदार्थ मुख्य हुन्छ । ‘जुस वा कोक/पेप्सी भने तुरुन्त दिन्छु,’ उनले भनिन्, ‘होइन भने कालो चिया बनाउँछु ।’ तर जाडो मौसममा भने पाहुनालाई स्वागत गर्ने सामग्री चिया बन्छ । तर वर्षको झन्डै ६ महिना उनले चिसो पेय पदार्थमै काम चलाउँछिन् । ‘चिया बनाउनभन्दा यही सजिलो । धेरैले रुचाउने पनि,’ उनले सुनाइन् । खासगरी सहरमा यो संस्कृति एउटा उदाहरण मात्रै हो । प्राय:को घरमा एउटा सानो भए पनि फ्रिज अनिवार्य भइसक्यो । त्यसभित्र चियो पेय पदार्थ त झनै अनिवार्य छ । ग्रामीण भेगमा समेत यही संस्कृति फैलिँदै छ । पेय पदार्थ संस्कृति अमेरिकी कम्पनी कोकाकोलाबाट भित्रिएको हो । अमेरिकन बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ४४ वर्षअघिबाट नेपालमा पेय पदार्थ आयात गर्न थालेको हो । करिब ३६ वर्षदेखि यही उत्पादन गरिरहेको छ । कोकाकोलाको आयातसँगै यसको ‘कल्चर’ नेपालमा थप विस्तार भएको हो । अहिले अर्को बहुराष्ट्रिय कम्पनी पेप्सीले पनि यही उत्पादन गरिरहेको छ । आयातित पेय पदार्थमा पनि प्रशस्त पाइन्छन् बजारमा । ‘अहिले यी सबैलाई भ्याइनभ्याई भइरहेको छ,’ नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेश श्रेष्ठ भन्छन्, ‘सानातिना घरेलु उत्पादनले समेत निकै बजार विस्तार गरिसकेको छ ।’ गर्मी मौसम लागेसँगै होलसेलदेखि खुद्रा पसलसम्म आफ्ना उत्पादनका विशेषता बुझाउने प्रतिस्पर्धादेखि उद्योगमा उत्पादनको चाप बढेको हो । पहिलेदेखि नै बजार विस्तार गरिरहेकाहरूलाई खासै समस्या छैन । तर नयाँ क्षेत्रमा बजार विस्तार गर्ने र आफ्ना उत्पादनलाई थप चिनाउने नयाँ उत्पादकहरूलाई भ्याइनभ्याई भएको हो । हल्का पेय पदार्थको व्यापार नगर्ने पसलहरू सायद कमै छन् । नेपाली उद्योग व्यवसायीहरूका अनुसार ठूलो परिमाणमा चियो पेय पदार्थ उत्पादन गर्ने कम्पनीको संख्या दर्जन पुग्न लागिसक्यो । स–सानो परिमाणमा उत्पादन गर्ने घरेलु कम्पनीहरू पनि बढ्दै छन् । तर कोल्ड ड्रिंक्सको मुख्य बजार हिस्सा कोकाकोला र पेप्सीले नै ओगटिरहेको छ । जुस उत्पादनकहरूको आफ्नो छुट्टै बजार छ । बाँकी भारतबाट आयात गरी बजारमा वितरण गर्छन् ।
कोकाकोला र पेप्सीकै स्वादको अनुसरण गर्न खोजेका स्वदेशी उत्पादक नै ४ वटा भइसके । यी उत्पादनले बढी मात्रामा कोकाकोला र पेप्सी नपुग्ने पिछडिएका क्षेत्रलाई आफ्नो बजार क्षेत्र बनाएका छन् । यसबाहेक हल्का पेय पदार्थकै रूपमा रहेको जुस उत्पादन गर्ने कम्पनीहरू बजार पनि फैलिँदो छ । ‘जुस त हिजोआज घरेलु उद्योगको रूपमा निकै विस्तार भइरहेको छ,’ संघका अध्यक्ष श्रेष्ठले भने । तर, आयात भने रोकिएको छैन । व्यवसायीहरूका अनुसार नेपाली बजारको करिब ३० प्रतिशत जुस आयातित हो । बाँकी यहींका उद्योगहरूले माग धानिरहेका छन् । चिसो पेय पदार्थको बजार खासगरी फागुनदेखि असोजसम्म हो । यही मौसममा क्षमताले भ्याएसम्म उत्पादकले उत्पादन बढाउने गरेका छन् । यो काम चैत र वैशाखमा बढी हुन्छ । नेपालमा वार्षिक झन्डै २० करोड लिटर पेय पदार्थ खपत हुन्छ । यसमा बढी बजार हिस्सा बहुराष्ट्रिय कम्पनीले ओगटेका छन् । ‘उत्पादनको झन्डै ६५ प्रतिशत जुस गर्मी मौसममा खपत हुन्छ,’ डाबर नेपालका बजार व्यवस्थापन प्रमुख अभय गोर्खाली भने, ‘कुनै–कुनै उत्पादन जाडो मौसममा समेत बिक्री हुन्छ ।’ डाबर नेपालले उत्पादन थालेको १७ वर्ष भयो । त्यसअघि फ्रुटी जुस उत्पादन हुने गरेको थियो । ‘हामीले सुरुमा रियल जुस मात्रै उत्पादन गर्‍यौं । फरक–फरक स्वादको मागसँगै रियल एक्टिभ र रियल ब्रस्टलगायत उत्पादन १७ थरीका बनाइसकेका छौं,’ उनले भने, ‘गर्मी मौसमका लागि ग्लुकोज पनि उत्पादन छ ।’ ग्लुकोज पनि गर्मीमै बढी बिक्री हुने गरेको उनले बताए । डाबर नेपालले ७५ वटै जिल्लामा आफ्नो बजार क्षेत्र विस्तार गरिसकेको छ । उत्पादन सुरु गरेको केही वर्षमै सबै जिल्लामा बजार विस्तार गरेको उनले बताए ।

बियर
गर्मीमा धेरैको रोजाइ हुन्छ बियर । हल्का पेय पदार्थपछि चिसो पेय पदार्थमा आउने अर्को नाम हो बियर । गर्मीमा बियर संस्कृति बढेसँगै नेपाली बजारमा फरक–फरक स्वादका उत्पादनहरू आइरहेका छन् । आधा दर्जन उद्योगहरू त नेपालमै खुलिसकेका छन् । ‘बियरसहित मदिराको कारोबार गर्ने व्यवसायीको संख्या नै ४५ हजार पुगिसक्यो,’ मदिरा व्यवसायी महासंघका महासचिव विष्णु खड्का भन्छन्, ‘५८ जिल्लामा त हामीले शाखा नै खोलिसक्यौं ।’ उनका अनुसार बियरको माग गर्मी मौसममा अत्यधिक छ । ‘गर्मी मौसममा ४ लाख केस बियर बिक्री हुने गरेको अनुमान गरेका छौं,’ उनले भने । एउटा केसमा १२ बोतल बियर हुन्छ । एक बोतलमा ६ सय ५० एमएल बियर हुन्छ । ‘जाडो मौसममा यसको ठीक ५० प्रतिशत कम अर्थात् दुई लाख केस बियर बिक्री हुने गरेको छ,’ उनले भने, ‘बियर मन पराउनेले जाडो गर्मी भन्दैनन् । बियर संस्कृतिको विकास बढिरहेको छ ।’
 यो संस्कृतिले उद्योग, रोजगार र व्यापारमा समेत योगदान पुर्‍याइरहेको छ । महासंघका अनुसार मदिराको व्यापार गर्ने व्यवसायबाट तीन लाखभन्दा बढीले रोजगारी पाएका छन् । आधा दर्जन उद्योग स्वदेशी छन् । ‘बियरको माग यहींका उद्योगले धानिरहेका छन्,’ महासचिव खड्काले भने, ‘आयातित बियर पनि छ । तर करिब १० प्रतिशत बजार रहेको अनुमान गरेका छौं ।’ 
सबै बियर कम्पनीहरूले सबै जिल्लालाई आफ्नो बजार क्षेत्र बनाएका छन् । स्वाद, अल्कोहलको मात्रालाई समेत फरक पारी प्रतिस्पर्धा गर्ने गरेका छन् । खासगरी स्ट्रङ र सफ्ट बियर उत्पादन गर्ने गरेका हुन् । गोर्खा ब्रुअरीका धेरै उत्पादन बजारमा छन् । चौधरी ग्रुपको नेपाल आइस अर्को उत्पादन हो ।  टेन्सवर्ग अर्को बजारमा स्थापित हुदै गइरहेको ब्रान्ड हो । यस्तै दुवै बियर लिएर यती बु्रअरीसमेत आएको छ । गत चैतबाट अर्ना र स्ट्रङ बियर बजारमा ल्याइएको ब्रान्ड म्यानेजर अनिशचन्द्र गौतमले बताए । ‘१०/२० वर्षअघिसम्म जाडो मौसममा बियरको खपत हुँदैनथियो,’ उनले भने, ‘तर अहिले परिस्थिति परिवर्तन भएको छ । जाडोमा समेत जान्छ । गर्मीमा बढी जाने हो ।’ यो संस्कृतिसँगै कोकाकोला, पेप्सी, जुस, बियरलगायत बिक्री गर्ने पसलहरू निकै बढिरहेका छन् । यी दुवै उत्पादनको पसल एकआपसमा अन्तरसम्बन्धित हुन्छ । यही कारोबार बढेसँगै ५२ सालबाट पेय पदार्थ तथा चुरोट उद्योग संघको स्थापना भएको हो । मदिरातर्फ मदिरा महासंघ नै खुलिसकेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७४ १९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्