कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेखनमा राजनीति : कति सफा, कति मैलो ?

लेखनमा कला भनेको के ? कति लिटर राजनीतिमा कति लिटर कला घोलेपछि त्यो साहित्य बन्छ ? अनि यो मात्रा ठिक्क भयो भनेर भनेर निर्धारण गर्नेचाहिं को ?
सावित्री गौतम

‘लेखनका नाममा ‘राजनीति’ गर्न पाइँदैन । साहित्यका नाममा नारा ‘ओकल्न’ पाइँदैन । लेखनमा ‘कला’ हुनुपर्छ ।’ साहित्यिक सम्मेलन वा सामाजिक सञ्जालमा ‘गन्यमान्य’ हरूका यस्ता अभिव्यक्ति सुने/पढेपिच्छे मेरो दिमागको ढोका गोपालप्रसाद रिमालको यही कालजयी गीतले ढकढक्याउँछ ।

लेखनमा राजनीति : कति सफा, कति मैलो ?

‘एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ...’

  ‘यो गीत थियो कि नारा ? यसले राजनीति गर्‍यो कि गरेन ? उनले यो गीत राजनीति नै गर्छु (आफ्नो दलविशेषको प्रचार गरौंला वा गीतकै बलमा कुनै सार्वजनिक लाभको पद धारण गर्न पाउँला भनेर) भनेर लेखे वा यो उनको चेतनाबोधको समयसापेक्ष र स्वाभाविक अभिव्यक्ति थियो ? अझ रिमाललाई ‘यसले राजनीति गर्नका लागि नारा लेखेको हो’ भनेर उनका समकालीन र अग्रजहरूले सार्वजनिक मञ्चहरूमै तेजोबध गरे वा गरेनन् होला ? विक्रम संवत् १९७७ मा ‘मकैको खेती’ लेखेका सुब्बा कृष्णलाल अधिकारीले पनि उक्त किताब राजनीति गर्नका लागि लेखे वा किताबले आफैं राजनीति गर्‍यो ? आफूले अनुवाद गरेका वामपन्थी राजनीतिका किताबहरूकै ‘बदौलत’ नेपालमा व्यवस्था परिवर्तनका आन्दोलन नै भए भन्ने लेखक खगेन्द्र संग्रौलाको भनाइलाई के मान्ने ? किताब अनुवाद गरिदिएर अरूलाई राजनीति गर्न सघाउने उनको लेखन आफैंमा राजनीति थियो कि थिएन ?

‘गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ’ भनेर देशभरि चेतनाका गीत गाउँदै घुम्ने राल्फा समूहका गीतले देशमा पञ्चायती व्यवस्था ढाल्न विशिष्ट योगदान दिए । ती गीतहरू के थिए ? चिलीका कवि पाब्लो नेरुदा राजनीतिमा जति सक्रिय थिए, कवितामा उत्पीडितहरूका मुद्दा उठाउनमा त्योभन्दा बढी मुखर थिए । उदाहरणका लागि स्पेनी गृहयुद्ध, गार्सिया लोर्काको हत्या र स्पेनी जनतालाई विषय बनाएर नेरुदाले लेखेको ‘स्पेन इन द हार्ट’ लाई नारासंग्रह भन्ने कि कवितासंग्रह ? अरबको तेल राजनीतिबारे प्रश्न उठाउने असरफ फयादका कविता नारा थिए कि कविता ? उनलाई सुनाइएको मृत्युदण्डको विरोधमा कविता लेखेकै भरमा मृत्युदण्ड नै रोक्न सफल संसारभरिका कविहरूले गरेको अभियान राजनीति थियो कि थिएन ? त्यति बेला फयादको पैरवी गरेर लेखिएका विश्वभरका कविका कविताहरू नारा थिए कि कविता ?

लेखनमा कला भनेको के ? कति लिटर राजनीतिमा कति लिटर कला घोलेपछि त्यो साहित्य बन्छ ? अनि यो मात्रा ठिक्क भयो भनेर भनेर निर्धारण गर्नेचाहिं को ? मेडिकल काउन्सिलजस्तै साहित्य काउन्सिल पनि हुन्छ कि जाँच लिने ? ‘उड्ने पन्छीजस्ता स्वतन्त्र हुन्छन्’ भनेर बारम्बार व्याख्या गरिइने कवि लेखकहरूको चारित्रिक विशेषता यो कला र राजनीतिको पारिभाषिक रस्सी तानातानमा कहाँनिर अटाउँछ ? अभिव्यक्तिका कुनै पनि शास्त्रीय परिधिमा कैद हुन नसक्ने साहित्यकारका अभिव्यक्तिलाई फेरि ‘लेखनका यति–यति शास्त्रीय मापदण्ड पालना गरेर लेखे मात्र तेरो यो चीज कला भयो नत्र राजनीति’ भनेर उनै शास्त्रीय मान्यता भत्काउँदै आएका अग्रजहरूले नै भन्नु त्यसो भए शास्त्रीयतातर्फकै ‘प्रतिगमन’ हो भनेर बुझ्न पाइने कि नपाइने ? कुनै पनि राजनीतिक दल, तिनका भ्रातृ वा पेसागत संगठनसँग कहिल्यै आवद्धता रहेन । तर लेखन र राजनीतिबारे यी सबै कुरा मेरो दिमागले मलाई सोध्नै छोड्दैन । 

मैले बुझेको राजनीति 
राजनीतिबारे पढिंदै सुनिंदै आएको अर्थ हो राज्यको नीति । राज्य चलाउने नीति भएकाले यसले सर्वश्रेष्ठ नीतिको दर्जा पाएको हुनुपर्छ । राज्यका बासिन्दाको जन्मदेखि जीवनयापन र मृत्युसम्मका सम्पूर्ण व्यवस्था, सुव्यवस्था र अव्यवस्था निर्धारण गर्ने प्रमुख प्रणाली नै यही भएकाले राजनीति सर्वश्रेष्ठ अर्थात् प्रमुख नीति हो । कुनै पनि राज्यको प्रचलित व्यवस्था आफैंमा राजनीति हो जसले राज्यका सम्पूर्ण संयन्त्र सञ्चालनका लागि नीति–नियमहरू बनाउँछ । मानवले जन्मनासाथ चुस्ने आमाको छातीदेखि मृत्युपश्चात् उसको दाहसंस्कारका लागि गरिने प्रबन्धसम्मका सम्पूर्ण प्रक्रिया राजनीति अर्थात् देशको शासन व्यवस्थाले निर्धारण गर्छ । कुनै विकट गाउँमा जन्मेको बच्चालाई पुग्ने गरी उसकी आमाको छातीबाट बग्ने दूधको धाराको अवस्था उसकी आमाको पोषणले निर्धारण गर्छ र यो पोषणको अवस्था निर्धारण गर्छ देशको राजनीतिले । त्यस्तै अरबमा जीवन गुमाएको कुनै कामदारको कुनै कामदारको दाहसंस्कार परिवारले समयमा गर्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरा उसको शव कति छिटो आइपुग्छ भन्ने कुरामा भर पर्छ जुन देशको राजनीतिले निर्धारण गर्छ । 

राजनीति कुनै न कुनै वाद (‘इज्म’) हो । कुनै सिद्धान्त वा विचारको पालना गरेर फरक–फरक व्यक्तिहरू फरक–फरक जनसमूहको नेतृत्व गर्छन् । फरक–फरक चुनाव चिन्ह बनाउँछन् (लोकतन्त्रमा) । शासनसत्ताको बागडोर सम्हाल्छन् र आफूले अँगालेको वादअनुसारको प्रणाली राज्यमा लागू गराउँछन् । जनसाधारणलाई त्यहीअनुसारको जीवनशैली पालना गर्न लगाउँछन् । राजनीति नामक सिक्काकै अर्को पाटो हो प्रचलित व्यवस्थामाथि निरन्तर प्रश्न गर्ने काम । विश्वको इतिहासको हरेक कालखण्डमा समयक्रमसँगै प्रचलित व्यवस्थाको विरोध वा सुधारका माग गरिंदै आएका छन् । लोकतान्त्रिक व्यवस्थामा अनिवार्य मानिने सत्तापक्ष र प्रतिपक्षको सर्वकालीन उपस्थितिले पनि ‘प्रश्न गर्ने काम, विरोध वा खबरदारी पनि राजनीतिकै अंग हो’ भन्ने सिद्धान्तलाई पुष्टि गर्छ । आधुनिक संसद्मा ‘प्रतिपक्ष’ उपाधिका साथ उभिएर प्रचलित व्यवस्था, शासक वा शासन प्रणालीमाथि निगरानी राख्ने, प्रश्न गर्ने र परिवर्तनका लागि आवाज उठाउने विपक्षी दलहरूको हैसियत सत्ता सञ्चालकहरूकै बराबरको हुनु पनि यसको थप प्रमाण हो । 

पुनर्जागरणका लागि राजनीति
युरोपको इतिहासको एउटा महत्त्वपूर्ण कालखण्ड हो पुनर्जागरण जो फ्रेन्च भाषामा ‘रेनेसा’ अर्थात् पुनर्जन्म नामले परिचित छ । समाजका स्थापित मान्यताहरूलाई चुनौती दिइनु वा ती मान्यताहरूमाथि प्रश्न गर्नु पनि राजनीति हो भन्ने कुराको सबैभन्दा दरिलो प्रमाण हो पुनर्जागरण । पुनर्जागरणकालीन युरोपमा सायदै कुनै यस्तो चेतनशील व्यक्ति बाँकी हुँदो हो जो राजनीति गर्नबाट अछुतो रहयो । स्थापित मध्ययुगीन मान्यता र संस्थाहरूप्रतिको घट्दो विश्वासले धर्म, संस्कृति, कला, साहित्य र वास्तुकला, दर्शन र संगीतजस्ता सबै क्षेत्रमा जागरण र चेतनाको लहर उठयो । यति बेला मान्छेहरूमा आएको व्यक्तिगत चेतनाको विकासले मध्ययुगीन सामन्ती व्यवस्थाको अन्त्य गर्‍यो । भौतिक विकासप्रति आकर्षण जगायो र युरोपलाई नयाँ–नयाँ आविष्कारतर्फ डोर्‍यायो । यही कालखण्डमा युरोपमा व्यापारको विकास भयो, प्रिन्टिङ प्रेस र सामुद्रिक कम्पासको खोज भयो । 

यो राजनीतिको बिँडो सबभन्दा पहिला कोपर्निकसले उठाए । दार्शनिक, वैज्ञानिक र गणितज्ञ र खगोलशास्त्रीसमेत रहेका कोपर्निकसले तत्कालीन ‘जियोसेन्ट्रिक’ भौगोलिक मान्यतालाई चुनौती दिए ‘सूर्यले पृथ्वीलाई होइन पृथ्वीले सूर्यलाई घुम्छ’ भनेर । ‘पृथ्वीले सूर्यलाई घुम्छ’ भनेर ठाउँ–ठाउँमा प्रवचन दिंदै हिंड्ने कोपर्निकसको बारम्बारको देशनिकालापछि अन्तत: हत्या नै भयो । कालान्तरमा टेलिस्कोपको आविष्कार गरेर ग्यालिलियोले कोपर्निकसको यही सिद्धान्तलाई प्रमाणित गरिदिए । यसर्थ प्रचलित स्थापित मान्यतामाथि प्रश्न गरेर उनीहरूले वैज्ञानिक भईकन पनि राजनीति गरे । त्यसैगरी मार्टिन लुथरले परम्परागत मध्ययुगीन चर्चका शिक्षा र अभ्यासलाई चुनौती दिए जसले सिंगो क्रिस्चियन समुदायलाई नै ‘क्याथोलिक’ र ‘प्रोटेस्टेन्ट’ गरी दुई धारमा विभाजित गरिदियो । सेक्सपियरले आफ्ना कृतिहरूमा समकालीन र नि:सर्त प्रेमकथाहरूको वर्णनमार्फत ग्रीको–रोमन शास्त्रीय कथाहरूमा जेलिएको युरोपलाई त्यो जालोबाट मुक्ति दिलाए । लियोनार्दो दा भिन्ची, माइकलेन्जेलो, मेकियाभेली, जोन मिल्टन, क्रिस्टोफर मार्लोजस्ता कवि, कलाकार र दार्शनिकको योगदान झिकिदिने हो भने सिंगो पुनर्जागरणको परिभाषा नै अपूरो हुन जान्छ ।

राजनीतिज्ञ लेखकहरू 
‘जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्दछन् कवि ।’ हाम्रै समाजमा प्रचलित यो उक्तिको पनि सीधा अर्थ हो रवि अर्थात् सूर्य नपुगेको ठाउँमा समेत कविहरू (उनीहरूको प्रसिद्धि वा विचार) पुगेका हुन्छन् । संसारका हरेका परिवर्तनका इतिहास अध्ययन गर्दा कवि लेखक र कलाकारको चेतना सधैं सर्वसाधारणको भन्दा सशक्त देखिन्छ । उनीहरूले सधैं प्रचलित व्यवस्थाका विसंगतिमाथि प्रश्न गरेका छन् र सर्वसाधारणको सुषुप्त चेतनालाई बिउँझाएका छन् । आजको जमानामा पनि शासकहरूले स्थापित गरेका मान्यतालाई चुनौती दिइराख्ने तस्लिमा नसरिन, अरुन्धती रोय, नोम चोम्स्की , रोमिला थापर, उदय प्रकाश वा अरू थुप्रै लेखक छन् जो लेखनमार्फत राजनीति गर्छन् । कुनै पनि ‘वाद’ भनेको पार्टीहरूका दस्तावेजबाहेक अरू पनि केही हो भन्ने उदाहरण नेपालकै लेखकहरूले प्रशस्तै प्रस्तुत गरेका छन् । ‘आइमाईले बोल्नु हुँदैन’ भन्ने सामाजिक मान्यतालाई व्यंग्य गरिएको कुन्ता शर्माको कविता ‘पोथी बास्नु हुँदैन’ र युगौंदेखि महिला भान्साको चौघेरामा कसरी जकडिएका छन् भन्ने वर्णन गरिएका सरिता तिवारीको कविता ‘दैनिकी’ पुरुषवादमाथिका सशक्त प्रहार हुन् ।

विजेताहरूको इतिहासको गाथाभित्र नभेटिएको आफ्नो पहिचानको निरन्तर खोजी गरिराख्ने, इतिहास निर्माणमा खर्च भएको आफ्नो समुदायको श्रमको लगातार हिसाब–किताब माग्ने राजन मुकारुङ, हाङयुग अज्ञात, भूपाल राई, चन्द्रवीर तुम्बापो, उपेन्द्र सुब्बा, राजु स्याङतानहरू एकातिर छन् । अर्कोतिर बेचबिखनको चपेटामा पर्ने तामाङ चेलीहरूको अभिशप्त कथालाई कवितामा उतार्ने बिना थिङजस्ता कवि छन् । उनीहरूको सबैको लेखन आफैंमा राजनीति हो । प्रचलित राज्य व्यवस्थामाथिको प्रश्न हो ।

त्योबाहेक लेखकले कुनै राजनीतिक दस्तावेजमा आधारित ‘वाद’ समातेर सक्रिय राजनीति गर्नै नपाउने भन्ने कुनै लिखित नियम–कानुन पनि छैन । लेखक आफैंमा सार्वभौम नागरिक हो र उसलाई पनि अरू नागरिकलाई झैं सक्रिय राजनीति गर्ने अधिकार अवश्य रहन्छ । बरु नेपालमा यस्ता राजनीतिज्ञ लेखक प्रशस्तै छन् । बीपी कोइराला, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, मञ्जुलजस्ता राजनीतिज्ञ/लेखकलाई लेखनमा उनीहरूले उठाएका मुद्दाको आधारमा पनि शुद्ध राजनीतिज्ञ मान्न सकिन्छ । कुनै समय कवि कुन्ता शर्मा आफैं सक्रिय राजनीतिमा थिइन् । आजको पुस्तामा आहूतिजस्ता सक्रिय राजनीतिज्ञ छन् जो ‘गहुँगोरो अफ्रिका’ वा ‘दलन’ जस्ता कृतिहरूका माध्यमले दलितहरूका पक्षमा लेखनमार्फत पनि राजनीति गर्छन् ।

लेखनमा यदि कसैले आफ्नो वैचारिक पक्षधरता स्पष्ट उल्लेख गर्छ भने त्यो उसको वैयक्तिक अधिकार र अभियक्ति स्वतन्त्रताको कुरा हो । जब मान्छेको चेतनाको स्तर बढ्दै जान्छ उसले त्यहीअनुसारको लेखन बनाउँदै लैजान्छ । कुनै कविको विचारको स्तर सधैं ‘गाई हाम्री माता हुन्— गोरु हाम्रा पिता हुन्’ भन्ने स्तरका कविता लेख्नेकै रहिरहनुपर्छ भनेर उसलाई कसैले बाध्य पार्न वा नियन्त्रण गर्न खोज्नु आफैंमा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।
राजनीतिकै बारेमा जर्मन साहित्यकार ब्रेक्तले भनेका छन्, ‘निरक्षरमध्येको सबैभन्दा निकृष्ट निरक्षर हो— राजनीतिक असाक्षर । ऊ सुन्दैन, बोल्दैन र राजनीतिक प्रदर्शनहरूमा कहिले भाग पनि लिंदैन । ऊ दालचामलको मूल्यबाट अनभिज्ञ रहन्छ, घरभाडाको, जुत्ता–चप्पलको, औषधिको र समग्रमा जीवनकै मूल्यबाट अनभिज्ञ रहन्छ किनकि यी सबैका मूल्य राजनीतिक निर्णयहरूले तय गर्छन् । उसको यही राजनीतिक अज्ञानका कारण नै सबैभन्दा खराब चोरहरू र बहुराष्ट्रिय कम्पनीको इसारामा नाच्ने भ्रष्ट राजनीतिज्ञहरूको उदय हुन्छ । र पनि मूर्खतापूर्ण गौरवका साथ छाती फुलाएर ऊ भनिनै रहन्छ— म राजनीतिलाई घृणा गर्छु ।’

'राजनीतिको वैकल्पिक प्रजाति ‘डर्टी पोलिटिक्स’
‘राजनीति डर्टी गेम’ हो भनेर कलेजअगाडिको चियापसलमा बसेर गफ ‘जोतिरहेको’ कुनै विद्यार्थीलाई थाहा नहुन पनि सक्छ— आज उसले पढिरहेको कलेज भएको ठाउँमा कुनै समय घना जंगल थियो । राजनीतिक व्यवस्था परिवर्तनका लागि उसका पितापुर्खाले लडेर, मरेर शिक्षा प्राप्त गर्ने हक शासकहरूको हातबाट खोसेर आफूमा ल्याए । राजनीति गरे, नारा लगाए र उनीहरूलाई शिक्षण संस्था खोल्न बाध्य पारे । कलेजमा छात्रवृत्ति पाएकाले शिक्षण शुल्क तिर्न नपरेको पैसालाई चियापसलमा धूवाँ बनाएर उडाइरहेको उसलाई यो पनि थाहा नहुन सक्छ उसले पाएको छात्रवृत्ति शिक्षा मन्त्रालयदेखि कलेज हुँदै ऊसम्म आइपुगेको छ जुन शिक्षा मन्त्रालयलाई राजनीतिले नै चलाउँछ । ‘लेखनमा राजनीति’ गरेकाहरूको कटाक्ष गर्दै तेजोबध गरेका ट्वीटले सय नाघेर ‘हन्ड्रेड आरटी क्लब’ को गर्विलो सदस्य बनेको कुनै ‘फुल टाइम’ लेखकलाई आज यो थाहा नहुन पनि सक्छ— कथंकदाचित भोलि मृगौला फेल वा क्यान्सरजस्ता खर्चिला बिमारले ग्रस्त बनेमा ‘जीवनभर लेखेर देश सेवा गरेका व्यक्तिलाई बचाऔं’ भन्दै उनै कटाक्ष पीडितहरू नाराले जलप गरिएका सयौं कविता लेखेर उसैका लागि राजनीति गर्नेछन्— सरकारलाई दबाब दिनका लागि जुन सरकार राजनीतिमार्फत नै चल्छ ।
‘एक जुगमा एक दिन एकचोटि आउँछ’ जस्ता जुरुक्कै उचाल्ने गीत लेख्ने गोपालप्रसाद रिमाल अन्तत: मानसिक असन्तुलनका कारण उठ्नै नसक्ने गरी अस्वस्थ भए । ‘मकैको खेती’ लेखेबापत सुब्बा कृष्णलाल जेल परे, यातना पाए र जेलभित्रै उनको चोला उठयो । तर आफ्ना कृतिमार्फत उनीहरूले गरेको राजनीति र त्यसबापत आएको व्यवस्था परिवर्तनको फाइदा सबैले उठाए । दुर्भाग्यवश, हाम्रो देशमा प्रकट रूपमा वा विचारमार्फत कहिले राजनीति गर्न नसक्ने, भित्रभित्रै अनेकखाले ‘राजनीतिक’ भने तिकडम गरिरहने, खुलेर व्यवस्थाको विरोध गर्न नसक्ने तर व्यवस्था परिवर्तनमार्फत आएको अनुकूलनको फाइदा उठाउन सधैं अग्रपंक्तिमा रहनेहरूको जमात इतिहासका हरेक कालखण्डमा रहयो । अफसोस ! ‘वाङमयिक योगदान पुर्‍याएबापत’ भन्दै चुनाव चिन्हका आधारमा प्रदान गरिने राजनीतिक नियुक्तिका लागि सधैं ‘ओपन’ रहने र विचारमार्फत लेखनमा राजनीति गर्नेहरूलाई सधैंभरि लज्जित गरिरहने प्रवृत्तिलाई सुशोभित गर्न ‘डर्टी पोलिटिक्स’ बाहेक अर्को नाम म फेलै पार्दिनँ ।

फ्रान्सेली प्रगतिशीलता, जर्मन पाइपर र नेपाली मुसा
इतिहासमा पढेको— फ्रान्सेली राज्यक्रान्तिपछि त्यहाँको सदनमा प्रगतिशील विचारधारा राख्ने सांसदहरू सदनको बायाँतर्फ बस्न थाले । यसैकारण उनीहरूलाई वामपन्थी वा ‘लेफ्टिस्ट’ भन्न थालियो । यही क्रम संसारभर चल्दै आयो । त्यही परम्पराअनुसार वामपन्थलाई आधार बनाएर लेख्न सुरु गरेका लेखकहरूलाई प्रगतिशील लेखक भन्न थालिएको होला । अर्थात् स्वाभाविक रूपमा उनै लेखकहरू ‘प्रगतिशील’ बने जो वामपन्थी विचारधारा राख्छन् ।

नेपालमा पनि वर्षौंदेखि प्रगतिशील लेखनकै धार समातेर हिंडेका अग्रज लेखकहरूको एक हूल छ र उनीहरूकै दौराको फेर समातेर हिंडिरहेका अनुजहरूको अर्को जमात पनि । अर्को प्रसंग— जर्मनीको लोककथा छ पाइड पाइपर र मुसाको । सहरभरि मुसा र प्लेगको आतंकले ग्रसित हयामलिन सहरका बासिन्दाले एक जना पाइप (एक प्रकारको बाजा) बजाउनेलाई भेट्छन् । उसले सहरका सबै मुसालाई सहरबाहिर पुर्‍याइदिन सक्ने आश्वासन दिन्छ । सहरबासीसँगको मोलमोलाइपछि पाइपरले पाइप बजाउँदै सहर घुम्छ, मुसाहरू लठ्ठिंदै उसको पछि लाग्छन् । अन्तत: उसले सबै मुसालाई सहरबाहिर लगेर फालिदिन्छ । एकातिर प्रगतिशील लेखनलाई नै आधार बनाएर लेखिरहेका समकालीन साथीहरूको आँखामा हेर्छ, लेखनमार्फत नै दुनियालाई ‘अपसाइड डाउन’ गर्न सकिन्छ भन्ने विश्वास देख्छु । अर्कातिर प्रगतिशील वा वामपन्थी लेखनमा आधारित रहेर वर्षौं लेखिसकेपछि अहिले त्यही लेखनको ‘ब्याज’ खाइरहेका अग्रजहरू भन्छन्, ‘आजकालकाहरू नारा लेख्छन् ।’ अभिव्यक्ति स्वतन्त्रताको नाममा लामो लडाइँ लडिएको नेपालजस्तो देशमा ‘लेखनमा राजनीति गर्‍यो, नारा लेख्यो’ भनेर कसैको वैचारिक लडाइँलाई बारम्बार हतोत्साही गर्न ‘डर्टी पोलिटिसियन’ हरूको जमात त पहिल्यै छँदै थियो । ‘जीवनभर यस्तै लेख्नुपर्छ’ भनेर आफ्नो पछिपछि लाग्न आफैंले प्रेरित गरेका ‘अनुज प्रगतिशील’ हरूलाई जब कुनै भूतपूर्व ‘अग्रज प्रगतिशील’ ले पनि सार्वजनिक मञ्चबाटै ‘तिमीहरू कवितामा नारा लेख्छौ’ वा ‘लेखनमा राजनीति गर्छौ’ जस्ता टिप्पणी गर्छन्, त्यति बेला ठयाक्कै पाइड पाइपर र मुसाको जर्मन कथा याद आउँछ । लाग्छ अग्रजहरू पाइपर हुन् र अनुजहरू मुसा ।

प्रकाशित : माघ २२, २०७३ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?