कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसनमा करिअर

कान्तिपुर संवाददाता

काठमाडौं — करिअर बनाउने बाटाहरू थुप्रै छन् । तर, मनले खाएको काम गर्नुको आनन्द बेग्लै हुन्छ । त्यसैमा नै लुकेको हुन्छ सन्तुष्टि । यतिखेर सिर्जनशील पेसाप्रति युवापुस्ता आकर्षित हुँदै छन् । सम्झना परियार फेसन डिजाइनिङमा सानैदेखि रुचि राख्ने गर्थिन् । मन छुने पहिरनका स्केच उनी कापीमा कोर्ने गर्थिन् ।

फेसनमा करिअर

भविष्यमा फेसन डिजाइनर नै अध्ययन गर्नेबारे चाहिँ उनको खासै योजना थिएन । 

प्लस टु सकेपछि भने सम्झनाले फेसन डिजाइनिङ अध्ययनमा रुचि देखाइन् । कुन कलेज ? कहाँ पढ्ने थाहै थिएन । यसपछि उनी आफैंले खोजेर नमुना कलेज अफ फेसन टेक्नोलजीमा भर्ना भएको बताउँछिन् । सम्झना अहिले फेसन डिजाइनिङमा स्नातक गरेर दुई वर्षदेखि कलेजमा पढाउँदै छिन् । त्यसो त पछिल्लो समय फेसन उद्योग पनि फस्टाउँदै छ । शिक्षक पनि थोरै छन् । सम्झनाले यस क्षेत्रमा अवसरै अवसर देखेकी छन् । गोंगबुस्थित घरमै बसेर सम्झनाले अर्डरअनुसार पहिरन बनाउँछिन् भने कलेजमा फेसनसम्बन्धी सैद्धान्तिक शिक्षा दिने गर्छिन् । सिद्धान्त र अभ्यास दुवैको उत्तिकै महत्त्व हुने उनको दाबी छ ।

‘कलेज सकेपछि जागिरका लागि भौतारिनुपरेन,’ उनी भन्छिन्, ‘फेसन क्षेत्रमा लगानी गर्न सके अझै राम्रो गर्न सकिन्छ ।’

खोटाङका राजेन्द्र राईले पनि फेसन डिजाइनिङमा भर्खरै स्नातक गरेका छन् । उनले यो विषय धेरै पछि रोजेका हुन् । म्यानेजमेन्ट पढ्दापढ्दै छाडेर रोजगारीका लागि विदेश गएका राजेन्द्रको रुचि भने अलिक क्रिएटिभ काममा थियो । यसको महत्त्व उनले दक्षिण कोरियामा हुँदा झन् चाल पाए ।

‘सीप नभएर निकै दु:ख पाएको थिएँ,’ उनी सुनाउँछन्, ‘फेसन डिजाइनिङको युनिभर्सल स्कोप देखेपछि सिक्ने चाह राखेँ ।’ उनी अहिले स्नातकको फाइनल रिजल्टको पर्खाइमा छन् । तैपनि उनले यत्तिकै समय खेर फाल्नुपरेको भने छैन । घरमै आएका अर्डर पूरा गरेर आम्दानी सजिलै जुटाउँछन् उनी । क्रिएटिभ सेन्स नभए फेसन डिजाइनमा प्रभाव जमाउन नसकिने उनको बुझाइ छ । 

ललितपुरकी सानु नमाया फेसन डिजाइनलाई मल्टी क्रिएटिभ क्षेत्र मान्छिन् । यो क्षेत्रसितै फेसन पत्रकारिता, फेसन फोटोग्राफी, फेसन कम्प्युटर नलेजलगायत विभिन्न विधा पर्ने उनको बताइन् । स्नातक शिक्षामा यी सबैबारे थोरै–थोरै जानकारी लिनुपर्छ । स्पेसिफिक भएर पढ्ने अवसर चाहिँ स्नातकोत्तरमा मिल्छ, जुन नेपालमै छैन । ‘फेसन डिजाइनर विद्यार्थीहरूको चुनौती र विडम्बना नै यही हो,’ उनी भन्छिन् । 

डिजाइनर आस्तिक शेरचनले फेसनको सपना सानैदेखि देख्नुपर्छ भन्ने ठान्छन् । एकै छिनको रहरमा काम थालेर सफलता मुस्किलले पाइने उनको अनुभव छ । उनका अनुसार फेसन कला हो । कला देखाउन सौन्दर्य बुझ्ने खुबी चाहिन्छ । त्यसका लागि प्राविधिक अध्ययन अनिवार्य छ । अध्ययनशील र क्रिएटिभ हुन सके फेसन दुनियाँमा राम्रो भविष्य बनाउन सकिने आस्तिक बताउँछन् ।

अर्की डिजाइनर रोजिना श्रेष्ठ चाहिँ नाम र दाम कमाउन फेसन डिजाइनिङ गतिलो माध्यम बन्दै गएको सुनाउँछिन् । 

प्रकाशित : कार्तिक ८, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?