कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रज्ञाको बजेट १५ करोड

काठमाडौं — नेपाल प्रज्ञा प्रतिष्ठानको मंगलबार राजधानीमा सम्पन्न ३१औं प्राज्ञ सभाले चालू आर्थिक वर्षका लागि १५ करोड रुपैयाँ बजेट पारित गरेको छ ।

प्राज्ञ सभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनबहादुर शाहीले संस्कृति जर्गेना गर्न प्राज्ञिक वर्गको भूमिका अहम् हुने बताए । ‘यसलाई राजनीति गर्ने थलोको रूपमा विकास गर्नुहुन्न,’ प्रतिष्ठानको संरक्षकसमेत रहेका मन्त्री शाहीले भने । सरकारले सम्भाव्यता अध्ययन नगरी ललितकला, संगीत तथा नाटय, विज्ञान प्रविधि र नेपाल प्रज्ञा गरी चार संरचना बनाएकाले आर्थिक संकट बेहोर्नुपरेको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए । ‘सरकारको मात्र भर परेर हुन्न,’ उनले भने, ‘संगठनात्मक समझदारीमा अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिनुपर्छ ।’

प्रतिष्ठानले भारत, चीन र बंगलादेशका प्राज्ञिक निकायसँग समझदारी गरिसकेको र पाकिस्तान र श्रीलंकासँग छलफल भइरहेको पनि उनले सुनाए । साथै, प्रतिष्ठानको हिरक जयन्तीका अवसरमा राष्ट्रियस्तरको वाङ्मय सम्मेलन र पूर्वको विराटनगर र पश्चिमको नेपालगञ्जमा क्षेत्रीय सम्मेलन गर्ने तयारी गरिरहेको पनि उनले खुलाए ।

नेपालमा जैविक र भौगोलिक विविधता मात्र नभई संस्कृतिमा पनि विविधता भएको मुलुकको रूपमा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार बैरागी काइँलाले व्याख्या गरे । सार्क क्षेत्रमा नेपाली संस्कृतिको विस्तारका लागि अभियान चलाउने सांस्कृतिक र प्राज्ञिक संस्थालाई सरकारले टेवा दिनुपर्नेमा उनले जोड दिए । संगीत तथा नाटय प्रतिष्ठानका कुलपति सरुभक्तले संस्कृतिको क्षेत्रमा सरकारले विशेष रूपमा महत्त्व दिनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेलगायतले धारणा राखे । सभाले आर्थिक वर्ष २०७२/०७३ को बजेट अनुमोदन गर्नुका साथै चालू आर्थिक वर्ष २०७३/०७४ का लागि १५ करोड बजेट तथा कार्यक्रम पारित गरेको छ ।

त्यस्तै, प्रतिष्ठानको कर्मचारी तथा कलाकार नियमावली, आर्थिक प्रशासनसम्बन्धी नियमावलीमा पनि आवश्यक संशोधन गरेको छ । प्रतिष्ठानले प्राज्ञ सभा सदस्यमा साहित्यकार झमककुमारी घिमिरे र गोपाल पोखरेल नियुक्त गरेको छ । लामो समयदेखि रिक्त स्थानमा यी दुई स्रष्टा आएका हुन् ।

प्राज्ञ सभा सदस्य लोकबहादुर थापाले राजीनामा दिएर र पुष्कर थाम्सुङको निधन भएर दुई स्थान रिक्त हुन आएका थिए ।

प्रकाशित : माघ ५, २०७३ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?